site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
कमरेडकी छोरी
Sarbottam CementSarbottam Cement

– पोस्तक श्रेष्ठ


यो टिभी/इन्टरनेट नभइदिएको भए फुर्सदमा के गर्थें कुन्नि ! शायद कुनै पुस्तक, पत्रपत्रिका पढेर समय बिताउँथें होला वा कुनै मित्र वा आफन्तसँग फोनमा गफिन्थें होला । जाँगर चल्दा साइकलमा म्यारिअन तालको फन्को मार्थें कि नर्थक्रिक पार्कमा कुद्न जान्थें होला । तर, अहिले अधिकांश समय इन्टरनेट सर्फिङमा बित्छ ।

एक शनिबारको दिन सोफामा पल्टिएर रिमोटले यूट्युब भिडियोहरू सरसर्ती चहार्दै थिएँ । नेपाली दूरदराजका गाउँले जनजीवन समेटिएका भिडियो, बीबीसीको साझा सवाल, हेर्ने कथा— यस्तै हुन् मेरा रुचिका भिडियोहरू । एउटा भिडियोमा देखिएकी युवती परिचित हुन् कि जस्तो लाग्यो । रिमोटमा ‘ओके’ बटन थिचें । हो, उनी नै रहिछन्— कमरेडकी छोरी । गालाको हड्डी अलि उच्चालिएछ । दुब्लाइछिन् । अनुहार शृंगारबिनाको फुस्रो । बोल्ने शैली भने उस्तै । अनुहारमा उही शान्त भाव । नेपालको सुदूरपश्चिम मुगु जिल्लाको कार्कीबाडा गाउँ । त्यहाँ पुगिछन् उनी । शिक्षिका बन्छु भन्थिन्, बनिछन् पनि ।

Prabhu Bank
Agni Group
NIC Asia

कार्यक्रम प्रस्तोताको प्रश्न थियो, “दिदी, मान्छेहरू यहाँबाट अमेरिका जान मरिहत्ते गर्छन् । तपाईंले त त्यहाँ उच्च शिक्षा हासिल गर्नुभयो । लोभलाग्दो नोकरी थियो रे ! आरामदायी जीवनशैली सबै त्यागेर कर्णालीको यो विकट गाउँमा एउटा साधारण शिक्षिका बन्न आइपुग्नुभएछ । के पाउनुभयो त तपाईंले ?”

“खुशी, सन्तुष्टि,” उनको उत्तर संक्षिप्त थियो ।

Global Ime bank

“बिहे पनि गर्नु भा’छैन !”

“बिहे भएन ।”

“किन ? कसैसँग प्रेम परेन र ?”

उनी मुस्कुराइन् । उनको मुस्कान उस्तै थियो । बलजफ्ती रोक्दारोक्दै फुस्किएको जस्तो ।

“प¥या थियो ।”

“अनि, केल्ले रोक्यो त ? भन्न मिल्छ ?”

एकक्षणको मौनतापछि उनी बोलिन्, “युद्धले रोक्यो । हामी अलग कित्ताका परेछौं । म कमरेडकी छोरी, ऊ वर्गशत्रुको छोरा । घात–प्रतिघात भएका रहेछन् । सम्बन्ध अघि बढेन । जीवन राजनीतिजस्तो होइन रहेछ, सत्ताको बाँडिचुँडीमा सम्झौता हुने ।”

“ओहो ! कस्तो गम्भीर कुरा गर्नुभयो । अनि एउटै प्रेमको लागि जीवन उत्सर्ग गरिदिने त ?”

“त्यसो होइन । म संन्यासिनी भएकी छैन । बिहेकै लागि भनेर बिहे गर्नचाहिँ चाहन्नँ । बिहे हुनैपर्छ भन्ने पनि छैन । खुशी रहन सक्नु मुख्य कुरा हो ।”

त्यसपछि उनीहरूको कुराकानी अन्य विषयमा मोडियो— स्कुलको कुरा, गाउँको दूरावस्थाको कुरा, विद्यार्थीका समस्याका कुरा । म भने स्मृतिको अर्कै दुनियामा पुगें ।

० ० ०

आठ वर्षअघि । मिनियापलिस, मिनीसोटा, अमेरिका । ‘बेस्ट–बाई’को प्रधान कार्यालय ।

“हे प्याट्रिक, सम्यान्थासँग चिनजान गर,” हल–वेमा म्यानेजरसँग भेट भयो । सँगै आएकी युवतीतिर संकेत गर्दै उनले भने । शायद उनी नयाँ कर्मचारी थिइन् । म्यानेजर उनलाई कार्यालयको वस्तुस्थितिबारे जानकारी गराउँदै थिए । गहुँगोरो वर्ण, कालो कपाल, मध्यम कद, युवती नेपाली नै हुन् कि जस्तो लाग्यो । हुन त नेपाली, भारतीय, दक्षिणपूर्वी एसियाली र ल्याटिन अमेरिकीहरू सबै झट्ट हेर्दा उस्तै देखिन्छन् ।

“म प्रतीक,” हात मिलाउँदै गर्दा मेरा उत्सुक आँखाहरू उनको आनुवंशिकता खोज्दै थिए ।

“उनी पनि नेपाली हुन् नि,” म्यानेजरले मेरो कुतूहलता मेटाइदिए । परिचय आदानप्रदानको औपचारिकतापछि उनीहरू अघि बढे । म पनि आफ्नो कार्यकक्षतिर पसें । कता–कता उनको अनुहार परिचित जस्तो लाग्यो । शायद कतै कुनै पार्टीतिर भेटें कि ? तर, त्यो मेरो भ्रम पनि हुन सक्छ । कयौंपटक मलाई त्यस्तो भएको छ । पछि उनलाई लन्च रुममा देखें । कुनातिरको एउटा टेबुलमा उनी एक्लै बसेकी थिइन् । आफ्नो स्यान्डविचको पोको च्यापेर म उनीतिरै लम्कें ।

“हाई, तिमी नयाँ हौ ?”

कुनै औपचारिकताबिनै उनको अगाडिको कुर्सी तानेर बसें । मेरो धृष्टता देखेर होला—शायद एकछिन उनी अकमक्क परिन् ।

“हजुर ।”

“के गछ्र्यौ तिमी ?”

“डेभलपर ।”

“ए...ए... ।”

उनले मेरो बारेमा भने केही सोधिनन् । म आफैंले बताएँ, “मचाहिँ व्यापार विश्लेषक !”

खास मेरो कामलाई ‘बिजनेस अनालिस्ट’ भन्छन् । आजकलका धेरै युवाहरू शुद्ध नेपाली बुझ्दैनन् । मैले ‘व्यापार विश्लेषक’ भनेको उनले बुझिन् कि बुझिनन् कुन्नि तर ‘ए ए’ गरिन् ।

“हाम्रो भेट पहिला पनि कतै भएको हो ? तिम्रो अनुहार परिचित जस्तो लाग्यो नि !”

उनले मुन्टो हल्लाएर अनभिज्ञता प्रकट गरिन् ।

उनको घाँटीमा झुन्डिएको परिचयपत्रमा नजर गयो । नाम लेखिएको थियो— सम्यान्था थापा ।

“वाह ! तिम्रो नामै सम्यान्था ? यहाँ गोराहरूले मेरोजस्तै तिम्रो नाम पनि बंग्याइदिए कि भन्ने सोचेको । हेर न मेरो नाम प्रतीक हो तर यिनीहरू मलाई प्याट्रिक भन्छन् !”

उनी मुसुक्क हाँसिन् ।

“तिम्रा बाबा–आमा त निकै दूरदर्शी हुनुहुँदो रहेछ त । अमेरिका जाने भनेर पहिलेदेखि नै खाँटी अम्रिकाने नाम राखिदिनुभएछ ।”

अहिले पनि खिस्स हाँसिन् मात्र । प्रत्युत्तरमा केही बोलिनन् ।

“अनि नेपालमा तिम्रो घर कहाँ हो ?” 

“काठमान्डू ।”

म बोल्दै गएँ । उनी टाउकोमात्र हल्लाइरहिन् । खानेकुरामै व्यस्त रहिन् । खाँदा मुखबाट आवाज आउँछ कि भनेर एकदम सजग पनि थिइन् । यिनी अन्तर्मुखी स्वभावकी रहिछिन् । तर, म त्यति छिट्टै हार मान्ने मान्छे कहाँ थिएँ र ! मलाई चिन्नेहरू भन्थे— प्रतीकको अघि परेपछि ढुंगो पनि बोल्छ ।

“अनि, तिमी मिनीसोटा आएको धेरै भयो कि ?”

“होइन । म त बस्टनबाट आएको एक हप्तामात्र भएछ ।”

बल्ल उनीबाट पूरा वाक्य सुन्न पाइयो । उनको लवज तराईबासीको जस्तो रहेछ ।

“तिमीलाई पूरा वाक्यमा बोल्न पनि आउँदो रहेछ त,” मैले कटाक्ष गरें ।

उनी हाँसिन् । हाँस्दा हत्केलाले मुख छोपेको थियो ।

“अनि कहाँ बस्छ्यौ ?”

“फिलहाल एउटा इन्डियन फ्यामिलीकोमा पेइङ–गेस्ट बसेकी छु । यहाँ काममा अलि सेटल भएपछि अपार्टमेन्ट खोज्नुपर्ला ।”

घर काठमाडौं, लवज तराईतिरको, हिन्दी मिसाएर बोल्ने, नाम भने अमेरिकी । कस्तो अनौठो प्याकेज रहिछन् यिनी ! उनीप्रति जिज्ञासा निकै बढ्यो तर मेरो विश्रामको समय सकिसकेको थियो ।

“अन्तर्वार्ता सकिएको छैन है,” मैले उठ्दै गर्दा भनें । स्वभावतः उनी मुस्कुराइन् । 

त्यसपछि सम्यान्थासँग जम्काभेट भइरह्यो । हल–वेमा । लन्च रुममा । निहुरिएर हिँडिरहेकी हुन्थिन् । भेट्दा म ‘हाई’ गर्थें । उनी प्रत्युत्तरमा ‘हाई’ भनेर फटाफट निस्किहाल्थिन् । दोहोरो कुरा गर्ने मौकै मिलेन । गफिने कुरा त परै जाओस् । कस्तो प¥यो भने पछि हामी एउटै प्रोजेक्टमा प¥यौं । ‘कता जालास् मछली, मेरै ढडिया’ भनेजस्तै भयो । त्यसपछि कामको सिलसिलामा हरेक दुई–तीन दिनमा भेट हुन थाल्यो । तर, औपचारिक बैठकहरूमा कामसम्बन्धी नै कुरा हुन्थ्यो । अरू गफिने कुरा हुन्थेन । खै किन हो, मेरो नजर उनको आँखामा गढ्थ्यो । उनी भने नजर लुकाउँथिन् । म नजिक हुन खोज्थें तर उनी सधैं एउटा दूरीमै रहन्थिन् । बैठक सकिनेबित्तिकै लुसुक्क निस्किन्थिन् । लन्च रुममा देख्दा उनीतिर लम्किन्थें तर उनी भने चिप्लो माछाजस्तो फुत्किहाल्थिन् । खै किन हो, मैले उनलाई पछ्याउन भने छोडिनँ ।

एकदिन म लन्च रुममा कुनातिरको झ्यालको टेबुलमा एक्लै थिएँ । उनी सरासर मतिरै आइन् । यो सर्वथा अनौठो घटना थियो ।

“हाई प्रतीक !”

मैले झ्यालबाट बाहिरतिर हेरें ।

“मैले बोलाको । किन उता हेर्छौ ?”

“आज घाम कताबाट लागेछ भनेर हेरेको । तिमीले पहिला बोलायौ नि त !”

उनी हाँसिन् ।

“यो शनिबर तिमीलाई फुर्सद छ ? म आफ्नो अपार्टमेन्टमा मुभ हुँदै छु । मद्दत गर्न सक्छौ ?”

वाह ! बिना कुनै भूमिका, सीधै मुद्दामा प्रवेश ? एकमनले यिनी स्वार्थी रहिछन् भन्ने लाग्यो । मेरो खासै काम केही थिएन । सप्ताहन्तमा साथीहरूसँग क्रिकेट खेल्नु, साइकल चलाउन जानु, स्पोटर््स बारहरूमा बलिङ÷स्नुकर खेल्नु, मलहरूको चक्कर काट्नु— यस्तै थिए मेरा क्रियाकलाप । फुर्सद नै फुर्सद थियो ।

“ऊँ ऽऽ,” केही सोचेको जस्तो अभिनय गरें । यति सवर््सुलभ र सस्तो त म पनि किन हुनू र भन्ने लाग्यो ।

“केही बात छैन । तिम्रो फुर्सद छैन भने कुनै मुवर्स कम्पनी खोज्नुपर्ला ।”

“हैन हैन, ठीक छ । केही काम त थियो तर म मिलाउँछु । मम्मीले भन्नु भा’को छ— बच्चा, स्त्री र वृद्धहरूलाई जहिले पनि मद्दत गर्नू ।”

“अनि अरू के–के भन्नुभएछ तिम्रो मम्मीले ?”

“राम्री युवतीले मद्दत माग्दा त झन् कहिल्यै नाइ नभन्नू ।”

“धत्, तिमी बहुत मजाक गर्छौ ।”

उनले मलाई ब्लुमिङ्टनको एउटा ठेगाना दिइन्, जहाँ उनी पेइङ–गेस्टको रूपमा बसेकी थिइन् । म शनिबार त्यहाँ पुगें । खासै धेरै समान त छैन रहेछ ।

उनका सामानहरू नयाँ अपार्टमेन्टमा सारिदिएँ । केही नयाँ फर्निचर किन्नुपर्ने रहेछ । स्लम्बरल्यान्ड, होम फर्निचर आदि स्टोरहरू घुमाइदिएँ । साँझ हिमालयन रेस्टुरेन्टमा खाना खान गयौं । उनी शाकाहारी रहिछिन् । कसैले भनेको सुनेको— शाकाहारीहरू अलि अडमिल्दा हुन्छन् रे ! आफूलाई विशिष्ट पनि ठान्छन् रे ! उनको स्वभावले हो जस्तो पनि लाग्यो ।

रेस्टुरेन्टका सञ्चालक दाइ चिनजानकै थिए । दाइले आँखाको शान गरेर सोधे, “गर्लफ्रेन्ड ?”

“होइन, होइन,” मैले पनि इशारामै उत्तर दिएँ । दाइ मुस्कुराउँदै अर्को टेबलतिर लागे ।

“तिमी तराईतिर जन्मे–हुर्केको हो, सम्यान्था ?”

“मलाई सबैले त्यसै भन्छन् । म सानैदेखि इन्डियामा बसेकोले मेरो त्यस्तो एक्सेन्ट छ । शिमला थाहा छ तिमीलाई ? मेरो हाइस्कुल÷कलेजको पढाइ उतै भयो । लोकतन्त्र आएपछि मात्र बाबामम्मीले नेपाल बोलाउनुभयो ।”

“अच्छा, तो ए बात है !” मैले जिस्काउने शैलीमा भनें ।

गृष्म ऋतुको महिना । साँझको ९—१० बजेसम्म घाम नडुब्ने । यति उज्यालै के घर जानु भनेर खाना खाइसकेपछि इडाइनाको सेन्टेन्निएल लेक पार्कमा टहलिन गयौं । एकछिन हिँडेपछि सुस्ताउन पिन्सट्राइप भन्ने स्पोटर््स बारमा छि¥यौं । बारम्यानले के पिउँछौ भनेर सोध्दा उनले पानी मागिन् ।

“तिमीहरू गलत ठाउँमा त आएनौ ?” बारम्यान हाँस्यो ।

उनी मध्यपान मात्र होइन, कुनै कोक÷स्प्राइट जस्ता कार्बनयुक्त पेय पदार्थ पनि नपिउने रहिछन् । जीवनलाई कसरी अनुशासनमा बाँध्न सकेकी होलिन्, म छक्कै परें । मैले उनको लागि फलफूलको शुद्ध रसले बनेको ‘सांग्रिया’ भन्ने मकटेल मागिदिएँ । कहिलेकाहीँ साथीहरूसँग बियरमा रमाउने मान्छे म, त्यो दिन मैले पनि बियरलाई छुट्टी दिएँ र मकटेल नै लिएँ । त्यसपछि माथिल्लो तलामा गएर एकछिन बलिङ खेल्यौं । उनको लागि यो नौलो खेल रहेछ । उनले फ्याँकेको बल पिनको लहरसम्म पुग्दै पुग्दैनथ्यो । पिन ढलाउनु त परै जाओस् । एकचोटि त बल फ्याँक्दा सन्तुलन नमिलेर डङ्ग्रङ्ग लडिन् । लाजले रातोपिरो भइन् । तर, केही प्रयासपछि भने ठीकै खेल्न थालिन् ।

त्यसपछि उनलाई अपार्टमेन्टमा छोड्न गएँ । ‘भित्र आउँछौ ?’ भनेर सोध्दा पनि सोधिनन् । दायाँ हात अलिकति उठाइन् र बाई भनेर फटाफट भित्र पसिन् । एकछिन अझै गफिने मन थियो । हिस्सै पारिदिइन् ।

त्यसपछि हामीबीचको दूरी भने केही घट्यो । बोलचाल अलि सहज भयो । बिस्तारै हिमचिम बढ्न थाल्यो । काममा त सँगै भइन्थ्यो, सप्ताहन्तमा पनि घुमफिर गर्न थाल्यौं । वास्तवमा मैले नै कर गरेर लिएर जान्थें । होइन भने उनी त किताब पढेरै दिन बिताइदिने अजीव प्राणी रहिछन् । विश्वको सबैभन्दा ठूलो ताल— लेक सुपेरियर, सेन्टपलको क्याथिड्रल, स्टेट क्यापिटल भवन, अमेरिकाको सबैभन्दा ठूलो मानिने सपिङ सेन्टर— मल अफ अमेरिकालगायत घुम्नलायक ठाउँ लगिदिएँ । टेलर फल्समा हाइकिङ ग¥यौं । मेडिसिन लेक पार्कमा पिकनिक खायौं । अनि मिसिसिपी नदीमा डिनर क्रुज । फुर्सद हुनेबित्तिकै कतै न कतै गयौं । शान्त, कम बोल्ने उनी आजकल भने अलि खुलेर हाँस्न थालेकी थिइन् । केही रसिली पनि भएकी थिइन् ।

उनी निश्चिन्त देखिन्थिन् । जीवनप्रति कुनै गुनासो भएको जस्तो लाग्थेन । व्यक्तिगत जीवनबारे सीमित कुराकानी गर्थिन् । कुरा गरिहाले पनि शिमलाको कुरा गर्थिन् । मलरोड र क्राइस्ट चर्चको कुरा, जखु हिलमा ट्रेकिङ गएको, कुफ्रीको हिउँमा चिप्लेटी खेलेको, तारादेवीको मन्दिरमा लड्डु चढाएको— यस्तै हुन्थे उनका कुराहरू । आफ्नो परिवारबारे भने कुरै खोल्दिनथिन् । नेपालमा त्यति ठूलो राजनीतिक उथलपुथल भयो तर उनको जानकारी सीमित थियो । म उनीबारे अनेक प्रश्न गर्थें तर उनका प्रश्न भने न्यून हुन्थे ।

एकदिन मैले उनलाई एउटा प्रस्ताव राखें, “बनवास जाने हो ?”

“के भनेको ?” उनी वाल्ल परिन् ।

“क्याम्पिङ ।”

“ऊँ ऽऽ,“ एकछिन अनकनाइन् । अन्ततः स्वीकार गरिन् । विस्कन्सन राज्यको बिलो रिभर स्टेटपार्क गयौं । त्यहाँको प्रमुख आकर्षण भनेको बिलो फल्स झरना हो । सय फुट जति चौडा यो झरना कयौं तह हुँदै छङछङ झर्दा अति मनोरम देखिन्छ । झरनाको पानीमा बच्चाबच्ची, युवायुवतीहरू भिज्दै, पानी छ्यापाछ्याप गर्दै रमाइलो गरिरहेका थिए । उनी नाइ नाइ भन्दै थिइन्, मैले तानेर लगें । पानीको धार कडा थियो र सतह पत्थरिलो । छोइएला भनेर सदैव सतर्क रहने उनले त्यो दिन झरनामा उक्लिँदा मेरो कम्मरमा च्याप्प समातिन् । उनको स्पर्शले इन्द्रियको एउटा तार छोयो र शरीरमा झंकार पैदा ग¥यो ।

साँझ क्याम्पमा थाहा भयो— उनले आफ्नो छुट्टै टेन्ट लिएर आएकी रहिछिन् । रोमाञ्चित र चञ्चल भइरहेको मेरो मन खिस्रिक्क प¥यो । टेन्ट गाड्दै गर्दा उनी मुसुमुसु हाँसिरहेकी थिइन् ।

“हे भगवान् ! आज हावाहुरी आओस् र यिनको टेन्ट उडाई लैजाओस्,” उनले सुन्ने गरी भुत्भुताएँ । बलजफ्ती रोकिराखेको उनको हाँसो फुत्कियो । हाँस्दा हत्केलाले मुख छोपेकै थिइन् ।

साँझ आगोको धुनी बाल्यौं । मार्स मेलो झिरमा पोलेर खायौं । आगोको तापले हो वा एउटी वयष्क युवतीको सामीप्यता— वातावरणमा उष्णता छायो । कुनै आँधिबेहरी भने आएन र उनको टेन्ट पनि उडाएन । गफ गर्दागर्दै उनी हाई काढ्न थालिन् र शुभरात्रि भनेर आफ्नो टेन्टमा लुसुक्क छिरिन् । एकछिन आगोको धुनीमा एक्लै घोत्लिएर बसें । आगो निभ्दै गयो । अब दाउरा थपिरहनुको प्रायोजन थिएन । म पनि आफ्नो टेन्टभित्र छिरें र निदाउने प्रयास गरें । मनभरि उनकै बारे कुरा खेलिरह्यो । पहिला कुनै युवतीबारे यति धेरै सोचेको थिइनँ ।

० ० ०

फेब्रुअरीको १४ तारीख । प्रणय दिवस । सम्यान्थालाई बिहानै फोन गरेर शुभकामना दिएँ । साथसाथै साँझको खाना बाहिर खान जाने प्रस्ताव पनि राखें । एकछिन उनी बोलिनन् । सोचेर, सम्झेर, तौलेर बोल्ने त उनको बानी नै हो ।

“कोइ बात नहीँ । तिमी व्यस्त छ्यौ भने म कोही अर्की लड्कीसँग गैहाल्छु,” उनकै शैली चोरेर जिस्काएँ ।

“तिमी बहुत मजाक गर्छौ रे प्रतीक । ल ठीक छ । म ५ बजे तयार भएर बस्छु ।”

एउटा रुमानी साँझको कल्पना गरेर दिनभर रोमाञ्चित भइरहें । मन चञ्चल भइरह्यो र केही मीठो वेचैनी । मौसम भने राम्रो भइदिएन । निस्किने बेलातिर हिउँ पर्न थाल्यो । मिनीसोटाको हिउँ र ठन्डीले आजित भएको मान्छे म त्यो साँझको हिमवर्षा पनि कस्तो मनोरम महसुस भयो । मन त्यसै पुलकित भयो । गाडी निकालें । बाटोको ‘फ्लावरामा’ स्टोरमा पसें र गुलाफको एउटा गुच्छा लिएँ । साथमा केही चकलेट र एउटा कार्ड पनि ।

उनको ढोका ढक्ढक्याएँ ।

“ढोका खुलै छ, भित्र आऊ ।”

फूलको गुच्छा र चकलेटको प्याकेट पछाडि लुकाउँदै भित्र पसें ।

“बस्दै गर है एकछिन । म तयार हुँदै छु,” उनको बेडरुमबाट आवाज आयो ।

उनको बैठक कोठामा टहलिन थालें । भित्तामा दुइटा अमूर्त चित्र थिए । शायद ती पहिलेदेखि नै थिए । आज एउटा प्रमाणपत्र पनि झुन्डिएको देखें, जुन पहिला मैले ख्याल गरेको थिइनँ । नजिकै गएर नियालें । त्यो बस्टन कलेजको प्रमाणपत्र थियो र त्यसमा नाम लेखिएको थियो— समानता थापा । त्यहीबेला बाहिर चर्चको घण्ट ट्वांग बज्यो । घण्टको आवाजले हो कि समानता भन्ने नामले— म झस्किएँ । मुटुमा हल्का आघातजस्तो महसुस भयो ।

यो संयोग मात्र हो वा उनी उही हुन् ? मैले अहिलेसम्म समानता नाम भएको अर्को कोही भेटेको थिइन । सम्यान्थालाई पहिला कतै देखेको÷भेटेको जस्तो त पहिलेदेखि नै लागिराखेको हो । किशोरी समानताको अनुहार याद गर्ने कोसिस गरें । अनुहार कताकता मेल खाएको जस्तो लाग्यो । मेरो मुटुको धड्कन बढ्न थाल्यो ।

एकछिनमा सम्यान्था बाहिर निस्किइन् । शृंगार र मिलेको पहिरनले उनको सौन्दर्य निखारिएको थियो । तर, मेरो ध्यान त उनको प्रमाणपत्रतर्फ थियो ।

“यो तिम्रो हो ?”

“हो ।”

“तिम्रो वास्तविक नाम समानता ?”

“हो ।”

“तर तिमीले पहिले भनिनौ त !”

अहिले उनको अनुहारको रंग बदलियो तर छिट्टै सहज हुने प्रयास गरिन्, “मेरी मम्मीले भन्नुभएछ— केटाहरूलाई आफ्नोबारे सबै कुरा एकैबारमा नभन्नू ।”

यसो भन्दै गर्दा बायाँ आँखा झिम्क्याइन् । उनको हाँस्यरसले मलाई बिल्कुलै छोएन ।

“कृपया, योचाहिँ नभन कि तिम्रो दाजुको नाम अधिकार हो ।”

उनी गम्भीर भइन् । एकछिनको मौनतापछि बोलिन्, “हो, तर उहाँ अहिले हुनुहुन्न ।”

“युद्धकालमा सुरक्षा फौजले बेपत्ता पार,” मैले थपें ।

उनले मबाट नजर हटाइन् र झ्यालबाहिर एकनासले हेर्न थालिन् । उनका आँखाबाट आँसुका दाना खसे । उनी नै समानता भएको यकिन भयो । मेरो मन छाँगाबाट खसेजस्तो भयो । शीरमा पीडाको एउटा तरंग प्रवाह भयो । औंलाहरूले निधार दबाएँ ।

“सरी सम्यान्था, आजको डिनर क्यान्सिल गरौं है । मलाई अलि सञ्चो नहोला जस्तो भयो । म घर गएर आराम गर्छु,” म ढोकातिर बढें ।

“सञ्चो नभए किन ड्राइभ गर्छौ ? यहीँ आराम गर । बाहिर हिउँ पनि परिरहे’छ ।”

उनको आग्रह बेवास्ता गर्दै निस्किएँ । उनलाई दिन भनेर ल्याएको फूलको गुच्छा र कार्ड हातैमा थियो । बाहिर फोहर फाल्ने कन्टेनरमा खसालिदिएँ ।

म ८—९ कक्षातिर पढ्दाकी सहपाठी थिइन्, समानता । उनी मसँग गणितको गृहकार्यमा सहयोग माग्न आउँथिन् । मलाई उनको सामीप्यता मन पथ्र्यो । उनी अचानक स्कुल आउन छोडेकी थिइन् । कसैले भन्थे— उनीहरूको परिवार आफ्नै गाउँतिर फर्कियो रे  ! अरूहरू भन्थे— उनीहरू कम्युनिस्ट हुन्, त्यसैले भूमिगत भए । इन्डिया गए रे !

मलाई त्यतिखेर कम्युनिस्ट भनेको के हो, थाहा थिएन । तर, देशमा युद्ध मच्चिरहेको थियो । रेडियो–टिभीमा दिनहुँ सरकारी सेना र विद्रोहीहरूको भिडन्त भइरहेका समाचार आउँथे । एकदिन विद्यालयको भित्तैभरि ‘राजतन्त्र मूर्दावाद, गणतन्त्र जिन्दावाद, जनुयुद्ध सफल पारौं’ भन्ने नाराहरू पोतिएका थिए । त्यसपछि एक ट्रक सेनाहरू आएर १०–११ कक्षामा पढ्ने दुई–तीन जना दाजुहरूलाई गलहत्याउँदै लिएर गएका थिए । त्यसमध्येका एक जना कहिल्यै फर्केनन् । जो फर्केनन्, उनको नाम अधिकार थियो । पछि मलाई थाहा भयो— उनी त समानताका दाजु पो रहेछन् । दाजुलाई सेनाले बेपत्ता पारेपछि उनी पनि स्कुल आउन छोडेकी थिइन् ।

मेरो बुवा विद्यालयको प्रिन्सपल हुनुहुन्थ्यो । एक साँझ एक हुल अपरिचित मान्छेहरू आए । हामी साँझको खाना खाँदै थियौं । उनीहरूले बुवालाई जबर्जस्ती लिएर गए । आमा, म र बहिनी रोइरह्यौं । भोलिपल्ट बिहान बुवाको लाश घरदेखि अलि पर कुलोको छेउमा भेटियो । त्यहाँ पर्चाहरू छरिएका थिए । वर्गशत्रु भएको, विद्यार्थीहरूसँग चर्को शुल्क लिएको, सरकारको लागि सुराकी गरेको— पर्चामा बुवामाथि यस्तै आरोपहरूको फेहरिस्त थियो । त्यतिखेर म ती सबै कुरा बुझ्दिनथें ।

जब समानता र उनका दाजु अधिकारलाई हाम्रो स्कुलमा भर्ना गर्न ल्याइयो, आमाले त हुन्न भन्दै हुनुहुन्थ्यो रे ! क्रान्तिकारीका छोराछोरीहरू पढाउँदा सरकारी निशानामा परिन्छ भन्ने डर थियो आमालाई । बुवाले नै अटेर गरेर उनीहरूलाई भर्ना लिनुभएको रहेछ । शिक्षा सबैको अधिकार हो, कसैलाई बञ्चित गर्न हुन्न भन्ने बुवाको मान्यता थियो ।

देशमा गणतन्त्र आएपछि टीभीमा एउटा नेतालाई देख्नेबित्तिकै आमा असामान्य बन्नुहुन्थ्यो । उहाँको रक्तचाप बढ्थ्यो । धारेहात लगाएर सराप्न थाल्नुहुन्थ्यो । ती नेताको नाम थियो— समरजित थापा उर्फ कमरेड प्रहार । बुवाको हत्या उनकै निर्देशनमा भएको भन्नुहुन्थ्यो आमा । कमरेड प्रहार थिए— समानता र अधिकारका बुवा । समयले कस्तो गजबको ठट्टा ग¥यो मसँग । आज म तिनै कमरेडकी छोरीसँग प्रणय प्रस्ताव राख्न गइरहेको थिएँ ।

त्यसपछि म एक हप्तासम्म कार्यालय गइनँ । घरमै बसेर काम गर्ने सुविधा थियो मलाई । यसबीचमा सम्यान्थाको ‘एसएमएस’ आईरह्यो । तर, मैले जवाफ फर्काउने चेष्टा गरिनँ । फोनको घण्टी बजिरह्यो तर उठाइनँ । कुनै दिन कार्यालय जानै पर्ने हुन्थ्यो तर आफ्नै कक्षमा खुम्चेर बस्थें । सम्यान्थासँग तर्किंदै÷बच्दै हिँड्थें । उनले एकदिन लन्च रुममा मेरो हात च्याप्प समातिन् ।

“प्रतीक ! तिमीलाई के भएछ ? मेरो म्यासेजको जवाफ दिँदैनौ, फोन पनि उठाउँदैनौ । यहाँ पनि तिमी मलाई इग्नोर गर्दै छौ, किन ?”

“छोडिदेऊ सम्यान्था, हाम्रो भेट नभएकै भए हुन्थ्यो । तिमी कमरेडकी छोरी, म तिम्रो वर्गशत्रु परिवारको । हाम्रो साथ सुखद हुन्न ।”

“तिमी मलाई केही भन्ने मौका दिन्नौ ?”

“केही फाइदा छैन सम्यान्था ।”

उनको सजल नेत्रले मलाई हेरिरह्यो । मैले हात फुस्काएँ र लन्च रुमबाट बाहिर निस्किएँ ।

० ० ०

त्यसपछि सम्यान्था देखिन छोडिन् । प्रोजेक्ट मिटिङमा पनि उनको उपस्थिति पातलिन थाल्यो । उनको ठाउँमा अहिले कुनै अर्को कर्मचारी आएको थियो । उनीसँग तर्किंदै, लुक्दै हिँड्ने मलाई उनको अनुपस्थितिको पनि परवाह नहुनु पर्ने हो नि । तर, त्यस्तो भएन । उनी याद आइरहिन् । लन्च रुम, हल–वे, पार्किङतिर मेरा आँखाहरूले उनलाई खोजिरहे । एकदिन उनको ‘क्युबिकल’ नजिक बस्ने एक सहकर्मीले मलाई एउटा बन्द खाम दिएर गइन् ।
 
“सम्यान्था खै त ?” मैले सोधें ।

“उनी काम छोडेर गइन् ।”

“कहाँ ?”

“थाहा भएन ।”

चिठ्ठी खोल्दै गर्दा मेरो धड्कनको वेग बढ्यो । चिठ्ठी अंग्रेजीमा रहेछ । हस्तलिखित । एक्काइसौं शताब्दीको इमेल÷मेसेन्जरको जमानामा हस्तलिखित पत्र ! पत्रमा कुनै सम्बोधन थिएन । कुनै औपचारिकता थिएन । उनको शैली त्यस्तै थियो । उनको पत्रको मजबून करिब–करिब यस्तो थियो—

“तिमीले मलाई पहिला कताकता देखेको जस्तो लाग्छ भन्यौ नि । मैले त तिमीलाई देख्नेबित्तिकै चिनेकी थिएँ । मैले तिमीलाई बिर्सेकी थिइनँ । शायद आफूलाई मन परेको मान्छेलाई भुल्न सकिँदैन । तर, परिस्थितिले हामीसँग यस्तो ठट्टा ग¥यो कि वर्षौंपछि भेट हुँदा मैले अञ्जानजस्तो अभिनय गर्नु प¥यो । प्रिन्सिपल सरको हत्यामा मेरो बाबाको संलग्नता रहेको सुनेकी थिएँ । त्यसैले तिमीले मप्रति कस्तो व्यवहार गर्ने हौ भन्ने मलाई डर थियो ।

म सकेसम्म नेपालीहरूको जमघटमा जान्नँ । मान्छेहरू अनेक थरीका कुरा गर्छन् मेरो बारेमा । मान्छेहरू भन्छन्— नेताहरू भारतीय विस्तारवादविरुद्ध सुरुङ युद्धको गफ गर्ने, आफ्ना छोराछोरीलाई भने भारतमै राखेर पढाउने ! कसैले मेरो नामै काढेर भने— देशमा वर्गीय विभेद अन्त्य गर्छु भनेर लड्ने बाबुले छोरीको नाम त समानता राखे तर उनी साम्राज्यवादको नाइके अमेरिकामा पुगेर ‘सम्यान्था’ पो भइछन् । आदि आदि ।

दुर्भाग्य नै भन्नु प¥यो— हामी दुई परिवारबीच प्रत्यक्ष द्वन्द्वको स्थिति रह्यो । दुबैतर्फ क्षति बेहो¥यौं । पुरानो घाउ बल्झिएला भनेर तिमीबाट तर्केरै हिँड्ने प्रयास गरें । तर, कति दिन सक्थें र ! बलजफ्ती मनलाई बाँधेर राख्न सकिनँ । तिमीले पनि पछ्याउन छोडेनौ । शनैशनै तिमीतिर खिच्चिएँ । हुन त म तिमीप्रति सानैदेखि नै आकर्षित हुँ । हिसाब सिक्ने त एउटा बहानामात्र थियो, तिम्रो नजिक हुने ।

जब भ्यालेन्टाइन डेको दिन तिमीले मलाई रात्रिभोजको निम्ता दियौ नि, मलाई लाग्यो—तिमी हाम्रो सम्बन्धलाई नयाँ आयाम दिन खोज्दै छौ । मैले बुझेसम्म भ्यालेन्टाइन डे ‘डेट’को विशेष अर्थ हुन्छ । मैले आफ्नो असली परिचय अब खोल्नैपर्छ भन्ने लाग्यो । सम्बन्धको भवन झुटको कमजोर जगमा कसरी खडा गर्नू ? त्यसैले लुकाएर राखेको मेरो प्रमाणपत्र त्यो दिन भित्तामा झुन्ड्याएँ ताकि तिम्रो नजर परोस् र मेरो वास्तविकता खुलोस् । नभन्दै तिमीले मलाई चिनिहाल्यौ । जब तिमीले फूलको गुच्छा र चकलेट फोहोरको कन्टेनरमा फ्याँकेर हिँड्यौ नि, मुटुमा काँडा बिझेझैं पीडा भयो ।

दाजुलाई सरकारी सेनाले बेपत्ता पारेपछि बाबुआमाले मलाई पढ्न शिमला पठाइदिनुभयो । त्यहाँ हाम्रा नातेदारहरू हुनुहुँदोरहेछ । मलाई आफ्नो गाउँघर, स्कुल, परिवार साथीहरूको न्यास्रो लाग्थ्यो । तिम्रो पनि खुब याद आउँथ्यो । बाबुआमा मलाई भेट्न आउँदा वा फोनमा कुरा हुँदा हमेशा मलाई नेपाल बोलाउन अनुरोध गर्थें । तर, उहाँहरूले जहिले पनि सुरक्षाको कारण देखाएर मलाई आउन दिनुभएन । नेपालमा लोकतन्त्र आएपछि बल्ल मैले पनि मुक्ति पाएँ ।

हेर, मेरा बुवाले लडेको त्यो युद्ध सही थियो वा गलत, म भन्न सक्दिनँ । मानिसहरूको आ–आफ्नै धारणा र तर्क होला । त्यो हुनु पथ्र्यो वा नहुनु पथ्र्यो भन्ने पनि मेरो कुनै राय छैन । मैले मेरो दाजु गुमाएँ । यसमा तिम्रो बाबाको भूमिका के थियो ? तिम्रो बाबाको हत्या भयो । यसमा मेरो बाबाको संलग्नता कति छ ? म यी सबै कुराहरूबाट अनभिज्ञ छु । जेहोस्, मलाई यति थाहा छ— म निर्दोष छु । तिमी पनि । तर, सजाय भने हामी दुबैले भोग्दै छौं ।

तिमीले यो चिठी पढ्दै गर्दा मैले अमेरिका छोडिसेकेको हुनेछु । म नेपाल जाँदै छु । नेपालको कुनै दुर्गम क्षेत्रमा गएर काम गर्ने इच्छा छ । शायद शिक्षिका हुन्छु होला । म अमेरिका आउँदा पनि कुनै महत्वाकांक्षा लिएर आएकी थिइनँ । शिमलाबाट फर्केपछि नेपालमा मन रम्न सकेन । नेपालमा मेरा कोही साथी थिएनन् । बाबुआमा राजनीतिमै व्यस्त हुनुहुन्थ्यो । अनिश्चितता र अन्योलको स्थितिमै म अमेरिका मास्टर्स गर्न आएँ । पढाइ सकेपछि केही समय जागिरमा अलमलिएँ पनि । तर, कुनै कुराहरूमा मन स्थिर भएन । तिमीसँग भेट भएपछि भने लागेको थियो— शायद मैले जीवनको गोरेटो भेटें । जीवनले अब एउटा दिशा पकड्नेछ । तर, म गलत रहेछु ।”

पत्र टुंगियो । पत्रको आरम्भजस्तै बिसर्जन पनि हठात् थियो । मन खल्लो भयो । रित्तोरित्तो भयो । पत्रमा कुनै आग्रह थिएन । कुनै आक्षेप पनि थिएन ।

त्यसपछि समानतासँग कहिल्यै भेट भएन । कहिलेकाहीँ उनलाई खोज्न जाऊँ जस्तो लाग्थ्यो । तर, कुलोमा घोप्टिएको बुवाको निर्जीव शरीर र आमाको विधवा वेश सामुन्नेमा आउँथ्यो । अनि मेरो मन मथ्र्यो । पाइलाहरू रोकिन्थे । बेलाबेला न्यास्रो लाग्दा उनका फेसबुक र इन्स्टा अकाउन्ट खोतल्थें । तर, नयाँ केही हुन्थेन । पछि त ती सबै बन्द भएछन् ।

० ० ०

एउटा फोनको घण्टीले ब्युँझायो । अतीतबाट वर्तमानमा आइपुगें । चन्द्ररूपाको फोन रहेछ, जोसँग मेरो बिहेको कुरो चलिरहेको थियो । किन हो, फोन उठाउने उत्साह भएन । टीभीतिर नजर गयो । भिडियो अन्त्यतिर पुगेको रहेछ ।

“ल दिदी, म कुराकानीको बिट मार्दै छु । अन्त्यमा तपाईंको वर्गशत्रुको छोरालाई केही भन्न चाहनुहुन्छ त ?” प्रस्तोताले प्रश्न गरिन् ।

उनी खिस्स हाँसिन् मात्र । केही बोलिनन् ।

उनको मौनताले नै धेरै कुरा बोलिरहेको थियो । भिडियो सकियो । म शून्य भएँ । आँखा बन्द गरेर एकछिन ध्यानमुद्रामा बसें । तर, जताततै उनी नै उनी देखिइन् । चन्द्ररूपाको फोन फेरि आयो । तर, मनले मसक्क एउटा निर्णय गरिसकेको थियो । फोन काटिदिएँ । अनि गुगलमा खोज्न थालें— कार्कीबाडा गाउँ कसरी जाने ?
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन ४, २०७६  १२:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC