काठमाडौं । आर्थिक वर्ष २०७५–७६ सुरु भएयता मर्जर तथा एक्विजिसनका लागि नेपाल राष्ट्र बैंकमा आवेदन दिनेमध्ये १० बैंक तथा वित्तीय संस्थाले एकीकृत कारोबार सुरु गरेका छन् । केन्द्रीय बैैंकमा गाभ्ने र प्राप्तिको लागि अनुमति माग्ने २१ जोडी (४२ वटा) बैंक तथा वित्तीय संस्थामध्ये १० वटाले प्रक्रिया पूरा गरेका हुन् ।
नेपाल राष्ट्र बैंकका अनुसार सप्तकोशी विकास बैंक र कावेली विकास बैंक मर्ज भएर सप्तकोशी विकास बैंक बनेको छ । १ः०.९६ स्वाप रेसियो मर्ज भएको क्षेत्रीय बैंकले गत असार २२ गतेदेखि एकीकृत कारोबार सुरु गरेको हो ।
यसैगरी तिनाउ विकास बैंक र मिसन डेभलपमेन्ट बैंक १ः१ को स्वाप रेसियोमा मर्ज भएर बनेको तिनाउ मिसन डेभलपमेन्ट बैंकले गत असार ३१ देखि एकीकृत कारोबार सुरु गरेको छ ।
देवः विकास बैंकले पनि वेस्टर्न डेभलपमेन्ट बैंकलाई १ः१ को स्वाप रेसियोमा प्राप्ति गरेको छ । यसबाट बनेको नयाँ बैंक देवः विकास बैंकको एकीकृत कारोबार गत असार ३० गते सुरु भएको हो । सोही दिन साधना लघुवित्तले आर्थिक समृद्धि लघुवित्तलाई १ः०.८ को स्वाप रेसियोमा प्राप्ति गरेर बनेको साधना लघुवित्तको एकीकृत कारोबार पनि सुरु भएको छ ।
यसैगरी असार ३० गते नै नेपाल इन्भेस्टमेन्ट बैंकले १ः०.३३ को स्वाप रेसियोमा जेबिल्स फाइनान्सलाई प्राप्ति गरेर एकीकृत कारेबार सुरु गरिसकेको छ ।
मर्ज भएर तथा प्राप्ति गरेर एकीकृत कारोबार सुरु गर्ने ५ बैंक तथा वित्तीय संस्थामध्ये दुई वटाको दोस्रो बजारमा पनि कारोबार सुरु भएको छ । सप्तकोशी विकास बैंक र तिनाउ मिसन डेभलपमेन्ट बैंकले दोस्रो बजारमा कारोबार सुरु गरेका हुन् ।
यीमध्ये देवःले गत साउनमा, साधना र सप्तकोशीले माघमा तथा इन्भेस्टमेन्ट बैंकले चैतमा मर्जर र एक्विजिसनका लागि राष्ट्र बैंकमा आवेदन दिएका थिए ।
मर्जर तथा एक्विजिसन प्रक्रियामा रहेका अन्य बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकमा आवेदन दिए पनि स्वाप रेसियोलगायत महत्वपूर्ण बुँदामा सहमति भइसकेको छैन । यद्यपि ती बैंकले आफूहरु प्रक्रियाको अन्तिम चरणमा पुगेको बताएका छन् ।
७ बैंक तथा वित्तीय संस्था प्राप्तिको प्रक्रियामा गएका छन् भने ९ वटा एकअर्कासँग गाभिँदै छन् । जसअनुसार प्राइम कमर्सियलले कैलाश र कन्काई विकास बैंकलाई, विजय लघुवित्तले स्वेडालाई, सिटिजन्स बैंकले सहयोगी विकास बैंकलाई, साइन रेसुंगा विकास बैंकले भार्गव विकास बैंक तथा पूर्णिमा विकास बैंकलाई ग्लोबल आईएमई बैंकले प्राप्ति गर्न लागेका हुन् ।
यसैगरी केही बैंक तथा वित्तीय संस्थाले मर्ज हुने औपचारिक सहमति गरिसकेका छन् । ग्लोबल आईएमई बैंक र जनता बैंक मर्ज हुँदैछन् । सुर्योदय र त्रिलोक लघुवित्त पनि मर्ज भएर सुर्योदय लघुवित्त बन्दैछ । एनआरएन लघुवित्त, रामरोशन लघुवित्त र क्रियटिभ लघुवित्त मर्ज भएर एनआरएन लघुवित्त बन्नका लागि राष्ट्र बैंकमा आवेदन दिएपनि यी संस्थाले सहमति गरेका छैनन् । उनीहरुको आवेदन अन्तिम स्वीकृतिका क्रममा रहेको बताइएको छ ।
आरम्भ र चौतारी लघुवित्त मर्ज भएर आरम्भ चौतारी लघुवित्त बन्ने भएको छ । यसैगरी सारथी र शत्यावती लघुवित्त लघुवित्त मर्ज भएर सारथी लघुवित्त बन्ने भएको छ भने कालीका र जनसेवी लघुवित्त मर्ज भएर जनकालीका बन्ने भएको छ । राष्ट्र बैंकका अनुसार किसान लघुवित्त, नागबेली लघुवित्त र किसान माइक्रोफाइनान्स मिलेर किसान लघुवित्त वित्तीय संस्था बन्नेछ । एनएमबि बैंकले ओम डेभलपमेन्ट बैंकलाई गाभ्दैछ । वोमि लघुवित्त र नागरिक लघुवित्त मिलेर वोमि लघुवित्त बन्दैछ ।
यसअघि राष्ट्र बैंकले लघुवित्त कम्पनीलाई पुँजी वृद्धिका लागि हकप्रद सेयर जारी गर्न स्वीकृति नदिएपछि लघुवित्त संस्था मर्जमा जान वाध्य भएका छन् ।
केन्द्रीय बैंकले गत पुस १३ गते लघुवित्त संस्थाहरु प्रादेशिक वा राष्ट्रिय स्तरको हुन निर्देशन दिएको थियो । निर्देशनअनुसार २०७७ सालसम्ममा राष्ट्रिय स्तरका लघुवित्त संस्थाले १० करोड र प्रदेशस्तरले २ करोड रुपैयाँ चुक्तापुँजी पुर्याउनुपर्नेछ ।
चुक्तापुँजी पुर्याउनुपर्ने बाध्यताका कारण पनि लघुवित्त संस्था मर्ज हुन लागेका हुन् ।
यसअघि लघुवित्तहरू राष्ट्रिय, क्षेत्रीय स्तर, १० जिल्ला र तीन जिल्ला कार्यक्षेत्र रहेर सञ्चालन गर्न सकिने व्यवस्था थियो । जसअनुसार राष्ट्रिय स्तरका लागि १० करोड, क्षेत्रीय स्तरका लागि ६ करोड, १० जिल्ला स्तरका लागि २ करोड र तीन जिल्ला स्तरका लागि १ करोड पुँजी हुनुपर्ने व्यवस्था थियो ।
राष्ट्र बैंकले गरेको दुईवटा तह (राष्ट्रिय स्तर र प्रादेशिक स्तर) को व्यवस्थाका कारण एकजिल्ले, तीनजिल्ले, १० जिल्ले र क्षेत्रीय स्तरको लघुवित्त एक तह बढ्न थप पुँजी आवश्यक हुने हुँदा उनीहरुले मर्जरको बाटो रोजेका हुन् ।
यसैबीच राष्ट्र बैंकले १ वर्षभित्र मर्ज भई वित्तीय कारोबार हुने वाणिज्य बैंकलाई विभिन्न सुविधा दिएपछि वाणिज्य बैंकहरु पनि मर्जको प्रक्रियामा छन् । ग्लोबल आईएमई बैंक र जनताले भने यसअघि नै मर्जरको सहमति गरिसकेका हुन् ।
प्रक्रिया सम्पन्न भएका मर्जर तथा प्राप्ति
मर्जर
सप्तकोशी विकास बैंक+कावेली विकास बैंक = सप्तकोशी विकास बैंक
तिनाउ विकास बैंक+मिसन डेभलपमेन्ट बैंक = तिनाउ मिसन डेभलपमेन्ट बैंक
प्राप्ति
देवः विकास बैंक + वेस्टर्न डेभलपमेन्ट बैंक = देवः विकास बैंक
साधना लघुवित्त + आर्थिक समृद्धि लघुवित्त = साधना लघुवित्त
नेपाल इन्भेस्टमेन्ट बैंक + जेबिल्स फाइनान्स = नेपाल इन्भेस्टमेन्ट बैंक
प्रक्रियामा रहेका मर्जर तथा प्राप्ति
मर्जर
ग्लोबल आईएमई बैंक + जनता बैंक = ग्लोबल आईएमई बैंक
सुर्योदय लघुवित्त + त्रिलोक लघुवित्त = सुर्योदय लघुवित्त
एनआरएन लघुवित्त + रामरोशन लघुवित्त + क्रियटिभ लघुवित्त = एनआरएन लघुवित्त
आरम्भ लघुवित्त + चौतारी लघुवित्त = आरम्भ चौतारी लघुवित्त
सारथी लघुवित्त + शत्यावती लघुवित्त = सारथी लघुवित्त
कालीका लघुवित्त + जनसेवी लघुवित्त = जनकालीका लघुवित्त
किसान लघुवित्त + नागबेली लघुवित्त + किसान माइक्रोफाइनान्स = किसान लघुवित्त वित्तीय संस्था
एनएमबि बैंक + ओम डेभलपमेन्ट बैंक = एनएमबि बैंक
वोमि लघुवित्त + नागरिक लघुवित्त = वोमि लघुवित्त
प्राप्ति
प्राइम कमर्सियल बैंक + कैलाश विकास बैंक + कन्काई विकास बैंक = प्राइम कमर्सियल बैंक
विजय लघुवित्त + स्वेडा लघुवित्त = विजय लघुवित्त
सिटिजन्स बैंक + सहयोगी विकास बैंक = सिटिजन्स बैंक
साइन रेसुंगा विकास बैंक + भार्गव विकास बैंक + पूर्णिमा विकास बैंक = साइन रेसुंगा विकास बैंक
ग्लोबल आईएमई बैंक + हाथवे फाइनान्स = ग्लोबल आईएमई बैंक