हर्जाना

हर्जाना

– प्रभा बराल


“हप्ता दिनभरिको कामको चापलाई विश्राम दिने यही आइतबार न हो, यो चिसोमा कहीँ घुम्न जान्नँ, यहीँ हिटरको तातोमा गुडुल्किरहन्छु,” आफैंसँग मौन संवाद गरें र एक घुट्को दूध कफीको स्वाद लिएँ, “आहा ! कस्तो स्वादिलो र तिख्खर कफी ! चिनी, दूध र कफीको एकदमै मात्रा मिलेछ, आखिर मेरो अनुभवी हात न प¥यो ।”

कल्पनाको संसारमा उड्न र आफैंले आफैंलाई प्रशंसा गर्न कसले पो रोक्न सक्ने भयो र ! म पनि उड्न थालें कफीको स्वादसँगै अलिकति अतीत र वर्तमानका भोगाइहरूको जोडघटाउमा ।

फेब्रुअरीको चिसो महिनामा हिटर तापेर कफी पिउन पनि जापानजस्तो देशमा मौका जुर्नु पथ्र्यो । समयलाई छोप्नै गाह्रो, समयको गतिमा हिँड्नै धौ–धौ । कमिलाझैं मेहनेती नागरिक बस्ने देश भनेर जापानलाई किन भन्थे भनेको त यति व्यस्त दैनिकी हुँदो रहेछ र पो त ! 

मनमा तर्कनाको शृंखला चलिरहेको थियो । मगमग चलेको कफीको बासनाले मनै हरर बनाइरहेको थियो । निकै आनन्दित मनले कफीको दुई–चार घुट्कीमात्र पिएकी थिएँ, मोबाइल बज्यो । जापानको ठाउँमा हत्तपत्त मेरो मोबाइलमा फोन आउँदैन । आयो भने पनि काम गर्ने ठाउँबाट मात्रै हो । सबै नेपालीहरू अत्यन्तै व्यस्त छन् । नेपालतिरबाट मेसेन्जर र भाइबरमा मात्र फोन आउँछ ।

कसले गरेछ हँ अहिले ? व्यग्र उत्सुकताले फोन नम्बर हेर्छु । सेभ गरेकै नम्बर रहेछ, पुष्पाको । अब स्वाद लिई–लिई मजाले कफीको चुस्की लिन्छु र मनमगनले आफ्नो सुर गर्छु भनेको, फेरि पुष्पाको फोन आयो । नउठाऊँ कि क्या हो ! पुष्पा त्यति साह्रो फोन गर्ने मान्छे त होइन, आज किन गरिछ त ? मनभित्र अनेकौं तर्कना चल्न थाले । मेरो आइतबार बिदा भन्ने थाहा पाएर त फोन गरेकी होली भन्दै, ‘हेलो पुष्पा’ भनें । निकै अत्तालिएको स्वरमा उताबाट पुष्पा बोली, “दिदी ! एहिमे युनिभर्सिटी जाने चोकमा छिटो आउनू न, म दुर्घटनामा परें ।”

“दुर्घटना ?” कल्पनै नगरेको कुरा एक्कासि सुन्दा म छाँगाबाट खसेजस्तै भएँ ।

“हो दिदी दुर्घटना । छिटो आउनू न है !” अलि–अलि रुन्चे स्वर निकालेर पुष्पा बोली । 

पुष्पाको वाक्यले ऊ ठूलै आपतमा परी भन्ने कुरामा मलाई कुनै शंका रहेन । खाँदाखाँदैको कफी टेबलमै छाडेर मोबाइल हातमा लिई दौडिएँ । छोटो बाटोमै पनि दौडेर जाँदा स्याँस्याँ भएजस्तो भयो । नजिकैबाट एम्बुलेन्सको साइरन बजेको आवाज आइरहेको थियो । लौ न, कतै यो एम्बुलेन्स पुष्पालाई नै लिन आएको त होइन ? ठूलै चोटपटक लाग्यो क्या हो उसलाई ?

एहिमे युनिभर्सिटी जाने चोकमा उत्तरतिरबाट आइरहेको एम्बुलेन्स तल्लो बाटोबाट कुदेको स्पष्ट देखें । एम्बुलेन्स चोकमा आएपछि उसलाई बाटो छाड्न चल्दाचल्दैका गाडीहरू जहाँको तहीँ उभिएको पनि देखें । एम्बुलेन्स किनारा लागेपछि गाडीहरू आ–आफ्ना लेनमा दौडिए । एम्बुलेन्सको यो अवस्था टाढैबाट नियाल्दै आइरहेकी मलाई ‘म दुर्घटनामा परें दिदी, छिटो आउनू है’ भन्ने पुष्पाको आत्तिएको वाक्य सम्झिँदा चिटचिट पसिना आए । भगवान् पुकार्दै हस्याङफस्याङ गरेर दौडिएँ । म पुग्दा ऊ सडकको किनारामा असहायजस्तै बनेर बसिरहेकी रहिछ । एम्बुलेन्सकै जस्तो रातो बत्ती भएको प्रहरीको गाडी पनि किनारा लागिरहेको देखें । दुई जना प्रहरी र एउटा जापानी पुरुषले पुष्पालाई ‘दाइजोबु दाइजोबु (ठीक छ ?)’ भनेर सोधिरहेका थिए । तर, पुष्पाले उनीहरूलाई कुनै उत्तर दिएकी थिइन ।

जापान आएको चार–पाँच महिना भइसके पनि पुष्पाले जापानी भाषा कामचलाउसम्म पनि जानेकी थिइन । अलि–अलि बुझ्थीमात्र, उत्तर फकार्उन जान्दैनथी । जापानीहरू अंग्रेजी भाषाप्रति त्यति मोह राख्दैनन् । हाम्रो नेपालमा जस्तो अंग्रेजी बोले आफ्नो शान बढ्छ भन्ने पनि उनीहरू सोच्दैनन् । सडकका साइनबोर्ड, होर्डिङबोर्डलगायत पसलका नाम पनि जापानी भाषाको हीरागाना, काताकाना वा खान्जीमौ लेखिएका हुन्छन् । कताकति मात्र देखिन्छ– अंग्रेजी भाषामा लेखिएका साइन बोर्ड । ‘थ्यांक यु’ सम्म नभनेर उनीहरूले आरिगातो (धन्यवाद) शब्द नै प्रयोग गर्छन् । अंग्रेजी भाषाप्रति पूरै वितृष्णा छ उनीहरूलाई । 

आँखामा आँसु निकालेर पुष्पाले म आउने बाटोतिर आँखा बिछ्याएकी रहिछ । मलाई देखेपछि बचेराले माउ भेटेझैं उसको अनुहारमा उज्यालो थपिएको महसुस मैले परैबाट गरें ।

प्रहरीलाई कोनिचिवा (नमस्कार) गरेर पुष्पापट्टि फर्किएँ र सोधें, “कस्तो छ अहिले ? कसरी भयो यो ?”

“बाटो काट्दा गाडीले ठक्कर दियो,” पुष्पाले बच्चाले दिनेजस्तो सरल उत्तर दिई ।

“हरे शिव !” मेरो मुखबाट अनायासै भगवानको नाम निस्कियो ।

नजिकै उभिएका प्रहरीले मतिर फर्किएर आफ्नै भाषामा सोधे, “जापानी भाषा बोल्न सक्नुहुन्छ ?”

मैले ‘अलिअलि सक्छु’ भनेपछि प्रहरीको अनुहारमा खुशीका धर्सा देखिए । अरूको देशमा आइसकेपछि आफ्नो दैनिकी चलाउन पनि त्यस देशको भाषामा थोरैतिनै जानकारी राख्नै पर्छ, नत्र असाध्यै दुःख पाइन्छ । जापानमा पनि उनीहरूको भाषा बोल्न जान्नेलाई निकै प्राथमिकता दिएको मैले महसुस गरेकी छु । हुन त म जापान आएको एक वर्षमात्रै भएको थियो तैपनि मैले आफूलाई भइपरी आउने समस्या टार्न सक्नेसम्मको भाषिक सीप हासिल आफ्नै मेहनतले गरेकी थिएँ ।

“दुर्घटनामा पर्ने तपाईंकी को हुन् ?”

“तपाईंहरू कुन देशको हो ?”

“उनको कुन भिजा हो ?”

“उनको सहयोगी को छ यहाँ ?”

लगातारका प्रश्नको उत्तर पाएपछि प्रहरीहरूले कागजमा केही लेख्न थाले । प्रहरी र हामी त्यसरी छलफल गरिरहँदा पनि त्यहाँ कुनै गाडी जाम भएन र कोही मान्छेले चासो राखेर रमिते बन्दै हामीलाई हेरेन । मानौं त्यहाँ केही भएकै छैन । बरु एकजना बूढी मान्छे पुष्पाको नजिकै अघिदेखि देखेकी थिएँ तर उनलाई केही सोध्न भ्याएकी थिइनँ । दुर्घटना कसरी भयो भन्ने कुरा सबै सिसी क्यामेराको फुटेजमा रेर्कड थियो, त्यसलाई हेरेर कसको गल्ती होे, पत्ता लगाउन प्रहरी लागिपरेका थिए । साथमा रहेको वाकिटकीमा कुराकानी पनि गरिरहेका थिए । सँगसँगै दुर्घटना गराउने गाडीचालकलाई पनि केरकार गरिरहेका थिए । पुष्पालाई पनि ‘कसरी बाटो काट्यौ ?’ भनेर ममार्फत सोधिरहेका थिए । उसले सांकेतिक भाषाबाट आफ्नो कुरा राखिरहेकी थिई । उसले आफूले बाटो काट्दा मान्छेको आकृतिमा रहेको हरियो बत्ती झिपिकझिपिक गरिरहेको कुरा बताइरहेकी थिई ।

वाकिटकीमा प्रहरीले गरेको कुराकानीबाट अनुमान गर्दा सीसीटीभी फुटेजको निष्कर्ष तुरुन्तै आएजस्तो लाग्यो । प्रहरीले हामीतिर फर्किएर साइकलयात्री आएको देख्दादेख्दै गाडी चलाउनु सरासर गल्ती भएको भन्दै दुर्घटनाको दोषी गाडीधनी भएको किटान गरे । प्रहरीको कुरा सुनेर पुष्पाले पनि लामो सास तानी । साइकलयात्रीको गल्ती भएको भए के–के लफडामा परिने हो भन्ने भयले ऊ कालीनीली भएकी थिई । गाडीधनीले प्रहरीसामु टाउको निहुराएर ‘माफ गर्नुस्’ भन्दै आफ्नो गल्ती सजिलै स्वीकार गरे । आफ्नो बचाउका लागि कुनै गलफती गरेनन् । गल्ती स्वीकार गर्नेबाहेक अरू उपाय पनि नदेखेर होला ।

मैले पुष्पालाई सोधें, “तिम्रो बूढालाई फोन ग¥यौ त ?”

“अँ गरें, अघि तपाईं र उहाँलाई सँगै गरेकी थिएँ । एक घण्टा लाग्छ उहाँ आउन,” पुष्पाले भनी ।

“अब बिरामीलाई लिएर अस्पताल जाऔं,” प्रहरीले भने ।

यति भन्दै प्रहरीले एम्बुलेन्सको मानिसतिर फर्केर पुष्पालाई भित्र राख्न अह्राए । बिरामीको ख्याल राख्ने जिम्मेवारी दुर्घटना गराउने गाडी चालकलाई सुम्पिएर प्रहरीहरू हामीबाट बिदा भए । ‘ऐया, ऐया’ भन्दै र ढाड समाउँदै पुष्पा एम्बुलेन्सभित्र छिरी । पाँच मिनेटको दूरीमा थियो अस्पताल । मचाहिँ दुर्घटनामा परेको पुष्पाको साइकल लिएर पछि–पछि गएँ । सबै दुर्घटना चुपचाप हेरेर बसेकी बूढीआमालाई हिँड्ने बेला प्रहरीले ‘दोमो दोमो आरिगातो गोजाइमास’ (धेरै धेरै धन्यवाद) भने । प्रहरीलाई फोन गरेर बोलाउने बूढीआमा उनी भएको थाहा पाएपछि मैले पनि ‘आरिगोतो’ भनेर शिर निहुराएँँ ।

जाडोको याम भएकाले अस्पतालअगाडि कम्पाउन्डका साकुराका बोटहरू नांगा थिए । स–साना आरूका बोटजस्ता देखिने यी बोटमा एउटैमात्र पनि पात थिएन । शिशिरको सिरेटोले गर्दा सबै पात झरेका थिए । फेब्रुअरीको अन्त्यतिर यी बोटमा लपक्कै कोपिला लाग्ने र मार्च शुरु हुनेबित्तिकै साकुरा फुल्ने प्रतीक्षामा सिंगो जापान थियो । साकुराको सौन्दर्यवृद्धिका लागि सरकारले यति धेरै लगानी गरेर रुख हुर्काएको थियो कि शायदै अरू देशमा त्यसो गर्लान् ।

पुष्पाको साइकल राम्रै अवस्थामा रहेछ । कतै केही टुटफुट भएजस्तो लागेन । डो¥याउँदा सरर पांग्रा चलेको थियो, त्यसलाई अस्पतालको साइकल पार्किङमा राखें । गाडी र मोटरसाइकल पार्किङ भएजस्तै जापानमा साइकल पार्किङ अनिवार्य हुन्छ । टाई र सुट लगाएका जापानी नागरिक साइकलमा कुदेर आफ्नो दैनिकीमा जाँदा हामी नेपालीलाई शुरु– शुरुमा भने आश्चर्य लाग्छ । अस्पताल भइकन पनि शून्य थियो वातावरण । जापानमा हत्तपत्त बिरामीका मान्छेलाई भेट्न अनुमति दिइन्न । बिरामीको सबै जिम्मेवारी अस्पतालले नै लिन्छ र सञ्चो भएपछि मात्र घर पठाउने व्यवस्था मिलाउँछ । बिरामीहरू अस्पताल आउँदा कुनै सुविधासम्पन्न होटलमा आएको महसुस गर्छन् । यति कुरा थाहा पाउँदापाउँदै पनि सरासर सोधपुछ शाखामा गएँ र भर्खर ल्याएको बिरामीका बारेमा सोधखोज गरें ।

हातको इशाराले कोठा देखाइदिँदै सोधपुछ शाखाकी कर्मचारीले पुष्पालाई इमर्जेन्सी वार्डमा लगेको बताइन् । ‘अहिले डक्टरले जाँच गर्दै हुनुहुन्छ, एकछिन बाहिर बस्नुस्’ भनेपछि म उनले देखाएको नजिकैको बेन्चमा बसें, जहाँ गाडीधनी पनि बसेका रहेछन् । मैले नेपालकै अस्पतालमा गएजस्तो सम्झिएछु र हत्त न पत्त भित्र छिर्न लागेछु । अलिकति आफैंसँग लाज पनि लाग्यो । १० मिनेटपछि भने मलाई र गाडीधनीलाई पनि भित्र जाने अनुमति दिइयो ।

खास ठूलो दुर्घटना नभए पनि पुष्पा साइकलबाट बजारिँदा ज्यान थर्किएको रहेछ । अनुहार अँध्यारो बनाउँदै उसले अस्पतालको बेडमा पनि ‘ऐया ! ऐया !’ गरिरहेकी थिई । घरिघरि ढाडतिर पनि छामिरहेकी थिई । ज्यानले पनि ऊ अलि खाइलाग्दी नै थिई । पुष्पाको अनुहारको हाउभाउ देखेर गाडीधनीलाई अत्यन्तै नरमाइलो लागिरहेको थियो । उनले पटक–पटक ‘गोमेनासाई गोमेनासाई’ (सरी, सरी) भनिरहेका थिए ।

पुष्पाले बारम्बार ढाडमा छामिरहेका कारण तुरुन्तै ढाडको एक्स–रे पनि गरिएछ । कति छिटो रिपोर्ट पनि आएछ । रिर्पोट हेर्दै पुष्पातिर फर्किएर डक्टरले भने, “डन्ट वरी ।”

शायद विदेशी बिरामी देखेर यति दुई शब्द अंग्रेजीमा बोलेका होलान् । मैले लख काटें ।

आत्तिनु पर्ने केही छैन भनेर डक्टरले नदुख्ने औषधि र केही भिटामिन किन्नका लागि प्रेस्क्रिप्सन रिर्पोट तयार गरेर नर्सलाई दिए र कोठाबाट बाहिरिए । नर्सले उक्त रिपोर्ट मलाई दिइन् । यी सबै घटनाक्रमहरू सोचे न सम्झेजस्ता भइरहेका थिए । दुर्घटना भन्ने चिज बाजा बजाएर त आउँदैन ।

अस्पताल लगेको एक घण्टामा पुष्पाका श्रीमान् उदास अनुहार लिएर आइपुगे । श्रीमान्लाई देख्नेबित्तिकै धन्न बाँचे भन्ने लागेछ कि के हो, पुष्पा रुन लागी । पुष्पाको हात समातेर सहानुभूति देखाउँदै उनका श्रीमान् मसँग घटनाबारे सोधपुछ गर्न लागे । मैले संक्षेपमा बताएँ । पुष्पाको चेकअप भइसकेको थियो । यी सबै काम सकेर हामी अस्पतालबाट बाहिरिनै लाग्दा उनका श्रीमान् आएका थिए । हिँड्दाहिँड्दै मैले त्यो कागज पुष्पाका श्रीमान्लाई दिएँ । तर, गाडीधनीले औषधि किनेर आफूले ल्याउने कुरा गरे र पछि–पछि अस्पतालमा आउँदा लाग्ने खर्च पनि एकमुष्ट दिने कुरा गरे । गाडीधनी निकै दयालु रहेछन् भन्ने लाग्यो । ‘घरमा गएर राम्ररी आराम गर, अब भाइ घर आइहालेपछि के पो चिन्ता भयो र’ भनेर म पनि उनीहरूसँग बिदा भएँ ।

घटनास्थलबाट कोठामा आउने पाँच मिनेटको दूरी थियो । साइकल दुर्घटनाप्रति प्रहरीले देखाएको चासो र नागरिकप्रति देखाउने बफादारिताको मनमनै प्रशंसा गर्दै म कोठामा आइपुगें । ज्यान पनि मोटाउन थालेर हो कि अथवा साइकलमा घुँइकिने बानीले हो— हिँड्दा पनि स्याँस्याँ भएजस्तो भयो । यस्तो दौडधूप गरेर गएकी मलाई धन्यवाद दिदी भनेर पुष्पाका लोग्ने–स्वास्नी कसैले भनेनन् । जापान आएर उनीहरूले यति शिष्टाचार पनि जानेका रहेनछन् भन्ने लाग्यो ।

ढोकाबाट छिर्नेबित्तिकै टेबलको कफी मगतिर गए मेरा आँखा । उत्साहका साथ अघि तयार पारेको कफी टेबलमा हिउँजस्तै बनेको रहेछ । यस्तो जाडो महिनामा खाँदाखाँदै त चिसो हुन्छ, अहिले त लगभग दुई घण्टा हुन लागिसक्यो । मेरा आँखा कोठाका भित्ते घडीमा गए । कफीलाई तताएर खाऊँ कि के गरूँ होला ? कफी पनि कहाँ तताई–तताई खान्छन् र ?

जापानीहरू प्रायः हरेक खानेकुरा चिसै खान्छन् । कफी त झन् पुस–माघको महिनामा पनि भेन्डिङ मसिनबाट झिकेर चिसै खान्छन् । खासै तातो खान मन पर्दैन भन्छन् । मेरो मनले झट्ट एउटा निर्देशन दियो, “तँ पनि यो चिसो कफी स्वाठ्ठ पार्, धित नमरे फेरि तातो कफी बनाएर खा ।”

विचारको यो निर्देशनलाई मैले शिरोपर गरें । जापानीहरूले चिसो कफी पनि खुब स्वादले चुस्की लिएर थोरै–थोरै खाएको देखेकी छु । तर, मलाई त्यसरी खान पटक्कै मन लागेन । आफ्नै नेपाली पाराले हत्तपत्त कप उठाएर तनतन पिएँ, सानो बच्चाले दूधको गिलास स्वाट्ट पारेझैं । यसरी पिउँदा पनि मलाई छुट्टै आनन्द लाग्यो ।

एकपटक फेरि पुष्पालाई फोन गरेर दुर्घटनाका बारेमा गहिरिएर सोध्न मन लाग्यो । मेरा हातका औंलाहरू अनायासै मोबाइलको किप्याडमा पुगे । भर्खर आएको नम्बर सिरानमा थियो, फोनको घण्टी गयो । घण्टी जानासाथ उताबाट आवाज आयो, “दिदी म त बेलुकाको काममा जान सकिनँ भनेर फोन गर्न पनि बिर्सेछु, भर्खर सम्झिएर आत्तिँदै गरें । अनि अब एक–दुई दिन काममा आउन सक्दिनँ पनि भनें ।”

“ठीकै ग¥यौ । ज्यान बजारियो भन्थ्यौ, अब कम्तीमा एक–दुई दिन त आराम गर्न परिहाल्यो नि ।”

“अँ साँच्ची ! बरु कसरी दुर्घटना भयो भन्ने बारेमा राम्ररी सोध्न पनि पाएकी छैन मैले त । भन्न त प्रहरीलाई भन्दा अलि–अलि बुझें, तैपनि खुलस्त भन न !”

“जेब्राक्रसिङमा बाटो काट्न अनुमति दिने हरियो मान्छेको चिन्ह झिपिक–झिपिक गरिरहेको थियो । रातो मान्छेको चिन्ह नबलुन्जेल भ्याइहाल्छु नि भनेर साइकल कुदाइहालें । मैले बाटो काट्ने साइडबाट तल्लो साइडमा जाने गाडी पनि त्यत्ति नै बेला आइहालेछ । मलाई ठक्कर दिएपछि म अर्कातिर बजारिएँ, साइकल एकातिर उछिट्टियो ।”

“ए ए, बुझें । अनि त्यसपछि के भयो ?” ममा थप जिज्ञासाका पत्रहरू चाङ लाग्न थाले ।

“म त्यसरी बाटोमा बजारिँदा पीडाले रोइछु । तर, अहँ ! तँलाई के भयो भनेर मलाई कोही उठाउन आएन । म ज¥याकजुरुक उठ्न पनि सकिनँ । केही बेरपछि एउटी सत्तरी वर्ष जतिकी बूढीआमा मेरो नजिक आइन् र दाइजोबु दाइजोबु भनिन् । मैले यता–उता दुखेको इशारा गरें । मलाई ठक्कर दिने गाडी पर साइडमा रोकिरहेको रहेछ । प्रहरीलाई फोन पनि बूढीआमाले नै गरिछन् । गाडीधनी पनि मलाई सोधखोज गर्न तुरुन्तै आए ।”

“अब तिमीले साइकल चलाउन थालेकै पनि त धेरै भएको थिएन । विदेशको ठाउँमा हतार नगरी साइकल चलाउँ भनेर मैले तिमीलाई धेरैपटक भनेकै हँु,” मनले यस्तो बेला केही नभन् भनेर रोक्दारोक्दै पनि मेरो मुखबाट अनायासै यी कुरा फुत्किए ।

“हो दिदी, तपाईंले त धेरै पटक सम्झाउनुभएकै हो । एउटा काम भ्याएर अर्को काम भ्याउन जाने हतारोमा थिएँ । के भयो के भयो, दिनदशा लागेको बेला के–के हुन्छ के–के । धन्न अरू अनिष्ट केही भएन । साइकल त अलिअलि बिग्रेजस्तो लागेको छ ।”

“अब गाडीधनीको गल्ती भनेर प्रहरीले पत्ता लगाइसक्यो नि । उसले कति हर्जाना तिर्ने भन्ने कुरा पछि थाहा भइहाल्छ नि । हाम्रो देशमा जस्तो दयामाया र ल भैगो मिलौं न त भनेर यहाँ हुँदैन, नियम र कानुनले चल्ने देशमा ।”

“हो है दिदी ?”

“हो नि । यहाँको त कुरै बेग्लै छ नि ।”

“अँ त नि दिदी, बाटाभरि त्यत्रा गाडी कुदिरहेका छन्, फुटपाथमा पनि उत्तिकै मान्छे कुदिरहेका छन् र पनि मलाई उठाउन र सोधीखोजी गर्न कोही पनि आएनन्, किन होला दिदी ?”

“सबैको आ–आफ्नो समय हुन्छ । तिमीलाई के भयो, कस्तो भयो भनेर सोध्दा उनीहरूलाई आफ्नो काममा जान ढिला हुन्छ । फेरि प्रहरीले पनि उनीहरूलाई नै केरकार गर्न थाल्छ अनि बेकारमा लफडामा परिन्छ भन्ने लाग्दो हो । बरु चासै नराख्यो भने ढुक्कै भनेर कसैले कसैलाई हत्तपत्त छुदैनन् यहाँ त । यस्तो काम हेर्ने त प्रहरी हो भनेर तर्किंदा रहेछन् ।”

“कस्तो मानवीयता भन्ने नै नभएका अधर्मीहरू,” पुष्पा बर्बराई ।

“त्यस्तै हो, समयको परिबन्द र देशको नियममा च्यापिएपछि । आइछिन् त धन्न एउटी बुढिया । उनी फुर्सदमा थिइन् होला र उठाउन आइन् । मान्छेहरू तिमीलाई उठाउन नआउने मात्र होइन, अरूले गाडी रोकेर के भएको हो भन्दै अनावश्यक चासो राखेर बाटो जाम पनि त गरेनन् नि, हैन ?”

“हो दिदी । यहाँको जीवनशैली अचम्मै रहेछ ।”

तीन महिनाअघि मैले पुष्पालाई कामको सिलसिलामा भेटेकी थिएँ । उनको घर गुल्मी भन्थिन्, मेरो घर काठमाडौं । पहाडको बसाइ हुनाले उनलाई साइकल चलाउन निकै मुस्किल परेको थियो । अझ जापानका सडकहरू साइकलमैत्री थिए । साइकलको छुट्टै बाटो थियो, त्यसैले उनलाई अझ सजिलो भइरहेको थियो ।

“बिस्तारै–बिस्तारै बानी पर्छ पुष्पा, ट्राफिक नियम राम्ररी ख्याल गरेरमात्र चलाऊ है, साइकल चलाउने विद्यार्थी र वृद्ध मानिसलाई पनि पहिलो प्राथमिकतामा राखेर साइकल चलाऊ । हस्याङफस्याङ गरेर जथाभावी साइकल नकुदाऊ !” बाटोमा सँगै भेट्दा मैले उसलाई सम्झाउँदै अघि बढिरहेकी हुन्थें ।

पुष्पाको यो दुर्घटना नौलो भने थिएन । यसभन्दा अघि पनि कयौं नेपाली दाजुभाइ, दिदीबहिनीले गाडीमा साइकल ठोक्काएर दुर्घटनामा परिसकेका थिए । नियम बुझेर आफूले हिँड्ने बाटोको बारेमा राम्ररी अध्ययन गर्नुअघि नै काममा दौडिन हतार पथ्र्यो सबैलाई । अझ जे पर्ला, सोही टर्ला भन्दै अनुभवीका कुरा बेवास्ता गर्ने पनि उत्तिकै थिए । दुर्घटना भइहालेपछि प्रहरीले सोध्ने दुई–चार वाक्य पनि नबुझेर वाल्ल परेको देख्दा उस्तै वैराग्य लाग्थ्यो । आफू कुन देश जाँदै छु, त्यहाँका सामान्य शिष्टाचारजन्य वाक्यहरू के–के हुन् भन्ने कुराहरू पनि सिक्न ध्यान नदिने ! नेपालमा बग्रेल्ती खुलेका भाषा सिकाउने संस्था र अनुभवीले लेखेका किताब पनि छन् तर तिनको बारेमा ज्ञान राख्न पनि पहिला त मानिस चेतनशील नै हुनुपर्ने रहेछ । अशिक्षाको परिणामबाट भोग्ने पाइला–पाइलाका समस्याबाट उनीहरू ग्रसित हुनु परेको देख्दा ‘कठै’ भन्नबाहेक अरू केही विकल्प थिएन ।

दुर्घटनामा परेको अलि दिनपछि मैले पुष्पालाई बाटोको छेउमा साइकल अड्याएर मोबाइलमा कुरा गरिरहेको देखें । ‘पख्नुस्’ भन्ने इशारा गरेकीले म एकछिन ऊनजिकै उभिएँ । ठूलै आवाजमा उसले फोनमा बोलेकीले मैले पनि सुनें । उसले फोनमा भनिरहेकी थिई, “तलब महिनाको ३ लाख वरिपरि छ ।”

यो कुरा पक्कै पनि उसले नेपालतिरको आफन्तलाई भनेकी होली । किन फूलबुट्टा भरेर नेपालमा फुर्ती लगाउनु परेको होला यसलाई ? २ लाख कमाउन त कति सास्ती छ ! दिनको १०–१२ घण्टा उभिँदा–उभिँदा कति ढाड दुख्छ, कति पैताला पोल्छ । तिर्खा लाग्दा पानी नखाई–नखाई, भोक खपी–खपी दुःख गरेर कमाउनु छ, फेरि बढाइचढाइ । रूखबाट पात टिपेझैं पैसा टिपेजस्तो कुरा पो गर्छे बा । पुष्पाको कुरा सुन्दा मलाई झनक्क रिस पनि उठ्यो ।

फोनको वार्तालाप सकिएपछि पुष्पाले मतिर हेरेर भनी, “नेपालमा एकदम मिल्ने साथीले फोन गरेकी थिई, उसैसँग बोलेकी । तपाईंलाई ढिला त भएन दिदी ?”

“अनि तिमीले २ लाख कमाउन त कति हैरानी खेपेकी छौ, फेरि किन ३ लाख भनेकी नि ?” मैले आफ्नो खसखस थाम्न नसकेर सोधिहालें ।

“२ लाखको ठाउँमा ३ लाख भन्न के गल्ती भो र दिदी ? त्यसले मलाई नेपालमा कम्ता हेप्थी ! अहिले ईश्र्याले जलोस् न भनेर हो । अझ भोलि समुद्रतिर गएर मज्जाले फोटोसेसन गर्नु छ र फेसबुकभरि रंग्याउनु छ । जाने दिदी भोलि समुद्र ? आइतबार त तपाईंको बिदा हो नि !”

“मेरो त फुर्सद छैन । नेपालतिर आफन्तसँग मेसेन्जरमा धित मारेर कुरा गर्न पनि पाइएको छैन । अरु थुप्रै पनि काम छन् । तिमी बूढाबूढी जाऊ न त मिलाएर ।” त्यसपछि हामी आ–आफ्नो बाटो छुट्टियौं ।

जापानको चिसोमा साइकलमा हुइँकिँदा हुइँकिँदा मलाई केही दिन आराम गरी घरमै बस्न मन लागेर १५ दिनका लागि कामबाट बिदा लिएकी थिएँ । नेपाली साथीभाइ कसैसँग भेट भएको थिएन । आफ्नो बिदा सकेर काममा जाँदा पुष्पासँग भेट भयो । दुई–चार दिन मसँग भेटेर गफ गर्न नपाउँदा पनि नरमाइलो लाग्छ भन्थी । ‘तपाईं कति व्यवहारिक हुनुहुन्छ, कति सम्झाउनुहुन्छ मलाई, नेपालको जम्मै अत्यास मेटिन्छ मेरो’ भन्दै मलाई मक्ख पार्न खोज्थी । अरूलाई मक्ख पार्ने कला पनि उसले सिकेकी रहिछ । उसको यो कलालाई मैले पनि प्रशंसा गरेकी थिएँ बेलाबखत । छोटै समयमा पनि ऊ मेरो नजिककी बहिनी साथी बनेकी थिई ।

“दिदी ! कसरी मनाउनुभयो बिदा ?” उसले निकै चासो देखाई मेरो बारेमा । मैले पनि उसलाई मन खोलेर आफ्ना कुरा भनें ।

“आप्mनो त यसो बिदा बसेर आराम गरौं भने पनि पैसाकै पछि दौडिनु पर्छ । पहाडको ठाउँ, जग्गा–जमिन जति भए पनि केही मूल्य आउँदैन । बुटवलतिर एउटा घडेरी किन्नु छ, घर बनाउनु छ । आफन्तका आफ्नै माग छन्, कसैलाई आइफोन र कसैलाई ल्यापटप । यिनै आवश्यकताहरू पूरा गर्न जतिबेला पनि पैसाकै पछि दौडिनु पर्छ । कहिले होला है आनन्दले बस्न पाउने म ?” पुष्पाले खरर भनी ।

“पैसाले मानिसलाई कहिल्यै पुग्दैन पुष्पा, सबै कुरा बिस्तारै–बिस्तारै हुन्छ । यसरी सासै नफेरी काममा दौडेको दौड्यै गरेर कहाँ हुन्छ ? शरीरको ख्याल राख्दै काम गर्नुपर्छ,” मैले उसलाई सम्झाउने प्रयास गरें । हामी सुस्त गतिमा साइकल चलाउँदै गफ गर्दै अघि बढ्यौं ।

“अँ साँच्ची दिदी । अस्ति साइकल दुर्घटनापछिको कुरा तपाईंलाई भन्नै बाँकी छ ।”

“के कुरा हो र ? छिटो भन त !” म अधैर्य बन्छु । 

“ल दिदी, मलाई त गाडीधनीले ४ लाख हर्जाना ति¥यो नि !”

“४ लाख ?” आश्चर्यले मेरा नयन उचालिए, “हो र ? कसरी त्यत्रो रकम पाइयो ?”

“ठूला सवारीसाधनले साना सवारीलाई जहिले पनि प्राथमिकतामा राख्नुपर्छ रे ! अझ पैदलयात्री र साइकलयात्रीलाई त सडक प्रयोगकर्ताको पहिलो नम्बरमा नै राख्दा रहेछन् । मैले बाटो काट्दा हरियो मान्छे झिपझिप गर्दागर्दै रातो मान्छेको चिन्ह आएको थियो । साइकलयात्री देख्दादेख्दै उसले गाडी ल्याउनु उसको गल्ती देखिएको ठहर प्रहरीबाट भएको कुरा त दिदीले दुर्घटनाकै दिन थाहा पाउनुभएको थियो नि हैन ?”

“हो, त्यो त थाहा पाएकी थिएँ । अनि के आधारमा रकम दिँदो रहेछ त ?”

“क्षतिपूर्ति रकम भनेर दिनका लागि प्रहरीले नै गाडीधनीलाई अह्राउँदो रहेछ ।”

“कति माग गर्‍यौ त उसो भए ?” मैले सोधें ।

“मैले साइकलको २० हजार, म बजारिँदा मेरो खल्तीमा भएको आइफोन फुट्यो भनें,  आइफोन अलि अलि पुरानो भएकोले त्यसको ४० हजार भनें ।”

“तर, फोन त केही भएको छैन नि है ?”

“छैन नि, त्यसै भन्दिएकी नि । डाउन जकेट लगाएकी थिएँ, त्यो च्यातियो भनें । त्यसको १०–१५ हजार । १५ दिन काममा जान सकिनँ, घण्टाको १० हजार कमाउँथे भनें । त्यसको १ लाख ५० हजार । अस्पताल फलोअपमा गइरहनु पर्‍यो, यसको यति हजार भनी विभिन्न शीर्षकको पैसा हिसाब गर्दा ४ लाखको क्षति भयो भनेर दाबी गरें अनि पाएँ ।”

“त्यसरी विभिन्न शीर्षकमा पैसा माग्ने आइडिया कसले दियो नि ?”

“जापानीहरू अत्यन्तै सोझा र इमान्दार हुन्छन् । तिमीले सुहाउने गरेर रकम दाबी गर पाउँछ्यौ भनेर अस्ति नै साइकल दुर्घटनामा पर्नुभएकी दिदीले सिकाउनुभएको थियो । उहाँले पनि त्यसैगरी रकम प्राप्त गर्न भएको थियो रे !”

“अनि गाडीधनीले कुनै सामानको पनि चेकजाँच नगर्ने रहेछन् त ?”

“अहँ गरेनन् । यहाँ एक–अर्कालाई अविश्वास गर्न मिल्दो रहेनछ । खुरुक्क पैसा दिए र मैले रकम बुझीलिएँ भन्ने कागजमा साइन गराए । मलाई त कम्ती खुशी लागेन दिदी यत्रो रकम पाउँदा ।”

“ए ! चिट्ठै परेजस्तो भएछ त है ?” मैले हाँसेर भनें ।

“हो नि दिदी, यसरी पैसा पाउने भएपछि त भगवानका कानमा भने नपरोस्, यस्ता दुर्घटनामा जति परे पनि के भो र है ?”

“हँ ? के भनेकी पुष्पा ? फेरि भन त ?”

मेरो कान नजिकैमा सनन्न वाण आएजस्तो लाग्यो । ती वाणले ममाथि अट्टहास गर्दै भनिरहेको प्रतीत भयो । दुर्घटनामा पर्दा दुइटा हातै भाँच्चिएको भए के हुन्थ्यो ? दुइटा खुट्टै भाँच्चिएको भए के हुन्थ्यो ? अथवा ज्यानै तलमाथि परेको भए के हुन्थ्यो ? यसरी खुशी मनाउने विषय ‘दुर्घटना’ कहिल्यै बन्न सक्छ र ?

म साइकलमा हिँड्दा–हिँड्दै पुष्पाका कुराले झ्याप्प रोकिएछु र साइकल डो¥याउन पुगिछु । 

‘ल है दिदी, मेरो त बेलुकाको काम छ, साइकल डो¥याएर हिँड्न भ्याउँदिनँ, भोलि फेरि भेटौंला’ भनेर पुष्पा दौडिई । म सुस्त गतिले आफ्नो गन्तव्यमा लागें । दिमागमा पुष्पाको दुर्घटना र ४ लाख हर्जाना रकम नाचिरहेको थियो । 

baral.prava@gmail.com

 

प्रतिकृया दिनुहोस
ad