बस्‍नै सकेन नेकपाको सचिवालय बैठक

बस्‍नै सकेन नेकपाको सचिवालय बैठक

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक पुनः स्थगित भएको छ । आजका लागि तय भएको बैठक बिहीबार (भोलि) का लागि स्थगित भएको नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिए ।

आजको बैठकमा थाँती रहेका कार्यसूचीमाथि छलफल गर्ने बताइएको थियो । तर, तयारी नपुगेको भन्दै बैठक स्थगित गरिएको बताइएको छ ।

नेकपा स्थायी कमिटीका एक नेताका अनुसार अध्यक्षद्वय सोमबारदेखि नै छलफलमा जुटेका छन् । आज बिहान पनि दुई अध्यक्षबीच छलफल भएको थियो ।

बुधबार बिहान भएको भेटमा सुरुमा ३२ वटा विभाग प्रमुख चयन गर्ने र बाँकी कार्यसूचीतर्फ अघि बढ्ने समझदारी भएको बुझिएको छ ।

३२ विभागमध्ये पूर्वएमालेले १८ वटा र पूर्वमाओवादी केन्द्रले १४ वटा लिने समझदारी भएको छ । आ–आफ्ना साविक पार्टीमा छलफल गरेर टुंगो लगाउने र सचिवालयको बैठक बसेर पूर्णता दिने निष्कर्षमा दुई अध्यक्ष पुगेको बताइएको छ ।

यसैबीच, शक्ति सन्तुलनमा फेरबदल आइरहेका बेला स्कुल विभागमा पूर्वमाओवादी केन्द्र लचिलो बनेको छ । पार्टी स्कुललगायत अन्य विभागको जिम्मेवारी बाँडफाँटको विषयलाई लिएर अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल छलफलमा जुटिरहेका बेला पूर्वमाओवादी केन्द्रबाट यस्तो धारणा आएको हो । स्कुल विभागमा सचिवालय सदस्यद्वय ईश्वर पोखरेल र नारायणकाजी श्रेष्ठबीच रस्साकस्सी छ । पोखरेल पूर्वएमाले हुन् भने श्रेष्ठ पूर्वमाओवादी । 

स्थायी कमिटी प्रचण्ड निकट एक सदस्यले बाह्रखरीसँग कुरा गर्दै स्कुल विभागको विषयमा अब धेरै गलफती नहुने बताएका छन् । “स्कुल विभागका विषयमा बाहिर प्रचार गरिएजस्तो विमति, विवाद छैन । दुई अध्यक्ष बसेर स्कुललगायत सबै विषयको टुङ्गो लगाउनुहुन्छ,” उनले भने ।

स्कुल विभागको दाबीबाट श्रेष्ठ पछि हटेको हो त ? भन्ने बाह्रखरीको जिज्ञासामा ती नेताले भने, “स्कुल विभागमा जो भए पनि एक जना हुने हो, मै हुनुपर्छ भनेर कसैले पनि भनेको छैन । भन्नु हुँदैन ।”

प्रतिकृया दिनुहोस
ad