जसले जन्माए ‘नेपाल लोक स्टार’ 

जसले जन्माए ‘नेपाल लोक स्टार’ 

नरेश फुयाँल


पछिल्लो तीन वर्षयता नेपालमा ‘फ्रेन्चाइज सो’को ‘कपीराइट’ लिएर ‘सो’ भित्राउने लहर चलेको छ । ‘नेपाल आइडल’, ‘भ्वाइस अफ नेपाल’, ‘बुगीवुगी’, ‘को बन्छ करोडपति’, रोड्रिज’लगायत अरु पनि । महँगो शुल्क तिरेर कपीराइट लिएर सञ्चालन गरिएका यस्ता ‘सो’मा ‘नेपाल आइडल’ र ‘भ्वाइस अफ नेपाल’ गायन प्रतियोगिता हुन् । यी ‘सो’मा जुनसुकै जान्रका गीत गाए पनि हुन्छ । अङ्ग्रेजी गाए पनि हुने अथवा अन्य कुनै भाषा गाए पनि छेकबार छैन । 

केवल सुर चहियो । लय र ताल मिल्नुपर्‍यो । हुन पनि हो, कलाको न भूगोल हुन्छ न धर्म वा जाति । केवल सङ्गीतका सात सुर भए पुग्यो । 

कला, सहित्य र संस्कृतिले भरिपूर्ण नेपालका गरागरामा सङ्गीतका भाका छन् । शब्द र लय छन् । हरेक संस्कार र संस्कृतिसँग आफ्नै भाका र सुर छन् । पर्वसँग जोडिएर आउने पर्वगीत छन् । तिनैसँग गाँसिएर आउँछन् मौलिक लय । त्यसमै हुन्छ देश र देशबासीको पहिचान । 

‘नेपाल आइडल सिजन–२’ को एउटा शृङ्खला लोकविशेष  थियो । प्रतियोगी गीतको भूगोलअनुसारको पहिरन र परिहनअनुसारको गीत लिएर प्रस्तुत भएका थिए । निर्णायक पनि मौलिक पहिचान झल्किने पहिरनमा थिए ।  ‘सो’मा प्रतिस्पर्धीले खुलेर गीत गाए । ‘सो’को चौतर्फी प्रशंसा पनि भयो । टीआरपी उच्च आयो । युट्युबमा ‘भ्युज’ अन्य शृङ्खलाको भन्दा बढ्यो । त्यसलगत्तैको शृङ्खलामा ‘नेपाल आइडल’ले घोषणा गर्‍यो– यो सिजनको अहिलेसम्मकै उत्कृष्ट सो लोकविशेष शृङ्खला बन्यो । वास्तवमा त्यसले लोक गीत–सङ्गीतप्रतिको मोह झल्काएको थियो । आमदर्शकको चासो र सरोकार कहाँ छ ? त्यसको जवाफ थियो त्यो ।

लोक गीत–सङ्गीतप्रति जनताले देखाएको माया देखेर ‘नेपाल आइडल’ पछ्याइरहेका सहदेव कोइरालाका आँखा रसाए । उनको दिमागमा प्रश्न खेल्न थाल्यो– ‘हामी किन लोक गीत–सङ्गीतलाई मात्रै लिएर एउटा छुट्टै ‘रियालिटी सो’ गर्न सक्तैनौं ?’ त्यस्तो ‘सो’ जो फ्रेन्चाइजजस्तै नेपालको ‘सो’ पनि लोकप्रिय होस् । विश्वभर ‘ब्रान्डेड’ ‘सो’ पनि बनोस् । ‘आइडल’ र ‘द भ्वाइस’ ब्रान्डकै कारण आज विश्वभर प्रसारण भइरहेका छन् । 

लोक गीत–सङ्गीतको ‘रियालिटी सो’मा यसको ‘ब्रान्ड’ बनोस् । “नेपाल आइडल र द भ्वाइस भित्राउन विश्व जसरी अहिले लालायित भइरहेको छ, हो ठ्याक्कै त्यस्तै रहर हो मेरो पनि,” सहदेव आफ्नो महत्वाकाङ्क्षा सुनाउँछन्, “मौलिक गीतका लागि ब्रान्ड बनोस् । नेपाली गीत–सङ्गीतको विश्वबजारमा पहिचान स्थापित होस् ।”

चाहना राख्नु एउटा कुरा । त्यसले साकार रुप पाउनु पछिको कुरा । तर त्यसका लागि सुरुआत त गर्नुपर्‍यो । दरो इच्छाशक्ति राखे र उनले सङ्कल्प गरे, “मैले यसलाई जसरी पनि पूरा गर्नैपर्छ ।” 

भोलि मरेर जानु छ । त्यसपछिका लागि केही कृति छोड्नु छ । इतिहास आफैं बनाउनु छ भने पछि हटेर हुन्छ ? आफैंले आफैंलाई प्रश्न गरे । जवाफ उनीसँगै थियो– “हुँदैन ।”

लोकगायक माधव थापासँग आफ्नो योजना सुनाए । उनले भने– ‘गज्जब !’

हाइलाइट्स नेपालका भरत बस्नेतसँग कुरा गरे । उनले पनि साथ दिने वचन दिए ।  

कति जति खर्च लाग्ला ? लाखमा थिएन । करोड मात्रै पनि होइन । करोडौंको थियो अनुमानित बजेट । 

तर आँटे सहदेवले ।  

राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठानको अनामनर समितिका संयोजक र उपत्यका संयोजक समिति सदस्यसमेत रहेका सहदेव राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान पुगे । ठूलो आडभरोसाको अपेक्षा लिएर पुगेको समितिले कसरी सहदेवको योजनामा होस्टेमा हैंसे गर्ला ? उनको मनमा कौतूहल थियो । 

प्रतिष्ठानले प्रश्न उठायो । व्यक्तिले अग्रसरता लिएको सोमा प्रतिष्ठानले किन सहयोग गर्ने ? फाइदा के ? करोडौं पैसा कसले लगानी गर्छ र सो सफल हुन्छ ? 

प्रतिष्ठानले पिठ्यूँ फर्काइदियो । अपेक्षा र आशामा क्षणभरमै तुषारापात भयो । 

अघि बढ्ने कि पछि हट्ने ? 

मनमा द्विविधा उत्पन्न भयो । सहदेवलाई झन् चुनौती थपियो । 

सहदेवलाई एउटा उक्तिले लपेट्यो, ‘इखबिनाको मान्छे र विषबिनाको सर्प काम लाग्दैन ।’

हो नि !

उनले केही प्रायोजक कम्पनीहरुलाई आफ्नो योजना सुनाए । त्यसको प्रभाव र महत्व बताए । नेपाली कला, संस्कृतिको जगेर्नाको सुरुआत गर्ने समय आएको भन्दै झक्झक्याए । कतिले पिठ्यूँ फर्काए अहिले उनलाई चिड्याउनु छैन । 

केही कम्पनी तयार भए । केही व्यक्तिले सहयोगको वचन दिए । अग्रज केहीले आशीर्वाद दिए । 

हौसला मिल्यो । सक्तैनस् भन्नेलाई गरेर देखाउनू पनि थियो । त्योभन्दा धेरै त ठूलो सङ्ख्यामा दूरदराजमा रहेका लोक प्रतिभाहरुका लागि सुनौलो अवसर सिर्जना गर्नु थियो । नेपाली ठेट लोक गीत–सङ्गीतलाई माथि उचाल्नु थियो । छायामा परेको आफ्नै पहिचानको जगेर्ना पनि गर्नु थियो । 

‘स्पोन्सर’हरु भेटिन थाले । कार्यक्रमको डिजाइन सुरु भयो । अब चाहिने भयो निर्णायक । 

को होलान् त्यस्ता व्यक्ति जसले देशभरका लोक प्रतिभालाई चिन्न सकून् ! जाति, रङ्ग, लिङ्ग, भूगोल र वर्ण नहेरोस् । मात्रै गलाको र प्रतिभाको मूल्याङ्कन गरोस् । स्वतन्त्र निर्णय लिन नहिच्किचाओस् ।

सहदेवको मनमा नाम आयो– कुमार बस्नेत र जयनन्द लामा । जसलाई प्रज्ञा–प्रतिष्ठानले लोक गीत–सङ्गीतको अध्ययन तथा सङ्कलनका लागि हरेक पाँचपाँच वर्षमा ७५ जिल्ला (तत्कालीन)मा खटाएको थियो । सङ्गीतको ज्ञान भएको, आफै त्यसमा कुनै न कुनै रुपमा आबद्ध भएको र ‘सो’मा आएर बोल्न पनि सक्ने अग्रज पुस्ताबाट बस्नेत र लामा नै थिए । 

उनी बस्नेतलाई भेट्न गए । बस्नेतले भने, “मेरा उसका भन्दा दुई–चारवटा बढी गीत हिट भए होला, तर म भन्दा यसका लागि जयनन्द नै ठीक छ ।”

बस्नेतको सल्लाहअनुसार सहदेव जयनन्दकोमा पुगे । जयनन्दले भने, “सरकार र कुनै संस्थाले गर्नुपर्ने काम तपाईं व्यक्तिले थाल्नु भएछ । मैले गर्ने सहयोग म गर्छु ।” लामा निर्णायक बस्न तयार भए । 

युवा पुस्ताको प्रतिनिधित्व कसलाई गराउने ? व्यक्ति थुप्रै थिए । नाम एकपछि अर्को दिमागमा आइरहेका थिए । साथीहरुले पनि सुझाइरहेका थिए । रामजी खाँडलाई सहदेवले जिम्मेवारी दिए । 

सङ्गीतकारको प्रतिनिधित्व कसले गर्छ ? बीबी अनुरागी उपयुक्त सङ्गीतकर्मी थिए । उनले सङ्गीतकारको प्रतिनिधित्व गर्ने भए । 

‘सो’लाई एकजना महिला गायिका चाहिएको थियो । सङ्गीतकारको ज्ञान पनि भएको क्यामेरा पनि फेस गर्न सक्ने को होला ? सहदेवलाई लाग्यो– सुनिता दुलाल हाम्रा लागि उपयुक्त हुनेछिन् । सहदेवले उनैलाई निर्णायकको जिम्मेवारी दिने निर्णय लिए । सुनिताले ‘हुन्छ’ भनिन्, निर्णायक मण्डल तयार भयो । 

० ० ०

भन्नलाई आफ्नै भाका भन्यो । सार्वजनिक मञ्चहरुमा  लोकगीतकै चर्चा ग¥यो । संरक्षण, संवद्र्धन र अन्तरराष्ट्रियकरणको ठूल्ठूला गफ छाँट्यो । तर व्यवहारमा ? 

शून्य । 

“पप र हिपहपले नै बजार लिइहरेको छ । पाश्चात्य गीत र शैलीकै प्रभाव छ । बढ्दो पाश्चात्य सङ्गीतले प्रभाव मात्रै छोड्दै छैन, यसले हाम्रो लोकभाकालाई विस्तारै निल्दैछ । त्यसलाई जोगाउन पनि हामीले बृहत् स्तरमा यस्तो ‘सो’ गर्नुपर्ने थियो । त्यो मैले गरुँ या अरुले । त्यसको थालनी हुनुपर्ने थियो । त्यसैले मैले नै सुरु गरेँ,” सहदेव भन्छन्, “लोक र लोक दोहोरीका प्रतिभा कसरी खुम्चिरहेका छन् र मरिरहेका छन् ? सिर्जनाको क्षेत्रमा काम गरिरहेकाले यसबारे मलाई थाहा छ । अरु गीत गाउनेलाई प्लेटफर्म सिर्जना भइरहेको छ । तर लोकगीतका प्रतिभालाई खोइ स्टेज ? लोकदोहोरीमै गाएर आउनुपर्ने अवस्था छ । यसको अन्त्यका लागि गरिएको प्रयास हो यो । हाम्रो मौलिक परम्परा, संस्कार र संस्कृति जगेर्नाको अभियान हो यो ।”

त्यसैले उनले नाम राखे, ‘नेपाल लोक स्टार’ । 

० ० ०

सहदेवको घर काभ्रे । सानैदेखि कविता र सायरी लेख्न पोख्त थिए उनी । विद्यालयमा हुने प्रतियोगितामा उनी प्रायः पहिलो हुन्थे । रेडियोको लोकप्रियता सगरमाथाको टुप्पोमा पुगेको समय थियो । बौद्ध आरुबारीबाट प्रसारण हुने एचबीसी एफएममा दीपक समिर ‘आरुबारीका फू्लहरु’ नामक साहित्यिक कार्यक्रम चलाउँथे । ‘आरुबारीका फू्लहरु’ मा प्रायः सहदेवका कविता र सायरी वाचन नभएको शृङ्खला हुँदैनथ्यो । उत्कृष्टलाई महिनाको अन्तिममा अन्तर्वार्ताका लागि स्टुडियोमा बोलाइन्थ्यो । आफूसँग भएका सिर्जना बोकर जानुपथ्र्योे । सहदेव सायरीले भरिएका दुइटा मोटामोटा डायरी बोकेर गए । एफएमममा गायक भगवान् भण्डारी र मिलन क्षेत्री भेटिए । उनको डायरीका सायरी हेरेर भने, “भाइ यी सायरीलाई गीतमा परिणत गर न ।”

गीत लेख्ने चहना पनि पूरा हुने । रेडियो, एफएम तथा टेलिभिजनबाट बज्ने पनि । 

सहदेवलाई सुझाव उचित लागिहाल्यो । 

उनले कति सायरीलाई गीतमा ढाले । कति गीत नै लेखे । त्यसको अङ्क भने सुरक्षित छ उनीसँग । पहिलो पटक ०६४ सालमा उनले लेखेको गीत रेकर्ड भयो– ‘अमृत भनी विषै खुवाए नि’ विष्णु माझी र विमलराज क्षेत्रीको स्वरमा । त्यसले सहदेवलाई हौस्यायो । 

अञ्जु पन्तको स्वरमा रहेको ‘न पाउन सक्छु तिम्रो माया’, विष्णु माझीको स्वरमा ‘छाती चिरी हेर सानु’, ‘हरेक पलमा तिम्रै साथ पाए’, ‘नरोऊ नरोऊ नभन’ बाँच्न सक्छौं कहाँ’ उनले लेखेका लोकप्रिय गीत हुन् ।  

कविता, सायरी र गीतमा मात्रै होइन । उनको कलम उपन्यास लेखनमा पनि चल्छ । “तीनवटा उपन्यासको पाण्डुलिपि तयार छ । प्रकाशन गर्नमात्रै बाँकी छ,” उनले भने । 

त्यसो त उनी गीत लेखनसँगै सङ्गीत पनि भर्छन् ।  म्युजिक भिडियो निर्देशन पनि गर्छन् । 

“लोक गीत–सङ्गीतमा म मेरो मेहनतले केही गर्न सक्थेँ होला, तर अवसरको अभावमा खुम्चिएर बसेका देशभरका लोकप्रतिभाको प्रष्फुटन गर्न यो ‘सो’को परिकल्पना गरेको हुँ,” अन्तिममा सहदेव भन्छन्, “लोक गीत–सङ्गीतको क्षेत्रमा विश्वभर ‘ब्रान्डेड सो’ बनोस् भन्ने मेरो चाहना हो ।” 

सहदेवको परिकल्पनामा सुरु भएको ‘नेपाल लोक स्टार’ १४ शृङ्खला प्रसारण भइसकेको छ । ३६औं शृङ्खला ‘सिजन वान’को अन्तिम शृङ्खला हुने छ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ad