नेपाली चलचित्रका लागि भीएफएक्स ‘आकाशको फल’, मिनेटकै पर्छ पाँच लाख

नेपाली चलचित्रका लागि भीएफएक्स ‘आकाशको फल’, मिनेटकै पर्छ पाँच लाख

काठमाडौं । चलचित्र ‘डाइङ क्यान्डल’मा सुरुको दृश्यमा अण्डा, लार्भा हुँदै पुलती भुरुरु उडेर जान्छ । चलचित्र ‘रोमियो एन्ड मुना’मा पनि एउटा दृश्य छ, पानीभित्र जेल छ । जेलभित्र सृष्टिका बुवा छन् । सृष्टि गएर तिनै बुवालाई भेट्छिन् । यी दुई चलचित्रका दुई दृश्य भीएफएक्स (भिजुअल इफेक्ट्स) मार्फत् बनाइएको थियो । 

‘रोमियो एन्ड मुना’ भीएफएक्स दृश्यको लम्बाइ समय चारदेखि पाँच मिनेट छ । यसकै लागि निर्माताले करिब २५ लाख रुपैयाँ खर्चिएका थिए । “भीएफएक्स नेपालमा निकै महँगो छ । भीएफएक्स कम्पनी नै चलचित्रको प्रोड्युसिङमा पार्टनरसिपमा बस्यो भनेमात्रै हो, अन्यथा सहज छैन,” डाइङ क्यान्डलका निर्देशक नरेशकुमार केसी भन्छन्, “समय र बजेटका हिसाबले पनि नेपाली चलचित्रलाई भीएफएक्स प्रयोग गर्न कठिन छ ।” नरेशलाई आफ्नो चलचित्रको भीएफएक्सको ‘फिनिसिङ’मा पनि चित्त बुझेको छैन । 

चलचित्र ‘शत्रुगते’ को क्लाइमेक्स सिनमा पनि भीएफएक्स प्रयोग गरिएको छ । हेलिकप्टरले आकाशमा ट्रयाक्टर उठाएको सिन छ त्यसमा । साढे दुई मिनेटको उक्त दृश्यमा रियल भीएफएक्स भने सवा एक मिनेटमात्रै छ । बाँकी भीएफएक्सभित्रकै सामान्य काम छ ।

‘शत्रु गते’ निर्देशक प्रदीप भट्टराईका अनुसार उनीहरुले प्रतिसेकेन्ड तीन हजारका दरले भीएफएक्सलाई पैसा तिरेका थिए । मल्टिमेटले ‘शत्रु गते’सँग साढे दुई मिनेटको साढे चार लाख रुपैयाँ लिएको थियो । 

“नेपालमा बजेट, चलचित्रको व्यापार र भीएफएक्समा लाग्ने समयका कारण यो प्रयोग गर्न निकै जटिल छ,” निर्देशक प्रदीप भट्टराई भन्छन्, “हामी चारदेखि छ महिनामा सिङ्गो फिल्म तयार पार्छौं तर प्रोपर काम गर्ने हो भने चार मिनेटको भीएफएक्स तयार पार्न एक वर्ष लाग्छ ।”

निर्देशक प्रदीप हलिउड, बलिउड जस्तो राम्रो भीएफएक्सको काम गर्ने जनशक्ति पनि नेपालमा नरहेको बताउँछन् ।

निर्माणको चरणमा रहेको चलचित्र ‘जाइरा’मा पनि भीएफएक्स प्रयोग गरिएको छ । निर्देशक आशुतोषराज श्रेष्ठका अनुसार १२ देखि १४ मिनेट भीएफएक्समार्फत् तयार पारिएको सिन समावेश छ । तर, यसमा पनि पूर्ण भीएफएक्स भने जम्मा १० सेकेन्डमात्रै छ । बाँकी पूर्ण भीएफएक्स हुनेछैन । १० सेकेन्ड बाहिर भीएफएक्स अन्तर्गतकै रोटो काट्ने, क्लोनिङ गर्ने, एनिमेशन र ग्रिनको काम गरेको निर्देशक श्रेष्ठ बताउँछन् । 

‘जाइरा’मा समावेश १० सेकेन्डको भीएफएक्स नम्रता श्रेष्ठ र सिर्जना रेग्मीको क्यारेक्टर निर्माण हो । बाँकी भीएफएक्स क्राउड र स्टेडियम देखाउन प्रयोग गरिएको छ । ‘जाइरा’मा आई ड्रिम्सले भीएफएक्सको काम गरेको हो । १४ मिनेटको भीएफएक्सका लागि करिब २८ लाख रुपैयाँ खर्च भएको श्रेष्ठ बताउँछन् । 

“नेपालमा भीएफएक्स प्रयोग गरेर चलचित्र निर्माण गर्नै नसकिने भन्ने त होइन, तर निकै खर्चिलो भएकाले कठिन भने छ,”, निर्देशक श्रेष्ठले भने, “दुई करोडभन्दा माथि बजेट गयो भने रिस्क मानिन्छ, त्यसैले बजेट उच्च हुने भएकाले भीएफएक्स खेलाउन सजिलो छैन ।” 

धेरै चलचित्र निर्देशक तथा निर्माताहरुले भीएफएक्स प्रयोग गरेको दाबी गरे पनि ती पूर्ण भीएफएक्स सिन हुँदैनन् । नेपालमा सीजीआई (कम्प्युटरमा पूरै क्यारेक्टर बनाउने) बनाएर प्रयोग गरेको देखिँदैन । रोटो काट्ने, क्लोनिङ गर्ने र ग्रिन काट्ने मात्रै गरेका छन् । 

क्याप्टेन, छड्के, हँसिया, मिसन पैसा लगायतका केही चलचित्रमा पूर्ण रुपमा भीएफएक्स प्रयोग नगरे पनि आंशिक रुपमा प्रयोग गरिएको नेपाली चलचित्र हुन् । 

नेपालमा भीएफएक्स सम्बन्धी काम गर्दै आएको संस्था पीएफएस नेपालका सहसञ्चालक प्रणय शाक्य रियालिस्टिक दृश्यका लागि भीएफएक्स महङ्गो पर्ने बताउँछन् । समय, जनशक्ति र श्रमका कारण नै भीएफएक्स खर्चिलो हुने गरेको शाक्यको भनाइ छ । 

“२० बाइ १२ चलचित्रको जस्तो भीएफएक्स निकै महङ्गो पर्छ, त्यस्तो भीएफएक्स गर्ने नेपालमा जनशक्ति पनि छैन । जनशक्ति भए पनि नेपालमा बजेटका हिसावले सम्भव छैन,” शाक्य भन्छन्, “२० बाइ १२ चलचित्रको जस्तो भीएफएक्स प्रतिसेकेन्ड ३० देखि ४० लाख रुपैयाँ खर्च लाग्छ ।” 

‘रोमियो एन्ड मुना’मा भएको जत्तिको भीएफएक्स तयार पार्न प्रति मिनेट ५ लाख रुपैयाँ लाग्ने उनले जानकारी दिए । नेपालमा चार मिनेटको भीएफएक्स प्रोजेक्ट पाउनु अनपेक्षित जस्तै भएको शाक्यको भनाइ छ ।  “भीएफएक्समा क्यारेक्टर निर्माण, मोडलिङ, एनिमेसन, कम्पोजिसन गरिसकेपछि क्यारेक्टरलाई इन्टर्‍याक्ट गराउनुपर्ने हुन्छ,” शाक्य भन्छन्, “लामो प्रोसेस, समय सानोसानो पक्षमा काम गर्नु परेकाले पैसा धेरै लागेको हो ।”

भीएफएक्स भनेको कम्प्युटर जेनेरेटेड इफेक्ट हो, जुन चलचित्रमा लाइभ क्यारेक्टरले गर्न सम्भव छैन । जन कुरा सिनेम्याटोग्राफीबाट पर्दा तथा स्क्रिनमा देखाउन सकिँदैन, त्यसलाई कम्प्युटर इफेक्टमार्फत् दृश्य तयार पार्नु नै भीएफएक्स हो । भीएफएक्स चलचित्रको क्षेत्रमा भित्रिएको सबैभन्दा नयाँ प्रविधि हो । यसले चलचित्रमा देखाउन असम्भव दृश्यलाई वास्तविक चरित्रले जस्तै हुबहु देखाउन सकिन्छ । तर, यो निकै महङ्गो र लामो समय लाग्ने प्रविधि हो । 


 

नरेश फुयाँल

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ad