site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
प्रधानमन्त्रीको आधारहीन अभिव्यक्ति

प्रधानमन्त्री केपी शर्मा ओलीले सिंगापुरबाट स्वास्थ परीक्षण गरी फर्केको ६ दिनपछि भाद्र १ गते आइतवार प्रतिनिधि सभाको बैठकमा सार्वजनिक महत्त्वको वक्तव्य दिए । तर, उनको अभिव्यक्तिमा न कुनै नयाँ जानकारी थिए न त कुनै गन्तव्य र योजनाको संकेत नै थियो । यस्तै, उनको भाषणमा नेपाली जनताको लागी कुनै आशा र भरोसाको आश्वासन र प्रतिबद्धता पनि थिएन । मन्तव्यमा कुनै पनि नयाँपन थिएन पुरानै हावादारी भाषणजस्तै लाग्थ्यो । उनी सिंगापुरबाट उपचार गरी फर्केपछि आफू स्वस्थ नै छु भन्ने सन्देश दिनमात्र उभिएजस्तो लाग्थ्यो । 

प्रतिपक्ष दललाई विाप्रसंग हाँक र चुनौती दिँदै आफूमात्र सच्चा लोकतन्त्रवादी भएर निकै राम्रो काम गरीरहेको भन्ने सुनिन्थ्यो । सासंदहरुलाई प्रश्न सोध्न र जिज्ञासा राख्न पनि बन्देज गरियो । केही समय अन्य राजनितीक दलका नेतृत्वप्रति तिखो र तीतो टिप्पणी गर्दै आफु, आफनो पार्टी र आफुले नेतृत्व गरेको सरकारलाई महान् देखाउने उनको पुरानै स्वभाव दोहोरिएको देखिन्थ्यो । 

मुलुकको परिवर्तनका लागि सबै दलका नेतृत्व पंक्तिको भूमिका छ । परिवर्तनका आन्दोलनहरूको नेतृत्व गर्ने नेपाली कांग्रेसको अझ बढी भूमिका छ । तर, देशको नेतृत्व गरिरहेका प्रधानमन्त्री बोलेको सुन्दा उनी नेता नभएर कुनै चलचित्रको ‘नायक’ जस्तै लाग्थ्यो । त्यसैले प्रधानमन्त्रीले व्यक्त गरेका अभिव्यक्तिप्रति टिप्पणी गर्न मन लाग्यो । 

Prabhu Bank
Agni Group
NIC Asia

लोकतन्त्रप्रतिको प्रतिबद्धताः प्रधानमन्त्री ओलीले पटकपटक आफ्नो सरकार लोकतान्त्रिक मूलय मान्यताप्रति प्रतिबद्ध रहेको र अधिनायकवादतर्फ नगएको दोहोर्याए । तर, सरकारको गतिविधि हेर्दा भने अभिव्यक्ति स्वतन्त्रता हनन, प्रेस स्वतन्त्रता नियन्त्रण, स्वतन्त्र न्यायपालिकामा हस्तक्षेप, मानव अधिकारको हनन गरिएको देखिन्छ । क्रियाकलापका आधारमा यो सरकार लोकतान्त्रिक मूल्य र मान्यताप्रति प्रतिबद्ध रहेको भन्न मिल्दैन । वास्तवमा यो सरकार संविधानअनुरुप गठन भएको त हो तर यसका काम कारबाही भने संविधानका मूल्य मान्यताविपरीत छन् । त्यसैले यो सरकारको आवरण लोकतन्त्रको र आत्मा अधिनायकवादको छ भन्दा अत्युक्ति नहोला ।

सुशासन, शान्ति र समृद्धीः आफ्ना प्राथमिकता सुशासन, शान्ति र समृद्धि भएको भन्दै प्रधानमन्त्री ओलीले सरकार यही दिशातर्फ उन्मुख रहेको दाबी गरेका छन् । उनले ‘समृद्ध नेपाल सुखी नेपाली’को थेगो पनि दोहोर्याए । तर यथार्थ सम्झँदा यो कथन बेमौसमको बासुरीजस्तै थियो । किनभने, आज सुशासन कतै पनि छैन । भ्रष्टाचार, कार्टेलिङ, सिन्डिकेटजस्ता बेथिति व्याप्त छन् । भ्रष्टाचार संस्थागत भएको छ । कतै पनि शान्ति कायम र जनताको जीउ धनको सुरक्षा सरकारले गर्न सकेको छैन । हत्या, हिंसा, बलात्कारको घटना भइरहेका छन् ।

Global Ime bank

बाटोघाटो, खानेपानी, शिक्षा, स्वास्थ, रोजगारजस्ता आधारभूत आवश्यकता नै परिपूर्ति गर्न नसकेका प्रधानमन्त्रीले गरेको पानी जहाज र रेलको कुरा पत्याउने कुनै आधार छैन । कृषि, पर्यटन, जलस्रोत, औद्योगीकरणजस्ता विषयमा ठोस उपलब्धि देखिँदैन । प्रधानमन्त्री ओलीले दाबी गरेको ७ प्रतिशत आर्थिक वृद्धिदर नै पत्याउने आधार नभएको अवस्थामा अबका वर्षमा ११ प्रतिशतको सम्म आर्थीक वृद्धिदर हासिल हुन्छ भन्नु हास्यास्पद हो ।

जनआन्लोलनको उपलब्धिको संरक्षण : प्रधानमन्त्री ओलीको जनआन्दोलनका उपलब्धिहरु संघीयता, लोकतन्त्र, गणतन्त्र, समावेशिताको संरक्षण गर्ने कथन पनि झुटो देखिन्छ । संघीयता अधिकारको प्रत्यायोजन र साधन स्रोतको बाँडफाट पनी हो । तर, सरकारको प्रदेश र स्थानीय सरकारलाई बलियो बनाउने कुनै नीति नियम र बजेट छैनन् । बरु, सरकार त सबै अधिकार केन्द्रमा राख्न उद्यत देखिन्छ । गणतन्त्रका हकमा पनि यही हो । राजाका स्थानमा राष्ट्रपति त राखेका छौँ तर उनका रवैया र शैली पनि त्यही पुरातन अवस्थाबाट उठ्न सकेको देखिँदैैन । समावेशी र समानुपातिक प्रतीनिधत्वको व्यवस्था संविधान उल्लेख भए पनि सरकारले यी सबैलाई लत्याउँदै लोकसेवा आयोगको विज्ञापन गरेर समावेशी आन्दोलनलाई उक्साएको छ ।

ऐन कानुन बनाउन क्रियाशिलः सरकारको काम ऐन, कानुन बनाउनु पनि हो । तर अहिलेसम्म आएका विधेयकलाई हेर्ने हो भने संविधानको भावनाविपरीत छन् । जस्तो गुठी सम्बन्धी विधेयक, मिडिया काउन्सिल, राष्ट्रीय मानव अधिकार आयोग, राष्ट्रिय सुरक्षा परिषद्को काम कर्तव्य र अधिकार, सुचनाको हकसम्बन्धी विधेयक आदी सबै नियन्त्रण र नियमन गर्ने नियतबाट उत्प्रेरित देखिन्छन् । 

सन्तुलित परराष्ट्रनीतिः प्रधानमन्त्री ओलीले सन्तुलित परराष्ट्रनीति अवलम्बन गरेको बताउँदै विशेषगरी दुई छिमेकी मुलुकसँग सुमधुर, भरपर्दो, विश्वासिलो र पारस्परिक लाभका आधारमा अगाडि बढ्ने भने पनि व्यवहारमा लागु हुनसकेको छैन । नेपालको सिमाना थुप्रै ठाउँमा मिचिँदा र भारतीय बाँधले नेपाल डुवाउँदा पनि कूटनीतिक स्तरमा छलफल हुनसकेको छैन किन । नेपाल स्वाधीन, सार्वभौमसत्ता सम्पन्न राष्ट्र हो तर बाहिरी मुलुको हस्तक्षेप भइरहेको छ । विषादी तरकारी परीक्षणसम्बन्धी निर्यण भारतीय दूतावासबाट आएको पत्रबमोजीम सरकारले फिर्ता लियो । 

अर्को पटक प्रधानमन्त्री नबने संकेत:  केपी शर्मा ओलीले पार्टी एकीकरण गर्ने क्रममा समकक्षी नेता पुष्पकमल दाहालसँग सरकारको नेतृत्व आलोपालो गर्ने सहमति गरेको चर्चा थियो । संसद्मा भने उनले बोली फेरेका छन् । पाँच वर्षीय कार्यकालमा आधाआधा गरी चलाउने सहमति तोड्ने संकेत गरेका छन् ।

जेहोस्, अर्कोपल्ट कम्युनिस्टको सरकार नबन्ने संकेत गरी अब आउने निर्वाचनमा लोतन्त्रवादीको सरकार बन्ने शुभ संकेत पनि दिए भन्नु पर्ला । 

अन्त्यमा, प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा गरेको सार्वजनिक सम्बोधन न राष्ट्र र जनताप्रति समर्पित थियो  न त त्यसले सदनमा प्रतिनिधित्व गर्ने दलको आवाजलाई मुखरित गरेको थियो । त्यसैले उनले दिएको वक्तव्ये आधारहीन शब्दजालले भरिएको पुलिन्दामात्रै थियो ।
प्रतिनिधि सभा सदस्य 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ २, २०७६  १३:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC