site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
विद्रोही छोरी
Sarbottam CementSarbottam Cement

— अक्षर काका 


पचासको दशक उत्तराद्र्धतिर सिन्धु सेरोफेरोमा एउटा हैला फैलियो, “तुलसी चौलागाईंका छोरीहरूले पुराण भन्छन् रे !”

छोरीले सप्ताह–पुराण भन्ने ? शिवपुरीको पानीढलो भोटेचौरको शीर–पुछार एकै भावमा आश्चर्यचकित भयो । चुल्होचौकाको चौघेरो नाघ्न संघर्ष गरिरहेका आमा–दिदीबहिनीहरूको आँखीभौं जुरुक्क उचालियो । वेदवेदांगलाई विरासतमा पाएको अहम् पालेका पुरुष अनुहारमा अभिमान ढलेको रंग छायो ।

Prabhu Bank
Agni Group
NIC Asia

शिवपुरीको छेकोको सिन्धुफाँटमा श्रीमद्भागवतमाथि उपाध्याय बाहुनको ‘एकाधिकार’ थियो । उपाध्यायबाट एक श्रेणी घटुवामा परेका ‘जैसी’लाई पुराण वाचनको सुविधा/अनुमति कहाँ ?

हेपाइको त्यही भुंग्रोमा तुलसीले जुम्ल्याहाजस्ता दुई छोरी सरस्वती र गार्गीलाई ‘विदुषी/बिबान’ तुल्याएका थिए । आदिम गार्गीको परीक्षा वैदिककालमा भइसकेको थियो । आधुनिक सरस्वती–गार्गीको परीक्षा त्रिवेणीघाटमा हुँदै थियो ।

Global Ime bank

“स्त्री जातिको परीक्षा वैदिककालदेखि अद्यपर्यन्त चलिरहेकै छ,” गार्गीको अनुहार झट्ट उघ्रिन्छ ।

तिनताक सिन्धुका डाँडापाखामा जनुयुद्धको डँडेलो सल्किएको थियो । सशस्त्र संघर्ष उत्कर्षतिर थियो । राता र सेता बन्दुकका चेपुवामा परेर कतिबेला प्राणपखेरु उड्ने हो, त्यसको कुनै टुंगो थिएन । जीवन अनिश्चितताको भुमरीमा थियो ।

जाँतोमा घुन पिसिएझैं दुवैतिरका बन्दुकको निशानामा किरियापुत्रीदेखि व्यासासनका विद्वान–विदुषीसम्म परिरहेका थिए । युद्धको त्यही रापमा पुराणवाचन गर्न हेलिएका थिए– गार्गी दिदीबहिनी ।

सिन्धु बेंसीको त्रिवेणी घाटमा धान्याचलसहितको सप्ताह शुरू भयो । र, निर्बाध चल्न थाल्यो । गार्गी दिदीबहिनीको वाचकीको तारिफ चौतर्फी चुलियो । पुराण वाचन र संकीर्तन सुन्न चारचौरासका मान्छे धुइरिए । विदुषीहरूको भागवत–भक्तिको प्रखरताले सामाजिक परीक्षा उत्तीर्ण गर्‍यो ।

सांगेको दिन नजिकिँदै थियो । काठमाडौंसँग साँध जोडिएको भोटेचौरमा सरकारी फौज र माओवादी छापामारबीच मुठभेड भयो । धेरैको संख्यामा रहेका सरकारी फौजसामु सीमित विद्रोही सेना भिडन्तमा टिकिरहन सकेनन् । पछि हट्दै ओरालो झरे । नजिक–छेउ कुनै गाउँ थिएनन् । मृग शावकझैं खुर्मुरिएका लडाकुहरूको आँखा पण्डाल टाँगेजस्तो ठाउँमा पर्‍यो, जहाँ सरस्वती र गार्गी श्रीमद्भागवत कथावाचन गरिरहेका थिए । दौडिँदै गएर सप्ताह सुनिरहेका श्रद्धालुहरूको घुइँचोमा मिसिए । सप्ताह ज्ञान महायज्ञ चलिरहेको ठाउँमा अचानक हतियारधारी देखेपछि भक्तजनको मनमा चिसो पस्यो ।

“पुराण बिथोल्न धुन्धुकारी बनेर त आएनन् ?” कत्तिको मनमा शंकाको बादल मडारियो । त्राहिमाम् बने । तर, लडाकुहरू व्यासासन भएतिर अघि बढेनन् । बरु खटमुनि लुुसुक्क छिरे । प्राण जोगाए ।

“माओवादी छापामारहरूले व्यासासनमुनि लुकेर ज्यान जोगाएको कुरा निकै पछिमात्रै थाहा पायौं, त्यो पनि त्यसबखतको कुनै स्रोताले कानमा पारेपछि,” सरस्वती चकित हुँदै सुनाउँछिन् ।

ध्वंश र पुनर्निर्माणको धङ्धङीमा बाँचेका विद्रोही आँखाहरूलाई पुरानो संस्कृति, रीति–थिति मन पर्दैनथ्यो । सप्ताह–पुराणादि धर्म–कर्मप्रति उनीहरूको मोह भंग भइसकेको थियो । रोक्ने कोसिस रहन्थ्यो । तर, गार्गी दिदीबहिनीका लागि त्यही समय ‘लिच्छवी(स्वर्ण)काल’ सावित भयो ।

संस्कृतका किताबलाई क्रान्तिको तगारो ठान्ने कोसिस भइरहँदा उनीहरूलाई छायाले पनि छोएन । बरु त्यही रापतापमा उनीहरू ‘शाकम्भरी’ र ‘शाम्भवी’ बने । तत्कालीन विद्रोहीको आँखामा ‘शाकम्भरी’ र ‘शाम्भवी’ पुरुषवादी सत्ताको ‘विद्रोह’कै आयाम थियो ।

महिलाले वेदको पुस्तक समाउनै हुँदैन, महिला–कान वेद–उपनिषदादि ग्रन्थबाट टाढा हुनुपर्छ, उनीहरूका ओठ वेदका ऋचामुक्त हुनुपर्छ भन्ने पुरुष अहम्विरुद्धका विद्रोह थिए– ‘शाकम्भरी’ र ‘शाम्भवी’— माओवादीको नजरमा । र त, सरस्वती र गार्गीको भागवत भक्तिलाई उनीहरूले आड दिए ।

“पुरुषको हातबाट भागवतको एकाधिकार तोडिनु पनि एक किसिमको क्रान्ति नै हो भनेर चर्चा गर्थे, विद्रोहीबाटै यत्तिको आड पाएपछि हाम्रो भागवत यात्रा देशव्यापी बन्न पुग्यो । एकाध समयमै हामी सुदूरपूर्वको झापादेखि पश्चिमको बाग्लुङ पुग्यौं,” सरस्वती भागवतको यात्रारम्भ सुनाउँछिन् ।

संकीर्तनले थमाएको भागवत

तुलसी चौलागाईंको घर तुलसीको मठजस्तै थियो– पवित्र, सांगीतिक । तिथि–पर्वमा भजन, संकीर्तनमा रम्थ्यो । झुम्थ्यो । हार्मोनियम, खैंजडीको सुरम्य धूनले संगीत, भगवानभक्तिको छनक दिन्थ्यो । यही माहोलमा झांगिए । लहरिए । र, तरंगित हुँदै गए– सरस्वती र गार्गी ।

“बालखैदेखि गार्गी दिदीबहिनी संगीत भनेपछि हुरुक्कै हुन्थे । भजन–कीर्तनबाट मुग्ध भएको देख्दा, शास्त्रीय रागबाट आह्लादित भएको देख्दा यिनीहरूलाई संगीत सिकाऊँ भन्ने लागिरहन्थ्यो,” तुलसी छोरीहरूको बाल्यकालतिर फर्किन्छन् ।

संगीतप्रति अवचनीय लगाव भए पनि नजिकमा संगीतको विद्यालय थिएन । साविककै पढाइ एक किसिमको बाध्यता बन्यो । माध्यमिक तहको पढाइ पार गरेपछि उनीहरूको रुचिले कोल्टे फेर्‍यो ।

भजनको दायरा बढ्दै गएर रामानन्द गिरीको सान्निध्यमा पुगे । गुरुको सत्सङ्गमा पुगेपछि भागवतप्रति भक्ति जाग्यो । वेदका ऋचा मुखाग्र पार्न थाले । भागवतको मर्म थाहा थिएन तर कथा कण्ठस्थ थियो ।

विरासतमै पाएका थिए वेदको तत्वज्ञान । भजन–संकीर्तन । गुरुको संगत थपिएपछि उनीहरूको ज्ञानको आयातन अझै विस्तृत बन्यो । प्रवेशिका तहको पढाइ पूरा भएपछि वेदवेदाङ्ग, श्रीमद्भागवत पुराणादिमा खारिने इच्छाले छट्पटी पैदा गर्‍यो । डोर्‍याएर वाल्मीकि विद्यापीठ पुर्‍यायो ।

“नेपाल देश संस्कृतकै अनुष्ठान भूमि हो भन्ने ज्ञान किशोरवयमा भएको थियो । अझै आँखा उघार्न मन लागेर संस्कृत शिक्षातिर पाइला चाल्यौं,” संस्कृतको औपचारिक पढाइतिर लहसिनुको कारण बताउँछिन् सरस्वती ।

६ महिना संस्कृत भाषा पढेपछि पूर्वमध्यमा उत्तीर्ण गरे । संस्कृततर्फ उच्च शिक्षाको ढोका पनि अब टाढा रहेन । विलक्षण दिदीबहिनीलाई संस्कृतमा खारिन समय लागेन । वेद–वेदांग धमनी र शिरामै बगेको थियो । सरस्वतीले इतिहास पुराणमा आचार्य (स्नातकोत्तर) तह पूरा गरिन् । गार्गीले इतिहास पुराण र संस्कृत साहित्य द्वीविषयमा आचार्यको उपाधि चुमिन् ।

घरबाटै व्यासासनको यात्रा

घर जीवनको पाठशाला हो । र त, विदुषी दिदीबहिनीको भागवत शिल्पको आधारशीला पनि घर नै बन्यो ।

रामानन्दकै सान्नीध्यमा उनीहरूले वेदका ऋचा वाचन गर्न थालिसकेका थिए । वेदस्तुति, भीष्मस्तुति, गोपीगीतम्, वेणुगीतम्का राग अलापिसकेका थिए ।

तर, भर्खरका नवयौवनाले भागवत कथा वाचन गर्ने भनेपछि धेरैलाई पत्याउन मुश्किल पर्‍यो । कारण– त्यतिबेलासम्म व्यासासनमा स्त्रीअनुहार देखिने कुरा कल्पनाबाहिरको थियो । वाचनको थालनी उनीहरूले आफ्नै आँगनमा निर्मित व्यासासनमा बसेर गरे ।

“भागवतमा पोख्त छौं, पुराणमा पारंगत छौं भनेर सुनाउँदै हिँड्ने कुरा भएन । समाजले हत्तपत्त पत्याउँदैनथ्यो । प्रमाणित गर्न घरमै कसीरूपी व्यासासन तयार पार्नुपर्‍यो,” त्यतिबेलाको क्षण सम्झिन्छन् उनीहरू ।

आफूलाई प्रमाणित गर्न घरको नित्यपुरोहितलाई ‘गणेश’ थपना गरे । दिदीबहिनीले व्यासासनमा बसेर सपना पूरा गरे । त्यसपछि उनीहरूले पाइला पछाडि सार्नुपरेको छैन ।

सुदूरपूर्व झापाको आँगनदेखि गल्कोटको गौंडासम्म झन्डै डेढ सय मञ्चमा गार्गी दिदीबहिनी पोखिइसकेका छन् ।

० ० ०

पुराण वाचनको १७ वर्षे यात्रामा छन् उनीहरू । सत्सङ्गबाट शुरू भएको यात्रा मोक्ष प्राप्तिको दिशामा अविराम छ ।

स्त्रीद्वेषी समाजमा महिलाको यात्रा सकसपूर्ण छ । समाजले कोरेको ‘लक्ष्मणरेखा’ काटेर अघि बढे अनेक प्रश्नको सामना गर्नुपर्छ । प्रश्नमात्रै भए त उत्तर दिन पनि सकिँदो हो, कहिलेकाहीँ त सुन्नै नसक्ने लाञ्छना बेहोर्नुपर्छ ।

उनीहरूसँग कयौं यस्ता अनुभूति छन्, जसले उनीहरूलाई अघि बढ्न सधैं हौस्याउँछन् । कति यस्ता अनुभूति पनि छन्– कहिलेकाहीँ आँखा रसाउँछन् । ‘सतीसावित्री सीता’ले झैं पटक¬–पटक अग्निपरीक्षामा सामेल भइरहनुपर्छ ।

काभ्रेमा एउटा त्यस्तै तीतो अनुभूति छ ।

२०६४ साल । संविधानसभा निर्वाचन सकिएर मुलुक गणतन्त्र संस्थागत हुने दिशातिर उन्मुख हुँदै थियो । काभ्रेको भकुण्डेबेसीबाट गार्गी दिदीबहिनीलाई निम्तो आयो– शिवपुराण कथा वाचन गर्न ।

शिवपुराणमा पोख्त दिदीबहिनीले निम्तो तिरस्कार गरेनन् । सहर्ष स्वीकार गरे र झिटीगुण्टा बोकेर भकुण्डे सोझिए ।

व्यासासनमा स्त्री अनुहार देखेपछि वरिवरिका महिला कानेखुसी गर्न थाले, “भर्खरका छन् । शिव पुराणजस्तो गह्रुंगो ग्रन्थ वाचन गर्न सक्लान् त ? यिनीहरूले वेद पढेका त छन् के ?”

वेद–उपनिषद् वाचनमा प्रभुत्व जमाइसकेका ‘विदुषी’प्रतिको महिलाहरूकै हेय दृष्टि देखेर दिदीबहिनीको चित्त कुँडियो । मन अमिल्लियो । नजरअन्दाजको अर्को पनि कारण थियो– तबलावादन र गायन पनि महिला नै लगेका थिए । तर, गार्गी दिदीबहिनीले हरेस खाएनन् । सम्हालिएर कथा श्रवण गराए ।

चार दिनसम्म त भीड पातलै थियो । पाँचौं दिनदेखि भक्तालुको ओइरो लाग्यो । उद्यापनका दिन त भीड थेगिनसक्नु भयो । “भक्तजनले चढाएको तिल नै ६ पाथी हुँदो हो,” मच्चिएर हाँस्छिन् गार्गी ।

शुरूमा भागवत वाचन ‘स्वान्तः सुखायः’कै हिस्सा (अंग) बनाएका थिए उनीहरूले । अहिले क्रमशः समाजसेवासँग पनि जोड्दै छन् । समाजसेवाको आवरणमा पुराणवाचन ‘व्यापार’मा बदलिएला भनेर सचेत पनि छन् । कहिलेकाहीँ पाइला कुठाउँमा परिहाल्छ ।

ललितपुर भैंसेपाटीको घटना स्मरणीय छ । तीन–चार वर्षअघिकै कुरा हुनुपर्छ । गार्गी दिदीबहिनी भागवत कथावाचनका लागि भैंसेपाटी पुगेका थिए । अनाथाश्रमका लागि भनेर आयोजकले पुराण लगाएका थिए । तर, आयोजकको गतिविधि शंकास्पद देखियो । अनाथाश्रमको सहयोगार्थ भनिएको छ तर सप्ताहको सेरोफेरोमा कोही अनाथ देखिँदैनन् । सप्ताह ज्ञान महायज्ञ लगाउने रैथाने पनि रहेनछन् ।

पुराणवाचन गरेका बेला आयोजकसँग सोधपुछ गर्न नमिल्ने । व्यासासनबाट ओर्लिएका बेला आयोजक फेला नपर्ने । शंका–उपशंकाले वेष्टित भएपछि गार्गी दिदीबहिनीले स्रोतासँग सन्देह पोखे ।

नभन्दै आयोजकको खराब नियत देखियो । पुराण–उद्यापन गरिसकेपछि स्थानीयले वाचकीहरूलाई घर ल्याइदिए । आयोजकलाई प्रहरी–चौकी पुर्‍याइए । संकलित २५ लाख रुपैयाँ व्यक्तिको पोल्टामा जानबाट रोकियो ।

भागवत कर्म र मासिक धर्म

उनीहरूको दिनचर्या नै भागवत अनुष्ठान भएको छ । बिहान उदयाचलदेखि साँझ अस्ताचलसम्म वेद–उपनिषद्का स्तोत्र पाठ गर्दै बित्छ । तर, रजोधर्म (महिनावारी)का बेला उनीहरू वैदिक अनुष्ठान, वेद, पुराणादि वाचन गर्दैनन् ।

“वैदिक, सनातन धर्म यस्तो कट्टरपन्थी छ र ?”

प्रश्न सुन्नेबित्तिकै गार्गीको अनुहारको भावभंगिमा बदलियो । “शास्त्र स्त्रीद्वेषी छैन । श्रीमद्भागवत्, पुराण त झन् छँदै छैन । धर्म–शास्त्रले लिंगभेद गरेको छैन । शास्त्र मानवका लागि सिर्जित हो । अमुक लिंगका लागि होइन,” उनले कूटनीतिक उत्तर दिइन् ।

“उसो भए महिनावारी किन बार्नुहुन्छ ?”

प्रश्नले गार्गीलाई झन् गम्भीर बनायो ।

“महिनावारीका बेला चित्त र शरीर दुवै शुद्ध हुँदैन । अतिरिक्त थकावट पैदा हुन्छ । कसै–कसैलाई असह्य दुखाइको अनुभूति पनि हुन्छ । यस्तो बेलामा जतिसक्दो आरामको जरुरत पर्छ । पुराणवाचनमा एकाग्रता र विकाररहित मनको आवश्यकता पर्छ । महिनामा चार दिन शरीरलाई छुट्टी पनि त चाहियो,” यसपल्ट भने उनले सहज उत्तर फर्काइन् ।

स्त्रीवाचक भएकाले आयोजकहरूले नै गार्गीहरूको मर्म बुझ्छन् । पुराणको समय जुराउन आउनेले मासिक चक्रको सम्भावित तिथि पनि सोध्न बिर्सिंदैनन् । तदनुकूल सप्ताह, नवाहको मिति तय गर्छन् ।

र, गृहस्थ जीवन

जीवन भागवत ज्ञान, अनुष्ठानमै समर्पण गरिसकेकाले गृहस्थ जीवन उनीहरूको योजनाबाहिर छ । भागवतप्रति भक्तिभाव रहेकाले परिवारिक दबाब पनि छैन । सिंगो घर आराध्य–मन्दिर प्रतीत हुन्छ ।

समवयीजस्ता देखिने छोरीहरू इच्छ्याएको बाटोमा हिँडेकाले बुवा तुलसीको पनि अतिरिक्त चाहना छैन । बिहे गरेर गृहस्थ जीवन शुरू गरून् भन्ने त झन् छँदै छैन ।

“नैमिषारण्ड्यजस्तो यो पावन भूमि, वैदिक धाममा एउटा पनि स्त्री गुरुकुल, सत्सङ्गस्थल छैन । जीवनको उत्तराद्र्धसम्ममा त्यो योजनालाई साकार तुल्याउने र भागवत भक्तिलाई जीवनपर्यन्त डोर्‍याउने इच्छा छ,” गार्गी र सरस्वती अन्तिममा समवेत स्वरमा योजना पस्कन्छन् ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन ४, २०७६  ०७:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC