आशा धेरै गरिएको तर सफलता निकै कम प्राप्त भएको क्षेत्र हो नेपालको खेलकुद । राष्ट्रको गहना भनिएको नेपालको खेलकुदको अवस्था दयनीय छ । कहिले आन्तरिक विवाद त कहिले राजनीतिको शिकार हुन पुगेको नेपाली खेलकुदले कहिले सकारात्मक गति प्राप्त गर्ला ? नेपाली खेलकुदको अभिभावक संस्था राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव रमेशकुमार सिलवालसँग आसन्न १३ औं साग, क्यान निलम्बन फुकुवा, नेपाली खेलकुदका चुनौती र सम्भावनाबारे बाह्रखरीकर्मी रेखा शाहीले गरेको कुराकानीको सम्पादित अंश :
पदभार ग्रहण गर्नुभएको एक महिना पुग्न लाग्यो ? यसबीचमा नेपाली खेलकुद क्षेत्रको बारेमा तपाईंको अनुभव र बुझाइ के रह्यो ?
खेलकुदमा एक महिना त्यति ठूलो अवधि होइन । भगवान भरोसाले खेलकुद चलेको मैले पाएँ । पशुपतिनाथको कृपाले चलेको अनुभव भयो । यहाँ कुनै पनि काम क्यालेन्डर निमार्ण गरेर निश्चित समयमा सम्पन्न गरी अघि बढ्ने चलन रहेनछ । प्रशासनिक संरचनालाई पनि चुस्तदुरुस्त बनाउन सकेका रहेनछौं । कोचको सिस्टमलाई आफूअनुकूल ढाल्न सकेको देखिनँ । मैले एक महिनाको अवधिमा सिस्टम बसाउने कामको थालनी गरेको छु ।
विभागीय काम कारबाहीको थालनी गरेको छु । सरसल्लाह लिएर नीति निर्माण र ‘इम्प्लिमेन्टेनसन’ गर्ने काममा धेरै–धेरैको सहभागितालाई जोड दिएको छु ।
अर्को पाटो भने योजना बनाएर कार्यान्वयन गर्ने क्रममा लागेको छु । दोस्रो पाटो विशेषत म सागमा केन्द्रित भएको छु । सागको पूर्वाधार विकास, खेलाडीको प्रशिक्षण, उद्घाटन र समापन । उद्घाटनपूर्व र पश्चात गर्ने कामलाई फोकस गरेको छु ।
तपाइँको नेतृत्वबाट नेपालको खेलकुदले के पाउँछ ? तपाईंको मिसन के हो ?
पहिलो कुरा त मेरो चारवर्षको कार्यकालमा नेपाली खेलकुदले खेल जगतमा लाग्ने मान्छेहरुको सम्मान, इज्जत बढ्ने, सामाजिक इज्जत बढाउने, खेल क्षेत्रमा लाग्नेप्रति गर्व गर्ने स्थिति बनाउँछु । दोस्रो कुरा पूर्वाधारको विकास सातै प्रदेशमा अर्थात् सात सय ५३ स्थानीय निकायमा एउटा–एउटा पूर्वाधार निमार्णमा जोड दिनेछु ।
तेस्रो विषय राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका प्रतियोगिताको संख्या बढाउने छु । नतिजामुखि भएर खेल सञ्चालन गर्नेछु । संघहरुलाई व्यवस्थित बनाएर अगाडि लैजानेछु ।
संख्यात्मक चाहिएन गुणात्मक रुपले पद्धतिसम्मत ढंगले अगाडि बढाउनेछु । नेपाल ओलम्पिक कमिटीसँग मिलेर काम गर्ने वातावरण बनाउनेछु । केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय तहसँग समन्वय गरी स्पोर्टस हबको रुपमा नेपाललाई विकास गर्ने मेरो प्रयास हुनेछ ।
पदभार ग्रहण गरेकै दिन तालिका बनाएर काम गर्छु भन्नुभएको थियो ? तालिकाअनुसार चलिराखेको छ ?
मैले अर्कोदिनदेखि नै तालिका बनाएर काम थालनी गरेको छु । म हरेक काम तालिकाअनुसार नै गरिरहेको छु ।
नेपाली खेलकुदको मुख्य चुनौती के हो जस्तो लाग्छ ?
मुख्य चुनौती भनेको खेलकुदलाई प्रोडक्टिभ सेक्टर हो भनेर हेर्ने कुरामै छ नीतिगत समस्या छ । राजनीतिक पार्टीले पनि खेलकुदलाई प्राथमिकता दिने वातावरण छैन । हिजोको दृष्टिकोणमा कतिपय मान्छेको सोच खेलकुद भनेको ‘गुन्डा’ उत्पादन गर्ने कारखाना हो भन्ने छ । त्यही सोचले पनि काम गरेको छ । वास्तविकता त्यस्तो होइन ।
एउटा चिज त के हो भने खेल जगतलाई आम जनतासँग कसरी पुर्याउने सबैलाई खेलकुदको अभिन्न अंग कसरी बनाउने चुनौती छ ।
एउटा प्रोफेसनलहरुका निम्ति, अर्को ‘एमेच्योर’का लागि । खेलकुदसँग सम्बन्धित भएर पनि जीवनलाई अथवा स्वास्थ्यलाई राम्रो बनाउन सकिन्छ भन्नेमा चुकेका छौं । अर्को कुरा हामीले खेलमा विभिन्न योजनाहरु त बनायौं । ती योजना कार्यान्वयनमा कमजोर छौं । त्यो अनुसारको संरचना पनि कमजोर छ । क्षेत्रगत रुपमा लागेर ‘रिजल्ट ओरिन्टेट’ सोच र दृष्टिकोण बोकेका मान्छेहरुमा पनि कमी कमजोरी छन् ।
१३ औं दक्षिण एसियाली खेलकुद (साग) लाई सफलताका साथ सम्पन्न गर्ने लक्ष्य हो भन्नुभएको छ । पूर्वाधार नाजुक छ, यो त काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भनेजस्तै भएन र ?
पूर्वाधार नाजुक त नभनौं । किनभने केही पूर्वाधार बनिसकेका छन् केही बन्ने क्रममा छन् । मुलतः हामीलाई तीनवटा समस्या हो । एउटा दशरथ रंगशाला त्यो पनि पूरा होइन । अर्को पोखरा रंगशालाको निर्माण र सातदोबाटोमा रहेको हिटिङ स्टिमको स्वीमुङ पुल हो । तीनै समस्या एकआपसमा लिंक छ ।
हिटिङ सिस्टममा अब समस्या रहँदैन । के भएको हिटिङ सिस्टममा भने जुन कम्पनीलाई अर्डर दिइएको थियो, त्यो टाट पल्टियो ।
विदेशतिर टाट पल्ट्यो भने त्यसले काम गर्न पर्दैन । अर्को विकल्प खोजिसकेको छु । अब छिट्टै काम सुरु हुन्छ । हिटिङ यताको पौडी पोखरी निर्माण भइ वाटर ट्रिटमेन्ट भएर अब सञ्चालन हुने प्रक्रियामा छ । अबको सात दिनभित्र सम्पन्न हुनेछ । त्यसपछि चिनियाँ कम्पनीले हस्तान्तरण गर्नेछ ।
हिटिङ पुल र दशरथ रंगशाला कात्तिक १५ भित्र सकिन्छ । रंगशालामा मशाल राख्ने ठाउँ, मिडिया सेन्टर, चेन्जिङ रुम बनाउने क्रममा छ । यो पनि समयमै सकिन्छ । सिट पनि अर्डर भइसकेको छ । रेलिङ, रङरोगनको काम पनि सकिएको छ । समस्या प्यारापिटको हो । त्यो पनि बन्छ । देशको इज्जतको सवाल छ त्यही भएर म समयमै गर्न लागिरहेको छु ।
कुरा रह्यो पोखराको, त्यहाँ दुई ढंगले समस्या ल्याएको हो । स्टेडियमको वरिपरी जहाँ दर्शक बस्ने ठाउँको केही समस्या छैन । त्यो अर्डर गरिएको छ, ल्याएर जोड्ने मात्र हो । मुख्य समस्या कहाँ देखियो भने हिजो आर्टिफिसियल मैदान भनेर भनिएको थियो । आर्टिफिसियल नभइ नेचुरल बनाउनु पर्छ भनेर म आएपछि चेन्ज गरिदिएँ । त्यो चेन्ज गरिएपछि नयाँ सुरुवात गर्नुपर्यो ।
त्यो काम कात्तिक १५ भित्र सक्नेगरी भइरहेको छ । पोखराका अन्य पूर्वाधारको काम अन्तिम अवस्थामा छ । सरसर्ती हेर्दा पूर्वाधारको अवस्था नाजुक चाहिँ छैन । तर के हो भने तालिका बनाउनैपर्छ । अब हामी अन्तर्राष्ट्रिय प्रतियोगिता गर्दैछौं भने तीनदेखि छ महिनाभित्र पूर्वाधार तयार गरेर ‘लेट्स गो’ भन्ने अवस्थामा हुनुपर्छ ।
नेपालमा हुने १३ औँ साग कति सफल होला ?
हुन्छ भन्दा पनि बनाउनुपर्छ । सफल पनि बनाउनुपर्छ अनि फलदायी पनि । त्यसका लागि सिंगो नेपालीहरु एकजुट भएर यसलाई आफूले पनि गर्व गर्ने र अपनत्व लिनेगरी काम गर्नुपर्छ । त्यो भयो हामी १३ औं सागलाई ऐतिहासिक बनाउन सक्छौंँ ।
खेलाडी प्रशिक्षण कस्तो चल्दैछ ? के जानकारी पाउनुभएको छ । खेलाडीहरुलाई नेपाली मैदान र नेपाली खेलाडीसँगको प्रतिस्पर्धाले मात्र पुग्छ ?
जानकारी होइन म फिल्ड मै गएर हेर्ने गरेको छु । सम्पूर्ण खेलको प्रशिक्षण सुरु भइसकेको छ । क्रिकेटबाहेक अन्य एक दुई खेलको तयारी अब हुन्छ । केही टोलीलाई बिदाइ गरेका छौं । खोखोलाई बिदाइ गरियो अरु टोलीलाई पनि बिदाइ गरिसकेका छौँ । प्रशिक्षक बोलाएर नेपालमै प्रशिक्षण गर्यो भने हुन्छ भने बाहिर किन जाने भनेर हो । मैले सबै संघका अध्यक्ष, महासचिव र प्रशिक्षकलाई बोलाएर छलफल गरेको छु । उहाँहरुको मागअनुसार तयारी अगाडि बढेको छ । उहाँहरुको सल्लाहअनुसार नेपालमै विदेशी प्रशिक्षक ल्याउँदा हुन्छ किन बाहिर पठाउने । संघले चाहिन्छ भनेको कुरा पूरा गर्दै तयारीको वातावरण बनाएको छु ।
सधैँ विवादमा रहने केही संघहरु सागको समय नजिकिँदै गर्दा खेलाडी प्रशिक्षणमा लचकदार छैनन् ? स्वयंम खेलाडीबाट गुनासो आउन थालेको छ नि ?
म खेलाडीको मात्र कुरा सुन्दिनँ । मुख्यतः म प्रमुख प्रशिक्षकको कुरा सुन्छु किनभने भोलि राम्रो नराम्रो नतिजाको जिम्मेवारी प्रशिक्षकले नै लिनुपर्छ । प्रशिक्षकले संघसँग समन्वय गरी काम गर्नुपर्छ । खेलाडीको प्रतिभा कसरी बाहिर निकाल्ने काम त प्रशिक्षकको हो । त्यो खेलाडीको होइन । खेलाडीले त प्रशिक्षकले भनेअनुसार कसरी राम्रो प्रदर्शन गर्ने भनेर सोच्ने कुरा हो ।
विदेशमा जाँदैमा राम्रो हुन्छ भन्ने होइन । स्वदेशमा तयारी गर्दा नराम्रो हुन्छ भन्ने छैन । एउटा हेक्का के राख्नुपर्छ भने खेल स्वदेशमा हुँदैछ है । कतिपय खेलका लागि घरेलु मैदान फाइदाजनक नै हुन्छ । त्यसैले संघ जिम्मेवार हुनुपर्छ । संघले गर्दैन भने संघ के का निम्ति, प्रशिक्षकले गर्दैन भने प्रशिक्षक के का निम्ति । यदि कसैको गुनासो छ भने मसँग आउनू ।
क्यान विवाद समाधानको कुरा कहाँसम्म पुग्यो ?
एउटा कुरा हामी क्लियर हुनुपर्छ । अस्ति आईसीसीको बैठकमा नेपालको निलम्बन फुकुवाबारे कुरा नै उठेन भन्ने मिडियामा आयो । त्यो होइन । कुरा उठेको हो छलफल पनि भएको हो तर फुकुवाबारे निर्णय नभएको हो । अहिले एउटा प्रक्रियामा क्यानको निर्वाचन गएको छ ।
जिल्ला–जिल्ला लगभग सकिएको छ । प्रदेशको पनि भएको छ । तीनवटा जिल्लाको विवाद थियो । त्योमध्ये एउटामा अदालतले स्टे अर्डर दिएको छ । दुईवटा जिल्लाको ‘स्टे अर्डर’ दिएको छैन । एकखालको नतिजा आएको छ । क्यान चुनावी प्रक्रियामा अघि बढेको छ । अर्को कुरा म त्यसको समाधान निकाल्नको लागि प्रयत्नशील छु । यसबाट परिणाम आउँछ भन्नेमा विश्वस्त छु ।
क्यान निलम्बन फुकुवा नगर्न आईसीसीलाई पत्र पठाएको पनि भन्नुभएको छ ? साँचो हो ?
झुटो कुरा बोल्नुको अर्थ छैन । किन मैले झुटो कुरा बोल्ने ? आवश्यक पर्यो भने मैले एउटा कुरा पनि भनेको छु । यी नेपालमा क्रिकेटको हित नचाहने तत्व हुन् भनेर म सार्वजनिकसमेत गर्नेछु भनेको छु मैले । अहिले नगरौं यसले विवाद बढाउँछ । म विवाद समाधान गर्ने दिशामा अगाडि बढेको छु । विवाद बढाउने दिशामा होइन । क्रिकेटले जित्नुपर्छ खेलले जित्नुपर्छ ।
विवाद गर्ने मान्छेहरुको हेर्नु न क्रिकेटमा लगानी के छ ? संघमा बस्नुमात्र लगानी हो ? संघलाई धोद्रो बनाउन कसको भूमिका छ ? न एउटा खेलाडी उत्पादन गरेको छ जिन्दगीमा नत क्लब सम्हालेको छ । नत कहिले प्रतियोगिता आयोजना गरेको छ । अनि सधैँ दुहिरहने संघलाई ? उ संघमा नभए पनि यस्तो गरेको रैछ भनेर संघले खोज्नुपर्ने क्रिकेट जगतले खोज्नुपर्ने बनाइदिए त भयो नि । यहाँ त खोज्नुपर्ने होइन उलाई त्यहाँबाट हटाउनुपर्नेस्थित भएका मान्छेहरुको नै कहिलेकाहिँ यसो बढी षडयन्त्रकारी भूमिका हुने र त्यहीअनुसार व्यवहार हुने गरेको छ । त्यसको अन्त्य गर्नुपर्छ ।
मूलपानी मैदान कहिले बन्छ टुङ्गो छैन, टीयूमा खेलाडीले प्रशिक्षण गर्ने अवस्था छैन, घाँस कहिले काट्ने ? यस्तोमा खेलाडीको मनोबल कमजोर हुँदैन ?
टीयू मैदानमा घाँस काट्ने काम सरु भइसकेको छ । मैदानमा उम्रिएको घाँस ठूलो होइन । मुख्य कुरा पिच बनाउने हो । त्यसका लागि मेसिन झिकाएको छु । अहिले पिचको काम भइरहेको छ । विदेशी क्युरेटरलाई पत्राचार गरेको छु । उहाँहरु छिट्टै आउनुहुन्छ । मूलपानी र टीयूको काम समयमै हुन्छ । अर्को दुई मैदानलाई वैकल्पिकमा राखेको छु । एउटा मूलपानीको माथिल्लो मैदान । अर्को पोखराको मैदानलाई । त्यसैले कथम–कदाचित केही भइहाल्यो भने पनि खेल रोकिँदैन । अब अभ्यास गर्न मिल्नेगरी काम सकिन्छ ।
खेलकुद मन्त्रालयको खेलाडी सम्मानमा नपर्दा महिला क्रिकेट खेलाडीले चित्त दुखाए । यसबारे कत्तिको जानकार हुनुहुन्छ ?
उहाँहरुले किन दुखेसो जनाउनुभयो त्यो मलाई थाहा छैन । मन्त्रालयले सम्मान गरेको हो । त्यो मन्त्रालयले बुझ्नुपर्ने हो । म आएपछि राखेपले गरेका कुनै पनि निर्णयमा विवाद भएको छैन ।
एक मात्र अन्तर्राष्ट्रिय रंगशाला हालसम्म निर्माण हुन सकेको छैन । त्यसैले नेपालले विश्वकप छनोटको होमका खेलहरु खेल्न नपाउने भइसक्यो । यसबारे के भन्नुहुन्छ ?
कात्तिक १५ भित्र रंगशाला तयार हुन्छ । अक्टोबर १० भित्र प्याराफिट निमार्णको काम सकिन्छ । त्यसपछाडि अक्टोबर २५ भित्र साउन्ड स्टिम, फिटिङ र टेस्टिङ पिरेड पनि सकिन्छ । त्योभन्दा अगाडि नै खेलहरु घरेलु मैदानमा आयोजना गर्नुपर्ने भयो । मैले विकल्पमा एन्फालाई आग्रह गरेँ ।
पहिले अवे त्यसपछि होमका खेलहरु गरौँ भनेर प्रस्ताव गर्न आधिकारीक जानकारी आएको छैन ।
दशरथ रंगशालामा भदौ ९ मा खेल गर्ने सम्भावना छैन । त्यही भएर मैले दशरथ रंगशाला बाहेक अन्तै गर्नुस भनेर भनेको हो ।
संघको निर्वाचन रोक्ने भन्नुभएको छ नि ?
मैले सागमा हुने २७ वटा खेललाई ध्यानमा राखेर निर्वाचन नगर्न भनेको छु । निर्वाचन भन्नेबित्तिकै खेलकुदमा असर परिहाल्छ । मैले सबै संघलाई भनेको छु । तपाईंहरुको निर्विरोध हुन सक्ने भए गर्नु नत्र विवाद हुन्छ भने नगर्नूस त्यसले सागलाई असर गर्छ भनेको छु ।
हामीले हिजो देखेका छौं नि एउटा राष्ट्रिय मान्यता प्राप्त भनेर अर्को अन्तर्राष्ट्रिय मान्यता छ भनेर एउटा दाया हात तान्ने अर्को बाया तान्ने छ । हुँदाहुँदै एउटा खेलको अफिसियल एउटाले म भन्छ अर्कोले म भन्छ यस्तो विजोग गरेर जानुहुँदैन । हामीले एकतात्मक रुपमा अघि बढ्नुपर्छ । मैले सदासयतापूर्वक भनेको हो कुनै दुरासय छैन । २७ खेल बाहेकका संघको हकमा भने यो लागु हुँदैन । उहाँहरु गर्न सक्नुहुन्छ ।
अहिलेका खेल संरचनाको अवस्था चिन्ताजनक हो ?
नेपालमा जिम्मेवारी लिने चलन रैनछ भन्ने महसुस भयो । हामी घोषणा गर्छौं । तीन पटक सागको मिति सारेको सत्य हो नि । डिसेम्बर १ देखि १० सम्म १३ औं साग गर्नका निम्ति पहिलेदेखि तयारी गर्नुपर्ने होइन र । तालिका बनाएर काम गर्ने सिस्टम होइन रैछ । अब सिस्टमअनुसार काम गर्नुपर्ने देखियो । समय थोरै छ निश्चित समयसिमाभित्र सकाउनु छ । चिन्तित अवस्थामा होइन सिस्टममा काम गर्यो भने सकिन्छ ।
भलिबल संघले बनाएको छनोट समितिले गरेको खेलाडी छनोट विवादित बन्यो नि ! किन ?
यसमा विवाद ल्याउनु हुँदैन । कप्तान र उपकप्तानलाई नछानिँदा विवादमा ल्याउनुपर्छ भन्ने होइन । उहाँहरुले पनि प्रदर्शन देखाउनुपर्छ । सम्पूर्ण अधिकार मैले मुख्य प्रशिक्षकलाई दिएको छु । को खेलाडी छान्ने को नछान्ने प्रशिक्षकको जिम्मेवारी हो म संघलाई भन्दिनँ । मुख्य प्रशिक्षकलाई दबाब आयो भने मैले उहाँलाई दबाब नसहनुहोस पनि भनेको छु । मिडियामा गएर म कप्तान टिममा परिनँ भनेर हुँदैन उहाँले खेल पनि देखाउनु पर्ने होला उपकप्तानले पनि देखाउनुपर्ने होला ।
यदि उहाँलाई मर्का नै परेको हो भने जाने ठाउँ कहाँ ? मुल कुरा उहाँहरुबीच समन्वयको कमी देख्छु । मैले उहाँहरुलाई बोलाएर भनेको छु पहिले तपाईं सल्टाउनुस् । यदि तपाईंहरुबीच सल्टेन भने जसले गुनासो गरे उनीहरुलाई बोलाएर कुरा गर्छु । तपाईंहरुलाई पनि डाकेर समाधानतिर लाग्छु । तर संघ र छनोट समितिले हामी मिलाउँछौँ भनेपछि मैले हस्तक्षेप गर्ने कुरा भएन । किनभने त्यो उहाँहरुको ड्युटी हो ।
एकसाताअघि एक अन्तरक्रियामा तपाईंले खेलकुदमा चरम आर्थिक लापरबाही छ भन्नु भएको थियो । कस्तो कुरामा भन्नु भएको हो ?
यो नेपाल सरकारको महालेखा परीक्षकको प्रतिवेदनमा त्यसमा स्पष्ट रुपमा उल्लेख छ । एक अर्ब ३५ करोडको बेरुजु छ । त्यो बेरुजु म आउनुभन्दा अगाडि आएको हो । अथाह रुपमा पैसा लिने । करौडाैं –करोडौं रुपैयाँ त्यसमा छ । मैले दुइ चारवटा चिठिसमेत काटेको छु । त्यसको रिजल्ट आयो भने प्रेसमार्फत सार्वजनिक गर्नेछु । सिस्टममा बसेन भने रिजल्ट आउँदैन । हाम्रो आर्थिक प्रशासनिक नियमावलीमा के भने तीन महिनाभन्दा बढीको पेश्की लिन पाइँदैन ।
एउटा पेश्कीपछि फेरि थप्न मिल्दैन । पटक–पटक थप्ने लाखौं होइन करोडौं रुपैयाँ पेश्की लिने । त्यो लिनेले यो विधिसम्मत छैन भनेर बुझ्नपर्छ त्यसमा सिग्नेचर गर्नेले पनि यो विधिसम्मत छैन भनेर बुझ्नपर्छ । यहाँ त लिने पनि उत्साहपूर्वक लिने अनि दिनेले पनि जति बढी पैसा दिन पायो खुसी हुने । अनि पेश्की फछ्र्यौट नगर्ने । आज कतिपयले रिटायर्ड भएपछि दुःख भोगिरहनु भएको छ । त्यसैले मैले भनेको छु यो साग प्रतियोगिता सकौँ ।
त्यसपछि म पत्र काटेर पेश्की धेरै कम गराउँछु । यदि पेश्की तिर्न अटेर गर्ने जो कोही भए पनि मिडियामार्फत सार्वजनिक गर्नेछु । यी मान्छेहरु खेलकुद परिषदमा पेश्की फरि फछ्र्यौट नगर्ने हुन् भनेर पक्कै सार्वजनिक गर्छु । अहिले नै त्यतातिर नपुगौं । केही बुझाउने क्रम पनि सुरु भएको छ । म आएबाट ‘हेन्डस मनी’ नै फछ्र्र्यौट भएको छ । अलि बढी भएकोलाई मैले प्रक्रियाबाट सुरु गरेको छु त्यसको जवाफ के आउँछ । अथवा त्यो अनुसार काम गर्नुहुन्छ या हुँदैन हेरौं ।
तस्बिरः सरिता खड्का