एजेन्सी । लिभरपुलका स्टार भर्जिल भान जिकले ७५ मिलियन मूल्य ट्याग आफ्नो लागि कहिल्यै ठूलो कुरा नभएको बताएका छन् । यद्यपि यही महिनामा उनको रेकर्ड तोडिएको छ ।
म्यानचेष्टर युनाइटेडले लेष्टर सिटीका ह्यारी मग्गुइरलाई ८० मिलियनमा अनुबन्ध गरेपछि भर्जिलको रेकर्ड तोडिएको हो । नेदरल्यान्डका भर्जिल सन् २०१८ को जनवरीमा साउथ ह्याम्पटनबाट लिभरपुलमा ७५ मिलियनमा अनुुबन्ध भएका थिए । त्यतिबेला उनी विश्वकै महँगा डिफेन्डरको रुपमा नयाँ रेकर्ड बनाएका थिए ।
गएको सिजनमा भर्जिलले लिभरपुललाई च्याम्पियन लिग जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए । यसैगरी उनी बालोन डी‘ओरमा मनोनित भएका छन् । भर्जिलको टिम लिभरपुल आज चेल्सीविरुद्ध भिड्दैछ ।
“यो बजार हो र सबै खेलाडीले गर्ने भनेको एउटै काम हो खेल्ने अनि टिमको लागि सबै उत्कृष्ट दिने । मैले पनि त्यही नै गरेको हो, म अझै सफलता प्राप्त गर्न लाग्नेछु । खेललाई सुधार गर्दै उत्कृष्ट खेलाडी बन्नेछु । मूल्यले अर्थ राख्दैन,” भर्जिलले स्पोर्टस् कीडासँग भने ।