भ्रूणात्मा

भ्रूणात्मा

क्षितिज समर्पण 


झल्याँस्स ब्यूँझिएँ !
कतैबाट खसे जस्तो । कुनै गहिरो इनारको गहिराइमा पुगेजस्तो । 
अग्लो झरनाबाट झरेजस्तो । कुनै दलदलमा टेकेजस्तो । 
यस्तैयस्तै अनुभूति भइरहेको छ । 
बिस्तारै आँखा खोल्न खोज्छु । तर दृश्यहरु धुमिल मात्र देख्छु । 
ओहो ! यो कस्तो अन्धकार ? कहाँ हरायो उज्यालो ? कति बेला उदाउँछ घाम ?
शरीर सलबलाउन खोज्छु, न पूर्ण हातखुट्टा भेट्छु, न पूर्ण शरीर । 
अचम्म !
म सपनामा छु या विपनामा ?
“आऊ तिमीलाई पनि यो लोकमा स्वागत छ,” हेर्दै अक्टोपसजस्तो, तर मानिसको स्वरमा कुनै आकृतिले बोलाउँछ । 
“लोकमा ?” 
अलि नजिक पुगेर म उसलाई प्रतिप्रश्न गर्छु । 
“हो, भ्रूणलोकमा ! यो लोकमा स्वागत छ, तिमीलाई,” ऊ भन्छ ।  
“भ्रूणलोक ?”
म आश्चर्यचकित हुन्छु । 
“हो, तिमी मान्छे बन्नुभन्दा पहिल्यै मिल्काइएको एक भू्रणात्मा हौ,” उसले भन्छ, “यसकारण तिमीलाई भू्रणलोकमा स्वागत छ ।” 
म झनै डरले लगलग हुन थाल्छु । यताउता हेर्छु, कुनै हरियाली छैन । वरिपरि अग्लो पर्खाल जस्तो ठूलो पहाड छ । म उभिएको ठाउँमा जमिन छ । तर दलदल जस्तो । त्यही दलदलमा छन् फूल जस्ता ससना टुक्राहरु । 
आँखा खोल्ने कोसिस गर्छु । आँखा राम्ररी खुल्दैनन् । यो के भएको ? 
अनि, म को हुँ ? कसरी यहाँ आइपुगें ? 

०००

“तिमी कसरी यहाँ ?” बाटोमा भेटिएकी एक स्त्री भू्रणले सोधी । उसका ओठ नीला र निधारमा ठूलो दाग जस्तो देखिन्छ । 
उसको प्रश्नले एकछिन अलमलिएँ । 
म अलमलिएको देखेर उसले स्पष्ट पार्ने कोसिस गरी, “मेरो मतलब तिमीलाई किन फालियो ?”
म एक पुरूष भू्रण थिएँ । यहाँ पुरूष भू्रणहरु एकदमै कम हुँदा रहेछन् । प्रायः स्त्री भू्रणहरु मात्रै भेटिन्थे । पुरूष भू्रणहरु देख्दा धेरैले अचम्भित भावले हेर्थे । र सोधिहाल्थे यहाँ आउनुको कारणबारे । सायद यो स्त्री भू्रणलाई पनि म यहाँ आउनुको कारणबारे उत्सुकता जागेको हुँदो हो । 
उत्सुकता मलाई म आफैंप्रति पनि छ । 
म आफैं उत्तरहरुको खोजीमा छु । 
म फेरि जन्मिन्छु होला ?
कि फेरि फालिन्छु होला यसैगरी ?
फेरि जन्मिँदा म मै भएर जन्मिन्छु होला कि अरु केही ?
दिमागमा यस्ता अनेक प्रश्न घुमिरहन्छन् पानीघट्ट जस्तै । 
तर उत्तर अहिलेसम्म भेटेको छुइनँ । 
सायद, एउटा पूर्ण मान्छेको जिन्दगी पनि कैयौं प्रश्नहरुको उत्तर नभेटेरै बित्दो हो । प्रश्नहरुमै रूमल्लिँदो हो । 
कतिले बाँच्दा हुन्, जवाफविहीन जिन्दगी ?
अस्ताउँदै गरेको छ, घाम ।
उताको घाम र यहाँको घाममा केही समानता छ । दुवै उदाउँछन्, दुवै अस्ताउँछन् । भिन्नता पनि छ, यी घामहरुमा । 
आमाको पेटमा छँदा उताको घाम न्यानो लाग्थ्यो । सोच्थें, आमाको पेटबाट बाहिर निस्किँदा देखिने पहिलो घाम कस्तो होला ? पेटभित्र पसेको न्यायो किरण जत्तिकै न्यानो ? वा अझ धेरै ? 
पेटभित्र हुँदा मैले धेरै पटक घामका हात समाएको थिएँ । र सोच्थें, के म आमाको पेटबाहिर निस्किएपछि घामले मेरा हात चिन्ला ? मेरा हातहरु समालाउला ? र मेरा हात उसैगरी न्यानो बनाउला ?
मनमनै भन्थें— प्रिय घाम ! मलाई सधैं न्यानो बनाइराख्नू है ।
तर त्यो पल नआउँदै म फालिएँ । 
यहाँको घाम त्यति न्यानो लाग्दैन मलाई । खस्रा लाग्छन्, यहाँ घामका हातहरु । सायद यो लोकको घाम अलि खस्रै हुँदो हो ।  
घाम त भोलि पनि उदाउला उसैगरी, कलिलो बिहानलाई गर्भिणी बनाउन । र जन्मिएला एउटा बूढो साँझ उसैगरी, एक भारी समय सुस्ताउन । 
यो घाम उदाइरहला उसैगरी, अस्ताइरहला उसैगरी ।
अनि म ?
हत्तेरी किन यस्ता प्रश्न घुम्छन् मेरो दिमागमा ! थाहा छैन कहिलेसम्म उत्तरविहीन भएर बाँच्नुपर्ने हो । 
आफ्नो कुरा मात्रै के गर्नु ! यो लोकमा म मात्रै यस्तो भए पो ! 
यहाँ म जस्ता कति छन् कति । 
दिनहुँ हरेक देशबाट आइरहन्छन् भू्रणहरु । यहाँ त देशदेशको क्षेत्र छुट्याइरहेको हुँदो रहेछ । 
अचम्म ! भू्रणहरुको पनि देश !
सोचेको थिइनँ यहाँ यति धेरै भू्रण होलान् । र सोचेको थिइनँ यस्तो पनि लोक होला । 
मैले त सोचेको थिएँ, म एउटा पूर्ण बच्चा भएर धर्तीमा अवतरण हुन्छु । एउटा पूर्ण मान्छे भएर बाँच्ने सौभाग्य पाउँछु । 
तर म पनि मान्छे हुन नपाएको भू्रणात्मा । मान्छे हुन नदिइएको भू्रणात्मा । मान्छे हुने कलिलो रहरको घाँटी निमोठिएको प्राणात्मा । 
कमलका फूल जस्ता कलिला भू्रणहरु । आगोका झिल्का जस्ता राता भू्रणहरु । शीतको थोपा जस्ता चम्किला भू्रणहरु । 
ओहो ! कस्तो अचम्मलाग्दो छ यो लोक !
“तिमीचाहिँ कसरी आयौ ?” उसले अघि सोधेको प्रश्नको उत्तर नदिएरै प्रतिप्रश्न गरें । 
“दाइजोको डरले,” उसले भनी, “हामी के चाहन्छौं हामीलाई ‘जीव’का रुपमा निर्माण गर्नेहरुलाई थाहै हुँदैन । उनीहरु त जन्मिसकेका बच्चाका सपना साँच्छन््् । उनीहरुका सपना सुन्छन् । 
तर हाम्रा सपना ?
हो, उनीहरु हाम्रा सपना सुन्न सक्दैनन् । हाम्रा सपना बुझ्न् सक्दैनन्— एउटा पूर्ण बच्चा भएर जन्मिने मीठो सपना ! 
हामी सुनाउन पनि त सक्दैनौं, हाम्रा सपनाहरु । 
उनीहरु समाज र परम्पराको जाँतोमा पिसिएका छन्, बेस्सरी । र डराउँछन्, समाज र संस्कारसँग । अनि हामीलाई यो हालतमा पु¥याउँछन् ।”
“भन्नाले ?” मैले फेरि सोधें ।
“हेर, हाम्रो समाजमा एउटा छोरी मान्छेको जिन्दगी दाइजोसँग दाँजिन्छ । मान्छे होइन, केवल छोरी मान्छे भएर बित्छ एउटी छोरीको जिन्दगी !
बाहिरबाट हेर्दा झट्ट नदेखिए पनि भित्रभित्रै यसले विकराल रुप लिएको छ । समयसँगै यसको स्वरुप फेरिएको छ । 
थाहा छैन, कहिलेसम्म पलाइरहने हो यो दाइजोको ऐंजेरू ! 
दाइजोको निहुँमा कैयौं छोरी जलाइएका छन् । कैयौं छोरी कुरुप बनाइएका छन्, एसिड छर्केर । 
सायद आफ्नो फूल जस्ती छोरी दाइजोकै कारण नडढोस् भन्ने सोचेर होला, अचेल हाम्रा बाआमाले हामीलाई जन्मिनै दिँदैनन् । 
बाध्यताको अगाडि मानिस निरीह बन्दो रहेछ ।”
हो, उसले ठीक भनी । मान्छे बाध्यतासँग हार्दाे रहेछ । 
जस्तो, मेरी आमाले हारेकी थिइन् बाध्यतासँग । हिम्मत गर्न सकेकी थिइनन्, डरको पर्खाल नाघ्न । 
के उनी हिम्मतविहीन थिइन् ? हिम्मतविहीन हुँदी हुन् त म पेटमा बसेको कुरा भन्ने हिम्मत कसरी गरिन् ?
हुन त, यत्ति भन्न पनि उनलाई कम हिम्मत जुटाउनु भने परेको थिएन । 
“आफूले नौ महिना पेटमा राखेर, जन्माएर, हुर्काएर बढाएको छोरी भविष्यमा दाइजोकै कारण जलाइँदा कस्तो हुँदो हो बाआमाको मन ? यसैले पनि उनीहरु निर्मम बन्दा हुन्,” उसले भन्दै गई, “सोच्छु, बिचरा यसमा उनीहरुको पनि के गल्ती छ र ? गल्ती त मानिसको सोच, संस्कार र समाजको छ । जानीजानी कसैका बाआमा खलनायक हुँदैनन्, उनीहरु खलनायक बन्न बाध्य पारिन्छन् । असली खलनायक त समाज, गलत सोच र संस्कार हो । थाहा छैन मान्छेले यो कुरा बुझ्न अझै कति समय लाग्छ ?” 
ऊ भनिरहेकी छ, म सुनिरहेको छु । 
“हाम्रा बाआमाहरु यो पनि सोच्दा हुन्, जन्मिइसकेपछि संसार देखाएर मार्नु पो पाप ! जीवित सपनाहरुको हत्या गर्नु पो पाप ! नजन्मिँदै फाल्नु के पाप ?
अनुहारै नदेखिएको बीजको के माया ? के दया ?
नजन्मिएका सपनाहरुको घाँटी रेट्नु के अपराध ? होइन र ?”
म आफै प्रश्नहरुमा रूमल्लिएको छु । झन् उसका अनेक प्रश्नहरुको जवाफ दिन कसरी सक्थें । मसँग उसलाई दिन कुनै उत्तर छैन ।
म मौन बसिदिन्छु ।  
वातावरण एकछिन मौन बन्छ । उसले लामो सुस्केरा हाली । 
पश्चिमतिरबाट एक सर्काे चिसो हावा आयो र हामीलाई छोएर पूर्वतिर हिँड्यो ।
हावाको पुच्छर समाउँदै केही भू्रणहरुले हाम्रो अगाडिबाट बाटो काटे । हेर्दा नयाँ जस्ता देखिन्थे । आजै आएका होलान् । अलि हतारमा देखिन्थे । सायद, इन्ट्री गर्न पो हिँडेका हुन् कि !
यहाँ आएको पहिलो दिन इन्ट्री गर्नुपर्ने नियम छ । 
“अनि, तिमी कसरी आएको रे ?” केही बेरकोे मौनता तोड्दै उसले भनी, “अक्सर मान्छेहरु पुरूष भू्रणको हत्या गर्दैनन् ।”
“मेरो कथा अलि फरक छ,” मैले उसलाई पन्छाउन खोजें, “माफ गर, म विगततिर फर्किन चाहन्नँ ।”
उसले जिद्दी गरी । मैले उसको जिद्दीलाई जित्न सकिनँ । 
एउटा पूर्ण मान्छेले पनि सधैं जित्न कहाँ सक्छ र ? जस्तो, मेरी आमाले जित्न सकेकी थिइनन्, आफ्नै मनलाई । जित्न सकेकी थिइनन्, त्रासहरुलाई । र जित्न सकेकी थिइनन्, हिम्मतलाई ।  
“कहाँ हरायौ ?” उसको प्रश्नपछि थोरै सम्हालिएँ । 
“सायद मलाई बाँच्न लेखेको थिएन । पूरै अवधी आमाको कोखमा बसेर पूर्ण बच्चा भएर जन्मिन मेरो भाग्यमा लेखेकै थिएन,” मैले भनें, “नसम्झाऊ त्यो समय, जसले मलाई अहिलेसम्म पनि पोलिरहेछ ।”
“ओ ! पुरूष भू्रण, यस्ता अमूर्त कुरा नगर,” उसको आवाज थोरै चर्काे सुनियो, “तिमी कसरी यहाँ आइपुग्यौ, त्यो त भन ।”
म कसरी भन्न सक्छु ? जुन कुरा मेरी आमाले पनि भन्न सकेकी थिइनन्, धेरै समयसम्म । कल्पनासम्म पनि गरेकी थिइनन् होला, जीवनमा यस्तो पनि भोग्नुपर्छ भनेर । 
भर्खरै १४÷१५ वर्षमा हिँडिरहेकी थिइन्, उनी । शरीरमा परिवर्तन आउँदै थियो । उनको छातीको उचाइ बढिरहेको थियो । 
उसले उनका छातीमा हेरिरहन्थ्यो बेलाबेला । कैयौं पटक उसले नजानिँदो तवरले उनका छातीसम्म आफ्ना हात पु¥याएको थियो । उनले यसको प्रतिवाद गरिनन् । किनकि उनलाई ऊप्रति कुनै डर वा शङ्का थिएन । ऊ डराउनुपर्ने मान्छे थिएन ।
“यो कुरा तेरी आमा अथवा अरु कसैलाई पनि भनिस् भने तँलाई मारिदिन्छु”, उसले उनलाई पहिलो पटक भोगेको दिन यस्तै भनेथ्यो । त्यसपछि भने उनी डराउन थालिन् । डराउनुपर्ने भयो । 
ओहो ! यो कस्तो समय ? यो कस्तो दिन ? 
सबै मान्छे ऊ जस्ता हुँदैनन् । तर उसले आफू हुनुको धर्मलाई अपवित्र बनाइदियो । आफू हुनुको कर्तव्यमाथि बलात्कार ग¥यो । आफू हुनुको विश्वासमाथि प्रहार ग¥यो । 
कल्पनै नगरेको समय बाँच्न बाध्य भइन् उनी । 
उसले पटकपटक उनलाई भोग्न थाल्यो । र उसैगरी धम्की दिन थाल्यो, “यो कुरा कसैलाई भनिस् भने... !”

तेस्रो महिना पनि उनको महिनावारी भएन । उनले आफ्नी आमालाई कैयौं पटक भन्न खोजेकी हुन्, महिनावारी रोकियो भनेर । अहँ, भन्न सकिनन् । 
सायद, डरको ठूलो आग्लोले थुनेको हुँदो हो उनको हिम्मतको ढोका । 
तर अब भन्नुको विकल्प थिएन । 
“हैन, के कुरा गर्छे यो ?” जब आफ्नी आमालाई सबै बताइन्, उनले यस्तो प्रश्नको सामना गर्नुप¥यो, “बौलाइस् कि क्या हो ?”
त्यसपछि सुरू भयो, इज्जतको डर, सम्मानको डर । र समाजको डर । 
ओहो ! एकै पटक कति धेरै डरको पर्खाल लगाइन्छ ।
मेरी आमाकी आमाले उनलाई केके खुवाइन् थाहा छैन । केके गरिन् थाहा छैन । 
तर केही न केही त पक्कै गरिन् । 
जुन दिन उनले केही गरिन्, त्यही दिन बन्द भएका हुन्, मेरा आँखा । त्यही दिन चल्न छाडेका हुन् हात, त्यही दिन चल्न छाडेका हुन् गोडा पनि । 
त्यसपछि आइपुगेको हुँ यो ठाउँ ।  
उनलाई त्यो अवस्थामा र मलाई यो अवस्थामा पु¥याउने अरु कोही थिएन, उनकी आमाको लोग्ने थियो । अर्थात्, मेरी आमाको आफ्नै बा थियो । 
जसले आफ्नै छोरीलाई गर्भवती बनायो; जसले आफ्नै छोरीको गर्भमा मलाई राख्यो । तर जन्मिन दिएन । पूर्ण मान्छे भएर जन्मिने मेरो रहरको घाँटी च्वाट्ट छिनाइदियो । 
ओहो ! कस्तो निर्दयी बा !
यो कस्तो नियति ? म र आमाको एउटै बा !
अनि म कसरी सुनाउन सक्छु यो कुरा ? 
भो, म कसैलाई सुनाउन सक्दिनँ । र उसलाई पनि सुनाउन सक्दिनँ, जो मेरै अगाडि उभिएर सोधिरहेकी छ, “तिमी कसरी यहाँ आयौ ?”
“तिमी छोरा भएर पनि जन्मिन पाएनछौ दुःख लाग्यो”, निकै बेरको मेरो मौनतालाई उसैले तोडी, “तिमी साँच्चै अभागी रहेछौ !”
थाहा छैन, म अभागी हुँ या मेरी आमा । कुनै दिन समयले बताउला । 
“साँच्ची, हामी अब जन्मिन्छौं होला कि नाइँ ?” 
उसको प्रश्नले म फेरि अर्काे पटक उत्तरविहीन बनें । 

०००

समस्या आआफ्नै । कथा आआफ्नै । 
हरेक जनासँग आफ्नै कथा छन्, हरेक जनासँग आफ्नै समस्या छन् । 
कति समस्या बनेर फालिएका छौं । कति समस्या बनाएर फालिएका छौं । 
कठै हामी भू्रणहरुको जिन्दगी !
अघि भेटिएकी स्त्री भू्रणसँग छुटेपछि फेरि अर्काे भू्रणसँग भेट भयो । उसका शरीरभरि नीलडाम थिए । 
ऊ स्त्री भू्रण हो या पुरूष भू्रण, चिन्न सक्ने अवस्था थिएन । उसका दुवै ओठ च्यातिएका थिए । शरीरको तल्लो भाग लुलो थियो । ऊ घिस्रिँदैघिस्रिँदै अघि बढिरहेको थियो ।   
ऊ कसरी यहाँ ? उसको अवस्था कसरी यस्तो भयो ?
मनमा कुतूहलताको बतास चल्यो । 
“म कुमारी आमाकी भू्रण !” मेरो जिज्ञासापछि उसले भनी । 
संयोगले ऊ पनि स्त्री भू्रण नै रहिछे ।  
कतै ऊ पनि मेरो जस्तै हालत भोगेर आएकी त होइन ? 
कुमारी आमा भन्नेबित्तिकै मनमा चिसो पस्यो ।  
“म योजनाअनुसार उनीहरुको पेटमा बसेकी रै’नछु,” उसले भनी, “मान्छेहरु योजना गरेर राखिएका भू्रणसमेत जाँचेर आफ्नो अनुकूल नदेखिए फालिदिन्छन् भने मैले त झन् योजनाबिनै भू्रणाकार लिएकी थिएँ । कहाँबाट जन्मिने सौभाग्य पाउनु !”
यति भन्दै गर्दा ऊ निकै भावुक देखिएकी थिई । आफू पूर्ण बच्चा भएर जन्मिन नपाएकोमा उसलाई पश्चात्ताप थियो । र आक्रोश पनि ।  
के उसकी आमालाई पनि जीवनमा कुनै दिन पश्चात्ताप होला ?
सायद विश्वास मान्छेको सबैभन्दा ठूलो कमजोरी हो । यही कमजोरीको झोलुङ्गोमा पिङ खेलेको रहेछ कसैले । 
उसले आफूलाई बिहे गर्छ भन्ने विश्वास । आफूलाई निकै प्रेम गर्छ भन्ने विश्वास । पेटमा बच्चा छ भन्ने थाहा पाएपछि जन्माउन प्रेरित गर्ला, बिहे गर्ला भन्ने विश्वास ।
यस्तैयस्तै विश्वासका डोरीले बुनिएको भरोसाको झोलुङ्गो चुँडिएको रहेछ एकै पटक ।
“अन्ततः तीन महिना पुग्ने बेला उनले मलाई फालिदिइन्”, आक्रोशमिश्रित भावमा उसले भनी, “आखिर हामी र हामी जस्ताले कहिलेसम्म बिनागल्तीको सजायँ भोगिरहने ?”
“मान्छेहरु आँखा बन्द गरेर आफ्नो जवानीको भोक मेटाउँछन् । र, नजन्मिँदै हाम्रा आँखा बन्द गरिदिन्छन् । संसार हेर्ने हाम्रो सपनालाई किन हुर्किन दिँदैनन् उनीहरु ?”
उसका अनुसार उसकी आमा कसैसँगको प्रेममा थिइन् । र प्रेमको बदलामा शरीर सुम्पिएकी थिइन् कसैलाई । 
के बिहेअघि शरीर सुम्पिनु मात्रै प्रेम हो ? वा प्रेममा विहेअघि नै शरीर सुम्पिनु अनिवार्य छ ? 
उसकी आमाले प्रेमको पट्टीले आँखा छोपी । विश्वासको ओछ्यानमा प्रेमीलाई शरीर सुम्पिन तयार भई । त्यसपछि मैलिएको हो मनको तन्ना, कहिल्यै नपखालिने गरी । र उसकी आमाको पाठेघरसम्म पुगेको हो, धोकाको वीर्य । त्यसपछि ऊ हुर्किंदै गई । 

केको गाइँगुइँ हो यता ? 
उसले कुरा नसक्दै अलि परबाट कोही बोल्यो । हामी एकछिन चुप लाग्यौं । यहाँ अबेरसम्म यसरी कुरा गर्न मनाही छ । 
“आफ्नो पीडा पोख्न पनि नपाउनु ?” अघि आवाज आएकोतिर पदचाप बन्द भएपछि उसले कुरा सुरू गरी, “गल्ती मेरी आमाको पनि हो । म पेटमा छु भन्ने उनलाई थाहा थियो । तर आफ्नो प्रेमीलाई भनिनन् । हुन त भन्नु र नभन्नुको कुनै अर्थ नहुने रहेछ । म यसै पनि फालिने रहेछु । जब म दुुई महिना पुगें, त्यसपछि मात्र भनिन् । उसले जसरी पनि मलाई फाल्न दबाब दिएर आफू सम्पर्कविहिन बन्यो । अनि कसरी बस्न पाउँदी हुँ उनको पेटभित्र ! कामना गर्छु अब उसले अन्यत्र कतै कसैलाई पनि मेरो नियति नदोहो¥याओस् ।”
“मेरो पनि कामना छ, उसले फेरि यो गल्ती कहिल्यै नगरोस् ।” 
“त्यो दिन मलाई अहिले पनि याद छ । उनले औषधि खाइन्, लाग्यो मलाई । त्यसपछि पूर्ण बच्चा भएर जन्मिने मेरो रहरमा पनि पूर्णविराम लाग्यो”, ऊ थप्दै गई, “ओहो ! कति गाह्रो भएको थियो, मलाई त्यो बेला । जन्मिसकेको बच्चा भए पो पीडाले चिच्याउँदी हुँ, रूँदी हुँ, कराउँदी हुँ । भू्रणको रूवाइ, चिच्याहट र पीडा कसले सुन्छ र ! कसले बुझ्छ र !
जब औषधिको असर पर्दै गयो, मेरा आँखा बन्द हुँदै गए । मेरा कानले बिस्तारै सुन्न छाडे । श्वास फेर्न गाह्रो हुन थाल्यो । छटपटी बढ्न थाल्यो । उकुसमुकुस भयो । बिस्तारै धड्कनको गति पनि कम हुन थाल्यो । हातखुट्टा लुला हुँदै गए । 
थाहा छैन, म कतिखेर सुस्ताएँ ।
जब ब्यूँझिएँ, मैले आफूलाई यो लोकमा पाएकी हुँ । 
मेरी आमालाई उनको प्रेमीले दिएको धोकाको बाढीले बगाएर ल्याएको हो मलाई । सायद समाजले बाबुबिनाको सन्तान स्विकार्दैन भन्ने डरले मलाई जन्माउने हिम्मत गरिनन् होला । रिस, आक्रोश र डरको अघि मान्छेले दया, माया सबै हराउँदो रहेछ ।  
के मलाई फाल्नुपूर्व उनले एक पटक पनि मायाले सोचिनन् होला ? वा मायाले सुमसुम्याइनन् होला आफ्नो पेट ?” 
०००
यहाँ यस्तै चलिरहेको छ । 
आउनेहरु आइरहेका छन् । 
अनि, जानेहरु ?
चाहेर पनि जान सक्दैनन् । जाने ठाउँ कहाँ छ र अब !
कुनै दिन यो लोकमा अटाउलान् सबै भू्रणहरु ? 
यहाँ पनि भोकको युद्ध भयो भने ? बासको युद्ध वा पहिचानको युद्ध निम्तियो भने ?
सम्झिँदा पनि टाउको टनक्क दुख्छ ।  
युद्ध होला या नहोला । तर एक दिन जरूर यहाँ जमिन भने अपुग हुनेछ हाम्रा लागि । 
यहाँ म र अघि भेटिएका जस्ता भू्रणहरु मात्र छैनौं । अनेक प्रकारले आउन बाध्य भू्रणहरु छन् । अनेक देशका भू्रण छन् । अनेक भेषका भू्रणहरु छन् । 
थाहा छैन यो क्रम कहिलेसम्म चल्ने हो ? र कहिलेसम्म यस्तो निर्मम सजायँ भोगिरहनुपर्ने हो हामीले ?  
किन कोही गान्धी बनेर जन्मिँदैन, भू्रण हत्या रोक्न ? किन कोही बुद्ध बनेर जन्मिँदैन, शान्तिको आह्वान गर्न ?  
के हेरर बसेका छन् भगवान्हरु ? के हेरेर बसेका छन् अल्लाहहरु ? के हेरेर बसेका छन् पैगम्बर मोहम्मदहरु ?
किन चुपचाप छन् रुखहरु ? किन निदाइरहेका छन् नदीहरु ? किन बोल्न सक्दैन बतासले ? किन हेरी मात्र रहन्छ आकाश ?  
कोही त भन्देओस् मान्छेहरुलाई—
–फाल्नु छ भने पहिले आफूभित्रै हुर्किरहेका खराब विचारका भू्रणहरु फाल । 
–फाल्नु छ भने पहिले गलत सोच, संस्कार र परम्पराका भू्रणहरु फाल । 
कोही किन जन्मिँदैन, यत्ति भन्दिनलाई ?

०००

साँच्ची म फेरि जन्मिन्छु होला कि नाइँ ?
कि फालिन्छु होला उसैगरी ?
फेरि जन्मिँदा म मै भएर जन्मिन्छु होला कि अरु केही ?
मलाई याद भएसम्म म उनको पेटमा बसेको थाहा पाएपछि मेरी आमाले मलाई सुमसुम्याएर मुस्कुराएकी थिइन् । 
तर मलाई फाल्दा उनी रोइन् कि रोइनन् होला ? 
म फेरि जन्मिन्छु, जन्मिन्नँ थाहा छैन । मेरी आमाको आत्मासँग मात्रै पनि कतै भेट भयो भने यति कुराचाहिँ सोध्न मन छ—
— आमा ! तिमीले मलाई पेटमा बसेको बेला सुमसुम्याएझैं तिम्रो काखमा लुट्पुटिएर तिम्रो न्यानो स्पर्श अनुभूति गर्ने रहर छ, के यो पूरा हुन्छ ?
— आमा ! तिमीसँग भएका दुई मुटुमध्ये मेरो मुटु निचोरिँदा तिम्रो मुटु पीडाले निचोरियो कि निचोरिएन ?
मात्र सोध्न मन छ !

प्रतिकृया दिनुहोस
ad