– नरेश फुयाँल
२०३१ सालतिर महेन्द्र बहुमुखी क्याम्पस इलाममा पढ्थे पुष्पराज प्रधान । पत्रकार त थिएनन् तर समाचार लेखेर पठाउँथे । पैसा आउँछ भन्ने आशले होइन, पत्रकार बन्ने उद्देश्यले पनि होइन । मात्रै चाहना थियो— सुशासन र सुव्यवस्था कायम होस् । इलाममा पत्रिका थिएनन् । त्यसैले पुष्प इलामबाट समाचार लेखेर पठाउँथे, झापाको ‘विवेचना’ साप्ताहिकमा । काठमाडौंका ‘नयाँ सन्देश’ र ‘नयाँ किरण’मा पनि उनले लेखेका समाचार छापिन्थे ।
त्यो बेला एफएम रेडियो थिएनन् । टेलिभिजन थिएन । सञ्चारको सहज माध्यम प्रसारणमा रेडियो नेपालमात्रै थियो । त्यसैले पत्रिकाको बिक्री र प्रभाव पनि राम्रो थियो । काठमाडौंबाट दुई हप्तापछि इलाम पुग्ने पत्रिका किनेर पढ्थे । इलामबाट त्यो ताका पत्रिका प्रकाशन नै हुँदैनथे । त्यसैले झापाबाट जाने पत्रिका पढ्नै पर्ने बाध्यता थियो ।
अहिलेको जस्तो आफ्नोबारे नकारात्मक समाचार आए पनि त्यसलाई नजरअन्दाज गरेर बस्ने समाज थिएन त्यो बेला । प्रतिक्रिया जनाइहाल्ने प्रवृत्ति थियो ।
‘विवेचना’मा पुष्प पढ्ने क्याम्पसकै एउटा समाचार छापियो । समाचार थियो, आफ्नै विद्यार्थी (छात्रा)सँग प्रेम सम्बन्धमा रहेका क्याम्पसकै एक प्राध्यापकले प्रश्नपत्र उनलाई परीक्षाअगाडि नै दिए । अर्थशास्त्रका प्राध्यापक थिए, आफ्नी प्रेमिकालाई प्रश्नपत्र लिक गर्ने । उनले पुष्पराजलाई बोलाएर सोधे, “यो समाचार कसले लेखेको हो ?”
पुष्पराजले भने, “ए हो र सर ? मलाई थाहा छैन ।”
प्राध्यापकले किटानीसाथ भने, “तिमीले नै हो ।”
पुष्पराजले त्यो समाचार लेखेका त थिएनन् तर उनकै समूहमध्येका एकजनाले लेखेका थिए । त्यसैले उनले भनिदिए, “हो भने हो । मैले नै हो ।”
महेन्द्र बहुमुखी क्याम्पसमा अध्ययन गरिरहँदा सुशासन र सुव्यवस्थाका पक्षमा क्रियाशील गणेश निरौला, शुभद्रा किरण, जसुदा खाकी, राधेश्याम लेकालीलगायत साहित्यमा पनि सक्रिय थिए । त्यही समूहमा थिए पुष्पराज पनि । पत्रपत्रिकामा बाइलाइनसहितका समाचार पठाउँथे । अरूको भन्दा पुष्पराजको बाइलाइन धेरै आउँथ्यो । त्यसैले उनै परे प्राध्यापकको निशानामा ।
सेमेस्टर प्रणाली थियो । स्नातक पढ्थे पुष्पराज । समाचारको ‘इगो’ लिएछन् अर्थशास्त्रका प्राध्यापकले । ‘इन्टरनल एसेस्मेन्ट’मा पुष्पराजलाई फेल गराइदिए । तर, अर्थशास्त्रकै अर्को पत्रमा उनको सर्वोत्कृष्ट अंक आएको थियो ।
त्यत्तिमात्रैमा ती प्राध्यापकको रिस मरेन । उनले पुष्पराजलाई तीन वर्ष रेस्टिकेट नै गरिदिए । राधेश्याम लेकाली र गणेश निरौला दुई–दुई वर्ष रेस्टिकेटमा परे । अन्तिम वर्षमा तीन वर्ष रेस्टिकेट भएपछि पाँच वर्षमा पनि उनको कोर्स नसकिने भयो । स्नातक फेरि शुरुबाट पढ्नुपर्ने भयो । यो ०३३ सालको कुरा हो ।
त्यसपछि पुष्पराज काठमाडौं आए । उपकुलपति र शिक्षाध्यक्षलाई भेटेर आफ्नो कुरा राखे । एक वर्षमा कारबाही फुकुवा भयो ।
०३५ सालमा पुष्पराज स्नातकोत्तर अध्ययनका लागि इलामबाट काठमाडौं आए । झापाको ‘विवेचना’लाई काठमाडौं संवाददाता चाहिएको रहेछ । सम्पादक नकुलकाजीले पुष्पराजलाई काठमाडौं संवाददाताका रूपमा राखे । उनले काठमाडौंको समाचार झापा पठाउन थाले । उनकै नाममा झापाबाट ‘विवेचना’ काठमाडौंमा आउँथ्यो । पुष्पराज डिल्लीबजार पीपलबोट र रत्नपार्कमा लगेर पत्रिका पसलमा छोडिदिन्थे । पैसा उठाएर नकुलकाजीलाई पठाइदिन्थे ।
०३६ सालमा जनमत संग्रह घोषणा भयो । समाज बहुदल र पञ्चायतका पक्षमा विभाजित भयो । पक्ष र विपक्षमा पत्रिकाहरू प्रकाशन हुन थाले । पुष्पराज काठमाडौं आएपछि पनि ‘नयाँ सन्देश’, ‘नयाँ किरण’मा लेखिरहेका थिए ।
पञ्चायतले जित्यो । ०३७ सालमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले ७४ वटा पत्रिका दर्ता गरिदियो । ७४ औं नम्बरमा पुष्पराजको पत्रिका ‘संरचना’ साप्ताहिक दर्ता भयो । श्रीष शमशेर राणा, बच्चुसिंह खड्का, जसुदा प्रधान, युवराज अधिकारी, बुद्धवीर लामा, गिरीश पोखरेललगायत काम गर्थे ‘संरचना’मा । उनले १४ वर्षसम्म निरन्तर प्रकाशन गरे ।
० ० ०
नेपालमा वैदेशिक चलखेल बढ्दै जान थालेको थियो । पत्रिकाको संख्या त ठूलै थियो तर अधिकांश नेपाली । त्यसैले विदेशीलाई वैदेशिक हस्तक्षेपविरुद्धको आवाज सुनाउनु छ भने अंग्रेजीमा पत्रिका प्रकाशन गर्नुपर्छ भन्ने लागेर उनले ०४८ सालमा दर्ता गरे ‘पिपुल्स रिभ्यु’ । ‘विदेशी हस्तक्षेप हामी रुचाउँदैनौं’ भन्ने पत्रिकाको ‘स्लोगन’ नै थियो ।
विदेशी हस्तक्षेप सार्वजनिक गर्दै जाने रणनीतिअनुसार पत्रिका प्रकाशन शुरु भयो । श्रीष शमशेर, पी खरेल, जसुदा प्रधान, राम प्रधान, मनोरञ्जन जोशी, गोविन्दराज भण्डारी, जन शर्मा, बारबरा एडम्सलगायतले साथ दिए । राम्रो टिम बन्यो । पत्रिकाको राम्रो प्रभाव पर्न थाल्यो ।
‘पिपुल्स रिभ्यु’ राष्ट्रियताको पक्षधर थियो । ‘हामी कसैको पनि थिचोमिचो मान्दैनौं’ भन्ने लाइनमा थियो । त्यसैले जहिले पनि थिचोमिचो र हेपाहा प्रवृत्तिले उनीहरूलाई तारो बनाइरह्यो ।
०४६ को जनआन्दोलनतिर फर्किन्छन् पुष्पराज । आन्दोलन चलिरहेको थियो । कमल थापा सञ्चारमन्त्री थिए । सरकार आन्दोलन दबाउन हरसम्भव प्रयास गरिरहेको थियो । सरकार सञ्चारमाध्यमविरुद्ध कडा रूपमा प्रस्तुत भएको थियो । सरकारले गरेको ‘सेन्सरसिप’को विरोधमा पत्रिकाहरू बन्द हुन थालेका थिए । गोविन्द वियोगीको अध्यक्षतामा सम्पादकहरूको बैठक बस्यो । ‘सेन्सरसिप’को विरोधमा सबैले पत्रिका बन्द गर्ने भने । तर, पुष्पराजले भने, “बन्द गरेर जनतासम्म सूचना पुग्दैन । हामी चलाउँछौं । तपाईंहरूसँग भएको सूचना हामीलाई दिनुस् ।” बैठकले पुष्पराजको प्रस्ताव पास गर्यो । ‘संरचना’ प्रकाशन भइरह्यो ।
“भक्तपुरमा गोली चल्यो । हाम्रा पत्रकार त्यहाँ पुगेर रिपोर्टिङ गरी आउँथे । भक्तपुरमा हेलिकप्टरबाटै गोली बर्साइयो । हामीले पीडितको घरमा पुगेर समाचार ल्याई छाप्यौं,” पुष्पराज सुनाउँछन्, “कर्फ्यु लाग्थ्यो । आधा घण्टा खुलेको समयमा हामी पत्रिका बाँड्न लैजान्थ्यौं । पत्रिका हारालुछ हुन्थ्यो । साप्ताहिक पत्रिकाको एउटै अंक हामीले तीन दिनसम्म छाप्यौं ।”
कलेजमा कमल थापा विद्यार्थी मण्डलका अध्यक्ष थिए । पुष्पराज उनकै केन्द्रीय समिति सदस्य थिए । चिनजान थियो । कमल थापा राजनीतिमा रहिरहे । पुष्पराजले छोडे । त्यसैले कमलसँग उनको चिनजान थियो । आन्दोलनमा सरकारको विपक्षमा समाचार छापेको भन्दै असन्तुष्ट भएर कमलले फोन गरे, “पुष्पजी, कस्तो समाचार छाप्नुभयो हँ ? यो त व्यवस्थाको विरुद्धमा भएन र ?” कमल आधा–एक घण्टासम्म फोनमै पड्किन्थे ।
० ० ०
‘संरचना’मै एउटा समाचार छापियो । समाचार चलचित्र ‘बेहुली’की मुख्य पात्रमध्येकी एक महिला पात्रसँग सम्बन्धित थियो । उनले पुष्पराजलाई फोन गरेर धम्क्याइन् । “उनी यतिसम्म धम्क्याउँथिन् कि मलाई तेरो टाङ चिर्दिन्छु भन्थिन् । केही दिन त म लुकेरसम्म बस्नु प¥यो । तर, पछि उनी हाम्रो अफिसै आइन् । प्रमाणसहित हामीले समाचार गलत नभएको पुष्टि गरेपछि उनले माफी मागिन्,” पुष्पराज समाचार लेख्दा आएका धम्की सम्झिन्छन् ।
प्रजातन्त्र पुनर्बहाली भइसकेको थियो । पञ्चायतले कसेको सञ्चार नीति खुकुलो भइसकेको थियो । पत्रपत्रिकाको संख्यामा बढोत्तरी भइसकेको थियो । उनले ‘पिपुल्स रिभ्यु’मा समाचार छापे, “लन्डनमा पढ्न गएका युवराज दीपेन्द्र ‘ओ’ लेभल उत्तीर्ण गर्न नसकेपछि फर्किए ।”
दरबारको समाचार थियो । दरबार किन चुप लाग्थ्यो र ! पत्र पठायो समाचार गलत हो भनेर । “दरबारले आफ्नो मान्छे नै पठायो । किन यस्तो समाचार छापेको ? भन्दै टर्चर दियो । दरबारले पठाएको खण्डन छापेपछि बल्ल शान्त भयो,” उनी भन्छन्, “दरबार संवैधानिक राजतन्त्रमा सीमित भइसकेकाले शायद हामीलाई सजिलो भयो । ०४६ अगाडि भएको भए हामीलाई निकै अप्ठ्यारो पर्न सक्थ्यो ।”
० ० ०
नेपालका लागि एक भारतीय राजदूतकी श्रीमतीले भाटभटेनी सुपरमार्केटमा आँखा छलेर गहना आफ्नो ब्यागमा राखेको दृश्य सीसी क्यामेरामा देखिएको समाचार ‘पिपुल्स रिभ्यु’मा छापियो । त्यसअघि उक्त समाचार ‘जन आस्था’ले पनि छापेको थियो । तर, नाम उल्लेख नगरी ‘दक्षिणतिरका राजदूतकी श्रीमती’ भनेर छापेको थियो । त्यसैले त्यसको प्रभाव खासै परेन । तर, पुष्पराजले नामै उल्लेख गरेर ‘उनले लन्डनमा छँदा पनि यस्तै गरेको’ भनेर छापे । त्यसपछि भारतीय दूतावासले परराष्ट्र मन्त्रालयलाई फोन गरेर भनेछ, “यो पत्रिकाले गलत समाचार छापेको छ । यसलाई तुरुन्त बन्द गरेर जानकारी दिनू । दुई देशबीचको सम्बन्धको कुरा आयो ।”
परराष्ट्रले सञ्चार मन्त्रालयलाई, सञ्चारले प्रेस काउन्सिललाई पत्र पठाए । काउन्सिलले पुष्पराजलाई स्पष्टीकरण सोेध्यो ।
प्रेस काउन्सिलले भारतीय दूतावासले पठाएको पत्रसहित पुष्पराजलाई स्पष्टीकरण सोधेको थियो, “दूतावासको यस्तो रायसहित पत्र आएको छ । उक्त रायअनुसार तपाईंको पत्रिका किन बन्द नगर्ने ?”
दुई देशबीचको सम्बन्धको कुरा उठाइएको थियो । घटनाले गम्भीर मोड लिन पनि सक्छ भन्ने पूर्व आँकलन गरेर पुष्पराजले वकिलसँग परामर्श गरे । सुरेश आचार्य पत्रकार महासंघका सभापति थिए । सल्लाह गरे । निष्कर्ष निस्कियो— यो त भारतीय हस्तक्षेप हो ।
निर्णय गरे— एकातिर दूतावासको खण्डन छाप्ने । त्यसकै छेउमा उसले परराष्ट्रलाई पठाएको पत्र पनि छाप्ने ।
त्यसैगरी समाचार छापियो ।
“प्रेस काउन्सिलको अध्यक्ष राजेन्द्र दाहाल हुनुहुन्थ्यो । उहाँलाई हामीले खण्डन र पत्र दुबै छापेको पत्रिका पठाइदियौं । त्यसपछि उहाँले पुनः हामीलाई ‘खण्डनसँग दूतावासको पत्र किन छापेको ?’ भनी अर्को पत्र पठाउनुभयो,” पुष्पराज सम्झिन्छन्, “मनोरञ्जन जोशीलगायत हामी केही साथी बसेर छलफल गर्दा भारत नै लागेपछि कतै फस्न सकिन्छ, त्यसैले यो समाचार नै गलत भनेर खण्डन आएपछि आफू बलियो हुन पत्र पनि छापेका हौं भन्यौं ।”
गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री थिए । भारतीय राजदूततले उनलाई फोन गरेछन् । गिरिजाप्रसादले राजेन्द्रलाई बोलाएछन् । “गिरिजाप्रसादले ‘पिपुल्स रिभ्यु’ तुरुन्त बन्द गरेर मलाई जानकारी दिनू भनेर राजेन्द्र दाहाललाई अह्राउनुभएछ,” पुष्पराज भन्छन्, “पछि मैले राजेन्द्र दाइलाई सोध्दा ‘खण्डनको ठाउँमा मण्डन छापेछौ, आपत नै पर्यो नि’ भन्नुहुन्थ्यो ।”
०४६ को संविधानले पत्रिका खारेज गर्ने अधिकार राज्यलाई दिएको थिएन । त्यसैले ‘पिपुल्स रिभ्यु’ बन्द हुनबाट जोगियो । पञ्चायतको समय हुन्थ्यो भने बन्द हुन्थ्यो । पुष्पराज भन्छन्, “पञ्चायतमा भन्दा पनि प्रजातन्त्रमा मैले तीतो अनुभव गर्नुपर्यो ।”
० ० ०
पुष्पराजलाई धेरैले दरबारनिकट पत्रकार भन्छन् । तर, उनी यो स्वीकार्दैनन् । आफूमाथि लगाइएको आरोप हो भन्छन् । तत्कालीन राजा वीरेन्द्रसँग जम्मा एकपटक भेट भएको बताउँछन्, “त्यो पनि दर्शनभेटका लागि, बिन्ती हालेर होइन ।”
दरबारबाट मोहनबहादुर पाण्डेले एकदिन फोन गरे पुष्पराजलाई । भने, “पुष्प, सरकारसँग भेट गर्ने होइन ?”
पुष्पले भने, “भेट्न पाए त भेट्ने नि ! किन नभेट्नू ?”
पाण्डेले भने, “त्यसो भए आजै साँझ ५ बजे दौरासुरुवाल लगाएर दरबार आउनू ।”
त्यो दिनका सबै काम छोडेर पुष्पराजले हतारहतार दौरोसुरुवालको जोहो गरे । इस्त्री लगाए । चिटिक्क परेर दरबार पुगे । राजा वीरेन्द्रसँग भेट भयो । भेटमा राजनीतिक विकृतिमै केन्द्रित रहेर कुरा भयो । वीरेन्द्रले भनेको एउटा वाक्य अहिले पनि पुष्पराजले भुलेका छैनन्, “हैन पुष्प, बल भुइँमा हानेपछि सर्फेसमा मिल्नलाई केहीबेर उफ्रिरहन्छ । त्यस्तै हाम्रो डेमोक्रेसी पनि भर्खर आएको हो । यसलाई पनि सतहमा एक्जिस्ट हुन टाइम लाग्छ । अहिले बलजस्तै तलमाथि भइरहेको छ ।”
४५ मिनेटको वार्तालापपछि पुष्पराज दरबारबाट बाहिरिने भए । उनलाई गेटसम्म छोड्न दरबारको सचिवालयका एक सदस्य आए । ती सदस्यले सोधे, “तपाईंले सरकारसँग विदेश जाने कुरा राख्नुभएन ?”
पुष्पराजको जवाफ थियो, “सक्रिय राजतन्त्र हुँदा त केही मागिनँ । आज माग्छु होला ?”
देशमा राजतन्त्र चाहिन्छ तर भ्रष्ट होइन भन्ने पक्षमा उनी थिए । अनुशासनमा बस्ने राजतन्त्र चाहिन्छ भन्ने उनको धारणा थियो । “मैले वीरेन्द्रसँगको भेटमा पनि नेपालमा अनुशासित राजतन्त्र हुनुपर्छ भनेको थिएँ,” पुष्पराज भन्छन्, “राजासँग कुरा गरेजस्तो नै भएन । अरू हाइप्रोफाइहरूसँग गफ गरेजस्तो मात्रै भयो । निस्किने बेलामा उहाँले भेट्दै गर्नुपर्छ है पुष्पजी भन्नुभयो । तर, उहाँसँग त्यसपछि कहिल्यै भेट भएन । मैले भेटेको तीन–चार वर्षपछि दरबार हत्याकाण्ड भयो ।”
० ० ०
दरबार हत्याकाण्डमा वीरेन्द्रको वंश नाश भयो । अधिराजकुमार ज्ञानेन्द्र राजा भए । राजा भइसकेपछि उनले अग्रज पत्रकारहरूसँग भेटेर उनीहरूका कुरा सुनिरहेका थिए । राय, सुझाव लिइरहेका थिए । ज्ञानेन्द्रले पुष्पराज र जसुदा प्रधानलाई पनि बोलाएर वार्तालाप गरे । देशको परिस्थितिबारे कुरा भयो ।
त्यसको केही वर्षपछि फेरि एकपटक पुष्पराजले ज्ञानेन्द्रलाई भेटे । नारायणहिटी दरबारमै भएको भेटमा अन्तरंग गफ भयो । लिखित सुझाव बोकेर गएका थिए उनले । “मैले त्यो बेला आठ पेज लामो लिखित सुझाव टाइप गरेर दिएको थिएँ । त्यसमा मैले के गर्दा देश, प्रजातन्त्र र राजसंस्थालाई राम्रो हुन्छ भन्ने सुझाव दिएको थिएँ,” उनी सुनाउँछन् ।
असंलग्न अभियानको शिखर सम्मेलन हुँदा राजा ज्ञानेन्द्रसँग उनी इन्डोनेसिया गएका थिए । “धेरै जना त्यो भ्रमण दलमा पर्दा म पनि एकजना थिएँ । शाही भ्रमणमा म परेको त्यत्ति एकपटक हो,” पुष्पराज भन्छन्, “मैले त्यो बेला अनुशासित राजतन्त्र हुनुपर्छ भनेकाले मलाई दरबारनिटक भनिएको होला तर वास्तवमा न म दरबारनिटक थिएँ न मेरो सम्बन्ध दरबारनिकटका र राजासँग नै थियो ।”
० ० ०
अहिले कहाँ, कसको समाचार कहिले छापिन्छ, सरोकारवालाले नै त्यसको खासै चासो दिँदैनन् । तर, पुष्पराजले पत्रकारिता शुरु गर्दाताकाको समय अहिलेको जस्तो थिएन । समाचार प्रकाशित हुनासाथ त्यसले प्रभाव पाथ्र्यो । जसका बारेमा समाचार छापिएको हुन्थ्यो, उसले त चासो दिन्थ्यो नै, दरबारसँग सम्बन्धित समाचार भए दरबारले मन्त्रीहरूसँग स्पष्टीकरण माग्थ्यो । मन्त्रीहरूले पत्रकारलाई समाइहाल्थे ।
अहिले पत्रकारिता सहज त छ तर सफा छैन । पत्रकारितामा धेरै विकृति आएको देख्छन् पुष्पराज । व्यापारीहरूले सञ्चारमाध्यम सञ्चालन गरेसँगै पत्रकारिताको धर्ममाथि नै प्रहार भएको बताउँछन् उनी ।
“कन्टेन्टमात्रै होइन, कतिपय प्रिन्ट पत्रिका र अनलाइनहरूले भाषा पनि बिगारिरहेका छन्,” उनी भन्छन्, “पत्रकार भइसकेपछि उसको देशप्रति दायित्व हुन्छ । तर, दायित्व बिर्सिएर देशभन्दा टाढा गई राज्यसत्तासँग झगडा गर्ने र राष्ट्रिय स्वार्थलाई गौण राखेर वैदेशिक स्वार्थमा काम गरिरहेको देखिन्छ ।”
ठूला सञ्चारमाध्यमहरूले नै व्यापारका लागि मिसन पत्रकारिता गरिरहेको पुष्पराज बताउँछन् ।