site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
निर्दोष हुँ भनिरहेँ, भीडले मार्न खोजिरह्‍यो
Sarbottam CementSarbottam Cement

काठमाडौंको मौसम त्यति खुलेको छैन । रुन्चे, दूधे बालखले आमालाई गिजोलेजस्तै बिथोलिएको छ आकाश । दिउँसोभरि अविश्रान्त खनिइरहेछ झरी ।

स्याङ्जा, वालिङ नगरपालिका–१३ उदीयाचौरका खगेन्द्रप्रसाद पाठकको अनुहार पनि यसैगरी विशृंखलित छ । बादलले गाँजेको आकाशजस्तै छ– निछ्याम, सन्नाटायुक्त ।

बुधबार खिचापोखरीमा रहेको खगेन्द्रको अस्थायी मकानमा पुग्दा उनको स्वर काम्न थाकेको थिएन । आँखामा टीठलाग्दो भय उभिएको थियो । ओठहरू थरथराइरहेका थिए । गुमनाम थियो अनुहारको तेजस्वी कान्ति ।

Prabhu Bank
Agni Group
NIC Asia

ओछ्यानभरि असरल्ल किताब थिए । त्यसलाई सँगेल्ने सामथ्र्य पनि उनमा थिएन । कथित् सिरिञ्ज आक्रमणको घटना र उत्पन्न परिस्थितिलाई बिर्सिएर लय समात्न खोज्दै त रहेछन् । तर, डरलाग्दो अभिघातले लखेटिरहँदो रहेछ । 
० ० ०

काठमाडौं आएको आधा महिना भइसकेको थियो । तर, २७ किलोमिटरको दूरीमा रहेको धुलिखेल जान खगेन्द्रलाई समय मिलेको थिएन ।

Global Ime bank

ठूली आमाको छोरा पर्वतका टमप्रसाद तिवारी प्याङ्क्रियाज सम्बन्धि समस्या देखिएपछि धुलिखेल अस्पताल भर्ना भएका थिए । असार २३ गते शल्यक्रियाको दिन तय भएको थियो । बिरामी दाजुलाई भेट्न नपाउँदा उनको मन चोइटिएको थियो । मनभित्र बेचैनीको तुफान चलिरहेको थियो ।

बिहान सवा दस १० बजेसम्म ‘नेम’मा लोकसेवाको तयारी कक्षा चल्थ्यो । कक्षा सकिएपछि बसपार्कतिर सोझिए । धुलिखेल जाने गाडी चढे ।

बसमा यात्रुको उतिसारो चाप थिएन । सिट भरिएर दुईचारजना यात्रु उभिएका हुँदा हुन् ।

बसपार्कबाट गाडी गुडेदेखि यात्रु ओर्लने र उक्लने क्रम अविच्छिन्न रूपमा रह्यो । उकुसमुकुसले ठाडो शीर गर्न पाएन ।

गाडी गुडेको ४५ मिनेट भएको हुँदो हो, गाडी बनेपा बजार पुग्यो । बजारको मुखा नछिचोल्दै ३–४ जना यात्रु उक्लिए । उक्लिनेमा तिलचामले कपालकी बज्यै पनि थिइन् । अन्दाजी ५५–६० वर्षकी ।

“यी बूढी आमैलाई सिट छाडिदिन पाए, प्रौढ र तन्नेरी महिलाहरू उनको आसपास मिलेर बस्लान्,” उनले सोझो मनले चिताए । ‘बस्नूहोस् न आमै !’ भन्दै खगेन्द्र आफू बसेको सिट हजुरआमाका निम्ति छाडिदिए ।
हजुरआमा पुलकित देखिइन् ।

खगेन्द्र सिट छाडिदिएर प्यासेजमा के आएका थिए, दुई किशोरी एकापसमा झगडा गर्दै गरेको सुने । 

भएको के रहेछ भने– बसको दोस्रो सिटमा बसेकी १९ वर्षीया किशोरीलाई उनकै उमेरकी अर्की किशोरीले छोइछन् (प्रहरी कार्यालयमा दिएको बयानमा उनले सलले छोएको बताएकी थिइन्) । उनी पुछारको सिटबाट ढोका छेउमा आएकी थिइन् । दुई किशोरीबारे खगेन्द्रलाई यो भन्दा बढी थाहा छैन । 

दोस्रो सिटमा बसेकी १९ वर्षीया किशोरीलाई च्वास्स घोचेझैँ भएछ । 

सुई आतङ्कको खबर सुन्दै आएकी किशोरी अताल्लिइन् । उनले भनिन्– “सुईले घोपिस् कि क्या हो ?”

अखबारमा शंकास्पद सुई आक्रमणका समाचार पढिरहेका यात्रुलाई पनि दुई किशोरीको वादविवादले ध्यान खिच्ने नै भयो । तथापि मौन मुखामुख गरे उनीहरूले ।

औँल्याइएकी किशोरीले ‘उसले पनि त हानेको हुन सक्छ’ भनेर खगेन्द्रलाई देखाउँदै थिइन् । तर, उनको आवाज निश्चिन्त थिएन । उनको अनुहार पनि भयमिश्रित थियो ।

सरल, शान्त स्वभावका खगेन्द्र झमेलामा पर्न चाहेनन् । दुई किशोरीको महिलाको गलफती सुनेर उनको अनुहारको भाव केही खज्मजियो । अचानक तनावको सूत्रपात भयो ।

चारदोबाटो आइसकेको रहेछ । यात्रु चढाउन र ओराल्न गाडी रोकिएको थियो । क्रमशः यात्रु थपिँदै र भीड बढ्दै गएकाले एकछिन भए पनि शीतल हुन्छ भनेर खगेन्द्र गाडीबाट ओर्लिन थाले । उनको थकान, तनावमिश्रित र बेचैन अनुहार देखेर कसैले एक्कासी अनुमान लगायो– “यही हो, सुई हान्ने मान्छे ! नत्र किन डराएर गाडीबाट उत्रनुपर्‍यो ।”

अर्कोले थप्यो, “यही हो, सुई हान्ने । यसलाई छाड्नुहुन्न !”

हो कि होइन, भीडले बुझ्ने चेष्टा नै गरेन । त्यही मोका पारेर कसैले उनलाई एक मुक्का बजाइहाल्यो । ओठमा चोट लागेकाले उनी रन्थनिए ।

भीड थुप्रिँदै गयो । उनीमाथि लछारपछार भइरह्यो ।

शुरूमा त उनले भीडसँग ‘निर्दोष छु’ भन्दै हारगुहार नगरेका होइनन् । गलफती गरिरहेका महिला लाखापाखा लागिसकेकाले खगेन्द्र दोषी किटान भइरहे । जवकि ती किशोरीले खगेन्द्रलाई सुई हान्यो भनेर औँल्याएकै थिइनन् । बरु उनले उहाँ (खगेन्द्र)ले होइन भनेकी थिइन् ।

भीडलाई त्यसको के पर्वाह ? कसैले इँटा उचाल्न थाले । कसैले खल्तीबाट मोबाइल निकालेर भिडियो खिच्दै भटाभट सामाजिक सञ्जालमा हाल्न थाले । खगेन्द्रलाई एकाएक भीडले सुई आक्रमणकारी करार गर्‍यो । बिरामी दाजु भेट्न पुगेका निर्दोष खगेन्द्रलाई बनेपाको मध्य बजारमा मृत्युले घेरा हाल्यो ।

“मैले कयौँपल्ट हात जोडेर याचना गरेँ । तर उनीहरू सुन्नेवाला थिएनन् । एउटाले यही हो सुई हान्ने मान्छे भन्थ्यो, अरू हो भन्दै चिच्याउँथे,” खगेन्द्र त्यसदिनको महाविपत्ति सम्झन्छन् ।
० ० ०

खगेन्द्रलाई घेर्न आएकामध्ये अधिकांशका हातमा इँट्टा र मोबाइल थियो । केहीले उनलाई लछारपछार तुल्याउन थाले । केहीले हातमा रहेको मोबाइलले भिडियो खिचेर सामाजिक सञ्जालमा हाले– “बनेपामा सुई हान्दाहान्दै युवक पक्राउ !”

सनसनीपूर्ण खबरले रुखिएका अनलाइन अखबारहरूलाई के चाहियो ? समाचार ब्रेक गर्ने धूनमा हेलिइहाले । राज्यको सम्पर्कमा आइसकेका व्यक्तिका बारे प्रहरीलाई सोधपुछसम्म नगरी उनको तस्बिरसहितको समाचार सम्प्रेषण गरे । भ्रामक समाचारको खेती फस्टाउनेमा केही मूलधारका अनलाइन पनि देखिए ।

भीडले उनलाई आक्रमणकारी करार गरिसकेको थियो । समाचारमाध्यम पनि थपिए ।

उनको भाग्य त्यत्ति कमजोर थिएन ।

उनले सडकपारीतिर आँखा पुर्‍याए । संयोग नै मान्नुपर्छ, त्यहाँ प्रहरीको नीलो बर्दी देखियो । ‘अब बाँचिएला !’ भनेर सडक पार गर्न के खोजेका थिए, भीडले अघि बढ्नै दिएन । “आजै अन्तिम दिन रहेछ !” अधमरो चेतले यत्ति सोच्न भ्यायो ।

कुटाइको चोटले शरीर थिल्थिलिइसकेको थियो तर हिम्मत हारिसकेका थिएनन् । जिजीविषा धूलाम्य नभइसकेकाले सडक पार भएर प्रहरीको सम्पर्कमा पुगे ।

परालको आगोसरह फैलिएको अफवाहले प्रहरीलाई समेत भीड नियन्त्रण गर्न मुस्किल भइसकेको थियो । बल प्रयोग गर्दा पनि भीड थामिएन । खगेन्द्रको प्राण बचाउन प्रहरीले आफ्नै प्राण हत्केलामा राख्यो ।

“सुई आक्रमणको त्रासमा रहेछन् बनेपाबासी, उनीहरूले एकोहोरो आरोप लगाइरहे,” काँपेको आवाजमा खगेन्द्र सुनाउँछन् ।

भीडलाई सम्झाउने कि, खगेन्द्रलाई बचाउने ? केही बेर त प्रहरी पनि अलमलमा पर्‍यो । ज्यानको बाजी लगाएर सुरक्षाकर्मीले इलाका प्रहरी कार्यालय त पुर्‍याए । भीड साम्य हुने अझै छाँट छैन । इलाका प्रहरी कार्यालय नै तोडफोड होलाजस्तो भयो ।

प्रहरी भीडलाई ‘दोषी उम्कन दिँदैनौँ’ भन्थे । भित्र गएर खगेन्द्रलाई ‘तपाईं निर्दोष हुनुहन्छ । अनाहकमा सजायँको भागिदार हुनुपर्दैन’ भनेर सम्झाइबुझाइ गर्थे ।

कहाँ मान्थ्यो र भीडले ? खगेन्द्र नै ‘आक्रमणकारी’ भएको उनीहरूको एकोहोरो ठहर थियो । विवेक बन्धक बनाएकाले सत्यतथ्य बुझ्न आवश्यक ठान्दैनथे । नेपाल सरकारका अधिकृत तहका कर्मचारीसमेत भीडमा मिसिएकाले पक्राउ परेको प्रहरीले बताउँछ ।

र त, उनको मनमा पनि मारिन्छु होला भन्ने भयले एकनास लखेटिरहन्थ्यो ।

भीड साम्य नभएपछि उनलाई जिल्ला प्रहरी कार्यालय धुलिखेल पुर्‍याइयो । झण्डै १२ घण्टापछि उनी निर्दोष रहेको ठहर प्रहरीले गर्न सक्यो । 
त्यतिञ्जेल बनेपा बजार अन्धकारमा निमग्न भइसकेको थियो ।

बिनातथ्य खगेन्द्रलाई ‘सिरिञ्ज आक्रमणकारी’को पगरी गुथाउनेहरू आ–आफ्ना घर गइसकेका थिए । तर, खगेन्द्र बनेपाको बाटो फर्कन मानेनन् । मृत्युको भयले अझै दपेटिरहेको थियो । आफन्त देख्दा पनि आक्रमणकारी सम्झन्थे ।

खगेन्द्रलाई प्रहरीले सोधपुछका लागि लग्यो भन्ने थाहा पाउनेबित्तिकै बनेपा पुगेका उनका आफन्त सम्झन्छन्– “उहाँ बनेपाको बाटो काठमाडौं फर्कन पनि मान्नु भएको थिएन । खगेन्द्र आत्तिँदै भन्नुहुन्थ्यो– भीड बाटो छेकेर बसिरहेको होला, मलाई देख्नेबित्तिकै ढुंगाले हान्छन् । मार्छन् मलाई ।”

जगाती आइपुग्दा मध्यरात भइसकेको थियो । तैपनि खगेन्द्रले फर्कीफर्की हेर्थे– कतै भीड लखेट्दै आइरहेको त छैन ।
० ० ० 

सोमबार आफूमाथि सिरिञ्ज आक्रमण भएको बताउने सपना वागदास र अनाहकमा आशंका गरिएकी मनीषा तामाङ र ज्यान नै जोखिममा परेका खगेन्द्रबीच त्रिपक्षीय सम्झौता भइसकेको छ । र, खगेन्द्र निर्दोष प्रमाणित त भएका छन् । तर, मंगलबार बेलुकासम्म उनले झेलेको अलेखनीय, अकथनीय र अवर्णनीय पीडाको क्षतिपूर्ति कसैगरी हुन सक्दैन ।

मृत्युलाई नजिकैबाट महसुस गरेर फर्किएका खगेन्द्र अहिले अर्को अभिघात (ट्रमा)मा फसेका छन् । र, जीवनको लय पक्रन उनले ठूलै पापड बेल्नुपर्ने छ । 

तथाकथित सुई आक्रमणको समाचार खगेन्द्रका आफन्तले पनि पढे । गाउँका सज्जन, भद्र र इमान्दारमा गनिएका खगेन्द्र आरोपित भएको खबर उनीहरूले पत्याउन सकेनन् ।

६ वर्षदेखि स्याङ्जाको सरस्वती माध्यामिक विद्यालयमा निमावि, मावि र दस जोड दुईलाई अंग्रेजी पढाउँदै आएकाले खगेन्द्र दोषी हुने कुरा अकल्पनीय थियो । चिताउँदै नचिताएको कुरा सुनेपछि उनका विद्यार्थी, आफन्त, नरनाता र चिनेजानेका मान्छे प्रतिवादमा उत्रिए । सामाजिक सञ्जालमा उनको छवि विम्बित हुनेगरी विचार, भावना मुखरित भयो । त्यसले उनलाई राहत त दियो । तर, मिडियाको आहतले उनलाई पलपल मर्माहत तुल्याइरहन्छ । 

निर्दोष सावित भएको १२ घन्टा बित्दा उनी सारसौँदो देखिन सकेका छैनन् । मुख सुकेर बगरजस्तै भएको छ । घरीघरी पानीले चिस्याउन खोज्छन् मनको भुंग्रो । छातीका सल्किएको डढेलोका अघिल्तिर पानीका थोपाको केही सीप चल्दैन । दुई रात अनिँदै रहेकाले आँखा खप्ल्याक्क भित्र बसेका छन् । ओठमा धाँजा फाटेको छ । त्यो भन्दा बढ्ता दरफर्‍याएको छ, सामाजिक सञ्जालमा लगाइएका आधारहीन लाञ्छनाले ।

बाबुबाजेले ‘हुलमुलमा जिउ जोगाउनु, अनिकालमा वीउ जोगाउनु’ भनेको सुनेरकाले उनलाई लाथ्यो– ‘भीडको आँखा हुँदैन ।’

बनेपाबाट ज्यान जोगाएर फर्किएपछि उनलाई लागेको छ– ‘भीडको विवेक पनि हुँदैन ।’

“यो पीडाबाट त्राण पाएर लोकसेवाको तयारी कहिले सक्ने होला मैले ?,” अन्तिममा उनी बाक्लो उच्छ्ववास छाड्छन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २५, २०७६  १८:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC