काठमाडौं । कृषिमन्त्री चक्रपाणि खनालले कालीमाटीको तरकारीमा विषादी कम भएकाले ढुक्क भएर तरकारी प्रयोग गर्न आग्रह गरेका छन् । शुक्रबार कालीमाटी तरकारी बजारमा रहेको केन्द्रीय विषादी प्रयोगशालाको अवलोकन गर्न पुगेका मन्त्री खनालले कालीमाटीको तरकारीमा विषादी कम भएको बताउँदै ढुक्कले तरकारी प्रयोग गर्न आग्रह गरे ।
नेपालमा वार्षिक ३ सय ९६ ग्राममात्र विषादी प्रयोग भएको तर अन्य देशमा वार्षिक १६ किलोसम्म विषादी प्रयोग भएको पाइएको हुनाले नडराई तरकारी प्रयोग गर्न उनले आग्रह गरेका हुन् ।
सिमानामा तरकारी तथा फलफूलको विषादी परीक्षण गर्ने कार्यलाई रोक लगाउने सन्दर्भमा सञ्चारकर्मीले राखेको जिज्ञासामा मन्त्री खनालले सिमानामा स्याम्पल निकालेर विषादी परीक्षण गर्न नपाईने बताए ।
“हामी डब्लुटिओको सदस्य राष्ट्र हौँ, सबै राष्ट्रले एउटा सहमति गरेर बाह्य देशबाट आयात हुने कुन–कुन तरकारी तथा फलफूलमा कुन विषादी प्रयोग गरेको हुन्छ भनेर प्राईमकार्ड बनाइएको हुन्छ । जसले गर्दा सिमानामै म स्याम्पल निकाल्छु भनेर कसैले पाउँदैन,” उनले भने ।