– नरेश फुयाँल
अमृता लम्साल जति कलम चलाउँछिन्, त्यत्ति नै महिला अधिकारका कुरा पनि गर्छिन् । चाहे कलमका माध्यबाट होस् वा भेटेर छलफल तथा बहसमा सामेल भएरै— उनी महिलाका सवाल उठाउन कहिल्यै पछि पर्दिनन् । महिलाका विषय पनि समाचार बन्न सक्छन् र ? भन्ने समयदेखि नै उनले छापाबाट महिलाका पक्षमा लेखिन् । सरकार–माओवादी द्वन्द्वमा जीवन बिमा गरेर रोल्पा–रुकुम पुगिन् । सरकारको असहयोगका बीच महिला तथा बालबालिकामा द्वन्द्वले पारेको असर सञ्चारमाध्यमबाट सार्वजनिक गरिन् । त्यसले उनलाई दिएको तनावको बेग्लै कथा छ । अहिले उनलाई धेरैले महिला अभियन्ताका रूपमा चिन्छन् । तर, उनी भन्छिन्, “मैले अहिलेसम्म एउटा पनि अभियन्ताको तालिम लिएकी छैन । र, यसबारे लेख्छु भनेर लेख्न थालेको पनि थिइनँ । लेख्दै जाँदा कुनै विषयमा अलि बढी ढल्किएँ होला तर त्यो परिस्थितिको उपजमात्रै थियो ।”
बिहीबार उनै अमृताले हामीसँग आफ्नो जीवनका केही पाटा खोलिन् ।
० ० ०
अमृता काठमाडौंको चुच्चेपाटीमा जन्मिइन् । तर, उनले पढ्न पाइनन् । कारण— बुवा (मन्दिरप्रसाद लम्साल) जागिरे भएकाले विभिन्न जिल्ला हिँडिरहन्थे । जता बुवा, उतै अमृता । बुवाको कार्यालय भएका ठाउँमा विद्यालय हुँदैनथ्यो । बच्चालाई एक्लै छोड्न बाबु–आमाको मनले मान्दैनथ्यो । त्यसैले घरमै पढाए बुवाले । एकैचोटि उनी कक्षा ८ मा भर्ना भइन् । ०३३ सालमा एसएलसी दिइन् ।
एसएलसी उत्तीर्ण भएपछि पद्यकन्या क्याम्पस भर्ना भएकी थिइन् । सेमेस्टर प्रणालीमा पढाइन्थ्यो । पहिलो समेस्टरको परीक्षा चलिरहेको थियो । ठीक त्यही बेला उनको विवाह भयो । ३० को दशकतिर अक्सर सानैमा विवाह गरिदिने चलन व्याप्त थियो । १५ वर्षको उमेरमा अमृताको विवाह भयो । कर्मघर बानेश्वर आइन् । उनको घरले पढाइलाई खासै मतलब गर्दो रहेनछ । पढ्ने वातावरण थिएन । फलतः उनले पढाइ छोड्नु पर्यो ।
प्रवीणता प्रमाणपत्र तह प्राइभेट दिइन् । उनकी आमा (जयन्ती लम्साल)ले विद्यालयको प्रधानाध्यपक भएर ३० वर्ष काम गरेकी थिइन् । आमाको काम देखेर हुर्किएकी अमृतालाई पनि त्यस्तै काम गर्न मन लाग्थ्यो । तर, कहाँ थियो र सजिलो ! जुन घरमा बसेर पढ्न त कठिन थियो, त्यो घरमा बसेर कसरी निस्किन मिल्थ्यो होला र जागिर खान !
“त्यो घरमा लोग्ने मान्छे पनि काम गर्नुहुन्नथ्यो भने म कसरी निस्किन सक्थें र ?” अमृता भन्छिन्, “जुन घरमा लोग्ने मान्छे त काम गर्दैनन् भने बुहारी काम गर्न गयो भने समाजले के भन्छ भनियो मलाई ? जमिन्दार थियो त्यो परिवार ।”
अमृताले विद्रोह गरिन् । ०४१ असोजमा नेपाल राष्ट्र बैंकमा नाम निकालिन् । जागिर खान थालेपछि उनी आर्थिक रूपमा सबल भइन् । आँट आयो । बोल्न सक्ने भइन् । सहेर बस्ने क्रम तोडियो । बोल्न र लेख्न मन लाग्न थाल्यो । मनका कुरा अभिव्यक्त गर्न रहर लाग्यो ।
कान्छी बहिनी बबिताले भनिन्, “दिदी, नेपाल प्रेस इन्स्टिच्युट (एनपीआई)मा तालिम खुलेको छ, सँगै जाऊँ तालिम लिन ।”
एनपीआईको कक्षा साँझ शुरु हुन्थ्यो । घर फर्किंदा राति हुन्थ्यो ।
“म स्कुटर सिकेर चलाउँछु । त्यसैले स्कुटर किनौं । म तपाईंलाई छोडेर घर जान्छु,” बबिताले उपाय सुझाइन् । अमृतालाई पनि चित्त बुझ्यो । एनपीआईको कक्षा शुरु भयो । संयोगले त्यही वर्ष (०४८) एनपीआईले दुइटा कक्षा सञ्चालन गर्यो । उनीहरूले बिहानको कक्षा लिए । गोकुल पोखरेल, भारतदत्त कोइराला, पी खरेललगायतले पढाउँथे ।
०४८ फागुनबाट कक्षा शुरु भयो । शरत्चन्द्र वस्ती पढाउन आए । कक्षा शुरु भएको दोस्रो महिना थियो त्यो । अमृताले शरत्चन्द्रलाई भनिन्, “मलाई लेख्ने ठाउँ दिनुस् न ।”
शरत्चन्द्र ‘पुनर्जागरण’का सम्पादक थिए । उनले त्यहीँ लेख्न सुझाए । अमृताले हरेक हप्ता लेख्न थालिन् ।
शुरु–शुरु थियो । कति सिक्न बाँकी थियो । समय नै त्यस्तै, धेरै डराउनु पथ्र्यो । शरत्चन्द्र भन्थे, “लेख्न डराउनु पर्दैन । लेख्दा निर्भीक भएर लेख । लेखेपछि भित्तैमा पुग्ने गरी लेख्नुपर्छ ।”
जे देख्यो, त्यही लेख्थिन् उनी । जे अनुभव गर्थिन्, त्यसैलाई अक्षरमा उतार्थिन् ।
‘पुनर्जागरण’ले उनलाई पैसा दिँदैनथ्यो । तर, उनी समाचार पनि लेखेर पठाउँथिन् । आफूले देखेका घटना समाचारयोग्य छन् भन्ने लाग्यो भने उनी ‘मलाई पैसा दिएको छ र ?’ भनेर बस्दिनथिन् ।
उनलाई लेख्ने भोक थियो । कहाँ लेखिनन् होला उनले ? ‘हिन्दू’, ‘जनज्योति’, ‘युग संवाद’ र ‘जनमञ्च’ मा पनि ।
इन्टरनेसनल भिजिट प्रोगाममा सहभागी हुन अमेरिका गइन् । त्यहाँ उनले धेरै कुरा सिकिन् । पत्रकारिताका मूल्य–मान्यतादेखि विषयको उठानसम्म । पत्रकार भएर कसैको पक्ष–विपक्षमा किन लाग्नू ? न केही लिनु थियो न दिनु । त्यसैले अमेरिकाबाट फर्किएपछि उनले लेख्न थालिन्, ‘दृष्टि’मा पनि ।
‘दृष्टि’ एमालेनिकट । ‘पुनर्जागरण’ कांग्रेसनिकट । यी दुई विपरीत धारका पत्रिकामा अमृता हरेक हप्ता लेख्थिन् ।
० ० ०
त्यो समय अहिलेजस्तो धेरै गैरसरकारी संस्था (एनजीओ) थिएनन् । भएका एनजीओ र आईएनजीओका कार्यक्रम एनपीआईमार्फत आउँथे ।
१९९१ मे ३ मा भएको ‘विन्डहक डिस्कलरेसन’ले बहुलवादी मिडियाको अवधारणा अघि सारेको थियो । यसले अमृताको दिमागमा प्रश्न जन्मायो— सञ्चारमाध्यम भनेको राजनीतिक गतिविधि दिने माध्यममात्रै हो ?
होइन । यसमा समाजका हरेक पक्ष समावेश हुनुपर्छ । त्यसमा पनि आवाजविहीनहरूका आवाजले झनै ठाउँ पाउनुपर्छ ।
सञ्चारमाध्यममा महिलाका कुरा कमैमात्रै आउँथे । त्यसैले उनलाई लाग्यो— महिलाका मुद्दा उठाउनुपर्छ । उनले बिस्तारै महिलाका मुद्दा लेख्न थालिन् ।
महिलाबारे आवाज उठाउने र लेख्ने महिला कमै थिए । त्यही बेला अमृताको भेट समाजसेवी तथा महिला अभियन्ता दुर्गा घिमिरेसँग भयो । उनले महिलाको अधिकारका लागि काम गर्नुपर्छ भनिन् । दुर्गाको त्यो आग्रहले पनि अमृतालाई हौसला दियो ।
०४९ मा ‘गोरखापत्र’को सहप्रकाशन ‘मधुपर्क’मा अमृताले लेखेको आवरण कथा छापियो । सडक बालबालिकाबारे थियो त्यो फिचर । ‘ल्यान्डलाइन’ फोन त थियो तर अहिलेको जस्तो सहज पहुँच थिएन । सानो कुरा सोध्न पनि भेट्नु पथ्र्यो । त्यही फिचरका लागि ‘कोट’ लिने क्रममा उनको भेट दुर्गासँग भएको थियो । पहिलोपटक भएको त्यही भेटमा दुर्गाले अमृतालाई भनिन्, “महिलाको कार्यक्रम हुँदै छ, आउनू है ।”
उनी दुर्गाले बोलाएको कार्यक्रममा गइन् । त्यो कार्यक्रममा महिला अधिकारका विषयमा धेरै कुरा भए । महिलाका मुद्दाबारे उनले थप जानकारी पाइन् । अमृतालाई महिलाका मुद्दाले आकर्षित गरे । महिलाका विषयमा लेख्दै जाने क्रममा उनको चिनजान महिला अभियान्ताहरूसँग बढ्दै गयो ।
०४७ मा ठमेलमा एउटा बलात्कार भयो । हिसिला यमि, सुशीला श्रेष्ठलगायतका महिला सोही घटनालाई लिएर ‘डेलिगेसन’ जाँदा योगप्रसाद उपाध्याय गृहमन्त्री थिए । उनले महिलाहरूलाई भने, “यस्ता घटनाबाट बच्ने हो भने महिलाले नङ पाल्ने र हातमा खुर्सानीको धूलो बोकेर हिँड्नुपर्छ ।”
उनको त्यो अभिव्यक्तिलाई लिएर महिलाहरूले दबाब समूह गठन गरे । ‘महिला सुरक्षा दबाब समूह’ नाम दिएको उक्त समूहको नेतृत्व सहना प्रधानले गरिन् । दुर्गा, शान्ता थपलिया, कल्याणी शाह, प्रतिभा सुवेदी, शशी श्रेष्ठलगायत थिए समूहमा । महिलाका विषयमा लेख्दालेख्दै अमृता त्यो समूहसँग निकट भइन् । त्यो दबाब समूहले गरेका गतिविधिको समाचार लेख्थिन् । तर, प्रकाशन गर्न सजिलो थिएन ।
“समाचार लेख्थें तर निकाल्न कठिन थियो । मैले लेखेका समाचार बोकेर कयौं पटक राष्ट्रिय समाचार समिति गएर हात जोड्दै प्रकाशन गरिदिन बिन्ती गरेकी छु,” अमृता भन्छिन्, “महिलाको विषय ठूलो कुरा नै होइन भनिन्थ्यो ।”
० ० ०
उनले ‘पुनर्जागरण’मा एउटा लेख लेखिन्, “हाम्रो समाज रामलाई मर्यादापुरुष मान्छ । रामले सीतालाई दुईजिउ भएको अवस्थामा निकाले । छोरा चहियो, फेरि ल्याए ।”
त्यो बेला ‘कान्तिपुर’ दैनिक प्रकाशन शुरु भइसकेको थियो । निजी सञ्चार गृहमा ‘कान्तिपुर’ जत्रो ठूलो अर्को सञ्चारगृह थिएन । “कान्तिपुरमै काम गर्नेहरू मलाई अहिले पनि नाम याद छ । तर, म अहिले नाम भन्न चाहन्नँ । उहाँहरू मलाई भन्नुहुन्थ्यो, ‘महिलाका लेख स्तरीय भए पो छापिन्छन् ।’ तर, ०५२ माघ १६ गते कान्तिपुरमा ‘अलमलिएका अलमस्ता अमृताहरू’ शीर्षकमा एउटा लेख छापियो । दीनबन्दु अर्यालले लेखेको त्यो लेखमा एक महिनाअघि ‘पुनर्जागरण’मा छापिएको मेरो लेखका वाक्य–वाक्यको जवाफ दिइएको थियो ।”
महिलाको लेख स्तरीय हुँदैन भनेर प्रकाशन नगरेको भन्नेहरूले अर्कै पत्रिकामा छापिएको लेखेको जवाफ आफ्नो पत्रिकामा किन छापे ? अमृताले मनैमन यसको उत्तर पनि दिइन्— स्तरीय भएकै कारण त जवाफ दिन योग्य ठानेर त्यो लेख लेखियो र छापियो !
० ० ०
सन् १९९५ मा चीनको राजधानी बेइजिङमा चौथो विश्व महिला सम्मेलन भयो । त्यसमा अमृता पनि गएकी थिइन् । उक्त सम्मेलनमा १२ वटा क्रिटिकल एरिया अफ कन्सर्न सब्जेक्टमा एउटा महिलाको विषय पनि थियो । त्यो कार्यक्रमले अमृतालाई थप झक्झक्यो । त्यसअघिसम्म प्रेमकुमारी पन्त, भारती सिलवाल, बबिता बस्नेत, इला शर्मा, राज श्री, बन्दना राणा, अमृतालगायत महिला भेटेर अनौपचारिक छलफलमात्रै गर्थे । तर, त्यसपछि उनीहरूले ‘सञ्चारिका समूह’ गठन गरे ।
‘सञ्चारिका समूह’की संस्थापक सचिव हुन् अमृता । समूह दर्ताका लागि फाइल बोकेर सिंहदरबार धाएको उनलाई आजैजस्तो लाग्छ । ‘सञ्चारिका’ले ‘एनपीआई’सँग मिलेर पत्रपत्रिकामा महिलाका बारेमा समाचार कसरी आउँदा रहेछन् भनेर विषयगत अनुसन्धान ग¥यो । शोभा गौतम, प्रत्यूष वन्त र अमृताले १० वर्षका पत्रिकाका विषयवस्तु जम्मा गरेर अनुसन्धान गरे र ‘छापामा महिला’ नामक पुस्तक प्रकाशन गरे ।
महिलाका मुद्दाले अमृतालाई छोडेनन् । उनले ०५३ सालमा राष्ट्र बैंकको जागिर छोडिन् ।
सरकार–माओवादी द्वन्द्व उत्कर्षमा थियो । इन्सेकका अध्यक्ष सुशील प्याकुरेलले अमृता र शोभालाई भने, “तपाईंहरूले महिला र बालबालिकाका विषयमा यति धेरै लेखिरहनुभएको छ । माओवादी द्वन्द्वले महिला तथा बालबालिकामा पारेको असरबारे किन रिपोर्टिङ गर्नुहुन्न ?”
कुरा मनासिब लाग्यो । ज्ञानु पाण्डे, शोभा, कविता शेरचन, रीता मनचन्दा, संगीता लामा र अमृतासहित ६ जनाको टिम बन्यो । ०५५ वैशाख २६ गते अमृतासहितको टोली रोल्पातिर लाग्यो ।
सदरमुकाम लिबाङ पुगेकै दिन डीएसपीले सदरमुकामबाहिर नजान आग्रह गरे । उनको भनाइ थियो, “तपाईंहरूलाई केही भयो भने हामी उद्धार गर्न जान सक्दैनौं ।”
कविता लिवाङबाटै काठमाडौं फर्किइन् । बाँकी ५ जना भने मिरुलतर्फ लागे । लेक चढेर ओर्लिंदै मिरुल उक्लिन खोला तर्नुपथ्र्यो ।
“हामी लेक चढेकोदेखि ओर्लिएकोसम्म पुलिसले दूरबिन लगाएर हेरिरहेको रहेछ । मिरुल उक्लिन खोला तर्दै गर्दा हामीलाई राइफल बोकेका पुलिसले घेरिहाले । अगाडि नजान र त्यहीँबाट फर्किन उर्दी गरे,” अमृता सम्झिन्छिन्, “हामीले झोला बोक्न पनि सहयोग गर्ने र बाटो पनि देखाउँछन् भनेर दुई युवालाई लिबाङबाट लगेका थियौं । उनीहरूलाई प्रहरी कार्यालयमा बुझ्न पठायौं तर फर्किएनन् । हामीलाई डर लाग्यो । उनीहरूलाई प्रहरीले छोडेन अर्थात् केही गर्यो भने त हामीलाई गाउँलेले जिउँदै जलाइदिन पनि सक्थे । त्यही भएर हामी सबैले राष्ट्रिय बिमा संस्थानमा गएर जीवन बिमा गरेर गएका थियौं ।”
उनीहरू रातभर सुत्न सकेनन् । जिन्दगीमा सबैभन्दा धेरै डराएको दिन थियो अमृताको । प्रहरीको व्यवहार देखेर रीता त्यहीँबाट फर्किइन् । तर, बाँकी ४ जना अगाडि बढे । प्रहरीको अवरोध र माओवादीको त्रासका बीच उनीहरू मिरुल पुगे । द्वन्द्वले पारेको प्रभाव र त्यसको असर नियाले । वैशाख २६ गते गएका उनीहरू जेठ ७ गते काठमाडौं फर्किए । उनी रोल्पा, रुकुम र जाजरकोट २०५७ फागुनमा पनि पुगिन् । त्यो समय उनीसँग ध्रुब बस्नेत, शोभा गौतम, प्रमिला गौचन, टंक पन्त पनि थिए । त्यो बेला उनीहरु २२ दिन हिंडेर द्वन्द्वको रिपोर्टिङ गरेका थिए ।
‘जनादेश’का पत्रकारहरूले उनको अनुभव सुने र छापे पनि । ‘मार्टिन चौतारी’ले छलफल आयोजना गर्यो । आफूले देखेका कुरा र भोगेका अनुभव सुनाए ।
तर, जब उनले ‘दृष्टि’मा शृंखला लेख्न थालिन्— सरकारपक्षका पत्रकारहरूले उनको खेदो खन्न थाले । ज्यान जोखिममा राखेर उनीहरू माओवादी द्वन्द्वको उद्गमस्थल पुगेका थिए । राज्यलाई पनि नटेरी वास्तविकता बुझेका थिए । पत्रकारहरूले नै इल्लुबिल्लु पार्न थालेपछि उनलाई भावन्नै छुट्यो ।
“मैले लेख्न थालेपछि साथीहरू मविरुद्ध लाग्नुभयो । दुःख त मलाई यसमा लाग्छ कि सञ्चारिका र मेरा आफ्नै साथीहरू मविरुद्ध हुनुभयो,” उनी भन्छिन्, “जुन पत्रिकामा मैले एक पैसा नलिई वर्षौं लेखें, त्यही पत्रिकमा मेरो नामै किटेर कपिल श्रेष्ठ, कृष्ण पहाडी र अमृता (बाँस्कोटा) लम्साललाई आतंकवादी घोषित गरिनुपर्छ भनेर लेखियो ।”
‘सञ्चारिका समूह’लाई कम्युनिस्ट बनाएको आरोपसमेत उनले झेल्नुपर्यो । “यस्ता कुराहरू आउन थालेपछि हामीलाई मेन्टल टर्चर थेग्न गाह्रो भयो र शोभा र मैले सल्लाह गरेर सञ्चारिका समूह छोड्यौं । आफैंले जन्माएको संस्थासँग हाम्रो सम्बन्ध नै अलग भयो,” अमृता दाबी गर्छिन्, “सञ्चारिका समूहमा पहिलो प्रोजेक्ट ल्याउने हामी नै हो । डानिडाको सहयोगमा ‘महिला लेखमाला’ भनेर फिचर सर्भिस हामीले नै शुरुआत गरेका हौं । फिचर त्यसको सम्पादक म नै थिएँ । त्यसपछि बिस्तारै सञ्चारमाध्यममा महिलाका कुरा आउन थालेका हुन् ।”
रोल्पाबाट फर्किएपछि गृह मन्त्रालयमा रहेका उनका आफन्तले घरमा खबर पठाए—अमृतालाई त्यसरी माओवादीबारे लेख्न नदिनू । प्रहरीले उनलाई कालोसूचीमा राखेको छ ।
उनी भन्छिन्, “माओवादीले पिछा गरिरहेको रहेछ । प्रहरीले निगरानी गरिरहेको रहेछ । त्यसमा पनि निरन्तर पत्रपत्रिकामा मविरुद्ध समाचार आएपछि ट्र्यापमा परें ।”
रोल्पाबाट फर्किएपछि मार्टिन चौतारीमा राखिएको कार्यक्रमकै दिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका सल्लाहकार कृष्ण खनालले फोन गरेर भने, “अमृताजी ! तपाईंहरूसँग प्रधानमन्त्रीज्यूले उता (रोल्पा, रुकुम)का बारेमा कुरा गर्न खोज्नुभएको छ, आज आउन मिल्छ ?”
प्रधानमन्त्रीले बोलाएका थिए, अमृताले नाइनास्ती गर्ने कुरा भएन । उनीहरू चारै जना बालुवाटार गए । त्यहाँ उनीहरूले प्रधानमन्त्रीलाई ‘ब्रिफ’ गरे । अमृताले माओवादीप्रभावित क्षेत्रका स्थानीयहरू सुरक्षाकर्मी र माओवादी दुवैबाट पीडित भइरहेको बताइन् । प्रधानमन्त्रीले आफूले पनि यस्तै कुरा सुनेको बताए । ‘हिमालय टाइम्स’मा अमृताले यो कुरा पनि लेखिन् ।
तर, त्यसको केही समयपछि नै सरकारले ‘किलो शेरा टु’ अपरेशन शुरु गर्यो । “हामीसँग कुरा गर्दा त्यस्तो भन्नुभएका प्रधानमन्त्रीले केही दिनमै किन ‘किलो शेरा टु’ अपरेशन शुरु गर्नुभयो, बुझ्नै सकिएन ।”
जुन दिन सरकार र माओवादीबीच सहमति भयो र माओवादी पनि सरकारमा गयो— त्यो दिन अमृताको मनमा एउटा प्रश्न खडा भयो– यदि यही गर्नु थियो भने सरकार र माओवादीले किन हजारौं नागरिकको ज्यान लिए ? सरकारमा बस्न र सत्ताको सुविधा भोग गर्न सबै पक्ष मिल्छन् भने अनाहकमा जनतालाई किन दुःख दिइन्छ ?
यो प्रश्नको जवाफ उनले आजसम्म पाएकी छैनन् ।
० ० ०
०४८ सालदेखि आजसम्म अमृता लेखिरहेकी छन् । तर, उनले कुनै पनि पत्रिकामा जागिर भने खाइनन् । बीचका केही वर्ष भने उनले आफूलाई समाजबाट टाढा राख्ने प्रयत्न गरिन् । सार्वजनिक जिन्दगी नबाँच्ने निधो गरेर सञ्चारमाध्यमबाट टाढै रहिन् । ०५७ चैतसम्म लेखनमा रहेकी अमृता अमेरिका गइन् । करिब ६ वर्ष केही लेखिनन् । कतै देखिइनन् पनि । लाग्थ्यो— उनी भूमिगत भइन् । कारण— एकातिर राम्रो गर्न खोज्दाखोज्दै हुने नकारात्मक टीकाटिप्पणी । अर्को— पारिवारिक कारण । डिप्रेसनकै चरणमा पुगेको सम्झिन्छिन् उनी ।
अमृता आफ्ना बुवाको गुन कहिल्यै बिर्सिन्निन् । उनी छोरीलाई छोरासरह मान्थे । छोरी लेखोस्, पढोस् भन्ने चाहना राख्थे । बुवा बित्दा अमेरिकामा अमृता एक्लै थिइन् । उनी रातभरि एक्लै रुँदै बसिन् ।
“बुवा छोरीले सधैं लेखोस् भन्ने चाहनुहुन्थ्यो । मैले लेखेकोमा उहाँ गौरव गर्नुहुन्थ्यो । मैले उहाँका लागि भए पनि लेख्नुपर्छ भन्ने लाग्यो,” उनी भन्छिन्, “त्यसैले बुवाको शोकमा १३ औं दिनको श्रद्धाञ्जलीस्वरूप ‘साँघु’मा लेखें । त्यसपछि पुनः म नियमित लेखनमा फर्किएँ ।”
‘साँघु’मा ९ वर्ष लेखेपछि छोडिन् । त्यसपछि उनलाई लेख्न मन लाग्यो, पुराना कुरा, जुन इतिहास भइसकेका छन् । र, भोलि अहिले लेखेका कुरा दस्ताबेजका रूपमा दर्ज हुनेछन् । पुरुषका कुरा त आइरहेका छन्, महिलाका कुरा नै लेखौं न भन्ने लाग्यो । पात्र कस्ता ? उनले सोचिन् ।
र, आइन् अहिलेको चलेको एक म्यागजिनका सम्पादकसँग कुरा गर्न । लामै छलफल भयो । ती सम्पादकले ‘कुरा गर्दै गरौंला’ भने ।
“कुन म्यागजिन र को सम्पादक म भन्दिनँ । छलफल भएको एक महिनासम्म कुर्दा पनि उहाँले मलाई इग्नोर गरिरहेपछि म ‘सेतोपाटी.कम’मा गएँ । प्रधानसम्पादक अमित ढकालले मेरो आइडिया मन पराउनुभयो र मेरो स्तम्भ शुरु भयो— हजुरआमाका कुरा । त्यही स्तम्भमा आएका पात्रलाई समेटेर पुस्तक पनि चाँडै आउँदै छ ।”
० ० ०
छापाबाट शुरु भएको पत्रकारिता डिजिटल माध्यममा आइपुग्यो । अक्षरबाट शुरु भएको पत्रकारिता अडियो हुँदै भिडियोसम्म आइपुग्यो । सुगम ठाउँमा सीमित पत्रकारिता पहुँचका हिसाबले देश–विदेश सबैतिर पुग्यो । त्यससँगै सूचनाका लागि सञ्चारमाध्यमै कुरेर बस्ने बाध्यता पनि लगभग सकियो । समाजिक सञ्जालमार्फत क्षणभरमै विश्वभर पुग्न सकिने भयो । फेसबुक र ट्विटर सूचना प्रवाहका लागि भरपर्दा माध्यम बन्न थाले ।
अमृताले आफ्नै उदाहरण दिइन् । उनी कामविशेषले धादिङ बेनीघाट गाउँपालिकाको रोराङ पुगेकी थिइन् । रोराङमा ०७२ सालको भूकम्पले पानीको मुहान सुकेपछि २२ घर रहेको पूरै गाउँ नै काकाकुल भएको थियो । गाउँलेहरू पानी नभएपछि बस्ती नै छोडेर सर्ने विषयमा छलफल चलाइरहेका थिए । अमृताले फेसबुकमा उक्त गाउँ काकाकुल भएको कुरा लेखिन् । ‘साँघु’मा लेख लेखिन् ।
अमेरिकाको न्युयोर्कमा बस्ने नर्वदा क्षेत्रीले चासो देखाइन्, जो न्युयोर्कमा रहेका नेपालीहरूको संस्था ‘अधिकार’मा काम गर्छिन् । उनले भनिन्, “अमृताजी, हामी केही गर्न सक्छौं कि ?”
‘अधिकार’ले सहयोग गर्यो । रोराङका २२ घरलाई खानेपानीको व्यवस्था भयो ।
“एक महिना भयो हामीले त्यो आयोजना गाउँलेलाई हस्तान्तरण गरेको,” सहयोगबारे कुरा सुनाउँदा उनको अनुहार खुशीले प्रफुल्लित देखियो ।
उनी अन्यायमा परेकाहरूको पक्षमा वकालत गर्छिन् । चाहे निर्मला पन्त होऊन् या शिल्पा पोखरेल— न्यायका पक्षमा बोल्नुलाई उनी आफ्नो कर्तव्य ठान्छिन् ।
“जति नै आलोचना किन नहोस्, म आवाजविहीनको आवाज बन्न कहिल्यै छाड्दिनँ,” जाँदाजाँदै उनले भनिन्, “डराउने कुरै छैन ।”