site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
अनि उनको आत्मकथाको दोस्रो भाग लेखिएन
Sarbottam CementSarbottam Cement

थिएटरका एक प्रतिष्ठित व्यक्तिले एक पटक गिरीश कर्नाडलाई आफ्नो जन्मदिनमा निम्तो दिए । कर्नाडले एक हरफमा जवाफ पठाएः ‘जन्म र मृत्यु निजी कुरा हो । यसलाई आफ्नो निकटका व्यक्तिहरूका साथ नै मनाउनुपर्छ । असलमा यसले जन्म र मृत्युबीच हामी के गर्छौं भन्ने अर्थ राख्छ ।’

जतिबेला कर्नाड १६ वर्षका थिए, उनी प्रख्यात व्यक्तिहरूको स्केच बनाउँदै तिनलाई पठाउँथे । र, त्यो स्केचमा दस्तखत गरेर स्केच फिर्ता पठाइदिनका लागि अनुरोध गर्थे । युवा कर्नाडका साथमा अल्बर्ट आइन्स्टाइन, सर्वपल्ली राधाकृष्णन्लगायत अन्य व्यक्तिले दस्तखत गरेका स्केचहरूको भव्य सङ्कलन थियो ।

एकपटक उनले यस्तै एउटा स्केच आइरिस नाटककार सिन ओ’केसीलाई पठाए । केसीले उनलाई जवाफमा लेखे, “तिमी अरु मानिसको अटोग्राफका लागि किन यति दुःख गर्छाै ?” ती आइरिस नाटककारले कर्नाडलाई आफ्नो प्रतिभाको प्रयोग यस्तो कार्यमा गर, जसले तिमीसँग अटोग्राफ मागून् भनेर सुझाए ।

Prabhu Bank
Agni Group
NIC Asia

कर्नाडले जब ‘ययाति’ लेखे, त्यसबेला उनी केवल २२ वर्षका थिए । त्यसपछि उनले कैयन् नाटक लेखे, जसका आधारमा उनलाई भारतको मात्रै नभएर विश्वकै शीर्ष नाटककारका रुपमा मानिन्छ । 

कर्नाडका बारेमा मेरो प्रारम्भिक सम्झना करिब २५ वर्ष पुरानो छ । जतिखेर उनी बेङ्गालुरुको जेपी नगरस्थित आफ्नै घरमा बस्न आएका थिए । एकदिन कर्नाड हातमा लसुन र दहीबाट बनेको एक प्रकारको कढी ‘बेल्लुली थम्बुली’ को एउटा भाँडो (डिब्बा) बोकेर मेरो घरमा आएका थिए । उनले मेरी आमासँग भनेका थिए, “हामी खानेकुराको लेनदेन गर्न सक्दैनौं भने छिमेकी हुनुको मतलब नै के रहला र ?” मैले उनलाई दूरदर्शनको एक सफल कार्यक्रम ‘टर्निङ प्वाइन्ट’मा विज्ञानका विषयमा कुरा गरेको देखेको थिएँ । त्यसैले पनि उनले ‘थम्बुली’को भाँडो लिएर मेरो घरको ढोकामा देखिनु मेरा लागि आश्चर्यपूर्ण थियो । वास्तवमा कर्नाडलाई आफ्नो घर र छिमेकीसँग एकदम प्रेम थियो ।

Global Ime bank

पाँच वर्षपहिले, उनको घरअगाडि सडक खनिएको थियो । उक्त सडकको छेउमा रहेको रुख पनि काटिएको थियो । र, त्यहाँ विशाल अन्डरपास बनाइँदै थियो । यसको निर्माण अवधिमा त्यहाँको ट्राफिक अव्यवस्थित र सडकमा भीडभाड बढ्दै गयो । होहल्ला पनि उत्तिक्कै बढेर गयो ।

यसले उनका तीन नाटक ‘बायल्ड विन्स अन टोस्ट’, ‘वेडिङ अल्बम’ र ‘अ हिप अफ ब्रोकेन इमेजेज्’ का दृश्यहरूका लागि प्रेरणा पनि मिलेको थियो, जसमा त्यसका पात्रहरूले सहरको बदलिँदो ल्यान्डस्केपका विषयमा टिप्पणी गरेका थिए ।  

गएको वर्ष उनले जेपी नगरस्थित घर बेचे र मध्य बेङ्गालुरुको एक अपार्टमेन्टमा सरे । जब म उनीसँग भेट्न त्यहाँ गएँ, उनले मलाई भने “हेर, यहाँ सहरको बीचमा पनि शान्ति छ । सारा पागलपन अर्को ठाउँमा सरेको छ ।”

के तिमी मलाई असिस्ट गर्छौ ? 

मैले कम्युनिकेसन विषयमा आफ्नो मास्टर्स पूरा गरेँ । त्यसबेला मुम्बई जान चाहन्थेँ । तर मेरा पिताजीले मलाई एकपटक कर्नाडसँग भेट्न भन्नुभयो । कर्नाड समयको हेक्का राख्थे । उनले एकपटक लन्डनमा रहँदा आफ्नो घरमा आएकी एक अभिनेत्रीसँग भेट्न मानेनन् । किनभने उनी पूरा एक घण्टा ढिलो आइपुगेकी थिइन् ।

मैले पनि एकजना नाम चलेका अभिनेतालाई पाँच मिनेट अबेला भएका कारण कर्नाडले झाँको झार्दै गरेको देखेको थिएँ । त्यसैले त्यस भेटमा म तोकिएको समयभन्दा पाँच मिनेटअघि नै पुगेँ र उनको घरबाहिर पाँच मिनेट पर्खेर ठीक समयमा घर प्रवेश गरेँ ।

मैले सङ्कोच मान्दै उनलाई आफूलाई मुम्बई जाने इच्छा भएको बताउँँदै त्यहाँ मेरो साथी पनि भएको र काम दिलाउनमा उसले मद्दत गर्ने विषयमा बताएँ । मैले उनलाई एकदम शान्त र शालीन तरिकाबाट भनेँ, “म तपाईंकहाँ मेरा पिताजीले भन्नुभएकोले मात्रै भेट्न आएको हुँ । कुनै किसिमको सिफारिसका लागि होइन ।”

उनले मलाई यो भन्दै चकित तुल्याए, “तिमी मुम्बई किन जाँदैछौ ? म एउटा टीभी सिरिज गर्दैछु । तिमी मलाई असिस्ट (सहयोग) गर्छौ ?” यस प्रकार सिनेमा र टीभीको संसारमा मेरो यात्राको प्रारम्भ भयो । मैले उनका लागि दुई टेलिभिजन कार्यक्रममा काम गरेको थिएँ ।

जतिखेर उनले ‘कुर्वेपु’को क्लासिक ‘कानूरु हेग्गडिटी’लाई एकसाथ कन्नड भाषामा फिचर फिल्म र हिन्दीमा धारावाहिकका रुपमा पर्दामा उतार्ने फैसला गरेका थिए, म उनको एसोसिएट डाइरेक्टर बनेको थिएँ ।

यो फिल्मको सुटिङका बखत नै उनलाई ज्ञानपीठ पुरस्कारद्वारा सम्मानित गरिएको थियो । यसका लागि उनलाई दिल्ली जानु थियो । जबकि हामी कर्नाटकको मालेनाडु इलाकामा छायाङ्कन गर्दै थियौं । कलाकारहरूको पूरै टिम त्यहीँ थियो । हामी सुटिङ रोक्ने अवस्थामा थिएनौं । त्यसबेला कर्नाडले सुटिङको जिम्मेवारी मलाई छोडेर गएका थिए ।

‘मालगुडी डेज’को छायाङ्कन गर्ने अनुभवी छायाँकार एस. रामचन्द्रन यसमा क्यामरामेन थिए । म जम्मा २३ वर्षको थिएँ र मेरो दृष्टिकोणमा यो धेरै ठूलो जिम्मेवारी थियो । त्यसबेला सुटिङको सारा टिम (क्रु) एउटा विशाल घरमा दुई महिनासम्म बसेको थियो । त्यस घरको ल्यान्डलाइन फोनमा हरेक दोस्रो दिन कर्नाडले फोन गर्थे । 

जब उनी फर्किए, उनले ती दृश्यहरूको फुटेज हेरे । त्यसपछि उनले उक्त टीभी धारावाहिकको कमान्ड पूरापूर मलाई सम्हाल्न भने । उनी भने निर्माणाधीन फिल्मका लागि समय दिन थाले ।  

‘तपाइँ आफ्नो अन्तिम चुरोट मसित पिउनुहुनेछ’ 

कर्नाडसँग किस्सा–कहानीको खजाना थियो, जसलाई सिनेमा र थिएटरको ऐतिहासिक पल मान्न सकिन्छ । जब उनी ‘फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युट’का निर्देशक थिए, त्यसबेला चयन समितिले अभिनयको कक्षाका लागि ओम पुरीको भर्ना लिन मानेन ।

यसको कथित कारण थियो– उनको अनुहारमा रहेको दाग र दुब्लो–पातलो काया । कर्नाडले पुरीलाई भर्ना गर्नका लागि आफ्नो विशेषाधिकारको प्रयोग गरे । त्यसपछि जे भयो इतिहास नै भयो भन्दा हुन्छ ।

कर्नाडले मलाई बताएका थिए, जब तिनले एउटा मराठी नाटकमा युवा शङ्कर नागलाई देखे, त्यसपछि उनी मञ्चको पछाडि पुगे र शङ्करलाई आफ्नो आउँदो फिल्ममा मुख्य भूमिका निर्वाह गर्नका लागि भने ।

शङ्करले पनि एक लेखक र निर्देशकका रुपमा आफूले कर्नाडलाई सम्मान गर्ने, तर आफू उनको निर्देशनमा अभिनय गर्न नचाहने बताए । बरु कर्नाडको असिस्टेन्ट डाइरेक्टर बन्न चाहने कुरा उनले व्यक्त गरे । 

कर्नाड जब बेङ्गालुरु फर्किए त्यसपछि उनले शङ्करका दाजु अनन्त नागलाई फोन गरे । केही दिनपछि अनन्त शङ्करलाई लिएर कर्नाडको घरमा आए र ‘ओँदानोदू कलादल्ली’ बाट फिल्मी संसारमा पाइला टेके ।

करिब ४० वर्षअघिको कुरा हो । कर्नाडले चुरोट नपिउने निर्णय गरे । र, जिन्दल नेचर क्योर इन्स्टिच्युटमा भर्ना भए । त्यसबेला शङ्कर कर्नाडसँग  भेट्न गए । कर्नाडले मलाई बताएका थिए, शङ्करले उनलाई केहीबेर बाहिर घुम्न भने र आफ्नो खल्तीबाट एउटा चुरोट निकाले ।

कर्नाडले उनलाई भनेछन्, “यो संस्थाको परिसरमा चुरोट पिउन मनाही छ ।” शङ्करले पनि भनेछन्, “तपाईं चुरोट पिउन छोड्दै हुनुहुन्छ भने म चाहन्छु कि, तपाईं आफ्नो अन्तिम चुरोट मसँग पिउनुस् ।”

कर्नाडले एकपटक मलाई यो पनि भनेका थिए, अमजद खानले कसरी उनलाई मासु काट्ने कला सविस्तार सिकाएका थिए । सत्यजित रे एम्बेसडरलाई मर्सिडिजभन्दा राम्रो गाडी मान्थे । यस्ता धेरै कथा उनले मलाई सुनाएका थिए ।

दुनियाँ रच्ने कला 

एकपटक बीबीसीले एउटा सिरिज निर्माण गर्दै थियो । जसको शीर्षक थियो ‘आर्ट द्याट सक्ड वर्ल्ड’ (कला जसले संसार हल्लाइदियो ) । तिनले कर्नाडसंँग महाभारतमाथि एक एपिसोड प्रस्तुत गर्नका लागि भने ।

कर्नाडले सिरिजका निर्माताहरूलाई भनेछन्, ‘‘संसारको कुनै पनि क्लासिक कृतिसँग महाभारतको तुलना गर्न सकिँदैन । यसका लागि उनीहरूले ‘आर्ट द्याट क्रिएटेड वल्र्ड’ (संसारको रचना गर्ने कला) शीर्षकबाट अलग्गै सिरिज गर्नुपर्छ ।’’ कर्नाडले तिनलाई यसको ठाउँमा भागवत गीतामाथि एक एपिसोड गर्नका लागि तयार पारे ।

‘ओडकलु बिम्बा’, कर्नाडको पहिलो आफैले लेखेको यस्तो नाटक थियो, जसलाई उनले आफैले निर्देशन गरेका थिए । यस नाटकमा एकमात्र अभिनेत्री थिइन्, जो मञ्चमा आफैसँग संवादरत् रहन्थिन् ।

त्यसो त मञ्चमा अभिनेत्री र उनको प्रिरेकर्डेड भिडियोका बीचको कुराकानीलाई विश्वसनीय बनाउन सबै सक्रिय थिए । त्यसबेला मैले केही सुझाव दिएको थिएँ, सायद तिनका लागि केही काम लाग्थ्यो होला । 

मैले सोका बेला त्यहीँ नै रहने प्रस्ताव गरेँ । यस्तो बेला प्राविधिक रुपमा कुनै समस्या नआओस् र काम बिनाकुनै समस्या उत्पन्न भएर सकियोस् । जब यस नाटकको पोस्टर आयो, त्यसबेला यस नाटकमा कर्नाडले निर्देशकका रुपमा आफ्नोसँगै मेरो नाम पनि राखेका थिए ।

जतिखेर अग्नीशेखर निर्माताका रुपमा आफ्नो पहिलो फिल्मका लागि निर्देशक खोज्दै थिए, त्यसबेला कर्नाडको नाम मैले उनलाई सुझाएको थिएँ । श्रीधरले कर्नाडलाई जब फिल्मको कथा सुनाए, त्यसबेला उनले भने, “यसका लागि ऊर्जावान् निर्देशकको आवश्यकता छ ।”

श्रीधरले अन्त्यमा यसको निर्देशनका लागि मलाई चयन गरे । मैले कर्नाडसंँग यस फिल्मको पटकथा लेखनमा श्रीधरसँग सह–लेखनका लागि अनुरोध गरेँ । उनले मेरो यो अनुरोध माने र फिल्ममा एउटा सशक्त भूमिका पनि निर्वाह गरे ।

जब हामीले यसको पहिलो ड्राफ्ट तयार गर्यौं र त्यसलाई पढ्यौं, कर्नाडले भने यसमा स्त्रीहरूका लागि केही पनि छैन । यो बेङ्गालुरुमा १९८६ मा भएको वास्तविक घटनामा आधारित एक अन्डरवल्र्ड प्रकृत्तिको फिल्म थियो । हामीले यसको पटकथालाई नाटकीय बनाउने कोसिस गरेका थियौं, तर कर्नाडभन्दा अगाडि कसैले पनि स्त्री दर्शकका बारेमा सोचेका थिएनन् ।
उनले केही संवादका विषयमा सुझाव दिए । जसले फिल्ममा एउटा सम्झनायोग्य दृश्यको सिर्जना गर्यो ।

‘बस् केही महिनाको कुरा हो’

जब कर्नाटकको सूचना विभाग र पछि साहित्य एकेडेमीले मलाई कर्नाडमाथि डक्युमेन्ट्री बनाउने कामको जिम्मा दियो, त्यतिखेर उनको बाल्यकाल बितेका कतिपय स्थानमा उनका साथ विस्तारपूर्वक सुटिङ गर्ने मौका पाएँ । जुन मेरा लागि ठूलोे कुरा थियो । 

जब म यसको सम्पादनमा बसेँ, मलाई महसुस भयो यसमा न्यारेसन कमेन्ट्रीको आवश्यकता कम छ । कर्नाडले आफै यति स्पष्ट भनेका थिए  कि मलाई न्यारेटरको खासै काम परेन । 

आफ्नो विचारलाई लिएर कर्नाड हमेसा मुखरित रहन्थे । सङ्कटकालको विरोधमा एफटीआईआई छोड्नेदेखि लिएर राजीव गान्धीद्वारा ल्याइएको मानहानि विधेयकको आलोचनासम्म, बाबरी मस्जिदको विध्वंश र त्यसपछि भएको साम्प्रदायिक हिंसाविरुद्ध कर्नाड हमेशा दृढ रहे ।

कर्नाडलाई मर्निङवाक मन पथ्र्यो । उनी जहाँ भए पनि बिहानबिहान घुम्थे नै । यसमा कहिले बिराम लाग्दैनथ्यो । उनको सामान्य बिहानी जेपी नगरको एउटा सानो जङ्गलको चारैतिरको घुमाइबाट सुरु हुन्थ्यो ।

उनी रोकिन्थे उनको घरको नजिक रहेको एसएलएन रिफ्रेसमेन्ट्स नामक क्याफेमा । जहाँ उनी आफूलाई मनपर्ने उद्दिना बडा खान्थे । बितेको तीन वर्षमा उनको बिमारका कारण जुन कुराको कमी महसुस गर्थे, त्यसमा उनको यो बिहानबिहानको यात्रा पनि थियो ।

केही महिनाअघि, हिन्दी प्रकाशन अमर उजालाद्वारा उनलाई साहित्यमा उत्कृष्ट योगदान गरेको भन्दै एक पुरस्कारका लागि मनोनित गरिएको थियो । यो पुरस्कार भूतपूर्व राष्ट्रपति प्रणव मुखर्जीद्वारा दिइने थियो ।

तर कर्नाड यात्रा गर्ने स्थितिमा थिएनन्, त्यसैले उनले आयोजकलाई एउटा भाषणको भिडियो पठाउने स्वीकृति मागे र त्यो भिडियो सुट गर्नका लागि मलाई बोलाए । उक्त भिडियोको सुटिङ पूरा गरेपछि उनले मलाई भने, “म धेरै बाँच्दिनँ । मसँग केही महिनामात्रै बाँकी छ । र, यही नै सत्य हो ।” यो कुरा उनले तथ्यका रुपमा गरेका थिए । उनी आफ्नो स्थितिबाट परिचित थिए र आफूलाई सम्झाएका पनि थिए ।

मैले परिस्थिति हल्का गर्नलाई भनेको थिएँ, “तपाईंको आकलन गलत भयो भने ?” उनले भने, “त्यसपछि मैले आफ्नो आत्मकथाको दोस्रो भाग लेख्नेछु ।”

उनले आफ्नो परिवार र साथीभाइसंँग भनिरहेका थिए कि उनको मृत्यु एउटा निजी घटना हुनेछ । वास्तवमा उनी हामीबीचबाट त्यति नै शान्तपूर्ण, गरिमापूर्ण एवम् इमानदारीका साथ बिदा भए, जसरी उनले आप्mनो सारा जीवन बाँचेका थिए ।

(चैतन्य केएम फिल्मकार र रङ्गकर्मी हुन् ।)
(‘द वायर’बाट)     

   
  
 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ९, २०७६  ११:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC