site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
चरीले त छाडेर गइगयो.. एउटा नाता मनमा चैँ रहिरह्यो...
Ghorahi CementGhorahi Cement

काठमाडौं । उखरमाउलो गर्मीको महिना । तर त्यसदिन गृष्मकालको धूप थिएन । बरु एकतमासले रोइरहेको आकाशले कुनै अनिष्टको जनाउ दिन्थ्यो ।

साँझको पाँच बजेको हुँदो हो । अचानक खबर खरपाखाको डढेलोझैँ फैलियो– दासढुङ्गाको घोप्टेभीरबाट जीप त्रिशूलीमा बल्ड्याङ खायो । 

दासढुङ्गाबाट फैलिएको खबरले नवगठित एमालेको मनमा सामुद्रिक ज्वारभाटा सिर्जना गर्‍यो ।

Agni Group

एमाले वृत्तको मनमा भैँचालो पैदा हुनु स्वभाविकै थियो । पार्टीका महासचिव मदनकुमार भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रित पोखराको जिल्ला अधिवेशन उद्घाटन गरेर महिला भेलालाई सम्बोधन गर्न चितवन जाँदै थिए । बीचमा दासढुङ्गा पर्थ्यो ।

कतै नेताद्वय त दुर्घटनामा परेनन् ?

Global Ime bank

अनुमान सत्य सावित भयो ।

कम्युनिस्ट आन्दोलनका दुई उदीयमान नक्षत्र दासढुङ्गा घोप्टेभीरको रहस्यमय दुर्घटनामा परेर सदाका लागि बिलाए । माले–मार्क्सवादीको अन्तरघुलनबाट पैदा भएको एमालेले ‘सुप्रिमो’ र सङ्गठनको सारथी गुमायो । नेपाली कम्युनिस्ट आन्दोलनले नवीन विचारक, चिन्तक र क्रान्तिका मौलिक प्रवर्तक गुमायो । नेपाली क्रान्तिको नूतन कार्यक्रम जनताको बहुदलीय जनवादले पितृत्व नै गुमायो ।

मदनपत्नी विद्या भण्डारीका निम्ति इतिहासकै अँध्यारो दिन थियो त्यो । उनको ‘सूर्य’ त्रिशूलीको भँगालामा अस्ताएको थियो ।

२५ वर्षपछि नेकपाको जीवनमा त्यस्तै नियति पुनरावृत्ति भएको छ । नियतिको दुर्योगले विद्यालाई नै पात्र बनायो ।

चितवनको दासढुङ्गामा विद्या भण्डारीको ‘उज्यालो’ अस्ताएथ्यो । ताप्लेजुङको तारेढुङ्गाले विद्या भट्टराईको ‘घाम’ खोस्यो ।

० ० ०

मध्य फागुन । शिशिरको पुछार । दिनको वैराग्यताले बेलाबखत मन भरङ्ग तुल्याउँथ्यो ।

त्रिभुवन विश्वविद्यालयको अनुसन्धान केन्द्रमा नित्यकाममा निमग्न थिइन् विद्या । कामको उरुङ थियो । मोबाइल हेर्न पनि फुर्सद मिलेको थिएन । सहकर्मीहरू बेलाबखत हँसीमजाक गर्थे– “विद्याजीलाई काम भएपछि खानु–पिउनु पनि पर्दैन ।”

काममा एकोहोरो हुनु उनको स्वभावजन्य विशेषता नै थियो । मोबाइलमा मिस्ड कल थुप्रिइसकेको रहेछ ! उनले तत्कालै फोन फर्काउन उपयुक्त ठानिनन् । काममै दृष्टि लगाइरहिन् ।

घडीले साढे एक हानिसकेको थियो । मोबाइलमा पुनः घण्टी बज्यो । फोन गर्ने योगेन्द्र शाही थिए । फोन उठाउनेबित्तिकै योगेन्द्रले सोधे– “तपाईं कता हुनुहुन्छ, रवीन्द्रजीको बारेका केही थाहा छ ?”

उनी पूर्ववत् मुद्रामा बोलिरहेका थिए । उनको बोलीका कुनै सङ्कोच मिसिएको थिएन ।

विद्याले सामान्य भावमै जवाफ फर्काइन्, “म कीर्तिपुर छु, रवीन्द्रजी तेह्रथुम जानुभएको छ, केहीबेरमा फर्कनुहोला ।” 

“रवीन्द्रजीसँग सम्पर्क भयो त ?,” योगेन्द्रले पुनः सोधे ।

विद्याले कुराकानी भेउ पाइनन्, न तात्पर्य नै बुझिन् । अनौठो मान्दै प्रतिप्रश्न गरिन्, “छैन, किन के भयो र ?”

“के–के समाचार आइरहेको छ, तपाईं पनि सम्पर्क गर्नुस्, म पनि बुझ्छु,” यति भन्दै योगेन्द्रले फोन राखे । 

विद्याले अझै पनि  दायाँबायाँ सोच्न जरुरी ठानिनन् । 

योगेन्द्रले फोन राख्नेबित्तिकै दाइ (प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई)को फोन आइहाल्यो ।

उनले डराइडराइ फोन उठाइन् । त्यतिबेलासम्म उनको मनमा भयले अड्डा जमाइसकेको थियो ।

 “विद्या, कहाँ छ्यौ ? तिमी तुरुन्तै क्वार्टर आऊ !,” भट्टराईले भने ।

त्यतिञ्जेलसम्म उनले के, कसो भएको हो, केही थाहा पाएकी थिइनन् । तारन्तार फोन आइरहेकाले गडबडी भएको लख काट्न सकिन्थ्यो । तर हेलिकोप्टर दुर्घटनामै परेको अनुमान गर्न कठिन थियो ।

राजन भट्टराईले अब हिँडिहाल भनिसकेकाले विद्याको मनमा भयको तुफान पैदा भयो ।

राजनलगत्तै ताप्लेजुङका सांसद योगेश भट्टराईले फोन गरे । उनले पनि सङ्क्षेपमै भने, “खबर राम्रो छैन, म विमानस्थल जाँदैछु । बुझ्दै पनि छु । तपाईं मन्त्री निवास आइहाल्नूस् !”

योगेशले यति भनेपछि विद्याको आशङ्कालाई बल पुग्यो ।

आँखा अगाडि कामका चाङ छन् । रवीन्द्र सवार हेलिकोप्टर दुर्घटनामा परेको खबरले दिमाग रन्थन्याइरहेको छ ।

तथापि, विद्या विचलित भइनन् । त्रिवि अनुसन्धान केन्द्रमा कार्यरत रहेको ४० दिनमात्र हुँदै थियो । विद्या रवीन्द्रकी पत्नी हुन् भनेर कसैले सुइँको पाएका थिएन् । उनले सङ्केत पनि दिएकी थिइनन् । मन्त्रीपत्नी होइन, उपप्राध्यापककै हैसियतले चिनुन् भन्ने उनको इच्छा काममार्फत् उजागर भइरहेको थियो ।

अविच्छिन्न दुर्घटनाको फोन आइरहेकाले विद्याले सहकर्मीलाई भनिन्, “श्रीमान् चढेको हेलिकोप्टर दुर्घटनाग्रस्त भएको खबर आयो, म त तत्कालै जानुपर्ने भयो !”

विद्याको कुरा सुनेर सहकर्मी खङ्ग्रङ्ग भइन् । उनको ओठतालु बगरतुल्य भए । अनुहारको रोगन नै बदलियो । हातगोडा चिसा भए । तुरुन्तै भनिन्, “यतिञ्जेल के हेरेर बस्नुभएको ! तुरुन्तै गइहाल्नूस् ।”

विद्या पीडाले रन्थनिँदै विश्वविद्यालयबाट निस्किएर मूल सडकमा आइन् । एकनास पानी परिरहेको छ । गाडीको आवतजावत बाक्लै छ । तर उनको आँखा अगाडि भयानक नीरवता छाइरहेको छ । दिमाग एकप्रकारको शून्यतामा डुबुल्की मारिरहेको छ ।

बल्खु आइपुग्न दुई पाइलामात्रै बाँकी हुँदो हो, रजिष्टारको कार्यालयबाट फोन आयो ।

“तपाईं कता हुनुहुन्छ ?,” फोन गर्ने सहकर्मी नै थिए । 

“म क्वार्टर जाँदैछु । बल्खुमा पुगेँ,” उनले यतिमात्रै भनिन् । अपुष्ट खबर आइरहेकाले अतिरिक्त भन्न आवश्यक ठानिनन् ।

बल्खुचोक पुग्छु । त्यहाँबाट ट्याक्सी लिएर क्वार्टर जान्छु भन्ने उनको ध्येय थियो । तर सहकर्मीले फोन राख्नासाथ गाडी पठाइदिए ।

० ० ०

त्रिविको गाडी चढेर पुल्चोकतर्फ सोझिँदै थिइन् । मनभित्र एकतमासले अँध्यारो मडारिइरहेको थियो । तर त्यसले सहज निकास पाइरहेको थिएन ।

पुनः फोनको घण्टी बज्यो । उनले लापरवाही तवरले उठाइन् । फोन गर्नेले एकै सासमा बोल्यो– “आत्तिनुपर्दैन ! हेलिकोप्टर सङ्खुवासभातर्फ डाइभर्ट भएछ ।”

अघिसम्म बादल मडारिइरहेको मनमा अचानक आशाको बत्ती धिपिक्क बल्यो । व्यथाले मुर्झाइसकेको शरीरले त्राण पायो । लामो सास फेर्दै एकफेर भएभरको देवताको नाम सम्झिइन् । धन्यवाद पनि दिइन् ।

पीडाले ओखतीमूलो पाएझैँ भयो । सुरक्षित महसुस गरिन् । गाडी स्वभाविक गतिमा अघि बढ्यो ।

मन्त्री क्वार्टर पुगिन् । सानो छोरा स्वराज भर्खर स्कुलबाट आएका रहेछन् । उनको अनुहारमा पूर्ववत् कान्ति थियो । उनी आफ्नो थाप्लामाथि खनिएको ‘भ्रामरी’बारे विल्कुल अनभिज्ञ थिए । सदाझैँ भावभङ्गिमामा आमाको काखमा लुटपुटिए । 

छोराको चहकिलो मुहारमा आफ्नो अनुहारको बादल हटाइन् । मनको अँध्यारो पन्छाइन् । आँखाको आँसु आँखामै दबाइन् । छोराको मुहारतिर हेरेर फिसिक्क हाँसिन् । पुलकित हुँदै छोरो फुत्त भित्र पस्यो । त्यही मेसोमा क्वार्टरभित्र अरू मन्त्रीका परिवारजनलाई धन्यवाद दिइन्– “धन्न ! कसैले खबर सुनाइदिएनछ !”

चुकचुकाउँदै शुभेच्छुक, आफन्त आउनेक्रम बढिहाल्यो । पाँच बजेसम्म सयौँ मानिस निवास पुगिसकेका थिए । तर कसैले मुख फोरेर यसै भयो भन्न सकेनन् । आउजाउ गर्नेले केही नबताएपछि दुर्घटनामात्रै होला भनेर मनलाई आफैँ थुम्थुम्याइन् ।

अपराह्नसम्म विद्याको मनले रवीन्द्रको जीवनदीप निभिसकेको निर्क्योल गरिसकेको थिएन ।

पाँच बज्यो । चन्द्रागिरिको डाँडोबाट शिशिरकालीन घाम ओरालो झर्‍यो । आकाशको नीलो आवरण रङ गेरुमा बदलियो ।

राजन भट्टराई बसेको ठाउँबाट जुरुक्क उठे । विद्यालाई माथिल्लो तलामा बोलाए । मन मसक्क बाँधेर, आँखाको आँसु हत्केलाले थामेर भने, “बहिनी ! ज्वाइँ रहनुभएन ! अब आफूलाई सम्हाल !”

दिनको रङ रातमा नबदलिँदै विद्याको जीवन अन्धकारले छोप्यो । चन्द्रागिरिमा डुबेको घाम सदाका लागि अस्ताएको भान भयो ।

मनको बाँध भत्कियो । आँखाबाट बलिन्द्रधारा आँसु चुहिए । मन्त्री क्वार्टरमा सान्त्वना दिन भेला भएकाहरूको सम्झाउने, बुझाउने तागत क्षीण भयो ।

राजनीतिको आरनमा अर्जापिएकी र सङ्घर्षको घामपानी सहेकी स्पातजस्ती विद्याले आफ्नै हत्केलाले आँसु थामिन् । आफैँले आफूलाई सान्त्वना दिइन् । आफैँले आफूलाई ढाडस थिइन् । 

आगाका फिलिङ्गाजस्ता, तामाका मुनाजस्ता दुई छोराको अनुहारले उनलाई आँसुमा बगिरहन दिएन । तिनै छोराको उद्दीप्त अनुहार शोकबाट बौरिने ओखती बन्यो ।

० ० ०

विद्या पीडाको कालो छिद्रभित्र छिरिसकेकी थिइन् । दृष्यपलटमा अँध्यारोबाहेक केही आउँदैनथ्यो । तर मनभित्र कताकता रवीन्द्रले साउती मारिरहेजस्तो मनको सुदूर कुनामा हँसमुख प्रतिविम्बित भइरहेजस्तो भयो ।

त्यसले उनलाई रवीन्द्र दृष्यको क्षितिजबाट टाढा गएजस्तो, अस्ताएजस्तो भान पर्न दिएन ।

विह्वल हुँदैगर्दा उनी बेस्मारी आँखा मिच्थिन् । हठात् आँखा उघार्दै दायाँबायाँ हेर्थिन् । सारा दृष्य सपना भइदिए जस्तो लाग्थ्यो । आँसुको तलाउमा डुबुल्की मारिरहेको त्यो दृष्य सपना थिएन । तर सपनाजस्तो कहालिलाग्दो पक्कै थियो ।

त्यसदिनको विदारक क्षण उनी सम्झन पनि चाहन्नन् । कति सम्झनामा पनि छैनन् । कति स्मृतिमा झुल्किएलान् भनेर विस्मृतितर्फ धकेलिरहेकी छन् ।

कतिपय यस्ता क्षण छन् जसलाई उनी शब्दमा अभिव्यक्त गर्न सक्दिनन् । कति क्षण कण्ठसम्म आइपुग्छन् । मुखबाट उम्कन सक्दैनन् । पीडाको उपयुक्त अभिव्यक्ति नै आँसु हो ।

पतीपत्नीको सम्बन्ध अपरिभाष्य छ । पत्नीले बाहेक पतिवियोगको अनुभूति सायदै कसैले गर्न सक्छ । पति वियोगको विदारक क्षण प्रतिविम्बन गर्ने शब्द सायदै शब्दकोशमा भेटिन्छ ।

रवीन्द्रको भौतिक अभावले विद्यालाई अद्यपर्यन्त लखेटिरहेको छ । मृत्युपर्यन्त विद्याको सम्झनामा रवीन्द्र हामफालि रहनेछन् । पतिवियोगको घाउ खाटा बसाउने मल्हम पनि कहाँ पाइन्छ र ! 

तथापि, पतिवियोगको अकल्पनीय पीडामा पर्दा पनि विद्याले रोइरहन पाइनन् । घर–परिवार र दुई छोराका निम्ति पनि आँखा ओभानै राख्नुपर्ने र अनुहारमा कृत्रिम हाँसो फिँजाइरहनुपर्ने बाध्यता छ, विद्यालाई ।

“कहिलेकाहीँ मन उद्वेलित हुँदा, रवीन्द्रको सम्झनाले ऐँठन हुँदा डाँको छाडेर रोऊँजस्तो लाग्छ । तर जब दृष्यमा बाआमा र दुईछोरा छाउँछन्, हत्तपत्त आँखा ओभाएर रुन्चेहाँसो हाँस्छु । रवीन्द्रको मृत्युमा आँत भिजुञ्जेल रुन पनि पाइनँ,” उनी भावनाको गहिराइमा पुग्छिन् । आँखाको चेपबाट आँसुहरू खस्न थाल्छन् ।

घाउ लाग्छ, पुरिँदै गएर खाटा बस्छ । त्यसो त, घाउ र खत जीवनका शाश्वत् सत्य हुन् । तर प्रियजनको मृत्युको घाउको खत बस्न गाह्रो हुन्छ । बरु खाडल गहिरिँदै गएर उकुच पल्टिने भय हुन्छ ।

विद्यालाई सइन पल्टाउने सुविधा छैन । र त, मनको घाउ मनैले निको बनाएर पीडाबाट शनैःशनै बाहिर आउँदैछिन् ।

विद्याको आसुँलाई थुम्थुम्याउन पार्टीभित्रका अरू विद्याहरूका आँसुले सघाउ पुर्‍यायो । आफन्तजन र प्रियजनका आँसुले सघाउ पुर्‍यायो । ती आँसुहरूले बाँच्ने जिजीविषा जगाइदियो । जीवन सङ्घर्षमा जित्ने जिजीविषा जगायो । अहिले त्यही अठोटको इलाज पाएर विद्याको मन बौरिएको छ । लाखौँ आँखामा बगेको आँसुप्रति कृतज्ञ हुँदै उनी आफ्नै लयमा फर्किएकी छन् ।

“माया देवर, द्यौरानी, मुटुका टुक्रातुल्य दुई सन्तान, साक्षात् भगवानजस्ता सासूससुराको मायाममता रवीन्द्रको अवसानको पीडा पन्छाउन बल लगाइरहेछन्,” उनी कृतज्ञ देखिन्छन् ।

रवीन्द्रसँगको त्यो भेट

चालीसको दशकको उत्तराद्र्धदेखि नै रवीन्द्र अधिकारीको छवि उदीयमान हुँदै थियो । पद्मकन्या क्याम्पसमा प्रवीणता प्रमाणपत्र तह पढ्दै गरेकी विद्या पनि रवीन्द्रको चुलिँदो चर्चाबारे अनभिज्ञ थिइनन् ।

अनेरास्ववियूको कास्की राष्ट्रिय सम्मेलनमा प्रारम्भीक कमिटीबाट प्रतिनिधित्व गरेर पोखरा पुगे पनि रवीन्द्रसँग भौतिक भेट भएन ।

पोखरा महाधिवेशनले उनलाई रापस (राष्ट्रिय परिषद् सदस्य) निर्वाचित गर्‍यो । 

अनेरास्ववियूको हेटौडा राष्ट्रिय सम्मेलनसम्म आइपुग्दा विद्याको राजनीतिले उचाइ ग्रहण गरिसकेको थियो । राजनीतिक चेत पनि झाँगिइसकेको थियो ।

हेटौडा (बाह्रौं राष्ट्रिय सम्मेलन)ले रवीन्द्र अधिकारी र विद्या भट्टराई दुवैलाई केन्द्रीय कमिटीको मञ्च दियो ।

हेटौडा सम्मेलनले रवीन्द्रलाई कोषाध्यक्ष चयन गर्‍यो । विद्या महिला विभाग प्रमुख भइन् ।

त्यही महाधिवेशनले हो, उनीहरूको भेट गराएको ।

“त्यो भेट वैयक्तिक भन्दा पनि मुद्दा, विचार र राजनीतिक उद्देश्य प्राप्तिको भेट थियो,” उनी अहिले सम्झिन्छिन् ।

हेटौडा महाधिवेशपछि पार्टी आन्दोलनले ‘खड्गो’को सामना गर्नुपर्‍यो ।

समान मुद्दा, समान विचार र समान दृष्टकोणका आधारमा एकट्ठा भएका मनहरू दुईटुक्रा भए । क्रान्तिका क्रममा एउटै सिरानी गरेर सुतेका र एउटै थालमा खाएका मुटुहरू अलगअलग बाटो हिँडे । एउटै मोर्चामा ज्यान हत्केलामा राखेर लडेका सहयोद्धा आपसमा ‘वर्गदुस्मन’, ‘जानीदुस्मन’ नै करार भए ।

तथापि, त्यतिबेला पार्टी विभाजन सामान्य परिघटना मानिन्थ्यो । दसको दशकको अन्त्यदेखि नै टुटफुटको मार खेप्दै आएकाले कम्युनिस्ट आन्दोलना विभाजन आउन त्यति अनौठो मानिँदैनथ्यो । विद्या थप्छिन्, “विभाजन नै विस्तारको प्रक्रिया हो जस्तो लाग्थ्यो । हामीलाई त्यसले कुनै प्रभाव पारेन !”

योगेश, रवीन्द्रले विद्यार्थी आन्दोलनको विशिष्ट ऊर्जा बोेकेका थिए । पार्टी आन्दोलनको रापताप पनि उनीहरूसँग नै थियो । त्यो समूहसँग भावना मिल्नेहरू सबै अनेरास्ववियूतिर हुने अवस्था निर्माण भयो । विद्या पनि योगेश भट्टराई, रवीन्द्र अधिकारीकै कित्तामा उभिइन् ।

पार्टी विभाजनपछि रवीन्द्र माले अखिलको महासचिव बने । विद्या त्यही सङ्गठनको सचिव चुनिइन् ।

तर, उनको सचिव पद तीन महिनामात्रै बहाल रह्यो । तत्पश्चात उनी विद्यार्थी आन्दोलनबाट क्रमशः ओझेल परिन् ।

२०५५ सालको पूर्वाद्र्धमा आइपुग्दा सम्म रवीन्द्र र विद्याको सम्बन्ध निकटता र हार्दिकतामा परिणत भइसकेको थियो ।

तर, संगठनभित्र त्यसलाई प्रेमको आयामबाट परिभाषित गरियो । यद्यपि त्यतिबेलासम्म रवीन्द्र र विद्याको बीचमा साङ्गठनिक कुराकानीबाहेक वैयक्तिक पाटोमा कुरै हुँदैनथ्यो । प्रणय–सम्बन्धका बारेमा त निकै टाढाको कुरा ।

तर, सहकर्मी, सहधर्मीले सकारात्मक आशयले कुरा राख्न थाले ।

विद्यार्थी आन्दोलनमा रवीन्द्र र विद्याका केही समानता थिए । मुद्दा र विचारका आधारमा होइन, भावनात्मक सामीप्यताका आधारमा दुवैलाई असाध्यै धेरै मानिसहरू मन पर्थे । सहृदयी मन कारण कमै मानिस चिढ्याउँथे ।

यही आचरणजन्य स्वभावले दुवैलाई एकअर्कासँग नजिक्यायो । र, त्यही आचरण मन पर्दै गएर विवाहको रूप धारण गर्‍यो ।

राजनीतिक हिसाबले परिस्कृत र विरासतयुक्त परिवार भएकाले विवाहका लागि रोकतोक पनि भएन ।

“विवाह गर्ने, घरपरिवार सम्हाल्नेजस्ता परम्परागत जीवनसोचले मलाई कुनै आकर्षण पैदा गर्दैनथ्यो । विद्यार्थी आन्दोलनप्रति नै एकप्रकारको आशक्ति थियो,” उनी त्यतिबेलाको क्षण सम्झिन्छन्, “तर सङ्गठनमा चर्चा चल्न थालेपछि त्यसको प्रभाव घरपरिवारमा पर्ने नै भयो ।”

राजन भट्टराईको मध्यस्थताले रवीन्द्र र विद्याको विवाह सम्भव भयो ।

त्यतिबेलाको रोचक प्रसंग छ–

कलिलै उमेरमा दुर्घटनामा परेकाले विद्याको एउटा खुट्टा केही छोटो छ । हिँड्दा थोरै अस्वाभाविक लाग्छ । रवीन्द्र–विद्याको सम्बन्ध विवाहमै परिणत हुन लागेपछि केही सहकर्मीले कानेखुसी गरेछन्– रवीन्द्रले विद्यासँग बिहे नै गर्लान् त !”

सुरूसुरूमा विद्याले यसबारे सोचेकै थिइनन् । तर सङ्गठन वृत्तमा यस कोणबाट पनि चर्चा चलेपछि विद्याको मनमा पनि संशयको सानोतिनो बतास चल्यो ।  तर, रवीन्द्रलाई विद्याको नजानिँदो खोच्याइले रत्तिभर पनि प्रभाव पारेन ।

० ० ०

२०५६ सालमा साङ्गठनिक सामीप्यतालाई विवाह बन्धनमा बदलिएपछि विद्याको भूमिका स्वाभाविक हिसाबले गृहिणीमा ज्यादा मुखर भयो ।

तर, राजनीतिक चेत झाँगिइसकेकाले विद्या रवीन्द्रकी अर्धाङ्गिनी भन्दा पनि सहयोद्धाकै रूपमा रहिन् । राजनीतिका हरेक मोर्चा र मुद्दाका बारेमा घरभित्र पनि बहस, छलफल हुन्थ्यो ।

२०५७ सालमा रवीन्द्र अधिकारी अनेरास्ववियूको अध्यक्ष भए । यातायातमा भाडा छुटलगायत ठूल्ठूला आन्दोलनको नेतृत्व गरे । ती सबै मोर्चाको अग्रभागमा नभए पनि विद्या सँगसँगै लडिन् । तत्कालीन शाहज्यादा पारस साहको प्रकरणमा रत्नपार्कमा धर्ना कसेर बसिन् ।

विद्या बुहारीबाट आमामा परिणत भएपछि भने मैदान छुट्दै गयो । 

विद्यार्थी आन्दोलनबाट विमुख भएपछि उनी केही समय महिला आन्दोलनमा पनि सक्रिय रहिन् । कार्यालय सचिव सम्हालेर महिला आन्दोलनमा वर्तन पनि थपिन् ।

तर, ‘जोईपोइ’ नै पार्टी आन्दोलनका सक्रिय रहन घर–व्यवहारका कारण पनि सम्भव भएन । विवशताको माखेसाङ्लोले विद्यालाई प्राध्यापन पेसातिर डोर्‍यायो ।

विद्याको कठघरामा निर्दोष रवीन्द्र !

व्यक्ति दुःखमा अलमलिनु हुँदैन । दुःख क्षणिक, क्षणभङ्गुर हुन्छ र यो अनित्य छ । रवीन्द्र अधिकारीको जीवनदर्शन थियो यो । मृत्युसम्मै उनी यही विचारको पथिक बने । जस्तै दुःखमा पनि पीडालाई अनुहारमै दबाउन र छिपाउन सक्ने अद्भूत खुबी पनि थियो उनमा ।

रवीन्द्रको यही जीवनबोध विद्यालाई वियोगको पीडा पन्छाउने प्रेरणा बनेको छ, अहिले ।

दुःखलाई शमन गर्ने आत्मविश्वास बोके पनि रवीन्द्र जीवनको आखिरीकालमा खुलेर हाँस्न सकेका थिएनन् ।

उनको हाँसोलाई नेपाल वायुसेवाको वाइडबडी जहाज प्रकरणले बेस्मारी अँठ्याएको थियो । वाइडबडी प्रकरणका पहेली खुल्न बाँकी छन् । पहेली खुल्दै जाँदा रवीन्द्रका छविमा छ्यापिएको हिलो पखालिँदै पनि जाला ।

तर, विद्याको कठघरामा रवीन्द्र निर्दोष, निष्कलङ्कित र निष्पाप छन् ।

“मुलुक र जनताका लागि दिलोज्यान दिन्छु भनेर अघि बढेका राजनीतिज्ञहरूमाथि यस्ता लाञ्छना लाग्छन् भन्ने दृष्टान्त रवीन्द्र बन्नुभयो, यसबाट तमाम र सत्यको बाटोमा हिँडेका राजनीतिकर्मीले पाठ सिक्नुपर्छ,” उनी निर्धक्क भन्छिन् ।

राजनीतिमा धेरै झरी बादल खपेका रवीन्द्रको जीवन आरोह–अवरोहकै अर्को नाम हो । रवीन्द्रको जीवनमा धेरै त्यस्ता उतार–चढाव आएका छन् । तर विचलित नहुने स्वभावले नै रवीन्द्रको छवि निर्माण गर्‍यो । वाइडबडी प्रकरणमा रवीन्द्र बारबार भन्थे– “म निर्दोष छु भनेर कि मलाई, कि विद्या र प्रधानमन्त्रीलाई थाहा छ !”

यसो भन्नुको अर्थ छ ।

वाइडबडी प्रकरणमा संसदीय समितिले ‘डामी’ सकेपछि विद्याले रवीन्द्रलाई भनिन्– “तपार्ईंलाई वास्तविकता उजागर गर्न समय मिलेन कि !”

रवीन्द्रले नीर्भिक हुँदै भने, “म निर्दोष रहेको तथ्य कतैबाट छिप्दैन । यसमा तनाव लिनुपर्ने केही छैन । यो मविरुद्धको नियोजित आक्रमण हो । यसबाट विचलित हुनुहुँदैन ।”

विद्याको मथिङ्गगलमा आज पनि त्यो क्षण प्रत्याह्ववान भइरहन्छ । रवीन्द्रको अनुहारको भावभङ्गिगमाकै आधारमा उनी नीर्भिकता प्रकट गर्न सक्छिन्– मेरो अदालतमा रवीन्द्र पूरापूर निर्दोष छन् ।

वाइडबडी प्रकरणमा तेजोवध भइरहँदा रवीन्द्रले विद्यासँग भनेका थिए– “ठीकै छ नि त विद्या, वाइडबडीमा निर्दोष रहँदारहँदै पनि मलाई शून्यमै झारे भने त्यहीँबाट उकासिउँला, आखिर हामी शून्यबाटै आएका त हौँ ।”

यत्ति जवाफ सुनेपछि विद्याले वाइडबडीको प्रसंग कहिल्यै कोट्याइनन् ।

के विद्या राजनीतिमा फर्किएलिन् ?

अहिले उनले सबैभन्दा बढी सामना गर्ने प्रश्न हो यो । तर, यो प्रश्न त्यति तर्कसङ्गत छैन । विद्या राजनीतिबाट पूर्णतः विमुख भइसकेकी थिइनन् र हुँदिनन् पनि । भूमिकाका कारण मैदानबाट ओझेल परेको देखिएकी मात्रै हुन् ।

कास्की–२ बाट प्रतिनिधिसभामा निर्वाचित रवीन्द्र अधिकारी कार्यकाल नसकिँदै जीवनबाट विश्राम लिए । तर, कास्की–२ का मतदाताप्रति रवीन्द्र अधिकारीको जिम्मेवारी बिदा भइसकेको छैन । र, त्यो दायित्व नेकपाको काँधमा सरेको छ । 

केही दायित्व विद्याको काँधमा पनि छ ।

तर, उनी अनुसन्धान–प्राध्यापनमा छिन् । पेसाको मर्यादाले पनि उनलाई रवीन्द्रको बाँकी दायित्व पूरा गर्छु भनेर मुख फोरिहाल्न बाँधेको हुनुपर्छ ।

तथापि उनी निर्णयको सर्वाधिकार पार्टीमै निहित रहेको बताउँछिन् ।

“कास्की–२ का मतदाताको सन्दर्भमा मेरो आफ्नो आग्रह हुनसक्छ । त्यहाँका मतदाताको विद्या उठिदिए हुन्थ्यो भन्ने अपेक्षा, शुभेक्षा हुन सक्छ । यसमा पार्टीकै निर्णय अन्तिम फैसला हो,” उनी कूटनीतिक बाटो पहिल्याउँछिन् ।

जीवनको ऊर्जाशील समय राजनीतिकै बाटोमा व्यतीत गरेकाले होला, उनी संयमित छिन् । धीरता उनको जीवनको निधि बनेको छ । र त, बडो चातूर्य जवाफ दिन्छिन्, “म उमेदवार बन्ने–नबन्ने भनेर निष्कर्षमा पुग्नेगरी परिस्थिति परिपक्व बनेको छैन । परिस्थिति त्यो ढङ्गबाट विकास भएपछि म निचोडमा पुग्नेछु ।”

० ० ०
रवीन्द्रको निधनको पीडाबाट विद्याको परिवारले त्राण पाइसकेको छैन । वयोवृद्ध आमाबाबु लक्ष्मी र इन्द्रप्रसाद अधिकारीको अनुहारबाट जेठो छोराको वियोगव्यथा अब सायदै ओझेल पर्छ ।

घरका चोटाकोठाका भित्तामा रवीन्द्रका अर्धकदमा श्यामस्वेत, रङ्गीन फोटो टाँसिएका छन् । तिनले हरदम सम्झनाको जुलुस निकाल्दा हुन् । स्मृतिका देउराली र भञ्ज्याङ्गहरूमा रवीन्द्रका हाँसोहरूले परेड खेल्दा हुन् । छोराहरूको जीवनको राजमार्गमा बाबुको अभाव खट्किँदो हो । पथप्रदर्शकको खाँचो पनि पर्दो हो ।

तर, विद्यालाई रवीन्द्रसँगै तारेढुङ्गामा खाक भएका ६ जनाको परिवारको चिन्ताले उसैगरी पिरोल्छ । एउटा आँखाबाट रवीन्द्रको सम्झनाको आँसु हामफाल्दा अर्को आँखाबाट उनीहरूका पीडाको आँसुले लय र लोली मिलाउँछन् ।

“प्रधानमन्त्रीज्यू ! एकपटक ती पीडाले पुरिएका परिवारलाई भेटेर सहानुभूतिका दुई शब्द बोलिदिनूस् है ! दुःखका बेला वचनले निकै शीतल दिन्छ !,” उनी बिन्ती बिसाउँछिन््, “छातीमा खाटा नबस्ने खाउ बोकेर हिँडेका ती परिवार पीडाबाट बाहिर आएभने के थाहा रवीन्द्रको आत्माले शान्ति पो पाउँछ कि ?” 

रवीन्द्रको आलोकमा प्रदीप्त परिवारको सरकारसँग ठूलो अपेक्षा छैन । तर रवीन्द्रले थालनी गरेका केही अधूरा, अपूरा काम पूरा गरिदेओस् र रवीन्द्रलाई ‘अमरत्व’ प्रदान गरोस् भन्ने कामना छ ।

रवीन्द्रका सपना योगेशले पूरा गरून् !

रवीन्द्रको भौतिक शरीर बिलाएको ठीक पाँच महिनापछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको कुर्सीमा उनकै ‘दामली’ योगेश भट्टराई आइपुगेका छन् ।

राजनीतिमा योगेश रवीन्द्रभन्दा जेठा हुन् । राजकीय भूमिकामा भने रवीन्द्रभन्दा कान्छा भए ।

अखिल आन्दोलनमा योगेशको दायित्व रवीन्द्रले बहन गरे । राज्यसञ्चालनमा रवीन्द्रको दायित्व बहन गर्ने ठाउँमा योगेश आइपुगेका छन् ।

योगेश पर्यटनमन्त्री बनेका दिन विद्याका आँखा पुनः भरिए । खाटा बस्न आँटेको घाउको पाप्रो उक्किएझैँ भयो ।

एकातिर योगेश मन्त्री बनेकोमा हश्राषु तप्पतप्प चुहिए, अर्कोतिर रवीन्द्रको सम्झनाको स्याँठ चल्यो । आन्दोलनका मोडमा योगेश र विद्या सँगै थिए । रगतपसिना सँगै बग्यो । ती रगतपसिनाका एकएक बुँद ताजा भएर आयो । सम्झनाको तरेलीमा पुराना दिनको पुनरावृत्ति भयो ।

“रवीन्द्र अधिकारीको ठाउँमा योगेश दाइ आउनुभयो । उहाँको अधूरा काम दाइले पूरा गर्नुहुनेछ,” विद्याको मनको क्षितिजमा आशाको दियो धपक्क बल्यो ।

“योगेश दाइ ! हिजो आन्दोलनको क्रममा पनि तपाईंहरूको भावना मिल्थ्यो । तपाईंहरूको भावना मिल्दा, विद्यार्थी आन्दोलन जुरुक्कै उठ्यो । आज रवीन्द्रजीका सपना पूरा गर्ने ठाउँमा तपाईं हुनुहुन्छ, भरोसा निभ्न नदिनूहोस् ल !,” नवनियुक्त पर्यटनमन्त्री भट्टराईप्रति विद्याको यत्ति आशा छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २८, २०७६  १७:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC