site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
जहिल्यै ‘फिट’
Sarbottam CementSarbottam Cement

– नरेश फुयाँल


०१७ पुस १ गते बिहानै न्युरोडमा सेनाको चहलपहल देखियो । धमाधम नेताहरू पक्रिँदै लैजाँदै थिए । अरू दिनभन्दा त्यो दिन न्युरोडमा भीड बढी थियो । पुरु रिसाललाई सम्झना आयो— मदनमणि दीक्षितको । उनी त्यतिबेला ‘समीक्षा’ पत्रिका प्रकाशन गर्थे । उनको कोठा पनि न्युरोडको रञ्जना हलछेउमै थियो । पुरु दौडिएर उनको कोठा पुगे र भने, “मास्टरसाब, आर्मीले नेताहरूलाई पक्रेर लगिरहेको छ । मैले सुनेअनुसार अरू मान्छेलाई पनि पक्रेर लगिरहेको छ । मास्टरसाब पनि अब यहाँ बस्ने कि नबस्ने, जानकारी दिन आ’को ।”

मदनमणिले भने, “हो र ? तिमी जाऊ, म कहाँ जाने हो जान्छु ।”

Prabhu Bank
Agni Group
NIC Asia

त्यसपछि मदनमणि हतार–हतार लुगा फेर्न थाले । पुरु निस्किएर आफ्नै कोठा गए ।

त्यसको करिब डेढ महिनापछि मदनमणिसँग पुरुको भेट भयो । मदनमणिले भने, “तिमी त पत्रकारिता गर्न लायक रहेछौ नि । मलाई त्यो दिन आर्मीले पक्राउ गर्दै छ भनेर कसैले भनेको थिएन । पत्रकारमा हुने लक्षण भनेको यही हो ।”

Global Ime bank

त्यो बेला पुरु संस्कृत प्रधान पाठशालामा पूर्वमध्यमा अध्ययन गरिरहेका थिए । उमेर थियो, १५ वर्ष ।

०१७ सालतिर पुरुलाई कविता लेख्ने रहर जाग्यो । रुसका राष्ट्रपति क्लिमेन्ट भोरिसिलोभ नेपाल आउने भए । पुरुले कविता लेखे–

सोभियत राष्ट्रपति भोरिसिलोभ
तिमीलाई हामी गर्छौं यहाँ स्वागत

कविता बोकेर ‘गोरखापत्र’ पुगे । भोरिसिलोभ नेपाल आएको दिन कविता छापियो । त्यसपछि उनका तीन–चारवटा कविता ‘गोरखापत्र’मा छापिए ।

पूर्वमध्यमा पास गरे । अंग्रेजी पनि उनलाई पढ्न मन लाग्यो । रात्रि विद्यालयमा अंग्रेजीको सिंगल पेपर दिए । त्यही विद्यालयका एक शिक्षकले पुरुलाई भने, “तिमी के गर्छौ ?”

पुरुः केही गर्दिनँ गुरु ।

शिक्षकः त्यसो भए अमिनको तालिम गर ।

पुरुः अमिन तालिम लिएर के गर्नू गुरु, म पछि त्यता काम गर्ने होइन ।

शिक्षकः आऊ न आऊ । भत्ता हुन्छ ।

महिनाको ४५ रुपैयाँ भत्ता दिन्थ्यो । चार महिना भएको थियो । अहिलेको ‘रासस’ र खाद्य संस्थानको बीचमा खाली ठाउँ थियो । त्यहीँ टेबल राखेर फित्ताले नाप्थे ।

एकदिन खाजा खान भनेर सुन्धारा जान पुरु भद्रकाली मन्दिरको सिँढीमा ठिक्क पुगेका थिए । उनले थाहा पाए— सिंहदरबारबाट ‘गोरखापत्र’का निर्देशक रामराज पौडेलको गाडी आयो । “उहाँको गाडीको आवाज यस्तो थियो कि हामी परबाटै थाहा पाउँथ्यौैं । ढ्यारढ्यार गर्दै आउने आवाज अरूको गाडीसँग मिल्दैनथ्यो,” पुरु सम्झिन्छन्, “उहाँको गाडी आएको थाहा पाएर म त्यहीँ उभिएँ । उहाँको बानी थियो— आफ्नो गाडी खाली छ भने जोसुकै होस्, लिफ्ट दिइहाल्ने ।”

पुरुलाई रामराजले सोधे, “कहाँ जान लागेकोे ?”

पुरुले भने, “खाज खान जान लागेको ।”

‘बस’ भनेर गाडी चढाएका रामराजले सोधे, “के गर्दै छौ ?”

“सर्भेको तालिम लिइरहेको छु,” पुरुको जवाफपछि रामराजले भने, “यस्तो के गरिराखेको ? यस्तो पनि गर्ने हो ? लेख्न सक्ने मान्छे पनि अमिनतिर लाग्ने हो ?”

पुरुले भने, “काम छैन हजुर, के गर्नू ?”

रामराजको गाडी ‘गोरखापत्र’मा पुगेर रोकियो । उनले भने, “भोलिदेखि यहाँ आएर काम गर्ने । प्रुफरिडर । खरदारसरह ।”

०२१ साल थियो त्यो । भोलिपल्टै उनी ‘गोरखापत्र’ गए । न नागरिकता न सिफारिस— एक सातापछि नियुक्तिपत्र पाए । प्रुफमात्रै हेर्दैनथे पुरु, लेख पनि लेख्थे । हप्ताको एउटा लेख अनिवार्य छापिन्थ्यो । रामराज ‘गोरखापत्र’बाट बिदा भए । गोविन्द प्रधान अध्यक्ष भएर आए । 
‘प्रुफ रिडरले आर्टिकल लेख्ने ?’ भन्दै पुरुका केही सिनियरहरू उनलाई मन पराउँदैनथे । उनीहरू त्यही कुरा लिएर गोविन्दकोमा गएछन् ।

गोविन्दले पुरुको लेख र कुरा लगाउन गएका व्यक्तिको लेख सँगै राखेर भनेछन्, “ल हेर, यो आर्टिकल राम्रो कि यो राम्रो ? कहिल्यै पढेका छौ ? समसामयिक विषयमा यति राम्रो लेख त हाम्रा पाठकलाई चाहिन्छ ।”

गोविन्दले पुरुलाई बोलाएर भने, “प्रत्येक हप्ता लेख्नू । कसैले रोक्यो भने मकहाँ आउनू ।”

त्यसपछि उनले लेख लेख्ने क्रमलाई झनै बढाए र लेखकका रूपमा आफूलाई स्थापित गराए ।

स्नातक गर्न उनले समय लगाएका कारण ०३१ मा बल्ल उनको बढुवा भयो, उपसम्पादकमा । त्यसपछि उनले रिपोर्टिङ शुरु गरे । कुन विषयमा कसले समाचार लेख्ने भन्ने थिएन । जे भेट्यो, त्यही समाचार लेख्थे ।

संगत बढाए । स्रोत बढ्यो । स्रोतसँगै समाचार आउँथे । गोप्य सूचनाहरू पनि आउँथे उनलाई । सूचना दिन्थे अनि भन्थे, “कुरा यही हो । कसरी लेख्ने हो लेख । तर, मेरो नाम चाहिँ नआओस् है ।”

पुरु सम्झिन्छन्, “त्यो बेला अहिलेको जस्तो गाली गरेर समाचार लेख्ने चलन खासै थिएन । त्यसमा पनि सरकारी सञ्चारमाध्यम भएकाले नकारात्मक समाचार खासै छापिँदैनथ्यो । कुनै व्यक्तिका बारेमा नकारात्मक समाचार छापियो भने त्यो व्यक्तिले आत्महत्या गर्ला भन्ने त्रास हुन्थ्यो । जसका बारेमा नकारात्मक समाचार छापियो, त्यसलाई समाजमा महत्वहीन व्यक्तिका रूपमा लिने गरिन्थ्यो । उसले आत्मग्लानिबोध गर्ने भएकाले आत्महत्या गर्छ कि भन्ने डर हुन्थ्यो । माडवारी समुदायमा यो झनै बढी थियो । उनीहरूको समाज हुन्थ्यो । यस्तो समाचार आयो भने उसले समाजमा मुहार देखाउन आफूलाई लायक ठान्दैनथ्यो ।”

एक माडवारीले उनलाई आग्रह गरे, “विभिन्न साप्ताहिकहरूले हाम्राबारे विभिन्न समाचार लेखेर हैरान पारे । तपार्ईंले केही सहयोग गर्न सक्नुहुन्छ कि ?”

‘गोरखापत्र’मा त्यो सम्भव थिए । ती माडवारीले भने, “तपाईं आफैंले कुनै पत्रिका निकाल्न मिल्दैन ?”

भाइ बद्री रिसालको नाममा पुरुले ‘घटना’ नामक पत्रिका प्रकाशन आरम्भ गरे, ०३४ मा । त्यो पत्रिकामा व्यक्तिका राम्रा काममात्रै छापिन्थे । माडवारीका विषयमा कुनै पत्रिकामा नराम्रो समाचार आयो भने ‘घटना’मा त्यसको खण्डन छापिन्थ्यो । त्यसैले बसन्त चौधरीले आफूलाई जिस्काएको अझै याद छ, “पुरु, तिम्रो पत्रिका त खण्डन पत्रिका हो ।”

० ० ०

साहित्यिक पत्रिका निकाल्ने रहर लाग्यो । रोचक घिमिरे, भैरव अर्याल र पुरु भएर पत्रिका प्रकाशन शुरु गरे । ‘रचना’ जन्मियो, सम्पादक रोचक भए । यसको कार्यालय नक्सालमा थियो, जुन घरमा भैरव डेरा गरेर बस्थे । तल मिठाई पसल थियो । तल आगो बाल्दा माथिको तलामा धूवाँको कुहिरीमण्डल हुन्थ्यो । उनीहरूले त्यो घरको नामै ‘धूवाँकुटी’ राखेका थिए ।

त्यो साहित्यिक पत्रिकामा पुरुको काम थियो, विज्ञापन उठाउने । त्यो बेला अहिलेका जस्ता उद्योगधन्दा थिएनन् । त्यसैले विज्ञापनको अभाव हुन्थ्यो । पुरु पसल–पसल जान्थे विज्ञापन माग्न ।

पुरु बसेकै न्युरोडस्थित घरमा लुगा धुने कार्यालय थियो । त्यसले ३० रुपैयाँ दिन्थ्यो । न्युरोडमा गौरीशंकर अग्रवालको कपडा पसल थियो । उनले नियमित मासिक ३० रुपैयाँको विज्ञापन दिन्थे । ३ सय रुपैयाँमा ५ सय प्रति पत्रिका छाप्थे । २५ रुपैयाँ मूल्य थियो । तर, उनी ३ सय रुपैयाँ विज्ञापनबाटै उठाउँथे ।

उनी ‘गोरखापत्र’मा प्रुफरिडर भएर काम गरिरहेकै बेला तत्कालीन शाही नेपाल वायुसेवा निगमले ‘गोरखापत्र’ र ‘राइजिङ नेपाल’का लागि दुइटा टिकट पठाइदियो, थाइल्यान्ड भ्रमणका लागि ।

को जाने ? कुरा चल्यो । दैनिक भत्ता पनि नपाइने, लुगा भत्ता पनि नहुने । जाने चासो कसैले देखाएनन् ।

“विदेश जाने हाम्रो लुगा पनि छैन । पुरु लुगा फेरीफेरी लगाएर आउँछ, उसैलाई पठाइदिनू,” साथीहरूले भने ।

“त्यो बेला म लुगाको शौखिन थिएँ । हरेक महिनाजसो लुगा किन्थें,” उनी सम्झिन्छन्, “साथीहरू नयाँ लुगा किनिछस्, आज चिया खुवा भन्थे । म चिया खुवाउँथें ।”

‘राइजिङ नेपाल’बाट कृष्णभक्त श्रेष्ठ गए । ‘गोरखापत्र’बाट प्रुफरिडर पुरु बैंकक घुम्न गए ।

राजनीतिको मार

‘गोरखापत्र’बाट समय निकालेर काम गरिरहेका थिए ‘घटना’मा । तर, दुई वर्षभन्दा धेरै समय उनले दिन सकेनन् । ‘गोरखापत्र’मा उनको बढुवा हुँदै गयो । उपसम्पादक, सहसम्पादक र कार्यकारी नायब प्रधान सम्पादकसम्म ।

जब ०४६ को जनआन्दोलनपछि पुरु कार्यकारी नायब प्रधानसम्पादक भए, त्यसपछि उतारचढाव शुरु भयो । ०४८ सालमा निर्वाचन भयो । भक्तपुरमा पुरुका दाइ भैरव रिसाल नेपाल मजदुर किसान पार्टी (नेमकिपा)बाट चुनाव लडे । जगन्नाथ आचार्य कांग्रेसबाट उम्मेदवार थिए । भैरवले १३ सय मतले हारे ।

“प्रधानसम्पादक हुने पालो मेरो थियो तर गिरिजाप्रसाद कोइराला, जगन्नाथ र सांसद लेखनाथ न्यौपाने भएर ‘यो कम्युनिस्टलाई ‘गोरखापत्र’को प्रधानसम्पादक बनाउनु हुन्न’ भनेपछि मलाई बनाइएन,” पुरु असन्तुष्ट सुनिन्छन्, “प्रधानसम्पादक नदिए पनि जागिर त खानै पर्‍यो । खाइरहेको थिएँ । फेरि अर्को चुनाव भयो । मनमोहन अधिकारीको नेतृत्वमा सरकार गठन भयो । प्रदीप नेपाल सञ्चारमन्त्री भए । प्रदीपजीसँग मेरो राम्रो सम्बन्ध थियो, भैरव दाइ लेफ्ट भएकाले ।”

पुरुषोत्तम बस्नेत ‘गोरखापत्र’का अध्यक्ष थिए । प्रदीपले मन्त्रीको शपथ लिएकै दिन पुरुषोत्तमले राजीनामा दिए । सम्पादक तारा बरालले पद नछोडेपछि प्रदीपले निकालिदिए । पुरुको अपेक्षा थियो— लामो समय सेकेन्ड म्यान भएर काम गरेकाले मलाई नै प्रधानसम्पादकको जिम्मेवारी दिन्छन् ।

“तर लेफ्ट साथीहरू नै मेरो विपक्षमा लागे । कांग्रेससमर्थक सात जना संवाददातालाई स्थायी बनाएकोमा मसँग उनीहरू रुष्ट थिए । लेफ्ट भएर कांग्रेसलाई स्थायी बनाउने भन्ने उनीहरूको प्रश्न थियो । तर, मैले पार्टी होइन, काम हेरेर स्थायीका लागि सिफारिस गरेको थिएँ ।”

त्यही निर्णय गलपासो भयो उनलाई । “मलाई सीधै त उनीहरूले केही भन्न सकेनन् तर बालमुकुन्ददेव पाण्डेको पालामा पत्रिका राम्रो थियो, उहाँले छोडेपछि खस्कियो । फेरि उहाँलाई नै ल्याउनुपर्छ भनेर कुरा चल्यो, प्रदीप नेपालले ल्याउनुभयो । जुन दिन बालमुकुन्ददेव नियुक्त भएर ‘गोरखापत्र’ आउनुभयो, मैले त्यही दिन राजीनामा दिएँ ।”

पुरु वामपन्थी भए पनि कांग्रेसीले समेत उनलाई विश्वास गर्थे । ‘गोरखापत्र’ छोडेपछि उनलाई सुजाता कोइरालाले सुषमा कोइराला मेमोरियल ट्रस्टमा बोलाइन् । गए । पत्रकारिता गरिरहेका पुरु ट्रस्टको काममा रत्तिन सकेनन् । छोडे । त्यही बेला आरके मानन्धरले ‘इमेज’मा बोलाए । ‘इमेज एफएम’ र ‘इमेज च्यानल’मा सम्पादकका रूपमा करिब चार वर्ष काम गरे ।

‘इमेज’मा काम गर्दा उनले पत्रकारहरू पार्टी र आफूनिकटका व्यक्तितर्फ ढल्किएको अनुभव गरे । “प्राइमटाइमको बुलेटिन शुरु हुनुभन्दा आधा घण्टाअगाडि अधिकांश न्युज र भिडियो फुटेज लिएर आउँथे । न्युजसँग फुटेज मिल्दैनथ्यो । त्यसलाई पूरै रिराइट गर्नुपर्ने अवस्था हुन्थ्यो,” पुरु भन्छन्, “शायद मैले धेरै प्रेसरमा काम गरें । इमेजमा काम गरेको डेढ वर्षमा रगत जचाउन गएको, सुगर पो भइसकेछ ।”

० ० ०

जिप दुर्घटनामा परेर ०५० जेठ ३ गते तत्कालीन एमाले महासचिव मदन भण्डारीको निधन भयो । पुरुले मुग्लिन–नारायणगढ सडकखण्डको नाम ‘मदन राजमार्ग’ राख्नुपर्छ भनेर ‘गोरखापत्र’मा लेख लेखे । गिरिजा प्रधानमन्त्री थिए । उनले बालुवाटारमै बोलाएर भने, “तिमीले आर्टिकलमा त मुग्लिन–नारायणगढ सडकखण्डको नाम ‘मदन राजमार्ग’ हुनुपर्छ भनेर लेखेछौ । हेर, त्यो सडकको एउटा ढुंगाको नाम पनि मदन हुँदैन, बुझ्यौ ? नचाहिने कुरा लेखेर हुन्छ ?”

त्यो दिन गिरिजाले पुरुसँग धेरै कुरा गरे । “पत्रकारका रूपमा गिरिजप्रसादले त्यो दिन मसँग धेरै कुरा गर्नुभयो । त्यो बेला अहिलेको जस्तो प्रधानमन्त्रीको समय पाउन कठिन हुँदैनथ्यो । सहजै एक्सेस हुन्थ्यो,” पुरु सम्झिन्छन्, “त्योे दिन उहाँले मसँग ‘गणेशमानजीले मलाई काम गर्न दिनुभएन, अवरोधमात्रै सिर्जना गर्नुहुन्छ’ भन्नुभयो । फलानोलाई राजदूत बनाउनुपर्‍यो भनेर नाम दिनुहुन्छ, राजदूत बनाउन ठिक्क पार्‍यो, भोलिपल्ट फोन गरेर ‘ए लौ, त्यो त नहुने रछ, त्यो होइन यसलाई चाहिँ बनाउनुपर्‍यो’ भन्नुहुन्छ । यस किसिमले मलाई काम गर्न असाध्यै गाह्रो छ ।”

सुषमा कोइराला मेमोरियल ट्रस्टमा काम गर्दाको एउटा प्रसंग सुनाउँछन् पुरु । सुजाता महाराजगन्ज बस्थिन् । गिरिजा त्योबेला प्रधानमन्त्री थिएनन् । घरमै बस्ने भएकाले भेट भइरहन्थ्यो ।

“उहाँ (गिरिजा) यति फ्र्यांक हुनुहुन्थ्यो कि— राजनीतिक प्रसंगमा सुजातालाई देखाउँदै भन्नुहुन्थ्यो, ‘यो मान्छे ठीक छैन है, यसलाई कन्ट्रोल गर्नुपर्छ नत्र यो बिग्रिन्छे । केही गरिखान्न ।”

० ० ०

०३० असार २५ गते सिंहदरबारमा आगलागी भयो । राति करिब १० बजेबाट आगलागी भए पनि अहिलेको जस्तो सहज सञ्चार सुविधा नभएकाले धेरैले थाहा पाएका थिएनन् । पुरु त्यो समय कुपण्डोलमा बस्थे । बिहान घरको झ्यालबाट हेर्दा सिंहदरबारबाट आगोको मुस्लो निस्किरहेको देखे । भैरव रिसालले पनि हेरे । पुरु दौडिएर सिंहदरबार पुगे । आगलागी भइहरेको थियो । सेना र प्रहरीले आगो निभाइरहेका थिए । उनले ‘गोरखापत्र’मा फोन गरेर भने, “प्रेस रोक्नू, सिंहदरबारमा आगलागी भइरहेको छ । म समाचार टिपाउँछु ।”

त्यो बेला ‘गोरखापत्र’ निकै ढिलो प्रेसमा जान्थ्यो । समाचार छापियो । पुरुकै कारण ‘गोरखापत्र’मा उक्त समाचार छापियो ।

“मलाईचाहिँ किन भनिनस् ? भनेको भए म पनि जान्थें नि भन्दै दाइ मसँग रिसाउनुभयो,” उनले सम्झिए । भैरव त्यो बेला ‘रासस’का संवाददाता थिए ।

० ० ०

०३६ मा गोकुल पोखरेल ‘गोरखापत्र’का सम्पादक थिए । भारतदत्त कोइराला महाप्रबन्धक थिए । चिनियाँ राष्ट्रपति नेपाल आए । उनी आएकै दिन ‘गोरखापत्र’को भित्री पृष्ठमा संग्रहालयसम्बन्धी समाचार छापियो । समाचार थियो, “गोर्खालीहरूले २ सय वर्षअघि लडाइँमा चीनको तिब्बतबाट लुटेर ल्याएको छालाको तोप संग्रहालयमा छ ।”

सरकारले चिनियाँ राष्ट्रपति नेपाल आएकै दिन यस्तो समाचार छापिनु सुनियोजित हो भन्ने अर्थ लगायो । त्यो समाचार छापिएको सम्पादक गोकुललाई पनि थाहा थिएन । पछि हेर्दा त्यो तोप संग्रहालयमा रहेछ पनि । त्यो समाचार पढेर धेरैले उडाए पनि । दरबारले स्पष्टीकरण सोध्यो । त्यही विषयलाई लिएर सम्पादक, पुरुसहित चार जना निलम्बनमा परे । पुरुको अक्षर भनेर उनलाई अवगाल आयो । पत्रकारिता करिअरमा पुरुले भोगेको यो कटु अनुभव थियो ।

पुरु नेपाल परिवार नियोजन संघका केन्द्रीय सदस्य तथा प्रेस संयोजक थिए । त्यसको अध्यक्ष प्रेक्षा राज्यलक्ष्मी शाह थिइन् । त्यहीबेला संघले गोदावरी पिकनिक लगेको थियो । अरू रमाइरहेका थिए । पुरु भने एक छेउमा झोक्राएर बसिरहेका थिए । अधिराजकुमार धीरेन्द्रले उनलाई सोधे, “किन झोक्राको ? के भयो ?”

पुरुले भने, “मैले लेख्दै नलेखेको विषयमा दोष आयो । त्यसकै परिणाम भोगिरहेको छु । सरकारहरूको राज्यमा पनि यस्तो हुँदो रहेछ ।”

धीरेन्द्रले भने, “हो र ? साँच्चै हो ? ढाँटेको त हैन नि ?” 

पुरुले भने, “हैन सरकार । म सरकारसँग झुटो बोल्न मिल्दैन ।”

रुद्रप्रसाद गिरी सञ्चारमन्त्री थिए । त्यहीँबाट धीरेन्द्रले मन्त्री गिरीलाई फोन गरेर भने, “पुरुको अक्षर नभएको ठाउँमा उसको भनेर आरोप लगाई सस्पेन्स गरिएछ । उनको भोलिबाटै सस्पेन्स फुकुवा गरेर ग्रेड थपिदिनू ।”

त्यस्तै भयो ।

काम भ्याइनभ्याइ

पशुपतिप्रसाद शाह तत्कालीन विद्युत् कर्पोरेसनका प्रमुख थिए । उनले एकदिन सोधे, “तपाईंको अढाई सय तलबले कसरी घर चल्छ ?”

शाहले भनेजस्तै ‘गोरखापत्र’को तलबले घर चलाउन सजिलो थिएन । शाहले आग्रह गरे, “हाम्रोमा सञ्चार सल्लाहकारको काम गर्दिनुस् ।”

पुरुले ‘गोरखापत्र’मा सोधे, “के गरौं ?”

अनुमति पाए । विद्युत् कर्पोरेसनको सल्लाहकार भए । त्यहाँबाट मासिक डेढ सय रुपैयाँ तलब पाउन थाले ।

निर्माण कम्पनी एनसीसीएनमा शाहकै भाइ प्रमुख थिए । उनले त्यसमा पनि सल्लाहकारको रूपमा काम शुरु गरे । पैसाको अभाव टर्‍यो ।

पत्रकारितामा पूर्णबिराम लगाएपछि उनले शुरु गरे— सञ्चार सल्लाहकार (परामर्श) सेवा । मिडिया को–अर्डिनेटरका रूपमा पुरुले थुप्रै संस्थामा काम गरे । विद्युत् कर्पोरेसन, एनसीसीएन, नेपाल वायुसेवा निगम, बैंक अफ काठमान्डू, कुमारी बैंक, कृषि विकास बैंक, नेपाल बैंक, साल्ट टे«डिङ कर्पोेरेसन, नेपाल आयल निगम र मुक्ति श्री समूहमा उनी प्रेस संयोजकका रूपमा काम गरेको अनुभव उनीसँग छ । एकैपटकमा उनले ६ वटा संस्थामा प्रेस संयोजकको काम गरेका छन् ।

१५० रुपैयाँबाट प्रेस संयोजकको काम शुरु गरेका पुरु अहिले प्रतिसंस्था २० हजार रुपैयाँसम्म लिन्छन् । अहिले साल्ट ट्रेडिङ, आयल निगम, नेपाल वायुसेवा निगम, कृषि विकास बैंक र मुक्ति श्री समूहमा प्रेस संयोजकका रूपमा काम गरिरहेका छन् ।

पुरुले कसरी मिलाउँछन् समय ? मुक्ति श्री समूहमा १० बजे पुग्ने उनी १२ बजेसम्म बस्छन् । त्यहाँबाट आफ्नै विज्ञापन एजेन्सी ‘इको एड्भर्टाइजिङ’ जान्छन् । त्यसपछि साल्ट ट्रेडिङ जान्छन् । त्यहाँ काम सकेर वायुसेवा निगम पुग्छन् ।

पुरु सम्पादक समाज नेपालका अध्यक्ष पनि हुन् । त्यसैले निगमबाट उनी पुतलीसडकस्थित समाजको कार्यालय पुग्छन् । काम परेका बेला उनी बाँकी अरू संस्थामा पनि जान्छन् । अनुहारमा बुढ्यौलीका धर्सा कोरिए पनि पुरु अझै उत्तिकै ‘फिट’ छन् ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार १४, २०७६  ०६:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC