विभागमा पूर्व पार्टी प्रमुख / प्रधानमन्त्रीकै आँखा, यी हुन् ३२ विभागका काम

विभागमा पूर्व पार्टी प्रमुख / प्रधानमन्त्रीकै आँखा, यी हुन् ३२ विभागका काम

काठमाडौं । पार्टी एकता भएको १५ महिना बितिसक्दा पनि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकीकरण प्रक्रियाले बिट मारेको छैन । किस्ताबन्दीका टुंगिदै गएको एकता विभागको प्रमुख–उप्रमुख बाँडफाँटमा पुगेर अड्किएको छ ।

आइतबार बसेको ९ सदस्यीय सचिवालयको बैठकले मंगलबार विभाग प्रमुख तथा उपप्रमुख चयन गर्ने बताइए पनि पार्टी अध्यक्ष केपी ओलीको स्वास्थ्य बाधक भएको बताइएको छ ।
तर, महत्त्वपूर्ण मानिएको पार्टी स्कुल विभागको रस्साकस्सीले सचिवालय बैठक सारेको नेकपाका नेता बताउँछन् । पार्टी प्रशिक्षणको मुख्य काम रहेको स्कुल विभागमा प्रवक्ता नारायणकाजी श्रेष्ठ र रक्षामन्त्रीसमेत रहेका ईश्वर पोखरेलको ‘तानातान’ छ ।

महत्त्वपूर्ण मानिएका विभागको प्रमुख सचिवालय (हेडक्वार्टर)कै नेतालाई बनाउने तयारी नेकपाले गरेको छ । त्यसमध्ये विदेश मामलामा माधवकुमार नेपाल, संगठन विभागमा वामदेव गौतम र अर्थ तथा योजना विभाग प्रमुख झलनाथ खनाल बन्ने पक्कापक्की रहेको नेताहरूले जनाएका छन् ।
बाँकी बुधबार टुंगो लाग्ने बताइएको छ ।

३२ विभागमा ११ सय २० नेताको व्यवस्थापन
नेकपाको अन्तरिम विधानको धारा–३२ ले ३२ वटा विभागको परिकल्पना गरेको छ । 

पार्टी नियमावलीको परिच्छेद–७ मा विधानअनुरूप अर्थ तथा योजना विभाग, उद्योग तथा वाणिज्य विभाग, उपभोक्ता हित तथा आपूर्ति विभाग, कृषि तथा भूमिसुधार विभाग, कोष तथा आर्थिक व्यवस्थापन विभाग, खानेपानी तथा सरसफाई विभाग, जलस्रोत, सिँचाइ तथा ऊर्जा विभाग, निर्वाचन विभाग, न्याय, कानुन तथा मानव अधिकार विभाग, पर्यटन प्रवर्द्धन तथा नागरिक उड्डयन विभाग, प्रचार तथा प्रकाशन विभाग, प्रादेशिक मामला विभाग, पार्टी स्कुल विभाग, पुस्तकालय तथा अभिलेख विभाग, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभाग, युवा तथा खेलकुद विभाग, राजकीय मामला तथा सुशासन विभाग, राष्ट्रिय सुरक्षा प्रवर्द्धन विभाग, वन तथा वातावरण विभाग, विज्ञान तथा प्रविधि विभाग, विदेश मामला विभाग, शिक्षा तथा मानवस्रोत विभाग, श्रम तथा रोजगार विभाग, सङ्गठन विभाग, सङ्घीय संसदीय विभाग, समाज कल्याण विभाग, सहकारी तथा गरिबी निवारण विभाग, सहरी विकास विभाग, सामान्य प्रशासन विभाग, साहित्य, कला तथा संस्कृति विभाग, स्थानीय तह विभाग, स्वास्थ्य तथा जनसङ्ख्या आदि विभागको व्यवस्था गरिएको छ ।
राष्ट्रिय हित सुरक्षा प्रवर्द्धन, विदेश मामला, सङ्घीय संसदीयबाहेक बाँकी विभागहरू प्रदेश र जिल्ला तहको कमिटीका पनि गठन गर्न सकिने नेकपाको नियमावलीमा उल्लेख छ ।
नेकपाको नियमावलीअनुरूप प्रत्येक विभागमा एकजना प्रमुख र एकजना उपप्रमुख हुनेछन् । 

सिद्धान्ततः विभागको प्रमुख पूर्वएमालेले लिएको ठाउँमा पूर्वमाओवादीले उपप्रमुख पाउने छ । पूर्वमाओवादी केन्द्रले प्रमुख लिएको विभागको उपप्रमुख पूर्वएमालेको हुनेछ ।

नियमावलीअनुसार केन्द्रीय विभागमा बढीमा ३५ जना सदस्य रहनेछन् । विभागमा पनि ६०–४० कै भागवण्डा अनुरूप जिम्मेवारी बाँडफाँट गरिने नेताहरू बताउँछन् । यद्यपि विभागले पूर्णता पाउन समय लाग्नेछ । यसरी हेर्दा नेकपाका करिब १ हजार १२० जना नेता–कार्यकर्ताले एकमुष्ट जिम्मेवारी पाउनेछन् ।

प्रदेश विभागमा २५ जना सदस्य रहने र जिल्ला कमिटीको विभागमा १५ जनासम्म सदस्य रहने नियमावलीमा व्यवस्था छ । 

सम्बन्धित विभागले सदस्यमध्येबाट सचिव तोक्ने र कामलाई प्रभावकारी बनाउन विषयविज्ञसमेत नियुक्त गर्न सक्ने प्रावधान छ ।

विभागका सदस्यहरूको वरीयता–हैसियता प्रदेश कमिटी सो सरह हुने पनि नियमावलीले प्रष्ट पारेको छ । प्रदेशको विभागको मर्यादाक्रम जिल्ला सदस्य र जिल्ला विभागका सदस्यको मर्यादा निर्वाचन क्षेत्र समन्वय कमिटी वा सो सरह हुने व्यवस्था छ ।

काम र जिम्मेवारीका हिसाबले नेकपामा संगठन विभाग र स्कुल विभाग महत्त्वपूर्ण मानिएको छ ।

संगठन विभाग
संगठन विभागको १२ वटा कामको क्षेत्र तोकिएको छ ।

जसमा पार्टी सदस्य, सङ्गठित सदस्य र मानार्थ सदस्यहरूको अभिलेख राख्ने, प्रमाणित गर्ने । आवश्यकताअनुसार सदस्य तथा सङगठित सदस्यहरूको स्थानान्तरण गर्ने । पार्टीका सङ्गठित सदस्यहरू र विभिन्न तहका कमिटी, आयोग, निकाय, विभागका पदाधिकारी तथा सदस्यहरूको वर्गीय, जातीय, भाषिक, लैङ्गिक तथा प्रादेशिक प्रतिनिधित्वको तुलनात्मक अभिलेख तयार गर्ने र नियमित रूपमा अद्यावधिक गर्ने । पार्टीको समग्र सङ्गठनात्मक अभिलेख अद्यावधिक गर्दै सङ्गठनात्मक कामको अनुगमन गर्ने । पार्टीको सङ्गठनात्मक जीवनसँग सम्बन्धित अनुभव, समस्या तथा सम्भावनाहरूको सम्बन्धमा अध्ययन र छलफल गरी त्यसबाट प्राप्त निष्कर्षहरू एवं पार्टीले लिनुपर्ने सङ्गठनात्मक नीतिका सम्बन्धमा प्रस्ताव प्रस्तुत गर्ने । पार्टीको विधान तथा नियमावलीमा संशोधन वा व्याख्या गर्नुपरेमा वा त्यसको प्रयोगका क्रममा बाधा अड्काउ फुकाउनपरेमा केन्द्रीय कमिटीसमक्ष प्रस्ताव प्रस्तुत गर्ने । एकताको राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गरिने मस्यौदा विधानका सम्बन्धमा केन्द्रीय कमिटीसमक्ष सुझाव प्रस्तुत गर्ने ।

पार्टीको नियमावली, निर्देशिका, विनियम र आचारसंहिता निर्माण वा संशोधन सम्बन्धमा प्रस्ताव तयार गर्ने र केन्द्रीय कमिटीसमक्ष प्रस्तुत गर्ने । पार्टीको सङ्गठनसम्बन्धी नीति कार्यान्वयन गर्न केन्द्रीय कमिटीसमक्ष सुझाव प्रस्तुत गर्ने । स्थानीय कमिटी र विभागहरूमा निर्वाचित वा मनोनीत पदाधिकारी र सदस्यहरूको योग्यता र मापदण्ड विधान र नियमावलीअनुसार भए–नभएको छानबिन गरी केन्द्रीय कमिटीसमक्ष प्रतिवेदन प्रस्तुत गर्ने । राजनीतिक प्रतिवेदन, विधान नियमावलीअनुसार पार्टी निर्माणर परिचालनसम्बन्धी गोष्ठी, तालिम र प्रशिक्षणको व्यवस्था गर्ने । विधिसम्मत ढब्गले पार्टी सञ्चालन गर्न आवश्यक सुझावहरू प्रस्तुत गर्नेआदि जिम्मेवारी विनियोजन गरिएको छ । 

यसकारण स्कुल विभागमा विवाद

नियमावलीले पार्टी स्कुल विभागको ७ वटा कामको क्षेत्र तोकेको छ । स्कुल विभाग प्रमुखको जिम्मेवारी लिने सन्दर्भमा नेकपाभित्र दुईधार देखा परेको छ । नेकपाभित्र राजनीतिक रूपले जनताको बहुदलीय जनवाद पक्षधर र जनताको जनवाद पक्षधरबीच प्रष्ट मतभेद देखा परेको छ । 

पूर्वएमाले विशेषतः संस्थापन समूह (केपी ओली पक्षले) स्कुल विभाग आफैँसँग राख्न चाहेको छ र ईश्वर पोखरेलले प्रमुखको दाबी गरिरहेका छन् ।

पोखरेल स्कुल विभाग प्रमुख बन्ने भएपछि माओवादी केन्द्रले पनि दाबी गरिरहेको छ । पूर्वमाओवादी केन्द्रमा नारायणकाजी श्रेष्ठ त्यसको दाबेदार हुन् ।

पार्टी नियमावलीले स्कुल विभागको ७ वटा कामको निर्धारण गरेको छ । पार्टीका सिद्धान्त, कार्यक्रम र नीति अनुरूप नियमित वा आवधिक पार्टी स्कुल सञ्चालन गर्ने र त्यसका निम्ति कार्ययोजना तयार गरी कमिटी समक्ष प्रस्तुत गर्ने । पार्टी सदस्यहरूको सैद्धान्तिक–वैचारिक स्तर उठाउन आवश्यक योजना निर्माण र कार्यान्वयन गर्ने । पार्टी स्कुलका निम्ति आवश्यक प्रशिक्षक तथा विशेषज्ञहरू तयार गर्ने । पार्टी स्कुलका पाठ्यक्रम तयार गर्ने, तदनुसार पाठ्यसामग्री तयार गर्ने र सम्बन्धित पार्टी कमिटीको स्वीकृतिमा प्रकाशन गर्ने । प्रशिक्षण कार्यक्रमको मूल्याङ्कन गर्ने, प्रशिक्षार्थीहरूको परीक्षा लिने तथा प्रमाणपत्र दिने र सोको अभिलेख राख्ने । स्वदेश तथा विदेशका पार्टी स्कुलहरूसँग अनुभव आदान–प्रदान गर्ने । पार्टीमा एकीकृत भएका वा नयाँ प्रवेश गरेका सदस्यहरूलाई विशेष प्रशिक्षणको व्यवस्था गर्ने स्कुल विभागका काम हुन् । स्कुल विभाग पार्टीको विद्यालय पनि भएकाले जनताको जनवाद इतर विचारलाई दिनुनहुने तर्क पूर्वमाओवादी केन्द्रको छ ।

पूर्व पार्टी प्रमुख र प्रधानमन्त्रीलाई विदेश मामला विभाग
पार्टी नियमावलीले विदेश मामला विभागको ७ वटा कामको क्षेत्र तोकेको छ । र, यो विभागमा १४ वर्ष पार्टी प्रमुख भइसकेको र पूर्वप्रधानमन्त्रीसमेत रहेका माधवकुमार नेपालका नाममा सहमति जुटेको छ । नेपाल पूर्ववर्ती पार्टी एमालेको पनि विदेश मामला विभाग प्रमुख नै थिए ।

पार्टीको विदेश नीतिका सम्बन्धमा केन्द्रीय कमिटीमा सुझाव प्रस्तुत गर्ने । विभिन्न मुलुकका कम्युनिस्ट, समाजवादी, वामपन्थी, श्रमिक तथा अन्य पार्टीका बारेमा जानकारी लिने, अभिलेख राख्ने र तिनीहरूसँग सम्बन्ध विकास गर्न पहल गर्ने । तिनीहरूसँग प्रकाशन, अनुभव र विचारको आदान–प्रदान गर्ने । विश्वमा भएका महत्वपूर्ण राजनीतिक घटनाहरूका बारेमा अध्ययन गरी सुझाव पेस गर्ने । विभिन्न अन्तर्राष्ट्रिय कार्यक्रमहरूमा पार्टीको सहभागिताका लागि नाम सिफारिस गर्ने र त्यस्तो भ्रमणलाई पार्टीको हितमा अधिकतम उपयोगी बनाउन प्रयत्न गर्ने । विदेश भ्रमणमा जानेहरूबाट लिखित प्रतिवेदन प्राप्त गर्ने र निजहरूको अभिलेख राख्ने ।सरकारको विदेश नीतिको बारेमा अध्ययन गरी प्रतिवेदन पेस गर्ने । पार्टीको अङ्ग्रेजी मुखपत्रको सम्पादन तथा प्रकाशन गर्ने । पार्टीका दस्तावेज तथा प्रकाशनहरू र हाम्रो देश तथा पार्टीका बारेमा जानकारी गराउने सामाग्रीहरू आवश्यकता अनुसार विदेशी भाषामा अनुवाद गरेर वा लेखेर प्रकाशित गर्ने आदि कामको क्षेत्र निर्धारण गरेको छ ।

अर्थ तथा योजना विभाग
नेकपामा संगठन, स्कुल, विदेशपछि योजना विभागलाई पनि महत्त्वपूर्ण मानिन्छ । यो विभागमा पार्टी अध्यक्ष र प्रधानमन्त्री भइसकेका नेता झलनाथ खनाल प्रस्तावित छन् । देशको आर्थिक अवस्थाको यथार्थपरक समीक्षा तथा अन्तर्राष्ट्रिय आर्थिक प्रवृत्ति एवम् तिनको प्रभावको अध्ययन गर्ने । पार्टीले आर्थिक विकासका क्षेत्रमा समष्टिगत तथा क्षेत्रगतरूपमा अवलम्बन गर्नुपर्ने नीति र कार्यक्रमहरूबारे अध्ययन तथा विश्लेषण गरी सुझाव प्रस्तुत गर्ने । आर्थिक विकास र समृद्धिका स्रोतहरूको पहिचान गरी सुझाव प्रस्तुत गर्ने । पार्टी सरकारमा रहेको वा नरहेको अवस्थामा सरकारको नीति तथा कार्यक्रम, बजेट एवम् प्रतिबद्धता र तिनको कार्यान्वयनका सम्बन्धमा समिक्षा गरी सुझाव दिने ।

सार्वजनिक संस्थानहरूका सम्बन्धमा नीति प्रस्ताव तयार गरी पार्टीमा प्रस्तुत गर्ने । सञ्चालनमा रहेका सामाजिक सुरक्षाका कार्यक्रमको मूल्याङकन गर्ने र यससम्बन्धमा अवलम्बन गर्नुपर्ने नीति प्रस्ताव तयार गरी पार्टीसमक्ष प्रस्तुत गर्ने । नेपालले लिइरहेको वैदेशिक सहायताको प्रभाव मूल्याङ्कन गर्ने र सुझाव प्रस्तुत गर्ने । अर्थ र योजनासँग सम्बन्धित क्षेत्रका विशेषज्ञ, विज्ञ तथा योजनाविद्को अभिलेख राख्ने, उनीहरूसँग छलफल गर्ने र आर्थिक विकासका लागि उनीहरूको सहयोग प्राप्त गर्ने । नेपालले अवलम्बन गरिरहेको मौद्रिक, बैङ्किङ तथा वित्तीय नीति एवम् पुँजी बजारको प्रभावकारिताको मूल्याङ्कन गरी जनताको पहुँच बढाउन चाल्नुपर्ने कदमबारे प्रस्ताव प्रस्तुत गर्ने । सरकारका अर्थ तथा योजनासँग सम्बन्धित निर्णयका सम्बन्धमा अध्ययन गर्ने, तथ्य सब्कलन गर्ने र त्यस सम्बन्धमा पार्टी दृष्टिकोण तय गर्न सुझाव दिने। मुलुकले निर्माण गर्ने बृहत् परियोजनाहरू र आयोजना विकास सम्झौताहरूका बारेमा लिनुपर्ने नीतिबारे सुझाव प्रस्तुत गर्ने आदि काम यस विभागको जिम्मामा छन् ।

उद्योग तथा वाणिज्य विभाग
उद्योग विभागको काम मूलतः औद्योगिक क्षेत्रसँग जोडिएको छ । मुलुकको औद्योगिक अवस्था तथा वाणिज्य क्षेत्रको अध्ययन गरी प्रतिवेदन पेश गर्ने । उद्योग–व्यवसाय तथा वाणिज्यका क्षेत्रमा रहेका समस्या र समाधानका उपाय बारेमा अध्ययन गरी सुझाव पेश गर्ने । उद्योगी र व्यवसायीका समस्या र तिनको समाधानमा केन्द्रित भएर गोष्ठी तथा छलफल गर्ने र सुझाव सङ्कलन गर्ने । उद्योग तथा वाणिज्यसँग सम्बन्धित पार्टी नीतिमा समयोचित परिमार्जन गर्न प्रस्ताव पेस गर्ने । मुलुकको औद्योगीकरणको वर्तमान अवस्थाको अध्ययन गरी तीब्र औद्योगीकरणका लागि आवश्यक पर्ने नीतिबारे सुझाव प्रस्तुत गर्ने । उद्योग र वाणिज्यसँग सम्बन्धित क्षेत्रका विशेषज्ञ, विज्ञ तथा योजनाविद्को अभिलेख राख्ने र मुलुकको औद्योगीकरणका लागि उनीहरूको सहयोग तथा सुझाव प्राप्त गर्ने आदि तोकिएको छ ।

उपभोक्ता हित तथा आपूर्ति विभाग
नेकपामा उपभोक्ताको हितको पैरवी र संरक्षण गर्ने पनि विभाग तोकिएको छ । उपभोक्ता हित संरक्षणका सम्बन्धमा अध्ययन गर्ने र सुझाव प्रस्तुत गर्ने । उपभोक्ता हितलाई समयानुकूल विकास गर्न विषय विशेषज्ञहरूसँग छलफल गरी सुझाव लिने । उपभोक्ता हित संरक्षण र आपूर्तिका समस्या एवम् चुनौतीहरूको अध्ययन गरी पार्टीले लिनुपर्ने नीतिसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्ने । उपभोक्ता हित संरक्षणका क्षेत्रमा कार्यरत पार्टी कार्यकर्तालाई योग्य र सक्षम बनाउन भेला, गोष्ठी र प्रशिक्षणको योजना निर्माण गरी पेस गर्ने । उपभोक्ताको हित प्रतिकूल हुने गरी भइरहेका वस्तु र सेवाको प्रवाह या उपभोक्ता हितविपरीतका क्रियाकलाप विरुद्ध जनचेतना अभिवृद्धि गर्न पार्टीमा सुझाव प्रस्तुत गर्ने । उपभोक्ता हित प्रतिकूलका क्रियाकलाप विरुद्ध कानुनी प्रतिवाद र आवश्यकताअनुसार जनदबाब सिर्जना गर्न सम्बन्धित कमिटीसमक्ष सुझाव प्रस्तुत गर्ने । उपभोक्ता हित र आपूर्तिसँग सम्बन्धित क्षेत्रका विशेषज्ञ, विज्ञ तथा योजनाविद्को अभिलेख राख्ने र उपभोक्ता हित तथा सुशासनको क्षेत्रमा उनीहरूको सहयोग तथा सुझाव प्राप्त गर्ने आदि कामको क्षेत्र चयन गरिएको छ ।

कृषि तथा भूमिसुधार विभाग
कृषि र भूमि सुधारको फाँटमा काम गर्न नेकपाले छुट्टै विभागको परिकल्पना गरेको छ । जसले कृषि क्षेत्रका समस्या तथा समाधानका उपायहरूका सम्बन्धमा अध्ययन गरी पार्टी नीतिमा समयोचित परिमार्जन गर्न प्रस्ताव पेस गर्ने । कृषिको व्यावसायीकरण, आधुनिकीकरण एवम् कृषि उत्पादन वृद्धि गर्न र कृषकहरूले भोगिरहेका समस्याहरूको समाधान सम्बन्धमा नीति तथा योजना बनाई प्रस्तुत गर्ने । वैज्ञानिक भूमिसुधार, भू–उपयोग, भू–स्वामित्व एवम् भूमि–अधिकारसम्बन्धी नीति तथा भूमिसँग सम्बन्धित समस्याहरूको समाधानका उपायहरूसहितको सुझाव पेस गर्ने । कृषिसँग सम्बन्धित विभिन्न संघ–संस्थाहरूका सम्बन्धमा अध्ययन गरी अभिलेख राख्ने र तिनीहरूको सञ्चालनसम्बन्धी नीति प्रस्ताव गर्ने । किसानहरूलाई पार्टी नीतिअनुरूप प्रभावकारी रूपमा परिचालन गर्नका लागि कार्ययोजना पेस गर्ने । कृषि तथा भूमिसुधारसँग सम्बन्धित विशेषज्ञ, विज्ञ तथा योजनाविद्को अभिलेख राख्ने र कृषि तथा भूमिसुधारका क्षेत्रमा उनीहरूको सहयोग तथा सुझाव प्राप्त गर्ने । कृषि तथा भूमिसुधारसँग सम्बन्धित विषयहरूमा गोष्ठी तथा छलफल आयोजना गर्ने आदि काम गर्ने छ ।

कोष तथा आर्थिक व्यवस्थापन विभाग
नेकपाको आर्थिक विभाग निकै महत्त्वपूर्ण मानिन्छ । कार्यकर्तामा आधारित पार्टी भएकाले वर्षेनी करोडौँ रुपैयाँ पार्टी कोषमा दाखिला हुन्छ । त्यसका अतिरिक्त मन्त्री, सांसद, राजकीय नियुक्ति पाएका राजदूतसम्मले अनिवार्य लेवी (दायित्व) भुक्तान गर्नुपर्छ । एकीकृत पार्टीमा झण्डै आठ लाख क्रियाशील, संगठित सदस्य रहेको नेकपाले बताउँदै आएको छ । 

आर्थिक विभागले पार्टीको आर्थिक व्यवस्थापनसम्बन्धी कार्य गर्ने । पार्टीको आर्थिक अवस्था सुदृढ गर्न कार्ययोजना तयार गरी केन्द्रीय कमिटी समक्ष प्रस्तुत गर्ने । पार्टीको कोषलाई पार्टी नीति अनुरूप मितव्ययी ढङ्गले परिचालन गर्ने । पार्टीको हितमा अधिकतम आयस्रोत परिचालन गर्न प्रस्ताव गर्ने । वार्षिक बजेट (आय–व्यय) तयार गरी प्रस्तुत गर्ने । सम्बन्धित कमिटीको आय–व्यय नियमित रूपमा बैङ्किङ कारोबारमार्फत गर्ने, गर्न लगाउने । दोहोरो लेखाप्रणाली अन्तर्गत लेखा राख्ने र आन्तरिक लेखापरीक्षण गर्ने । लेखापरीक्षणबाट देखिएका बेरुजुहरू फछ्र्यौट गर्न लगाउने । पार्टीको आर्थिक विनियमले तोकेका कामहरू प्रभावकारी ढङ्गले कार्यान्वयन गर्ने । आर्थिक विनियम संशोधन गर्नुपरेमा केन्द्रीय आर्थिक विभागले आवश्यक प्रस्ताव तयार पारी केन्द्रीय कमिटी समक्ष पेश गर्ने । विभाग प्रमुखले दैनिक आर्थिक कार्य सम्पादन गर्ने । उक्त कार्य प्रमुखको अनुपस्थितिमा विभागले तोकेको व्यक्तिले गर्नेआदि कामको फाँट तोकिएको छ ।

खानेपानी तथा सरसफाइ विभाग
खानेपानी तथा सरसफाइका क्षेत्रमा काम गर्न नेकपाले अलग्गै विभागको परिकल्पना गरेको छ । स्थायी कमिटी सदस्यमध्ये एकजना यो विभागको प्रमुख चुनिनेछन् । जसले खानेपानी तथा सरसफाइको सम्बन्धमा सरकारले लिएका नीति तथा ऐन–कानुनहरूको अध्ययन गरी तिनलाई समयानुकू परिमार्जन गर्न सुझाव दिने । मुलुकको खानेपानी तथा सरसफाइको अवस्था र त्यस क्षेत्रका समस्या एवं समाधानका उपायबारे अध्ययन गरी प्रतिवेदन पेस गर्ने । खानेपानी तथा सरसफाइसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ऐन–कानुनहरूको अध्ययन गरी पार्टीले लिनुपर्ने नीतिका बारेमा सुझाव दिने । खानेपानी तथा सरसफाइको क्षेत्रका विज्ञहरूको अभिलेख राख्ने तथा त्यस क्षेत्रको विकासका लागि उनीहरूको सहयोग तथा सुझाव प्राप्त गर्ने । खानेपानी तथा सरसफाइको क्षेत्रका समस्याहरूको समाधान गर्न चाल्नुपर्ने कदमबारे अध्ययन गरी राय–सुझाव प्रस्तुत गर्ने आदि काम गर्ने छ ।

जलस्रोत, सिँचाइ तथा ऊर्जा विभाग
नेकपाले जलस्रोत, सिँचाइ तथा ऊर्जाका क्षेत्रमा परिभाषित काम गर्ने गरी अलग्गै विभाग बनाएको छ । जसले जलस्रोत, सिँचाइ र ऊर्जाका सम्बन्धमा सरकारले लिएका नीति तथा ऐन–कानुनहरूको अध्ययन गरी तिनलाई समयानुकूल परिमार्जन गर्न सुझाव दिने । मुलुकको जलस्रोत, सिँचाइ र ऊर्जाको अवस्था एवं त्यस क्षेत्रका समस्याको अध्ययन गरी तिनको समाधानका उपायबारे प्रतिवेदन पेस गर्ने । जलस्रोत, सिँचाइ र ऊर्जासम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ऐन–कानुनहरूको अध्ययन गरी पार्टीले लिनुपर्ने नीतिका बारेमा सुझाव दिने । जलस्रोत, सिँचाइ र ऊर्जा क्षेत्रका विज्ञहरूको अभिलेख राख्ने र त्यस क्षेत्रको विकासका लागि उनीहरूको सहयोग तथा सुझाव प्राप्त गर्ने । ऊर्जा सङ्कट समाधान गर्न चाल्नुपर्ने कदमबारे अध्ययन गरी राय–सुझाव प्रस्तुत गर्ने आदि काम गर्नेछ ।

निर्वाचन विभाग
नेकपाले निर्वाचन विभागको पनि परिकल्पना गरेको छ । सङ्घ, प्रदेश र स्थानीय तहको निर्वाचनसँग सम्बन्धित निकायहरूसँग सम्पर्क र समन्वय गर्ने । निर्वाचन क्षेत्र निर्धारणका बारेमा अध्ययन गरी प्रतिवेदन पेस गर्ने । निर्वाचन प्रणालीमा गर्नुपर्ने कानुनी, संरचनात्मक तथा व्यावहारिक सुधारका बारेमा अध्ययन गरी प्रतिवेदन पेस गर्ने । निर्वाचनमा पार्टीले उठाउने उम्मेदवारहरूका लागि मापदण्ड तयार गरी सुझाव पेस गर्ने । निर्वाचनमा पार्टीको भूमिकालाई प्रभावकारी बनाउन सुझाव पेस गर्ने । निर्वाचनसम्बन्धी विज्ञ–विशेषज्ञहरूको अभिलेख राख्ने । निर्वाचनलाई निष्पक्ष, धाँधलीरहीत र विश्वसनीय बनाउने सम्बन्धमा उनीहरूको सहयोग तथा सुझाव प्राप्त गर्ने यस विभागको जिम्मेवारी अन्तर्गत पर्छ ।

न्याय, कानुन तथा मानव अधिकार विभाग
कानुन र मानवाधिकारका क्षेत्रमा काम गर्न नेकपाले छुट्टै विभागको परिकल्पना गरेको छ । त्यसको नेतृत्व स्थायी कमिटी सदस्यमध्येका नेताले गर्नेछन् । देशको संविधान, ऐन–कानुन र नियमहरूको अध्ययन गरी तिनको कार्यान्वयनको स्थिति तथा सुधार एवम् परिमार्जनका सम्बन्धमा सुझाव दिने । सम्बन्धित पार्टी कमिटीलाई आवश्यक कानुनी परामर्श दिने र कानुनसम्बन्धी सामग्रीहरू तयार पार्ने । पार्टीसँग सम्बन्धित र पार्टीले तोकेका मुद्दा–मामिलाहरूको सन्दर्भमा आवश्यक सहयोग गर्ने । राष्ट्रिय र अन्तर्राष्ट्रिय महत्वका कानुनी विषयहरूमा सम्बन्धित क्षेत्रका विज्ञहरूसँग छलफल वा विचार विमर्श गरी प्राप्त निष्कर्षहरू पेस गर्ने । कानुन र न्याय क्षेत्रसँग सम्बन्धित विभिन्न सब्घ–संस्थाहरूसँग परामर्श गरी आवश्यक सुझाव लिने । कानुन र न्याय क्षेत्रसँग सम्बन्धित विशेषज्ञ, विज्ञ तथा योजनाविद्को अभिलेख राख्ने र कानुनी राज्यको विकासका लागि उनीहरूको सहयोग तथा सुझाव प्राप्त गर्ने । मानव अधिकारका विश्वव्यापि मान्यताहरू र तिनको कार्यान्वयन सम्बन्धी समस्याको अध्ययन गरी पार्टीलाई सुझाव दिनेआदि कामको क्षेत्र तय गरिएको छ ।

पर्यटन प्रवर्द्धन तथा नागरिक उड्डयन विभाग
स्थायी कमिटीको सदस्यले नेतृत्व गर्नेगरी पर्यटन प्रबद्र्धन तथा नागरिक उड्डय विभाग पनि नेकपाले सिर्जना गरेको छ । पर्यटन र नागरिक उड्डयन क्षेत्रको समग्र अवस्थाको अभिलेख राख्ने । पर्यटन र नागरिक उड्डयन क्षेत्रसँग सम्बधित मौजुदा ऐन, कानुन र संरचनाहरूलाई समयानुकूल अद्यावधिक गर्ने सम्बन्धमा विषय विशेषज्ञहरूसँग छलफल गरी सुझाव दिने । पर्यटन र नागरिक उड्डयनको क्षेत्रका समस्या र चुनौतीहरूको अध्ययन गरी पार्टीले लिनुपर्ने नीतिसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्ने । पर्यटन र नागरिक उड्डयन क्षेत्रमा कार्यरत पार्टी कार्यकर्तालाई योग्य र सक्षम बनाउन भेला, गोष्ठी र प्रशिक्षणको योजना निर्माण गरी पेस गर्ने । पर्यटन र नागरिक उड्डयन क्षेत्रको विकासका लागि स्थानीय साधन–स्रोत परिचालनका उपायहरूबारे विशेषज्ञहरूसँग छलफल गरी सुझाव दिने । पर्यटन क्षेत्रलाई राष्ट्रिय विकासको मार्गमा समाहित गर्न, जनसहभागिता जुटाउन, पार्टी पङ्क्तिलाई परिचालित गर्न एवम् पर्यटन क्षेत्रमा पार्टीलाई स्थापित गराउन आवश्यक योजना पेस गर्ने । पर्यटन र नागरिक उड्डयनको क्षेत्रसँग सम्बन्धित विशेषज्ञहरूको अभिलेख तयार पारी यस क्षेत्रको विकासका लागि उनीहरूको सहयोग तथा सुझाव प्राप्त गर्ने । पर्यटन र नागरिक उड्डयन क्षेत्रसम्बन्धी पार्टी नीति र योजनालाई जनसमक्ष पु¥याउन आवश्यक सामाग्री तयार गर्ने त्यस विभागको दायित्व तोकिएको छ ।

प्रचार तथा प्रकाशन विभाग
पार्टीका सिद्धान्त, नीति, कार्यक्रम र निर्णयहरू जनतामा स्थापित गर्न प्रचार तथा प्रकाशन विभाग महत्त्वपूर्ण मानिएको छ । यसको नेतृत्व सचिवालय तहकै नेताले गर्ने बुझिएको छ । स्कुल विभाग प्रमुख ईश्वर पोखरेलले पाए प्रचार नारायणकाजी श्रेष्ठले लिने कुरा छ । पार्टीका सिद्धान्त, नीति, कार्यक्रम र निर्णयहरू जनतामा स्थापित गर्न व्यापक प्रचार–प्रसार गर्ने र पार्टीका पक्षमा जनमत सिर्जना गर्ने । पार्टीको मुखपत्र, राजनीतिक पत्रिका, वेभसाइटलगायत विद्युतीय सञ्चारमाध्यम सञ्चालन गर्ने । पार्टीको आवश्यकतानुसार अन्य प्रचार सामग्रीहरू तयार गर्ने । पार्टीको सञ्चारसम्बन्धी नीति तयार गरी राज्यसम्बद्ध निकायहरूसँग समन्वय गरी कार्यान्वयन गर्न पार्टीसमक्ष प्रस्ताव गर्ने । सञ्चारमाध्यम तथा सञ्चारकर्मीहरूसँग पार्टीको सम्बन्धलाई सुमधुर बनाउन योजना बनाई पेस गर्ने । आवश्यकता अनुसार पत्रकार सम्मेलन, भेटघाट र अन्तरक्रिया गर्ने । पार्टी पक्षधर, योग्य र सक्षम सञ्चारकर्मी तयार गर्ने । स्वदेशी तथा विदेशी सञ्चारमाध्यम र संस्थाहरूसँग नियमित सम्बन्ध–सम्पर्क कायम गर्ने । सम्बन्धित विषयमा गोष्ठी, छलफल र अन्तरक्रियाहरू आयोजना गर्ने आदि प्रचार विभागका काम हुन् ।

प्रादेशिक मामला विभाग
प्रदेशको मामिला मिलाउन नेकपाले प्रादेशिक मामला विभागको परिकल्पना गरेको छ । जसले प्रदेशका समस्याहरूको अध्ययन गरी तिनको समाधानमा पार्टीले लिनुपर्ने नीतिवारे सुझाव पेस गर्ने । प्रदेश र केन्द्र तथा प्रदेश र स्थानीय तहबीचका सम्बन्धका अध्ययन गरी पार्टीले लिनुपर्ने नीतिबारे सुझाव पेस गर्ने । केन्द्र, प्रदेश र स्थानीय तहका अधिकारको सूची अध्ययन गरी त्यससम्बन्धी पार्टी नीति तय गर्न सहयोग तथा सुझाव गर्ने । प्रत्येक प्रदेशको विकासका लागि पार्टीले लिनुपर्ने नीतिका सम्बन्धमा सुझाव पेस गर्ने । सम्बन्धित विषयमा गोष्ठी, छलफल र अन्तरक्रियाहरू आयोजना गर्ने र सुझाव सङ्कलन गर्ने आदि काम गर्नेछ ।

पुस्तकालय तथा अभिलेख विभाग
पुस्तकालय तथा अभिलेख विभागले पार्टीको केन्द्रीय पुस्तकालयलाई आधुनिक तथा वैज्ञानिक ढङ्गले व्यवस्थापन गर्ने । पुस्तकालयलाई ई–पुस्तकालयको स्तरमा विकास गर्ने काम गर्नेछ । उपलब्ध पुस्तक, बुलेटिन तथा पत्रपत्रिकालाई स्तर अनुरूप वर्गीकरण गरी सूचीकृत गर्ने । राजनीति, इतिहास, विज्ञान तथा प्रविधिसँग सम्बन्धित सामाग्रीहरू सङ्कलन गर्ने । कम्युनिस्ट आन्दोलनसँग सम्बन्धित दस्तावेज, पुस्तक तथा अभिलेखहरू सङ्ग्रह गर्ने । पार्टीका सङगठनात्मक अभिलेख सङ्कलन तथा व्यवस्थापन गर्ने । सार्वजनिक गर्न योग्य पार्टीका संगठनात्मक अभिलेख सार्वजनिक गर्ने । पार्टी स्कुल विभागले निर्धारण गरेका पाठ्यक्रम तथा पाठ् यपुस्तकहरूको सङ्ग्रह गर्ने । अन्तर्वार्ता, संवाद र कुराकानीका माध्यमबाट कम्युनिस्ट तथा लोकतान्त्रिक आन्दोलनका अग्रज व्यक्तित्वहरूसँगको अनुभव तथा आन्दोलनको इतिहासको श्रव्य–दृष्य अभिलेख राख्नेआदि काम यस विभागको हुनेछ ।

भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभाग
भौतिक पूर्वाधार तथा यातायात क्षेत्रको वृहत्तर हितका लागि नेकपाले सो सम्बन्धी अलग्गै विभाग खडा गरेको छ । जसको नेतृत्व स्थायी कमिटी तहका नेताले गर्नेले छन् । भौतिक पूर्वाधार तथा यातायातको विकासका लागि मौजूदा ऐन, कानुन र संरचनाहरूको अध्ययन गर्ने र तिनलाई अद्यावधिक गर्न सुझाव दिने । भौतिक पूर्वाधार तथा यातायात क्षेत्रका समस्या र चुनौतीहरूको अध्ययन गरी पार्टीले लिनुपर्ने नीतिसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्ने । पूर्वाधार विकासका निम्ति क्षेत्रगत एवं विषयगत नीतिहरू तयार पार्न पार्टीमा सुझाव प्रस्तुत गर्ने । भौतिक पूर्वाधार तथा यातायातसँग सम्बन्धित विशेषज्ञहरूको अभिलेख तयार पारी भौतिक पूर्वाधार र यातायात विकासका लागि उनीहरूको सहयोग तथा सुझाव प्राप्त गर्ने । पूर्वाधारको विकास र यातायातसँग सम्बन्धित नवीन प्रविधि र प्रयोगको अध्ययन गरी मुलुक सुहाउँदो प्रविधि प्रवर्द्धन गर्न सुझाव प्रस्तुत गर्नेआदि काम भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभागको हुने छ ।

युवा तथा खेलकुद विभाग
युवा शक्तिको समग्र अवस्थाको अभिलेख तयार गर्ने । युवाहरूका बारेमा मौजुदा ऐन, कानुन र संरचनाहरूलाई समयानुकूल अद्यावधिक गर्न सुझाव तयार गर्ने । युवाहरूका समस्या र सरोकारहरूको अध्ययन गरी पार्टीले लिनुपर्ने नीतिसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्ने । युवा शक्तिलाई योग्य र सक्षम बनाउन योजना निर्माण गरी सुझाव पेस गर्ने । मुलुकमा सञ्चालित खेलकुद विकासको सम्भाव्यताबारे प्रतिवेदन तयार गर्ने । खेलकुदको विकासका निम्ति विशेषज्ञहरूसँग छलफल गरी सुझाव दिने । खेलकुदलाई अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धी बनाउन योजना बनाई पेस गर्ने । बेरोजगार युवाहरूलाई उत्पादन कार्यमा सहभागी गराउन कार्ययोजना बनाई पार्टीमा पेस गर्ने । युवाहरूका बीचमा पार्टीलाई स्थापित गराउने योजना पेस गर्ने । युवा र खेलकुद क्षेत्रसँग सम्बन्धित विशेषज्ञहरूको अभिलेख तयार पारी युवा र खेलकुद क्षेत्रको विकासका लागि सहयोग तथा सुझाव प्राप्त गर्नेआदि काम गर्न नेकपाले युवा तथा खेलकुद विभागको परिकल्पना गरेको छ । जसको नेतृत्व स्थायी कमिटी तहका नेताले गर्नेछन् ।

राजकीय मामला तथा सुशासन विभाग
सरकारका विभिन्न निकायहरूबाट भएका कामकार्वाहीहरूका सम्बन्धमा अध्ययन गर्ने र सुझाव प्रस्तुत गर्ने । राजनीतिक नियुक्तिका सम्बन्धमा पार्टीलाई नीतिगत सुझाव दिने । राजनीतिक एवम् प्रशासनिक क्षेत्रका योग्य व्यक्तिहरूको विवरण तयार गर्ने र प्रस्तुत गर्ने । राजनीतिक नियुक्ति गरिएका व्यक्तिहरूको विवरण सब्कलन र अद्यावधिक गर्ने । भ्रष्टाचार नियन्त्रण र सुशासनको पक्षमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभवहरूको अध्ययन गर्ने र पार्टीलाई सुझाव दिने । राजकीय मामलासँग सम्बन्धित पदाधिकारीहरू तथा विज्ञहरूको अभिलेख राखी उनीहरूको सहयोग तथा सुझाव प्राप्त गर्ने । राजकीय मामला तथा सुशासनसँग सम्बन्धित समस्या र समाधानका उपायहरूको बारेमा गोष्ठी तथा छलफल आयोजना गर्ने । राजकीय मामला तथा सुशासनसँग सम्बन्धित काममा अन्य विभागहरूसँग समन्वय गर्ने कामको नेतृत्व गर्न राजकीय मामला तथा सुशासन विभाग गठन गरेको छ । र, यसको नेतृत्व पनि स्थायी कमिटी सदस्यमध्येबाटै तोकिने छ ।

राष्ट्रिय सुरक्षा प्रवर्द्धन विभाग
नेकपाले राष्ट्रिय सुरक्षा नीति तर्जुमा गर्न राष्ट्रिय सुरक्षा प्रवद्र्धन विभाग खडा गरेको छ । यस विभागले पार्टीले लिनुपर्ने राष्ट्रिय सुरक्षा नीति सम्बन्धमा अध्ययन गरी सुझाव प्रस्तुत गर्ने । राष्ट्रिय सुरक्षालाई समयानुकूल विकास गर्न विज्ञहरूसँग छलफल गरी सुझाव दिने । राष्ट्रिय सुरक्षाका समस्या र चुनौतीहरूको अध्ययन गरी पार्टीमा सुझाव दिने । राष्ट्रिय सुरक्षामा प्रतिकूल प्रभाव पार्न सक्ने विषयका बारेमा अध्ययन गरी पार्टीलाई सुझाव दिने ।राष्ट्रिय सुरक्षा विज्ञहरूको सूची तयार गरी उनीहरूको सहयोग तथा सुझाव प्राप्त गर्नेआदि काम गर्ने छन् ।
वन तथा वातावरण विभाग

मुलुकको वनजङ्गल, जैविक विविधता तथा खनिज पदार्थको अवस्था र त्यस क्षेत्रका समस्या एवं समाधानका उपायबारे अध्ययन गरी प्रतिवेदन पेस गर्ने । वनजङ्गल, जैविक विविधता तथा खनिज पदार्थका सम्बन्धमा सरकारले लिएका नीति तथा ऐन–कानुनहरूको अध्ययन गरी तिनलाई समयानुकूल परिमार्जन गर्न सुझाव दिने । वनजङ्गल, जैविक विविधता तथा खनिज पदार्थका क्षेत्रमा कार्यरत राष्ट्रिय तथा अन्तराष्ट्रिय सङघ–संस्थाहरूसँग सम्पर्क र समन्वय गर्ने । वन तथा वातावरणसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ऐन– कानुनहरूको अध्ययन गरी पार्टीले लिनुपर्ने नीतिका बारेमा सुझाव दिने । वनजङ्गल, जैविक विविधता तथा खनिज पदार्थको क्षेत्रमा कार्यरत व्यक्ति, संस्था र विज्ञहरूसँग सम्पर्क राखी अन्तक्र्रिया, गोष्ठी, छलफल गर्ने र उनीहरूबाट सुझाव सल्लाह लिने । औद्योगिकीकरण एवम् ठूला आयोजना निर्माण र वातावरण संरक्षणका बीचमा सन्तुलन कायम राख्न पार्टीले लिनुपर्ने नीतिहरूका सम्बन्धमा सुझाव दिने । वातावरण संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय सन्धि–सम्झौताको अध्ययन गरी सुझाव दिने । वातावरणलाई प्रतिकूल असर पार्ने वस्तुहरूको उत्पादन तथा उपभोग, औद्योगिक प्रदूषण र हानिकारक रासायनिक फोहोरको व्यवस्थापन तथा नियन्त्रण गर्ने सम्बन्धमा आवश्यक नीति तयार गरी कार्यान्वयन गर्न पार्टीमा प्रस्ताव गर्ने काम यस विभागको हुनेछ । नेतृत्व स्थायी कमिटीकै सदस्य हुनेछ ।

विज्ञान तथा प्रविधि विभाग
विज्ञान तथा प्रविधिको विकासका लागि पार्टीले लिनुपर्ने नीतिसम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने । विज्ञान र प्रविधि क्षेत्रका समस्या र चुनौतीहरूको अध्ययन गरी पार्टीलाई सुझाव दिने । विज्ञान र प्रविधिको विकासका माध्यमबाट उत्पादकत्व बृद्धि, श्रमको सरलीकरण तथा परम्परागत प्रविधि तथा सीपहरूको आधुनिकीकरणका लागि अध्ययन गरी प्रतिवेदन प्रस्तुत गर्ने । विज्ञान तथा प्रविधिसम्बन्धी विषय विज्ञहरूको अभिलेख तयार गर्दै यस क्षेत्रको विकासमा सहयोग प्राप्त गर्ने । विज्ञान तथा प्रविधिसम्बन्धी मौजुदा ऐन, कानुन र संरचनाहरूलाई समयानुकूल अद्यावधिक गर्ने सम्बन्धमा विशेषज्ञहरूसँग छलफल गरी सुझाव दिने । विज्ञान तथा प्रविधिसम्बन्धी भेला, गोष्ठी र प्रशिक्षणको योजना निर्माण गरी पेस गर्ने । वैज्ञानिक अध्ययन, अन्वेषण र अनुसन्धानका क्षेत्रका प्रतिभाहरूलाई राज्य र पार्टीका तर्फबाट प्रोत्साहित गर्न सुझाव दिने विज्ञान तथा प्रविधि विभागको काम हुनेछ । यसको नेतृत्व पनि स्थायी कमिटी सदस्यबाटै तोकिनेछ ।

शिक्षा तथा मानवस्रोत विभाग
वैज्ञानिक तथा जीवनोपयोगी शिक्षा नीतिको विकासका निम्ति वर्तमान शैक्षिक स्थिति र शिक्षा नीतिको समग्र अध्ययन गरी प्रतिवेदन पेस गर्ने । शैक्षिक प्रतिष्ठानहरूको अभिलेख राखी सम्बन्धित क्षेत्रका समस्याहरूको अध्ययन प्रतिवेदन पेस गर्ने । वर्तमान शिक्षा प्रणालीको विस्तृत अध्ययन गरी सुझाव पेस गर्ने । शैक्षिक क्षेत्रसँग सम्बन्धित विषयमा आवश्यकतानुसार गोष्ठी र छलफल कार्यक्रमहरू आयोजना गर्ने । मुलुकलाई आवश्यक शैक्षिक जनशक्ति निर्माण गर्न नीति तथा योजना बनाई पेस गर्ने । शिक्षामा निजी क्षेत्रको लगानीको प्रभाव र सबैका लागि गुणस्तरीय शिक्षा सुनिश्चित गर्न अपनाउनुपर्ने नीतिका सम्बन्धमा अध्ययन गरी सुझाव दिने । मुलुकमा सञ्चालित विश्वविद्यालयहरू र नयाँ खोलिने विश्वविद्यालयहरूसम्बन्धी लिनुपर्ने नीतिका बारेमा आवश्यक अध्ययन गरी राय–सुझाव पेस गर्ने । मुलुकलाई आवश्यक प्राविधिक जनशक्ति उत्पादनका निम्ति लिनुपर्ने प्राविधिक शिक्षासम्बन्धी नीति निर्माणमा सुझाव दिनेआदि काम गर्न नेकपाले शिक्षा तथा मानवस्रोत विभागको परिकल्पना गरेको छ । यसको नेतृत्व पनि स्थायी कमिटी सदस्यमध्येबाटै चयन हुनेछ ।

श्रम तथा रोजगार विभाग
श्रम स्थिति, श्रम सम्बन्ध र रोजगारीको अवस्था हेर्न नेकपाले यससम्बन्धी विभाग नै तयार गरेको छ । जसले मुलुकको वर्तमान श्रम स्थिति, श्रम सम्बन्ध र रोजगारीको समग्र अवस्थाको प्रतिवेदन तयार गर्ने । श्रम सम्बन्धसँग सम्बन्धित विद्यमान नियम, कानुन र संरचनाहरूका सम्बन्धमा अध्ययन गरी समयानुकूल परिमार्जन गर्नुपर्ने विषयमा सुझाव दिने । श्रम र रोजगारसम्बन्धी पार्टी नीतिमा समयोचित परिमार्जन गर्न प्रस्ताव पेश गर्ने । श्रम क्षेत्रका समस्या तथा समाधानका उपायहरूका सम्बन्धमा अध्ययन गरी प्रतिवेदन पेस गर्ने । श्रम सम्बन्धसँग सम्बन्धित विषयहरूमा गोष्ठी आयोजना गर्ने । रोजगारीका क्षेत्रहरूको पहिचान गर्दै रोजगारी वृद्धिका उपायहरूबारे सुझाव प्रस्तुत गर्ने । वैदेशिक रोजगारीलाई व्यवस्थित, मर्यादित, सुरीक्षत र परिणाममुखी बनाउन गर्नुपर्ने कामबारे अध्ययन गरी प्रतिवेदन दिने। परिवर्तित अवस्थामा ट्रेड युनियन आन्दोलनका अभिभारा र समस्याहरूका बारेमा सुझाव दिने यस विभागको काम तोकिएका छन् ।

सङ्घीय संसदीय विभाग
सङ्घीयताको सिद्धान्त र यसको व्यावहारिक प्रयोगका लागि नेकपाले यससम्बन्धी छुट्टै विभाग खडा गरेको छ ।

सङ्घीयताको सिद्धान्त र यसको व्यावहारिक प्रयोग सम्बन्धमा पार्टी दृष्टिकोणलाई समृद्ध तुल्याउन प्रस्ताव तगार गर्ने । सङघ, प्रदेश र स्थानीय सरकारहरूबीचको आपसी सम्बन्ध सुमधुर र जनमैत्री बनाउन लिनुपर्ने नीति र चाल्नुपर्ने कदमहरूबारे पार्टीलाई सुझाव दिने । जनप्रतिनिधि संस्था, राज्यका विभिन्न निकाय तथा राजनीतिक दलहरूमा महिला, दलित, आदिवासी जनजाति, मधेसी, मुस्लिम, लोपोन्मुख एवं अल्पसङ्ख्यक जाति एवम् समुदाय र दुर्गम एवम् पिछडिएको क्षेत्रको प्रतिनिधित्व सुनिश्चित गर्ने र नेतृत्व विकास गर्ने सम्बन्धमा उपयुक्त नीति निर्माण गर्न सुझाव प्रस्तुत गर्ने । समावेशीकरणसम्बन्धी राज्यका संविधान, ऐन कानुन र तिनको कार्यान्वयनको अवस्थासम्बन्धी अध्ययन गरी सुझाव दिने । सङ्घीय संसदीय दललाई पार्टीको सिद्धान्त, कार्यक्रम र नीतिअनुरूप सञ्चालन गर्न सहयोग पुर्याउने । दलका नेताको परामर्शमा दलका सदस्यहरूलाई संसद्का समिति तथा कार्यदलहरूमा मनोनयनका लागि सिफारिस गर्ने । दलको नेताको परामर्शमा दलका सदस्यहरूलाई विभिन्न विदेशी प्रतिनिधिमण्डल तथा कार्यक्रमहरूमा सहभागी गराउन सम्बन्धित निकायमा सिफारिस गर्ने । दल, बोर्ड र समूहका सदस्यहरूलाई पार्टीको नीति, योजना र उद्देश्यअनुरूप परिचालन गर्न प्रस्ताव प्रस्तुत गर्ने, यसको नियमित अनुगमन गर्ने ।

दलको भूमिकालाई प्रभावकारी बनाउन आवश्यक योजना निर्माण गर्ने, आवश्यकताअनुसार विशेषज्ञहरूको सहयोग लिने र दलका सदस्यहरूको क्षमता अभिवृद्धि गर्न प्रशिक्षणको व्यवस्था गर्ने । दलका सांसदहरूको अभिलेख राख्ने । दलको कुनै सदस्यलाई अनुशासनात्मक कारबाही गर्नुपरेमा केन्द्रीय कमिटीसमक्ष सिफारिस गर्ने । दलको विधान संशोधनका लागि लिखित प्रस्ताव तयार गर्ने र दलद्वारा पारित विधान अनुमोदनका लागि केन्द्रीय कमिटीसमक्ष प्रस्तुत गर्ने । दलको विधानको कार्यान्वयनमा कुनै बाधा अड्काउ परेमा त्यस्तो बाधा अड्काउ फुकाउन केन्द्रीय कमिटीमा सुझाव प्रस्तुत गर्ने । दलको काम र भूमिकाको सम्बन्धमा आवधिक रूपमा समीक्षा प्रतिवेदन तयार गरी केन्द्रीय कमिटीसमक्ष प्रस्तुत गर्ने । सङ्घीय संसद्मा दलले निर्वाह गरेको भूमिकाको प्रचार–प्रसार गर्ने । सङ्घीय संसदीय दल र संसद् तथा सरकारबीच सम्पर्क तथा समन्वय कायम गर्नेआदि काम सङ्घीय संसदीय विभागको हुनेछ । यो विभाग केन्द्रमा मात्रै हुनेछ । प्रदेश र जिल्ला तहको कमिटीमा हुनेछैन । सङ्गठन विभागपछि महत्त्वपूर्ण मानिएको यस विभागको नेतृत्व पूर्वसभामुख, संविधानसभा अध्यक्ष सुवास नेम्वाङले गर्ने सम्भावना छ ।

समाज कल्याण विभाग
गैरसरकारी संस्था र सामाजिक क्षेत्रसँग सम्बन्धित विषयमा नीति निर्माण गर्न सुझाव पेस गर्ने । सामाजिक क्षेत्रको कामसँग सम्बन्धित विषयमा गोष्ठी–सेमिनार आदिको आयोजना गर्ने । गैरसरकारी संस्थासम्बन्धी नीति तथा कानुनी व्यवस्थालाई राष्ट्रहित र जनहित अनुकूल बनाउन सुझाव प्रस्तुत गर्ने । नेपालमा गैरसरकारी संस्थाहरूको उपस्थिति, भूमिका र सम्भाव्यताबारे अध्ययन गर्ने र प्रतिवेदन तयार गर्ने । त्यस्ता संस्थाहरूमा पार्टीका नेता, कार्यकर्ता तथा सदस्यहरूको भूमिकासम्बन्धी नीति प्रस्ताव गर्ने । सामाजिक सुरक्षासम्बन्धी राज्यका नीतिमा समयानुकूल सुधारका लागि सुझाव दिने । ज्येष्ठ नागरिक, बालबालिका, अपाब्गता भएका व्यक्ति, एकल महिला, दलित, लोपोन्मुख समुदाय एवम् असहायहरूको सामाजिक सुरक्षाका सम्बन्धमा आवश्यक नीति निर्माण गर्न सुझाव दिने । महिला हिंसा, बालश्रम, जीउ मास्ने–बेच्ने आदि अपराध रोक्न र त्यससम्बन्धी प्रभावकारी नीति, ऐन र कानुन निर्माणका लागि सुझाव दिने । सामाजिक सुरक्षासम्बन्धी अन्तर्राष्ट्रिय कानुन एवं सन्धि– सम्झौताहरूको अध्ययन गरी राष्ट्रिय सन्दर्भमा तिनको औचित्य र उपयोगिताबारे सुझाव दिने । महिला, दलित, आदिवासी जनजाति, मधेसी, लोपोन्मुख एवं अल्पसङ्ख्यक समुदाय र पिछडिएको क्षेत्रसँग सम्बन्धित विषयमा गोष्ठी तथा छलफल कार्यक्रम आयोजना गर्ने र यस सम्बन्धमा पार्टीले लिनुपर्ने नीति प्रस्ताव गर्ने दायित्व समाज कल्याण विभागको हुने छ ।

सहकारी तथा गरिबी निवारण विभाग
पार्टीको सहकारी तथा गरिबी निवारणसम्बन्धी नीति, प्रस्ताव तथा योजनाहरू तयार गरी पेस गर्ने । सहकारी संस्था र तिनका गतिविधि अद्यावधि गर्दै तिनीहरूको जनमुखी एवं प्रभावकारी सञ्चालनसम्बन्धी योजना तयार गरी पेस गर्ने । सरकारको सहकारी नीति तथा गरिबी निवारण कार्यक्रमका बारेमा अध्ययन गरी सुझाव दिने । सहकारी तथा गरिबी निवारणसम्बन्धी गोष्ठी र छलफल कार्यक्रमको आयोजना गर्ने । सहकारीको विकास र प्रबद्र्धन गरी सामाजिक परिवर्तनको अभियानलाई ठोस सहयोग पुर्याउन सुझाव दिने । पार्टी पब्क्तिलाई सहकारी अभियानमा संलग्न एवं सक्रिय बनाउन तालिम तथा प्रशिक्षणको आयोजना गर्ने र सहकारीसम्बन्धी प्रकाशन तथा प्रचार गर्ने । सहकारी तथा गरिबी निवारण क्षेत्रसँग सम्बन्धित विशेषज्ञहरूको अभिलेख तयार गर्ने । सहकारी आन्दोलन र गरिबी निवारण अभियानमा उनीहरूको सहयोग तथा सुझाव प्राप्त गर्नेआदि काम सहकारी तथा गरिबी निवारण विभागको हुनेछ ।

सहरी विकास विभाग
सहरी विकासको अवधारणा, उद्देश्य र लक्ष्य प्रस्ट पार्ने । अव्यवस्थित सहरलाई समयानुकूल विकास गर्न विषय विशेषज्ञहरूसँग छलफल गरी सुझाव दिने । सहरी विकासका समस्या र चुनौतीहरूको अध्ययन गरी पार्टीले लिनुपर्ने नीतिसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्ने । सहरी विकासका क्षेत्रमा कार्यरत पार्टी कार्यकर्तालाई योग्य र सक्षम बनाउन भेला, गोष्ठी र प्रशिक्षणको योजना निर्माण गरी पेस गर्ने । सहरी विकासका लागि स्थानीय साधन–स्रोत परिचालनका उपयायहरूबारे विशेषज्ञहरूसँग छलफल गरी सुझाव दिने । सडक, विद्युत्, दूरसञ्चार, पर्यटन, खानेपानी र सहरी विकासजस्ता पूर्वाधार विकासका निम्ति क्षेत्रगत एवम् विषयगत नीतिका सम्बन्धमा पार्टीमा सुझाव पेस गर्ने । सहरी विकाससँग सम्बन्धित विशेषज्ञहरूको अभिलेख तयार पार्ने र उनीरूबाट सहयोग तथा सुझाव प्राप्त गर्ने काम सहरी विकास विभागको छुट्टयाइएको छ ।

सामान्य प्रशासन विभाग
सामान्य प्रशासनसँग सम्बन्धित विशेषज्ञहरूको अभिलेख तयार गर्ने । सामान्य प्रशासनलाई प्रभावकारी ढंगले सञ्चालन गर्नका निम्ति मौजुदा ऐन, कानुन र संरचनाहरूलाई समयानुकूल अद्यावधिक गर्ने सम्बन्धमा विषय विशेषज्ञहरूसँग छलफल गरी सुझाव दिने । यस क्षेत्रको समग्र अध्ययन गरी पार्टीले लिनुपर्ने नीतिसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्ने । यस क्षेत्रमा कार्यरत जनशक्तिलाई योग्य र सक्षम बनाउन योजना निर्माण गरी पेस गर्ने । प्रशासनको प्रभावकारिताका सम्बन्धमा विशेषज्ञहरूसँग छलफल गरी सुझाव सङकलन गर्ने । सेवाग्राहीहरूले सहज ढब्गले सेवा प्राप्त गर्ने कुराको सुनिश्चित गर्न पार्टीलाई सुझाव दिनेआदि काम सामान्य प्रशासन विभागको हुनेछ ।

साहित्य, कला तथा संस्कृति विभाग
पार्टीको साहित्य, कला तथा संस्कृतिसम्वन्धी नीतिलाई समृद्ध र प्रभावकारी बनाउन अध्ययन गरी प्रस्ताव पेस गर्ने । जाति, भाषा, धर्म तथा संस्कृतिसम्बन्धी समस्या तथा समाधानका उपाय सम्बन्धमा अध्ययन गरी सुझावसहितको प्रतिवेदन पेस गर्ने । विभिन्न जाति, जनजाति तथा समुदायका संस्कृति, भाषा, साहित्य र लिपिको संरक्षण तथा विकासमा सहयोग पु¥याउन अपनाउनु पर्ने नीतिका सम्बन्धमा अध्ययन गरी सुझाव प्रस्तुत गर्ने । जाति, भाषा, धर्म, संस्कृति, साहित्य र कलासँग सम्बन्धित विभिन्न सङ्घ–संस्थाहरूका सम्बन्धमा अध्ययन गरी तिनका सम्बन्धमा अपनाउनु पर्ने नीति प्रस्ताव गर्ने । जाति, भाषा, धर्म, संस्कृति, साहित्य र कलासँग सम्बन्धित पार्टी नीतिमा समयोचित परिमार्जन गर्न प्रस्ताव पेस गर्ने । प्रगतिशील एवम् जनमुखी संस्कृति र संस्कारको विकासका लागि योजना बनाई पेस गर्ने । पार्टीका नेता–कार्यकर्ताहरूले अवलम्वन गर्नुपर्ने आचरण र समाजको सांस्कृतिक रूपान्तरणका सम्बन्धमा सुझाव प्रस्तुत गर्ने । साहित्यिक र सांस्कृतिक पत्रिका प्रकाशन गर्ने । जाति, भाषा, धर्म र संस्कृति एवम् जनवादी साहित्य र संस्कृतिसम्बन्धी विषयमा गोष्ठी, छलफल, कार्यशाला आदिको आयोजना गर्ने । सांस्कृतिक तथा साहित्यिक संस्थाहरू र विभिन्न क्षेत्रका साहित्यकार तथा कलाकर्मीहरूसँग सम्बन्ध विस्तार गर्नेआदि काम साहित्य, कला तथा संस्कृति विभागको हुनेछ । यसविभागको प्रमुख प्रदीप ज्ञवाली बन्ने सम्भावना छ । माओवादी केन्द्रको भागमा परे मणि थापा त्यसका लागि योग्य हुने नेकपावृत्तमा चर्चा छ ।

स्थानीय तह विभाग
विशेषज्ञहरूसँग छलफल गरी स्थानीय तहको विकासका लागि मौजुदा ऐन, कानुन र संरचनाका सम्बन्धमा सुझाव दिने । यस क्षेत्रको समग्र अध्ययन गरी पार्टीले लिनुपर्ने नीतिसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्ने । यस क्षेत्रमा कार्यरत पार्टी कार्यकर्तालाई योग्य र सक्षम बनाउन भेला, गोष्ठी र प्रशिक्षणको योजना निर्माण गरी पेस गर्ने । स्थानीय सरकारको सेवा र कामलाई जनमुखी र प्रभावकारी बनाउन सुझाव दिने । स्थानीय विकासका लागि स्थानीय साधन स्रोत परिचालनबारे विज्ञहरूसँग छलफल गरी सुझाव दिने । स्थानीय सरकारलाई पार्टी नीतिअनुरूप प्रभावकारी ढङले सञ्चालन गर्न योजना बनाई पेस गर्ने । स्थानीय विकासलाई राष्ट्रिय विकासको समग्र धारणाअनुरूप अगाडि बढाउन तथा स्थानीय विकासमा जनसहभागिता जुटाउनका लागि पार्टी पङ्क्ति परिचालित गर्न नीति तथा योजना पेस गर्ने । स्थानीय विकाससँग सम्बन्धित विशेषज्ञहरूको अभिलेख तयार पार्ने । स्थानीय विकाससम्बन्धी नीति तयार पार्न आवश्यक कार्यक्रमहरूको आयोजना गर्ने काम स्थानीय तह विभागको हुनेछ । यो विभाग राजेन्द्र पाण्डेले पाउने सम्भावना छ । स्थानीय विकासमन्त्री भइसकेका पाण्डे स्थानीय तहको विकासको ज्ञाता मानिन्छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या विभाग
स्वास्थ्य तथा जनसंख्या क्षेत्रसँग सम्बन्धित नीतिमा परिमार्जन र विकास गर्न प्रस्ताव पेस गर्ने । स्वास्थ्य क्षेत्रका समस्या तथा समाधानका सम्बन्धमा अध्ययन गरी प्रतिवेदन पेस गर्ने । स्वास्थ्य क्षेत्रसँग सम्बन्धित विभिन्न सब्घ–संस्थाहरूका सम्बन्धमा अध्ययन गरी अभिलेख राख्ने । स्वास्थ्य क्षेत्रसँग सम्बन्धित सङ्गठनहरूको सम्बन्धमा नीतिगत प्रस्ताव प्रस्तुत गर्ने । स्वास्थ्य क्षेत्रसँग सम्बन्धित विषयहरूमा गोष्ठी तथा छलफल आयोजना गर्ने । राष्ट्रिय जनसङ्ख्या नीति निर्माण गर्न विशेषज्ञहरूसँग छलफल गरी सुझाव दिने । आवश्यकताअनुसार स्वास्थ्य शिविरहरू सञ्चालन गर्ने काम स्वास्थ्य तथा जनसङ्ख्या विभागको हुनेछ ।

अक्षर काका

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ad