समाचार ‘इन डेप्थ’

 समाचार ‘इन डेप्थ’

नरेश फुयाँल


साहित्यकार बन्ने सपना साँचेर काठमाडौं पसेका धर्म अधिकारी शिक्षक हुँदै कालान्तरमा पत्रकार भए । गहिराइमा पुगेर विषयको चुरो पत्ता लगाउने पत्रकारमा आफ्नो नाम दर्ता गरे । तर धर्मलाई ‘साधना’ मासिकले लामो समय नेपालमै रोकिरहन सकेन । अध्ययन, अनुसन्धानमा रुचि थियो । अमेरिका गए । अमेरिकामा पढ्ने र पढाउने उनको दैनिकी भयो । भारत मणीपुरमा बस्दा देशको माया र पहिचानको भोकको अनुभव गरेका धर्म अमेरिकामा पनि बस्न सकेनन् । नेपाल फर्किए । मिडिया रिसर्चमा लागे । तर आशातीतः परिणाम आउने नदेखेपछि उनी लागे चीनतिर । चीनमा पत्रकारिताको बाह्रखरी पढाइरहेका धर्मलाई नेपाल आएको छेको पारेर हामीले बिहीबार अनामनगरमा भेट्यौं । नेपाल–अमेरिका–नेपाल हुँदै चीन पुगेका धर्मको ऊर्जामा अहिले पनि रत्तिभर कमी आएको छैन । उस्तै जोश र जाँगरमा उनले आफ्नो अनुभव साटे ।   

० ० ०

बुवा–आमा कामको खोजीमा भारत मणीपुर पुगेका थिए । धर्म (अधिकारी) उतै जन्मिए । पठनपाठन त्यहीँ सुरु भयो । अर्काकोे देश, अर्काकै रजाइँ । साथीहरुले हेप्थे, कुट्थे । फिरन्ते भन्थे । धर्मलाई चित्त दुख्थ्यो । तर पनि बस्नैपथ्र्यो । धर्म कक्षा नौमा  पढ्दै थिए । जातीय द्वन्द्व सुरु भयो । मणीपुर छोड्नुपर्ने भयो । बुवा–आमा नेपाल फर्किए । तर धर्म भने पढाइ बिग्रिने भएकाले उतै बस्नु पर्ने भयो । 

भनेको मान्नैपर्‍यो । आफन्तकोमा बसेर पढ्न थाले । जन्म दिने आमा–बुवा नै नभएपछि मणीपुर उनका लागि शून्यशून्य भयो । एक्लोपनले लखेट्न थाल्यो । सकेनन् धर्म एक्लै बस्न । नेपाल आए । विर्तामोडमा कक्षा नौमा भर्ना भए ।

मणीपुरमा अङ्ग्रेजी माध्यममा पढेका, नेपालमा पढ्नुपर्ने नेपालीमा । उनलाई सकस भयो । हमेसा एउटै प्रश्नले लखेटिरहन्थ्यो, ‘मैले एसएलसी पनि पास नगर्ने भएँ ।’

नेपाली नजानेको प्रतिबिम्ब उनको अनुहारमा देखेका उनका नेपाली शिक्षकले भने, “तिमीलाई कविता लेख्नमा रुचि छ । त्यसैले कविता लेख, भाषा राम्रो हुन्छ ।” 

धर्म कविता यति धेरै लेख्न थाले, सिङ्गै कापी कविताले भर्थे । “कति धेरै मेहनत गरेछु मैले । मैले नौ कक्षाको परीक्षामा नेपालीमा सबैलाई टपेँ ।”

धर्मले साहित्यप्रतिको आफ्नो झुकाव सम्झिए । विलियम सेक्सपियर, कवि वडर््सवर्थ उनलाई मन पर्ने साहित्यकार थिए । भेटेजति साहित्यका पुस्तक पढ्थे । त्यसले उनलाई साहित्यप्रति रुचिमात्रै जगाएन । भविष्यको बाटो कोर्ने निर्णय लिन पनि सहयोग गर्‍यो । भारतमा गैरनागरिक भएर बस्दाको छटपटी र पहिचानको भोकले पनि होला उनले निर्णय लिए– ठूलो भएर ठूलो साहित्यकार बन्छु । ताकि जसले पनि मलाई चिनून् । देशविदेशमा मेरो ख्याति होस् । 

नेपालमा आएपछि भूपी शेरचन र लक्ष्मीप्रसाद देवकोटाका कविताले उनलाई तान्यो । देवकोटाका निबन्धले उनको मथिङ्गल हल्लाइरह्यो । 

०४१ सालमा एसएलसी दिए । ०४२ मा काठमाडौं आए । उनलाई रुचि थिएन, तर साइन्स पढ्नुपर्छ भन्ने दबाब थियो । कति काम अरुकै सल्लाह, सुझाव र सामाजिक मर्यादाका लागि परिवन्दमा परेर गरिँदोरहेछ भन्ने उनले त्यहीबेला अनुभूत गरे । अमृत साइन्स कलेज साइन्सका लागि ख्याति बटुलेको कलेज थियो । तर धर्म भर्ना भए त्रिचन्द्रमा । 

किन ? 

“देवकोटाको एउटा कथामा उहाँले त्रिचन्द्र कलेज अगाडिको रुखको बयान गर्नुभएको थियो । म त्यो रुख खोज्दै त्यहाँ पुगेँ । तर त्यो रुख त्यहाँ थिएन । किनकि, म निकै ढिलो आएको थिएँ काठमाडौं,” कहानी सुनाउँछन् धर्म, “रुख नभए पनि म देवकोटाले पढाएको कलेजमा पढ्छु भनेर त्यहीँ भर्ना भएँ । अनौठो कुरा मैले देवकोटालाई सपनामा देखेँ । दुईपटक उहाँले  मलाई सपनामा भन्नुभयो– तिमी राम्रोसँग पढ । तिमीले चाहेको कुरा गर्न सक्छौ ।”

एक वर्ष पढेपछि धर्मलाई लाग्यो साइन्स मेरा लागि होइन । केही दिन रत्नराज्यलक्ष्मी कलेजमा पत्रकारिताको कक्षा पनि लिए, तर त्यहाँ पनि रमाउन सकेनन् । वर्ष सकिन लागेपछि उनले त्रिविबाट प्राइभेट आईए प्रथम वर्षको परीक्षा दिए । स्नातक उनले देवकोटाले पढाएकै कलेजमा पढे । 

घरबाट खर्चपानी आउँदैनथ्यो । आईए पढ्दादेखि नै काम गरेर खर्च जोहो गर्थे । काठमाडौंमा बस्न, खान र पढ्न धर्म ट्युसन पढाएर खर्चको जोहो गर्थे । 

पढ्नु र पढाउनुका अलावा उनी पत्रपत्रिकामा कविता र फिचरहरु लेख्थे । ‘गोरखापत्र’मा कविता र ‘काठमाडौं रिभ्यु’मा फिचरहरु लेख्न थालेका थिए । पर्यटनसम्बन्धी फिचर लेखेका धर्म आफ्नो नामबारे पनि बोल्छन् । उनको पूरा नाम धर्मानन्द अधिकारी । उनलाई त्यो नाम अलि लामोजस्तो लाग्यो, बाइलाइनका लागि । त्यसैले उनले धर्ममात्रै लेखे । सुरुआती दिनमा फ्रिलान्सर भएर लेख्दा उनले बाइलाइन धर्म दिए ।  

धर्मले स्नातक तहमा त्रिवि टप गरेको पनि सुनाए । जीजीविषा धान्न त्यति सहज थिएन । हातमुख जोर्न काम गर्नैपथ्र्यो । त्यसैले उनी पढाइरहेका थिए । होम ट्युसनकै क्रमममा उनी काष्टमण्डपछेउको एउटा घरमा पुगे । घर थियो पुष्करलाल श्रेष्ठको । दिरेकलाल श्रेष्ठलगायतलाई घरमै गएर पढाइरहेका थिए । बाइलाइनको लोभ हो या शोधको रहर उनलाई लेख्न रहर लाग्थ्यो । लोभ र रहरको परिणाम उनी लेख्थे । पत्रपत्रिकामा छापिन्थ्यो । पुष्करलालले देखेछन् । 

पुष्करलाले धर्मलाई भने, “पत्रिकामा आउनुस् सँगै काम गरौं ।” अङ्ग्रेजी पत्रिका निकाल्ने सोचमा थिए श्रेष्ठ । ‘समाचारपत्र’ र ‘द नेसन’ दर्ता हुँदा ‘द नेसन’ धर्मको नाममा दर्ता भयो । ‘द नेसन’को सम्पादक धर्म हुने निर्णय भयो ।
‘द नेसन’ सुरु नहुञ्जेल ‘साधना’को सम्पादकको जिम्मेवारी धर्मलाई दिने श्रेष्ठले निर्णय गरे । 

जगदीश पोखरेल ‘राइजिङ नेपाल’मा थिए । उनले आऊ, यहीँ काम गरौं भनिरहेका थिए । अङ्ग्रेजी राम्रो भएका धर्मलाई नेपाली भाषामा अब्बल बन्नु थियो । त्यसका लागि उनले ‘साधना’ नै उचित ठाने ।

पशुपतिमा लासको व्यापार
४० को दशकको अन्त्यमा ‘साधना’बाट व्यावसायिक पत्रकारिताको यात्रा सुरु गरेका उनले ‘साधना’लाई नयाँ उचाई दिए । गहिराइमा पुगेर समाचार खोजे । ‘कभरस्टोरी’ गरे । उनले खोजेका समाचारले ‘साधना’लाई नयाँ उचाईमात्रै दिएन, धर्मलाई पनि नाम र इज्जत दुवै दियो । 

आफूले गरेका केही समाचार सम्झिन हामीले उनलाई आग्रह गर्‍यौं । असङ्ख्य समाचारका बीचबाट उनले चारवटा स्टोरी सम्झिए । समाचारको शीर्षक ठ्याक्कै उनलाई याद छैन । तर समाचारको एङ्गल भुलेका छैनन् । 

१. पशुपतिमा लासको व्यापार

२. खाते नानीहरुको कथा

३. चिहान खन्नेहरुको कथा

जिन्दगी प्रयोग हो भन्ने धर्मलाई पत्रकारितामा पनि ‘प्रयोग’ गर्नु थियो । नयाँ केही गर्नु थियो, सुरु गरे । 

‘पशुपतिमा लासको व्यापार’ भइरहेको धेरैलाई थाहा थियो । पशुपतिनाथ मन्दिरलाई चढाएको भेटी र दान गरेका सुन–चाँदी हिनामिना भइरहेको छ भन्ने गाइँगुइँ थियो । लास पोल्ने दाउरामा भइरहेको कमिसनलाई भ्रष्टाचार धेरैले भन्थे, तर समाचार आएको थिएन । यसमै लेख्छु भन्ने सोचे धर्मले । “आफैं फिल्डमा गएर आफ्नै आँखाले देख्नुपर्छ । डिटेल उतार्नुपर्छ । पाठकले पढ्दा त्यसको तस्बिर उसको दिमागमा आउनुपर्छ भन्ने मेरो मान्यता थियो । त्यसैले म आफैं एकसाता पशुपतिमा राति १२/१ बजेम्म बसेर त्यहाँको बस्तुस्थिति हेरेँ,” धर्म भन्छन्, “पशुपतिको मूलभट्टको त्यो बेलासम्म कतै पनि अन्तरवार्ता आएको थाहा थिएन । तर मलाई गर्नुपर्छ भन्ने लाग्यो । राजासँग सीधै पहुँच हुने भट्टले अन्तरवार्ता दिन्छन् होला र ? त्यसैले म त्रिवि सोसोलोजीको विद्यार्थी बनेर मूलभट्टसँग पुगेँ । उहाँसँग लामो कुराकानी गरेँ । उहाँले धेरै कुरा खुलेर गर्नुभयो । मैले त्यसलाई ‘बक्स इन्टरभ्यु’ बनाएर राखेँ ।”

विद्यार्थी भनेर मूलभट्टले धर्मसँग खुलेर कुरा गरे । तर धर्म विद्यार्थीको छद्म भेषमा पत्रकार थिए । त्यसलाई समाचार सामग्री बनाए । 

पशुपति आर्यघाटमा दैनिक दर्जनौं शव जलाउन कति लाग्छ दाउरा ? त्यसको मूल्य कति ? आउँछ कति ? आयात र खपतको तुलना गरे । अनियमितताको ‘इन्फोग्राफ’ तयार भयो । निकै लामो कभरस्टोरी छापियो । 

विस्तृतमा छापिएको समाचार पाठकले मन पराए । त्यो बेलाका साप्ताहिक पत्रपत्रिकाले त्यही समाचार बिनास्रोत छापे । धर्म सुनाउँछन्, “त्यसपछि हो पशुपतिनाथ पनि समाचारको विषय हो भनेर पत्रकारले फलो गर्न थालेको ।” 

‘खाते’ शब्द प्रयोग गर्दा...
सडक बालबालिकाका बारेमा धर्मलाई स्टोरी गर्न मन लाग्यो । तर सहज थिएन । बोल्न नमान्ने, बोलिहाले पनि गाली गर्ने । कसरी बोल्न लगाउने ? उनीहरुसँगै घुलमिल भए । 

अबेर साँझसम्म उनीहरुसँगै बसे । उनीहरुका अड्डामा गए । दाउरा बालेर तापे । एकसाता लगाएर उनीहरुको कथा सङ्कलन गरे । पृष्ठभूमि । सडकसम्म आइपुग्नुको कारण । उनीहरुले भोग्नुपर्ने समस्या र भोगिरहेको जीवन खोजे । त्यसपछि उनलाई चाहियो सरकारी तथा गैरसरकारी संस्थाहरुले उनीहरुलाई गरेको सहयोग, उनीहरुलाई बाहिर ल्याउन भएको प्रयास तथा लगानीबारे तथ्य । 

“त्यो बेला अहिलेको जस्तो सडक बालबालिका भन्ने शब्द प्रयोग हुन थालको थिएन । ‘खाते’ भनिन्थ्यो । त्यसैले ‘खाते नानीहरु’ भनेर नै लखिएको थियो,” उनी भन्छन्, “पछि त्यही स्टोरीलाई लिएर मार्टिन चौतारीले रिभ्यु लेख्यो । ‘खाते’ भन्ने शब्द कहाँबाट आयो भन्नेदेखि परिभाषासमेत उल्लेख गरिएको छ । ग्लोबल ट्रेन्ड के छ, त्यसमा समेटिएको छ ।”

समलिङ्गीको त्यो समाचार
सम्पादक थिए धर्म । सधैं आफूले मात्रै गरेर भ्याउन सम्भव थिएन । त्यसैले रिपोर्टरहरुलाई ‘असाइन’ गराउँथे । प्रजातन्त्र भर्खर आएको थियो । समाज खुल्ला हुँदै थियो । आफ्नो अधिकारका लागि सीमान्तकृत समुदायहरु आफ्नो आवाज मुखरित गर्न खोजिरहेका थिए । 

त्यही समय पश्चिमा मुलुकमा मौलाएको समलिङ्गी तथा तेस्रो लिङ्गी समुदाय नेपालमा पनि देखिन थाल्यो । ‘ब्ल्यु डाइमन्ड सोसाइटी’ नामक संस्था नै उनीहरुले खडा गरेर सङ्गठित हुन थालेका थिए । धर्मले रिपोर्टरलाई असाइन गराए । 

समाजमा भर्खर खुल्दै गरेका समलिङ्गीहरु आफ्नोबारे सञ्चारमाध्यममा बोल्नु त के पत्रकारको छेउ पनि पर्दैनथिए । तर समाचारका लागि आवश्यक जानकारी चाहिएकै थियो । उनले खटाएका रिपोर्टर रातरात ठमेल, रत्नपार्क र लाजिम्पाट गए । समलिङ्गी, तेस्रोलिङ्गीसँग कुरा गरे । समाचारका लागि आवश्यक सामग्री पुगेपछि उनले रिपोर्टरलाई समाचार लेखाए । 

बिल्कुल नयाँ थियो समाचार । धेरैले नदेखेको मात्रै होइन नसुनेको विषय थियो त्यो । समाचार प्रकाशन भएपछि सयौंको सङ्ख्यामा समलिङ्गी तथा तेस्रोलिङ्गी साधनाको कार्यालय घेराउ गर्न आए । अफिस तोडफोडमै उत्रिए । “मलाई मार्छु र काट्छु भनेर झम्टिए,” धर्म सम्झिन्छन्, “धन्न प्रहरी आइपुग्यो र मेरो ज्यान जोगियो त्यस दिन ।”

चिहान खन्नेको समाचार 
पूर्वी नेपालमा जनजाति समुदायको मृत्युपछि शव जलाउने चलन छैन । मृत्युअगाडि उसले इच्छाएको ठाउँमा चिहान बनाएर गाड्ने चलन थियो ।

समाचार ‘एक्सक्लुसिभ’ हुन्थ्यो । तर थुप्रै चुनौती थिए । पहिलो, त्यो समाचार खोज्नका लागि पूर्वी नेपालको पहाडी जिल्ला पुग्नुपथ्र्यो । दोस्रो, त्यसका लागि समय र पैसा निकै खर्च हुनेवाला थियो । तेस्रो, समाचार छापिएपछि जनजाति समुदाय आक्रोशित हुने सम्भावना । आक्रोशको परिणाम जस्तो पनि हुन सक्छ भनेर त्यसलाई सामना गर्न मानसिक र शारीरिक रुपमा तयार हुनुपथ्र्यो । 

समाचार, शव जलाइँदैन गाडिन्छ भन्ने थिएन । चिहान खनेर चिहानमा रहेका सुन, चाँदी तथा पैसा निकालिन्छ भन्ने थियो । यसरी चिहान खन्नेमा मृतकका परिवारका सदस्यदेखि आफन्त पनि हुने गरेको तथ्य थियो । रातको चकमन्न र अँध्यारोमा यस्ता क्रियाकलाप भइरहेको भन्ने सूचना थियो । 

सूचनाले लोभ्यायो ‘साधना’लाई । प्रधानसम्पादक तथा प्रकाशक पुष्करलाल श्रेष्ठ हेलिकप्टर चार्टर गरेर रिपोर्टिङका लागि रिपोर्टर पठाउन तयार भए । “पुष्करजीले हेलिकप्टर चार्टर गरेर रिपोर्टिङका लागि रिपोर्टरलाई भोजपुर पठाउनुभयो ।

रिपोर्टरले समाचार ल्याए । छापियो पनि,” उनी भन्छन्, “स्टोरी छापिएपछि तहल्का मच्चियो । काठमाडौंमा भएका जनजातिहरुले जुलुस निकाले । हामीले त्यस्तो गरेकै छैन । हाम्रो भावनामाथि ठेस पुर्‍याउने काम भयो भन्न थाले । त्यतिमात्रै होइन, उनीहरुले त्यो समाचारको खण्डन गर्न न्युजलेटर नै प्रकाशन गरे ।” 

समाचार लेख्ने रिपोर्टर केही दिनपछि आफूले लेखेको समाचारको खण्डन गर्दै छापिएको न्युजलेटर बोकेर कार्यालय आए । खण्डनसहित ‘साधना’को अर्को अङ्कमा त्यही स्टोरी छापिएको धर्म सुनाउँछन् । 

पत्रकार र पत्रकारिता    
उमेर युवा थियो । जोश–जाँगर थियो । केही नयाँ गरौं भन्ने भावना थियो । साथीहरुको साथ थियो । धर्मलाई लाग्यो, “यति पपुलर म्यागेजिन अङ्ग्रेजीमा किन प्रकाशन नगर्ने ? दुई अङ्क निस्कियो पनि । भलै व्यवस्थापनले त्यसलाई निरन्तरता दिन सकेन । विडम्बना ! बन्द भयो । 

ढुङ्गो खाए पचाउन सक्छु, चट्टानी पहाड एक्लै फोड्न सक्छु  भन्ने युवा जोश सेलाएको थिएन । पत्रकारिताबारे अध्ययन–अनुसन्धानको लगाव र झुकाव थियो । साधनाको दुई अङ्क उनले सञ्चारसँग सम्बन्धित विषयमात्रै समेटेर निकाले । कभरस्टोरी आफैं लेखे । पत्रकारहरुसँग भेटघाट गरे । अन्तरवार्ता लिए । 

“पत्रकारिता पेशा कस्तो ? हामी सबैलाई थाहा छ । काट्न नभ्याएको लामो दारी र कालो ब्याग बोकेर दिनभरि करोडपति र अर्बपतिसँग सङ्गत ग¥यो । अबेर राति घर पुगेर भोकै सुत्नुपर्ने पेशाको चिरफार गरेँ,” उस्तै जोशिलो स्वर र हाउभाउमा धर्म सुनाउँछन्, “धरान र पोखरामा रिसर्च गराएँ । रिसर्चबाट प्राप्त डेटा राखेँ । किन त्यो गरेँ मलाई थाहा थिएन त्यो समय । मात्रै रहरले गरेँ । तर अहिले थाहा पाएँ पत्रकारिताप्रतिको झुकाव पो रहेछ त्यो !”

अमेरिका र चीनमा...
एकै ठाउँमा लामो समय बस्न सहज नलाग्ने । रिसर्च गर्दै हिँड्न मन लाग्ने । तर पत्रकारितामा सधैं त्यो सम्भव थिएन । त्यसमा पनि दिनभरि अर्बपतिको सङ्गत रातभरि सय रुपैयाँको अभाव झेल्नुपर्ने पेशा । सय र हजारकै अभाव त धर्मले भोग्नुपरेन । यद्यपि, उनले गरेको श्रमको उचित मूल्य नेपाली पत्रकारिताले उनलाई दिन सक्दैनथ्यो । फलतः छ वर्षको ‘साधना’को यात्रापछि धर्मले अमेरिकाको टिकट काटे । 

पत्रकारिताको अभ्यासमा थिए । तर अङ्ग्रेजीमा स्नातकोत्तर गरे पनि पत्रकारिताको एकेडेमिक अध्ययन थिएन । त्यसको अभाव उनको कलममा नदेखिए पनि पढ्ने रहर थियो । त्यसैले उनले फुलब्राइट स्कलरसिपका लागि प्रयास गरेका थिए ।

‘मिजौरी स्कुल अफ जर्नालिजम’मा पढेका उनले चाहेको भए अमेरिकाका मिडियामा गएर एक वर्ष काम गर्न पाउँथे । चाहे त्यो ‘न्युयोर्क टाइम्स’ नै किन नहोस् । गएनन् । धर्मलाई अझै पढ्न मन थियो । पीएचडीमा आवेदन दिए । पीएचडी गर्दागर्दै पढाउन सुरु गरे । आफैंले पढेको मिजौरीमा चार वर्ष पत्रकारिता पढाएका धर्मले ‘जर्जिया साउदर्न युनिभर्सिटी’मा तीन वर्ष अध्यापन गरे । 

पैसा राम्रो थियो । सम्मान पनि थियो । तर पनि आफ्नै देश फर्किए । नेपालको ठूला सञ्चारमाध्यमका मालिक र पत्रकारहरुलाई भेटे । नेपाली पत्रकारिता क्षेत्रमा केही नयाँ काम गरौं भन्ने आग्रह गरे । तर सम्भव भएन ।  

भारतदत्त कोइरालालाई अध्यक्ष बनाएर ‘मिडिया फाउन्डेसन’ खोले । मिडिया रिसर्च गरे । ‘मिडिया गुफा’ उनकै आइडियामा सञ्चालन भएको कार्यक्रम थियो ।

अमेरिका बस्दा पनि उनी पत्रकारिताभन्दा टाढा रहन सकेनन् । कहिले उतैका पत्रिकामा त कहिले नेपालका पत्रिकामा लेख लेख्थे । नेपाल फर्किएर १० वर्ष नियमित स्तम्भ लेखे ।  

परिवारको मूली । जिम्मेवारी उनकै काँधमा थियो । तीन जना छोराछोरी खुट्टा टेकाइदिनु थियो । जिम्मेवारीको भारीले किचेपछि  उनी लागे चीनतिर ।

धर्म ‘सान्तोउ युनिभर्सिटी’मा पत्रकारिता पढाउँछन् अहिले । दुई वर्ष भयो चिनियाँलाई पत्रकारिताका मूल्य, मान्यता र सिद्धान्त पढाउन थालेको ।

डिजिटल मिडियाका पारखी
देश–विदेश घुमे । पढे, पढाए । लेखे र लेखाए । अनुभव बटुले र कान्छो पुस्तासँग साटे । अनुभवले भन्यो– नेपाली मेहनती छौं । तर अर्थहीन मेहनत गरिरहेका छौं । आज गरेको मेहनतको उपलब्धि केही छैन भन्ने थाहा छ । तर पनि हामी गरिरहेका छौं । विदेशमा आज मैले गरेको मेहनतको परिणाम के र कति आउँछ भन्ने पहिला नै थाहा हुन्छ । 

अमेरिकामा पढ्दा शिक्षकले अनलाइन पत्रकारिताको एउटा कक्षा लिए । अनलाइन पत्रकारिताको पहुँचले उनलाई प्रभाव पार्‍यो । न घरघरमा वितरण गर्दै हिँड्नुपर्ने न त सडक, सवारी र भूगोल अवरोधक बन्ने । एचटीएमएल कोड चलाउन आउँथ्यो । त्यसैले अनलाइन सुरु गरेका थिए धर्मले । जुन नेपालमा ‘नेपालन्युज’पछिको दोस्रो डिजिटल पत्रिका थियो । 

“१२ वर्ष अनलाइन चलाएँ, जसमा मलाई गर्व छ । किनभने त्यो नेपालमा बिल्कुल नयाँ थियो,” धर्मले डिजिटल पत्रकारिताको प्रारम्भिक अनुभव सुनाए । 

“नेपालमा डिजिटल मिडिया भर्खर सुरु भएको थियो । नेपालन्युज डटकममात्रै थियो । सन् १९९९मा मैले न्युजलुकम्याग डटकम नामक अनलाइन चलाएँ । भलै, त्यो अहिलेको ब्लगजस्तो थियो,” धर्म सुनाउँछन्, “पछि ज्ञानेन्द्र शाहको शासन आएपछि मेरो अनलाइन ब्लक भयो । किनकि त्यसमा सबै समाचार राख्थेँ म । त्यसपछि मैले नेपालमनिटर डटकम भनेर अर्को अनलाइन चलाएँँ ।”

दरबार हत्याकाण्ड हुँदा धर्म अमेरिकामा थिए । अमेरिकाबाट उनले पलपलमा उक्त घटनाको अपडेट गर्थे । 

“साधनाले मलाई चिनायो, तर अनलाइनले मलाई आत्मसन्तुष्टि दियो,” उनले अन्तिममा भने ।  

तस्बिरः सरिता खड्का

प्रतिकृया दिनुहोस
ad