site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
 ‘तँ’, ‘तिमी’ आतङ्क
Ghorahi CementGhorahi Cement

मुक्ति गौतम


आमाले ‘तँ’ भनेर बोलाउनुहुन्थ्यो, त्यो अरू कुनै सम्बोधनभन्दा प्रिय लाग्थ्यो मलाई । अहिले आमा हुनुहुन्न, तर पनि मेरो कानमा गुञ्जिन्छ त्यो सम्बोधन बेलाबेलामा । हजुर, तपाईं, तिमी, तँ अथवा अरू कुनै सम्बोधनले बोलाए पनि माया गरेर बोलाउँदा र हेयले बोलाउँदा त्यही सम्बोधनमा पनि आकाश–जमिनको फरक हुन्छ । सरले स्कुलमा ‘तिमी’ भनेर बोलाउँदा सम्मान र सद्भावले झुक्ने शीर कोही आफूलाई ठूलै सम्झिएर ‘ए भाइ तिमी...’ भनेर भन्दा एक बित्ता माथि उचालेर त्यही शीर तनक्क पारेर जवाफ फर्काउन मन लाग्छ मलाई । 

दाइका साथीहरू थिए कोहीकोही जो केही पनि नसोचेरै ‘तिमी’ भन्न थाल्थे पहिलो पटकमै । कोही त लगभग मेरै उमेरका पनि हुन्थे । मलाई आदर कम र घृणा बढी लाग्थ्यो त्यो बेला । कोही त अहिले तिमीबाट तपाईंमा उक्लिएका छन् । त्यो पनि त्यति मन पर्दैन मलाई । पहिले किन ‘तिमी’ मा पु¥याएर अहिले किन तपाईंमा उकाले उनीहरू नै जानून्, मलाई भने यो प्रवृत्ति मन परेको छैन ।

Agni Group

जागिर खाँदा पनि सुरुसुरुमा त्यस्तै हुन्थ्यो । कोहीकोही हाकिम घरमै काम गर्न गएजसरी ‘तिमी’ सुरु गरिहाल्थे, कामको पहिलो दिनदेखि नै । एकाध हाकिमले त्यसो भन्दा प्यारो नै लाग्थ्यो । तर सुरुकै दिनमा तिमी सुन्दा भने कन्पारो तात्थ्यो । पछि आफू त विदेशतिर लागियो, तर हामीसँगै काम गरेका साथी भने सचिव हुनुभयो । त्यसबेला ती हामीलाई ‘तिमी’ भन्ने हाकिमहरू अहिले साथी सचिवअन्तर्गत नै त कोही अझै उपसचिवमात्रै छन् । म जवाफ थाहा पाएर पनि ‘उनीहरु अहिले के भनेर सम्बोधन गर्दा हुन्’ भनेर सोच्छु ।  

आफूलाई ठूलो देखाउने र मानसम्मान खोज्नेहरु छ्यापछ्याप्ती भेटिन्छन् हाम्रो समाजमा । आफूले सम्मान खोज्नेमात्र हैन, अरूलाई अनावश्यक झार्ने मामिलामा र चाकडी गर्नुपर्ने ठाउँमा पनि यो वर्गका मान्छेहरू अत्यन्त निर्लज्ज प्रस्तुत हुन्छन् ।
विदेशमा पनि त्यस्तो छ । ठाउँठाउँमा कोही खाँट्टी सिनियर दिदीहरू, दाइहरू र कथित भद्रभलादमीहरू पनि भेटिन्छन् । विदेश छिरेको समयको आधारमा, लवाइखवाइको आधारमा, पढाइको आधारमा, रूपरङ्ग, जिउडालको आधारमा, जागिर, कमाइको आधारमा, उमेर या यस्तै अन्य केही आधारमा एकैछिनमा भाइ–बहिनी बनाउन खप्पिस हुन्छन् यिनीहरु । ‘तिमी’ त यिनले जन्मजात नै बोकेर आएजस्ता लाग्छन् । हाँसो त त्यतिबेला उठ्छ, जब यिनीहरु यसो हेरेर आफूभन्दा जेठोलाई पनि सानो नाता लगाएर तिमी भन्न सुरु गर्छन् ! यिनीहरुलाई आफ्नो उचाइ अरूलाई झारेर मात्रै बन्छ भन्ने लाग्छ ।

Global Ime bank

सन् २००१ तिर नर्वेमा बस्दा मेरी श्रीमती र म एक दिन ओस्लो घुम्न गएका थियौं । घुमफिर गरेर फर्कने क्रममा ओस्लो ट्रेन स्टेसनमा छिरियो । हामी एकछेउमा बसेर कुरा गर्दै थियौं, सुनेर हाम्रो अर्को छेउमा बसेका नेपाली हामीतिर फर्किए । ‘ए तिमीहरू पनि नेपाली हो’– हाम्रो उमेरकै देखिने अपरिचित नेपालीले बिरानो ठाउँमा यसो भन्दा खुसी हुने कि दुःखी हामीले निक्र्योल नै गर्न सकेनौं । तर जवाफचाहिँ फर्कायौं, कुरा ग¥यौं । उनको हेपाहा प्रवृत्तिले भने खिन्न बनाइरह्यो । पछि थाहा भयो, उनका दाइ त्यहीँको एक विश्वविद्यालयमा पढाउने र उनी अलि पहिले यता आएको भएर सबै नेपालीसँग त्यस्तो व्यवहार गर्दा रहेछन् । नचिनेको मान्छेलाई कोही–कसैले कसरी एकैपटकमा ‘तिमी’ भन्न सक्दा हुन्न्, मेरो दिमागमा अहिलेसम्म घुसेको छैन यो कुरो !

काम गर्ने श्रमिकहरू जुनसुकै उमेरको भए पनि ‘तँ’, ‘तिमी’ सजिलै भन्छौं हामी । गरिब, दलित या समाजमा पछाडि परेकाहरुलाई गरिने हेयपूर्ण सम्बोधन बर्षौंदेखि चलिरहेको छ । त्यही ठाउँमा धनी र समाजमा सफल भएका ठानिनेका छोरा–छोरी सानै भए पनि आदरपूर्वक गरिने सम्बोधनले हाम्रो समाज अझै उही सामन्ती संस्कारको जालमा फसिरहेको बुझ्न गाह्रो पर्दैन । 

विशेष गरेर महिलाहरूको हकमा यो प्रवृत्ति अझै गहिरो जरा गाडेर बसेको देखिन्छ । केटाहरुले केटीलाई सहजै ‘तिमी’ भनिहाल्छन् र धेरैजसो केटी ‘तिमी’ हुन आतुर भएका देखिन्छन् । आफ्नो पतिले ‘तिमी’, ‘तँ’ भन्दा आफूले ‘आइस्यो’ र ‘गइस्यो’ भन्नमै रमाउँछन् कति महिला अझै ! यतिसम्मलाई पनि एकछिनलाई ठीकै मान्दा, परपुरुषहरूसमेतले महिलालाई छिटै ‘तिमी’ भन्न भ्याउँछन् । उही उमेरको आफ्नो श्रीमानलाई ‘तपाईं’ र आफूलाई ‘तिमी’ भनेकोमा आपत्ति जनाउन चाहँदैनन् । आफूलाई अनाहकमा सानो बनाएको देख्दा रमाएर बस्छन् या चित्त नबुझे पनि विरोध गर्ने आँट गर्दैनन् । अर्कोतिर कुनै नाता लाएर महिलालाई ‘तिमी’ भन्ने हेपाहा पुरुषहरूको सोच देख्दा झन् ताज्जुब लाग्छ, यो त महिलामाथि गरिएको ‘अपमान’ हो । 

ज्वाइँलाई ‘आइस्यो’, ‘खाइस्यो’ भन्ने र बुहारीलाई ‘आऊ’, ‘खाऊ’ भन्नुमा पनि हेपाहा प्रवृत्ति नै हाबी भएको देखिन्छ । भाउजूले देवर–नन्दलाई ‘तपाईं’ भन्नुपर्ने र भिनाजुले साला–सालीलाई ‘तँ’ या ‘तिमी’ भन्दा हुने ? सासू–ससुराले ज्वाइँको खुट्टा ढोग्ने या धनुषटङ्कार गर्ने, बुहारीले सासू–ससुराको खुट्टा ढोग्नुपर्ने चलन पनि विभेदपूर्ण नै छ । 

ससाना कुराहरू पनि बाधक हुन्छन् व्यक्तित्व विकासमा । मेरी ठूली छोरीले एकतहको पढाइ सकेर आफ्नो जागिरे जीवन सुरु गरेकी छन् । एकदिन प्रसङ्गवश उनले आफू सानो हुँदा आफ्ना चाहनाहरू दबाउने गरेको कुराले व्यक्तित्व विकासमा परेको असर मलाई बताउँदा म अचम्भित भएँ । मैले सोचेको पनि थिइनँ यो कुरा । सायद उनले पनि पहिले त्यो कुराको महसुस त्यति गरेकी थिइनन् होला । जहिले पनि यो छैन, यो नगर, यो हुँदैन भनेर भन्ने गर्नाले बाबु–आमालाई अप्ठ्यारो नहोस् भन्दै आफ्ना चाहनाहरूसँग उनले लगातार गरेका सम्झौताको असर उनको निर्णय क्षमता, आत्मविश्वास र अरू कुराहरूमा कसरी परेको भनेर भन्दा म आश्चर्यचकित नै भएँ । हामी आमा–बाबुहरू आफ्ना दुःखलाई नै प्राथमिकता दिएर कुरा गर्दा बच्चाहरूमा त्यसले पर्ने असर कहिल्यै पनि सोच्दैनौं या कम महत्व दिन्छौं ।

सुन्दा सानो लाग्ने यस्ता कुराको प्रभावलाई त्यो भयावह नै देखिन्छ । हेप्ने र हेपिने प्रवृत्तिका कारण कसैको व्यक्तित्वमा पर्न सक्ने ठूलो प्रभावलाई बिर्सन कदापि मिल्दैन । मान्छेको आत्मसम्मान सबैभन्दा ठूलो कुरा हो । 
‘तिमी’ शब्दसँग मेरो दुस्मनी भने पटक्कै होइन र कहिल्यै छैन । ‘तिमी’ सबैभन्दा मीठो र प्यारो लाग्छ मलाई । साथीले अँगालो हालेर भन्ने ‘तिमी’, आफन्तीले माया गरेर भन्ने ‘तिमी’, छोरीले तोते बोलीमा मलाई सम्बोधन गरेर भनेको ‘तिमी’, गुरुले स्कुलमा या प्रेमिकाले भनेको ‘तिमी’ म लाखौँ पटक सुन्न मन पराउँछु । तर हेपेर कसैले भन्ने ‘तिमी’ प्रति भने मेरो सख्त विमति छ । 

दुब्लो, ख्याउटे देखेर कसैले तपाईंलाई ‘तिमी’ भन्ला । तपाईंको श्रीमान्लाई हजुर भन्नेले ‘केटी’ भनेर तपाईंलाई ‘तिमी’ भन्ला । आफ्नै श्रीमान्लाई माया गर्ने नाममा ‘आइस्यो’, ‘खाइस्यो’ भन्नुहोला र ऊ भने तपाईंलाई ‘तँ’ भन्ला ! कोही अपरिचितलाई पराइभूमिमा नेपाली भनेर तपार्इं माया गर्नुहोला र उसले व्यर्थको तुजुकमा ‘तिमी’ भन्ला । तपाईंको कपडा हेरेर, तपाईंको रङ्गरूप हेरेर कोही तपाईंलाई ‘तिमी’ भन्ला । तपाईंको पेसा, काम हेरेर पनि ‘तिमी’ भन्ला । सबै विभेदप्रेरित कुरा हुन् । सम्बन्ध बराबरीको हुनुपर्छ, सम्मान बराबरीको हुनुपर्छ । नत्र नजानिँदो हिसाबले तपार्इं हेपिएर आफैंलाई क्षति भएको हुन सक्छ । कोही हेपाहालाई बढावा दिनु वा आफू हेपिनु कसरी राम्रो हुन सक्ला ! 

ठाउँ–कुठाउँ, बेला–कुबेला आफूलाई ठूलो साबित गराउन ‘तिमी’ बोकेर हिँड्नेहरुको आतङ्क नरोकिएसम्म हामी बलिया हुने छैनौं । त्यो यदि आफूले बोकेको भए फ्याकौं र कसैले बोकेको देखे थुतौं । 
टिमिन्स, क्यानडा ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन २५, २०७६  १४:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC