site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

प्रत्येक शासकमा निरंकुश हुने चाहना हुन्छ । प्रत्येक व्यक्तिमा धेरथोर देखापर्ने यो निरंकुश हुने प्रवृत्ति सायद मानवीय कमजोरी नै हो । राज्यको इतिहासको आरम्भतिर आदिम लोकतन्त्रको अभ्यास भएको मानिए पनि मध्ययुगमा शासकहरू बढी नै निरंकुश हुन थाले । निरंकुशता अभ्यासकै लागि शासकहरूले आफूलाई दैवी प्रतिनिधि घोषणा गरेको हुनुपर्छ । मानव इतिहासको लामो कालखण्ड निरंकुश शासकहरूको अधिनायकत्वमा बितेको छ । तर, सधैँ नै शासकको निरंकुशताविरुद्ध नागरिकहरूका तर्फबाट संगठित, असंगठित, प्रकट वा सुषुप्त अनेकौं रूप र शैलीमा विद्रोह भने भइरह्यो । नागरिकले कला र साहित्यलाई पनि विद्रोहको माधयम बनाए । यही निरन्तर विद्रोहको जितका रूपमा लोकतन्त्रको अभ्यास सुरु भएको हो । शासकको छनोट जनताले गर्ने मान्यता निरंकुशताविरुद्ध स्थापित भएको हो । दुर्भाग्य, राजा महाराजाहरूको निरंकुशता अन्त्य गर्न जनताको नेतृत्व गर्नेहरू नै मौका पाउनेबित्तिकै आफू निरंकुश हुन अगाडि सरिहाल्छन् । इतिहासमा धेरैपटक दोहोरिएको यो विसंगतिमा नेपाल पनि अपवाद बन्न सकेन । गणतन्त्रको स्थापनापछि जनताबाट निर्वाचित शासकहरू त झन् राजाहरूलाई नै जित्ने होडमा लागेका देखिएका छन् । उनीहरूको जीवन शैली र राजसी ठाँटबाँठमात्र हैन अपारदर्शी खर्चले पनि नेपालका राजाहरूलाई उछिनेको छ । 

कतै जाँदाआउँदा  आकाश बन्द गर्ने, सडक खाली गराउने राजसी सोखलाई सुरक्षा आवश्यकताको नाममा उचित ठहर्याउन खोजिन्छ । राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री वा सरकारको उच्च पदमा पुग्नेबित्तिकै विशेष सुविधा चाहिन्छ । व्यक्तिलाई आजीवन आवश्यक नभएको सुविधा उपभोग गर्ने चाहना राजा हुने रहरकै अभिव्यक्ति हो । कुनै पदमा नियुक्त वा निर्वाचित हुनेबित्तिकै व्यक्तिका केही दायित्व र आवश्यकता थप हुन्छन् । पदीय दायित्व पूरा गर्न आवश्यक सार्वजनिक सुविधा प्रयोग गर्नु अस्वाभाविक पनि होइन । तर, संघ सरकारले थोत्रो मोटर दिएर हेप्यो भन्ने बहानामा गण्डकी प्रदेशका मुख्यमन्त्रीले अढाइ करोडको गाडी प्रदेशको विकासका लागि खर्च गर्नुपर्ने रकमबाट किने । राष्ट्रपतिलाई शीतल निवास साँगुरो भयो । प्रधानमन्त्री निवासमा विलासका थप सुविधा चाहियो । मन्त्रीहरूका लागि पौडी पोखरीसहितको भव्य, अत्याधुनिक सुविधायुक्त विलासी भवनहरू आवश्यक भयो । गण्डकी प्रदेशमा स्थानीय तहका उपप्रमुख र उपाध्यक्षका लागि पनि अलग्गै मोटर सुविधा दिने निर्णय गरिएको छ । प्रदेश २ मा कारखाना कब्जा गरेर कार्यालय चलाइएको छ भने प्रदेश ३ का मन्त्रीहरूले उद्योगका भवनहरू कब्जा गरेका छन् । सहचिवहरूलाई मोटर दिने निर्णय भए पनि अर्थ मन्त्रालयका सबै उपसचिवले अलग्गै मोटर चड्छन् । सेना र प्रहरीका अवकाशप्राप्त अधिकृतहरूले सुरक्षाकर्मीलाई घरेलु कामदारजस्तै व्यक्तिगत काममा लगाउँछन् । 

यी सबै विलास र सानसौकत जनताको खर्चमा हुन्छ । व्यक्तिले हिजो पनि प्रयोग नगरेको र भोलि पनि नपुग्ने विलासका लागि गर्ने यस्तो रहरलाई ‘राजसी’ भनेर मात्रै पनि पुगेन । राजाहरूले त जन्मदैदेखि विलासी सुविधा प्रयोग गरेका हुन्थे । बाँचुन्जेल राजा हुन्थे । यसैले उनीहरूको विलास क्षणिक हुँदैनथियो । तैपनि, जनताले आफ्नो सम्पत्तिमा राजाले विलास गरेको सहन सकेनन् र राजतन्त्र समाप्त गरे । संसारका धेरै मुलुकबाट मूलतः कुशासनकै कारण राजतन्त्र समाप्त भएका हुन् । विलास र निरंकुशताबीच सकारात्मक सहसम्बन्ध हुन्छ । विलासको रहर जति बढ्छ निरंकुशता पनि उत्तिकै बढ्छ । विलासको आलोचना रोक्न शासक थप निरंकुश हुने चाहन्छ । सामाजिक संजाल नियन्त्रणको सरकारी प्रयत्नको पछाडि शासकहरूको विलासी प्रवृत्तिको सामाजिक सञ्जालमा भएको तीव्र आलोचना नै हो भन्ने सजिलै बुझिन्छ । राजाहरूले पनि यसै गर्थे । राजाहरू आफूलाई जनताभन्दा विशेष देखाउन सबै प्रयत्न गर्ने । अहिलेका मन्त्रीहरू कहिले कर्त १० लाख जनता त कतै २० हजार व्यवसायी उतार्ने गुड्डी हाँक्छन् । मानौ, जनता यिनका रैती हुन् र ‘स्वामित’को सेवामा हाँजिर हुन कटुवालको हाँक पर्खेर बसेका छन् । यस्तो हुँकार जनतालाई मामुली ठान्ने सामन्ती मानसिकताको अभिव्यक्ति हो । लोकतन्त्रमा जनताले चुनेका प्रतिनिधिहरूले राजा हुने रहर गर्दा विकृति र विसंगतिमात्र बढ्छ । आफ्नो धरातल बिर्सेर राजा हुने रहर नगर्दा नै देश, जनता र जनप्रतिनिधि स्वयंको भलो हुनेछ ।       
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २६, २०७६  १३:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC