पिसाब

पिसाब

– दीपक लोहनी


फेरि लाग्यो पिसाब ।

भित्री पीडा ठ्याक्कै भन्नै नसकिने । के–के भएँ भएँ । वास्तविक भाव र अवस्था जानकारी गराउन हाम्रा शब्दहरू कति असफल छन् । उकुसमुकुस भएँ भन्नु पर्ला ।

हैन, आजकाल मलाई के भइरहेछ ?! जब यहाँ आएँ र काम शुरु गरें, मलाई छिन–छिनमा पिसाब लाग्दो छ । छ्वाल्ल पिसाब आए पनि अर्कै आनन्द आउँथ्यो । छ्वाल्ल बग्ने यस्ता कञ्चन पिसाबलाई फ्याँक्दा म आनन्दित हुन्थ्यें । कल्पिन्थें– यी त उच्च पहाडी शरदीय झरना हुन्— स्वच्छ, पवित्र र कञ्चन ।

साँच्चै, स्वच्छ पिसाब फेर्दा कति आनन्द आउँछ । पुलकित हुन्छ मन र मस्तिष्क । तर, आजकाल हैरान छु । ठ्याक्कै एक महिना भयो— छिनछिनमा पिसाब आइरहन्छ । ट्वाइलेट पस्यो, पिसाब गर्न खोज्यो— सुकेधाराजस्तो— तप्प तप्प ! कन्यो, फेरि कन्यो, बल्लबल्ल कन्यो— उही तप्प तप्प ! कस्तो हैरान अवस्था । मियाजाकी भन्थिन्, “दीपक, तिम्रो अनुहार पढ्दा तिमीलाई केही उकुसमुकुस भएको छ । काममा त्यति मन गइरहेको पनि लाग्दैन । के भयो तिमीलाई ?”

हो । केही त भएको छ मलाई । केही होइन, ठूलै केही भएको छ । ठ्याक्कै भन्नमात्र नसकिएको । पटक–पटक पिसाब तप्प तप्प लाग्छ भन्दा शरम हुने । बाँकी भित्री अनुभूतिहरू व्यक्त गर्न शब्दै नहुने । कस्तो अवस्था मेरो ! कस्तो दलदल यो पिसाबको !

एक महिनाअघि मात्र नेपालमा हुँदा यस्तो थिएन । भनूँ न— मेरो जीवनमै यस्तो कहिल्यै भएकै थिएन । दिनमा दुई–तीन लिटर पानी पियो र पाँच–छ पटक पिसाब फेर्‍यो, बस्यो । कुनै उकसुमुकुस थिएन । काममा कुनै अवरोध थिएन । लाजशरम त पटक्कै छँदै थिएन ।

तर, एक महिनायता जापानको यो सानो गाउँ ह्युगोमा आएर प्रांगारिक कृषिको तालिम दिँदा भने म आश्चर्यचकित भएको छु । हैन, के भयो मलाई ? आखिर भइरहेछ के ?! खालि पिसाबमात्र आइरहन्छ । पटक–पटक । तप्प ! तप्प !!

“खासै केही भएको छैन, मियाजाकी । खालि पटक–पटक पिसाब लागेजस्तो हुन्छ । फेर्न गयो, कहिले आउँदै आउँदैन । आए पनि तप्प तप्पमात्रै आउँछ,” अति भएपछि लाजशरम पचाएरै भनिदिएँ मैले ।

“के प्रोस्टेट ग्ल्यान्डको समस्या छ तिम्रो ?” मियाजाकी सोध्छे । कति आत्मीय, मुलायम र सफेद छ उसको मन ।

“हैन, त्यस्तो त केही थिएन । एकाएक यस्तो भयो ।”

“उमेर बढ्दै गएपछि यस्ता समस्या देखिन्छन् । समयमै चेकअप गराऊ । म यहाँको डक्टरसँग समय मिलाऊँ त ?”

“हैन, पर्दैन । केही समय म आफैं यसलाई ठीकठाक पार्ने कोसिस गर्छु । शायद होमसिक र वातावरणीय प्रभावका कारण यस्तो भएको हो कि ?” मैले सजिलै उम्कन भनिदिएँ ।

यो मोरी मियाजाकी— अचम्मकी युवती छे । गोलो अनुहार, झोलिएका आँखा । पाक्कल पुक्कल जिउडाल । चैतमासे सिप्ली धानजस्तो कल्कलाउँदो बाक्ला छोटा कपाल । धर्मले ऊ क्रिश्चियन हो । हाँगा कुन हो, मैले जान्न चाहिनँ । मनले बौद्धिस्ट । बोली प्रस्ट नेपाली । खाना सात्विक । आजकाल त अर्गानिक नै भनिदिनु पर्छ । तसर्थ ऊ एकदिन ‘अर्गानिक लाइफ’ खोज्दै लाजिम्पाटको मेरो अड्डामा आइपुगेकी थिई । कुरो त्यही २०७० साल असारतिरको हो । नेपाल केको लागि आई र किन नेपाली भाषा सिकी, मलाई पत्तो छैन ।

पहिलो भेटदेखि नै ऊ र म कस्सिँदै गयौं । म विवाहित, दुई छोरीको पिता । ऊ अविवाहित, छिप्पिएकी जापानी युवती । मैले उमेर सोधिनँ । उसले बताइन पनि । बिनासोधखोज हाम्रो मित्रता बढ्दै गयो । ऊ अर्गानिक काम र कुरामा रुचि राख्दै गई । देशका थुप्रै ठाउँ घुम्दै गई । घुमेका तिनै ठाउँमा अर्गानिक खेती सिक्दै र सिकाउँदै गई ।

उसले नै सिकाई इकिही र बोकासी मल बनाउने प्रविधि । मैले साःगा, असुरो, बकैना, निम र क्यातुकेहरूको बारेमा भनें । देखाएँ । कुरिलो खेतीको काम गर्थें÷गर्छु— सबै घुमाएँ । देखाएँ । बैजनी रंगको कुरिलो देखाउँदा त ऊमात्र होइन, उसका थुप्रै जापानी साथी र प्रोफेसरसम्म छक्क परेका थिए । काठमाडौं उपत्यकाका रैथाने नेवारहरूको परम्परागत मल बनाउने प्रविधि साःगाको व्याख्या र अवलोकन गर्दै नेवारहरूका पुराना बस्ती घुमाउँदा त ऊ कति छक परी परी । तर, हाम्रो भाषाको सहयोग लिई भन्ने हो भने तीनछक परी भनूँ न ।

एकदिन उसले भनेकी थिई, “दीपक ! तिमीलाई म जापान लैजान्छु ।”

मैले भनेथें, “मलाई नेपालै प्यारो छ । जापानमा बसेर म काम गर्न सक्दिनँ । फेरि त्यस्तो लाटाहरूको देशमा गएर म कोसँग, कसरी बोलूँ ? मलाई जापानी भाषा आउँदैन । तिमीहरूको अंगे्रजी पटक्कै छैन ।”

“मसँगै बस्ने÷बोल्ने । हुन्छ ?”

म बाहुन चरी । यस्ता चरीहरूले नाफा–घाटा अगाडि नै सोच्छन् भन्ने जनश्रुति छ । भनिदिएँ, “अर्गानिक काम सिक्न÷सिकाउनसम्म हो भने त जापान गइएला तर तिमीसँगै बस्न र बोल्नमात्रै त मरे पनि जान्नँ ।”

उ हाँसी । उसले मेरी श्रीमतीजी र छोरीहरु छुनुमुनु सबै भेटेकी थिई । सँगै खाएकी र खेलेकी पनि थिई ।

“किन हाँसेकी ?”

“तिमी श्रीमती र छोरी छोडेर जाँदैनौ, थाहा छ । तिमीलाई म कुनै कृषि तालिममा लैजान्छु ।”

“विदेशीका गफ,” मैले मनमनै भनिदिएँ ।

तर, होइन रहेछ । एकदिन उसले मलाई साँच्चै लैजाने निधो गरिछे । उसकै देशको सानो गाउँ ह्युगोमा । ४५ दिने तालिमका लागि उसले नै मेरो इन्भिटेसन लेटर मगाई । मैले आफ्नो साधारण बायोडाटा बनाएँ । भिसा लाग्यो । हामी उड्यौं । 

उड्नुअघि देखें– श्रीमतीजीको अनुहार अलि निन्याउरो थियो ।

० ० ०

जापानको एउटा सानो गाउँ ह्युगो । हेर्छु चारैतर्फ । जताततै नेपालै नेपालको झझल्को आउने । खेत उस्तै । वनपाखा, बारी उस्तै । तरेली उस्तै, बहने हावा र पानी उस्तै । बाहिरी घर उस्तै । मान्छेहरू गुरुङ, राई, तामाङ र मगरजस्ता । म त नेपालमै छु जस्तो । 

आठ÷दशवटा ठूला–ठूला गह्राहरु थिए हामी बस्ने ठाउँमा । घर काठको थियो । बीचमा अँगेनाजस्तो आगो फुक्ने ठाउँ । मझेरी, पिँढी, मटान सबै थिए । तर, सब सफा सुग्धर । धूलो कतै थिएन । धूवाँ कतै थिएन ।

“भोलिदेखि त्यही अगाडिको खेतमा काम गर्नुपर्छ,” मियाजाकीले भनी ।

बुर्बुराउँदो माटो थियो । मैले सम्झिएँ– मनोहराको मन छोइरहने उर्वर फाँट । अनौठो हुँदोरहेछ जापानीहरूको तालिम पद्धति । काम गरेको, सिकेको, पढेको केही थाहै नहुने । बच्चाले भाँडाकुँडी खेलेजस्तो । हामीकहाँ भैदिएको भए– एउटा कोठामा भेडाबाख्राझैं कोच्चाएर जेटीएले दुई घण्टा फलाक्थ्यो । ओसिएको चिउरा र कोक्याउने आलुको तरकारी खुवाएर घर पठाउँथे । साँच्चै ! जापान भनेको जापानै रहेछ !

खेतमा खेतीको फिल्म हे¥यो, माटो हे¥यो, औजारहरू हे¥यो, मल–बीउ हे¥यो र मियाजाकीको पछिपछि लागेर कृषिकर्म ग¥यो । त्यहीँ नै गुबो र साकुराजीमा पहिलोपल्ट फलेको देखेको हुँ मैले । टर्रो हलुवाबेदलाई गुलियोमा रुपान्तरण गरिएको होसागाकी बनाउन मलाई मियाजाकीले त्यहीँ सिकायी, जुन सबै मैले नेपाल भित्र्याएँ ।

तरm त्यही खेतमा मलाई रोगले समात्यो । निसंकोच पहाडी शरदीय झरनाजस्तो छङ्छङ् बग्ने मेरो पिसाब संकोचमा तप्प तप्प खस्ने सुकेधारामा परिणत भयो । मियाजाकी पिँडुला देखिने हल्का कसिलो पाइजामा लगाउँथी । कम्मरमाथि दुई–तीन वटा पातअंकित टिसर्ट लगाउँथी र कतै नछिनेका लामा ड्याङहरूमा दुई हातखुट्टा टेकेर माटो चलाउँथी । म एक मिटर पछाडिबाट उसको काम हेथें । माटो र बीउ उस्तै–उस्तै हो नेपाल र जापानमा । तर, खेती प्रविधि र ड्याङ धेरै फरक । साँखु र पनौतीका नेवारले बनाएका आलुका ड्याङमा रमाउने म जापानका एकरसका उदेकलाग्दा ड्याङ देख्दा विरक्त लाग्थ्यो ।

विरक्त लागेर दोस्रो हप्तामा भनिदिएँ, “मियाजाकी, तिम्रा ड्याङहरू विरक्त लाग्दा छन् ।”

“रहर लाग्दा पनि खोज न त,” उसले टाउकोमा सिउरिएको छतरीको छायाबाट आँखाका नानी चलाउँदै भनी ।

“हुन्छ, खोजूँला,” मैले हाइकूको पहिलो हरफझैं पाँच अक्षरमा बोलिदिएँ ।

तर खोज्ने के ? चारैतर्फ उही निरस लमतन्न सुतेका लामा ड्याङहरू । तिनै ड्याङमा चरिरहेकी भैसीजस्ती मियाजाकीको जिउ ।

ओहो ! अलिकति त रस रहेछ । मैले मियाजाककिो पुट्ठातिर आँखा लगाउदै सोचें । ऊ छिप्पिएको आफ्ना रहस्यमयी पुट्ठोलाई हाँसको चालझैं ढलकमलक पार्थी । मेरो मन रसायो । थामें । पिसाब रसायो । त्यो पनि थामें । सकेसम्म थामें । तर, थामिनसक्नु भएपछि म उसको पछाडिबाटै भाग्न खोजें ।

“दीपक कता ?” उसले पनि हाइकूकै पहिलो हरफे पाँच अक्षरमा बोली ।

“पिसाब च्याँप्यो, ट्वाइलेट जान भागेको ।”

ट्वाइलेट पुगें । जिपर खोलें र बगाइदिएँ पिसाब । तर, कहाँ पहाडी शरदीय झरनाजस्तो हुनू ! साउने खहरेझैं पूरै लेदो बग्यो । निकास थुनिएको भए कमोड भरिन्थ्यो, शायद ।

लाग्छ— त्यही दिनबाट शुरु भयो मेरो ‘प्रोस्टेट ग्ल्यान्ड’को समस्या ।

म मियाजकीसँगै ड्याङहरू कोट्याउँथें । सुम्सुम्यउँथें । गोड्थें । र, पिसाब लाग्दा भागेर ट्वाइलेट पुगिहाल्थें । कहिलेकाँही त जिपर खोल्न नभ्याएको जस्तो हुन्थ्यो । कस्तो हुन्थ्यो हुन्थ्यो । अनुभूतिको अगाडि शब्दहरू हारेको पहिलो अनुभूति यहीँ गरें मैले ।

मनग्य पिसाब फे¥यो र झ्यालबाट मियाजाकीको त्यही रहस्यमयी पुट्ठो नियाल्यो । ऊ हाँसको चालझैं माटोमाथि ढलकमलक गर्थी । उता नेपालमा चाहिँ श्रीमतीजी के गरिरहेकी होली ?

मैले म्यासेज ठोकें  । ट्वाइलेटबाटै । पिसाब फुस्काउँदै थिएँ । मियाजाकी खेतका त्यही निरश ड्याङमा लैनु भैसीझैं चरिरहेकी थिई ।

“हेलो शोभा, के गरिरहेकी ?”

“म त निदाइरहेकी । फोनले झसंगै बनायो ।”

“दिउँसै निदाएको ?”

“अँ, हजुर गएदेखि रातमा निद्रै पर्दैन ।”

“अनि कस्तो छ तेता ?”

“ठिकै छ । निरस छ । हजुरलाई चाहिँ कस्तो छ त्यता ?”

“यहाँ त दिउँसो दशैं, रातमा तिहार ।”

“अँ... फट्टा ।”

मैले ट्वाइलेटको फराकिलो झ्यालबाट मियाजाकीलाई हेरें । ऊ खेतबाट मलाई हेर्दै हाँसी । पिसाबको अन्तिम थोपा चुहियो । उसले हातको इशाराले डाकी । श्रीमतीजीको फोन टुंगाएँ । जिपर लगाएँ र फेरि खेतमै पुगें । मियाजाकी कुरिरहेकी थिई । एक मिटरकै दूरीमा बसें । ऊ बोल्दै थिई, “कति पिसाब आउँछ तिमीलाई ?”

“आउँछ त म के गरूँ !”

“अरू केही आउँदैन ?”

मैले सुने नसुनेझैं गरें । बुझें नबुझेझैं भएँ ।

दिनहरू यसरी त्यसरी नै बिते । खेलाउन माटो, मल र बीउमात्र थिए । हजार काम लत्याएर म आफ्नो खुशीले कृषिमा आएको हुँ । तसर्थ नमजाचाहिँ कहीँ, केही लागेको थिएन । सब मजा । चारैतर्फ मज्जै मज्जा तर नमजा दुई कुरामा थियो । पहिलो— सधै नतमस्तक, आत्मीय र आदरपूर्वक भावभंगिमामा बोल्ने यो मियाजाकी केही हप्तायता ठाडे लाग्न थालेकी छे । दोस्रो— झरनाजस्तो बग्ने मेरो पिसाब तप्प तप्पमा परिणत भएको छ । यी दुबै अवस्था बेसोमतिलो लागे मलाई ।

कमिलालाई मूतको पहिरो भनिन्थ्यो । अहिले यही मूत नै मलाई गहिरो भएको छ । अचानोको चोट खुकुरीलाई के थाहा ! पछिल्ला दिनमा त तप्प तप्प पिसाब चुहिनाले भित्री वस्त्र पनि भिज्न थालेका थिए । हैरान हैरान थिएँ । काममा कुनै रुचि नै थिएन । मियाजाकीसँग बोल्न र आँखा जुधाउन पनि ठूलो सकस हुन थाल्यो । भागूँ त कता भागूँ ! भाषा र परिवेश केही बुझिँदैन । फेरि भागेरै पनि त तप्प तप्प चुहिने यो पिसाबको करुवा मैसँग रहने हो । कस्तो अप्ठ्यारो । घत्, कस्तो पीडा ! बर्मा गए पनि कर्म सँगै भनेको शायद यही होला ।

यही अवस्थाको उत्कर्षमा मियाजाकीले ठ्याक्क भनेकी थिई, “दीपक, तिम्रो अनुहार पढ्दा तिमीलाई केही उकुसमुकुस भएको छ ...।”

हो, उकुसमुकुसै भएको हो । एकातिर छिप्पिएकी जापानी अविवाहिता, अर्कोतिर तप्प तप्प पिसाब चुहिने म विवाहित नेपाली । उसले परम्परागत अनेक जापानी औषधि अपनाउन भनी । डक्टर, नर्सकहाँ जाऊँ भनी । अनेक–अनेक उपाय निकाली । मैले कुनै, केही मानिनँ, बाँकी १०–१५ दिनको जापान बसाइमा । बरु तप्प तप्प पिसाब रसाएरै भए पनि तालिम सिध्याउँछु भन्ने अठोट गरें । यसको उपचार नेपालमै पनि छ । बरु बाँकी दिन डाइपर नै लगाएर बसूँला । संसारभरका महिला किशोरी अवस्थादेखि नै महिनामा चार–पाँच दिन प्याड लगाएरै बाँचेका छन् त ! कहीँ कतै अप्ठ्यारो सुनिएको, देखिएको छैन । बेकारमा भनेछु– यो असहज समस्या, मियाजाकीलाई । नभनेर टारिदिएको भए मेरो के नै जान्थ्यो र ?

बाँकी दिन पूरै कष्टमा बिताएँ । पिसाब आए–आए जस्तो हुने । फेर्न गयो, उही तप्प तप्प ! ट्वाइलेटबाहिर आयो, पिसाब आएजस्तो हुने । कति कन्नू ! कन्दा–कन्दा मृगौला कता–कता दुखेजस्तो । वा मृगौलाले पिसाब थेग्नै नसकेजस्तो । भित्रैबाट ठूलो सकस । ट्वाइलेट गयो, उही तप्प तप्प ! हात्ती आयो, हात्ती आयो— फुस्सामात्र ।

बरु मियाजाकी नदेखिँदा वा उसलाई नसम्झिँदा अलि कम भएको हो कि ? थाहा छैन ।

नेपाल फर्किने दिन आयो । अब मियाजकीसँग छुट्टिँदै छु भन्ने भएपछि ट्वाइलेट पसें । रसाएका आँखा पुछें । तप्प तप्प पिसाब छोडिदिएँ । केही हलुको भएथ्यो मूत्रथैली । सोच्दै थिएँ– प्लेनमा अब कति कष्ट सहनु पर्ने हो । कति लाजशरम भोग्नु पर्ने हो !

छुट्टिँदा मियाजाकीले पनि तप्प तप्प ! चुहाई । तर, छ्या— पिसाब हैन है— आँखाको आँसु ।

‘नरुनू’ भनें ।

ऊ आँखाका आँसु पुच्दै भन्दै थिई, “छिट्टै उपचार गरिहाल दीपक । बरु नेपालमा उपचार राम्रो नपाए तिमीलाई फेरि म जापान बोलाउनेछु ।”

कस्तो आत्मीय र प्रिय छे यो केटी ! मन थाम्न सकिनँ । उसलाई आफ्नो अँगालोमा कसें र निधारमा एक चुम्बन दिएँ ।

मियाजाकी सोझी छे । बुहारीझारझैं लल्याकलुलुक भई । मैले यस्तो गर्नु ठीक थियो/थिएन, थाहा भएन ।

संयोग नै मान्नुपर्छ– काठमाडौं झरेको पहिलो रातै पूर्णिमा परेछ । आकाशको जून पूरै पोखिएर धर्ती उज्यालिएको थियो । कोठाभरि श्रीमतीजी पोखिएकी थिइन । पैतालीस दिनमा खुबै न्यास्रिइछे । मेरो भाग्य ! मैले न्यास्रो फुकाउनु थियो । कोठाभरि पोखिएकी श्रीमतीजीलाई सँगाल्नु थियो । कुरोको कुन्तुरो फुकाउनलाई जापान बसाइको पिसाब–कथा सुनाएँ । हाँसी– खुत्खुत् । पत्याई/पत्याइन— उही जानोस् । पिसाब लागेजस्तो भयो । श्रीमतीजीलाई पन्छ्याएर ट्वाइलेट पसें । पिसाब फुस्कियो– तुरुक्क ।

राति १२ बजेसम्म जूनको साक्षीमा श्रीमान्–श्रीमती लाडिइरह्यौं । कतिखेर के–के भयो, पत्तो भएन । निदाउनुअघि भनें, “बूढी, प्रोस्टेटको भोलि नै चेकअप गर्छु । तप्प तप्प पिसाब चुहिएर हैरान भएको छु ।”

बूढी फेरि हाँसी– खुत्खुत् ।

जोस भेटिइसकेको थियो । कतिखेर निदाएछु— पतै भएन । भोलि बिहान घाम झुल्किँदा श्रीमतीजी उठिसकिछे । उठेंं । ट्वाइलेट गएँ । पहिलोबानको पिसाब जो फ्याँक्नु थियो । फ्याकें । लौ, कस्तो आश्चर्य ! पहाडी शरदीय झरनाझैं मेरा प्रिय पिसाबहरू छङ्छङ् गर्दै झर्न थाले । म पुलकित भएँ । ट्वाइलेटमै नाचें, एकफन्को ।

मैले तत्कालै मारी मियाजाकीलाई मोबाइलबाटै म्यासेज पठाइदिएँ, “नो प्रोस्टेट प्रोब्लम । आई एम फाइन मिस मारी ।”

श्रीमतीजीलाई डाकें र सोधें, “मैले आफ्नो पिसाबको समस्या सुनाउँदा तिमी हिजो राति किन खुत्खुताएकी ?”

ऊ फेरि पनि हाँसी– खुत्खुत् । र, भागी ट्वाइलेट ।

अब मैले कुर्नु थियो । कुरें, मियाजाकीको म्यासेज र ट्वाइलेटकी श्रीमतीजी । एक्कासि हाँस उठ्यो । हाँसें– खुत्खुत् ।
 

प्रतिकृया दिनुहोस
ad