site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
 अमलेखगंजः दासता मुक्तिको गौरव 

रुपमा या मात्रामा फरक हुनसक्छ तर संसारमा कुनै न कुनै प्रकारको दासता बाँकी नै छ । कुनै मानिसले कसैको घरमा बँधुवा मजदुरको रुपमा काम गर्नुलाई मात्रै दासता मान्ने हो भने बेग्लै नत्र मानिसले मानिसप्रति गर्ने कुनै पनि किसिमको विभेदभित्र पनि दास बनाउने मनोवृत्ति लुकेको हुन्छ । ठाउँ, समय अनि परिवेशअनुसार मात्रामा फरक होला तर यो मनोवृत्ति या प्रवृत्ति मानव इतिहासको प्रारम्भदेखि अहिलेसम्म निरन्तर छ । नेपाल पनि यसको अपवाद हुन सकेको थिएन र छैन ।

नेपालबाट दास प्रथाको अन्त्य तत्कालीन प्रधानमन्त्री चन्द्र शम्सेरले गरेका  थिए । उनले बिस १९८०  साल मङ्सिर १४ गते दास प्रथा उन्मूलनको घोषणा गरेका थिए । त्यतिबेलाको नेपालको करिब ७२ लाख जनसंख्यामा १५ हजार दासका मालिक र ५१ हजार दासदासी थिए । यो तथ्य चन्द्र शमसेरको लिखित भाषणमा उल्लेख गरिएको थियो । नेपाललेभन्दा पहिला नै ब्रिटेनले १८९५, अमेरिकाले सन् १९१९ मा दास प्रथाको अन्त्यको घोषणा गरेका थिए । भारतमा पनि ब्रिटिस सरकारकै पालामा यस प्रथाको अन्त्य गरिएको थियो । भारतमा राज्य गरिरहेको ब्रिटिस साम्राज्य नेपालले पनि यस्तो प्रथाको अन्त्य गरोस् भन्ने चाहन्थ्यो । छिमेकीलाई पनि खुसी पार्ने र समाज सुधारक पनि बन्ने अभिलाषाले गर्दा चन्द्र शमशेरले यो कदम उठाएको तत्कालीन घटना क्रमले बताउँछन् ।  यद्यपि, यस कदमले दासको भन्दा मालिकको मुक्ति बढी भएको देखिन्छ।

किनभने मुक्त गरिएका दासले भन्दा पनि दास मालिकहरुले क्षतिपूर्ति पाए । दासका मालिकले राज्यबाट आर्थिकरुपमा राम्रो लाभ प्राप्त गरे । मुक्त दासदासीलाई कुनै पनि प्रकारको व्यवस्था नगरी अलपत्र छोडियो । न कुनै घर बास न कुनै खानाको  ठेगान, मुक्तिको नाममा मुक्ति बाहेक अरु केही गरिएन । जान चाहनेलाई बारा जिल्लाको तत्कालीन भिक्षाखोरी भन्ने ठाउँमा पठाइयो । औलोले सताएर मानिसको मृत्यु हुने, जंगली जनावरको पनि त्यत्तिकै डर हुने ठाउँमा पठाएर  मुक्तिको नाममा फेरि अर्को पीडा दिएको देखिन्छ । काठमाडौँ वा यसको आसपासमा खाली जमिनमा उनीहरुको स्थानान्तरण नगरी त्यो जंगलको बीचमा दास मुक्तिको ठाउँ रोज्नुले पनि उनीहरुप्रति तत्कालीन सत्ता कति उदार थियो भन्ने सजिलै बुझ्न सकिन्छ । कतिले बाँच्ने विकल्प नहुँदा बाध्य भएर पुरानै दास मालिककै घर रोजे । कति देशभित्र बस्न नसकेर भारतका विभिन्न सहरमा फेरि तल्लो स्तरको मजदुर हुन बाध्य भए । इतिहासमा दास मुक्तिको गाथा र  चन्द्र शमशेरको महान कार्य भनेर चर्चा  हुँदा मुक्त गरिएका दासहरुले  समाजमा पुनःस्थापित हुन गरेको संघर्षको कथाको चर्चासम्म पनि किन हुँदैन?

Prabhu Bank
Agni Group
NIC Asia

अमलेख(मुक्त) गरिएका भनिएका ५१ हजार दासहरु कहाँ गए, उनीहरुका सन्तान दरसन्तानको  अवस्था  के छ ? किन खोजी हुँदैन? यस्ता प्रश्नहरुको झिनो उत्तरको आशामा अध्ययनको सिलसिलामा गत महिना दास मुक्तिको ठाउँ भनिएको अमलेखगंज पुगेँ । कुनै बेला रेल सेवाले गुल्जार बनेको अमलेखगंज अहिले त्यसको नाम निसाना मेटाएर शान्त बसेको छ। बरु पेट्रोलियम पदार्थको नयाँ भूमिगत लाइन विस्तारले फेरि उठ्न खोजेको देखिन्छ । तर पनि जब यहाँ नयाँ मानिसको आगमन हुने गर्छ थोरै विश्वास र धेरै शंका गरिन्छ । मलाई पनि त्यस्तै अनुभूति भयो । उनीहरु ठान्छन् – अरु सबै कुरा सोधियोस् तर त्यो दास मुक्ति वा यससँग सम्बन्धित इतिहास नसोधियोस् । उनीहरु यस बारेमा खुलेर कुरा गर्न चाहँदैनन् । त्यहाँका राजनीतिक अगुवा, सामाजिक कार्यकर्ता वा सामान्य नागरिक जसलाई सोधे पनि “यसबारेमा त के बोल्नु खोइ ?“ भन्ने नमीठो र हीनता मिसिएको उत्तर आउँछ।  धेरै कर गरेपछि केही कुरा बिस्तारै खोल्छन् । 

अरु स्थानीय मानिसहरुका अनुसार  मुक्त करियासँग सम्बन्धित भनिएको परिवारका सदस्यहरू यस बारेमा सुन्न बोल्न चाहँदैनन् । यही कारणले गर्दा पनि उनीहरुको घर टाढाबाट हेर्नुबाहेक उनीहरुको इतिहास उनीहरुकै मुखबाट सुन्न सकिएन । यसबाट के बुझिन्छ भने एक सय वर्षको बीचमा यस्ता परिवारले गरेको सामाजिक पुनःस्थापनाको कहालीलाग्दो संघर्ष अनि अरु समुदायबाट पाएको पीडाको स्वरुप कति दर्दनाक थियो र छ होला ? त्यो इतिहास उनीहरु खोतलेर फेरि बल्झाउन चाहन्नन् । सायद, उनीहरु खाटा बस्दै गरेको घाउ कोट्याउन चाहन्नन् । 

Global Ime bank

जितपुर सिमरा –२१ का वडाप्रतिनिधिका अनुसार जब तत्कालीन सरकारले मुक्त दासहरुलाई अमलेखगन्जमा ल्याएर छोडिदियो धेरै मानिसहरु औलोको कारणले मरे । केही भारततिर पलायन भए । केही पहाडतिरै फर्किए । जसको कुनै विकल्प थिएन ती यतै बसे र रेल स्टेसन वरपर मजदुरी गरे । जंगल खोरिया फडानी गरेर कृषि कर्ममा लागे। उनका अनुसार ती १०० वर्ष अगाडि मुक्त गरिएका धेरैजसो करियाका नाममा अझै सम्म आफ्नो जमिन छैन । उनीहरुभन्दा पछि आएर बसोवास गर्नेको नाममा लालपुर्जा हुनु र उनीहरुको नाममा नहुनुले के सन्देश दिन्छ ? उनीहरु राज्य अनि समाजको नजरमा कहिले पनि पर्न सकेनन् । उनीहरुलाई समाजको मूल संरचनामा समावेश गर्न कसैले चाहेन ।

त्यसैले उनीहरु अझै पनि सामाजको अग्रभागमा आउने आँट गर्दैनन् । न त आफूमाथि वर्षौंदेखि भएको यो अमानवीय व्यवहारको बिरोध नै गर्न सक्छन् । वास्तवमा उनीहरुको बाहुन, क्षेत्री, ठकुरी, जनजाती, मधेसी तथा दलित सबैको बसोबास रहेको यस अमलेखगंज बस्तीको एक छेउमा शान्त र निरीहजस्तो लाग्ने टोल देखिन्छ । अध्ययनको क्रममा उनीहरुले आफूलाई समाजमा स्थापित गराउनको लागि गोत्र फेर्ने, थर बदल्ने गरेको पाइयो । कसैको थरमा आमा र बाबु दुवैको थर एकैचोटी प्रयोग गर्ने गरेको देखियो । आफूजस्तै अरु जातिसँग विवाह गरेपछि पतिले समेत पत्नीको थर प्रयोग गरेर समाजमा स्थापित हुने अनेक प्रयत्न गरेको देखियो । 

जंगबहादुर राणाले जारी गरेको विस १९१० को मुलुकी ऐनले दासप्रथाको बारेमा समेत नयाँ व्यवस्था गरेको थियो । माथिल्लो जातिलाई अपराध नै गरे पनि दास बन्न नपर्ने व्यवस्था कायम गर्दै तल्ला भनिएका जातिलाई मात्रै दास बनाउन पाउने स्थिति उनले बसाले । यसले गर्दा जात व्यवस्थाभित्र दासहरुको स्थान दलित जातिको भन्दा पनि दयनीय बन्न गयो। उनीहरुको जात व्यवस्थामा समेत  कुनै स्थान नै भएन । त्यसैले गर्दा कसैले थर फेरेर कसैले ठाउँ फेरेर अनि कसैले देश नै फेरेर आफूलाई स्थापित गरे । यो अमानवीय प्रथाले दास हुँदा या नहुँदा उत्तिकै पीडा दिएको देखियो । एकातिर दासप्रथाको उन्मूलनको गौरवपूर्ण इतिहास कायम भयो । तत्कालीन शासकहरु समाजसुधारक अनि छिमेकी देशका प्रिय बन्दै रहे । अर्कातिर मुक्त्त गरिएका दासहरुले अझ पीडाका पल भोग्दै रहे । 

परन्तु, कम्तीमा सैद्धान्तिकरुपमै भए पनि दासताको अन्त्य भयो । त्यस पुस्ताले जति दासताको नाममा पीडा भोग्यो अर्को  पुस्ताले  भोग्न  परेन । त्यति बेलाका मुक्त दास परिवार देशभर छरिएका होलान् ।  तर, मुक्तिकै लागि भनेर छुट्याइएको भिक्षाखोरी हालको अमलेखगंज हो जहाँ अझै पनि केही मुक्त करियाका परिवार रहेका छन् । तर, उनीहरु अरु मानिसहरु झैं आफ्नो इतिहास गर्वले बताएर बाँच्न सकेका छैनन् । हाम्रो विभेदपूर्ण जातीय संरचनाभित्र उनीहरु निकै तल्लो जातिको  दर्जामा बाँचिरहेका छन् । उनीहरुलाई दास बनाउनेहरु गर्वले बाँच्न पाउने तर जसले हामीलाई मालिक अनि शासक बनाए उनीहरु आफ्नो नाम, थर, इतिहास, या सम्पूर्ण पहिचान लुकाएर बाँच्नु पर्ने यो सामाजिक अमानवीय चलन कहिलेसम्म रहन्छ ? गणतन्त्र नेपालमा यो समुदायमाथि भएको ऐतिहासिक अन्याय कहिलेसम्म कायम रहने हो ? यसको उजागरका लागि सबै सामाजिक संघसंस्था, राजनीतिक दल, सरकार अनि खासगरी समाज शास्त्रीहरुको उचित पहलमा यस ठाउँलाई घृणा होइन इतिहासकै  गर्व गर्न लायक स्थानको रुपमा चिनाउने ठोस कदम आवश्यक देखिन्छ । 

यो कलंकित ठाउँ होइन । नेपाली सामाजिक इतिहासको गौरवगाथा बोकेको ठाउँ हो । अमलेखगंज नेपालको मात्र होइन विश्व मानव इतिहासमै दासता मुक्तिको ठाउँको रुपमा स्वीकार गर्दै यस पवित्र भूमिप्रति घृणा होइन गर्व गरौँ । अमलेखगंज हिजो जसरी रेलको इतिहास बोकेर चर्चामा थियो आज तेलको पाइप लाइन ल्याएर गर्व गर्दै छ । यसका साथै दासता मुक्तिको गौरवपूर्ण इतिहासलाई सम्झाएर अझ चर्चित बनोस् । 
     


 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २९, २०७६  ०८:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC