site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
जागिर— नेपालदेखि अमेरिकासम्म
Sarbottam CementSarbottam Cement

— प्रमोद अमात्य


मेरा बाजे जागिरे थिए । जागिर थियो— शाही नेपाली सेनामा । भन्ने नै हो भने राणा सेनामा । चन्द्र शमशेर हुन् कि जुद्ध शमशेर— ठोरी शिकार जाँदा हाम्रा बाजे पनि सँगै गएका थिए रे ! शिकार खेल्न होइन, छाउनीमा बन्दोबस्त मिलाउन  । बाजे सेनाका सैनिक होइन, प्रशासनपट्टि थिए । बाजेको बिँडो थाम्दै बाले पनि जागिर नै रोजे जीविकाका लागि । अनि मैले पनि जागिरे परम्परा नै पछ्याएँ । त्यसैले म परें खानदानी यानेकि ‘सन अफ टिफिन क्यारिएर’ जागिरे ।

जागिरमा मेरा धेरै अनुभव छन् । नेपालमा मैले सरकारी, अर्धसरकारी, निजी र गैरसरकारी सबै क्षेत्रमा काम गरेको छु । सत्य ! धरोधर्म ! काम गर्दा तलब–भत्ताबाहेक केही खाएको छैन । मेरो ऊ बेलाको दैनिक १७ रूपैयाँ ज्यालाको कसम ! तर, सित्तै पाइने चिया, कफी भने एक कप पनि छोडेको छैन । युरोप र अमेरिकामा पनि सरकारी, गैरसरकारी, निजी क्षेत्रमा केही कामको अनुभव बटुलेको छु । व्यापार, उद्योग गर्न न पुँजी भयो न आँट, त्यसैले जागिरमा गिरियो । अहिले त जागिर पाउन पनि लगानी लगाउनु पर्छ अरे ! क्यास देऊ, जागिर लेऊ । जमाना जो बदलिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

पहिलो जागिर—

ऊ बेला पुल्चोक क्याम्पसमा ओभरसियरको पढाइ सकिनासाथ जागिर पाइन्छ भन्ने थियो । परीक्षाको नतिजा पनि कुर्नु पर्थेन । हामी अल्लारे ठिटाहरू कसैलाई जागिर खान हतार थिएन । बाउले खान, बस्न र अलि–अलि पकेटखर्च दिइहाल्थे, बस मजा नै मजा । हामी अल्लारे भनेको हरि, दीपक, उमेश, विपीन र म । जाँच सकेपछि हामी अल्लारे तन्नेरीहरू लाग्यौं पोखरा घुम्न । यो ०३५ सालतिरको कुरा हो ।

Global Ime bank

काठमान्डू सुनधाराबाट बस चढेपछि दिनभर लगाएर बसले महेन्द्रपुल, पोखरा पु¥याउँथ्यो । मुग्लिनमा थकालीले बससम्म आएर, मान गरेर खान बोलाउँथे । शुद्ध, मगमग बासना आउने घिउ तात्तातो भातमा राखेर खाईवरि पुगियो पोखराको महेन्द्रपुल । पुलवारि केही एक तले र दुई तले ढुंगा, काठका घर थिए । पोखरा म बच्चा बेलामा पनि गएको थिएँ हवाइजहाज चढेर— ‘डेकोटा’ जहाजमा, छाद्दै । ऊ बेलाको हवाइजहाजले धेरै उफाथ्र्यो । एभ्रो जहाज चलेपछि भने अलि सुविधा हुन थाल्यो । त्यो बेला पृथ्वी राजमार्ग बनेको थिएन, त्यसैले जहाज चढ्नु पथ्र्यो ।

बस्ने व्यवस्था महेन्द्रपुल छेउको कुनै एक लजमा मिलायौं । खाना खान भने नजिकैको थकाली भोजनालयमा जान्थ्यौं । भोजनालयको काउन्टरमा एक थकाल्नी ठिटी बस्थिन् । उनले खाना थपथाप गर्दिन्थिन् । हामी खाना थपी–थपी खान्थ्यौं । उमेरले दिएको हो नि, हैन त ? हामी आफ्नै मातृभाषा नेवारीमा ती युवतीको बयान गथ्र्यौं, टीकाटिप्पणी गथ्यौं । एकदिन पैसा तिर्दै गर्दा ती युवतीले नेवारीमै जवाफ फर्काएपछि ठिटाहरू ‘सेन्टिफ्ल्याट’ भए ।

केही दिन पोखरा घुमेर फर्केपछि भने जागिर खोज्नतिर लागियो । हामी सबै एकै ठाउँमा जागिर खान चाहन्थ्यौं तर सम्भव होलाजस्तो भएन । मैले सडक विभागमा काम भेटें । काम थियो— जनसहभागितामा आधारित सडक आयोजनामा सबओभरसियर । त्यो पनि पोखरामा । तलब दिनको १० रूपैयाँ । १० रूपैयाँले खान, बस्न, सबथोक पु¥याउनु पथ्र्यो । त्यो जागिरले पोखराजस्तो अति महँगो शहरमा खानमात्रै पनि पुग्दैन होला भनी त्यो जागिर छाडियो, खाइएन ।

मेरा साथी हरिका बुबा कृषि विभागमा हुनुहुन्थ्यो । उहाँले कृषि औजार हो कि कृषि सामग्री संस्थानको लाजिम्पाट अफिसले ओभरसियर खोज्दै छ भन्ने थाहा पाउनुभएछ । म र हरिका लागि उतै जागिर मिलाउनु भएछ । जागिर त ठीकै थियो तर हामीलाई पाटनढोकाको बसबाट रानीपोखरी ओर्लिने अनि दौडिँदै फेरि महाराजगन्ज जाने मिनी बस÷टेम्पो समातेर जानुपर्ने झन्झट थियो । बाटो लामो र टाढा लाग्यो । अहिलेजस्तो मिनेट–मिनेटमा माइक्रोबस पाइँदैनथ्यो । त्यो जागिर पनि खाइएन ।

कसैले विद्युत् विभागले जागिर दिन्छ भन्ने खबर ल्याएपछि दीपक र मैले ‘फुलस्केप’ पानामा हातले निवेदन लेखेर रत्नपार्कस्थित बिजुली अड्डामा फ्याँकेर आयौं । कसले कता निवेदन दिए, कसले कता । अहिलेजस्तो कम्प्युटरमा एउटा निवेदन लेख्यो अनि त्यसैलाई मिलाएर ‘कपी पेस्ट’ गर्न सकिँदैनथ्यो । कम्प्युटर त आएकै थिएन । टाइपराइटर पनि सबैलाई उपलब्ध थिएन । त्यसैले हामी तीन प्रति कार्बन पेपर राखेर एकैचोटि चारवटा निवेदन तयार गथ्र्यौं र चार ठाउँमा बुझाउँथ्यौं ।

कार्बनवाला निवेदनको पछि पनि खासै लागिएन । पछि हरिले मौसम तथा जलवायु विज्ञान विभाग, उमेशले हवाई विभाग, विपीनले भवन विभाग अनि दीपक र मैले विद्युत् विभागमा जागिर भेट्टायौं । जागिरले घर खोज्दै आइपुग्यो, हामीलाई नियुक्ति दिन । रजिस्टर्ड पत्र घरमा आएपछि म दौडिँदै पुगें, टुँडीखेलछेउको बिजुली अड्डा ।

“हिजो आउनुभएको भए जागिर नपाउने तपाईंले,” फाँटवालाले सुनाए ।

“किन होला ?” मलाई अचम्म लाग्यो ।

“तपाईं आजै १८ वर्ष पुग्नुभयो । यो पदको जागिर खान १८ पुग्न जरुरी छ,” उनले भने ।

म त ट्वाँ ।

पद थियो राजपत्रअनंकित प्रथम प्राविधिक । यानेकि ओभरसियर । तलब दैनिक १७ (ज्यालादारी) रूपैयाँमात्र । त्यो बेला पाटनढोकाको बस १५–२० पैसामा चढ्न पाइन्थ्यो । त्यो पनि कतिपल्ट पैसा नतिरी चढेका छौं । अहिले सम्झिँदा गजब लाग्छ । जागिर खाएलगत्तै दशैं आयो । अरूले दशैं पेश्की पचाए, आफ्नो हातमा आधा तलब । तिहारपछि बल्ल अस्थायी ग¥यो विभागले । छट्टु विभागले दशैं पेश्की बचाएको रहेछ, दशैंअघि अस्थायी नगरेर । कोही–कोही केटाहरू पनि छट्टु थिए, एक ठाउँमा दशैं पेश्की लियो अनि लगत्तै अर्को अफिसमा जागिर खायो र दशैं पेश्की पचायो । हामी प¥यौं सोझा, बफादार कर्मचारी । त्यस्तो गरिएन ।

मलाई राम्ररी याद छ— पहिलो दशैं पेस्की लिएर म टेकुस्थित नेसनल ट्रेडिङ गएँ । टाइपराइटर किनूँ कि साइकल ? म अलमलमा परें । मन धेरै घुमेपछि अन्तिममा साइकल किन्ने निर्णय लिएँ । आफ्नै पैसाले किनेको साइकल चढ्दा जुन मजा आएको थियो, त्यो पछि मोटरबाइक किन्दा, पछि गाडी किन्दा र चढ्दा पनि आएन । अद्भूत आनन्द र खुशीको अनुभव थियो त्यो ।

रमाइलो र यादगार कुरा के भने यसपालि नेपाल जाँदा ऊ बेलाका तन्नेरी साथीहरू हरि, दीपक, उमेश र विपीन सबैसँग भेट भयो । ‘ऐ दोस्ती हम नहीँ तोडेंगे...!’ यस्तो भेटको मजै अर्को हुँदो रहेछ, यो उमेरमा ।

हाम्रो समयभन्दा पहिला त ओभरसियर र इन्जिनियरहरूलाई जागिर खान झनै सजिलो थियो । मेरा दाइ (पुष्प) सुनाउनुहुन्थ्यो— उहाँको पालामा लोकसेवा आयोगले अन्तर्वार्ता लिँदा पहिलो प्रश्न ‘तपाईं चिया खानुहुन्छ कि कफी ?’ भनेर सोध्थे रे ! सडक विभागले पाँच जना इन्जिनियर मागेकोमा तीन जनाको मात्र दर्खास्त पथ्र्यो रे ! तर, अहिलेको जमाना बेग्लै छ । जागिरको कहानी बेग्लै छ । 

अमेरिकाको सरकारी जागिर

म अमेरिका भास्सिनुअघि नेपालको एक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा काम गर्थें । अँ, साँच्चै— म भास्सिएको हो कि धस्सिएको हो या भागेको हो अमेरिकातिर ? यो प्रश्नको उत्तर मैले नेपाल छाड्दा पनि पाएको थिइनँ, अहिले पनि पाएको छैन ।

अमेरिका आएपछि पनि त्यस्तै गैरसरकारी संस्थामा काम मिल्यो । त्यस्तो संस्थालाई यता गैरनाफामूलक संस्था भन्दा रहेछन् । यानेकि थोरै तलब आउने अफिस ।

एकदिन मेरा पुल्चोक क्याम्पस, आईआईटी रूड्की पढ्दादेखिका साथी गणेश पाण्डेसँग फोनमा कुरा गर्दै थिएँ । कुरैकुरामा ‘हाइवेमा अलि बढी गतिमा हाँक्यो भने मेरो गाडी थर्किन्छ, हल्लिन्छ’ भनेर सुनाउँदै थिएँ ।

“अलि ठूलो गाडी लेऊ न त,” उसले सहज उपाय सुझायो ।

“ठूलो गाडी किन्न पैसा पनि त चाहियो नि साथी !” म अलि खुलेरै बोलें, “पैसा छैन । तलब थोरै छ नि ।”

“तलब थोरै भए यता क्यालिफोर्निया आउँदा हुन्छ । हाम्रो जलस्रोत विभागले इन्जिनियर मागेको माग्यै गर्छ । मेरो तर्फबाट म सक्दो सहयोग गरूँला,” गणेशले सहज रूपमा भन्यो । ठूलो चित्त भएको मेरो मिल्ने साथी हो, गणेश ।

म बसेको भर्जिनिया राज्यबाट गणेश बसेको क्यालिफोर्निया जानु भनेको नेपालबाट हङकङ जानुजत्तिकै हो । अर्कै देश गएजस्तो । अमेरिका आई नै सकेपछि भर्जिनिया बस्नु र क्यलिफोर्निया बस्नुमा मलाई खासै फरक छैन । त्यसैले गणेशको सहयोग लिएर दरखास्त फर्म भरें, अनलाइन परीक्षा पनि दिएँ । मेरो पढाइ र अनुभवले हो कि गणेशको सिफारिसले हो या दुबै कारणले हो— विभागले अन्तर्वार्ताका लागि बोलायो । म टाढा भएकोले विभाग टेलिफोन अन्तर्वार्ता लिनसमेत तयार भयो ।

फोनमा गफ गरियो, झगडा गरियो, गाली दिइयो तर अन्तर्वार्ता कहिल्यै दिईएन । कसरी फोन अन्तर्वार्ता दिने होला ? यसबारे कसलाई सोध्ने होला ? अलि अलमलमा परें । मेरो पालो सर्वज्ञान सम्पन्न ‘गुगल बाजे’लाई सोधें । गुगल बाजेले यस कार्यका लागि सबैभन्दा पहिले ‘ह्यान्ड्स–फ्री’ फोन चाहिन्छ भन्ने सल्लाह दिएपछि एउटा जापानी फोन किनें । वार्ता विधि जान्न यूट्युब हेर भन्ने पनि सुझाए बाजेले । यूट्युब पनि हेरें ।

त्यसताका म हप्ताको दुई दिन ‘कोर’ नामक गैरनाफामूलक संस्थामा स्वयंसेवी भएर साँझ–साँझ काम गर्थें । संस्थाले गरिब र नयाँ आप्रवासीलाई रोजगारका लागि आवश्यक तालिम र नोकरी खोज्न सहयोग गथ्र्यो । सानो संस्था भएकोले त्यहाँका धेरै जनासँग चिनजान थियो । त्यहाँ एकजना महिला स्वयंसेविका थिइन् । तिनको काम अन्तर्वार्ता कसरी दिने सिकाउनु र सल्लाह दिनु थियो । उनीसँग सहयोग मागें । ठूलो सहयोग गरिन् । कयौं फोन अन्तर्वार्ताहरूको अभ्यास पनि ग¥यौं मिलेर । घरमा पनि अभ्यास गरें । साँच्चै भन्ने हो भने ज्यान, प्राण दिएरै लागेको थिएँ यसका लागि । त्यसैले होला— अभ्यासमात्र हैन, साँच्चैको अन्तर्वार्ता पनि राम्रो भयो ।

केही दिनपछि नतिजा आयो । नभन्दै म पास भएछु । विभागले औपचारिक पत्र र नियुक्तिसम्बन्धी अन्य फर्महरू पठायो । तलब पनि सोचेभन्दा बढी पाइने भयो । साथै भर्जिनियाबाट क्यालिफोर्निया सर्न लाग्ने केही खर्च पनि उपलब्ध गराउने भयो । बिस्तारै, काम गर्दै गरेको हाकिमलाई ‘म अन्त जाँदै छु’ भन्ने संकेत गरें ।

तर, एकदिन क्यालिफोर्नियाबाट गजबको चिठी आयो । मेरो भारत र जर्मनीको डिग्रीलाई मान्यता दिन नसकिने भएकोले मैले ‘फन्डामेन्टल्स अफ इन्जिनियरिङ’ परीक्षा वा विभागको ‘लोकसेवा’ परीक्षा पास गर्नुपर्ने शर्त राख्यो । विभागको प्रशासनले छिड्की हालेको रहेछ । ‘फन्डामेन्टल्स अफ इन्जिनियरिङ’का लागि केही समय कुरेर परीक्षा दिएँ । त्यसको नतिजा आउन थप समय लाग्ने भयो ।

केही दिनपछि प्रशासनले फेरि किचकिच गर्न थाल्यो । केही दिनभित्र यो नियुक्ति प्रक्रिया टुंगिएन भने पद नै रद्द हुने जानकारी दियो । यस दौरान विभागका हाकिम फेरिए । नयाँ हाकिमले मलाई तत्काल विभागीय परीक्षा दिन अनुरोध गरिन् । विभाग मेरो लागि विशेष परीक्षा लिन तयार भयो ।

अब यो जाँच विभाग र मेरो टाउकोमाथि झुन्डिएको तरवारजस्तै भयो । विभागले जागिर दिइसकेर फेरि फिर्ता लिएको खण्डमा (मैले चाहें भने) अदालतमा मुद्दा हाल्न सक्ने सम्भावना थियो । परीक्षामा फेल भएको खण्डमा म यता न उता हुन सक्ने अवस्था थियो । उता गणेशलाई नमज्जा हुन सक्ने तनाव त आफ्नै ठाउँमा थियो ।

यो लिखित परीक्षा अजीवको रहेछ । परीक्षामा सन्दर्भ पुस्तक, पुस्तिका, इन्जिनियरिङ कोड र क्याल्कुलेटरसमेत लैजान नपाइने । बिनाक्याल्कुलेटर कसरी इन्जिनियरिङ हिसाब गर्ने होला ? लामा–लामा सूत्रहरू कसरी घोक्ने होला ? फेरि अर्को तनाव आइलाग्यो । त्यतिमात्र हो र ! उत्तीर्ण अंक रहेछ— ७० प्रतिशत । अनि एकाइ प्रणाली मिटर, किलोग्राम होइन— फुट, पाउन्डमा गणना गर्नुपर्ने । बिताउने भयो । तर, हिम्मत भने हारिनँ, मेहनत गर्न छोडिनँ ।

दुई दिनअघि पुगें साक्रमेन्टो शहर, क्यालिफोर्निया राज्यको राजधानी । जाँचको दिन गणेशले अफिस पु¥याइदियो । मेरा भविष्यका हाकिम मलाई भेट्न अफिसमा कुरेर बसेकी रहिछन् । उनलाई आफ्नो कर्मचारी चिन्ने मन थियो होला । उनले मलाई सफलताको शुभकामना दिइन् ।

शनिबारको दिन सरकारी अफिस पूरा सुनसान थियो । जाँच लिने कर्मचारी र ममात्र थियौं कोठामा । मुटु ढुकढुक गरिरहेको थियो । कस्तो प्रश्न सोध्ने होला ? के हुने होला ? मनमा अनेकन् कुराहरू खेलिरहेका थिए । जाँच राम्रै भयो । जटिल हिसाब गर्न आवश्यक सहयोग, टीका प्रश्नसँगै दिइएको रहेछ, त्यसैले क्याल्कुलेटरको कमी महसुस भएन । निश्चित समयमा जाँच सकियो । मेरै सामु जाँचकीले उत्तरको स्टेनसिल राखेर जाँचिन् र अंक चढाइन् ।

“म पास भएँ हैन ?” मैले आत्मविश्वासका साथ सोधें ।

“हो, पास हुनुभयो,” उनले भनिन्, “तर यसको आधिकारिक नतिजा इमेलबाट सोमबारमात्र आउँछ ।”

म फुरुंग भएँ, दंग परें । खुशीले बुरुक्क उफ्रेर ‘पास भएँ, या...हुऽऽऽ’ भनेर चिच्याउन मन लागेको थियो । मन भुवाजस्तै हलुंगो भयो एकैचोटि । महाभारत युद्ध नै जितेजस्तो भयो । अफिसको ढोकामा हाकिम अझै मलाई पर्खेर बसेकी रहिछन् । उनलाई म पास भएको खबर सुनाएँ । उनले पनि लामो सास फेरिन् र दंग परिन् । उनको टाउको पनि हल्का भयो होला । म फेल भएको भए त्यो पद रद्द हुन्थ्यो । फेरि पदस्थापना गर, फेरि विज्ञापन गर, जाँच लेऊ, अन्तर्वार्ता लेऊ— कम्ता झ्याउ हुन्थेन । त्यसबाहेक फेरि प्रशासनसँग तालमेल गर्न अर्को झन्झट । प्राविधिक मान्छेलाई सबैभन्दा गाह्रो काम भनेकै प्रशासनसँग तालमेल गर्नु हो ।

गणेशले मलाई कुरिरहेको रहेछ । उसलाई पनि छिटोछिटो खुशीको खबर सुनाएँ । ऊ पनि दंग पर्‍यो । गणेशको सहयोग र सद्भावले मेरो जागिरमा नयाँ मोड आउन लागेको थियो । नेपालको मात्र होइन, अमेरिकाको पनि लोकसेवा पास गरियो जीवनमा । अमेरिकी राष्ट्रपति बाराक ओबामाले ‘यु क्यान’ भन्थे, साँच्चै हो त रहेछ ! हैन त साथी ? मखुला पासा ?

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन ४, २०७६  १०:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC