एजेन्सी । हाम्रो चन्द्रमा यसअघि वैज्ञानिकहरुले अनुमान गरे भन्दा अझ धेरै उमेरको रहेको नयाँ अनुसन्धानपछि पत्ता लागेको छ । अपोलो मिसनका समयमा चन्द्रमाबाट ल्याइएको ढुङ्गाहरुको अध्ययन गर्ने क्रममा चन्द्रमाको उत्पत्ति भएको ४.५१ अर्ब वर्ष पुगिसकेको पाइएको हो । यो भन्दा अगाडि चन्द्रमाको उमेर १५ करोड वर्षको रहेको बताइएको थियो ।
यसरी चन्द्रमाको वास्तविक उमेर पत्ता लाग्नुले पृथ्वीको उत्पतिका बारेमा पनि नयाँ तथ्य हासिल गर्न मद्दत मिल्ने विज्ञहरुको भनाइ छ । अन्तरिक्ष यात्री निल आमस्ट्रङ र बज एल्ड्रिनले यसैका लागि भनेर चन्द्रमाबाट ढुङ्गाका स्याम्पलहरु संकलन गरेर पृथ्वी ल्याएका थिए । यसबाट चन्द्रमाको इतिहास स्पष्ट हुनुका साथै हाम्रा आसपासका अन्य ग्रहबारे बुझ्न पनि सहज हुने बताइएको छ ।
वैज्ञानिक सिद्धान्तका अनुसार मंगल ग्रह बराबरको आकारको एउटा आकाशीय पिण्ड भर्खर उत्पति भएको पृथ्वीसँग ठोक्किँदा चन्द्रमा बनेको थियो । तर सुरुवातमा यो अहिलेको भन्दा धेरै फरक देखिने गरेको वैज्ञानिकहरुको दाबी छ । त्यसैले पनि वैज्ञानिकहरुले चन्द्रमाका चट्टानहरुको संरचना र केमिकलको अध्ययन गरि यसबारे थप जानकारी हासिल गर्ने निरन्तर प्रयास गरिरहेका थिए । पृथ्वीबारे त्यस किसिमको अध्ययन अहिले असम्भव छ किनकि हाम्रो ग्रह समयसँगै भौगोलिक रुपमा धेरै सक्रिय भइसकेको छ । त्यसैले चन्द्रमाले हामीलाई अन्तरिक्ष र ग्रहहरुबारे पत्ता लगाउन अनौठो अवसर दिइरहेको पिटर स्प्रङ बताउँछन् जो यस अध्ययनका लेखक हुन् ।
यसरी अनुसन्धानकर्ताहरुले चन्द्रमाबाट संकलन गरिएका स्याम्पलमा दुर्लभ तत्वहरुलाई नजिकबाट अध्ययन गर्ने मौका पाएका हुन् । तीमध्ये दुई अनौठा तत्व – ‘हाफनियम र टङस्टेन’ हुन् । यी दुईवटै पदार्थ प्राकृतिक समय अनुसार नष्ट हुँदै जाने हुँदा त्यसमार्फत समयको अन्दाजा लगाउन सकिने बताइएको छ । इन्डिपेन्डेन्ट