site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
पहिलो महिला स्टेसन म्यानेजर
Sarbottam CementSarbottam Cement

– नरेश फुयाँल


बुवा ललितपुर पाटनका रैथाने भए पनि मन्टेश्वरी (राजभण्डारी) तनहुँ बन्दीपुरमा जन्मिइन् । मोफसलका आम नेपाली अवसरको खोजी गर्दै काठमाडौं फर्किन्छन् तर मन्टेश्वरीका बुवा कृष्ण बहादुर (केबी) उदय विद्यायमा पढाउन बन्दीपुर पुगे । बन्दीपुरमा पनि रहिरहन सकेनन् । काठमाडौं फर्किए । कक्षा ८ सम्म मन्टेश्वरीले काठमाडौंमै पढिन् । फेरि केबी पुगे इलाम । बुवाको दौराको फेर समाउँदै मन्टेश्वरी पनि इलाम पुगिन् । कक्षा ९ र १० त्यतै पढिन् ।

स्नातकोत्तर पढेका केबी उदार थिए । छोरीमाथि उनले आफ्नो सपनाको भारी कहिल्यै बोकाएनन् । ‘छोरी तिमी यो बन्नुपर्छ है’ भनेर कहिल्यै भनेनन् । तर, एउटा यस्तो कुरा भने, जुन आज पनि मन्टेश्वरीले भुल्न सकेका छैनन्, “१६ वर्ष पुगुन्जेलसम्म मैले जे–जे भन्छु त्यो तैंले मान्नुपर्छ । तर, १६ वर्ष पुगेको भोलिपल्ट तलाईं म पूरै फ्रिडम दिन्छु । त्यसपछि तँ मेरो साथीमात्रै हुन्छेस् । छोरी हुँदैनस् ।”

Prabhu Bank
Agni Group
NIC Asia

बुवाको आज्ञा शीरोधार्य भयो । १६ वर्षसम्म बुवाले भनेको मानिन् । १७ वर्ष पुगेको दिनदेखि आफ्नो निर्णय आफैं लिन स्वतन्त्र भइन् । तर, १६ वर्षको उमेरसम्म पनि भविष्य देखाएर केबीले छोरीलाई तर्साएनन् । शायद उनलाई लाग्थ्यो— पढाएर ‘हातखुट्टा लगाइदिने’ हो । बुझ्ने भएपछि आफ्नो जिन्दगीको निर्णय आफैं लिन योग्य हुन्छन् ।

केबीले ‘तिमी यो बन्नुपर्छ’ भनेनन् । हाँस्ने, खेल्ने र रमाउने उमेरमा सुदूर भविष्यको तनाव लिएर को बसोस् ? त्यसैले होला— मन्टेश्वरीले आईए पढ्दासम्म पनि भोलि के बन्ने भनेर सोचिनन् ।

Global Ime bank

“आजसम्म पनि म भोलि के होला भनेर सोच्दिनँ । जे पर्छ, त्यही गर्दै जाने हो । गरेको कामचाहिँ रमाएर गर्ने हो,” मन्टेश्वरी हाँस्दै भन्छिन् । 

० ० ०

पाटनको रैथाने नेवारी समाज । ०२० को दशक मध्यतिरको समय । मन्टेश्वरी नाम । कसरी राखियो ?

बुवा अध्यापन पेशामा थिए । जेठी छोरी जन्मिएकी । उनलाई रहर थियो— मजस्तै यो पनि पढाउने पेशामा लागोस् । त्यसैले केबीले छोरीको नाम राखिदिए– मन्टेश्वरी । उनले मुख खोलेर भने कहिल्यै भनेनन् । तर, त्यतातर्फ मन्टेश्वरीको लगाव नै भएन । नाममा के छ र !

समाजशास्त्रको पढाइ भर्खर शुरु भएको थियो । त्रिचन्द्र कलेजमा इतिहास विभाग प्रमुख बुवा केबी थिए । उनले मन्टेश्वरीलाई भन्थे, “सोसियोलोजी विषय भर्खर आएको छ, पढ् । रिजल्ट आएको भोलिपल्ट म तँलाई पढाउन कक्षामा उभ्याउँछु ।”

मन्टेश्वरी सम्झिन्छिन्, “मैले पढें तर पढाइनँ । टिचिङमा रमाउन त म रमाएँ तर कलेज पढाइनँ । जापानी भाषा पढाएँ ।”

त्यो रेडियो

विवाह गर्दा केबीलाई ससुरालीले दाइजोमा दिएको रेडियो थियो । केबी जहाँ गए पनि त्यो रेडियो सँगसँगै त्यहीँ पुग्थ्यो । मनोरञ्जनको साधन भन्नु नै त्यो बेला रेडियो थियो । त्यही सुन्थिन् मन्टेश्वरी । 

सुन्न त ‘अल इन्डिया रेडियो’ र ‘बीबीसी’ पनि सुनिन्थ्यो तर मन्टेश्वरी अक्सर रेडियो नेपालमात्रै सुन्थिन् । किशोरावस्थामा स्वाभाविक थियो— गीति फर्माइस कार्यक्रम पहिलो रोजाइमा पर्थे । उनको झुकाव बिस्तारै रेडियोतिर बढ्यो । रेडियोमा बोल्ने पाए हुन्थ्यो भन्ने लोभ जाग्यो ।

०४२ सालमा उनले राष्ट्रिय वाणिज्य बैंकमा काम गरिन् । प्रशासनमा काम थियो । त्यसमा रमाउन सकिनन् । डेढ वर्षमा छोडेर प्राथमिक विद्यालयमा पढाउन थालिन् । त्यसमा पनि उनलाई रस बसेन । दुई वर्षमै छोडिन् ।

पढाउने छोडेपछि पुगिन् निजी कम्पनीमै । आयात/निर्यात गर्ने कम्पनी थियो । त्यसमा पनि मन्टेश्वरीको मन भुल्न सकेन र पुगिन् न्यु एरा । सर्वेक्षण गर्ने काम थियो । संखुवासभा काम गर्ने क्षेत्र थियो । जिल्लाका दुर्गम आठ गाउँमा जानु पर्ने थियो । महिना थियो साउन । रुकस्याक ब्यागमा बन्दोबस्तीका समाग्री बोकेर साउने झरीमा गाउँगाउँ हिँड्थिन् ।

“चिनी र चियपत्ती काठमाडौंबाटै बोकेर लगेका थियौं । त्यो पनि ब्याग राखेकै ठाउँमा चोरी भएको थियो,” अभावमा बाँचिरहेको गाउँ सम्झिँदै मन्टेश्वरी भन्छिन्, “बजार, होटल भन्ने हुँदैनथ्यो । जहाँ पुगिन्थ्यो, त्यहीँ बास मागेर बसिन्थ्यो । एकदिन प्रधानपञ्चको घरमा पुगेछौं । त्यो दिन हामीले खाना बनाइदिन भन्यौं । बनाएर दिए । आलुको तरकारी पकाएका थिए तर हामीलाई दिएनन् । कति चित्त दुःखेको थियो त्यो दिन । यद्यपि त्यतिबेलासम्म हामी नुनखुर्सानीसँग पनि भात खाने भइसकेका थियौं ।”

संखुवासभाको त्यही रिसर्चमा गएका बेला उनी पुगेकै गाउँमा खोलाले पुल बगायो । आधा घण्टा लाग्ने ठाउँमा पुल बगेपछि झन्डै एकदिन लाग्योे । पुल बगेपछि भोग्नु परेका हैरानी र त्यस आसपासका गाउँलेले दैनिक बेहोर्नु परिरहेको पीडापछि मन्टेश्वरीले महसुस गरिन्— गीति फर्माइसका कार्यक्रम होइन, रेडियोमा आवाजविहीनहरूका आवाज आउनुपर्छ । मनोरञ्जन होइन, सञ्चारले दुःख, पीडा र वेदनाका कथातुल्य वास्तविक घटना सुनाउनुपर्छ ।

त्यहीँ हुँदै मन्टेश्वरीले संकल्प गरिन्, “अब पत्रकारिता पढ्छु । पत्रकारिता गर्छु । र, लुकेका वा लुकाइएका आवाजविहीनका कथा सुनाउँछु ।”

०५१ मा नेपाल वातावरण पत्रकार समूह (नेफेज)ले ‘भ्वाइस ट्रेनिङ’ दिने भयो । प्रदीप उपाध्यायले स्वर परीक्षा लिएका थिए । उद्घोषण गरिरहेकी मन्टेश्वरीलाई ‘भ्वाइस ट्रेनिङ’मा प्रवेश पाउन कठिन भएन ।

१० दिनको ट्रेनिङमा रवीन शर्मालगायतले प्रशिक्षण दिएका थिए । रवीनलाई मन्टेश्वरीले सोधेकी थिइन्, “रेडियो नेपालमा प्रवेश गर्नका लागि के गर्नुपर्छ ?”

रवीनले भनेको मन्टेश्वरीलाई अहिले पनि सम्झना छ, “सहज छैन । ब्याक डोरबाट आउनुपर्छ ।”

‘ब्याक डोर’ खोजिनन् उनले । काम गर्दा पढाइ स्नातकमै रोकिएको थियो । त्यसैले स्नातकोत्तरमा भर्ना भइन् ।

संयोगले मन्टेश्वरीको भेट संगीता लामासँग भयो । उनले भनिन्, “कहाँ हराएको तपाईं ? नेफेजमा तपाईंको खोजी भइरहेको छ ।”

मन्टेश्वरीको खोजी भएको थियो कार्यक्रमका लागि । अवधारणा गोपाल गुरागाईंले तयार पारेका थिए । भौगोलिक विकटता र यातायातको सहज पहुँचको अभावका कारण पत्रिका सबैतिर पुग्दैनथ्यो । बिहानै पत्रपत्रिका ‘कम्पाइल’ गरेर प्रसारण गर्न सकियो भने गाउँ–गाउँ पुग्छ, नागरिकले घरै बसीबसी पत्रिकाका समाचार थाहा पाउँछन् भन्ने लागेपछि गोपालले उक्त अवधारणा अघि सारेका थिए ।

डमी रेकर्ड गरेर गोपाल र मन्टेश्वरीले रेडियो नेपालमा पठाइदिए । उनीहरू रेडियोले बोलाउला र सम्झौता गरेर कार्यक्रम शुरु गरौंला भनेर कुरी बसेका थिए । रेडियो नेपालले त्यही ढाँचामा प्रोमो तयार गरेर प्रसारण सुरु गरिसकेछ ।

गोपालले फेरि नयाँ कार्यक्रम तयार पारे । नाम जुराए, ‘खोजखबर ।’ जनताको ध्यान खिच्न राजनीतिक विषयलाई छाडेर दैनिक जनजीवनसँग जोडिएका विषय प्राथमिकतामा राख्ने निर्णय गरे ।

पहिलो दिन सबैभन्दा धेरै मान्छेको भीड कहाँ लाग्छ भन्ने विषयलाई खोजे । पशुपतिनाथ, सिंहदरबार र सर्वोच्च अदालत । यी तीनवटा विषय सबैसँग जोडिएकाले सबैको ध्यान खिच्नेमा ढुक्क थिए ।

कार्यक्रमको स्क्रिप्ट छोडेर गोपाल धनकुटा गए । मन्टेश्वरी, हेमलतालगायतले रेकर्ड तयार पारेर रेडियोमा लगे । साँझ बज्ने कार्यक्रम सेन्सरमा बसेका दामोदर अधिकारीले काटिदिए ।

“संसारमा नभएको यो कस्तो कार्यक्रम हो ? रेडियो म्यागेजिन भनेको के हो ? कहाँ पढेर आएका तिमीहरू ? रेडियो नेपालमा यस्तो बज्छ ?”

मन्टेश्वरी सम्झिन्छिन्, “रेकर्ड गर्दा नै मलाई फुलस्टप भएको ठाउँमा मात्रै रोकिनू, बाँकी सबै ठाउँमा नरोकी एउटै गतिमा पढ्नू भनिएको थियो । त्यो रेडियो नेपालको फम्र्याट थियो । तर, मैले मानिनँ । आफ्नै तरिकाले पढें । त्यसमै रेडियोले असन्तुष्टि जनाइरहेको थियो । पछि भएन भनियो ।”

दामोदरले प्रश्नैप्रश्न तेस्र्याएपछि मन्टेश्वरीले गोपाललाई फोन गरिन् । कार्यक्रम बीचमै छाडेर गोपाल काठमाडौं आए ।

उनले पहिलाकै स्क्रिप्ट रेकर्ड गराएर रेडियो नेपाल पुगे र कार्यकारी निर्देशक शैलेन्द्रराज शर्मालाई भने, “ल, सेन्सर गर्ने शब्द के–के हुन् भन्नुस् । बोल्न नहुने के–के हो भन्नुस् । सेन्सरमा बस्नेलाई भन्नुस् । होइन भने झलनाथ खनाल (तत्कालीन सञ्चारमन्त्री)कहाँ हिँड्नुस् ।”

शैलेन्द्र बोल्न सकेनन् । त्यसपछि कार्यक्रम ‘खोजखबर’ बज्न थाल्यो । पहिलो शृंखलाले नै स्रोताको मन जित्यो । नेपालमा पहिलो पटक रेडियो म्यागेजिन बज्न थाल्यो ।

सूर्यबहादुर थापा नेतृत्वको सरकारमा महन्थ ठाकुर सञ्चारमन्त्री भए । आएको एक महिनामै उनले ‘खोजखबर’ बन्द गरिदिए ।

कम्युनिकेसन कर्नर दर्ता

‘खोजखबर’ बन्द भएपछि ०५५ मा रेडियोमै केही गर्नुपर्छ भन्ने लागेर गोपाल, मन्टेश्वरी सहित पाँच जनाले ‘कम्युनिकेसन कर्नर’ दर्ता गरे । यसले तालिम दिने, रिसर्च गर्ने र कार्यक्रम निर्माण गर्ने काम शुरु गर्‍यो । मूलधारमा कसरी टिकिरहने र कसरी रचनात्मक काम गर्ने ? खोज्दै जाँदा ‘कायाकैरन’को अवधारण जन्मियो ।

त्यहीसमय रेडियो लुम्बिनी, मनकामना र मदनपोखरा एफएम खुले । उनीहरूलाई काठमाडौंको समाचार कसरी आफ्ना स्रोतामाझ पुर्‍याउने चुनौती थियो । उनीहरूले ‘हप्तामा एउटा कार्यक्रम गाडीमा हालेर पठाइदिन आग्रह गरे । ‘कम्युनिकेसन कर्नर’ले त्यसै गर्‍यो ।

तर, त्यसको खर्च कसले बेहोर्ने ? तीनवटै रेडियोले मासिक ११–११ हजार रुपैयाँ दिने भए । त्यो राम्रै पैसा थियो । हप्तामा तीन वटा ‘कायकैरन’ उत्पादन गरेर पठाउन शुरु भयो । तर, पाल्पा पठाएको कार्यक्रमको क्यासेट सुर्खेत पुग्थ्यो । हेटौंडा पठाएको क्यासेट सर्लाही पुग्थ्यो । त्यही समय कृष्णभीरमा पहिरो आयो । त्यसले क्यासेट बाटैमा रोकियो । कार्यक्रम अलपत्र पर्‍यो ।

इन्टरनेट भर्खर आएको थियो । ‘पानस साउथ एसिया’मा कुन्द दीक्षित आएका थिए । कुन्द एकदिन यो ‘खोजखबर’ कल्ले चलाउँदो रहेछ भन्दै कार्यालय पुगे । गोपालले वृतान्त सुनाए । कुन्दले अन्तर्वार्ता पनि राख्न सुझाए । प्रविधि थिएन ।

हाइब्रिड बनाउन कुन्दले ‘कम्युनिकेसन कर्नर’लाई ५ हजार रुपैयाँ दिए । यादव ठाकुरले टेलिफोन हाइब्रिड बनाइदिए । टेलिफोन हाइब्रिडले भौगोलिक चुनौती छिचोल्यो । जिल्लाको कुरा छिनमै अडियोमा उपलब्ध हुने भयो ।

पानसले ८ वटा रेडियोलाई कम्प्युटर दियो । ‘कम्युनिकेसन कर्नर’लाई मिक्सचरसहित केही माइक्रोफोन पनि दियो । त्यसपछि ‘कम्युनिकेसन कर्नर’लाई कृष्णभीरले पनि छेक्न सकेन ।

सञ्चार मन्त्रालयले काठमाडौंमा रेडियो फ्रिक्वेन्सी सकिन लागेको भन्दै बन्द गर्न लागेको थियो । गोपालले हतार–हतार ९० मेगाहर्ज लिए । नाम राखे ‘उज्यालो ९० नेटवर्क ।’ त्यसमै थिइन् मन्टेश्वरी पनि ।

मानसिक तनाव

‘हाकाहाकी’ होस् या कम्युनिकेसनका अन्य कार्यक्रम— काठमाडौंभन्दा पनि बाहिर लक्षित थिए । त्यसैले उनका स्रोता काठमाडौं होइन, काठमाडौंबाहिर धेरै छन् । अहिले पनि काठमाडौंबाहिर उनको स्वर सुनेर चिन्ने धेरै छन् । तर, काठमाडौंमा निकै कम । मन्टेश्वरी भन्छिन्, “मेरो घरमै पनि उज्यालो नाइन्टी नेटवर्क मेरो घरमा उज्यालो सुन्ने म मात्र  हुन्छु ।”

मन्टेश्वरीले तयार पारेको रेडियो सामग्री हार्डकोर पत्रकारिताभन्दा पनि शिक्षा, चेतना र वकालत धेरै थियो । त्यसैले कसैको धम्की र पेशा नै धुमिल बनाउने प्रलोभन उनलाई त्यति धेरै आएन ।

तर, जब सरकार—माओवादी द्वन्द्व शुरु भयो, त्यसपछि भने केही धम्कीका स्वर उनले पनि सुन्नु पर्‍यो । कम्युनिकेसन कर्नरबाट प्रत्येक तीन घण्टाको अन्तरमा समाचार शुरु भएको थियो । ‘नेपाल दर्पण’ पनि प्रसारण आरम्भ भयो । जिल्लाका रेडियोले त्यही समाचार हुक गरेर प्रसारण गर्थे । प्रायः देशभर कम्युनिकेसन नेटवर्कको समाचार सुनिन्थ्यो । फलतः प्रभाव पर्ने नै भयो ।

तत्कालीन माओवादी प्रचारबाजी चाहन्थे । त्यो प्रसारण होस् भन्ने उनीहरूको चाहना हुन्थ्यो । फ्याक्स पठाउँथे । त्यसकै आधारमा समाचार बनाउनु पथ्र्यो ।

समाचार पढ्ने अरू भएन भने मन्टेश्वरी आफैं पढ्थिन् । एकदिन त्यस्तै भयो । माओवादीले दुइटा फ्याक्स पठाए । उनी दुइटै फ्याक्स बोकेर दिउँसो ३ बजेको समाचार पढ्न स्टुडियो पसिन् । एउटा फ्याक्स उनले फ्याँकिदिइन् । कारण— बलात्कारसम्बन्धी समाचार थियो । अक्सर उनी बलात्कारका समाचार पढ्दिनथिइन् ।

स्टुडियोबाट बाहिर निस्किनेबित्तिकै फोन आयो । समाचारको विषयलाई लिएर आएको फोन भन्ने उनलाई थाहा भयो । सुरेश आचार्य सम्पादक थिए । मन्टेश्वरीले भनिन्, “फोन म उठाउँछु ।”

जवाफ उनी आफैंले दिइन् । उताबाट प्रश्न गरेका थिए, “समाचार किन काटेको ?”

मन्टेश्वरीले भनिन्, “बलात्कारसम्बन्धी समाचार हामी दिँदैनौं ।”

फोन गर्नेले भने, “तपाईं हाम्रै साथी हो । तपाईंलाई म चिन्छु । म पनि तपाईंको साथी नै हो । समाचार नकाट्नुभएको भए राम्रो हुन्थ्यो ।”

‘नेपाल दर्पण’ साँझ ८ बजे शुरु हुन्थ्यो । ७ देखि साढे ७ बजेपछि भिस्याटबाट फोन आउँथ्यो । फोन माओवादीको प्रोपोगन्डाका लागि नै हुन्थ्यो । त्यसैले उनी समाचार शाखामा त्यो फोन पठाउँदिन थिइन् । आफैं अल्मल्याएर राख्थिन् ।

“दिनको एक घण्टासम्म फोनमा कुरा हुन्थ्यो । त्यसरी फोन गर्नेमा अहिले हामीले चिन्ने जनार्दन शर्मा प्रभाकर पनि एकजना हो,” मन्टेश्वरी भन्छिन्, “तर, उहाँले धम्कीको भाषा प्रयोग गर्नुहुन्नथ्यो । मीठो स्वरमा बोलेर प्रभाव पार्न खोज्नुहुन्थ्यो । आफ्नो विचार सही भएको स्थापित गर्न खोज्नुहुन्थ्यो । म आफूहरू राज्यको संविधान, कानुन तथा नीति–नियमभित्र रहेर काम गर्नुपर्ने बताउँथें ।”

राति ९ बजे घर फर्किंदा त उनलाई अफिसका साथीहरूले घर छोड्दिन्थे, डर हुँदैनथ्यो । तर, बिहान ६ बजेको समाचारका लागि ५ बजे अँध्यारोमै उठेर हिँड्नु पथ्र्यो । पुल्चोकबाट कुपन्डोल गाडी चढेरभन्दा हिँडेरै चाँडो हुन्थ्यो । तर, अँध्यारो समय । अघिल्लो साँझ ‘हाम्रो पनि समाचार दिनुस् न’ भन्दा कानुनका कुरा गरेर पन्छिएको सम्झिएपछि उनलाई डर लाग्थ्यो ।

हरेक दिन सरकारी सुरक्षाकर्मी र माओवादी लडाकुबीचको भिडन्त । बम विष्फोट । कयौंको मृत्यु । गोली हानेर र घाँटी रेटेर हत्या जस्ता समाचार जब मन्टेश्वरीको दिमागमा तँछाडमँछाड गर्दै आउँथे, त्यहीबेला कानुनका कुरा तिनै माओवादीसँग गरेको सम्झिन्थिन् । डरले सीमा नाघ्थ्यो । कसरी हिँड्ने भनेर मानसिक तनाव हुन्थ्यो । त्यसबाट छुटकारा पाउन उनी १० मिनेट सवासनमा बस्थिन् । र, स्टुडियो पस्नुअघि समाचारै नहेरी अरूले चिन्ह लगाइदिएको समाचार पढ्थिन् ।

“पुल्चोकबाट कम्युनिकेसनको कार्यालय कुपन्डोल जाँदा म कहिल्यै पनि एउटै बाटो हिँडिनँ । हरेक दिन बाटो फेरीफेरी हिँड्थें,” सरकार–माओवादी द्वन्द्वले सिर्जना गरेको मानसिक त्रासका बीच काम गरेको अनुभव सुनाउँछिन् उनी ।

दशैंमा अधिकांश कर्मचारी घर जान्थे । समाचार पढ्ने जिम्मा मन्टेश्वरीकै काँधमा । चाडपर्वमा पनि घरमा नबसेको भनेर बुवा–आमा रिसाउँथे ।

“समाचार पढ्न जान भनेर साढे ४ बजे नै उठें । तयार भएर हिँडें । गेटमा पुग्दा लक गरिएको थियो । चाँबी थिएन । जान नपाओस् भनेर बुवाले चाँबी लुकाउनुभएको थियो,” मन्टेश्वरी सुनाउँछिन्, “काकाको घरसँग हाम्रो घर जोडिएको छ । कौसीबाट काकाको घरमा हाम हालें र निस्किएँ अनि गएर समाचार पढें । नेवार समुदायका प्रायः पर्वै पर्व हुन्छन् । तर, सधैं मैले समय दिन भ्याउँदिनँ । घरबाट सधैं कराउनु हुन्छ । बुवा यो छोरी क्रिश्चियन भई भन्नुहुन्थ्यो ।”

रेडियोमा उनको जिम्मेवारी समाचारसँगै व्यवस्थापनमा थियो । कम्युनिकेसन कर्नरकी सेयरहोल्डर पनि हुन् । स्टेसन म्यानेजर हुन् । मन्टेश्वरी ‘उज्यालो नाइन्टी नेटवर्क’की मात्रै नभएर नेपालकै रेडियो इतिहासमा पहिलो स्टेसन म्यानेजर भइन् ।

० ० ०
मन्टेश्वरी ०५४ असोजमा धनकुटाको सिधुवा सहकारीमा रिपोर्टिंगको लागि गइन् ।  सहकारीले त्यतिबेला भारतको सिलगढीमा तरकारी निर्यात गथ्र्यो । रिपोर्टिंगको काम सकियो । फर्कने बेला पत्रकार तनुजाले झमक घिमिरेलाई भेट्न जाउँ भनिन् । “झमकलाई भेटेपछि उनीसँगको अन्तर्वार्ता रेडियोमा बजाउन रहर लाग्यो । तर, उनी बोल्न सक्दिन निथइन् । मैले झमकलाई लेखेर प्रश्न सोधेँ,” अडियो माध्यममा बोल्न नसक्ने व्यक्तिसँगको कुराकानी प्रशारणको अनुभन सुनाउँछिन् मन्टेश्वरी, “उनले लेखेको जवाफ तनुजाको आवाजमा रेकर्ड गरेँ । र, रिपोर्टमा झमकको जवाफ बजाउने बेला उनको हाँसोवाट शुरु गरेँ । २०५४ साल कात्तिक २२ गतेको ‘खोजखबर’मा प्रशारण गरिन् ।” 

अहिलेको पत्रकारिता

पहिला पत्रकारितामा प्रवेश गर्न त्यति सहज थिएन, जति अहिले छ । छापा पत्रकारिता गर्न त आफैं पत्रिका दर्ता गरेर आफैं सम्पादक भए पनि हुन्थ्यो तर रेडियो पत्रकारिता गर्न निकै कठिन थियो । प्रसारण संस्था रेडियोमा रेडियो नेपालमात्रै थियो । त्यसैले रेडियो कार्यक्रममा बोल्नमात्रै पनि ठूलै संघर्ष गर्नुपथ्र्यो । मन्टेश्वरीले करिब एक वर्ष आन्तरिक रूपमा कार्यक्रम बनाएर भयो कि भएन भनेर सुन्थिन् ।

फम्र्याटभित्र बसेर कार्यक्रम चलाउनु पथ्र्यो । प्रसारण पत्रकारिताका ‘रुल्स एन्ड रेगुलेसन’ पछ्याउनु पथ्र्यो । तर, अहिले अवस्था परिवर्तन भयो । एफएम रेडियोहरू बग्रेल्ती खुले । १२ कक्षा पढ्नेबित्तिकै एफएममा बोल्न पाए मेरो आवाजका फ्यान हुन्छन् भन्ने लोभ लाग्छ । बोल्न थाल्छन् ।

“म के बोल्छु र त्यसको प्रभाव समाजमा के पर्छ भन्ने बोल्नेलाई नै थाहा छैन,” मन्टेश्वरी भन्छिन्, “तर, हामी रेडियो नेपालमा बोल्दा प्रत्येक मिनेटको पैसा तिर्नुपथ्यो । त्यसैले शब्द छनोट शुरुमै गरिन्थ्यो । जति थोरै शब्दमा धेरै कुरा भन्न सक्यो, त्यति राम्रो हुन्थ्यो तर अहिले एक घण्टा बिताउनेमा मात्रै ध्यान छ ।”

आफूले शुरु गरेको रेडियो पत्रकारिता अहिले तुलना गर्दा आकाश–पातालको फरक देख्छिन् मन्टेश्वरी । पहिलेको आफ्नै स्तर कायम राख्न पनि अहिले कठिन भइरहेको अनुभव उनको छ ।

मन्टेश्वरीका बुवालाई ससुरालीबाट रेडियो आउँदा गाउँका सीमित घरमा मात्रै रेडियो हुन्थ्यो । चारैतिर बसेर एउटै रेडियो सुन्ने चलन थियो । समयसँगै प्रविधि सहज र सुलभ हुँदै गयो । अहिले व्यक्तिका कानकानमा रेडियो छ ।

कानमै पुगेको रेडियोले भन्दा पनि तत्काल सूचना दिने सञ्चारमाध्यमको जन्म भइसक्यो, डिजिटल पत्रिका अनलाइन । अनलाइनभन्दा पनि पहिला समाजिक सञ्चालमा सूचना भेटिन थाले ।

“रेडियो कि गरिबका लागि रहेछ कि धनीका लागि । गरिबसँग इन्टरनेटको पहुँच छैन । स्मार्टफोन छैन । भए पनि हेर्न जान्दैनन् । र, धनी, जो गाडीमा रेडियो सुन्छ,” मन्टेश्वरीले अन्तिममा सुनिइन्, “विश्वमै रहेको चलन हो— बिहान रेडियो सुन्ने र बेलुका टेलिभिजन हेर्ने । त्यसैले टेलिभिजन आएपछि रेडियो युग सकिन्छ भन्थे तर होइन । बिहान त मान्छेले रेडियो नै सुन्दो रहेछ ।”

तस्बिरः सरिता खड्का

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन १८, २०७६  ०६:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC