हार्वर्ड विश्वविद्यालयको जोन एफ केनेडी स्कुल अफ गभर्मेन्टका अन्तर्राष्ट्रिय राजनीतिक अर्थशास्त्रका प्राध्यापक दानी रोड्रिक विश्वव्यापीकरण, आर्थिक वृद्धि र विकास तथा राजनीतिक अर्थशास्त्रजस्तो विषयमा अध्ययन गर्ने विख्यात अर्थशास्त्री हुन् । आफ्नो अध्ययन र लेखनका सम्बन्धमा उनी भन्छन् :
तपाईँले जनवरीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एकपक्षीयवाद र वणिकवाद विश्व अर्थतन्त्रका लागि नराम्रो भए पनि अन्य राष्ट्रहरुले अनावश्यक प्रतिक्रिया जनाएनन् भने त्यसका परिणाम व्यवस्थित गर्न सकिने हुनेछ भनेर लेख्नुभएको थियो । तर, यसको ६ महिनापछि पनि चीनसँगको व्यापारिक युद्ध पूर्णरुपमा शान्त हुनसकेको छैन भने ट्रम्प अझै पनि आफ्ना सहयोगी र छिमेकी राष्ट्रहरुविरुद्ध चेतावनी दिइरहेका छन् र हालै मेक्सिकोबाट आयात हुने वस्तुहरुमा गैरव्यापार महसुल लागु गर्ने धम्की दिएका छन् । यसबारे के तपाईँको धारणा अझै उही छ ?
दानी रोड्रिकः मलाई त त्यस्तै लाग्छ । ट्रम्पको मूर्खतापूर्ण व्यापारिक नीतिले केही गरेको छ भने त्यो विभिन्न देशहरुबीच व्यापारिक सम्बन्ध बलियो बनाउने इच्छाको सुदृढीकरण हो । हालैको एउटा घटना इयु र अर्जेन्टिना, ब्राजिल, उरुग्वे र प्याराग्वेलाई समावेश भएको मर्कोसुरले नयाँ व्यापारिक सम्झौतामा हस्ताक्षर गरेका छन् ।
जहाँसम्म ट्रम्पको कुरा छ, मैले लामो समयदेखि सोच्दै आएको छु की उनको टोकाइ भन्दा भुकाइ धेरै खराब साबित हुनेछ । किनभने उनी जथाभावी धम्की दिन्छन् तर अन्त्यमा पछि हट्छन् । यस्तो हालैमा मेक्सिकोसँग भएको थियो । चीनविरुद्ध केही व्यापारिक कारबाहीका लागि पर्याप्त घरेलु समर्थन हुँदाहुँदै पनि ट्रम्प बिस्तारै पछि हटे भने मलाइ कुनै आश्चर्य लाग्ने छैन । मूल कुरा के हो भने कुनै पनि देश आत्तिनु हुँदैन र अनावश्यक रुपमा प्रतिशोध गरी आफ्नै खुट्टामा गोली हान्नबाट त झन् जोगिनुपर्छ ।
प्रोजेक्ट सिन्डिकेटः ट्रम्प प्रशासनमात्र नभएर अधिकांश पश्चिम चिनियाँ उद्योग नीतिप्रति स्पष्ट आलोचनात्मक रहँदै आएको छ । त्यसैमा सहमत हुनुको साटो तपार्इँ पश्चिमी अर्थतन्त्रहरुलाई उचित रोजगारी सिर्जना गर्न आफ्नै उद्योग नीति अघि बढाउन प्रोत्साहन गर्न सक्छौँ । त्यस्ता नीति निर्माणमा सबैभन्दा ठूलो बाधा के हो र कसरी त्यसको सामना गर्न सकिन्छ ?
दानी रोड्रिकः मेरो विचारमा बौद्धिक पक्ष सबैभन्दा ठूलो अवरोध हो । धेरै नीति निर्माता र टेक्नोक्रेट अनि अर्थशास्त्रीहरुसमेत अझै परम्परागत कट्टर बजारवादकै अधीनमा छन् जसले एकातर्फ बजार आफैँले हासिल गर्न सक्ने कुरालाई बढाइचढाइ प्रस्तुत गर्छ भने अर्कोतर्फ सफल सार्वजनिक कार्यको भूमिकालाई पनि कम देखाइदिन्छ ।
मेरो आफ्नै काममा मैले सधैँ मिश्रित अर्थतन्त्रको आवश्यकताप्रति जोड दिँदै आएको छु जसमा सरकार र बजारले एकअर्कालाई अझ बलियो बनाउनेछन् । चीनलाई छाडेर, अहिलेका आधुनिक अर्थतन्त्रहरु मिश्रित अर्थतन्त्रको आआफ्नै संस्करणका आधारमा निर्माण भएका छन् । कुनै हिसाबले यो मोडलमा १९७० को दशकपछि खराब हुन सुरु भएको थियो र १९८० को दशकमा भने कट्टर बजारवादमा धेरै परिमार्जन भयो । यसैले नयाँ ‘उद्योग नीति’ का लागि उचित रोजगारीमा केन्द्रित मेरो प्रस्ताव, ‘एन्टिट्रस्ट’ देखि श्रम बजार नीतिसम्म थुप्रै पक्षमा पुनर्विचारको त्यस्तो हिस्सा हो जुन अहिले चलिरहेको छ ।
प्रोजेक्ट सिन्डिकेटः तपाईँको तर्क छ राम्रो रोजगार सिर्जना गर्ने एउटा उपाय, श्रम प्रधान विधिलाई आर्थिक अनुदान बन्द गरी त्यसलाई पुँजीप्रधान विधिले प्रतिस्थापन गर्नु हो । तपाईँले सुझाउनु भएको नवीनताको बाटो सहज छ र यसमार्फत कम दक्ष श्रमिकहरुलाई बदल्नुको सट्टा सामाजिक रुपमा अझ लाभकारी दिशातर्फ लैजान सकिन्छ । तर त्यसका लागि अमेरिकी सरकारले के विशेष उपाय अपनाउन सक्छ ?
दानी रोड्रिकः पहिले त हामीले रोजगार सिर्जनाका प्रचलित ढाँचाहरु अपर्याप्त छन् भन्ने बुझ्नुपर्छ । समष्टि अर्थशास्त्रका नीतिहरुले रोजगारका एकीकृत तह निर्धारण गर्न सक्छन् तर रोजगारका संरचनामा त्यसको प्रभाव कम हुन्छ । यस्तोमा कर छुट वा औद्योगिक क्षेत्र निर्माणजस्ता नीतिले प्रायः निजी कम्पनीहरुका लागि सुविधा त हुन्छ र रोजगार सिर्जना गर्दैन ।
त्यसैले यसमा म अमेरिकाका सफल उद्योग नीतिहरु अपनाउन सक्नेछु तर विशेष रुपमा असल रोजगारीलाई लक्षित गर्नेछु । जस्तै संघीय स्तरमा प्रतिरक्षा र हरित प्रविधि (ग्रीन टेक्नोलोजी)सम्बन्धी क्रमशः ‘डिफेन्स एड्भान्स्ड रिसर्च प्रोजेक्ट एजेन्सी (डार्पा) र एडभान्सन्ड रिसर्च प्रोजेक्ट एजेन्सी – एनर्जी (आर्पा–इ) रहेका छन् । तिनले नयाँ उद्योग सुरु गर्न सार्वजानिक स्रोतसाधन र निजी क्षेत्रका पहल अनि प्राविधिक विशेषज्ञतालाई एकसाथ ल्याउने गर्छन् । त्यसैले हामीलाई उत्पादनशील रोजगारीको क्षेत्रमा तिनीहरु जस्ता संस्थाको आवश्यकता छ ।
स्थानीय तहमा हामीसँग विभिन्न सफल जनशक्ति विकास र तालिमका विकायहरु छन् जसमा नगरपालिका र राज्यका एजेन्सीहरु निगम, शैक्षिक संस्था र स्थानीय नागरिक समाजसँग क्षमता विकासमा लगानी गर्न सहकार्य गर्ने गर्छन् । हामीले यिनलाई रोजगार वृद्धिमा लक्षित गर्ने किसिमले विस्तार गर्न आवश्यक छ । त्यसैले हामीसँग अपनाउनका लागि पहिले देखि नै धेरै राम्रा मोडलहरु छन् र हामी असल रोजगारप्रति केन्द्रित हुन नसकेका मात्र हौँ ।
प्रोजेक्ट सिन्डिकेटः तपाईँ साहसपूर्ण समाधानहरुमा बाधा पुर्याउने विचारधारालाई अनुमति दिएकामा आफ्ना साथी अर्थशास्त्रीहरुको आलोचना गर्नुहुन्छ र तपाईँ पनि राजनीतिक वामपन्थका बारेमा त्यस्तै गुनासो गर्नुभएको छः “वर्षौँदेखिको वैचारिक विचलनले प्रगतिशील राजनीतिज्ञहरुलाई वित्तीय र कर्पोरेट हितसँग अति नजिकबाट जोडिएका नीतिहरुको वकालत गर्न लगाएको छ । ” यसरी उक्त विचारधाराले हाम्रो दृष्टिकोणलाई सीमित नगराएर अझ नवीन र समग्र समाधानतर्फ नै लैजानेछ भन्ने सुनिश्चित गर्ने मुख्य आधार के छ ?
दानी रोड्रिकः विचारधाराले सधैँ एउटा भूमिका निर्वाह गरिरहेको हुन्छ ः यसले हाम्रो सोचलाई दिशानिर्देश गर्न मार्गचित्र प्रदान गर्ने गर्छ । तर कतिबेला अर्को चित्रको प्रयोग गर्ने भन्ने चाहिँ हामीलाई थाहा हुनुपर्छ । यो संसारले कसरी काम गर्छ भन्नेबारे हाम्रो धारणा सधैँ वास्तविकता र प्रमाणमा परीक्षण गरिएको हुनुपर्छ र हामी आफ्नो गल्ती स्वीकार गर्न पनि सधैँ तयार रहनुपर्छ । मलाई लाग्छ वामपन्थका धेरैजना कट्टर वजारवादको अर्को विकल्प छैन भन्ने कुरालाई कथामा मात्र नल्याएर त्यसैमा अड्किएर बसेका छन् । वास्तविकतामा त्यो अत्यन्तै जटिल साबित भइसकेको छ । त्यसैले सायद अन्जानमा उनीहरुले संस्थागत र वित्तीय हितका लागि उपयोगी मूर्खका रुपमा काम गरे, जसपछि खेलको नियम पुनः लेखियो । मेरो विचारमा यही कारणले मध्यवामपन्थी पार्टीहरु (अमेरिकाको डेमोक्रेट र युरोपका सोसल डेमोक्रेट) जनचाहना सम्बोधन गर्न ढिलो भएका थिए । तर, मलाई लाग्छ यसमा अब परिवर्तन आउँदैछ । जस्तै अहिले अमेरिकी डेमोक्रेटिक पार्टीको पुनःनिर्माणका लागि स्वस्थ संघर्ष चलिरहेको छ ।
प्रोजेक्ट सिन्डिकेटः जुनमा टर्कीको सत्तारुढ जस्टिस एन्ड डेभलप्मेन्ट पार्टी (एकेपी) ले इस्तानबुलमाथिे नियन्त्रण गुमायो जसलाई कुनै समयमा एकेपीका संस्थापक र स्तानबुलका पूर्व मेयरसमेत रहिसकेका राष्ट्रपति रिजेप तैयप एर्डाेआनले सम्पूर्ण देशलाई नियन्त्रण गर्ने मुख्य चाबी भनेका थिए । र राजधानी अंकारा र इज्मिर पनि विपक्षीको हातमा आइसकेका छन् । उसो भए के यो सबै एर्डोआनको निरंकुश सत्ताको अन्त्यको सुरु हो ?
दानी रोड्रिकः अन्त्यमा एड्रोगेन आफ्नै घमण्डको शिकार भएका हुन् । उनले स्तानबुलमा पुनः निर्वाचन गरे आफूलाई फेरि स्थापित गराउनेछ भन्ने सोचेका थिए । परन्तु, उनको पार्टी धेरै ठूलो अन्तरले पराजित भयो । तर, मलाई अहिले नै यसलाई टर्कीको निरंकुश शासनको अन्त्य भन्नु चाहिँ धेरै छिटो हुनेछ जस्तो लाग्छ ।
इस्तानबुलका मेयर एक्रेम इमामोग्लुको जितले विपक्षीहरुलाई उत्साहित गराउँदै उनीहरुमा नयाँ आशा जगाएको छ । तर पनि एर्डोआन दह्रो नियन्त्रण छँदै छ र उनले सत्ता उम्कन दिनेमा मलाई शंका छ । मेरो विचारमा सार्वजनिक वैधता कमजोर हुँदै जाँदा शासन झन् दमनकारी हुनसक्छ । यस्तोमा एर्डोआनलाई पनि अब उनी चुनावमा अर्को हार व्यहोर्न नसक्ने अवस्थामा रहेको राम्ररी थाहा छ । त्यसैले दूर्भाग्यवश, म सबै थोकमा सुधार आउनु अगाडि नै अवस्था झन् खराब हुँदै जाने अपेक्षा गरिरहेको छु ।
अन्त्यमा .....
प्रोजेक्ट सिन्डिकेटः के तपाईँ नियमित टर्की भ्रमणमा जानुहुन्छ ? त्यो एउटा कुरा के हो जुन तपाईँले त्यहाँ सधैँ हेर्नुहुन्छ, गर्नुहुन्छ वा खानुहुन्छ ?
दानी रोड्रिकः युरोपेली र एसियाली भूभागका बीचमा इस्तानबुललाई आधाआधामा बाँडी बोसफोरस जलमार्ग पार गर्ने ‘फेरी’ को यात्रामा जानु । विश्वका कुनै पनि सहरमा त्यस्तो कहीँ भेटिँदैन । र मान्ते – दहीमा हालेर खासे पास्ता परिकार ।
पिएसः सबैले अहिले फलो गर्नैपर्ने ट्वीटर अकाउन्ट के हो ?
दानी रोड्रिकः अवस्य पनि @rodrikdani
प्रोजेक्ट सिन्डिकेटः तपाईँलाई विचारहरु कुनै निश्चित ठाउँ वा दिनको एउटा समयमा अझ सजिलोसँग फुर्छ जस्तो लाग्छ ?
दानी रोड्रिकः यो कुरा वास्तवमै अनौठो छ मलाई धेरैभन्दा धेरै विचार बिहान नुहाइरहेका बेला फुर्ने गछ । त्यस्तै मैले मेरा सोचमा त्रुटि र गल्तीहरु पनि नुहाइरहेकै समयमा पत्ता लगाउने गर्छु । यसका पछाडि कुनै वैज्ञानिक कारण हुन सक्छ तर मलाई थाहा छैन त्यो के हो ।
प्रोजेक्ट सिन्डिकेट : तपाईँलाई हुर्कने बेला के बन्न मन थियो ?
डिआरः डिजे वा इलेक्ट्रोनिक इन्जिनियर ।
(प्रोजेक्ट सिन्डिकेट र बाह्रखरीको सहकार्य )
Copy rights : Project Syndicates, 2019