एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटअन्तर्गत पाकिस्तानले भारतविरुद्ध टस जितेर पहिले बलिङ गर्ने भएको छ । ओल्ड ट्राफोर्डमा मैदानमा पाकिस्तानविरुद्ध भारतले केहिबेरमा ब्याटिङ थाल्नेछ ।
आजको खेलमा दुई ठूला प्रतिद्वन्द्वी जितसहित मैदान उत्रनेछन् । विश्व क्रिकेट जगतमा भारत र पाकिस्तानबीचको खेल सबै भन्दा रोमान्चक रुपमा लिइने गरिन्छ ।
विभिन्न द्वन्द्वका कारण सधैँ चर्चामा देखिने दुबै देश विश्वकप क्रिकेटको समयमा पनि उस्तै देखिन्छन् । दुबै टोलीबीचको खेल प्रतिष्ठाको जितको रुपमा पनि लिइन्छ । त्यसैले आजको खेलमा दुबै टोली जितकै लागि संघर्ष गर्नेछन् । यसअघिको तीन खेलमा २ जित र एक खेलमा अंक बाँडेको भारतको ५ अंक रहेको छ । भारत तुलनात्मक रुपमा पाकिस्तान भन्दा बलियो टोली हो ।
यता, ४ खेलमा १ जित, २ हार र १ बराबरी खेलेको पाकिस्तानले ३ अंक जोडेको छ । पाकिस्तान आजको खेलमा भारतलाई हराउँदै लगातार दोस्रो जित निकाल्ने योजनामा हुनेछ । पछिल्लो पाँच भेटमा भारतले ४ जित निकालेको छ । पाकिस्तानले १ खेलमा जित निकालेको छ ।