काठमाडौं । समुद्र सतहबाट ४१ सय मिटर उचाइमा रहेको सुख्खा र फुस्रा पहाडबीच रहेको चुम्जुङ गाउँ उज्यालो भएको छ । मुस्ताङको मुख्य बजार क्षेत्र जोमसोमबाट ६ घण्टाको दुरीमा रहेको चुम्जुङ गाउँ मुस्ताङ जिल्लाकै सबैभन्दा उच्च स्थानमा रहेको हिमाली बस्ती हो । जहाँ प्रतिसेकेन्ड आठ मिटरको गतिमा हावा लाग्छ । प्रकृतिले दिएको पारिलो घामबाट निस्केको बिजुली घर र चोकमा जडान गरिएको छ । विद्यार्थीलाई मध्यनजर गर्दै श्रव्य दृश्य प्रयोजनका लागि सामुदायिक भवनमा टीभीसमेत जोडिएको छ ।
आयोजनाको लागि सिमेंपू फाउन्डेसन तथा ईको इनर्जी नामक दातृ संस्थाले आर्थिक सहयोग रहेको छ । इनर्जी, इन्भायरमेन्ट रिसर्च एण्ड डेभलपमेन्ट सेन्टर तथा पिपुल इनर्जी एण्ड इन्भायरमेन्ट एसोसिएसनको संयुक्त प्रयासमा एक वर्षमा विद्युत् उत्पादन गरी गाउँलेलाई हस्तान्तरण गरिएको हो । बिजुली आएसँगै स्थानीय हर्षित भएका छन् ।