आत्माको सम्बन्ध खोज्दै सुनील

आत्माको सम्बन्ध खोज्दै सुनील

शङ्कर लामिछानेले आफूलाई कहिल्यै लेखक–साहित्यकार भन्न रुचाएनन् । तर पनि उनलाई आदर्श लेखक मान्नेको सङ्ख्या नेपाली साहित्यमा कम छैन । उनकै कथा ‘आत्माको मीमांसा’ निर्देशन गरिरहेका प्रवीण खतिवडालाई पनि म निर्देशक हुँ भन्न लाज लाग्छ । तर लामिछानेलाई वरिष्ठ साहित्यकार भनेर अनुज पुस्ताले सम्मान गरेझैं प्रवीणको निर्देशकीय कलालाई पनि मुक्त कण्ठले प्रशंसा गर्ने थुप्रै छन् ।  

“खै कसरी हो मेरो उहाँसँग ठ्याक्कै कुरा मिल्यो, उहाँ आफूलाई लेखक नमान्ने म आफूलाई निर्देशक हुँ भन्न  नरुचाउने ! मलाई त म निर्देशक हुँ भन्ने आँट पनि आउँदैन,” प्रवीण भन्छन्, ‘‘निर्देशक बन्ने साहस मलाई कहिल्यै आउँदैन । कारण मेरो नजरमा निर्देशक देवता हो । त्यो सुनील पोखरेल हो ।”

प्रवीणले देवता ठान्ने तिनै सुनील पोखरेलले भने प्रवीणलाई निर्देशक ठाने । विश्वास गरे । प्रवीणको निर्देशनमा नाटक गर्न तयार भए । 

लेख्य नाटक त्यति धेरै छैनन् । भएका पनि मञ्चनका लागि योग्य कम छन् । त्यसैले प्रवीण कुनै कथा होस् या सहित्यको अन्य कुनै विधा पढ्दा त्यसलाई नाटकमा ढाल्न सकिन्छ कि सकिँदैन भनेर सोच्छन् । त्यस्तैमध्ये करिब आधा दर्जन रचना उनको दराजमा बन्द थिए । 

एक दिन सुनीलले बोलाए । आरोहण गुरुकुलका उनी गुरु, प्रवीणचाहिँ शिष्य । डोजर चलेपछि उठ्न नसकेको आरोहण गुरुकुललाई कसरी उठाउन सकिन्छ भन्ने छलफल गरे । विगत, वर्तमान र भविष्यका कुरा भए । आरोहण गुरुकुललाई कसरी पुनःजीवन दिने भनेर उपाय सोचे । तर विरामी भए न चिकित्सकले जाँच्ने हो । विरामी नै नभएपछि डाक्टरको के काम ? गुरुकुुल ठडिने जमिन नै नभएपछि कहाँ देखाउने नाटक ? 

“भाडामा हल लिएर आरोहणको ब्यानरमा नाटक देखाऊँ सर । हजुर निर्देशन गर्नुस् । हामी अभिनय गर्छौं,” प्रवीणले सुनीललाई भने, “शरीर नभए पनि आरोहण गुरुकुलको आत्मा त मरेको छैन भन्ने पनि हुन्छ ।”
सुनीललाई उनको कुरा मन पर्‍यो । तर, दुवैले चलचित्रमा साइन गरिसकेका छन् । 

सायद समयले आरोहणलाई साथ दियो । अथवा चलचित्र निर्माताले छायाङ्कनमा जान पैसा जुटाउन सकेनन् । जेहोस् चलचित्रको छायाङ्कन मिति पर सर्‍यो । सुनील फुर्सदिला भए । संयोग प्रवीणलाई अफर गरेका निर्माताको चलचित्र पनि पछि हट्यो । सुनीलजस्तै प्रवीण पनि फुर्सदिला भए । 

प्रवीणले फेरि सुनीललाई भने, ‘‘सर हजुरको चलचित्र तत्काल नहुने भए एउटा नाटक गरौं ।’’ 

सुनीलले भने, ‘‘म अहिले निर्देशन गर्दिनँ । तिमी निर्देशन गर्ने हो भने म अभिनय गर्छु । तयार हो तिमी ?’’

“निर्देशक भनेको देवता हो । मेरा लागि सुनील पोखरेल देवता,” प्रवीणको मथिङ्गल हल्लियो । 

के गर्ने ? गर्ने हो भने कसरी गर्ने ? मेरै गुरु जसलाई आदर्श मानेर आजसम्म यही कर्मलाई रङ्ग्याउने भनेर हिँडिरहेको छु । नगर्नु कसरी ? गर्नु चुनौतीको पहाड सतिसाल झैं प्रवीणका अघिल्तिर ठिङ्ग उभियो । 

चुनौती मोल्न मै त छ मजा ! प्रवीणले ‘हुन्छ’ भने । 

दराज खोलेर आफूसँग भएका आधा दर्जन सम्भावित मञ्चनयोग्य कथा बोकेर सुनीलकोमा पुगे । सुनीलले मन पराए शङ्कर लामिछानेको ‘आत्माको मीमांसा’ । त्यसलाई नाटकमा रुपान्तरण गरे प्रवीणले । वर्तमान बोल्ने केही तथ्य थपे । जस्तैः दरबार हत्याकाण्ड, निर्मलाको बलात्कारपछिको हत्या, ३३ किलो सुन प्रकरण । 

बिहीबार साँझ साढे ५ बजे प्रहरी साइरन बजाउँदै सिंहदरबार पूर्वी गेटअगाडि भीडलाई छिचोल्दै भित्र पस्छ । टेबुलमा सहरका नाम चलेका डाक्टर हरिहर सिग्देल मृत भेटिन्छन् । अर्को छेउमा उनका असिस्टेन्ट डाक्टर अतुल चौलागाईं (राजकुमार पुडासैनी) बर्बराइरहेका हुन्छन् । उनी डा. सिग्देलको आत्मासँग कुरा गर्न दिनुस् भन्दै घटनास्थल आइपुगेका प्रहरी अधिकारीहरुसँग अनुनयविनय गर्छन् । उनी डा. सिग्देलको आत्मालाई बोलाएर मानिस र आत्माबीचको सम्बन्धबारे नयाँ रहस्य पत्ता लगाउन चाहन्छन्, जुन डा. सिग्देलको जिन्दगीको अभीष्ट थियो । र, उनको आत्महत्याको लक्ष्य पनि त्यही थियो । डा. सिग्देलले अतुलकी श्रीमतीको आत्मालाई बोलाएर आत्माबारे केही थाहा पाएका हुन्छन् । तर त्यतिमात्रै उनको खोजका लागि पर्याप्त थिएन । त्यसैले अतुललाई अन्तिममा उनी अह्राउँछन्, जसरी तिमीमार्फत् मैले तिम्री श्रीमतीको आत्मासँग कुरा गरेँ । ठीक त्यसैगरी तिमीले मेरो आत्मासँग कुरा गर्नू । आत्मा र मानवबीचको सम्बन्धको रहस्य पत्ता लगाउनू । 

डा. सिग्देल अतुलकी श्रीमती एलिनासँग म त्यहाँ आएँ भने महाकवि लक्ष्मीप्रसाद देवकोटा, फ्रायड, न्युटनजस्ता व्यक्तिको आत्मासँग भेटाउन सक्छौ ? प्रश्न गर्छन् । जवाफमा एलिनाले सम्भव पनि छ भनेपछि अन्ततः आफ्नो भूमिबाट मानव र आत्माको सम्बन्धका बारेमा यति ठूलो रहस्योद्घाटन हुने भन्दै त्यसका लागि स्वयम् डा. सिग्देल कञ्चटमा गोली दागेर आत्महत्या गर्छन् । 

केही वैज्ञानिक र केही काल्पनिक लाग्ने नाटकको कथालाई निर्देशक प्रवीणले बुझिने गरी मञ्चन गराएका छन् । कतै गम्भीर त कतै ठट्टा भेटिने नाटकमा निर्देशक जति अब्बल देखिन्छन् त्यति नै मञ्चमा डा. हरिहर सिग्देल (सुनील पोखरेल) र डा. अतुल चौलागाईं (राजकुमार पुडासैनी) खरो उत्रिएका छन् । 

नाटकका लामालामा विज्ञान, मनोविज्ञान र काल्पनिक संवाद सुनीलले दैनिक जनजीवनको लवजमा सहजै अभिव्यक्त गरेका छन् । सचेत, अर्धचेत र अचेत मस्तिष्क तथा उक्त अवस्थामा मस्तिष्कले काम गर्ने तरिका सुनीलले सुनाउँदा उनी रङ्गकर्मीभन्दा पनि चिकित्सक बढी लाग्छन् । 

राजकुमार पुडासैनीको जीवन्त अभिनयले दर्शकको ध्यान सुरुदेखि अन्तिमसम्म तानिरहन्छ । मनोविश्लेषणमा आधारित लामिछानेको कथालाई नाटकमा रुपान्तरणमा  प्रवीणको निर्देशकीय शिल्प प्रशंसनीय छ । 

“अतुल चौलागाईं तिम्रा आँखाका परेली बन्द गर । तिमीलाई विस्तारैविस्तारै निद्रा लाग्छ । तिमी गहिरो निद्रामा छौ । तर तिमीले मेरो आवाज सुनिरहेका छौ । जब म तिम्रो कानको छेउमा ताली बजाउँछु, तिमी बिस्तारै निद्राबाट बिउँझिन्छौ,” डा. अतुलमाथि डा. हरिहरले प्रयोग गर्दा पटकपटक बोलेको यो संवाद दर्शकले खुबै सम्झिरहन्छन् ।  

नरेश फुयाँल

प्रतिकृया दिनुहोस
ad