site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
‘इन्काउन्टर’ का नाममा मान्छे मार्ने चलन बढेको छ
Sarbottam CementSarbottam Cement

नेपालको संविधानको भाग २५ मा राष्ट्रिय मानव अधिकार आयोगको व्यवस्था गरिएको छ । जसको धारा २४९ मा सो आयोगको काम, कर्तव्य र अधिकारको प्रसंगमा उपधारा (१) मा भनिएको छ–मानव अधिकारको सम्मान, संरक्षण र सम्बर्द्धन तथा त्यसको प्रभावकारी कार्यान्वयनलाई सुनिश्चित गर्नु राष्ट्रिय मानवअधिकार आयोगको कर्तव्य हुनेछ ।” 

सरकारले ल्याएको विधेयकका कारण अहिले त्यही आयोगलाई कमजोर पार्न लागिएको त होइन भन्ने प्रश्न समेत उठिरहेको छ । 
आयोग आफैं कमजोर भयो भने सो आयोगले मुलुकको मानव अधिकारको सम्मान, संरक्षण र सम्बर्द्धनको काम कसरी गर्ला त ? अहिले देशमा त्यस विषयलाई लिएर सर्वत्र चिन्ता र चासो पनि व्यक्त भइरहेको छ ।

आखिर के भन्छ त आयोग स्वयम् चाहिँ ? मुलुकको समग्र मानव अधिकारको अवस्थाका बारेमा पूर्वप्रधानन्यायाधीश समेत रहिसकेका आयोगका अध्यक्ष अनुपराज शर्मासँग हामीले विस्तृत कुराकानी गरेका छौं । प्रस्तुत छ, आयोगका अध्यक्ष शर्मासँग बाह्रखरीका लेखनाथ अधिकारीले गरेको कुराकानीका मुख्य अंशः

Prabhu Bank
Agni Group
NIC Asia

अध्यक्षज्यू, देशको अहिलेको मानवअधिकारको अवस्था कस्तो छ ?

संविधानअनुसार निकै राम्रो व्यवस्था छ । मानवअधिकार सम्बन्धी अवधारणा तथा मौलिक हकहरु संविधानमा नै व्यवस्था गरिएको छ । तर, कार्यान्वयनको अवस्था हेर्ने हो भने सुस्त छ । अपराध बढेका छन् । दण्डहीनता बढेको छ । यो मेरो भनाइ होइन प्रहरीकै तथ्यांकले यस्तो देखाएको छ । हामीले राम्रो राजनीतिक व्यवस्था ल्याएका छौं । दिशा बदलेका छौं । ठिक दिशामा पनि छ । तर कतिपय विषयमा अनुभव नभएकाले पनि अप्ठेरो जस्तो देखिएको छ । 

Global Ime bank

हामी संघीय व्यवस्थामा जाँदा केही अड्चनहरु देखिएका छन् । समग्रमा आशावादी भएपनि केही निराश हुनुपर्ने कुरा पनि छन् ।  आशावादी हुनुपर्ने कुरा के छ भने महिला, संस्कृति, नागरिक हक, जेष्ठ नागरिक, उपभोक्ताका अधिकारलगायतका विषय संविधानमा नै व्यवस्था गरिएको छ । तर, कार्यान्वयनको हकमा सरकार विस्तृत कार्ययोजनासहित आउनुपर्नेमा त्यसो हुन सकेको छैन । 
केहीदिन अघि म पोखरा गएको  थिएँ । कतिपय कुरा संघले पनि गर्ने प्रदेशले पनि गर्ने भनिएको छ ।  ती विषयमा आपसी समन्वयको अभाव देखिएको छ । यस्ता अप्ठेरा आउन सक्छन् । तिनलाई चिर्दै लैजानु जरुरी  छ । केही कुराको व्याख्या गर्नु पर्‍यो भने सर्वोच्च अदालतमा जानुपर्छ । संविधान संशोधन गनुपर्‍यो भने संसद्बाट जान सकिन्छ । म धेरै हर्षित चाहिँ छैन । ‘फ्रेमवर्क’ राम्रो छ तर राजनीतिले कति गर्छ त्यो हेर्नुपर्छ । 

कार्यान्वयन राम्रो भएन भन्नुभयो । यसमा नियत नै त्यस्तो हो कि अर्थोकै केही हो ?

संविधानले नै सबै कुरा परिकल्पना गरेको छ । त्यो कार्यान्वयन गर्न  र समेट्न ऐन आउने हो । त्यहीअनुसार ऐन बनाउने हो । ऐन ल्याउनुअघि सरोकारवालासँग छलफल हुनुपर्ने हो त्यो प्रकृया भने अन्त्य भएको जस्तो देखिएको छ  । जस्तो गुठीकै विधेयकमा पनि त्यही समस्या आयो ।  कस्तोसम्म भएको देखिएको छ भने १६–१७ वटा विधेयक एकैदिन समेत पारित भएका छन् ।

यसबारेमा सरोकारवाला तथा आमनागरिकसँग पर्याप्त छलफल गरेको भए यो अवस्था आउने थिएन । प्रयोगकर्ताहरुसँग छलफल नगरेकाले नै यो अवस्था आएको हो । संविधानमा नै मानवअधिकार सम्बन्धी विधेयक ल्याउँदा मानवअधिकार आयोगसँग छलफल गर्नुपर्ने भनिएको छ ।  तर, त्यसो गरिएन । त्यसकारण त्यसखालको  पद्धति त्याग्नुपर्छ । यसैगरी संक्रमणकालीन न्यायसम्बन्धी ऐनपनि सर्वोच्च अदालतको आदेश र अन्तर्राष्ट्रिय कानुनअनुसार संशोधन गर्नुपर्छ । 

परराष्ट्र मन्त्रीले यसबारेमा संयुक्त राष्ट्र संघीय मानवअधिकार परिषद्को बैठकमा नै कानुन संशोधन हुँदैछ भनेर प्रतिबद्धता जनाउनुभएको छ । अहिलेसम्म त्यसको मस्यौदा आएको छैन । त्यो पनि सरोकारवालाहरुसँग छलफल नगरी ल्याइएमा समस्या आउन सक्छ ।  पहिलादेखि नै मैले के भन्दै आएको छु भने यससम्बन्धी ऐन पीडितहरुसँग छलफल गरेर ल्याइनुपर्छ । अहिले संशोधनको क्रममा पनि त्यो हुनुपर्छ । तर, अहिलेसम्म मस्यौदा नै आएको छैन । छलछाम गर्ने भन्ने शब्द त म प्रयोग गर्न चाहन्नँ तर संविधानको व्यवस्थाअनुसार त्यो हुनुपर्छ । पद्धति र प्रक्रियाअनुसार चल्नुपर्छ । 

विधेयकका बारेमा सरोकारवालाहरुसँग छलफलको कुरा गर्दा कतिपय सरकारी अधिकारीहरुले माइतीघर मण्डलमा छलफल गर्ने हो र ? संसदमा छलफल गर्ने हो भनेको सुनिन्छ । त्यसलाई के भन्नुहुन्छ ?

त्यस्तो भन्ने हो भने गुठी विधेयक कहाँबाट फिर्ता भयो त ? संसदीय समितिको बैठकमा एकजना सांसदले भनेकोे मैले सुनेको थिएँ, ‘मण्डलबाट कहिलेकाहिँ संविधान पनि बन्छ । मण्डलको दबाबले फिर्ता हुने मात्रै होइन ।’ त्यसैले यो राजनीतिक कुरा हो, सरकारले भन्ने कुरा हो । 

कुनै निश्चित समयमा कानुन ल्याइसक्नुपर्ने भएकोले सरोकारवालाहरुसँग सरकारले कुरा गर्न नपाएको हो कि ?

संविधान बनेपछि हामीसँग तीन वर्षको समय थियो । दुई वर्षसम्म गरिएन  अनि अन्तिममा  ‘फास्ट ट्रयाक’मा रोड बनाएको जस्तो गरियो । एकवर्ष  मस्यौदा बनाउने, अर्को एकवर्ष छलफल गर्ने र त्यसपछि संसदमा लैजान सकिन्थ्यो । छलफल गरेको भए जति पनि समय थियो । तर, अन्तिममा ल्याएर हतार हतार गरिएको छ ।

मानवअधिकार आयोग सम्बन्धी विधेयक चाहिं के भयो ?

यो संसद्मा छलफलमा आएको छैन । यसलाई  विवादमा नल्याइ कसरी अघि बढाउने भन्ने बारेमा विभिन्न चरणमा छलफल भएको छ। 

तपाईँले जथाभावी बोल्नुभयो भनेर हालै कानुनमन्त्री रिसाएको सुनियो । के भयो त्यस्तो ?

मैले संविधानले दिएको अधिकारअनुसार आयोगको तर्फबाट कुरा गर्ने हो । म मानवअधिकार आयोगको अध्यक्षको हिसाबले बोलेको हुँ । त्यो मैले बोल्न मिल्ने नै कुरा हो । मेरो भनाइ स्वाभाविक हो । तर, उहाँले राजनीतिक हिसाबले कुरा राख्नु भएको होला । यसबारेमा म राजनीतिक भाषा बोल्दिनँ । 

मुद्दा दर्ता गर्ने त महान्यायाधिवक्ताको कार्यालयले नै हो तर यहाँहरुले प्रश्न उठाउनुभयो भन्ने कुरा पनि आइरहेको छ नि ?

हो, त्यो बारेमा हाम्रो असहमति छैन । सरकारवादी फौजदारी मुद्दा दायर गर्ने महान्यायाधिवक्ताको कार्यालयले नै हो । तर, त्यहाँ गर्न नसक्ने भन्ने खालको व्यवस्था समेत नयाँ विधेयकमा छ । हामीले त्यो कुरा मिलेन भनेको हो । आयोगले सिफारिस गरेपछि फौजदारी मुद्दा चलाउँदिन भनेर महान्यायाधिवक्ताको कार्यालयले भन्न पाउँदैन । मुद्दा चलाउँदिन भन्न पाइन्न । यस विषयमा सर्वोच्च अदालतले यसअघि नै टुंगो लगाइसकेको छ ।

तपाईँहरुसँग मानवअधिकार आयोग सम्बन्धी विधेयक बारेमा छलफलै भएन त ?

हो, २०७२ असोजमा संविधान आयो । हामीले १७ बुँदा संशोधनका लागि पठाएका थियौं । तीनमहले पेपरमा संशोधन गर्नुपर्ने विषय र कारणसहित पठाइएको थियो । तर हामीले भनेका कुरा राखिएनन् । सरकारबाट छुट्टै आयो । तीन वर्षसम्म यसको प्रक्रिया नै अघि बढेन ।

भनेपछि यहाँहरुले दिएको सुझावको बेवास्ता गरियो ? 

हो, सुझाव छलफलमा ल्याइएन । हामीलाई कुनै थाहा नै दिइएन ।

संक्रमणकालीन न्याय सम्बन्धी ऐनको संशोधनको विषयमा मुद्दा सर्वोच्च अदालतमा विचाराधीन भएर पो ढिला भएको हो कि ?

त्यो कारणले होइन । परराष्ट्र मन्त्रीले अन्तर्राष्ट्रिय जगतसँग यसबारेमा प्रतिबद्धता जनाउनुभएको छ । त्यसैले ऐन संशोधन गर्नैपर्छ । संशोधन गर्नुअघि सातै प्रदेशमा पीडितहरुसँग पनि छलफल गर्नुपर्छ भन्ने मेरो पहिलादेखिको मान्यता हो । त्यसपछि कस्तो निचोड आउँछ सोहीअनुसार काम गर्ने हो । 

संयुक्त राष्ट्रसंघका विशेष रापोर्टरहरुले परराष्ट्र मन्त्रीलाई यसबारेमा संयुक्त पत्र पठाएर जोड दिनुको कारण के होला ?

अन्तर्राष्ट्रिय मञ्चमा सरकारले ऐन संशोधन र त्यसलाई अन्तर्राष्ट्रिय कानुनअनुसार बनाउने आधिकारिक प्रतिबद्धता जनाएको छ । प्रतिबद्धतामा सर्वोच्चको आदेश स्वीकार गर्छौँ र अन्तर्राष्ट्रिय मान्यताअनुसार जान्छौं भनिएको थियो । त्यही भएर रापोर्टरहरुले पत्र पठाएका हुन् । 

नेपालको आन्तरिक मामिलामा विदेशी बोल्नुहुन्नँ भन्ने तर्क पनि सुनिन्छ नि !

मानव धिकारको विषयमा भौगर्भिक सीमा हुँदैन । हामीले पनि सन् १९४८ को मानव अधिकारको विश्वव्यापी बडापत्रमा प्रतिबद्धता जनाएका छौं । त्यसैले मानव अधिकारको सन्दर्भमा मुलुकको सार्वभौमसत्ताको विषय जोड्न मिल्दैन ।

यहाँहरुले सरकारलाई गरेका सिफारिसको कार्यान्वयन पक्ष कस्तो छ ?

सरकारले हामीले सिफारिस गरेअनुसारको क्षतिपूर्ति दिएको छ । आर्थिक भार व्यहोरेको छ । तर, फौजदारी अभियोगका विषयमा चाहिँ मुद्दा चलाएको छैन ।

किन मुद्दा नचलाएको होला ?

सरकारी हिसाबले अप्ठेरो परेको होला । जस्तो सेना, प्रहरी, प्रशासनका मान्छे, सीडीओ, माओवादी कमाण्डरलगायतका विरुद्ध मुद्दा दर्ता गर्नुपर्ने हुन सक्छ । उनीहरु दोषी ठहर पनि हुन सक्छन् । सरकारको सोच कस्तो देखियो भने पीडितलाई परिपूरणको व्यवस्था राम्रोसँग गरिदिने, अरु कुरा भने माथिबाट मिलाउने जस्तो गर्न खोजिएको छ । हामीले चाहिं दण्डहीनता अन्त्य गरौं भनेका छौं । यसमा केही असामन्जस्यता जस्तो देखिएको छ । तर, लामो समय भएकोले अहिले सरकारले यसलाई पाठका रुपमा लिएको होला ।

संक्रमणकालीन न्याय सम्बन्धी दुई (सत्य र बेपत्ता सम्बन्धी) आयोगका पदाधिकारी सिफारिस गर्न बनेको समितिमा मानव अधिकार आयोगका प्रतिनिधि पनि संलग्न छन् । यसमा किन ढिलाइ भएको हो ?

मलाइ जानकारी भएसम्म अहिले दुवै आयोगमा जानका लागि आवेदन दिने बाहेकका योग्य मान्छे पनि बाहिर हुनुहुन्छ । आवेदन नदिएकालाई कसरी पार्ने भनेर अहिले कार्यविधि बनाउने कामका लागि केही ढिला भएको हो । 

आवेदन गरेका बाहेककालाई पनि सिफारिस समितिले सिफारिस गर्न सक्छ होइन र ?

सक्छ तर त्यसमा कार्यविधि बनाउनुपर्छ । अहिले त्यही कार्यविधि बनाउने काम भइरहेको छ ।

खास ढिला हुनुको कारण राजनीतिक भागबण्डा हो भनिँदैछ नि ?

राजनीतिक विवाद पनि हुन सक्छ । तर राम्रा मान्छे आए भने, बुझेको मान्छे आए भने राजनीतिक भागबण्डा नै भएपनि काम हुन सक्छ ।

आ–आफूलाई जोगाउनको लागि त्यसैखालको मान्छे खोज्दा ढिला भएको भन्ने आरोप पनि छ नि !

त्यस्तो आशंका गरेको मैले पनि पाएको छु । तर, बुझेको मान्छे आउँदा राजनीतिक मान्छे आएपनि फरक पर्दैन । त्यस्तै विश्वका विभिन्न भागमा शान्ति स्थापनाका लागि काम गरेका थुप्रै नेपाली हुनुहुन्छ । उहाँहरुले पनि राम्रो काम गर्न सक्नुहुन्छ ।

आयोग बन्यो तर पहिलाको जस्तै केही गर्नै नसक्ने अवस्था आयो भने के गर्ने ?

अब बन्ने आयोग सर्वमान्य हुनुपर्छ । नेपालका द्वन्द्व पीडितले पत्याएको मान्छे हुनुपर्‍यो । अन्तर्राष्ट्रिय समुदायले विश्वास गरेको पनि हुनुपर्‍यो । नेपालको राजनीतिले मात्रै विश्वास गरेको मान्छे भएर हुँदैन । शान्ति सम्झौता सम्पन्न भएको १३ वर्ष खेर गएका छन् । त्यसैले यसबाट पाठ सिकिएला भन्ने ठानेको छु ।

यो मामिलामा पीडितलाई बेवास्ता गरिएको हो ?

यसको गठन प्रक्रियामा पीडितसँग छलफल गर्नुपर्छ । आयोग विश्वासयोग्य हुनुपर्‍यो । पीडितले विश्वास गरेको र पीडितमुखी हुनुपर्‍यो । यस्ता आयोग बनाइने भनेको पीडितको समस्या समाधानका लागि नै हो । त्यो दिशामा अघि बढ्नुपर्छ । पीडितलाई आयोगप्रति निराशा भएको पनि होइन । निराशा भए त्यतिधेरै उजुरी पर्दैनथे । संक्रमणकालीन न्याय सम्बन्धी ऐनको संशोधन कसरी आउँछ त्यसमा निर्भर हुन्छ । त्यसबारेमा पीडितसँग छलफल गर्नु जरुरी छ ।

मानवअधिकार आयोगलगायतका कतिपय विधेयकमा विवाद भएको छ । आखिर किन यस्तो भइरहेको हो ? 

कुनैपनि विधेयक ल्याउँदा जोसँग सम्बन्धित छ उनीहरुसँग छलफल गरेर ल्याइएको भए यस्तो हुने थिएन । छलफल नगरी ल्याएको कारणले नै यस्तो भएको हो । 

अर्को प्रसंगमा जाऔं । कतिपय पक्राउ गरेर मुठभेडका नाममा हत्या गरिएको भन्ने कुरा पनि आइरहेका छन् । पछिल्लो पटक सर्लाहीको घटना त्यस्तै विवादमा (विप्लव माओवादीका कार्यकर्ता कुमार पौडेलको प्रसंग) आएको छ । तपाईँहरुले छानबिन पनि गर्दै हुनुहुन्छ । यसलाई कसरी लिनुभएको छ ? 

हामीकहाँ  गैरन्यायीक हत्या भन्ने गरिएको छ । कुनैपनि न्यायीक हत्या हुँदैनन् । हामीकहाँ हुनै सक्दैन । त्यसैले यो कुरा भन्दा पनि ‘इन्काउन्टर’ गरेर मार्ने चलन केही वर्षदेखि बढेको छ । त्यसैले ती घटना शंकाको घेरामा छन् । यस्ता ४–५ वटा घटना छन् । पछिल्लोपटक सर्लाहीको घटना पनि त्यसैखालको हो । हामीले केही विज्ञहरु खोजिरहेका छौं ।

फेला परेका गोली कुन पेस्तोलबाट चलेका हुन् त्यो थाहा पाउने विज्ञको सहयोग चाहिएको छ ।  सर्लाहीको घटनाको सम्बन्धमा हामीले अनुसन्धान गरिरहेका छौं । तर, अझै पोस्टमार्टम रिपोर्ट नै दिइएको छैन । बाहिर हात भाँचिएको वा खुट्टा भाँचिएको देखेर मात्रै हुँदैन । हामीले पोस्टमार्टम रिपोर्टको आधारमा राय बनाउँछौ । अहिले हामी पोस्टमार्टम रिपोर्टको पर्खाइमा रहेका छौं ।

पोस्टमार्टम रिपोर्ट आउन यति ढिला हुन्छ र  ?

हामी पनि आश्चर्यचकित छौं । किन ढिला भयो भनेर खोजिनीति गरिरहेका छौं । 

जवाफ के आएको छ ?

बनाउदैछौं भन्ने जवाफ आएको छ ।

अरु कुन–कुन विषयमा छानबिन गरिरहनुभएको छ ?

हामीले भक्तपुरमा बालकको अपहरण गर्ने दुईजना युवकलाई मारिएको भन्ने प्रसंगमा छानबिन गरिरहेका छौं । यो प्रसंगमा जनमत प्रहरीको पक्षमा रहेको छ ।  बदमासी गर्ने व्यक्ति मारिनु ठिकै हो भन्ने जनमत रहेको छ । तर, कानुनी रुपमा वा आयोगले त्यसो भन्न मिल्दैन । बदमास हुन् कि होइनन् भनेर निक्र्योल गर्ने काम अदालतको हो । 

प्रहरीले मुद्दा दर्ता गरेपछि त्यसको छिनोफानो हुने हो । न्यायको अधिकार सबैलाई हुन्छ । तर, अहिले त्यसको फाइल बन्द गरिएको छ । हाम्रो अनुसन्धानलाई कसरी अप्ठेरो परिरहेको छ भने स्थानीय बासिन्दासँग हामीले बयान लिन चाहेको भएपनि कसैले बयान नै दिन मानिरहेका छैनन् । त्यसैले प्रतिवेदन बनाउन अप्ठेरो भइरहेको छ । 

तर हामी प्रयासरत छौं । त्यसैगरी घैँटे (कुमार घेंटे) र चरी (दिनेश अधिकारी) को प्रकरणमा भएको इन्काउन्टरको पनि हामीले छानबिन गरिरहेका छौं ।

घैंटे र चरीका घटना त निकै पुराना भइसके होइन ?

हो पुराना भए । तर, हामीलाई प्रमाण जुटाउनका लागि समय लागिरहेको छ ।

अहिले देशमा नजानिदो गरी द्वन्द्वको वातावरण बढ्दै गइरहेको देखिन्छ । जस्तो राज्य र विप्लव माओवादीबीच द्वन्द्वको अवस्था छ । मुलुकको मानवअधिकार मामिला हेर्ने निकायको प्रमुखको रुपमा द्वन्द्वरत पक्षलाई के भन्नुहुन्छ ?

द्वन्द्वले वास्तवमा कसैको पनि कल्याण नगर्ने रहेछ । सम्पत्ति नस्ट भएको छ, परिवार अनि अर्थतन्त्रलाई क्षति गरेको छ । गाउँका गाउँ छोडेर मानिसहरु बाहिरिने अवस्था आएको छ ।  त्यसैले एक पक्षले अर्को पक्षलाई दोषारोपण गरेर मात्रै हुँदैन । राजनीतिक रुपले त्यसो गर्नु उनीहरुको दृष्टिमा ठिकै होला । तर विगतमा माओवादी द्वन्द्वपनि वार्ताको माध्यमबाट समाधान भयो भने अहिले हुन नसक्ने भन्ने हुँदैन । अहिलेपनि संवादबाट समाधान निकाल्न सकिन्छ । नेपाली नेपालीबीच झगडा गरेर राम्रो सन्देश जाँदैन ।

पहिलाका घटनामा दण्डहीनताले प्रश्रय पाएका कारणले पनि अहिलेका घटनालाई प्रोत्साहन मिलेको त होइन ? 

त्यो पनि हुन सक्छ । अर्कोतर्फ पहिला कतिपय घटनाको जाहेरी पर्दैनथे । अहिले पर्न थालेका छन् । जस्तो महिला हिंसा, घरेलु हिंसा, आप्रवासी श्रमिकका घटना अहिले धेरै देखिन थालेका छन् । २० हजार रुपैयाँ दिएर ‘कन्ट्याक्ट किलर’ मार्फ्त हत्या गराउने कामसमेत भएका छन् । अपराधका प्रकृति बढेका छन् । यस्ता कतिपय कार्यमा नियन्त्रण गर्नुपर्ने सरकारका मान्छेहरु नै मुछिएको समेत पाइएको छ । 

जस्तो सुनकाण्डमा त्यस्तो भएको छ । अपराध गर्ने मानिस टेक्निकल्ली (प्राविधिक रुपमा) अगाडि देखिएका छन् र अनुन्धान गर्ने पक्ष टेक्निकल्ली पछाडि परेको पाइएको छ । 

तस्बिर/भिडियोः सरिता खड्का 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २२, २०७६  ०८:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC