विराटनगर । अत्यधिक गर्मीका कारण विराटनगरको जनजीवन प्रभावित भएको छ । भाइरल ज्वरो, टाइफाइड र सर्पदंशका बिरामीसमेत बढेका छन् । कोशी अञ्चल अस्पताल विराटनगरमा दैनिक भर्ना हुन आउने बिरामीको संख्या बढेको छ ,
अस्पतालका अनुसार भाइरल ज्वरो र अधिक गर्मीले कमजोरी हुने तथा बेहोस हुने बिरामीसमेत आउन थालेका छन् । अस्पतालका मेसु डा. रोशन पोखरेलका अनुसार गर्मी मौसममा अन्य बेलाभन्दा ज्वरोका बिरामी अधिक भर्ना हुन्छन् । उनले भने, ‘‘इमरजेन्सीमा अत्यधिक बिरामीको चाप छ ।’’ उनले अस्पतालको क्षमताले भ्याएसम्म सेवा दिइँदै आएको बताए ।
यो साता विराटनगरमा अधिक गर्मी बढेको छ । गर्मीले बजारमा मानिसहरुको चहलहलमा कमी आएको छ । रिक्सा तथा साइकलमा यात्रा गर्ने मानिससमेत घटेका छन् । खासगरी बाहिर श्रम गर्ने श्रमिकहरु अधिक प्रभावित बनेका छन् । नोबेल मेडिकल कलेजमा पनि बिरामीको संख्या बढेको छ । अस्पतालका अनुसार त्यहाँ दैनिक दुई हजार बिरामी उपचारका लागि आउने गरेका छन् । तर, मेडिकल वार्डमा अहिले ज्वरो तथा मौसमका कारण उत्पन्न समस्याबाट बिरामी भएकाहरु नै अधिक छन् । विराटनगरको विराट मेडिकल कलेज एन्ड टिचिङ हस्पिटल, गोल्डेन अस्पताल, श्री अस्पताल र हाम्रो अस्पतालमा समेत बिरामीको चाप छ ।
विराटनगर–६ की ४८ वर्षीय गंगादेवी चौधरी गर्मीका कारण अचानक बेहोस भएपछि अस्पताल भर्ना गरिएको छ । बिहान बारीमा खनेर घर आउनासाथ चौधरी बेहोस भएपछि उपचारार्थ कोशी अञ्चल अस्पताल भर्ना गरिएको छ । चिकित्सकका अनुसार अधिक गर्मीले हिट स्ट्रोक अर्थात् गर्मीका कारण बेहोस हुने समस्या लिएर दैनिक चार–पाँच जना बिरामी आइहेका छन् ।
चिकित्सकका अनुसार गर्मीले मानव शरीरमा असर गर्छ । अधिक पसिना बग्ने हुनाले शरीरमा पानीको कमी हुन सक्छ । त्यसैले अधिक पानी पिउने र शित्तलमा बस्नु नै उपयुक्त हुन्छ ।
कोशी हावापानी कार्यालय विराटनगरका अनुसार एक सातामा विराटनगरको अधिकतम तापक्रम बढ्दो क्रममा छ ।