site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
इटहरीका मेयरलाई जे बोल्न पनि छुट ? मनपरी बोल्ने विज्ञप्ति निकाल्ने तर पनि मौन छ नेकपा !
Ghorahi CementGhorahi Cement

विराटनगर । इटहरी उपमहानगरपालिका मेयर द्वारिकलाल चौधरीले सार्वजनिक कार्यक्रममा महिलालाई अपशब्द प्रयोग गर्दै दिएको अभिव्यक्तिप्रति प्रतिपक्षी दल नेपाली कांग्रेसले शुक्रबार प्रदेश एक सरकारको गम्भीर ध्यानाकर्षण गरायो । कांग्रेस सांसद बिन्दिया कार्कीले महिलालाई निन्दा गर्ने चौधरीलाई ‘‘के नेकपाले डामेर छाडेको साँढे हो ? जथाभावी बोलेर महिलाको चरित्र हत्या गर्ने ?’’ भन्दै सरकारको धारणा माग गरिन् ।

कार्कीको निष्कर्ष थियो–द्वारिकलालले पहिलो आक्रमण पत्रकारमाथि गरेको र केही कारबाही नभएपछि फेरि आँट पाएर महिलामाथि अभद्र शब्द प्रयोग गरेका हुन् । उनले भनिन्,‘‘पत्रकारको कठालो समाएर जथाभावी बोलेर गुन्डागर्दीमा उत्रिएका थिए । त्यो हेर्दाहेर्दै सरकारले कुनै किसिमको भूमिका निर्वाह गरेनन् । फेरि आँट पाएर महिलाकै चरित्र हत्या गर्ने काम गरे ।’’ 

सांसद कार्कीले ‘मेयरले जे गरे पनि जे बोलेपनि सत्तापक्षले केही नगरेकोले’ नै एउटै शब्द २९ पटक दोहोर्याएर महिलाको मानमर्दन गरेको भन्दै सरकारको ध्यानाकर्षण गराइन् । ‘‘त्यो शब्द म यहाँ प्रदेशसभामा उच्चारण गर्न सक्दिन । मैले अरुको मुखबाट अहिलेसम्म सुनेको छुइँन तर मेयरले बोले ।’’ सरकार किन हो चुप छ ? डामेर छाडेको साँढे हो मेयर चौधरी ? नेकपामा आउने युवा युवतीले अब यही हेरेर आउने हो ?’’, कार्कीको प्रश्न थियो । 

Agni Group

नेकपामा आउँदा जे बोल्न र गर्न पाइन्छ भन्ने भावनाको विकास भएको  र यसको जिम्मा नेकपाले लिनुपर्ने गम्भीर सवाल उठान गरेकी कार्कीले मेयर चौधरीलाई महिलाले नै कठालोमा समाउनुपर्ने प्रस्ताव गरिन् ।  कार्कीले प्रदेश सरकारको ध्यानाकर्षण गरेको तीन घण्टा पनि बित्न नपाउँदै चौधरीले विज्ञप्ति निकालेर माफी मागे । 
विज्ञप्ति निकाल्ने यो उनको तेस्रो प्रकरण थियो । इटहरीमै महिलासमेत सहभागी रहेको एउटा सार्वजनिक कार्यक्रममा चौधरीले महिलालाई इंगित गर्दै अपशब्द प्रयोग गरेका थिए ।

घटनाप्रति खेद व्यक्त गर्दै चौधरीले असार ६ गते निकालेको विज्ञप्तिमा आफू ‘बेथिति, कुरीति तथा भ्रष्टाचारविरुद्ध लडिरहेको र समाजलाई अपाच्य हुने मौलाउँदो यौनधन्दालाई नरोकी इटहरी निर्माणको परिकल्पना अधुरो रहने’ दलिल पेश गरेका छन् । 

Global Ime bank

वडा नम्बर १६ र १७ का नागरिक समाजले असार ४ गते सामाजिक विकृतिविरुद्धको अभियान कार्यक्रममा आफूले दिएको अभिव्यक्ति महिला दिदीबहिनीप्रति आफ्नो भावना र आशय गलत नभएको दाबी गरेका छन् । ‘म सदैव महिला दिदीबहिनीप्रति सम्मान गर्न चाहन्छु’ भन्दै माफी मागेका छन् । 
उनको यो तेस्रो विज्ञप्ति हो । हरेक पटक आफ्ना ‘उट्पट्याङ र अपाच्य’ भनाइको पटाक्षेप गर्न विज्ञप्तिको सहारा लिने गरेका छन ।

चौधरी पछिल्लो पटकका सर्वाधिक विवादित मेयर हुन । गत जेठ ८ गते इटहरी उपमहानगर परिसरमै पत्रकार कृष्णवहाभ भट्टराईलाई लोपारे । ‘बाइट’ लिन भिडियो खिच्दै गरेका अर्का पत्रकार विकल रेग्मीको कठालो समाते । उनका यी हर्कतको सर्वत्र निन्दा भयो । 

स्थानीय सरकारको प्रमुखले ‘सुहाउने काम गरेनन्’ भन्दै आलोचना गरियो  । जेठ ८ गते चौधरीले पत्रकारलाई दुर्व्यवहार गरेको यो पहिलो प्रकरण थियो । भिडियो सामाजिक सञ्जालमा भाइरल बन्यो । निकै वादविवाद र बहस छेडिए । ‘लोपारी नै दिन्छु’ भन्ने ‘थिम’ राखेर बनाइएका ‘ट्रोल’लाई सामाजिक सञ्जालमा मजाकका रुपमा लिइयो । ‘पत्रकार गलत र मेयर ठिक’ भन्दै पत्रकारको विषयमा अधिक नकारात्मक टिकाटिप्पणी पनि भए । 

सामाजिक सञ्जालमा गरिएका टिप्पणी देशभित्रभन्दा पनि रोजगारीको सिलसिलामा बाहिर गएका नेपालीहरुको अधिक देखिन्थ्यो । पत्रकार महासंघले घटनाको निन्दा गर्दै माफी माग्न मेयर चौधरीलाई दबाब दियो । जेठ १२ गते विज्ञप्ति प्रकाशित गरी चौधरीले दुःखसम्म व्यक्त गरे । 

‘म उपमहानगरको काममा अत्यन्तै व्यस्त थिए । जनता पार्क निर्माणको लागि डिभिएम स्कुलका सञ्चालकसँग छलफल, घरनक्सा शाखाका प्राविधिकहरुसँग छलफल, वडासचिवहरुलाई निर्देशन, सञ्चाकर्मीसँगको संवादलगायत यी सबै परिस्थितिले तनावपूर्ण स्थिति बन्न गएको थियो । सोही परिस्थितिको क्रममा पत्रकार मित्रहरुको भावनामा पुग्न गएको चोटप्रति दुःख व्यक्त गर्दछु । पत्रकार मित्रहरुको भावनामा चोट पुर्‍याउने मनसाय छैन र रहने पनि छैन । यस घटनाले आगामी दिनमा हामी सबैलाई थप परिमार्जित र परिस्कृत हुँदै जाने कुरामा सहयोग पुर्‍याउने छ भन्ने विश्वास व्यक्त गर्न चाहन्छु,’ चौधरीले निकालेको विज्ञप्तिमा भनिएको छ ।

संघीय लोकतान्त्रिक गणतन्त्रको, संविधानको सर्वोच्चता, कानुनी राज्य, प्रेस स्वतन्त्रता, वाक स्वतन्त्रता, नागरिकको मौलिक सूचनाको हक, आवधिक निर्वाचनको विषयसमेत उल्लेख गरेका चौधरीले आफू इटहरीको समृद्धिको पक्षमा रहेको र यसमा सञ्चार जगतलगायत सबैबाट सहयोग र समर्थनका लागि ‘हार्दिकतापूर्वक आव्हान गर्न चाहन्छु’ उनले दाबी गरेका छन् ।

तर, खासमा चौधरीको कदम प्रायोजित थियो भन्ने उनको पछिल्लो हर्कतले नै पुष्टि गरिदियो । चौधरी पत्रकारसँगको ‘लफडाबाजी’ यत्तिमै रोकिएनन् । जेठ २१ गते इटहरीका अर्का पत्रकार विराट अनुपमलाई टेलिफोन गरी ‘नाकको  डाँडी भाँच्न एक करोड छुट्याएको छु’ भन्दै धम्क्याए । उनले टेलिफोनमा दिएको धाकधम्कीपूर्ण अभिव्यक्ति अनलाइन पोर्टल र सामाजिक सञ्जालहरुमा छरपस्ट भए । यो दोस्रो प्रकरण थियो । यो घटनाले पत्रकार र मेयरबीचको विवाद झन् उत्कर्षमा पुग्यो । पत्रकारलाई ‘पत्रुकार र चाटुकार’ विशेषण भिरादिए । भ्रष्टचाचारीको पिछलग्गु भएको आरोप समेत लगाए । तर, खासमा ‘सिफएल काण्डमा अनियमितता भएको’ विषयमा समाचार ब्रेक गरेर भ्रष्टाचारको विषय मेयरलाई जानकारी गराइदिने पत्रकार नै अनुपम थिए । 

यसपछि सामाजिक सञ्जालमा ‘पत्रकारलाई खेदो खन्दै गाली गर्ने र धुइरिने’को लर्को नै लाग्यो । पत्रकारलाई गाली गर्न अशिष्ट, संवेदनहीन र अति नै तल्लोस्तरका शब्द प्रयोग गरियो । पत्रकार विराट अनुपमले टेलिभिजन र यूट्युब च्यानलहरुलाई दिएको अन्तर्वार्तामा ‘परिस्थिति नै नबुझेका र रोजगारीको सिलसिलमा विदेशमा रहेकाहरुबाटै पत्रकारलाई अधिक गाली गरिएको’ आफूले पनि पाएको प्रतिक्रिया दिए । यो घटनापछि मेयर चौधरीले पनि यूट्युब च्यानलहरुलाई अन्तर्वार्ता दिने गति झन् बढाए । 

विवाद मिल्नुको साटो अझ चुलिन पुग्यो । समाचारको विषयबाट सुरु भएको प्रकरणलाई सुनसरीकै केही पत्रकारले अनुपमले फेसबुक र ट्विटरमा गर्ने गरेको ‘स्टाटस र कमेन्ट’ को विषय बनाए । पत्रकार महासंघको मिसन टोलीले इटहरीको पाथीभरा होटलमा आयोजना गरेको छलफलमा सहभागी सुनसरीका अधिकतर पत्रकारले सामाजिक सञ्जालमा अनुपमले हाल्ने गरेको ‘स्टाटस र कमेन्ट’ नै घटनाको कारक हो भन्ने आसयका अभिव्यक्ति पनि दिए । ‘तर, मूल मुद्दालाई विषयान्तर नगर्न र सहायकमा नलाग्न’ महासंघका प्रदेश अध्यक्ष विक्रम लुइँटेलले सचेत गराए । आवश्यक परे अनुपमको ‘एटिच्युड’ र सामाजिक सञ्जालको व्यवहारको विषयमा स्पष्टीकरणसम्म लिन महासंघ तयार भयो । 

नेपाल पत्रकार महासंघको मिसन टोली इटहरी पुगेर छलफल सुरु गरेपछि चौधरी केही हच्किए । तैपनि उनले ‘अब अर्का पत्रकार विनय बाह्रकोटीलाई ठिक पार्ने’ भन्दै अन्तर्वार्ता दिन भने छाडेनन् । घरमै पुगेर चौधरीसँग मिसनले छलफल ग¥यो । यसअघि महासंघ सुनसरीले पटक पटक छलफल चलायो । सुरक्षाको कारण देखाउँदै ‘मेयर चौधरी सहभागी कार्यक्रममा सोचबिचार गरेर मात्र सहभागी हुन’ आफ्ना सदस्यहरुलाई सचेत गर्‍यो । 

मिसन टोलीले ‘स्थानीय सरकारका प्रमुखबाट पत्रकार तथा सञ्चारजगत असुरक्षित भएको’ निस्कर्षसहित प्रतिवेदन तयार गर्‍यो । नेकपालाई मेयर चौधरीको विषयमा ‘पार्टीको आधिकारिक धाराणा सार्वजनिक गर्न र सचेत गराउन’ सुझाव दियो । 

मिसन टोलीको प्रतिवेदन नआउँदै चौधरीले जेठ २६ गते अर्को विज्ञप्तिबाजी गर्दै लेखे,‘म लामो राजनीतिक यात्रा पार गरेर आएको व्यक्ति हुँ । २४ वर्षको उमेरमै तत्कालीन हाँसपोसा गाविसको अध्यक्ष भएर दुई कार्यकाल परीक्षण भईसकेको छु । अहिले इटहरीको नेतृत्व गर्ने जनअभिमत प्राप्त जनप्रनिधि हुँ । म उदण्ड हुँदै होइन अनुशासित व्यक्ति हुँ । जेठ २१ गते इटहरीका एक जना पत्रकार मित्रले फेसबुकमा कमेनट गरेको विषयलाई लिएर आक्रोसपूर्ण फोन गरेपछि भएको संवादका क्रममा आवेगजन्य परिस्थितिका कारण मेरो व्यक्ति भनाइहरुबाट उहाँ र सञ्चार जगतमा पर्न गएको चोट प्रति दुःख व्यक्त गर्दै प्रेस जगतलाई आघात पर्न गएकोमा व्यक्त विचार फिर्ता लिन्छु ।’ उनले फेरि सञ्चारजगत प्रति चोट पुर्‍याउने मनसाय छैन र आगामी दिनमा पनि नरहने भन्दै घटनालाई थामथुम पार्न खोजे । 

तर, त्यसपछि पनि उनले यूट्युब च्यानलहरुलाई अन्तर्वार्ता दिँदै आवेगजन्य अभिव्यक्ति दिइरहे । पत्रकारलाई गाली गर्न छाडेनन् । भ्रष्टाचारीका पिछलग्गुको पगरी गुथाइ रहे । उनले ‘नाम किटेरै अरु पत्रकारलाई पनि ठिक पार्ने’भन्दै धम्की दिइरहेकै छन् । यूट्युब च्यानल आमा अनलाइनका टिकाराम नेतीले पछिल्लो घटनाको विषयमा सोधेको प्रश्नमा ‘पत्रकार विनय बाह्रकोटीलाई लात्ताले हान्छु’ भनेको प्रस्टै सुनिन्छ । ‘मेरो पार्टीले भन्नु पर्यो नी अराजक भयो’ भनेर । 
 
नेपाल पत्रकार महासंघ प्रदेश १ का महासचिव विवेक गौतम मेयरको अराजक गतिविधिको विषयमा हर तहबाट पार्टीको आधिकारिक धारणा मागिएको तर नेकपाले भने मौन साँधेको बताउँछन् ।  गौतम भन्छन्,‘‘जथाभावी गर्ने र विज्ञप्ति निकाले तर्कने गर्ने हो भने जसले जे गरेपनि भइहाल्यो नि ।’’  गौतमले मेयरलाई पार्टीले कारबाहीको दायरामा ल्याउनु पर्ने महासंघको स्पष्ट अडान रहेको बताए । उनले भने,‘‘फेरि महिलाको विषयमा विवाद उठेको छ । पत्रकार त उनीबाट अझै असुरक्षिति नै छन् भन्ने हाम्रो निस्कर्ष हो ।’’
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ८, २०७६  ०५:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC