१८ वर्षपछि भेटघाटमा !

 १८ वर्षपछि भेटघाटमा !

साहित्यकारहरू बेलाबेलामा भेटघाट गरिरहन्छन् । कोही कता जम्छन्, कोही कता । एउटा जमघट गौशालामा हुन्थ्यो । धेरैपटक यस पंक्तिकारले गौशाला पिङ्गलस्थानको कार्की किचेनको जमघटमा नाम चलेका साहित्यकारहरूलाई देखेको हो । उतिबेला त्यस्ता भेटघाट र साहित्यिक जमघटमा खासै ध्यान दिइएन । यद्यपि, छड्के नजरले धेरैपल्ट अभिव्यक्ति मासिक भेटघाटको ब्यानरसहित बसेका जानेमानेका साहित्यकारहरूलाई टाढैबाट हेरेको हो ।

ओहो ! मदनमणि दीक्षित, नगेन्द्रराज शर्मा, धनुषचन्द्र गौतम, नगेन्द्रराज शर्मा ! त्यो जमघटमा यस्ता साहित्यिक हस्तीहरूलाई देखेर आश्चर्य लाग्थ्यो । तर मैले चिनेका राप्रउ पोखरेल बाहेक अरु कोही नभएकोले त्यो ब्यानरमुनि कहिल्यै बस्न पुगिएन । अर्थात् साहित्यका महारथीहरूसँग चिनजानको मेसो कहिल्यै मिलेन ।
आफू आफ्नै साथीभाइसँग रमाएर निस्किन्थेँ, कार्की किचेनबाट । साथी पनि भन्थे, “यी बूढाहरूलाई कति रमाइलो !”

यसरी हरेक महिनाको पहिलो बिहीबार साहित्यकारहरूको जमघट हुँदै आएको पनि १८ वर्ष बितिसकेको छ । पहिले पिङ्गलस्थानमा जम्दै आएको जमघट अहिले महाराजगन्जमा सरेको छ ।  यसरी बितेको १८ वर्षदेखि साहित्यिक द्वैमासिक पत्रिका ‘अभिव्यक्ति’ले ‘अभिव्यक्ति साहित्यिक जमघट’लाई निरन्तरता दिँदै आएको छ । जहाँ साहित्यकार–पत्रकारहरूको जमघट र भेटघाट हुन्छ, खानपान हुन्छ । 

गएको बिहीबार महाराजगन्जस्थित मासिक भेटघाटमा १८ वर्षपछि सहभागी हुन पुग्दा धेरै साहित्यकार र साहित्यिक पत्रकार त्यहाँ उपस्थित भइसकेका थिए । मलाई खोतल्न मन लाग्यो– १८ वर्षअघिको भेटघाटको सुरुआती कथा । अभिव्यक्ति द्वैमासिकका प्रधान सम्पादक नगेन्द्रराज शर्माले सम्झिए, अर्का साहित्यिक पत्रकार भवानी घिमिरेसँग खाजा खान जाँदाको प्रसंग– “म र भवानीजी बेलाबखत खाजा खान कहिले कता कहिले कता गइरहन्थ्यौं । त्यसै मेसोमा मदन कार्की एक दिन भेट भए । उनले आफूले गौशाला ओरालोको पिङ्गलास्थानमा कार्की किचेन नामको रेष्टुरेन्ट खोलेको जनाउँ दिँदै साहित्यकारहरूलाई लिएर आउन भने र हामी पनि जान थाल्यौं । यसरी मासिक भेटघाटको क्रमको सुरुआत भयो ।”   

अग्रज साहित्यिक पत्रकार नगेन्द्रराज शर्माका अनुसार कार्कीले आफ्नो रेष्टुराँमा आउन अनुरोध गरेपछि शर्माले पनि आफूहरूलाई स्न्याक्समा ५० प्रतिशतसम्मको छुट दिने भए आउने कुरा गरे । साहित्यप्रति रुची भएका र बेलाबेलामा कविता पनि वाचन गर्दै आएका कार्कीले पनि हुन्छ भने । त्यसपछि गौशाला, बानेश्वर, चावहिल क्षेत्रमा बसोबास गर्ने साहित्यकारहरूको जमघट त्यहाँ हुनथाल्यो । पछि जमघटले टाढाटाढा बस्ने साहित्यकारलाई पनि तान्दै ल्यायो ।

नगेन्द्रराज शर्मा र रोचक घिमिरेका अनुसार पहिलेपहिले नयाँसडकमा साहित्यकारहरूको साँझ–बिहान जमघट हुन्थ्यो । त्यो जमघटमा यी दुई पनि बेलाबखत सहभागी भइरहन्थे । 

उतिबेला रञ्जना सिनेमा हल नजिक रश्मी रेष्टुरेन्ट थियो । त्यहाँ एउटा ठूलो टेबल थियो । त्यो ठूलो टेबल वरिपरि उत्तम कुँवर, कृष्णभक्त श्रेष्ठ, द्वारिका श्रेष्ठलगायत साहित्यकारहरू शनिबार बिहान भेटघाट गर्थे । चिया र कफीको चुस्कीसँगै त्यहाँ साहित्यका विभिन्न विषयमा छलफल हुन्थ्यो ।

साँझको समय भने प्रायः नयाँसडकको इन्दिरा रेष्टुरेन्ट र आम्रपालीमा बिताउँथे, साहित्यकारहरू । पछि जमघट बैङलोर कफी हाउसतिर पनि स¥यो । यसरी जता गए पनि साहित्यकारको जमघट हुन्थ्यो नै । जमघटमा चर्चापरिचर्चा अनि टिकाटिप्पणी पनि हुन्थ्यो नै । 

त्यसबेला भरखर भरखर अभिव्यक्ति साहित्यिक पत्रिका प्रकाशन गरेका नगेन्द्रराज र रचनाका सम्पादक रोचक घिमिरे पनि जमघटमा पुग्थे, साइकल चढेर । ती साहित्यिक पत्रकार पुराना साहित्यकारका गफ सुन्थे, रमाउँथे, उत्साहित हुन्थे, उर्जा पाउँथे । अनि चिया कफीको चुस्की लगाउँथे र फर्किन्थे ।
कहिलेकाहीँ पोखराबाट भूपि शेरचन पनि आएका हुन्थे । उनी आउँदा उनैले चिया खाजाको पैसा तिर्ने गरेको नगेन्द्रराज शर्मा र रोचक घिमिरे सम्झिन्छन् । 

यसरी पुराना पुस्ताका लेखक कविसँग घुलमिल हुँदै कहिले रश्मीको राउण्ड टेबल अनि कहिले इन्दिरा रेष्टुराँमा हुने साहित्यिक भेटघाटमा जाने गरेका नगेन्द्रराज शर्माकै पहलमा एउटा अर्को थलो जन्मियो,  गौशाला पिङ्गलस्थानमा ।

गएको विहीबार साँझ मासिक भेटघाटमा व्यस्त रहेका नगेन्द्रराज शर्माले सुनाए, “यो अभियान बिना उद्देश्य सुरु भएकै होइन । उद्देश्य थियो । नेपाली समकालीन साहित्यका विविध विषयमा छलफल गर्ने, लेखनका विषयमा चर्चा परिचर्चा गर्ने । यसरी नयाँ किसिमबाट साहित्यको उत्थान र विकासमा मद्दत पु¥याउने उद्देश्य हामीले लिएका थियौं । पछिपछि त भेटघाटमा किताब पनि विमोचन हुनथाल्यो ।” 

अर्थात्, जसरी हुन्छ नेपाली साहित्यको श्रीवृद्धिमा केही गर्ने चाहना शर्मालगायतका साहित्यकारहरूको थियो । 

मदनमणि दीक्षित, राप्रउ पोखरेल, रोचक घिमिरे, वासु पासा, धनुषचन्द्र गौतम, धु्रवचन्द्र गौतम, डा. राममान तृषित, जगदिश घिमिरे, शरदचन्द्र शाहलगायतका सयौं साहित्यकार र साहित्यका मर्मज्ञहरूको जमघट हुँदै आएको यो थलोमा कहिले पत्रपत्रिकामा प्रकाशित लेख रचना छलफलको विषय हुन्थ्यो भने कहिले कथा कविता चोरीका प्रसंग पनि उठ्थे ।

रोचक घिमिरे हाँसे । उनी भन्दै थिए, “कुनैकुनै बेला त यो भेटघाटमा चोरीको रचना प्रकाशित भएको कुरा पनि उठ्यो । धेरै मानिस एकै ठाउँमा भएपछि छलफल र अन्तरक्रिया स्वाभाविक हुन्छ । त्यसैले पनि त्यहाँ रचना चोरीको कुरो आएको थियो ।” घिमिरेको कुरा नसकिँदै नगेन्द्रराज शर्माले एउटा अर्को प्रसंग सुनाए–“जीवा लामिछानेले स्थापना गरेको दुई सम्मान र पुरस्कार पद्मश्री साधना सम्मान र पद्मश्री पुरस्कारको प्रारम्भिक कुराकानी पनि यही विहीबारे जमघटमा पहिलो पटक उठेको हो ।”

त्यसैबखत कवि तथा स्रष्टा समाजका अध्यक्ष विधान आचार्य आफ्ना दाजु र भाइसँगै भित्रिए । त्यहीँ उभिँदा उभिँदै विधानले आफ्ना दाजु काशिराज आचार्यको कविता संग्रह ‘मुहानदेखि दोभानसम्म’ प्रकाशित भएको बताए । अनि उनले दाजुको पुस्तक यही जमघटमा विमोचन गरिदिन अग्रज व्यक्तित्व नगेन्द्रराज शर्मा र रोचक घिमिरेलाई आग्रह गरे । 

हेर्दाहेर्दै दुवै अग्रज व्यक्तित्वले कवि आचार्यको पुस्तक सार्वजनिक गरे । मासिक भेटघाटमा पुस्तक पनि विमोचन हुन्छ भन्ने स्पष्ट भएको थियो ।  किताब विमोचनपछि फेरि साहित्यकारहरू गफिन थाले । कोही कथा कविताको कुरा गर्दैथिए, कोही प्रकाशोन्मुख साहित्यिक पत्रिकाका लागि रचना माग गर्दै थिए । 

भेटघाटमा उपस्थित सबै रमाइरहेका थिए । त्यही रमाइलोबीच अर्को एउटा रमाइलो प्रसंग निकाले नगेन्द्रराज शर्माले । उनका अनुसार साहित्यकारहरूको जमघटका लागि एउटा खीर गुठी पनि थियो । यसमा शर्मा र घिमिरेका अतिरिक्त कमलमणि दीक्षित, जगदिश घिमिरे र ज्ञानुवाकर पौडेल विशेषरुपमा जोडिएका थिए । खीर जमघटमा अरु जेसुकै परिकार बनाए पनि खीर अनिवार्य मानिन्थ्यो । कहिलेकाहीँ यो खीर भेटघाटमा अरु साहित्यकार पनि पुग्थे ।

नगेन्द्रराज शर्मा भन्छन्, “कमलमणि दीक्षित खीर प्रिय व्यक्ति हुनुहुन्थ्यो । त्यसैले हामी पाँचै जना कहाँ समय समयमा यो खीर जमघट हुन्थ्यो । तपाईँलाई थाहा छैन, रोचकजी पनि खीर प्रिय व्यक्ति हुनुहुन्छ ।” कुराकानीकै क्रममा कवि वियोगी बुढाथोकी भन्दै थिए, “यस्ता भेटघाट र जमघट अरु ठाउँमा पनि हुन्छन् । तर अहिलेलाई सबैभन्दा पुरानो र बढी साहित्यकार भेला हुने जमघट यही नै भएको छ । त्यसो त शिवपुरी सन्देश साहित्यिक पत्रिकाले पनि बेलाबेलामा यस्तो जमघट गर्दैआएको छ ।”

बितेको विहीबार करिब ३० जना साहित्यकारहरू उपस्थित थिए, महाराजगन्जमा । एकैठाउँमा जम्मा भएर खानपान गरे पनि आफूले खाएको आफैं तिर्ने चलन अभिव्यक्ति भेटघाट बितेको १८ वर्षदेखि नै चलाउँदै आएको हो ।  शर्मा भन्दैथिए, “यो १८ वर्षमा म एक पटक मात्रै अनुपस्थित भएँ । त्यसबेला अरु साथीहरू बसे । दुई पटक म एक्लैमात्रै पनि बसेँ । दशैंको बेलामा म एक्लै बसेको हुँ । यसरी यो भेटघाटले निरन्तरता तोडेको छैन ।”

कवि विधान आचार्य यो भेटघाटले आफूजस्ता लेखकलाई सधै उर्जा मिलेको बताउँछन् । उनले आफूले यो जमघटबाट धेरै कुरा सिकेको सुनाए उनी भन्छन्, “मत भन्छु यो समकालीन साहित्यमा लाग्ने लेखकहरूलाई तिखार्ने र प्रेरित गर्ने थलो हो । यहाँ आएपछि धेरै कुरा सिक्न पाइन्छ । धेरै कुरा लेख्न पाइन्छ ।”

साहित्यकारहरूबीचमा सम्बन्ध सेतू कायम रहोस् र लेखनका लागि उर्जा मिलिरहोस् भन्ने ध्येय यसले बोकेको कार्यक्रमका संयोजक साहित्यकार पवन आलोक बताउँछन् । भन्छन्, “यो सबैलाई उत्साहित तुल्याउने गजबको प्लेटफर्म हो । नगेन्द्र दाइ, रोचक दाइजस्ता अग्रजको अगुवाईले हामीलाई उत्प्रेरणा मिलेको छ ।”

बितेको १५ वर्षअघि आफू सहभागी हुन नसकेको अभिव्यक्ति मासिक भेटघाटमा तेस्रो पटक सहभागी हुँदा अग्रजहरूमा देखिएको उत्साहले मलाई पनि उर्जा मिल्यो ।
 

राजेश खनाल

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ad