site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
नेकपा एकता विचारका हिसाबले भएकै होइन
Sarbottam CementSarbottam Cement

नेपालका पाका कम्युनिस्ट नेतामा पर्छन् मोहनविक्रम सिंह । अहिलेका थुप्रैै कम्युनिस्ट नेताका गुरु समेत मानिने सिंह आफ्ना चेला चपेटाहरुको कार्यशैलीप्रति भने सन्तुष्ट छैनन् । हालै सम्पन्न नेपाल कम्युनिस्ट पार्टी (मसाल) को आठौँ महाधिवेशनपछि पुनः सो पार्टीको महामन्त्रीमा निर्वाचित ८५ वर्षिय अर्धभूमिगत नेता सिंहसँग हामीले यसपालि विस्तृत कुराकानी गरेका छौं । संसदमा सानो उपस्थिति रहेपनि नेपालको कम्युनिस्ट आन्दोलनमा एक खालको छुट्टै छाप रहेका र कसैले चाहेर पनि बिर्सन नसकिने नेता सिंहसँग बाह्रखरीका लेखनाथ अधिकारीले गरेको कुराकानीको मुख्य अंशः

के गर्दै हुनुहुन्छ आजकल ?

केही अघि सम्म पार्टीको महाधिवेशनमा व्यस्त थियौं । अब महाधिवेशन सकिएको छ । हामी दस्तावेजलाई अन्ति रुपमा दिने काममा लागेका छौं । 

Prabhu Bank
Agni Group
NIC Asia

महाधिवेशनले मुलुकको समग्र अवस्थालाई कसरी मूल्यांकन गर्यो त ?

देशको अवस्था सन्तोषजनक छैन । राम्रो काम भइरहेको लागेको छैन । महाधिवेशनले पनि यही कुरा महसुस गरेको छ । राम्रो काम हुन नसकेको र परिवर्तन पक्षधर शक्तिहरुका गतिविधिले गर्दा लोकतन्त्र विरोधी, जनता विरोधी र गणतन्त्र विरोधी शक्तिहरु सल्बलाई रहेको महसुस गरेका छौं । यो राम्रो भएन । खतरा बढ्दै गयो भन्ने हाम्रो निष्कर्ष हो । बामपन्थी सरकार बनेपनि कार्यशैली राम्रो भएन । त्यसले गर्दा धर्मको नाममा तथा अन्य हिसाबले पुराना शक्तिहरुले टाउको उठाउन खोजे भन्ने हाम्रो निष्कर्ष छ । जनअपेक्षा अनुसार काम हुन सकेको देखिएको छैन । यो चिन्ताजनक अवस्था हो । 
 
दुई तिहाईको सरकार भएर पनि जनअपेक्षा अनुसार काम हुन नसक्दा सबै उस्तै रहेछन् भन्ने भान पर्न थालेको छ ।  यसलाई कसरी लिनुभएको छ ?

Global Ime bank

सबै एउटै त होइनन् । राणा शासन, राजाको शासन, पञ्चायत एउटै कुरा होइनन् । तर, जनताको अपेक्षा अनुसार काम हुन नसकेकोले निराशा बढेको हो । अहिले आएको व्यवस्था एउटै होइन । पञ्चायत, कांग्रेस सबै एकै हुन् भन्ने लाग्दैन । कांग्रेसको आफ्नै, राप्रपाको आफ्नै अनि मधेशवादी दलहरुको आफ्नै खालको उदेश्य छ । त्यसैले सबै एकै हुन् भन्ने कुरामा हामी लाग्दैनौं । यसको मतलब सरकारले सही दिशामा काम गरेको छ भन्ने पनि होइन । यो व्यवस्थालाई अझै राम्रो बनाउनुपर्छ । प्रतिगामी दिशामा उन्मुख हुन दिनु हुँदैन ।

तपाईहरुको महाविशेनपछिको दस्तावेजमा अहिलेको सरकारलाई कम्युनिस्ट पार्टीको सरकार नै होइन भन्नु भएको रहेछ । किन यसो भन्नु भएको ? 

हो, हामीले भनेका हौ । हामीले पार्टी हेरेर समर्थन वा विरोध गर्दैनौं । राम्रो सरकार छ भने त्यसको समर्थन गर्छौ । राजा महेन्द्रले कोदारी राजमार्ग बनाउने निर्र्णय गर्दापनि हामीले समर्थन गरेका थियौं । अहिलेको सरकारले पनि राष्ट्रिताका कुरा उठाएकाले हामीले समर्थन गरेका हौं । पूर्व एमाले र माओवादीले आफनो सिद्धान्त छोडिसकेका छन् । ती दुई मिलेर बनेको पार्टी कम्युनिष्ट पार्टी हुन सक्दैन । त्यही भएर हामी मान्दैनौं । तर, हामीले समर्थन गरेका छौं । यो कम्युनिस्ट पार्टी भएर समर्थन गरेको होइन । हामीले गिरिजाप्रसाद कोइरालाई पनि समर्थन गरेका थियौं । काम हेरेर समर्थन वा विरोध गर्ने हो । पार्टी हेरेर होइन । तर अहिलेको नेकपालाई हामी कम्युनिस्ट पार्टी मान्दैनौ ।

तपाईहरुको पार्टी महाधिवेशनले छिमेकी चीन र भारत दुवैलाई साम्राज्यवादी भनेछ । तपाईहरु चीनसँग त नजिक हुनुहुन्छ होइन किन यस्तो मूल्यांकन आयो ?

चीन पहिला समाजवादी देश हो । तर, अहिले त्यो देश पूँजीवाद तर्फ गइसकेको छ । अनि भारतले अतिक्रमण, हस्तक्षेप तथा नाकाबन्दी सम्मका गतिविधि गराएको छ । त्यसैले हामीले दुवैलाई साम्राज्यवादी भनेका हौं । तर, मुलुकलाई खतराको हिसाबले हेर्दा चीन भन्दा भारत बढी खतरा छ ।

चीनले बीआरआइलाई अघि बढाएको छ भने अमेरिकाले इण्डो प्यासिफिक रणनीतिलाई अघि बढाएको छ । यो हिसाबले गर्दा नेपाल उनीहरुको खेल मैदान हुने हो कि भन्ने चिन्ता पनि पाइन्छ । यसलाई तपाईंले कसरी लिनुभएको छ ? 

हो, उनीहरुले आफ्नो नीति बनाएका छन् । तर, हामीले कस्तो नीति बनाउने भन्ने कुरा आफ्नो देशको हितलाई हेरेर बनाउने हो । यसमा देशको नेतृत्व लिएका व्यक्तिले सुझबुझ देखाउन सक्नुपर्छ । हामीले तटस्थ रुपमा रहेर नै दुवै पक्षबाट फाइदा लिन सक्छौं । हामीलाई चीन, भारत र अमेरिका सबैको सहयोग चाहिन्छ । त्यसैले कतै ढल्केर होइन सन्तुलन मिलाएर अघि बढ्नु पर्छ । हामीले हाम्रो देशको स्वतन्त्रता र फाइदालाई केन्द्रमा राख्नुपर्छ । यो सबै कुरा नेतृत्वको कुशलतामा भर पर्ने कुरा हो । 

अर्को छिमेकी भारतमा हालै सम्पन्न निर्वाचनपछिको परिणामलाई कसरी हेर्नु भएको छ ? नेपालमा के असर पर्न सक्छ ?

भारतको चुनावपछि धार्मिक कट्टरताको खतरा देखिएको छ । तर उनीहरुले चाहे अनुसार नेपालमा हस्तक्षेप गर्न सक्दैनन् । अन्य पक्षहरु पनि छन् । जस्तो विपक्षी कंग्रेस आइ देखि बामपन्थी पार्टीहरु पनि छन् । अहिले सत्तारुढ भारतीय जनता पार्टीले राजावादी र हिन्दुवादीलाई प्रोत्साहन गर्न खोजेको देखिन्छ । तर सफल हुँदैन ।कसैले कुनै योजना बनाउँदैमा सफल हुन्छ भन्ने छैन ।

भाजपा नेपालमा राजा र हिन्दु धर्मको पक्षमा लागेकै हो त ?

हो, यो त प्रष्टै छ ।

भारतमा कम्युनिस्ट पार्टीहरु चुनावमा किन बढारिएका होलान् ?

कम्युनिस्टलाई अहिले विश्वभरी नै अप्ठेरो अवस्था रहेको छ । त्यही भएर त्यहाँ पनि असर परेको हो । भारतीय कम्युनिष्टहरुको पहिला रसियाका कम्युनिस्टसँग राम्रो सम्बन्ध थियो । तर, रसियामा पनि कम्युनिस्टहरु गए, भारतमा पनि असर परेको छ । तर भारतका कम्युनिस्टहरुमा पनि विस्तारवादी शैली पाइन्छ । सबै त छैनन् तर विदेशनीतिमा उनीहरुको खासै फरक पाइँदैन ।

तपाईको पार्टी अहिले विद्रोह गरिरहेको विप्लव नेतृत्वको नेकपालाई मित्र शक्ति मान्छ होइन ?

हो, हामीले मित्र शक्ति मानेका छौं । तर उहाँहरुले अघि बढाएको कामलाई चाहिं गलत ठान्छौं । 

तपाईको अहिले विप्लवसँग सम्पर्क छ कि छैन ?

मेरो सम्पर्क छैन । 

प्रतिबन्ध लगाएको विषयमा चाहिँ विरोध गर्नुभयो नि ?

राजनीतिक शक्तिलाई प्रतिबन्ध लगाउने कुरा संविधानमा नै छैन । त्यसैले विरोध गरेको हो । 

अनि हत्या हि‌सा मच्चाउनु पनि राजनीति हो र ?

त्यस्तो कार्य गर्नु गलत हो । तर, जसले गरेको छ उसलाई कारवाही गर्नुपर्यो । पूरै संगठनलाई नै प्रतिबन्ध लगाउन पाइँदैन, सो संगठनका कार्यकर्तालाई जथाभावी पक्रेर कारवाही गर्न पाइँदैन । त्यसले समस्याको समाधान हुँदैन ।

पहिलाको ‘जनयुद्ध’ले सिर्जना गरेका समस्या सुल्झिनसक्दै अहिले फेरि अर्को सशस्त्र युद्ध गर्न विप्लव तम्सिनुको कारण के हो ?

हामीले पहिला पनि भन्दै आएका थियौं, त्यतिबेलाको युद्धपनि गलत थियो र अहिलेको पनि गलत छ । तर जनचेतना पुग्न नसकेका कारण त्यसको फाइदा उठाउने काम उनीहरुले गरिरहेका छन् । यस्तो युद्ध गर्ने, केही बार्गेनिङ्ग गर्ने र केही पाउने जस्ता काम गरिरहेका छन् ।आफ्नो व्यक्तिगत स्वार्थका लागि यो सबै काम भइरहेको छ । 

पहिलाको युद्ध त सफल नै भयो क्यार होइन ? 

सफल भनेको के पद पायो भन्ने कुरा मात्रै होइन । त्यसले देश र जनतालाई के दियो भन्ने कुरा महत्वपूर्ण हो । त्यसैले उनीहरुको युद्ध विकृत रुप हो । अहिलेको विप्लवको युद्धपनि त्यस्तै हो । 

तपाईहरु चुनाव पनि जित्न सक्नुहुन्न । अरुले युद्ध गरेर चुनाव जितिसके । अब कसलाई सफल भन्ने ?

चुनाव जित्ने भन्ने कुराले मात्रै सफलता वा असफलता भन्न मिल्दैन । देशले के पायो जनताले के पाए भन्ने कुराले अर्थ राख्छ । जनतामा जनचेतना नभएकै कारणले उनीहरु सफल भएको जस्तो देखिएको हो । चुनाव जितेका हुन् । उनीहरु चुनावमा झूठो कुरा गर्छन् । पैसा बाँड्छन् । राँगा काटेर खुवाउँछन् । हामी त्यो गर्न सक्दैनौं । जनताको चेतनास्तर बढेपछि उनीहरु पाखा लाग्ने दिन आउँछ ।

जनचेतना जगाउने काम त तपाईहरुको दलको पनि होइन र ?

हामीले गरिरहेका छौं । तर हामीले गरेर मात्रै पनि हुँदो रहेनछ । धेरैलाई आआफ्नो स्वार्थ सिद्ध गर्नुपर्ने हुँदो रहेछ । मानिसहरु कुन दल सत्तामा गएपछि के फाइदा हुन्छ भनेर लागेका छन् । तत्कालीन फाइदालाई लिएर मान्छेले भोट हालेको देखिएको छ । त्यसैले हामीले सबै कुरा बुझाउन नसकेको हो । कम्युनिस्ट पार्टीमा विकृति पहिला देखि नै रहेको छ । पहिला कम्युनिस्ट पार्टीका नेता डा केशरजंग रायमाझी राजासँग मिल्न जानु भएको थियो । अहिले पनि त्यसखालको विकृति रहेको छ । 

तपाईहरु अरुलाई त्यसो भन्नुहुन्छ, तपाईहरुलाई ठूला भनिएका बाम पार्टीले  ‘ससाना दोकान खोलेर पुराना कुरा मात्रै रट्ने मान्छे’ भन्छन् नि ? 

हामी विचारका दृष्टिले प्रष्ट छौं । विकृतिमा लागेका छैनौं । विकृतिमा लागेर कहिँ पनि पुगिँदैन ।

पहिला तपाईलाई प्रचण्ड र बाबुराम भट्टराईले खुब गाली गर्नुहुन्थ्यो, अहिले गाली गरेको सुनिदैन अब कुरा मिलेको हो ?

उहाँहरुको आफ्नो कुरा हो, उहाँहरुको कमजोरीको कुरा हो । तर, हामीले अहिलेसम्म कुनैपनि दस्ताबेजमा कसैलाई गाली गरेका छैनौं । व्यक्तिगत हिसाबले उहाँहरुसँग नराम्रो छैन ।

भेटघाट हुन्छ अहिले ?

भेटघाट त पछिल्लो समयमा भएको छैन ।

प्रधानमन्त्रीसँग कस्तो सम्बन्ध छ ?

उहाँसँग पनि भेटघाट छैन । तर राम्रै रुपमा लिएका छौं ।

कम्युनिस्ट नेताका कतिपय कार्यशैली, व्यवहार, नातावाद हेर्दा राजा र कम्युनिस्ट नेता भनेका एकै खालका हुन् कि के हो भन्ने जनतामा पर्न थालेको छ । यसलाई कसरी लिनुभएको छ ?

साँच्चै कम्युनिस्ट नेताले त्यस्तो गर्न सक्दैनन् । तर, हाम्रोमा विकृति रहेको छ । त्यही विकृतिले गर्दा यस्तो देखिएको हो । कार्यशैलीका कारण मानिसमा भ्रम परेको हो । तर, कम्युनिस्ट र राजा भनेका एउटै हुने कुरा हुँदैन । त्यसैले कम्युनिस्ट र राजतन्त्र एउटै हुन् भन्ने सोच नै गलत हो । 

उत्तर कोरियामा पनि त्यस्तै छ त ?

हो, राजतन्त्रमा पनि अधिनायकवाद हुन्छ अनि कम्युनिस्टमा पनि त्यस्तो देखिन्छ । तर, जनतालाई कसरी सम्बोधन गरेको छ भन्ने कुरा फरक हुन्छ । कम्युनिस्ट हुँ भन्दैमा सबै कम्युनिस्ट हुँदैनन् । कम्युनिस्टले किसान, मजदुर र सर्वसाधारण जनतालाई प्राथमिकतामा राखेको हुन्छ ।

यहाँले राजनीति थालेको २००७ सालदेखि अहिले सम्म देशमा किन विकास हुन नसकेको ? नेताहरु असफल भएर हो ?

केही नभएको भन्न मिल्दैन । त्यतिबेला र अहिलेमा धेरै फरक भएको छ । त्यो मैले मात्रै गरेको भन्दिन । हामी सबै मिलेर गरेको हो । 

नेपाल भन्दा पछि स्वतन्त्र भएका मुलुक कहाँबाट कहाँ पुगिसके, हामी भने सधै युद्ध गर्ने भन्ने अनि विकास चाहिं कहिले गर्ने ?

हो, अरुको तुलनामा केही ढिलाई भएकै हो । राजनीतिमा आएको विकृति र बेलाबेलामा हामी प्रतिगमनसँग जुध्नु परेको कारणले पनि यसो भएको हो । व्यक्तिगत रुपमा के मिल्यो के मिलेन भन्ने कुरा होइन । समाजले के पायो भन्ने कुरा महत्वपूर्ण हो । यो बीचमा थुप्रै क्षेत्रमा सुधार भएको छ । देशमा रुपान्तरण भएको छ । तर, हाम्रोमा केही ढिला भएको भने हो । 

कम्युनिस्ट पार्टीमा नेतृत्वमा पुगेपछि चाहिँ छोड्नै मन नलाग्ने हो ? केही कम्युनिस्ट पार्टीमा यस्तो देखिन्छ नि दशकौं सम्म नेतृत्वमा बस्ने, समय सन्दर्भ अन्तै पुगिसकेको हुन्छ तर नेता हुन मन लागिरहने के रहेछ रहस्य ? 

कुनैपनि पार्टीभित्र नेताको आवश्यकता महसुस गरुन्जेल र त्यो व्यक्तिले काम गर्न सकुन्जेल देश र जनताका आवश्यकता सम्बोधन गरुन्जेल नेता भइने हो । 

नेता बन्न पाइएन भने पार्टी नै फुटाएर हिँड्ने अनि फेरि नेता बन्ने चलन पनि छ क्यार होइन ?

हो, बाहिरबाट हेर्दा त्यस्तो पनि देखिएको छ । 

अहिलेको सत्तारुढ पार्टीभित्र एकता घोषणा भएको १३ महिनापछि विचारको बारेमा विवाद गरेको पनि सुनियो । बहुदलीय जनवाद की जनताको जनवाद भन्ने । खास के हो यो ? जनताको समस्या एकातिर छ हामी शब्दको चक्करमा समय खेर फालिरहेका त होइनौं भनेर पनि जनस्तरमा कुरा उठिरहेको छ, यसलाई कसरी लिने ?

विचारको हिसाबले उनीहरुको एकता नै भएको होइन । चुनावमा फाइदा उठाउने र मिलिजुली भागबण्डा गर्ने हिसाबले यो सबै भएको हो । पहिलाको माओवादीले पनि विचार छोडेको र एमालेले पनि विचार छोडेको अनि अर्को विचार नलिइसकेको कारणले नै हामीले त्यो पार्टीलाई कम्युनिस्ट होइन भनेका हौं । 

देशमा जनताको पीडा एकातिर हुन्छ तर शब्दजालमा अल्मलिने चलन कम्युनिस्ट पार्टीमा अलि धेरै हुन्छ होइन ?

शब्दजाल नै त नभनौं । यो राजनीतिक स्वार्थको खेल हो । त्यही भइरहेको छ ।

अनि कहिलेकाँही हामी जाने चाहिं समाजवादमै हो भन्छन् नि कम्युनिस्ट नेताहरुले । त्यो भनेको के हो ? जनताले कुरा नबुझेर हैरान छ ।

अहिलेको सत्तारुढ पार्टीका कतिपय नेताले त्यसो भनेपनि उनीहरु समाजवादमा जाँदैनन् । त्यसका लागि दर्शन र नीति प्रष्ट हुनुपर्छ । हामी अहिले समाजवादी दिशातर्फ गइरहेका छैनौं । भन्नको लागि भनिएपनि पूँजीवाद तर्फ गइरहेका छौं । समाजवादको नाम मात्रै लिइएको हो । 

अहिलेको अवस्थामा देशमा समृद्धि आउने सम्भावना कत्तिको छ ?

यसरी समृद्धि आउँदैन । योजना, दृष्टिकोण सबै स्पष्ट हुनुपर्छ । अहिले त अस्थिरता देखिएको छ । विदेशीको चलखेल देखिएको छ ।

सरकारले स्वतन्त्रता पक्षधरलाई अलि पेल्न खोजेको भन्दै आलोचना भइरहेको छ । जस्तो मिडिया, मानवअधिकार आयोग लगायतलाई । यसबारेमा तपाई के भन्नु हुन्छ ?

हामीले प्रेस स्वतन्त्रता विरोधी विधेयकको विरोध गरेका छौं । यी विधेयकहरुले देश अधिनायकवाद तर्फ जान लागेको त होइन भन्ने संकेत गरेको छ । यस्ता विधेयकले लोकतन्त्र र गणतन्त्रलाई नै कमजोर बनाउँछ । त्यसैले यो क्षेत्रलाई सच्याउनुपर्नेछ भने विद्यमान कानुन अनुसार नै सच्याउनुपर्छ तर स्वतन्त्रताका आधारलाई नै भत्काउने तिर लाग्नु हुन्न ।

सत्तारुढ पार्टीभित्रैबाट सरकार फेर्ने हल्लापनि चलेको देखिन्छ यसलाई कसरी लिनुभएको छ ?

सरकारले सबै राम्रा काम नगरेको भएपनि केही सकारात्मक दिशातर्फ चाहिं गएको छ । स्थिरताको आशा छ । तर, अहिले नै सरकार गिराउने वा अन्य गतिविधिहरु अघि बढे भने त्यसले प्रतिगमनलाई नै मद्दत गर्छ । अहिलेको सरकार गिराउने काम भइहाल्यो भने विकल्प के त भन्ने प्रष्ट छैन । पछि आउनेले पनि राम्रो गर्छ भन्ने ग्यारेन्टी छैन । हुनत यो उनीहरुको पार्टीको आन्तरिक विषय हो । तरपनि सरकार बदल्ने कार्यतिर लागियो भने लोकतन्त्र र गणतन्त्र नै खतरामा पर्न सक्छ । तर, सरकार अहिलेकै हिसाबले चलेर भने हुँदैन । आफ्नो कार्यशैली बदल्नु जरुरी छ । 

सरकारले कामै गर्न सकेन भने त सत्तारुढ पार्टीले विकल्प सोच्न सक्ला नि त ?

त्यो उनीहरुको आन्तरिक कुरा हो । सरकारले कार्यशैली सुधार्ने बेला चाहिं भएको छ । सरकारलाई प्रशासन, प्रहरी कसैले पनि सहयोग गरेको जस्तो देखिदैन । निर्मला पन्तको हत्या भएको यतिका समय भइसक्दा पनि हत्यारालाई पक्राउ गर्न सकिएको छैन । भ्रष्टाचार बढिरहेको छ । त्यसैले सरकारले कार्यशैली बदल्नु जरुरी छ । नत्र यस्तै हो भने लोकतन्त्र र गणतन्त्र खतरामा पर्न सक्छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार १८, २०७६  ११:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC