‘रेशम फिलिलि’ पछि नेपाली चलचित्र उद्योगमा ‘नोटिस’ भएका कामेश्वर चौरासियाले त्यसपछि निकै चलचित्रमा काम गरे । अभिनयमा अब्बल भएकाले अफरहरु आइरहन्थे । काम गर्दै गए– चाहे मधेशी पात्रलाई हल्का रुपमा चित्रण गरिएका चलचित्र हुन् या अन्य ।
तर, विस्तारै कामेश्वरलाई अफर आउन छोड्यो । आए पनि सामान्य रोलमा मात्रै आउन थाल्यो । जुन उनलाई चित्त बुझ्दैनथ्यो । पछिल्लो पटक चलचित्र ‘गरुड पुराण’ पछि कामेश्वर कुनै पनि चलचित्रमा देखिएका छैनन् । उनी आजभोलि चलचित्रको सेटमा हैन, मीनभवनस्थित बागमती करिडरको एक होटलमा भेटिन्छन्, जुन उनको आफ्नै हो । चलचित्रमा काम नभएपछि उनले विकल्पको रुपमा होटल खोले ।
उनको होटलको विशेषता भनेको तारेको माछा हो । माछा तार्नेदेखि ग्राहकलाई सर्भिससम्म उनी आफैँ गर्छन् । होटल खोले पनि उनको मन भने चलचित्रमै छ । कामेश्वरसँग उनको व्यवसाय तथा अभिनेता बन्ने सपनाबारे बाह्रखरीकर्मी वर्षा महर्जनले कुराकानी गरेकी छन् ।
अभिनय गर्न सजिलो रहेछ कि व्यवसाय गर्न ?
काम गर्न सके सबै सजिलो हुन्छ । मेरो फिलोसोफीमा चाहिँ कामलाई गाह्रो सोच्यो भने गाह्रो नै हुन्छ र सजिलो तरिकाले हेर्यो भने सजिलो नै हुन्छ । मलाई फिल्म खेल्न पनि सजिलो लाग्यो र यो माछा तार्न पनि सजिलो लाग्यो ।
एउटा क्षेत्र छान्नुपर्दा कुनमा बढी आनन्द महसुुस गर्नुहुन्छ ?
म कुनै पनि काममा रमाउन सकिन भने त्यो काम गर्दिन र हरेक काममा सन्तुष्त नै हुन्छु । फिल्म नै गर्छु, फिल्ममै जम्छु भनेर मानसिक रुपमा तयार भएर आएको । त्यसैले फिल्ममै बढी रमाउँछु र आनन्द महसुस गर्छु ।
राम्रो अभिनय हुँदाहुँदै पनि फिल्म छोडेर व्ययसायमा किन लाग्नुपर्यो त ?
अभिनय भनेको मेरो प्यासन हो । मेरो भाग्य र दर्शकको माया र साथले गर्दा म अहिले यो ठाउँसम्म पुग्न सफल भएको छु र यसमा म आभारी पनि छु ।
रह्यो कुरा व्यवसायको । म फिल्ममै लागिरहेको भए मैले यो व्यवसाय सुरु गर्छु भनेर सोच्न पनि समय हुन्नथ्यो होला । तर लामो समयदेखि म फिल्मबाट अलि टाढा रहँदै आएको छु । यो ब्रेकमा मैले यो पनि गर्न सक्छु भनेर सुरु गरेको मात्र हो । अफर आयो भने फिल्म पनि गर्छु ।फिल्ममा अफर आउन छाडेकै हो ?
अफर त आए । कतिपयमा मलाई चित्त बुझेन होला । अफर छोड्डा कति मान्छे रिसाए पनि होलान् । कोहीसँग सम्बन्धमा चिसोपन पनि आयो होला । कारण धेरै हुन सक्छन् ।
के थाहा अब यही वर्ष अफर आउला कि ! जे पनि हुन सक्छ । ममात्र होइन, अरु धेरै कलाकारहरुको यस्तो भएको छ । सन्तोष गर्ने कुरा हो । अमिताभ बच्चन पनि बेरोजगार भएका थिए कुनै बेला । उनको पनि धेरै समयसम्म करिअर बिग्रेको हो । कोही चुप लागेर बस्छन्, कोही बोल्छन् । मेरो त एक्सपोज भयो । माछा पसल खोलेँ, त्यसैले सबैलाई थाहा भयो । यति फरक हो ।
अभिनय छोडेर बिल्कुलै अलग कामतिर लाग्दा दिमागमा केही कुरा आइरहेको छ ?
ममात्रै होइन, अरु थुप्रै कलाकारहरु छन् नेपालमा, जसको साइड बिजनेस छ । मेरोमात्र थिएन, अब भयो । म खुसी छु । नेपालको फिल्म इन्डस्ट्रीमा आर्थिक रुपमा सबल हुन गाह्रो छ ।
म यसमा निराश पक्कै छैन । झन् खुसी छु कि अब त झन् मेरो फिल्मसँगै आफ्नै व्यवसाय पनि छ ।
फिल्म र व्यवसायलाई समय मिलाउन कत्तिको गाह्रो होला ?
त्यो त अब समयले नै बताउँछ । म एक्लै छैन, सहयोगी हातहरु पनि छन् व्यवसायमा । मान्छेले १० वटा काम त भ्याइरहेका हुन्छन् । म पनि त्यहि प्रयासमा छु ।मोफसल त्यो पनि तराई भेगबाट काठमाडौं आएर सेटल हुन कतिको गाह्रो भयो ? भेदभावको सामना गर्नुपरेन ?
मेरो अनुहार अगाडि त यस्तो उस्तो कसैले भनेको छैन । पछाडि कुरा काटेको भए त्यो बेग्लै कुरा हो । यदि कसैले त्यस्तो गर्छ भने त्यो मूर्ख मान्छे हो । यसले उसको बौद्धिक लेबल देखाउँछ । सघंर्ष त पक्कै पनि धेरै गर्नुपर्यो । संघर्ष हरेक क्षेत्रमा गर्नुपर्छ नै ।
हरेक फिल्ममा लगभग एउटै क्यारेक्टरमा देखिनुको कारण के हो ?
अहिलेसम्म मैले जति पनि फिल्ममा रोल पाएँ, त्यो भनेको मलाई सुहाउँछ भनेर अप्रोच गरेको हो र मैले गरेँ पनि । तर यसलाई ‘टाइपकास्ट’ भन्न हुँदैन । यसरी एउटै रोलमा देखिनु फाइदा पनि छ । फिल्म चलिरहेछ भने तपाईं बाहिरैबाट पनि त्यो डाइलग सुन्नुभयो भने यो फलानो अभिनेता कै त होला भनेर अनुमान गर्नुहुन्छ ।
यसलाई टाइपकास्टै नै भन्नुहुन्छ भने अरु कलाकारहरु पनि छन् जस्तो लाग्छ मलाई । नेपालमा फिल्म नै यस्तो बन्छ भन्ने कुरा पनि बुझ्नु जरुरी छ । विदेशतिर पनि हुन्छ यस्तो ।
आर्थिक रुपमा फिल्ममा भन्दा व्यवसायमै सुरक्षित हुँदा अब फिल्म छोडेर यसमै लागौं भन्ने सोच आएको छैन ?
अहिलेसम्म त त्यो सोच आएको छैन । उत्पातै पैसा कमाइयो भने त त्यो सोच आउला । माछा बेचेर उत्पातै कमाइयो भने फिल्म बनाउनुपर्छ भन्ने सोच आउला । तर फिल्म भन्दा बाहिर जान सकिँदैन ।
अब यो व्यवसायलाई अझै विस्तार गर्ने सोच छ ?
अवश्य पनि । यो बिजनेसलाई ठूलो बनाउने सोच छ । काठमाडौंमा धेरै चमत्कार हुन्छ । धेरै अवसरहरु छन् । मेहनत गरे धेरै अगाडि बढ्ने सम्भावना छ ।
नाम के सोच्नुभएको छ माछा होटलको ?
राक्षस ।
राक्षस ! किन यस्तो अचम्मको नाम ?
मान्छेहरुलाई भोकले राक्षस बनाइदिन्छ । भोक लाग्दा मानिसहरु यस्तो खान्छ कि उनीहरुले राक्षसले जस्तो खान थाल्छन् ।
सुरुमा त मैले यो नाम सोचेको थिइन । यो खोलेपछि हाम्रो एकजना रंगकर्मी सिनियर दाइ जो माछाको पारखी हुनुहुन्छ, उहाँ खाँदा पनि एकदम एक्साइटेड हुने । उहाँ खाएको देखेर दाइ तपाईं त राक्षसजस्तो खानुहुन्छ भन्दा हाँस्नुहुन्थ्यो । र, उहाँ हाँस्दा मलाई पोजेटिभ लाग्यो मलाई । कति जनाले मलाई सुझाव पनि दिए राक्षस नराख भनेर । तर, खानेकुरा राक्षस जस्तो कसले खान्छ त ? मान्छेमा हुने राक्षस जस्तो प्रवृत्तिलाई चाहिँ व्यंग्यात्मक रुपमा राखेको हो ।
पकाउनमा पहिलेदेखि शौखिन हो ?
म घरमा पनि पकाइराखेको हुन्थे र मेरो हातको खाना जसले खायो, त्यो मान्छेले फेरि खान खोज्छ नै । मैले होटेल म्यानेजमेन्ट पनि पढ्न खोजेको थिएँ । गाउँघरतिर त केटीहरु मात्रै भान्छामा बस्ने चलन छ । मलाई सबैले तँ त केटी भएर जन्मिनु पर्ने भनेर पनि उडाए । त्यो डाइलग होइन, छुरा प्रहार गरेको जस्तो लाग्यो र मैले होटेल म्यानेजमेन्ट पढ्न सकिन । तर पकाउन भने मैले छोडिन ।
कोबाट प्रेरणा पाउनुभयो यो व्यवसाय गर्न ?
म चलचित्र निर्देशक गणेशदेव पाण्डेबाट ‘इन्सपायर’ भएको हुँ । फिल्ममै केही गर्छु भनेर बसेको मान्छे अहिले चियावाला बनेर बस्नुभएको छ । उहाँको कामले मलाई प्रेरणा मिल्यो । उहाँले नै यो ठाउँ मिलाइदिनु भएको हो ।
तस्बिर: सरिता खड्का