काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपाल अध्यक्ष केपी शर्मा ओलीप्रति आक्रोशित बनेका छन् । वरीयतामा आफूभन्दा झलनाथ खनाललाई अघि राख्ने प्रस्ताव गरेपछि नेपाल ओलीप्रति आक्रोशित भएका हुन् । उच्च स्रोतका अनुसार ओलीलाई नेता नेपालले प्रधानमन्त्री र अध्यक्ष दुबै महत्वपूर्ण पद ओगटेको भन्दै एक छाड्न भनेका थिए । त्यसपछि ओलीले पनि आफूले अध्यक्ष नछाड्ने बताएको स्रोत बताउँछ ।
नेता नेपालले वरीयताका क्रममा अध्यक्षको निर्णय कमजोर देखिएको भन्दै आत्मालोचना गर्न आग्रह गरेका थिए । पहिले झलनाथ खनाललाई वरीयतामा पछि पार्नु र अहिले आफूलाई पछि पार्नु मानमर्दन गरिएको भन्दै नेता नेपालले आत्मालोचना गर्न भनेको स्रोतले जानकारी दियो । नेकपाको आइतबार बसेको सचिवालय बैठकले विभिन्न जनवर्गीय संगठनका संयोजक र सहसंयोजक टुंगो लगाउनुका साथै खनाललाई वरीयतामा नेपालभन्दा अघि राख्ने निर्णय गरेको थियो ।