site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
नेपाली पारा
Ghorahi CementGhorahi Cement

– प्रमोद अमात्य


लामो यात्रामा अनेकन रोचक, रोमाञ्चक र घोचक घटना घट्नु नयाँ कुरा होइन । यात्राले कहिले यातना दिन्छ त कहिले जात्रा नै गर्छ ।

दुई–चार वर्ष अघिको कुरा हो । सान्–फ्रान्सिस्कोबाट उडेर आबुधाबी पुगेको थिएँ— इत्तेहाद एअरवेज्जबाट । जहाज समयभन्दा १० मिनेट ढिलो आबुधाबी उत्रिएको थियो । गेट नम्बर बोर्डिङ पासमै भएकोले सीधै हानिएँ त्यतैतिर, सोध्दै–सोध्दै । यताउता हेर्ने समय पनि थिएन, जम्मा ४० मिनेटको ट्रान्जिट थियो । जहाज छुट्ला कि भन्ने पीरलोले पोलिराख्यो ।

Agni Group

संयोगले गेटछेउ इत्तेहादका नेपाली स्टाफ बसेका रहेछन् । ती युवा फोनमा मग्न थिए । उनलाई ‘काठमान्डू जाने’ भनेपछि यसो फोनमा के–के थिचे र ‘जहाज आएको छैन, बस्दै गर्नुस्’ भने र फेरि आफ्नै फोनमा व्यस्त भए । छेवैको मेचमा बसेर गेटमाथिको डिस्प्लेमा आँखा दौडाउन थालें । त्यसमा नेपालछेउका देश र शहरको नाम आयो, काठमान्डूको आएन । यतिबेलासम्म त आइपुग्नु पर्ने थियो । समय घर्किन लाग्यो । ढिला हुन लागेको चाल पाएर एक अरबीलाई आफ्नो उडानबारे सोधें । उनले भने, “लऽऽ यो गेट हैन । तपाईंको त अर्कै गेटमा बदली भइसकेको छ । ल आउनुस् ।” उनले अर्कै गेटतिर दौडाए । यत्तिकैमा अर्का एक नेपाली पनि अल्मलिएका भेटिए । अब भने मन भतभती पोल्न थाल्यो ।

जहाज छुट्यो भने ? अर्को टिकट पो किन्नु पर्ने हो कि ? कहिलेको टिकट भेटिएला ? कता बस्ने ? कहाँ खाने ? मेरा झिटिगुन्टा के भए होला ? न नेपाल जाने जहाज पो चढ्यो कि गुन्टाले ? अब भने वित्यास पर्ने भयो । यस्तै सोच्दै हामी दुई ती अरबीको पछिपछि दौडियौं । नजिकै रहेछ जानुपर्ने गेट । भ्याइन्छ कि भन्ने ठूलो आश गर्दै दौडियौं । ढोका बन्दमात्र गरेको रहेछ । हामीले आ–आफ्नो पास देखायौं ।

Global Ime bank

“अहँ, ढोका बन्द भइसक्यो, अब जान मिल्दैन,” गेटमा उभिएकाले भने ।

“जहाज उडेको छैन, हाम्रो सामान गइसक्यो होला । हामीसँग सानो हाते ब्यागमात्र छ । पठाउनुस् न बिन्ती,” हामीले शालीन तरिकाले अनुरोध ग¥यौं । तर, ऊ टसमस भएन । भन्यो, “अफिसमा गएर कुरा गर्नुस् न ।”

निराश, हतास हुँदै हामी अफिसतिर लाग्नुबाहेक अरू केही उपाय सुझेन । न कतै हाम्रो नाम बोलायो, न कोही हामीलाई खोज्दै आए । अरू ठाउँमा भए लास्ट कल फलाना व्यक्ति ढिस्काना गेटमा आउनुहोला भनेर फुकेको फुक्यै गरेको कति सुनेको हो कति । यहाँ त कसैले वास्ता पनि गरेन । मानौं, हामी कुनै हवाइजहाज होइन, माइक्रोबस चढ्दै छौं । बरु माइक्रोबसको खलासी भाइले ‘आउनुस् आउनुस्’ भन्दै बस चढाउँछ । यहाँ त हाम्रो अस्तित्व नभएजस्तो गरे यी जहाजवालाले ।

मुटु ढुकढुक गर्न थाल्यो । पहिले भेटेको गेटमा बस्ने नेपाली स्टाफलाई सराप्न थाल्यौं । मुख छोडेर गाली गर्न मन लागेको थियो तर रिस थामेर बस्यौं । मनमनै सोचें— कस्तो लापरवाह केटा होला ? राम्ररी थाहा नभएको कुरा किन भनेको होला ? फोनमा हात फेरेको छ, बसेको छ । ती भाइले खाँटी नेपाली पारा पो देखाए त यो मरूभूमिमा ! ती भाइलाई यात्रुको कुनै मतलबै छैन । मेरा दाह्रा किट्किटाए रिसले ।

‘घरै पिँडालु वनै पिँडालु, ससुराली जाँदा बाह्र हाते पिँडालु’ भनेझैं अफिसमा पनि अर्का नेपाली कारिन्दा भेटिए । अब झन् जिउ खङ्ग्रङ्ग सुक्यो । मन म¥यो । पहिलेको नेपाली केटाले त्यत्रो जात्रा गराइसक्यो, यसले के तमासा गर्ने हो खै ! के पारा ल्याउने हो ! यो प¥यो टाईवाला । नभन्दै ऊ पनि के कम ! भन्दियो, “यो तपाईंको गल्ती हो ।”

ऊ विवाद गर्न थाल्यो । नेपाली पारा त देखाउनै थियो, देखायो । म पनि रिसाएर ‘यो वादविवाद गर्ने समय हैन, जे गर्दा बेस हुन्छ, त्यही गरौं’ भनेपछि ऊ अलि शान्त भयो । शायद मेरो उमेरले काम ग¥यो यो पालि । 

“काठमान्डू जाने अर्को उडान भोलिमात्र छ । आज तपाईंहरू यतै बस्नुस् । दुई जनालाई होटलमा एउटा कोठा मिलाइदिन्छु,” उसले भन्यो ।

मैले भनें, “हाम्रो परिचय र चिनजान छैन । हामीलाई छुट्टाछुट्टै कोठा दिनुस् ।”

केही लागेन । ‘त्वम शरणम’ र ‘हस्’ भन्नुबाहेक अरू उपाय केही भएन ।

उसले कम्प्युटरमा हाम्रा लागि कोठा मिलाउन थाल्यो तर त्यो स्मार्ट तर निर्जीव कम्प्युटर भाँडोले उसको आदेश मानेन । छेउछाउका साथीहरू पनि सघाउन आए तर कसैको केही सीप चलेन । मानौं— मेसिनले हाम्रो चाहना बुझेको छ र दुई जनालाई दुई वटा कोठा दिन चाहन्छ । यत्तिकैमा हाकिमजस्तो देखिने एक भारतीय युवा आयो कोठामा । सबै एउटै कम्प्युटरमा झुम्मिएको देखेर ऊ आएको रहेछ । स्थिति बुझेपछि उसले ‘दुई जनालाई भिन्दाभिन्दै कोठा दिनू’ भन्ने उर्दी जारी ग¥यो । अब भने त्यो स्मार्ट कम्प्युटरले कुरा बुझेजस्तो ग¥यो । कोठा सजिलैसँग बुक भयो । लामो सन्तोषको सास फेरें । कम्तीमा बस्ने र खाने चाँजोपाँजो मिल्यो । दिनदशा राम्रो भएर होला । धन्न त्यो अरबीलाई सोध्न पुगेछु नत्र त्यो गोर्खे ठिठाले हामीलाई अलपत्रमात्र होइन, हरिविजोगै बनाउने रहेछ, यो सुष्क मरूभूमिमा । त्यो हरिलम्फू ठिटाको नामसम्म जान्नु पर्ने थियो । नाम त फुर्तीका साथ छातीमा टाँसेको थियो नि ! अहिले सम्झिँदा पनि पैतालादेखि रिस उठ्छ । पाए त टाउकैमा एक ‘खौ’ हान्थें ।

फेरि यी नेपाली ठिटाहरूलाई सम्झें— किन यिनीहरू यस्ता भएका होलान् ? सभ्य, शालीन र सहयोगी हुन पैसा त लाग्दैन नि !

नेपाली कामदारहरू विमानस्थलमा छपक्कै थिए । उनीहरू नेपालीमा गफिएको राम्ररी सुनिन्थ्यो ।

इत्तेहादको राम्रो विलासी गाडीले विमानस्थलबाट होटेल पु¥याउने व्यवस्था मिलाइदियो । होटेल पुग्न १०–१५ मिनेट लाग्यो होला । चिल्लो गाडीमा सलल गुड्दा एकछिन भए पनि मज्जा आयो । न कतै जाम थियो, अमेरिकामा जस्तो । न कतै धूवाँ र धूलो थियो, नेपालमा जस्तो । सफा सडक र सडकछेउ लोभलाग्दो हरियाली देखेर मोहित भएँ । यो सौन्दर्य सिर्जना गर्न कति नेपाली युवाले पसिना बगाए होलान् ? यो पसिना मरुभूमिका देशहरूमा बगाउनुको सट्टा आफ्नै देशमा बगाउन पाएको भए यी नेपाली युवाहरूले देशलाई कस्तो बनाउँथे होलान् ? नेपाल पनि यस्तै विकसित हुन्थ्यो होला है ?

मनमा कुरा खेल्दाखेल्दै होटेल पुगिएछ । होटेलको वरपर हरियाली र पछाडि नदी थियो । वास्तवमा त्यो नदी नभएर नहर रहेछ । त्यो नहरमा पानी बगाउन यी अरबीले कति तेलको खोल्सी बगाए होलान् ? जेहोस्, मरुभूमिमा पनि यस्तो विकास ! यस्तो हरियाली र बहार ! अचम्म लाग्यो ।

लामो हवाईयात्रा र विमानस्थलको कचकचले बेस्कन थाकेर होला— म भुसुक्कै निदाएछु । भोलिपल्टको बिहान उही नेपाली सहयात्री भेट भयो । बिहान भने मिनीबसले विमानस्थल पु¥याइदियो । जहाजभित्र नपुगुन्जेल तनाव भइराख्यो । उड्न पाइने हो कि होइन भन्ने पीरले मुटु ढुकढुक भइराख्यो । यो पालि चाहिँ कुनै अलमल भएन, समयमै जहाज चढ्न पाइयो ।

जहाजभित्र पुगेपछि म त एकछिन अलमल्लमा परें । मैले जहाज चढेको हो कि लोकल बस— छुट्याउन धौ–धौ प¥यो । पूरा जहाज भरिभराउ थियो । पाइला टेक्ने ठाउँ थिएन । हल्ला उत्तिकै । बल्ल एउटा खोपामा सामान घुसारें र आफ्नो सिटतिर लागें । तर, मेरो ठाउँमा पहिल्यै कोही गोर्खाली महानुभाव आसन जमाएर बसेका रहेछन् ।

“यो मेरो ठाउँ होला,” भनेको त ती महानुभाव वाल्ल परे ।

“जता बसे पनि हुन्छ सर,” पो भन्न थाल्यो ।

भनें, “म मेरै ठाउँमा बसौं कि ?”

उसले ‘हामी साथी–साथी सँगै बस्न खोजेको’ भन्न थालेपछि कर गर्न मन लागेन । कोसँग को बस्ने, कोसँग को गर्दागर्दै अलि अगाडिको एउटा सिटमा बस्ने चाँजोपाँजो मिल्यो ।

विमानभरि प्रायः युवा नेपाली अनुहारमात्र भेटिए । सबै रमाइरहेका थिए । मानौं उनीहरू सबै थकान, दुःख, पीर, व्यथा केही समयका लागि यो बालुवाको मुलुकमा छोडेर हिँडेका छन् । उनीहरु हल्का भएका छन् । यति हलुंगो भएर स्वदेश हिँड्न आफ्ना साहूसँग वा हाकिमसँग छुट्टीका लागि कति विन्ती बिसाए होलान् ? कति समय कुरे होलान् ? कति समयपछि कोही साइँली भेट्न, कोही कान्छी भेट्न आतुर होलान् ? कति आमा–बुवा भेट्न त कति साहूको ऋण निखारेर घरखेत छोडाउन हतार गर्दै जान खोजेका होलान् ? विमानले भुइँ छोडेपछि लामो सन्तोषको सास फेरें ।

सिटछेउमा बस्ने युवा यतै आबुधाबीमा काम गर्ने रहेछन् । भाइ निकै खुशी देखिन्थे । उनले आफ्नो कामको परिचयपत्र देखाएर आफू इत्तेहादमै काम गर्ने जनाए । शायद उनलाई कसैले मरुभूमिमा भेडा चराउने गोठालो नभन्ठानोस् भनेर परिचयपत्र देखाएका हुन् जस्तो लाग्यो । भाइले बडो गर्वका साथ आफ्नो तलब पनि सुनाउन भ्याए । तलबबाहेक सुविधा पनि राम्रै हुँदो रहेछ । ती भाइलाई खुशी देखेर मलाई पनि खुशी लाग्यो ।

जहाजले राम्ररी उडान लिन थालेपछि इतिहादले खाना बाँड्न थाल्यो । सँगै जहाजमा हल्लाको मात्रा पनि बढ्दै गयो । एयरहोस्टेस बोलाउने घण्टी जताततै बज्न थाल्यो । उनीहरू दौडिरहेका थिए । गफ गर्नेहरूको आवाज चर्किंदै गएको थियो । जहाज अब कुनै गाउँको मेला वा शहरतिरको जात्राजस्तो हुन थाल्यो । सब आ–आफ्नो तालमा मस्त । आ–आफ्नो सुरमा व्यस्त । कसैलाई कसैको मतलब छैन । विचरा तीन–चार जना ती एयरहोस्टेसले सासै फेर्न पाएका थिएनन् । उनीहरूलाई कसैले राम्ररी अदब पनि राखेका थिएनन् । मात्र यताबाट यो मागेको छ, उताबाट त्यो भनेको छ । सँगैका भाइले पाँचथरीका ड्रिंक्स मगाए । मनमनै गमें— यसरी एकजनाले पाँचथरीको ड्रिंक्स मगाउने हो भने एयरहोस्टेसहरूलाई ड्रिंक्समात्र बाँड्न पनि उडान समय पुग्नेछैन । यहाँ कसैलाई एयरहोस्टेसहरू पनि मानिस हुन्, सास फेर्नुपर्छ, खानुपर्छ, यसो बस्नु पनि पर्छ भनेर सोचिदिने भएनन् । सबै आ–आफ्नो टिकटको मूल्य पिएर, खाएर र हल्ला गरेर उठाउन चाहिरहेका जस्ता देखिन्थे । साह्रै उदेकलाग्दो र दिक्कलाग्दो दृश्य थियो त्यो । यस्तै हल्लाबीच विमान काठमान्डू उत्रियो ।

विमानबाट ओर्लिंदा नमस्ते गरेर बसेका ती एयरहोस्टेसलाई उनीहरूको अविरल सेवाका लागि मनैदेखि धन्यवाद दिएँ । इमिग्रेसनको लथालिंगे लाइन पार गर्दै सामानसम्म पुग्न केही समय लाग्यो तर सामान आउन र जाँच पासमा खासै समय लागेन । त्यस्तो धेरै र गाह्रो पर्ने सामान पनि थिएन मसँग । भाइ आएर बाहिर पर्खेर बसेको थियो । उसको गाडीमा बसेपछि खुइए गर्दै लामो सास फेरेर जिउ तन्काएँ । शरीर अनि दिमागलाई हल्का पारें । अनि सबै आफ्नासँगको रमाइलो भेटघाटको तानाबाना बुन्दै त्यो इत्तेहादको जात्रालाई बिर्सने जमर्को गर्न थालें । अस्तु ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार २१, २०७६  ०८:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC