site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
गर्मीको दिन
Sarbottam CementSarbottam Cement

— कमलेश्वर


चुंगी कार्यालय रंगीचंगी छ । चम्किलो छ । त्यसको ढोकामा इन्द्रधनुषीय आकारमा कार्यालयको बोर्ड लगाइएको छ । सैयद अली पेन्टरले आफ्नो दक्ष हातले त्यो बोर्ड बनाएको हो । हेर्दाहेर्दै शहरमा यस्ता धेरै पसल देखिए, जहाँ यस्ता साइनबोर्ड झुन्डिएका छन् ।

साइनबोर्ड अर्थात् आफ्नो स्तर प्रदर्शन गर्नु । सबैका अगाडि ‘म यो क्षमताको हुँ है’ भनेर देखाउनु । केही समयअघि दीनानाथ हलुवाईले आफ्नो पसलमा साइनबोर्ड झुन्ड्याए । त्यसपछि त त्यहाँ आएर दूध पिउनेहरूको संख्या ह्वात्तै बढेर गयो । त्यो देखेर यस्ता बोर्ड लगाउने बाढी नै आयो । साइनबोर्डमा पनि अनेकानेक तरिकाको खोजी गर्न थालियो । पसल–पसलमा यस्ता बोर्ड झुन्डिन थाले ।

Prabhu Bank
Agni Group
NIC Asia

‘ॐ’ वा ‘जय हिन्द’बाट थालनी गरेर ‘एकपटक अवश्य परीक्षा गरौं’ अथवा ‘मिसावट प्रमाणित गर्नेलाई एक सय रुपैयाँ नगद पुरस्कार’ जस्ता अलिकति ध्यान तान्ने विषय लेख्ने क्रम हराउँदै गएको छ ।

चुङ्गी कार्यालयको नाम तीन भाषामा लेखिएको छ । यसका अध्यक्षजी एकदम चलाख र चतुर छन् । तिनको चलाखी र काम गर्ने शैलीको खुबै हल्ला पिटिन्छ । त्यसैले पनि हरेक साइनबोर्ड हिन्दी, उर्दू र अंग्रेजीमा लेखिँदै आएको छ ।

Global Ime bank

यसरी टाढा–टाढाबाट नेताहरू भाषण गर्नैका लागि यो ठाउँमा आउँदा अथवा देश–विदेशका मानिसहरू ताजमहल हेरेर जतिखेर यता आउँथे, त्यसबेला यस्ता साइनबोर्ड देख्दा तिनीहरूमा केही फरक असर त पर्छ नै ।

फेरि, मेलापर्वका बेला हलुवाईहरू, जुलाई–अगस्तको महिनामा किताब कागजको कारोबार गर्नेहरू,  बिहेबारीको समयमा कपडा पसलेहरू, खराब मौसममा वैद्य र हकिमहरूका साइनबोर्डमा नयाँ–नयाँ रोगन चढेको नै हुन्थ्यो ।

शुद्ध घ्युको कारोबार गर्नेहरू त सबैभन्दा राम्रो गेरू वा अरू रंग छाप्रोभित्रको पर्खालमा लगाउँथे । योबिना कामै चल्दैन भनेजस्तो ! यसको महत्व बताउँदै वैद्यजीले भने, “पोस्टर नटाँसेर सिनेमावालाको काम चल्दैन । ठूलाठूला शहरमा जानुस्, मट्टितेल बेच्ने पसलमा पनि साइनबोर्ड राखिएको भेटिन्छ । यो जरुरी भइसकेको छ । अचेल केटाकेटीहरूको नामसमेत साइनबोटमा भेटिन्छ । नभए, साइनबोर्ड राख्नुको के आवश्यकता ? साइनबोर्ड लगाएरै सुखदेव बाबु कम्पाउन्डरबाट डाक्टर भइसकेका छन्, ब्याग लिएर हिँड्न थालेका छन् ।”

नजिकै बसेका रामचरनले एउटा अर्को चामत्कारिक खबर दिए, “हिजो उनले बुधईवाला इक्का घोडा पनि किने....!”

“कस्ले हाँक्छ ?” जस्ताले बनेको कुर्सीमा प्राणायामको मुद्रामा बसेका पण्डितजीले सोधे ।

“यो सबै पकेट मार्ने तरिका हो,” वैद्यजीको ध्यान इक्का घोडातिरै थियो, “आएका बिरामीहरूबाट भाडा उठाउँछन् । सइसलाई बक्सिस दिन उकास्छन्, ठूलाठूला शहरका डाक्टरहरूले गरेजस्तै । यसैकारण त पेशाको बदमानी हुन्छ ! बिरामीको उपचार गर्ने कि बिरामीमा आफ्नो धाक देखाउने ? अंग्रेजी ‘आला’ लगाएर बिरामीको आधा ज्यान त सुकाइसकेका हुन्छन् तिनले । आयुर्वेदिक रूपमा नाडी छाम्नु त छँदै छैन । हामी त अनुहार हेरेरै रोग भन्दिन्छौं । इक्का घोंडाले यसमा के काम गर्छ र ? केही दिनपछि हेर्नू, उनको सइस नै कम्पाउन्डर बन्छ...।” यति भन्दाभन्दै वैद्यजी हाँस्न थाले ।

उनले फेरि भन्न थाले, “कसलाई के भन्ने भाइ ? डाक्टरी पेशा त तमासा भइसकेको छ । वकिल, मुख्तारका छोरा पनि डाक्टर हुन लागे ! रगत र संस्कारले नै कुनै पनि काम बन्छ । त्यसैले जस पनि दिन्छ । वैद्यको छोरा वैद्य नै हुन्छ । त्यस्तोमा आधा विद्या केटाकेटी अवस्थामा जडीबुटी कुट्दै पिस्दैमा सिकिन्छ । तोला–मासा, रत्तीको अन्दाज यसरी नै हुँदै जान्छ । यो अवस्थामा औषधि अशुद्ध हुनै सक्दैन । औषधिको चमत्कार त्यसलाई बनाउने विधिमा छ, धनवन्तरी...।”

वैद्यजी अगाडि केही भन्न खोज्दै थिए कि एकजना मानिसलाई पसलतिर आउँदै गरेको देखे । उनी चुप लागे । वैद्यजीले यताउता बसेका मानिसतिर यसरी हेर्न थाले, मानौं ती गफ गर्न आएका होइनन्, बिरामी नै हुन् ।

त्यो मानिस पसलमा भित्रिनासाथ वैद्यजीले अनुमान गरे, यो मानिस बिरामी होइन । कुण्ठित दृष्टिका साथ उनले आउने मानिसलाई हेरे र उदास भए । तर, दुनियाँका अगाडि केही देखाउँनै थियो उनलाई ! हुन सक्छ— भोलि यही मानिस बिरामी परोस् वा यसको घरका कुनै मानिसलाई रोग लागोस् । आफ्नो पेशा–व्यवसायप्रति चनाखो थिए उनी । उनले आफूलाई सम्हाल्दै भने, “भन, के छ भाइ ? खुशी र आनन्दित छौ नि !”

आउनेले पनि जवाफ फर्काउँदै आफूले ल्याएको टिनको डिब्बा पसलमा राख्दै भने, “यो ठाकुर साहबले यहाँ राखिदिन भन्नुभएको थियो । बजारबाट फर्किंदा लैजानुहुन्छ रे ! करिब एक–डेढ बजेतिर ।”

“त्यतिबेला पसल बन्द रहन्छ,” वैद्यजीले दिक्क मान्दै भने, “हकिम–वैद्यहरूको पसल दिनभरि खुल्दैन । हामी व्यापारी हौं र भाइ ?”

हठात् अरू कुनै दिन अवसर मिल्ने आशाले उनलाई जबर्जस्ती बोल्न बाध्य बनायो, “खैर, उहाँलाई दुःख हुँदैन । यहाँ नभए पनि अर्को पसलबाट लिएर जानुहुन्छ । म राखेर जान्छु ।”

उक्त मानिस बाहिर निस्किनासाथ वैद्यजीले भने, “रक्सी बन्द गरेर के हुन्छ ? जबदेखि यो बन्द भयो, लोकल रक्सीको भट्टी घर–घरमा शुरु भयो । सिरा पनि घ्युको भाउमा बिक्न शुरु भइसकेको छ । डाक्टरलाई पनि के भन्ने, यिनका पसल पनि मदिरालय बनेका छन् । लाइसेन्स पाइन्छ औषधिका रूपमा प्रयोग गर्ने भनेर तर त्यसो गरिन्न । हामीले भने भाङ र अफिमको पुडिया दिँदा पनि पूराका पूरा व्यहोरा खुलाउनुपर्छ ।”

“जिम्मेवारीको कुरा हो,” पण्डितजीले भने ।

“अब जिम्मेवार वैद्यमात्र रहे ! सबैको रजिस्ट्री भइसकेको छ, भाइ । ऐरेगैरै पञ्चकल्यानी जति भित्रिएका थिए, सबैलाई सफाइ मिलेको छ । अब, जोसँग रजिस्ट्री छ, त्यसैले मात्रै वैद्य हुन पाउँछ । तर, चूर्ण बनाउने पनि वैद्य बनेका छन् । सबै सकिएको छ । लखनऊमा सरकारी जाँचपड्तालपछि सही मिलेको छ ...।”

वैद्यजीको कुराकानीबाट पण्डितजीलाई कुनै रस मिलेन र उनी उठे । वैद्यजी भित्र गए र औषधालयको बोर्ड लेखिरहेका चन्दरसँग भने, “सेतो अलि गाढा भयो । त्यसमा अलिकति तार्पिनको तेल मिलाऊ ।” उनले एउटा शिशी ल्याए, जसमा अशोकारिष्टको लेबल लागेको थियो ।

यसरी कुन–कुन औषधिहरूको शरीररूपी बोतलहरूमा कुन–कुन पदार्थको आत्मा भरिएको होला ! अगाडि दराजमा ठुल्ठूला शिशीहरू राखिएका थिए, जसमा विभिन्न प्रकारका आरिष्ट र आसवहरूको नाम टाँसिएको थियो । पहिलो लाइनमा मात्रै यस्ता शिशीहरू खडा थिए । पछाडि अरू आवश्यक सामान राखिएको थियो । अगाडि टेबलमा राखिएका सेता शिशीहरूमा एकएक पंक्ति लेखिएको थियो, ‘स्वादिष्ट चूर्ण’ वा ‘लवणभाष्कर चूर्ण’ आदि । बाँकीमा के–के भरिएको थियो, त्यो वैद्यजी नै जान्दथे ।

तार्पिनको तेल मिसाएर चन्दर अगाडि लेख्न थाल्यो, ‘प्रो. कविराज नित्यानन्द तिवारी’ । माथिल्लो पंक्तिमा ‘श्री धनवन्तरी औषधालय’ भनेर वैद्यजी आफैंले लेखेका थिए । सेता ती अक्षर कपास टाँसेझैं लाग्थे । त्योभन्दा माथि अलिकति ठाउँ खाली रहेको देखेर वैद्यजीले चन्दरलाई भने, “बाबु, त्यो माथिको खाली भागमा जय हिन्द लेख्नू । र, यो खाली देखिएको ठाउँमा एउटा द्राक्षासवको शिशी र अर्कोतिर औषधि पिन्ने खलको तस्बिर राखिदिनू । यसले तिम्रो हात पनि तस्बिर बनाउनमा चुस्त–दुरुस्त हुन्छ ।”

चन्दरलाई वाक्कदिक्क लागिसकेको थियो । बेकारमा समातियो ऊ । लेखौट राम्रो भएबापतको यो थप पुरस्कार उसले बुझ्न सकिरहेको थिएन । उसले भन्यो, “कुनै अरू पेन्टरसँग बनाउनुभएको भए उसले राम्रो चित्र बनाउने थियो । राम्रो पनि हुन्थ्यो । तर, यसमा त्यो कुरै उतार्न सकिन्न...।” निधारको पसिना पुछ्दै उसले कुची तल राख्यो ।

“पाँच रुपैयाँ माग्दै थियो बाबु..., दुई लाइन लेख्न पाँच रुपैयाँ ! अब आफ्नो मेहनतले यो साइनबोर्ड १०–१२ आनामा बन्यो । रंग एउटा बिरामीले नै दिएको थियो । बिजुली कम्पनीको पेन्टरलाई खाना नपचेर हैरान भएको थियो । दुई खुराक औषधि बनाएर दिएँ । पैसा लिइनँ । उसले अलिकति रंग र वार्निस दियो । दुई बक्सा रंग खर्च भयो .... यो बोर्ड पनि बन्यो । अब एक–दुई वटा कुर्सी पनि रंगिन्छ, तिमी बस् त्यत्ति लेखिदेऊ ।”

चन्दर गर्मीले बेहाल थियो । जसैजसै दिउँसोको घाम नजिकिँदै थियो, सडकमा धूलो र लूको वर्चस्व बढ्दै गइरहेको थियो । उसले नाइ भन्न सकेन । बाँसको पंखाले पिठ्यूँ कन्याउँदै वैद्यजी भने थाँती रहेको काम अर्थात् लेखनदासहरूले जिम्मा लगाएको रजिस्टर निकालेर टेबलमा फैलाउन थाले ।

सूर्यको तापबाट बच्नका लागि पसलको एउटा ढोका ढप्काएर वैद्यजीले खाली रजिस्टरहरूमा खेतीबारीको हिसाबकिताबको नक्कल गर्न थाले । चन्दरले आफ्नो पिण्ड छुट्छ कि भन्ने ठान्दै  सोध्यो, “यो के हो वैद्यजी ?”

वैद्यजीको अनुहार अमिलो भयो । त्यै पनि भने, “यत्तिकै खाली बस्नुभन्दा राम्रो केही काम नै गरौं भन्ने हो । नयाँ लेखापालहरूलाई खासै काम आउँदैन । दिनदिनै हाकिमको गाली खान्छन् । अब पहिलेका जस्ता घाघ पटवारी कहाँ नै छन् र ! तिनको पेटमै गाउँले कानुन बसेको हुन्थ्यो । विचरा तिनका मुखबाट रोटी पनि छिनियो । तर, सही भन्छौ भने अहिले पनि यो सारा काम पुराना पटवारीहरूले नै धान्दै आएका छन् । नयाँ लेखापालहरूको पैसा त साराका सारा अरूलाई पारिश्रमिक दिँदैमा सिद्धिन्छ । पेट त तिनको पनि हो... । अलिअलि गरेर किसानसँग उठाइहाल्छन् । नल्याए के खान्छन् ? दुई–तीन लेखापाल मैले चिनेका पनि छन् । तिनले कहिलेकाहीँ भारी काम दिँदै आएका छन् । नक्कलको काम न हो ।”

बाहिर सडक सुनसान हुँदै थियो । अफिसका बाबुहरू सबै गइसकेका थिए । अगाडि चुंगीमा खरले बनाएकोे बार (टाटी)मा पानी छर्किने काम शुरु भइसकेको थियो । पीपलको आवाजले ‘लू’ पनि सँगै बोकेर हिँडिरहेको थियो । त्यसैबेला एकजना मानिसले ढोकाबाट भित्र नजर दौडाए । वैद्यजीले मानिस चिने र शतर्क पनि भए । वैद्य तत्काल बोले, “एउटा बोर्ड आगराबाट बनाएको छु । जबसम्म आउँदैन, यसैले काम चल्छ । आफूलाई फुर्सद नै कहाँ छ र यसैमा लागेर हिँड्न !” अति व्यस्त हुँदै उनले आउनेलाई  सोधे, “भन के छ ?”

“डाक्टरी सर्टिफिटेक चाहिएको थियो मलाई... । स्टेसनको खलासी हुँ साहेब,” रेल्वेको नीलो बर्दी लगाएको खलासीले भन्यो ।

उसको आवश्यकताको पूरापूर अन्दाज गर्दै वैद्यजीले भने, “लु भन । कुन मितिदेखि कतिसम्मको चाहियो ?”

“१५ दिनपहिले आको थिएँ साब । सात दिनका लागि अरू चाहियो ।”

केही हिसाबकिताब जोडेर वैद्यजीले भने, “हेर भाइ, सर्टिफिकेट पक्का नै बनाएर दिन्छु । सरकारको रजिस्टर नम्बर पनि दिन्छु तर चार रुपैयाँ लाग्छ ।” वैद्यजीले चार रुपैयाँमा भड्किन्छ कि भन्ने अनुमान गर्दै भने, “यदि अगाडिको लिन्नौ भने दुई रुपैयाँमा काम बन्न सक्छ ...।”

खलासी निराश भयो । तर, उसको निराशाभन्दा धेरै गहन हतासपन वैद्यजीको पसिनाले भिजेको अनुहारमा देखियो । एकदम निरपेक्ष भावका साथ खलासीले भन्योे, “सोबरन सिंहले तपाईंकहाँ जानू भनेर पठाउनुभएको हो ।”

उसले यति भनिरहँदा यस्तो लाग्यो— मानौं ऊ आफ्नो काम लिएर होइन, सोबरन सिंहको काम लिएर आएको हो । वैद्यजीले भने, “त्यो मैले बुझेको छु । बिनापरिचय त म पनि सर्टिफिकेट दिन्नँ । इज्जतको कुरो छ नि । मलाई के थाहा, तिमी कहाँ बस्छौ ? के गर्छौ ? विश्वासका आधारमा जोखिम त उठाउँला, १५ दिन अगाडिदेखि तिम्रो नाम पनि रजिस्टरमा लेखूँला, रोग खुलाउँला, हरेक तारिखमा नाम उल्लेख गरौंला । त्यसपछि मात्रै त काम बन्ने हो ! यो घरको खेती त होइन...!” यति भन्दाभन्दै वैद्यले चन्दरतिर मद्दत भावका साथ हेरे । चन्दरले पनि भन्यो, “अब उहाँलाई पनि के थाहा कि तिमी बिरामी छौ कि कतै डाँका मारिरहेका छौ । सरकारी मामिला हो यो ।”

“पाँच रुपैयाँभन्दा कममा डाक्टरले पनि दिन सक्दैन,” यति भन्दै वैद्यजीले अगाडि राखिएको लेखापालवाला रजिस्टर ऊतिर बढाउँदै जोशका साथ भने, “यहाँ सास फेर्ने फुर्सद छैन । यी यो हेर मानिसहरूको नाम... ! बिरामी छोडेर सरकारलाई देखाउनका लागि यो रजिस्टर बनाउनुपर्छ । एकएक रोगीको नाम, रोग, आम्दानी सबै कुरा लेख्नुपर्छ । यसमा तिम्रो नाम पनि चढाउनुपर्छ । अब भन, बिरामीलाई हेरौं कि दुई–चार रुपैयाँका लागि सर्टिफिकेट दिएर सरकारी झमेलामा फसौं ?”

यति भन्दै उनले तहसिलवाला रजिस्टर बन्द गरेर पन्छाए । अनि, उपकारका लागि तयार भएको भावमुद्रा बनाएर कलमले कान कोट्याउन थाले ।

रेल्वेको खलासी एक मिनेटसम्म यत्तिकै बस्यो । केही सोचिरह्यो । वैद्यजीलाई टाउको निहु¥याएर आफ्नो काममा व्यस्त भएको देखेपछि ऊ पसलबाट बाहिरियो । त्यसैबेला वैद्यजीलाई आफूबाट गल्ती भएको अनुभूत भयो । लाग्यो, गलत ठाउँमा तोडियो । उनलाई के गरूँ, कसो गरूँ भयो । यही उहापोहमा उनले खलासीलाई बोलाएर भने, “सुन त । ठाकुर सोबरन सिंहलाई मेरो ‘जयरामजी’ सुनाइदिनू । उनका केटाकेटीलाई त आराम छ नि ?”

“हजुर । सबै ठीकठाक छ,” रोकिएर खलासीले भन्यो ।

बाहिरिएको खलासीले सुन्ने गरी वैद्यजीले चन्दरसँग भने, “दश गाउँ शहर छोडेर पनि ठाकुर सोबरन सिंह उपचारका लागि यहाँ नै आउँछन् । भाइ, उनका लागि त म जतिखेर पनि हाजिर रहेको हुन्छु ...।”

चन्दरले बोर्डमा अन्तिम अक्षर लेख्दै भन्यो, “गयो त्यो ?”

“त्यो फेरि फर्किन्छ,” वैद्यजी मानौं आफूलाई सम्झाउँदै थिए । त्यो मानिस फर्किएर आउने विश्वास गर्दै भने, “गाउँका वैद्य र वकिल एकजस्तै हुन्छन् । सोबरन सिंहले यदि उसलाई मेरो नाम सुझाएको हो भने ऊ अवश्य पनि फर्किएर मकहाँ नै आउँछ...। गाउँलेको मुठी अलिकति मुश्किलले खुल्छ । कतै बसेर सोच्छ, मनन गर्छ । अनिमात्रै आउँछ ...।”

“अन्त कतैबाट लियो भने ?” चन्दरले भन्यो ।

वैद्यजीले तत्कालै कुरा काट्दै भने, “हैन हैन, हुनै सक्दैन ।”

यति भन्दाभन्दै उनले बोर्डतिर हेरे र प्रशंसाका शब्द बोले, “वाह ! चन्दर बाबु । साइनबोर्ड गजब बन्यो । काम चल्छ । यो पाँच रुपैयाँ पेन्टरलाई दिएर बिरामीसँग असुल गर्नुपर्छ । इक्का, घोडा र यो खर्च ! कुरो एउटै हो । नाक सीधै समाऊ या हात घुमाएर समाऊ !” यति भन्दै उनी हाँसे । थाहा भएन उनी आफ्नो कुरामा हाँस्दै थिए वा अरूमाथि हास्दै थिए ।

त्यसैबेला एकजना अर्का मानिस पसलमा प्रवेश गरे । उनलाई सहसा लाग्यो— खलासी आयो । तर, ती पाण्डु रोगी थिए । हेर्दाहेर्दै वैद्यजीको अनुहारमा चरम सन्तोष फैलियो । उनी भित्र गए । एउटा जन्तर ल्याएर भने, “अब यसको असर हेर्नुस् । २०—२५ दिनमै यसको चमत्कार देखिनेछ ।” पाण्डु रोगीको पाखुरामा जन्तर बाँधेर उनले दिएको केही आना पैसा खल्तीमा राख्दै उनी गम्भीर भए ।

रोगी गएपछि उनले भने, “यो विद्या हाम्रो पिताजीसँग थियो । उहाँले लेखेको किताब पनि पढेको हुँ । सोच्छु— पिताजीको नक्कल गरूँ । यो एकदमै अनुभव र विश्वासको कुरा हो । एक चुटकी धूलोले मानिस चंगा हुन सक्छ । होमियोपेथिक अरू के हो र ? एक चिमटी चिनी, जसमा विश्वास बस्यो भने अरू केही चाहिन्न ।”

चन्दरले हिँड्दै भन्यो, “अब औषधालय बन्द गर्ने बेला भएन ? खाना खान जानुहुन्न ?”

“तिमी जाऊ । म ५–१० मिनेटपछि आउँछु ।” वैद्यजीले तहसिलवाला बाँकी काम आफूतिर फेरि ताने । पसलको ढोका आधा खुला गरेर बसे । बाहिर घामको ताप देखेरै पनि आँखा तिर्मिराइरहेको थियो ।

छेवैका पसले बच्चनलालले आफ्नो पसल बन्द गरे र घर जाँदै वैद्यजीको पसल खुलेको देखेर सोधे, “तपाईं खाना खान जानुभएन ?”

“अँ । अलिकति जरुरी काम छ । केही बेरपछि जान्छु,” वैद्यजीले भने र भुइँमा गुन्द्री ओच्छ्याए । कागज र रजिस्टर टेबलबाट तल गुन्द्रीमा फैलाए । गर्मी त गर्मी नै थियो । पसिना रोकिएको थिएन । बेलाबेलामा बाँसे पंखा ज्यानतिर हम्कन्थे र फेरि लेख्न थाल्थे ।

केही समय मन लगाएर काम गरे तर पछि हिम्मत हारे । उठेर पुराना शिशीहरूमा जमेको धूलो सफा गर्न थाले । तिनलाई एक लाइनमा राखे । तर, गर्मीको त्यो दिउँसो, लाग्थ्यो— समय स्थिर छ । एकपटक उनले आधा खोलिएको ढोकाबाट अनुहार बाहिर निकालेर हेरे । केही मानिस सडकमा देखिए । ती आउँदै जाँदै गरेका मानिस देखेर उनलाई केही आडभरोसा मिल्यो । भित्र आए र बोर्डको तार सीधा बनाएर बोर्ड पसलको घाँटीमा कुनै जन्तर झुन्ड्याएझैं झुन्ड्याइदिए ।

केही समय अझै बित्यो । उनले एक अम्खोरा पानी पिए र तिघ्रासम्म धोती तानेर काममा जुटे । बाहिर केही आवाज आएजस्तो भयो । उनले बाहिर हेरे ।

“आज आराम गर्न जानुभएन वैद्यजी ?” घर जादै गरेका परिचित पसलेहरूले सोधे ।

“जाने सोच्दै छु । केही काम बाँकी थियो । त्यो सकेर मात्रै जाऊँ भनेर ।” यति भन्दै वैद्यजीले पिठ्यूँ पर्खालमा अड्याए । कुर्ता खोलेर एकातिर राखे । एकोहोरो छत भएको पसल आगोको भट्टीजस्तै तातेको थियो । वैद्यजीका आँखा निद्राले लठ्ठ भइरहेका थिए । उनी उँघ्न थाले ।

यसरी नै केही समय बित्यो । उनले रजिस्टरहरूको अडेस लाग्ने बालिष्ट बनाएर पिठ्यूँ सीधा बनाए । तर, निद्रा आउँथ्यो र गई पनि हाल्थ्यो ।

अचानक एउटा आवाजले उनी झस्किए । आँखा खोल्दै उठेर बसे । बच्चनलाल दिउँसोको समय बिताएर फर्किसकेका थिए ।

“ए, अहिलेसम्म तपाईं जानुभएको छैन ?” उनले भने ।

वैद्यजी बेस्सरी पंखा हल्लाउन थाले । बच्चनलालले सोधे, “कसैलाई पर्खेर बस्नुभएको हो ?”

“हो । एउटा बिरामी आउने भनेर गएको थियो... अहिलेसम्म...,” वैद्यजीले बच्चनलाललाई जाँदै गएको देखेर बीचमै बोली बन्द गरे र पसिना पुछ्न थाले ।

(कथाकार कमलेश्वरको ‘मेरी प्रिय कहानियाँ’ बाट अनुदित)
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन ४, २०७६  ११:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC