site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
पुस्तक परिचय 
Ghorahi CementGhorahi Cement

१) प्रारम्भ

(अनुदित कथाहरूः हिक्मत डंगोल)

पत्रकारिताका माध्यमबाट लेखनमा लागेका हिक्मत डंगोलले विदेशी लेखकहरूका कथा अनुवाद गरेर प्रकाशनमा ल्याएका छन् । ‘प्रारम्भ’ शीर्षक दिइएको यस अनुवाद कथाहरूको संग्रहमा विश्वका चर्चित लेखकका कथा संगृहीत छन् ।

Agni Group

अनुवादक डंगोलले विदेशी कथाहरू अंग्रेजीमा लेखिएकाले ती कथाको स्वाद सबै पाठकसम्म नपुग्ने भएकाले नै आफूले चर्चित लेखकका कथा नेपालीमा अनुवाद गरेर पुस्तकको रूप दिएको उल्लेख गरेका छन् ।

‘प्रारम्भ’मा कथाकारहरू भीएस नयपाल, एड्गर एलन पो, रिचर्ड दि अबे्रसिया, विलियम वाइमार्क जेकव, गाय दि मोपासाँ, एन्टोन चेखव, चिनुवा आचेव, क्याथिरन म्यान्सिफल्डका नौ कथा संगृहीत छन् । हिमालय बुक स्टलद्वारा प्रकाशित ८० पृष्ठको पुस्तकको मूल्य २५०।– राखिएको छ ।

Global Ime bank


२) सिंहको दरबारभित्र

(उपन्यासः राजनप्रसाद निरौला)

लेखक राजनप्रसाद निरौलाद्वारा लिखित उपन्यास हो ‘सिंहको दरबारभित्र’ । उनको यो पुस्तकले अहिलेको वर्तमान परिवेशलाई औपन्यासिक माध्यमबाट पाठकसामु प्रस्तुत गर्ने चेष्टा गरेको छ ।

आजको समयबारे सबै जानकार छन् । अहिलेको मध्यमवर्गीय समाज र त्यसले भोग्दै आएका अनगिन्ती पीडा र दुःख निरौलाले उपन्यासमा खुलस्त पार्ने प्रयास गरेका छन् । पुस्तकमा मुलुकको राजनीतिक, सामाजिक, समाजमा व्याप्त भ्रष्ट आचरण र भ्रष्टाचारको जालोमा अल्झिएका पात्र र परिवेशलाई देखाइएको छ । कविता र गजल शैलीमा लेखिएका वाक्यांशहरू पुस्तकमा धेरै भेटिन्छन् । कतैकतै झट्ट हेर्दा गजल लेखनमा जस्तो रदिफ र काफियाको प्रयोग उपन्यासमा भएको अनुभूत हुन्छ । दिव्य देउराली प्रकाशन प्रालिले प्रकाशन गरेको ३२६ पृष्ठको यो पुस्तकको मूल्य ३९५।– रुपैयाँ राखिएको छ ।


३) आँखीझ्याल

(व्यक्ति निबन्धः रमण घिमिरे)

कला–साहित्य पत्रकारितामा रमण घिमिरेको उल्लेख्य योगदान छ । ३५ वर्षदेखि कला पत्रकारितामा क्रियाशील घिमिरेको पछिल्लो कृति हो ‘आँखीझ्याल’ । उनले यसअघि रंगकर्मीहरूको जीवनवृत्त समेटिएको कृति ‘एक दर्जन एक’ प्रकाशन गरिसकेका छन्, जसमा रंगमञ्चका १३ सर्जकको जीवन र उनीहरूका कर्म समेटिएका थिए ।

घिमिरेको ‘आँखीझ्याल’ पनि व्यक्तिहरूमाथि लेखिएको निबन्धहरूको सँगालो हो । यसमा पनि उनले १३ सर्जकलाई निबन्धात्मक शैलीमा प्रस्तुत गरेका छन् । पुस्तकमा घिमिरेले आफूसँग अन्तरंग सम्बन्ध भएका स्रष्टा अम्बर गुरुङ, ईश्वर बल्लभ, कमलमणि दीक्षित, डायमन शमशेर, फत्तेमान, माणिकरत्न, भीम विराग, भीमबहादुर थापा, डा. राममान तृषित, पेमाला गुरुवाचार्य, क्षेत्रप्रताप अधिकारी, जगदीश घिमिरे, रामशरण दर्नालका जीवनलाई ‘आँखीझ्याल’बाट देखाउने प्रयत्न गरेका छन् । मञ्जरी पब्लिकेसनले प्रकाशनमा ल्याएको १७२ पृष्ठको ‘आँखीझ्याल’को मूल्य २३५।– तोकिएको छ ।


४) म भात जोरूँ कि कविता लेखूँ

(कविताः विश्वविमोहन श्रेष्ठ)

कवि विश्वविमोहन श्रेष्ठ चर्चित कवि हुन् । उनका कविता ०३० को दशकदेखि नै पाठकमाझ चर्चामा रहँदै आएका छन् । ०३० को दशक प्रारम्भताका नै प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय कविता महोत्सवमा पुरस्कृत कवि श्रेष्ठका तीन कविता संग्रह प्रकाशित छन् ।

उनकै कविता संग्रह हो, ‘म भात जोरूँ कि कविता लेखूँ’ । यो ०४४ सालमा प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित संग्रह ‘विश्वविमोहनका केही कविताहरू’को अर्को संस्करण हो ।

दोस्रो संस्करणका रूपमा प्रकाशित ‘म भात जोरूँ कि कविता लेखूँ’ नाम परिवर्तनसहित बजारमा ल्याइएको हो । यस संग्रहमा उनका ३५ कविता छन् । साझा प्रकाशनले ल्याएको ९४ पृष्ठको यो संग्रहको मूल्य १९०।– रुपैयाँ राखिएको छ ।


५) अग्निदहन

(उपन्यासः लोकमणि पौडेल)

लेखक तथा पत्रकार लोकमणि पौडेलको उपन्यास ‘अग्निदहन’ उपन्यासहरूको लहरमा उभिन आइपुगेको छ । लामो समयदेखि पत्रकारिता तथा लेखनमा क्रियाशील पौडेलले स्वास्थ्यलाई विषय बनाएर कलम चलाउँदै आएका छन् । बेलाबखत विज्ञान कथा लेख्दै आएका पौडेलले ‘अग्निदहन’मा विज्ञानका विविध विषयलाई पस्केका छन् । विज्ञानका अलावा नेपाली समाजका विभिन्न पक्ष यस उपन्यासमा समेटिएका छन् । गोरखा पब्लिकेसन्स प्रालिले प्रकाशन गरेको १७६ पृष्ठको यो पुस्तकको मूल्य ३२५।– रुपैयाँ छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन १८, २०७६  ०६:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC