site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
हराएको गन्तव्य
Ghorahi CementGhorahi Cement

– सुजन अधिकारी


उसो त मेरा लागि हरेक बार शनिबारजस्तै हुन् । मन लागे काम गर्छु, नलागे डुलेर बिताउँछु । आज दिनभर कतै डुलिनँ भनेर सुनाउनु पर्‍यो भने पनि मेरा पाइला चार–पाँच किलोमटिर डुलेकै हुन्छन् । नझुक्किनुस्, म मार्केटिङको जागिरे होइन । मेरो हिँडाइ र कुकुरको दौडाइ दुवै उस्तै हुन्— औचित्यहीन । एकपछि अर्को ठाउँ, वल्लो भित्ता पल्लो किनार— मेरो दिन काट्ने आधार ।

बिहान करिब ११ बज्न खोजेको हुँदो हो, अनायासै उदासको डेरा पुगें । पाहुना थपिएर उदास जोडी बनेका रहेछन् । बिनाकुनै योजना घुम्न जाने सल्लाह भयो । जाने त जाने तर जाने कहाँ ? यो गल्लीको कथा छाडेर भाग्ने उपयुक्त ठाउँ कता भन्ने प्रश्न उठ्यो । 

Agni Group

“हाम्रो अफिसका साथीहरू गएको ठाउँ जामाचौर जाऊँ न त,” उही उदासले प्रस्ताव गर्‍यो ।

फिरन्तेलाई जता गए पनि के फरक पर्छ र ! दुई बाइकमा चार जना बत्तियौं— माछापोखरी, जामाचौर जाने निहुँमा । यहाँसम्म त ठीकै थियो, कथाले भनौं या यात्राले नयाँ मोड तब माग्यो, जब आर्मी क्याम्प पुगियो । मान्छेको अलग टिकट र साधनको अलग । जोडजाड पारेर विचार गर्दा बाघको भेटी चढाएर पनि पुग्ने छाँट देखिएन । सिमेन्टका जंगलमा बस्नेलाई पो काठको जंगल हेर्ने रहर, हामी जंगलका काखमा हुर्किएकालाई केको रहर ! त्यो पनि पैसा तिरी तिरी ! त्यसपछि मुड चेन्ज, प्लान पनि चेन्ज । मुड्खुदेखि पल्लो डाँडातिर जाने, केही समय बिताउने, सके लेख्ने, नसके त्यत्तिकै फर्किने । आफ्नो स्रोत र साधनले नभ्याएपछि उद्देश्य र गन्तव्यहरू परिवर्तन हुन क्षण पनि नलाग्दो रहेछ ।

Global Ime bank

तारकेश्वर नगरपालिका गोलढुंगा गुम्बासम्म त बाटो सडक भन्न सुहाउने नै थियो । त्यसभन्दा पर लागेपछि डगरभन्दा साना रानीपोखरी भन्न मन लाग्ने खालका थिए । साना रानीपोखरी छिचोल्दै, लडिएला कि भन्दै डराउँदै केही अगाडि पुग्यौं । आफू आएको बाटो सही छ÷छैन, जाँच्न मन लाग्यो । बाटो त सही रहेछ तर भर्खरै ढलान हुँदै गरेकोले जान नमिल्ने रहेछ । फर्किनुपर्ने भयो । गन्तव्य त उही थियो तर बाटो फेरियो । फर्केर ओरालो लागेको, कसो–कसो लोलाङ हाइटतिर आइपुगिएछ । विगतमा यो ठाउँसँग राम्रै परिचय बनेकोले ठम्याउन गाह्रो परेन । मान्छेलाई एकपटक देखेको ठाउँ र हिँडेको बाटो कतिबेला काम लाग्दो रहेछ, अनुमान गर्न नसकिने । विगतको मेरो कुकुरे हिँडाइ प्रवृत्तिले हामीलाई हराउनबाट जोगायो ।

लोलाङबाट जितपुरफेदीतर्फ सोझिँदै गर्दा डाँडा चिनेकै भए पनि बाटो त अञ्जान नै थियो । सीधा हिँड्नुपर्ने ठाउँमा अञ्जानमै भए पनि अनावश्यक मोड लिएपछि पूर्वावस्थामा फर्किनु नियति बन्यो । डाँडा चिरेर सानो आन्द्राजस्ता बनाइएका बाटामा डम्फरजस्ता सवारी आउँदा त ज्यान जोगाउनै हम्मेहम्मे पर्दो रहेछ । हामी त जसोतसो जोगियौं । पछिपछि आइरहेका अर्का यात्री बाइकसहित नालातिर सोझिए । उनी आफू त जोगिए तर बाइकको आधा चक्का बाटो र आधा नालामा उत्तानो टाङ लाएर बस्यो । मान्छेलाई बिनागल्ती सजायचाहिँ कसले भाग लगायो होला ? या तिनले पनि कुनै साइकल या पैदलयात्रीलाई नालातर्फ सोझिन प्रेरित गरेका थिए र आफ्नो कर्मको फल भोगे ? खैर, हामीले उनलाई उठ्न सहयोग गर्‍यौं र अगाडिको बाटोबारे पनि सोध्यौं । उनी एक गाई किसान रहेछन् । उनकै घरमाथिबाट मुन्टो बटारेर साथ छोडिएका साथीलाई हेरें । घुम्ती र मोडको कारण साथी त देखिएनन् तर देखियो भर्खरै छुटेको काठमाडौं शहर । काठका जंगलछेउ पुगेर सिमेन्टका जंगल हेर्दा पनि रमाइलै लाग्दो रहेछ । मन्त्रमुग्ध भएर केही दृश्य क्यामेरामा कैद गरें । आफूसँग नभएको वस्तु प्रिय लाग्नु मानवीय स्वभाव भएर होला— छाडेको शहर देख्दा पनि मन रमाएको ।

अञ्जान गन्तव्य जाने अञ्जान बाटा र उकाली–ओरालीहरू पछ्याउँदा पछ्याउँदै पाँचमाने भन्ने ठाउँमा पुगिएछ । धन्न नेपालका मान्छे बाटो सोध्दा बताउने मानवीयता राख्छन् नत्र हाम्रो हाल शहर पसेको स्यालकै हुन्थ्यो । डाँडामा पुगेर छेउको होमस्टे अगाडि बसेर एकपटक फेरि नगरकोटीको ‘घाटमान्डू’ नियालें । घाटसँगै त्यसतर्फ बढ्दै गरेका यात्रीहरू मिलाएर एक–दुई दृश्य कैद गरें । यसअघि जंगलमात्र देखिएको थियो, अहिले केही प्रकृति मिसिएर आएछ । भर्खरै रोपाइँ गरिएका धान खेत र बर्सिन ठिक्क परेको बादललाई एउटै प्रतिछायामा अटाउन भ्याएछु । आफैंले खिचेको तस्बिरमा अघिभन्दा केही नयाँपन भेटें । मज्जा लाग्यो । जीवनमा उत्साहित हुन नयाँपन जीवित हुनु आवश्यक रहेछ ।

गफगाफमै केन्द्रित भइरहेको मेरो ध्यान अलिक अगाडि पुगेर त्यहाँ के छ भन्ने कुतूहलताले भंग भयो । नगई चित्त धरिएन । बाइक स्टार्ट गरें । हिँड्नै लाग्दा अरू तीन पनि जान तयार भए । एक किलोमिटर जत्ति अगाडि पाँचमाने थियो । छेउमा एक खाली जग्गामा केही थान बाइक पार्किङ गरिएका रहेछन् । त्यहीँ पुगेर रोकियौं । पार्किङ गरेको प्रतिबाइक २० रुपैयाँ । शहर छाडेर १४ किलोमिटर पर आइपुग्दा पनि शहरीया परिवेश त हामीभन्दा पहिल्यै आइसकेको रहेछ । च्याखे उठाउने हाम्रा हजुरबाका उमेरका देखिन्थे । पहिले शुल्क सुन्दा खिन्न लागे पनि उनको रोजीरोटीको लागि नाजायज लागेन । फेरि हेल्मेटको सुरक्षाको जिम्मा पनि लिनुहुँदो रहेछ । शहरमा सीसी क्यामेराहरुले दिन सक्दैनौं भनेको हेल्मेट सुरक्षा एक पाका मान्छेले दिन सक्नु ठूलै कुरा थियो ।

पाँचमानेलाई बाइकसँगै छाडेर हामी तारकेश्वर लम्कियौं । बाबाजीको कुटीको खोजीमा । त्यहाँसम्म उकाली लाग्ने योजना, लक्ष्य केही थिएन हाम्रो । तर, स्थानीयले ‘आधा घण्टामा पुगिन्छ, हेरेर जानुस्’ भनेपछि अकास्मात जाने निष्कर्ष बन्यो । काकाकुल काठमाडौंलाई पानी खुवाउने जंगललाई आफ्नै पैतालाले कुल्चन पाउनु पनि त गौरवकै कुरा थियो । यात्रालाई यादगार बनाउन भिडियो खिचौंझैं लाग्यो । भ्लगिङ गर्दै अघि बढ्यौं । कहिलेकाहीँ आफ्नो योजना नहुँदा वरिवरिका मान्छेले दिएका सुझावले पनि निर्णयमा ठूलै प्रभाव पार्दा रहेछन् ।

करिब २० मिनेट उकालो चढेपछि मोड आयो । मुटु जोडसँग उफ्रिन थालेको उन्नाईसौं मिनेट भइसकेको थियो । मोडछेउमा सपोर्ट दिन जाली लगाइएको थियो । मेरा दुई साथी हाम्रा पुर्खा बाँदर थिए भन्ने प्रमाणित गर्दै उक्लिए । म र अर्का एकजना घुमेरै उक्लियौं । कसैले भनेको झ्यास्स याद आयो, “मान्छे जंगलबाट बाहिर आए पनि जंगल मान्छेबाट बाहिर आएको छैन ।”

खैर, स्थानीयले दिएको समयसीमाभन्दा १० मिनेट ज्यादा हिँडिसक्दा पनि बाबाको मन्दिर आइपुगेन । बाटोमा भेटिएको अर्को टोलीले अझै पाँच मिनेट हिँड्नुपर्छ भन्यो । पाइला त हामीले पनि छिट्टै चालेका थियौं तर गन्तव्य भेटाउन सकेनौं । समय गति एकनासको भएर पनि सबैलाई एकैनासको नहुँदो रहेछ ।

अनवरत हिँड्दै जाँदा बाटोमा एउटा झरना देखा प¥यो । थकित मन एकाएक तरंगित भयो । ओठहरू थाहै नपाई चिच्याएछन् । धारामा पानी खसेको देख्न मुस्किल शहरको बासिन्दा भएपछि त्यति सङ्लो फोहोरा देख्न पाउँदा मन त्यसै उन्मत्त हुँदो रहेछ । नाचौं–नाचौं लाग्दो रहेछ । झरनाको बाँकी आनन्द फर्किंदा उठाउने निधो गरी अगाडि बढिहाल्यौं ।

आकास बर्सिएर हामीलाई भिजाउन थालेकै आधा घण्टाभन्दा बेसी भइसक्दा पनि ओत लाग्ने ठाउँ पुग्न सकिएन । पर नेपथ्यमा उज्यालो देखियो । अब त आइपुग्यौं जस्तो भान भयो । नजिक पुगी हेर्दा अपेक्षाअनुसार कुटी, मान्छेको भीड र जटाधारी कोही देखिएनन् । न त कुनै मन्दिर नै थियो त्यहाँ । हिँड्न अझै बाँकी छ क्या हो जस्तो लाग्यो । बाटोको तल्लो किनारसँगै एउटा पोखरी बनाइएको रहेछ । पोखरीसँगै तारले बारेको भूभाग थियो । बाटोको माथिल्लो भागमा सिमेन्टकै घरजस्तो कुटी थियो । तार बारेको ठाउँभित्र छिर्ने केही उपाय छ कि भनेर यताउति खोज्न थाल्थ्यौं । केही भेटिएन । घुमेर छिर्न मिल्छ कि भनेर ओरालो लाग्यौं । तैपनि केही लक्षण भेटिएन । दुई–दुई पटक ओहोरदोहोर गर्दा पनि केहीसीप नलागेपछि अब भएन भनेर फर्किने निर्णय गर्‍र्यौं । आफ्नै नेतृत्वमा हिँडेको टोली अघिकै बाटो फर्किन लाग्दा खल्लो लाग्यो । कहिलेकाहीँ नेतृत्व भइदिनाले समग्र अनुयायीहरूको भागमा अनाहकको दुःख पोखिँदो रहेछ ।

यसअघि चढेको उकालो अब फर्किंदा ओरालो भइसकेको थियो । पानीले गोदेको शरीर चिसोले कठ्यांग्रिन थालिसक्या थियो । पातला मान्छेलाई चिसोले अझै छिटो समात्छ । ज्यान तताउनकै लागि भए पनि दौडिन थाल्यौं । यस्तो विषम परिस्थितिमा आफूलाई चलायमान राख्न र अचेत हुनबाट जोगाउन दौडिनुभन्दा उत्तम उपाय अरू के नै हुन सक्थ्यो र ! सङ्लो, शान्त झरना उर्लिएर पहाडलाई सँगै खसालौंला झैं मडारिँदै रहेछ । हावा पनि तेज–तेज हुँदै थियो । धमिलो पानीमा अञ्जान चट्टान छिचोलेर अघि बढ्ने हिम्मत आएन । केही क्षण पर्खेर बहाव मथ्थर हुने प्रतीक्षा गर्‍यौं । रात नै यतै बिताउनुपर्छ कि जस्तो आभास पनि भयो । अकस्मात शिवपुरीकै जंगलमा हराएका १२ जनाको याद आयो । उनीहरूलाई आर्मीले कति दिन खोजेर पो हो फेला पारेथ्यो । तर, हामी हराएका थिएनौं । मात्र अड्किएका थियौं । अलिक लामा हातखुट्टा भएको सुवासले जालीमा समातेर खोलाको नाडी छाम्न कोसिस गर्दै थिए, त्यत्तिकैमा उनी त फुत्त फड्किएर पारि पुगे । अनि हामी एकपछि अर्को गर्दै बाँदर खोला तरेझैं चट्टान पार भयौं । समस्याको राम्ररी पहिचान गरेर जोखिम मोल्दा सकारात्मक नजिता हात लाग्दो रहेछ ।

शरीरमा भिज्न बाँकी ठाउँ कतै बाँकी थिएन । तैपनि ओठहरू सुख्खा थिए । चारैतिर पानी नै पानी भएर पनि हामी प्यासी भएर हिँडिरहेका थियौं । ठाउँ कुठाउँ जुकाले चुसेर शरीर रगताम्य हुँदै थियो । तीतेपातीको झारले जुकाबाट जोगाउँछ भनेर आमाले भनेको याद त थियो तर तीतेपाती वरिपरि थिएन । हिँड्दा हिँड्दै बाटोमा भेटिएपछि गोडाका काप र पिँडुलातिर दल्यौं । जुत्ता लगाएको थिइनँ र औंलाका कापमा लुकेर बसेको रहेनछ । त्यसको रागले केही समय राहत मिल्यो । मान्छेले पाएको ज्ञान कहाँ कुन परिस्थितिमा काम आउँदो रहेछ, अनुमान गर्नै नसकिने ।

मुसलधारे वर्षा रोकिए पनि सिमसिमे पानी पर्दै थियो । बादल जिद्दी बनेर आकाशभरि फैलिएको थियो । आधा बाटो फर्किएजस्तो लाग्यो । अघिको जालीसहितको मोड पनि आइपुग्यो । अधिक चिसोले होला— बिस्तारै पेटमा दुखाइ बढ्न शुरु भइसकेको थियो । दिमागलाई यत्ति थाहा थियो— गाउँ आइपुग्न अझै धेरै हिँड्नु छ । पाइलाहरू जंगल छिचोल्ने आशमा छिटोछिटो चल्दै थिए । गाउँ पुग्न पाए त ज्यान जोगाउन सकिन्छ भन्ने नै ध्याउन्न थियो । हिँडिरह्यौं । कहिलेकाहीँ समस्या निराकरणको केही उपाय नभेटेपछि आफ्नो यात्रा निरन्तर जारी राख्नु नै श्रेयस्कर हुने रहेछ । १५ मिनेट हिँडेपछि जंगल सकियो, गाउँ देखियो ।

गाउँ देखियो । गाउँसँगै पाँचमाने देखियो । तर, हाम्रा बाइकका साथीहरू देखिएनन् । न त हेल्मेट र बूढा बा नै देखिए । पार्किङ गरेको पाटोमुनि घरजस्तो देखिने टहरा थियो । त्यहाँ पुगेर हेर्दा कान्लामुनि अरू दुई घर रहेछन् । ‘बाजे’ भनेर बोलाउँदा ‘हजुर’ भन्ने आवाज आयो । पसल होला र केही तातो पेटमा हाल्न पाइएला भन्ठानेको त होइन रहेनछ । पानी फेरि मुसलधारे रूप लिएर दर्किंदै थियो । उत्तिखेरै शहर झर्ने आँट पलाएन । धन्न बाजेले चियासम्म बनाएर खुवाउने तदारुकता देखाए । कठ्यांग्रिएको शरीर लिएर हिँड्दा हातले ह्यान्डल समात्न नसकेर एकैपटक पहाड ओर्लिने खतरा थियो । प्रकृतिलाई जित्न नसकेपछि मान्छेले उसको इच्छालाई स्वीकार्नु नै ठीक हुन्छ । हार मान्नु÷नमान्नुले असर आफैंलाई पर्छ । जति प्रयास गर्दा पनि प्रकृतिलाई जितेर अघि बढ्न त नसकिँदो रहेछ ।

चिया पर्खिंदै गर्दा यात्राका विषयमा कुराकानी भए । त्यतिबेला बल्ल थाहा भयो— हामी गएको बाटो त गलत परेछ । ककनी जाने । बाटोमा भेटिएका यात्रुहरू पनि झरना जाने परेछन्, न कि कुटी जाने । हामी गएको ठाउँ भूकम्प मापन केन्द्र रहेछ । अचम्म भनौं या संयोग— हामी त्यहाँ पुगेकै बेला भूकम्प गएको रहेछ तर हामीले थाहासम्म पाएनौं । मान्छेले थाहा पाउनु÷नपाउनु एकातिर, घट्ने घटना अर्कोतिर । मान्छे कति अज्ञानी प्राणी रहेछ । आँखा बन्द गरेर संसार अँध्यारो छ भन्ने ।

आँतमा तातो पानी जमेपछि शरीर चलमलाउन थाल्यो । मुटुमा हिम्मत बढ्यो । ‘जाऊँ, गए पुगिन्छ’ भन्ने कोणबाट छलफल शुरु भयो । चिया र पार्किङको शुल्क तिरेर दौडियौं कर्सा पछाडिको पाटातिर । पानी उस्तै मुसलधारे थियो । परवाह नगरी बत्तियौं ओरालोतिर । कहिलेकाहीँ विषम परिस्थिति भए पनि यात्रा शुरु गर्नुपर्दो रहेछ । उपयुक्त र अनुकूल समय पर्खिंदा पर्खिंदा आफ्नो भागको समयले नेटो काटिसक्छ ।

पहाडको ओरालो, दर्किने पानी, चिप्लो बाटोको त कुरै नगरौं— नेपालभरिको साझा समस्या हो । बीच सडकमा बाइक र भलको कुलेसो सँगसँगै अघि बग्दै गरेका देखिन्थे । अगाडि आउने कुन खाल्डोमा जाकिएर घरको सट्टा हस्पिटल पुगिने हो, केही ठेगान थिएन । कहीँ कतै त आधा बाइक डुबेर पानीजहाज चढेको जस्तो पनि अनुभूति हुन्थ्यो । रातले पाइलो हालेर थप व्यवधान खडा गरेको थियो । घर–घरमा बत्तीसँगै टल्टेका मान्छेका दातीले हामीलाई हेरेर आनन्द लिइरहेका थिए । हामी जे पर्ला, त्यही टर्ला भन्दै बेपरवाह भएर कुदिरह्यौं । चिप्लिएर लडिएला भनी बसिरहने हो भने त हामीलाई त्यो निर्जन भीडमा कसले बास दिन्थ्यो र ! सहानुभूति नभएपछि मान्छे मान्छेकै भीडमा एक्लो हुन्छ ।

अनामनगर डेरासम्म आइपुग्दा रातको ८ बजिसकेको रहेछ । धोबीखोलामा बाढी अझै आइपुगेको थिएन । बहाव सदाकै जस्तो थियो । जंगलमा हामीभन्दा अगाडि ओर्लिएको भेललाई उछिनेर हामी पो पहिलो भएछौं । निरन्तरताले त मान्छेलाई सोचेभन्दा छिटो पनि सफलता दिलाउन सक्ने रहेछ । लगातार चार घण्टाभन्दा ज्यादा पानी खेपेको हड्डी र जोर्नी दुखेर शिथिल भएको शरीर, दुखेको टाउको लिएर सुत्नुपर्दा पनि कत्ति ग्लानि महसुस थिएन । आफ्नो स्वेच्छाले पाएको दुःखले पनि मान्छेलाई हर्षानुभूति गराउँदो रहेछ । प्रश्रव पीडा भुलेर मुस्कुराएकी आमाजस्तै ।

शनिबारको एकदिने यात्राले सिंगो जीवनकै पाठ सिकाएर गयो । हामी जान चाहेका कहाँ थियौं, पुग्यौं कहाँ ! खोजेको गन्तव्य नभेटिएपछि गन्तव्य पनि परिवर्तन भए । यात्रा होस् या जीवन— दुवै सयौं घुम्ती र उकाली–ओराली छिचोल्दै अघि बढिने रहेछ । बाटो बन्द भए कहिलेकाहीँ पछाडि पनि फर्किनुपर्ने रहेछ । तर, गन्तव्यको खोजीमा निस्केका हाम्रा पाइला बिनागन्तव्य घर फर्किनुपर्दा पनि दुःखी भएनन् । जुन उमंग कोठा छाड्दा थियो, फर्किंदा पनि उही उमंग र हाँसो थियो । मान्छे जीवनमा सन्तुष्ट हुनकै लागि यति धेरै यत्न–प्रयत्न गर्छ कि उसले जीवनयात्रामा रमाउन नै बिर्सिन्छ । यात्राको आनन्द छोडेर गन्तव्य नभेटिएकोमा दुःखी रहनेहरू धेरै छन् । फरक–फरक यात्राका फरक–फरक गन्तव्य तोकिएका हुन्छन् । मानिसलाई खुशी त गन्तव्यले होइन, यात्राले दिँदो रहेछ । बस्— हरेक हिँडाइमा आफ्नाहरूको साथ आवश्यक हुँदो रहेछ । के थाहा— हामीले तय गरेको यात्राबिन्दु पनि अरू कसैका लागि पुग्न नसकेको गन्तव्य पो थियो कि ?
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार २८, २०७६  १०:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC