जनशक्तिबाट लाभ लिने कि पछुताउने ? 

डा. होमनाथ चालिसे 

केही वर्षअगाडि एउटा अध्ययनको क्रममा गुल्मीको सदरमुकाम तम्घास पुग्दा अनौठो लाग्यो । जता हेरे पनि महिलामात्र देखिने, फाट्टफुट्ट पुरुषहरु अनि बालबालिका र ज्येष्ठ नागरिकमात्र । 

सडकको छेउमा जुलेबी बनाएर बेचिरहेका एकजना अधबंैसे पुरुषसँग १० रुपियाँमा मा जुलेबी किनेर बिस्तारै केही कुरा गर्न थालेँ । बजारमा त बढी महिलामात्र देखिदाँरहेछन् भन्दा उनले आफ्नो काम गर्दै भने – पुरुष त भए पो देख्नु नि । पुरुष जति कि विदेश कि विदेश जाने चक्करमा काठमाडौंमा छन् । अझ गाउँमा जानुभो भने झन् विकराल अवस्था देख्नुहुन्छ, मानिस मर्दा मलामी जाने युवासमेत पाउन मुस्किल छ । 

विदेशमोह कहिलेदेखि सुरु भयो  

विसं. २०४६ सालमा नेपालमा बहुदलको पुनःस्थापनापछि नेपाली युवाको विदेश मोह ह्वात्तै बढेको देखिन्छ । देशमा रोजगारीका अवसरको कमी र नेपाली म्यानपावर व्यवसायीले विशेषगरी खाडी मुलुकमा रोजगारको अवसरको प्रलोभन देखाएपछि थुप्रै युवा ती मुलुकमा पुगेको देखिन्छ ।

परम्परागत मुग्लान (भारत) पस्नेभन्दा अहिले अलिकति हुनेखाने र राम्रो सम्पर्क भएकाहरु जापान, कोरिया, अस्ट्रेलिया, हंगकंगजस्ता देशमा पुगेका छन् भने अधिकांश नेपाली मलेसिया सिंगापुरलगायत मध्यपूर्वी मुलुकमा पुगेका देखिन्छ । अबत, नेपाली नपुगेको देश र स्थान बिरलै होलान् । पछिल्लो समयमा विदेश जाने नेपालीको संख्या अझै  बढ्दै गइरहेकोछ । बाह्र कक्षा पास गरेका अधिकांशहरुको विद्यार्थीको विदेश मोह डरलाग्दो छ ।

के जनसंख्याले देश विकासमा सहयोग गर्छ  ?

विश्वका अधिकांश मुलुकको विकास कहिले भएको थियो भनेर हेर्ने हो भने ती देशमा काम गर्ने युवा जनशक्तिको अनुपात धेरै भएको अवस्थामा विकास भएको देखिन्छ । विश्वको ठूलो अर्थ तन्त्रमध्येको जापानको विकास सन् १९५५ पछि सन् १९८० सम्ममा भएको पाइन्छ । त्यस अवधिमा त्यहाँे काम गर्ने उमेर समूहको युवा जनसंख्या धेरै थियो । त्यति बेला अधिकांश समय जापानको आर्थिक वृद्धि दुई अंकको हाराहारीमा थियो । सन् १९८० पछि काम गर्ने उमेर समूहको जनसंख्या घट्न र वृद्धहरूकोे संख्या बढ्न थाल्यो । अनि बिस्तारै त्यहाँको आर्थिक वृद्धिदर पनि कम हुन थाल्यो । अहिले जापानले विदेशी कामदारलाई पहिलोपटक खुलारुपमा भित्र्याउँदै छ । 

अहिले भियतनामको आर्थिक वृद्धि दर उच्च हुनुमा पनि त्यहाँ काम गर्ने उमेर समूहको जनसंख्या बढी हुनु र तिनको राज्यले सदुपयोग गर्न सक्नु नै मुख्य कारण हो । पछिल्लो समयमा चीनमा देखिएको उच्च आर्थिक वृद्धि पनि जनसंख्याको उचित व्यवस्थापनअन्तर्गत नै पर्छ ।  

अमेरिकाले डीभीको नाममा, अस्ट्रेलिया र क्यानडाजस्ता मुलुकले विभिन्न कार्यक्रमअन्तर्गत वर्षेनि थुप्रै आप्रवासी ल्याउने नीति अपनाएका छन् । यो पनि यही काम गर्ने उमेरका जनशक्तिसहित तिनका सन्तानलाई ल्याउने नीतिअन्तर्गत पर्छ  । यी देशहरुमा विदेशी भित्रिने दरमा कम भयो भने यिनको आर्थिक वृद्धिदरमा पनि पक्कै संकुचन आउनेछ ।

अहिले नेपालको उमेरअनुसारको जनसंख्याको बनावट हेर्ने हो भने ०–१४ वर्षको उमेर समूहमा ३०.५ प्रतिशत, १५ देखि ५९ वर्षको उमेर समूहमा ५९.५ प्रतिशत र ६० वर्ष र सोभन्दा माथिको उमेरसमूहमा ९.५ प्रतिशत जति जनसख्या रहेको देखिन्छ । हाम्रो यो उमेर संरचना सधैँ यस्तै रहँदैन । झन्डै ६० प्रतिशत जनसंख्या कामगर्न सक्ने उमेरको हुनु देश विकासको लागि जनशक्तिका दृष्टिबाट अत्यन्त सकारात्मक मानिन्छ । यस्तो किसिमको अवसर कुनै पनि देशमा बिरलैमात्र आउँछ । जुनदेशले यस्तो अवसरको सही किसिमले व्यवस्थापन गरी देश विकासमा लगाउन सक्यो, त्यो देश सम्पन्न हुन धेरै समय लाग्दैन । 

नेपालको प्रजननदर 
कुनै महिलाबाट जन्मिने बच्चा जन्मने दरको मापनलाई प्रजनन दर भनिन्छ । नेपालको प्रजनन दरको पछिल्लो अवस्था हेर्ने हो भने विगत केही दशकसम्म पनि उच्च थियो । प्रजनन्दर घटाउन नेपाल परिवार नियोजन संघजस्तो संस्थाले क्रियाशील थियो । तर, पछिल्लो प्रजनन दर हेर्दा एकै दशकमा प्रजनन दर ३.६४ बाट २. ९६ मा झरेको अर्थात तीव्र गतिमा घटेको देखिन्छ । यो झन्डै एक तिहाइले घटेको छ ।  यसले आगामी केही वर्षमै नेपालमा काम गर्ने उमेर समूहको जनशक्ति बढ्दै जाने र बुढ्यौली उमेरको जनसंख्या पनि बढ्ने देखिन्छ  ।

काम गर्ने जनसंख्या अत्यधिक भएको अवस्थालाई जनसंख्याविदहरुले सामान्य भाषामा भन्दा ‘जनसंख्याको बोनस’ भन्ने गरेका छन् । नेपाल यस अवस्थामा विसं २०४९ तिर प्रवेश गरेको र यो अवस्था २१०४ सालसम्म (झन्डै ५५ वर्ष) रहने अनुमान गरिएको छ । विसं २०७६ सम्म आइपुग्दा हामीले झन्डै आधा समय (२७ वर्ष) देशको विकासमा यो जनशक्तिको सदुपयोग नगरी खेर फालेका छौँ । अब हामीसँग बाँकी आधा समय (२८ वर्ष) पनि सदुपयोग गर्न सकेनौ भने हाम्रो जनसंख्या बुढ्यौली समूमा प्रवेश गरी काम गर्नेको कमी हुनेछ । देशले वृद्धावस्थाको जनसंख्याको स्याहारसुसारमा काम गर्ने जनशक्तिलाई प्राथमिकता दिनुपर्ने हुन्छ । अनि हाम्रो बूढाबुढीको स्याहार गर्ने कि देश विकासको काम गर्ने ? हामीसँग काम गर्ने उमेरको जनशक्तिको त अनुपात घट्न थाल्छ ।

नेपाल सरकार के गर्दै छ 

अहिले युवा जनशक्ति सदुपयोग गरी देश विकास गर्नु अहिले नेपालको प्राथमिकतामा परेको देखिँदैन । सरकारी अधिकारीहरू विभिन्न देशमा नेपाली जनशक्तिलाई कसरी काममा पठाउन सकिन्छ भनेर सम्झौता गर्दै हिँडिरहेको पाएका छाँै । पछिल्लो समय जापानसँग भएको सम्झौता पनि यसैको उदाहरण हो । छिटै नै अन्य थप मुलुकसँग पनि नेपाली युवालाई विदेशमा काममा पठाउन श्रम सम्झौता हुने देखिँदै छ । 

युवाको विदेश मोह 

नेपाली युवामा देशभित्र व्याप्त बेरोजगारी र विश्वासको कमीले गर्दा विदेश जाने मोह चरमोत्कर्षमा पुगेको देखिन्छ । कोरिया सरकारले ईपीएस प्रणालीमार्फत लाने करिब १० हजार जनशक्तिको लागि ८४ हजार जना कोरियाली भाषाको परीक्षामा सम्मिलित हुनुले यसको पुष्टि हुन्छ ।

नेपाल विश्वमा तीव्ररुपमा वृद्धावस्थाको जनसंख्याको वृद्धि भएको मुलुकमा पर्छ । हाम्रो औसत आयु पनि झन्डै ७० वर्ष काट्न लागिसक्यो । जन्मदरमा अनपेक्षित कमीले १४ वर्ष मुनिको जनसंख्याको अनुपात घटेर ६० वर्षमाथिको जनसंख्या अझै तीव्ररुपले बढ्ने संकेत गरेको छ । यस्तो अवस्थामा कतै हामी आफ्नो अपार जनशक्तिलाई सदुपयोग गर्न नसकी भविष्यमा पछुताउनु पर्ने त होइन ?
( अनुसन्धान फेलो – अप्लेचियन स्टेट युनिभर्सिटी, नर्थ क्यारोलिना,  अमेरिका)

प्रतिकृया दिनुहोस
ad