गृष्मको एक उदास महिना । शान्त हरिद्वार इन्द्रेणी प्रकाशको उज्यालोमा निन्द्राको शरण पर्ने बेला भइसकेको थियो । परपर कुकुर भुकेजस्तो, बालबच्चा रोएजस्तो आवाजले रातको निस्तब्धता निल्न खोज्थे । प्रचण्ड धूपका अघिल्तिर निरीह सावित हुन्थे ती ।
सामसून्न हुन्थ्यो आवाज ।
ढक्... ढक्... ढक्...
अचानक कसैले ढोका ढक्ढक्यायो । रातको सन्नाटा बिथोलियो । हिउँवत् भयो कञ्चनपुरका सुरेन्द्र मालको मन । “बुवा पो आउनु भएको हो कि,” अताल्लिएको मनले सोच्दै थियो । जोडसँग आएको ढक्... ढक्.. आवाजले त्यो सम्भावना खारेज गरिदियो । सास कण्ठमै अड्याएर उनले मसिनो आवाजमा सोधे– “को हो यत्ति राति.... ?”
आवाजले संकेत दिइहाल्यो । ढोका ढक्ढक्याउने अरू कोही थिएनन्, किन्नर अर्थात् तेस्रो लिङ्गी थिए, जुन नर्कको सँघार उनले केही महिनाअघि मात्रै नाघेका थिए । सुरेन्द्रले थाप्लामाथि बज्रनै आँटेको विपत्तिको बज्रबारे लख काटे । हिन्दूहरूको आराध्यभूमि भएर के गर्नु, उत्तराखण्डको हरिद्वार उनका लागि निर्जन भूमि थियो । विलकुल ‘बञ्जर’ । दया–माया अङ्कुराउने कुनै सम्भावना थिएन ।
निरूपाय हुँदै उनले ढोका खोले । निर्निमेष भयको आँधी चलेकाले मस्तिष्क कुँजो भइसकेको थियो । हातगोडा फत्र्याकफुत्रुक गलिसकेका थिए । शरीर निरीह र कमजोर प्रतीत भयो ।
‘आफूलाई बचाउने तागत पनि कति छिट्टै क्षीण बन्दो रहेछ !’ उनलाई कोक्किई कोक्किई रुन मन लाग्यो । किन्नरहरूले रुन पनि दिएनन् । हातखुट्टा चौखुर्याएर गाडीमा जाकिहाले । कहाँ लगिँदैछु, शरीरमा कुन विपत्तिले घनछिनो चलाउँदैछ, आपराधिक प्रवृत्तिले आफूमाथि कस्तो घटना घटाउँदैछ भनेर उनले केही सोच्न सकेनन् ।
आँखा खुलै त थिए तर अँध्यारो बाधक भइदियो । सडक बत्तीबाट चुहिएको दूधिलो प्रकाशका सहायताले उनले ठाउँ पहिचान गरे । उनलाई चण्डीगढ लगिँदै रहेछ ।
रुड्कीमा पुगेपछि गाडीको गति मन्द भयो । मौका छोपेर उनले बुवालाई फोन डायल गर्न थाले । फोन पूरा डायल भएको थिएन, उनलाई अपहरण गर्नेमध्येका एकजनाले चाल पाइहाले । फोन सडकमा हुर्याइदिए । सम्पर्क विच्छेदित भए सुरेन्द्र । बाबुसँग सम्पर्क गर्ने एकमात्र माध्यम मोबाइल पनि एकलास सडकमा अलपत्र पर्यो ।
चण्डीगढ पुगेर गाडी के रोकिएको थियो, सुरेन्द्रमाथि यातनाको वर्षा शुरू भइहाल्यो । त्यसअघि नै उनी एउटा कालबाट उम्किएर आइसकेका थिए । फेरि अर्को काल आँखा अघिल्तिर ठिङ्ग उभिएको थियो । “किन भागिस्, हामीलाई नसोधी ?,” यातना दिनेमध्येको एकले बेस्सरी हकार्यो । धाराप्रवाह हात छोड्यो ।
यातनाले शरीर थिल्थिलिइसकेको थियो । जवाफ दिने तागत उनीसँग थिएन । आँखाबाट बलिन्द्र धारा आँसु बगाउँदै उनले यातना सहिरहे । “किन्नरहरूको यातना मेरो पूर्वजन्मको भाग थियो होला,” नियतिवादी सुरेन्द्रले बेलाबेला आफ्नै भाग्यलाई धारेहात लगाउँथे ।
कालकोठरीभित्र बित्न लागे दिनहरू । अँध्यारो र यातनाबाहेक आँखाले अरू देख्न पाएनन् । रुँदारुँदा आँसु रितिन्थ्यो । तर, ताडनाको उपक्रम थामिदैनथ्यो ।
एक महिनापछि उनलाई पुनः गाडी चढाइयो । गाडी चढ्नुपूर्व उनले पुनः भगवानसँग अनुनय गरे– “यातनाभन्दा मृत्यु नै प्रिय छ मलाई !” त्यत्तिमै नियतिको यात्रा कहाँ टुंगिन्छ र ! उनको आँसुको यात्रा जम्मुतिर सोझियो । एकमनले सोचे– “यिनीहरूले मलाई मार्छन् होला !” अर्को मनले नकार्यो– “मार्नकै लागि त चण्डीगढ छँदैथ्यो नि, पक्कै यिनीहरूले मलाई आफूजस्तै (किन्नर) बनाउँछन् !”
पुरुषबाट किन्नर कसरी बन्नू ! सुरेन्द्रलाई त्योभन्दा मृत्यु नै निको लाग्यो लाग्न थाल्यो ।
जम्बु पुगेका दिन उनलाई खुवै केरकार गरियो– “किन भागिस् ?” मृत्यु समीप आउँदै छ भन्ने थाहा पाएपछि उनको मन अताल्लिइरहेको थियो । मुख मौन राखे सुरेन्द्रले । दोस्रो दिनबाट यातना बन्द भयो । बरु मीठा–मीठा परिकार पो पस्कन लागे । “पहिला त यसरी खुवाउँदैनथ्यौ ? अहिले किन खुवाउँछौँ ?” आफूभित्र साहसको थोपाछिटा बटुलेर उनले प्रश्न गरे । “ज्यादा प्रश्न किन गर्छस्, तँलाई खानासँगको मतलव छ, अह्राएको काम खुरुखुरु गर्,” खाना खुवाउनेले यसो भन्यो ।
सुरेन्द्रको मुटु पुनः डरले कुँजो भयो । उनले प्रतिवाद गर्न उचित ठानेनन् । जम्मु लगेपछि उनको दिनचर्यामा व्यापक बदलाव आयो । अपराधी ओसार्नेजस्तो जालीवाला गाडी थियो । उनलाई बीचमा राख्थे । चार–पाँचजना किन्नरहरूले पालैपालो पहरा दिन्थे । सरकारी अड्डाजस्तो ठाउँमा पुर्याइन्थ्यो र कीर्ते कागजमा सहीछाप गर्न लगाइन्थ्यो ।
उनी सोच्थे– “मलाई बेच्न लागेका होलान् । नत्र कागजमा कालोमसीको दाग किन लगाउनू !” एकदिन त्यसको खुलासा गरे । कागजमा लेखिएको रहेछ– “म आफ्नै स्वेच्छाले लिङ्ग परिवर्तन गराउँदैछु । यसमा कसैको करकाप छैन ।” उनको मुटु थुरुर्र काम्यो । निधारमा चिटचिट पसिना देखा पर्यो । आकाशले अचानक फन्का मार्न लाग्यो । मुटु अचाल बनेजस्तो भयो ।
उनले त आफ्नै मृत्युपत्रमा हस्ताक्षर गरेर पो आएका रहेछन् ! कागजमा हस्ताक्षर गरेका थिए । जनेन्द्रीय काटिइसकेको थिएन । ढुक्क हुने ठाउँ रित्तिइसकेको थिएन । “पाकिस्तानले सीमावर्ती इलाकामा विष छाडेको छ, बच्ने हो भने सिरिन्ज लगाउनुपर्छ । नत्र मृत्युको मुखमा पर्नुको विकल्प रहँदैन,” झण्डै एक सातापछि किन्नरमध्येका एकजनाले उनलाई सुनाए ।
सुई लगाउने कुराले उनको मनमा झस्का पस्यो । एक त किन्नरले कागजमा दस्तखत गराइसकेका छन् । अर्को उनले बारबार लिङ्ग परिवर्तन गर भनेर खप्की खाइ नै रहेका छन् । अबचाहिँ किन्नर नबनाई नछाड्ने भए भनेर उनी अलल्लिएर रुन लागे । तर, पाषाण हृदयमा त्यसले कुनै प्रभाव पारेन ।
बरु एउटा किन्नरले भन्यो, “गुरुले लाठी लिएर आउँदैछन् । चरम यातना सहनुपूर्व नै ज्यान थाप, नत्र मृत्युको मुखमा धकेलिएलास् !”
बरु मार पनि भन्न भ्याएनन् । किन्नरहरूले उनलाई सिरिन्ज लगाइदिए । सिरिन्जभित्रको रसायनले उनको चेत गुमनाम भयो ।
पाँच दिनपछि होस आउँदा सुरेन्द्र अस्पतालमा थिए । वरिपरि चिकित्सक थिए । शरीरमा अप्रोन थियो । हातमा स्लाइन चढाइराखिएको थियो । कम्मरमुनि सेतो पाइपबाट पहेँलो पिसाब तप्पतप्प चुहिरहेको थियो । शैय्याको खुट्टा नजिकै झुण्ड्याइएको थियो, पिसाबको थैलो । सिरानीको समीपको ट्रेमा नानारङ्गका औषधि थुपारिएका थिए ।
“बिरामी त म होइन तर पनि किन अस्पतालमा ?,” उनको दिमाग झण्डै अचेत भयो । आफ्नो हालत देखेर उनलाई डाको छाड्न मन लाग्यो । उनी ग्वाँ..ग्वाँ रोए । उनको हविगत देखेर चिकित्सक पनि आश्चर्यचकित भए । सम्झाउन लागे– “केही पनि हुँदैन ! नरोऊ !
हुन बाँकी के नै थियो र !
उनको शरीरबाट पुरुष जनेन्द्रीय गायब भइसकेको थियो । त्यसको ठाउँ ब्याण्डेजले ओगटेको थियो । अघि त औषधिले बेहोस बनाएको थियो, अहिले आफूमाथिको बज्रपातले हृदयघात होलाजस्तो भयो । वरिपरिवका सेता अप्रोन लगाएका मानिस राक्षसका अवतार लाग्न थाले । नर्सहरू उसैका सहयोगी ।
“धन कमाएर परिवार पाल्ने सपना हुर्काएर हिँडेको मान्छे अचानक लिङ्ग काटिएर अस्पतालमा फालिएको अवस्थामा फेला पर्दा कस्तो होला ?,” सुरेन्द्र आफ्नो पीडा शब्दमा अभिव्यक्त गर्न समेत सक्दैनन् । सपनामा पनि विरलै देखिने दृष्यको भोक्ता आफैँ हुनुपर्यो सुरेन्द्र ।
उनीसँग निःसार प्राण बाँकी थियो । अधमरो शरीर आफूसँगै थियो । जे–जे विपत्ति आइलाग्छ चुपचाप सहनुसिवाय उनीसँग कुनै उपाय थिएन ।
मुढोवत् शैय्यामा पल्टिए । उनको दुःख–पीडा बुझ्ने केवल आँसु भयो । आँसुले सिमसार बनेको सिरानी साथी । १७ दिन अस्पताल, १७ महिना कोठाको बास भयो । १७ महिनामा आँखाबाट कति आँसु बगे, त्यसको कुनै हिसाब छैन । “पैसाको सपनाले आँसुको आहालमा पुर्याउला भनेर कसरी चिताउनु ?,” भावविह्वल हुन्छन् अहिले पनि सुरेन्द्र ।
१७ महिनापछि फर्काएर जम्मु नै पुर्याइए सुरेन्द्र । जम्मु पुगेपछि किन्नरहरू पुलकित देखिए । आफ्नो समूहमा नयाँ सदस्य थपिएझैँ जाज्वल्यमान थियो उनीहरूको अनुहार । तर, सुरेन्द्र आफूलाई प्राणविहीन लाग्थ्यो । आफूभित्र मानिस जीवित छ भन्ने बोध पनि हुन छाडिसकेको थियो उनलाई । किन्नरहरूको यन्त्रमानव लाग्थ्यो उनलाई ।
र त, उनी किन्नरहरूले जसोजसो भन्छन्, त्यसैत्यसै गर्न लागे । “तँ नयाँ अवतारमा प्रकट भइसकिस्, हिजोसम्म केटा थिइस्, आजबाट तेरो शरीर बदलिइसक्यो, केटी भइसकिस् तँ,” हरबखत किन्नरहरू यसो भन्थे । तर, सुरेन्द्रको आत्माले कसैगरी स्वीकार गरेन । लिङ्ग न काटेर फ्यालिएको थियो । पुरुष कहाँ फालिएको थियो र । त्यत्ति हो, नियतिको पहाडले थिचिएका सुरेन्द्रले प्रतिवाद गर्न सकेनन् ।
किन्नरको जुनी वरणपछि उनलाई ताली पड्काउन सिकाइयो । सामान्य ताली पड्काइसँग चिनापर्ची थियो । तर किन्नर समुदायको ताली पड्काउने तौरतरिका अलग्गै थियो । अभ्यस्त हुन निक्कै पापड बेल्नुपर्यो ।
ताली बजाउन पारङ्गत भएपछि नाच्न गाउन थाल्नुपर्यो । बल्ल उनी किन्नर समुदायमा सुहाउँदो भए । आवरण किन्नरको रूपमा वरण भयो ।
शरीर पुरुषको छ, पहिरन नारीको लगाउनुपरेको छ । स्वीकार्न बडो कठिन हुन्थ्यो । तर, नियति पन्छाउने सामर्थ्य उनीसँग थिएन । मन मसक्क बाँधेर किन्नरहरूको समूहमा मिसिएर नाचगानका सरिक हुन लागे ।
“नाच्दानाच्दै पुरुषको भीडतिर पैसा माग्न पठाउँथे, त्यतिबेला किन मरिनँ भनेर ग्लानी हुन्थ्यो,” सम्झिँदा अहिले पनि उनको मन भक्कानिन्छ ।
शरीर पुरुष छ, पहिरन स्त्रीको देखेर लोग्नेमान्छेहरू हावामा पैसा उडउँथे । विरोधाभाष र विभ्रमको संसारको पाहुनाझैँ प्रतीत हुन्थ्यो सुरेन्द्रलाई ।
नियतिका पाइला
सुदूरपश्चिमको युवा भारत नगई शायदै जवान हुन्छ । सुदूरपश्चिमका युवाहरूको साझा नियति सुरेन्द्रको थाप्लोमा पनि पर्यो ।
उच्च शिक्षाको खुट्किलो पार हुँदा नहुँदै उनले सीमाको गौँडा काटे । १६–१७ वर्षको किशोर कलकलाउँदो उमेरमा । सुरेन्द्रसँग भारतको साइने विकटको होइन, निकटकै हो । बाबु देहरादुनमा गाडी चलाउँथे । त्यसैबाट आएको आम्दानीले घरको चुल्हो बल्थ्यो । बाबुलाई सहयोग गर्न लाउँलाउँ खाउँखाउँकै उमेरमा देहरादुन पुगेका सुरेन्द्रले कुल्ली बन्नु परेन । न कालापहाड नै चढ्नुपर्यो । सावाँ अक्षर चिनेकाले केही समय पसलमा काम गरे ।
फराकिलो लक्ष्य तय गरेका सुरेन्द्रलाई पसलको कमाइले चित्त बुझेन । देहरादुनमै कम्प्युटर सिके र गेष्टहाउसमा काम गर्न थाले । सुरेन्द्रले गुरु भनाउँदालाई त्यहीँ भेटेका हुन् ।
उज्यालो चेहरा । चहकिला आँखा । खाइलाग्दा थिए सुरेन्द्र । सुरेन्द्रको रूप–यौवनमा गुरुको आँखा लागिहाल्यो । गेष्टहाउस आएपिच्छे सुरेन्द्रलाई यहाँभन्दा दोब्बर वेतन दिने ठाउँमा लगिदिन्छु भन्न थाले । अभावले थिल्थिलिएका सुरेन्द्र पनि गुरुको प्रस्तावमा लठ्ठिए । तिनै गुरुको पछि लागेर उत्तरप्रदेश, मेरठ पुगे । मेरठमा इलियास नाम गरेका घरधनीकहाँ काम गर्थे ।
काम गर्ने दौरानमा भेद खुल्यो– गुरु भनिएका व्यक्ति त तेस्रो लिङ्गी पो रहेछन् ! सुरेन्द्रलाई गुरु पनि नेपाली लाग्छ । सुरेन्द्रसँग प्रायः नेपालीमै वातचित गर्थे । “अब तँ पनि किन्नर बन्नुपर्छ” त्यसबेलादेखि नै हो उनले यातना पाउन थालेको । पैसा कमाउने लोभले हरिद्वार आउँदा लाभै भएथ्यो । त्यो भन्दा बढ्ता लाभ खोज्दा विलाप गर्नुपर्ने अवस्थामा पुगे । जिन्दगी नर्क प्रतीत हुन लाग्यो ।
जसोतसो भागेर हरिद्वार नै पुगे । “यतिञ्जेल कहाँ थिइस् ?” बाबुले पनि हप्कीदप्की गरे । केही समय बाबुको समीप रहे । त्यसपछि नेपाल फर्किए । घरले गरिबीबाट पार पाएको थिएन । सहजै पार पाउने अवस्था पनि थिएन । दुःखले पिरोल्न लागेपछि उनी पुनः भारत पुगेका थिए । र, आइलागेको थियो– विपत्तिको यत्रो महाभारत ।
नर्कबाट मुक्ति
‘ऐश्वर्य’ कमाउन गएका सुरेन्द्र अन्ततः सर्वश्व गुमाएर फर्किएका छन् । नाचगानका लागि जम्मु क्षेत्रमा लगिएको बेला इलियासका छोरा नइमले आफूलाई नर्कबाट मुक्ति दिएको सुरेन्द्र बताउँछन् ।
गुरुको कर्तुतले सुरेद्र स्त्री रूप धारण गर्न विवश बनेको भेद खुलेपछि नइमले ज्यानको बाजी लगाए नेपाल फर्कन सघाएका थिए । झण्डै दुई वर्षका नारकीय जीवनपछि सुरेन्द्र गृहथलो त आइपुगेका छन् । तर, उनको थाप्लामा झमेलाको पहाड छ । सुरेन्द्र भाग्दै नेपाल आएको थाहा पाएपछि उनलाई पछ्याउँदै रिजवान खान, मोहम्मद रफी र सुहेल खान नेपाल आए । तीन जना भारतीय नागरिक कञ्चनपुर प्रहरीको नियन्त्रणमा छन् ।
उता आफ्नो छोरा नइमलाई अपहरण गरी नेपाल पुर्याएको भन्दै इलियासले पनि सुरेन्द्रविरुद्ध किटानी जाहेरी दिएका छन्, भारतमै । “आफू दोषमुक्त भएको प्रमाणित त होला तर जनेन्द्रीय गुमाएर यौवनमै ‘सिँगारू’ बन्नुपरेको क्षतिपूर्ति के होला ?,” प्रश्न गरिरहेका आँखा अझै ओभाएका छैनन् ।