site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
म धेरै आहत छु
Ghorahi CementGhorahi Cement

— कंगना रनौत


केही समययता बलिउड अभिनेतृ, निर्मात्री र निर्देशक कंगना रनौत भारतीय सञ्चारमाध्यमसँग ठूलै टकरावमा छिन् । सार्वजनिक समारोहमै पत्रकारसँग वादविवाद गर्दै सञ्चारमाध्यमलाई दोषारोपण गरेकी कंगना ‘मणिकर्णिका’देखि नै पत्ररकारहरूसँग रुष्ट थिइन् । आफूजस्ता ‘आउटसाइडर’हरूलाई बलिउडसँगै सञ्चारमाध्यमले स्वीकार्न नसकेको विषयमा उनले पटक—पटक अभिव्यक्ति दिएकी छन् । अहिले तमिलनाडुको कोयम्बटोर पुगेर आराम गरिरहेकी कंगनासँग ‘नवभारत टाइम्स’का अंशुल चतुर्वेदीले यिनै विषयमा बुझ्न खोजेका छन् । अन्तर्वार्ताका क्रममा कंगनाले आफ्ना अभिव्यक्तिमा सफाइ दिएकी छन् । आफ्नो आवेगको बचाउ गरेकी छन् । प्रस्तुत छ, सम्पादित अंश—

१) एकजना त्यस्तो व्यक्ति, जसले योग, ध्यानसँगै आध्यात्मिक कुरा गर्छ । त्यस्तो व्यक्तिमा यति धेरै रिस र आक्रोश किन छ ?

Agni Group

मलाई लाग्छ— आक्रोश फरक हो, कामप्रतिको तीव्र लगाव (प्यासन) फरक हो र कसैप्रतिको वितृष्णा फरक हो । आक्रोश र वितृष्णा त्यतिबेला हुन्छ, जब कसैप्रति कसैको ईष्र्या हुन्छ । र, यो विस्तारै व्यक्तित्व बनिदिन्छ । कामप्रतिको लगाव यस्तो चिज हो, जहाँ व्यक्ति यति धेरै लीन भइदिन्छ कि उसले जे पनि बोल्छ या गर्छ, त्यो सनकजस्तो लाग्न थाल्छ । रचनात्मक सवालमा म आफ्नो जीवनभर यी सबै कुरा गर्न सक्दिनँ । के म धेरै नै भावुक छु ? हो । कहिलेकाहीँ जस्तो माग हुन्छ र म जस्तो काम गर्छु, त्यसका आधारमा मप्रतिको धारणा विकास भएको जस्तो छ । यहाँसम्म कि निर्देशक या कलाकारको हैसियतमा यो कसैप्रति दबाब बनाएको जस्तो देखिन्छ । तर, यो आक्रोश होइन । यो मेरो भावनाको तीव्रता हो । अब कुरा गरौं त्यो व्यक्ति (पत्रकार)बारे, जोसँग मेरो सामना भयो । बहस भयो । कतिलाई यसलाई गालीगलौज भने । अहिले पछाडि फर्किएर हेर्दा मलाई त्यो गालीगलौज लाग्दैन । यहाँसम्म कि त्यो कसैप्रतिको वितृष्णा पनि होइन । यसलाई तपाईं टकराव भन्न सक्नुहुन्छ । के म आहत थिएँ ? हो । के मैले गाली गरेर कसैको अपमान गरें ? गरिनँ । म मान्छेहरूसँग धेरै आहत भइजान्छु । खासगरी उनीहरूसँग, जोसँग म मनबाट कुरा गर्छु र निजी समय बिताउँछु । यो कोणबाट हेर्दा के म धेरै नै आहत महसुस गर्छु ? हो । त्यो म आहत हुनुको अभिव्यक्ति हो ? बिलकुल । यदि तपाईं यसलाई आक्रोश भन्नुहुन्छ भने त्यो नै सही । तर, म यसलाई वितृष्णा मान्दिनँ । म आहतचाहिँ छु । धेरै नै ।

२) तपाईं बारम्बार ‘एक वर्ग’को बारेमा बोल्नुहुन्छ । तर, त्यो ‘एक वर्ग’को परिभाषा स्पष्ट छैन किनकि तपाईंको व्याख्याअनुसार त्यो ‘वर्ग’ कि ‘बिकाउ मिडिया’ हो या ‘लिबरल (उदार) मिडिया’ वा ‘देशद्रोही’ आदि इत्यादि । यो प्रष्ट दृष्टिकोण होइन । ‘मिडिया’ शब्द उच्चारण गरेर हमला गर्नु त हामीले ‘बलिउड’ भनेर समग्र उद्योगलाई गाली गरेजस्तो भएन र ? आखिर तपाईंको करिअर यहाँसम्म आइपुग्नुमा पनि मिडियाकै सहयोगका कारण त हो !

Global Ime bank

मेरो ब्रान्ड बन्नुमा मिडियाको ठूलो भूमिका छ । पत्रकारहरू मेरो करिअर र ब्रान्डका आधारशीला हुन् । बलिउडमा मजस्ता ‘आउटसाइडर’लाई यहाँसम्म पु¥याउनुमा मिडियाकै ठूलो हात छ । यो उनीहरूको इमानदार काम थियो । किनकि पहिले मिडियाले कलारकारलाई नभएर स्टारलाई मात्रै यति धेरै सम्मान दिन्थे । मेरो हकमा त्यस्तो भएन । म मिडियाप्रति आभारी छु र सधैं मिडियाका लागि प्रिय रहेकी छु । मैले भनेको ‘वर्ग’ त्यो हो, जो मेरो विरुद्धमा एकजुट भएको छ । मैले ज–जसको विरुद्ध आवाज उठाएकी थिएँ, उनीहरू एकजुट भएका छन् । यो समूह बन्ने बेला १५–१६ जना सदस्य थिए । यसमा त्यस्ता व्यक्ति धेरै थिए, जो श्रमजीवी पत्रकार नै होइनन् ।

यसबाहेक केही जनसम्पर्क कम्पनी (पीआर एजेन्सी) भी छन्, जसले कसैबाट पैसा लिएर मविरुद्ध एजेन्डा चलाउँछन् । जो–जो व्यक्तिविरुद्ध मेरो लडाइँ छ, उनीहरूका लागि ‘मिडिया’ शब्द प्रयोग गर्नु गलत हो, त्यो म मान्छु । मलाई उनीहरूसँग समस्या छ, जसले ‘लिबरल मिडिया’को नाम लिएर मलाई गाली गरिरहेका छन्, जबकि उनीहरूलाई ‘लिबरल मिडिया’सँग केही लिनुदिनु नै छैन । मिडियाले धेरै ठूला मुद्दा उठाउँछन् । तर, केही मिडिया यस्ता छन्, जसले उदार मिडिया, धर्मनिरपेक्षता, लेफ्ट—राइट—सेन्टर जस्ता शब्दलाई बदनाम गरिरहेका छन् । झुटो माहोल निर्माण गर्नेहरू उदार मिडिया कसरी हुन्छन् ? म सही आलोचना झेल्न सक्छु । यदि म कुनै विचारधारा मान्छु भने ममा त्यति सुझबुझ नहोला कि अरूका विचारलाई सम्मान गर्न नसकूँ ? मेरो यही सोचले मलाई जिन्दगीमा बलियो बनाउँछ । मेरो पनि आफ्नै दृष्टि र विचारधारा छ । हुन सक्छ— मैले आफ्ना विचार ठीक ढंगले बुझ्न सक्दिनँ होला तर मलाई यो कुरा प्रष्ट थाहा छ कि आफ्नो सोच र विचारधाराका गल्ती हटाउन विपक्षी सोच कति महत्वपूर्ण हुन्छन् !

३) तपाईंलाई लाग्छ— केही मान्छे इमान्दार छैनन्, जसले वर्षौंदेखि तपाईंविरुद्ध अभियान चलाएका छन् । यही कारण तपाईं सोच्नुहुन्छ कि उनीहरूलाई तपाईंका विरोधीको ठूलो साथ छ । ती, जसले तपाईंलाई घृणा गर्छन्, उनीहरूले तपाईंलाई आफ्नो मिडियामा स्थान नदिने बताएपछि तपाईं एक भिडियोसहित आएर भन्नुहुन्छ कि म यसबाट खुशी छु । त्यही बेला फेरि भन्नुहुन्छ, ‘मलाई मिडियामा स्थान नदिने हो भने कानुनी उपचारको बाटो खोज्छु ।’ यो विरोधाभाष किन ?

भएको के थियो भने १५–१६ जना मिलेर मविरुद्धको समूह बनाए । मैले भनें ठीक छ । त्यसलाई स्वीकारें । तर, भइदियो के भने उनीहरूले ‘कंगना भर्सेस मिडिया’ बनाए । उनीहरूले मविरोधी समूहमा २–३ सय व्यक्तिलाई जोडिसकेका छन् । यसले मेरा निर्माताहरूलाई पनि दबाब परेको छ । कसैले पनि मिडियामा स्थान नदिने हो भने त लगानी डुब्छ भन्ने चिन्ता पर्नु स्वाभाविक हो । उनीहरूले व्यक्तिका रूपमा मलाई प्रतिबन्धै लगाए पनि त्यसमा मेरो केही चिन्ता छैन । तर, जब उनीहरूले आममानिसलाई मेरो विपक्षमा बनाउँदै ‘हाम्रो मिडिया लोककल्याणका लागि हो’ भन्छन्, तब मेरो पारा तात्छ । यो समूहको उद्देश्य मेरो विरोध गर्नु हो । उनीहरूले पत्रकारिताको भलाइका लागि केही काम गरेका छैनन् ।

४) उनीहरूले पत्रकार र पत्रकारिताका लागि केही गरेका छन् या छैनन् भन्ने कुरा तपाईंको चिन्ताको विषय कसरी भयो ? उनीहरूसँगको टकरावमा यो कुरा कसरी सान्दर्भिक भयो ?

यदि उनीहरूले कसैलाई प्रतिबन्ध लगाउँछन् भने लगाऊन्, केही छैन । तर, सम्पूर्ण मिडियालाई किन साथ लिइरहेका छन् ? यसले गर्दा अहिले ‘कंगना भर्सेस मिडिया’ भएको छ । यो ‘कंगना भर्सेस मिडिया’ होइन । मेरो विरुद्धमा ती लागिरहेका छन्, जसले ‘मुभी माफिया’को समर्थन गर्छन् । उनीहरू त ‘मुभी माफिया’भन्दा पनि खराब छन् । मलाई मिडियादेखि केही समस्या छैन । मैले पहिले पनि भनें— मिडियामा मेरा थुप्रै राम्रा साथीहरू छन् । म त्यस्ती कलाकार हुँ, जसलाई मिडियाले ठूलो साथ दिएको छ । मैले हरेक अन्तर्वार्तामा भन्ने गरेकी छु कि आलोचनाभन्दा मलाई अरू केही मन पर्दैन । मेरा सही साथी साँचो मिडिया हुन् । विरोधी नै नहुने हो भने कुनै पनि विचारधारा अडिग रहिरहन सक्दैन । मेरा पनि आलोचक हुनु आवश्यक छ । तर, त्यस्ता १५–१६ जना व्यक्ति छन्, जसले व्यक्तिगत रूपमा मलाई घृणा गर्छन् । बाँकीले त मलाई राम्रै मान्छन् । म चाहन्छु— ती राम्रा मिडियामा यो विषयलाई लिएर कुनै आशंका नहोस् । मेरो यत्ति आग्रह छ— उनीहरू ती १५–१६ कलुषित व्यक्तिको छेउछाउ नपरून् । म उनीहरूसँगको लडाइँमा गलिसकें ।

५) तपाईं ‘मान्छेहरू मेरो विरुद्धमा पक्षपाती भए भने ठीकै छ’ भन्नुहुन्छ । हुन सक्छ— उनीहरूसँग तपाईंको कुनै इतिहास होस् ! तर, उनीहरूलाई तपाईं सीधै ‘देशद्रोही’ भनिदिनुहुन्छ । अझ ‘मणिकर्णिका’को सन्दर्भमा अझ धेरै भन्नुहुन्छ । यो कसरी सही भयो ?

रानी लक्ष्मीबाई जस्तै मंगल पाण्डे पनि स्वतन्त्रता संग्रामका सेनानी थिए । आमिर खानले मंगल पाण्डेमाथि फिल्म बनाएन, जुन चलेन । तर, यदि मंगल पाण्डेको रोलमाथि व्यंग्य गरियो भने के हामीले शहीद मंगल पाण्डेको अपमान गरेको हुन्छ ? शहीद राष्ट्रिय खजाना हुन्, उनीहरू सबैका हुन् । उनीहरूमाथि फिल्म बनाउनु सबैको अधिकारको कुरा हो । मैले अधिकार लिन कसैलाई पैसा दिएकी छैन । समीक्षकले जस्तै फिल्मको बारेमा आलोचना गरियो भने त्यसमा स्वीकार्यता नहुने कुरै छैन । तर, जब शहीदकै नाम तोडमोड गरियो भयो त्यो ठीक हुँदैन । हामी भगत सिंह या मणिकर्णिकामाथि गलत कुरा गर्न सक्दैनौं । मेरो भन्नुको मतलब यत्ति हो— पत्रकार भएकै कारण शहीदको नामलाई लिएर ट्रोल गर्नु कसरी न्यायोचित हो ? यसलाई स्वीकार गर्न सकिन्छ ? राष्ट्रिय विभूतिहरूलाई अनादर गर्नु, उपहास गर्नु अहिले फेसन जस्तो भएको छ । फिल्म मन नपराउनु फरक कुरा हो । कमसेकम शहीदलाई सम्मान गरौं । यसबारे बोलिनँ भने कस्तो मान्छे बन्छु होला ? मैले त्यही भनेकी हुँ । ट्रोल गर्ने व्यक्ति भेट हुँदा मैले सोधेकी थिएँ, “के गर्छौ यार ?” यत्ति भन्दैमा मैले उसको अपमान गरें ? मलाई लाग्छ— उनीहरू बदला र एजेन्डा लिएर आइरहेका छन् । मेरो भिडियो त्यसकै विषयमा हो ।

६) बलिउडसँग जोडिएका मान्छे तपाईंको फिल्म प्रिमियरमा नआउँदैमा शहीदको अपमान गरेको कसरी भयो ? तपाईंले हरेक लडाइँ राष्ट्रिय झन्डा समातेर लड्न सक्नुहुन्न । किनकि, यी सारा समस्या देश र राष्ट्रियतासँग जोडिएका छैनन् । अब त तपाईंले कुन–कुन कुरालाई लिएर मन दुखाउनुभएको छ भन्ने कुरामा पनि अन्योल देखिन्छ । यस्तो लाग्छ— तपाईं हरेक चिजसँग दुःखी हुनुहुन्छ ।

व्यक्तिगत रूपमा मान्छेहरूले कटाक्ष गर्दा मेरो मन दुख्छ । स्वाभाविक हो । मलाई लाग्छ— कोही पनि कसैप्रति यति धेरै पूर्वाग्रही हुनु हुँदैन । यो नितान्त व्यक्तिगत अनुभूतिको कुरा हो, राष्ट्रिय मुद्दा होइन । मैले व्यक्तिगत ट्रोलिङलाई कहिल्यै पनि राष्ट्रियतामा लगेर जोडेकी छैन । तर, जब म पर्यावरण दिवसका दिन केही गर्छु भने मेरो मजाक किन उडाइन्छ ? जनावरप्रतिको क्रूरता र गौहत्याविरुद्ध केही गर्छु भने मेरो खिल्ली किन उडाइन्छ ? यी विषयमा विश्वभर कुनै पनि उदार मिडियाले पूर्वाग्रह साध्दैनन् । मैले आफ्नो भिडियोमा यस्तै व्यक्तिविरुद्ध रोष प्रकट गरेकी हुँ ।

७) ‘केही मिडिया’ मात्रै नभई थुप्रै तटस्थ व्यक्तिले पनि तपाईंको भाषा र त्यसको प्रस्तुतिका कारण मन दुखाए । यो कुरा तपाईं र तपाईंकी बहिनीले पनि पछि भन्नुभयो । त्यसबारे तपाईंलाई जानकारी पक्कै होला !

खासमा भन्ने हो भने मैले ती सबै ‘पीआर’ एजेन्सीसँग व्यक्तिगत रूपमा सम्पर्क गरें, जसमार्फत मविरुद्ध नकारात्मक समाचार आइरहेका थिए । शुभचिन्तकहरूले मलाई ‘किन उनीहरू तपाईंविरुद्ध यस्ता कुरा फैलाइरहेका छन् ?’ भनेर सोध्थे । यदि कोही मसँग काम गर्न चाहँदैन या म कसैसँग काम गर्न चाहँदिनँ भने प्रष्ट छ— कामै नगर्ने । मलाई उनीहरू यत्तिकै बस्न किन दिँदैनन् ? मेरो प्रतिशोध निराशाभन्दा फरक छ । मलाई लाग्छ— मेरा यस्ता दुश्मन छन्, जोसँग गर्नुपर्ने काम केही छैन ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन ४, २०७६  ०८:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC