गौरापर्व : महिला सहभागिता र उत्सवको मौलिक गाथा

चेतना शर्मा

भाद्र महिना सुदूर पश्चिम प्रदेशका लागि विशेष उत्सव भएर आउँछ । ओल्के संक्रान्ति मनाएलगत्तै यस क्षेत्रका बासिन्दाले  गौरापर्वको छनक महसुस गर्न थालिसकेका हुन्छन् । कुनै पनि स्थान विशेषको चाडपर्व, रीतिरिवाज, संस्कृति त्यस स्थानको मौलिकता झल्काउने सशक्त माध्यम हुन् । साथै, कुनै पनि स्थानको संस्कृतिले त्यस स्थानका बासिन्दाको मनोभावना, परम्परागत मूल्यमान्यता, विभिन्न कालखण्डको सभ्यता तथा त्यहाँको ‘ऐतिहासिक परमपरा’लाई प्रतिनिधित्व गरिरहेको हुन्छ । 

मौलिक परम्परा, चाडपर्व र लोकसंस्कृतिका सन्दर्भमा सुदूरपश्चिम अन्य प्रदेशका तुलनामा अब्बलनै मान्नुपर्छ । यहाँ विशेष हर्षोल्लास र महत्त्वका साथ मनाइने गौरापर्व प्रमुख चाड हो । यसका माध्यमबाट यहाँकोे इतिहास, कला तथा समकालीन भावनाहरु हार्दिक र मार्मिक तवरले चित्रण भइरहेको हुन्छ ।

कहिले भाद्र शुक्लपक्ष त कहिले कृष्णपक्षमा पर्ने यस आनुष्ठानिक पर्वलाई पक्षका आधारमा ‘उजाली गौरा’ र ‘अनारी गौरा’ भनी नामाकरण गरिएको हुन्छ । प्राकृतिक हरियाली उत्कर्षमा पुगेको, वर्षायामको समय भएकाले लाग्छ यो पर्व मनाउन प्रकृतिले पनि आफूलाई पूर्णरुपमा समर्पित गरिरहेकी हुन्छिन् । पहाडका डाँडाकाँडामा देउडाका लयहरु गुञ्जायमान भइरहेका हुन्छन् र जमिनलाई देउडाका खेलहरुले रोमाञ्चित बनाइरहेको मनमोहक उमंगको अनुभूति हुन्छ । फस्टाउनै लागेको सामा, कुश, धान, तीतेपाती आदिलाई खेतबाट ल्याई  विधिपूर्वक गौराघरमा भित्र्याई शृंगार गरी देवी  पार्वतीको स्वरुपको स्थापना गरिन्छ । पंचमी तिथिदेखि पंचबिरुडा (क्वाँटी) भिजाई अष्टमीमा टुसाएका पंचबिरुडाले पैजा गर्नेे चलन छ । पूजा समाप्त भएपश्चात महिलाहरु बिरुडाले घरका ज्येष्ठ सदस्यलगायत सबैको पालैपालो मुन्टो (टाउको) पुज्ने प्रचलन छ । यस पर्वमा पुरुषहरु आआफ्नै जमात बनाई देउडा खेल्न व्यस्त देखिन्छन् भने बालबालिकाको चहलपहल त झन् छुनै नसकिने हुन्छ ।

प्रकृति पुजनका माध्यमबाट मनाइने यो पर्व धर्मिक परम्पराका साथै त्यस स्थानका बासिन्दाबीच विद्यमान सामाजिक  एकता, भातृत्व र सद्भाव हेर्न र महसुस गर्न लायक उदाहरणीय गाथा पनि हो ।  महिला र पुरुष दुवैको बराबर सहभागिताका साथ सम्पन्न हुने प्रचलन वा परम्परा यस पर्वको सबैभन्दा सुन्दर पक्ष हो । यद्यपि, पुरुषहरु देउडा खेलेर, चैत गाएर  रमाइलो गर्छन् भने महिला सम्पूर्ण विधि विधानपूर्वक पूजाआजाका साथसाथै अठवाली, घरगीत, फाग, देउडा गाएर रमाइलो पनि गरिरहेका हुन्छन् । 

दिनहुँ काममा निथु्रक्क भिजिरहने यहाँका महिला यस पर्वका दौरानमा आफ्ना व्यस्त दैनिकीबाट आफूलाई मुक्त पारी पूर्ण समर्पण र आनन्दको रस लिँदै यो पर्व मनाएको देख्दा लाग्छ – साँच्चिकै मानिसको जीवनमा उत्साह, उमंग थप्न र सौहार्द  वातावरण सृजना गर्न बेलाबेलामा मनाइने चाडपर्व ज्यादै महत्त्वपूर्ण हुन्छन् ।  ग्रामीण गृहिणीहरु यस पर्वलाई भव्यरुपमा स्वागत गर्न र उन्मुक्तताका साथ मनाउन गौरा पर्व सुरु हुनु आठ दश दिन अगावैदेखि गोठका गाईवस्तुका लागि घाँसपात जम्मा गरी थन्क्याउने, ‘गोराकी लेखा’  अर्थात गौराको लागि भन्दै फलफूलहरुको जोहो गरिराख्ने, शृंगारपटारका लागि आफूलाई महत्त्व दिने, लुगा तथा आवश्यक शृंगार सामग्री किन्ने वा मगाउने गर्छन् । यो समयमा पुरुष प्रायः आफ्ना जीवन संगीनीलाई महत्त्व दिँदै आवश्यकता पूर्ति गर्नेतर्फ अग्रसर देखिन्छन् । अन्य समयमा महिलालाई तथा महिलाका काममा कुनै महत्त्व नदिने पितृसत्तात्मक सोच बोकेका पुरुषहरु यस अवधिमा  महिलाले गर्ने दैनिक कार्यहरुमा सहयोग गरिरहेको देखिन्छन् । यसले के प्रष्ट्याउँछ भने पुरुष पनि यस पर्वको स्वागतका लागि पर्खिरहेका हुन्छन् । पुरुषले सोध्ने एउटा वाक्य प्रायः सबै घरमा  यतिबेला सुनिन्छ – तोखिलेखा गोरामाई केइ चाइन्या हो त ? ( तिम्रा लागि गौरामा के चाहिन्छ ? ) । पुरुषले महिलाका आवश्यकतालाई यही समयमा मात्र महत्त्व दिो गरेको भान  हुन्छ । 

सांस्कृतिक परम्परा निर्वाह गर्नमा महिलाहरुको भूमिका वाहकको हुन्छ । तर मातृत्व, सहनशक्ति, त्यागको भावना, अन्नदाता आदि कारणले महिलालाई प्रकृतिसँग नजिक राखेर हेरिन्छ ।  शेरी बि ओट्नरका अनुसार पनि ‘स्त्रीका मनोवृत्तिहरु प्रकृतिसँग नजिक रहेका हुन्छन् तर समाजमा संस्कृति–परम्परा  निर्माणमा पुरुषको भूमिका रहन्छ जसमा महिलाहरु पुरुषको अधिनस्थ हुने संस्कृतिको निर्माण पुरुषहरुले गर्छन् ।’ 

लैंगिक विभेदमा अन्य प्रदेशभन्दा अगाडि रहेको यस प्रदेशमा महिला र पुरुषले सँगसँगै गौरापर्वमा रमेर सहभागी भइरहेको यो समयमा गुनासो गर्न नसकिने समानताको  सुन्दर दृश्य देखिन्छ । साथै, सदियौंदेखि ‘सानो जात’ भनेर हेपिएको जातिविशेषको पनि यस पर्वका कतिपय  विधिविधानमा अनिवार्य सहभागिता रहन्छ ।
हुनत, यो पर्व पनि पितृसत्तात्मक आशयबाट अलग्ग देखिँदैन । किनभने यस पर्वमा गरिने पूजा व्रत र अन्य सम्पूर्ण क्रियाकलाप महिलाले पति, छोरा साथसाथै अन्य परिवारको सुस्वास्थ्य, दीर्घायुका तथा प्रगतिमा केन्द्रित हुन्छन् । यसरी हेर्दा एकातर्फ आफूलाईभन्दा बढी परिवारको खुसीका लागि महिलाले आफ्नो जीवन बिताउनुपर्ने सन्देश बोकाउने सशक्त माध्यम यो पर्व पनि बनेको देखिन्छ  । अर्कोतर्फ महिला सृष्टिकर्ता हुन् र जतिसुकै पुरुषत्वको दम्भ बोकेपनि उनीबिना पुरुष अधुरोनै हुन्छ भन्ने आशय पनि प्रस्तुत भइरहेको हुन्छ । पुरुषको आयुको कामना महिलाले गरे पूर्ण हुने विश्वास त पूरै हिन्दु सनातन धर्ममा छ । यसै आशयलाई निरन्तरता दिँदै महिलाले आफू पुरुषभन्दा दोस्रो दर्जाका रुपमा भोग्दै आएका विभेद र दमनलाई गौराका विभिन्न गीतका माध्यमबाट पोखिरहेका हुन्छन् ।

सुदूरपश्चिमको समाज पितृसत्तात्मक आचारविचारभन्दा बाहिर आउन नसक्ने  समाज हो । महिलाहरु सदियौंदेखि प्राकृतिक तवरलेनै धार्मिक तथा संस्कृतिका नाममा लादिएका कुप्रथा र व्यवहारहरुलाई विनाप्रतिवाद तरिकाले सहिरहेका हुन्छन् । त्यसैले उनीहरु पितृसत्ताको पक्षपोषणको सन्दर्भमा माध्यम र ध्येय दुवै बनिरहेका हुन्छन् । पितृसत्ताको आवरण प्राकृतिक नै हो भन्ने कुरा आफूमा समाहित गरी जीवन बिताइरहेका हुन्छन् ।

महिलाहरू यति बेला आफ्नो अवस्था तथा जीवन भोगाइको उत्सव मनाउन व्यस्त रहन्छन् । आफ्ना केही गुनासा र असन्तुष्टिलाई देउडा र घरगीतहरुका माध्यमबाट पोखिरहेका हुन्छन् । समाजमा बिद्यमान लैंगिक विभेदमा सामाजिकीकरणको महत्त्वपूर्ण भूमिका  हुन्छ भन्ने जान्न नचाहने र नसक्ने तथा स्त्रीको जन्मलाई  भाग्यकै परिणाम भएको ठान्न रुचाउने यहाँका महिला आफूलाई दोस्रो दर्जाकै नागरिक मानेर रमाइरहेका देखिन्छन् । यस्ता संस्कारहरुले  परिवारप्रति समर्पणको भावनालाई सुसंगठित गर्न मद्दत पुर्याइरहेको यहाँको समाजको मान्यता छ । त्यस्तो  भावनालाई थप बल पु¥याउने काम गौरापर्वका माध्यमबाट पनि भइरहेको हुन्छ । 

महिलाले विगतदेखि भोगिरहेका पीडाका साथै अन्तरर्निहित स्वतन्त्रताकोे उत्कर्ष चाहना पनि यिनै गौराका गीत, फाग, देउडाका माध्यमबाट उनीहरुले पोखिरहेका हुन्छन् । तर, यस्ता गीतहरुमा महिलाहरुको अवस्था परिवर्तनका लागि अग्रसर हुनुपर्ने आशयका गीत भने खासै भेटिँदैनन् । गौरा पर्वको पूजा पनि भगवान शिवजीभन्दा देवी पार्वतीतर्फ बढी केन्द्रित रहेको हुन्छ र उनको जीवनका घटनाक्रमलाई बडो सजीव ढंगले अठ्वाली गीतका माध्यमबाट उजागर भइरहेको हुन्छन् । यस क्षेत्रमा परापूर्वदेखि नै महिलाले लैंगिकताका पक्षबाट भोग्दै आएका शिक्षा स्वास्थ्यमा विभेद, सासु, नन्दले दुख दिएको,  पतिले सौता ल्याएको, गरिबीको छटपटीआदि सामाजिक दुख÷ वेदनालाई  महिलाले भाका हालेर घरगीत, देउडाका माध्यमबाट र्मािर्मक ढंगले प्रस्तुत गरिरहेका हुन्छन् । तिनले गाउने गीतहरुमा वस्तुगत अनुभवहरुसँगै भाकामा मौलिकताको सन्निवेश भएको हुन्छ । यसर्थमा महिलाहरु समूहमा आबद्ध भई परिवार र समाजले आफूप्रति गरिरहेको व्यवहारको अनुभव पोख्ने गतिलो ‘प्लेटफर्म’ पाउँछन् भन्न सकिन्छ ।

अग्रज महिलाहरु आफ्ना बुहारीहरुलाई यो पर्वको महत्त्व बुझ्न लगाउँदै गौरा पर्वको व्रत आराधना गर्न सिकाइरहेका हुन्छन् । अर्को अर्थमा महिलाहरुमा यो परम्परालाई एउटाबाट अर्को पुस्तामा यथावत् हस्तान्तरण गर्न आतुर देखिएका हुन्छन् । त्यसैले गौरापर्व यस क्षेत्रका लागि पर्वमात्र नभई स्थानीयपन तथा ऐतिहासिक सभ्यताको परिचायक बनिरहेको छ । यो परम्परालाई अझ बढी सशक्त बनाउन महिलाहरुले संरक्षकको भूमिका निर्वाह गरिरहेका छन् । तर, यसको मौलिकताको जर्गेर्ना गर्ने दायित्व भने महिला र पुरुष दुवैको काँधमा छ ।

प्रतिकृया दिनुहोस
ad