विराटनगर । विवाह हुँदा मोरङ ग्रामथान गाउँपालिकाकी उपप्रमुख फूलकुमारी माझी १९ वर्षकी थिइन् । उबेला ‘टिनएज’ भन्ने नै थिएन । बाबुआमालाई केटा चित्त बुझे विवाह भइहाल्थ्यो । फूलकुमारीको वैवाहिक जीवन कक्षा ९ मा पढ्दै गर्दा सुरु भयो । अहिले ४६ वर्षमा हिँड्दै छिन् । ‘‘कहाँ आज जस्तो थियो त,’’ फूलकुमारीले विगत कोट्याइन्, ‘‘हामी केटीहरुलाई आमाकाकीहरुले बोल्नै दिनुहुन्नथ्यो । अहिलेका छोरी पो आमाबुबासँग हाकाहाकी कुरा राख्छन् । विवाहको कुरा झिक्दा इन्कार गर्न सक्छन् । हाम्रा पालमा यस्तो थिएन ।’’
फूलकुमारी चुनावबाट विजयी भएर आएको दुई वर्ष पुगिसक्यो । यो ग्रामथानमा थारु समुदायको बाहुल्य छ । ‘‘अहिले पनि आमाहरु छोरीको विवाह बेलैमा गरिदिनु पर्छ भन्नुहुन्छ,’’ माझी भन्छिन्, ‘‘तर हामीले रोकिदियौं । धेरै मानिस असन्तुष्ट थिए तर जब कुरा बुझे भन्न थालेका छन्– छोरीको बिहेवारी २० वर्ष पारि नै गर्नपर्ने रहेछ ।’’ फूलकुमारीका अनुसार थारु समुदायमा ‘छोरी १५–१६ वर्षमै सुन्दर देखिन्छन् र उमेर छिप्पिएपछि त केटाहरुले हेर्दैनन् भन्ने’ धेरैको सोचाइ थियो । सानैमा विवाह गरे विवाह दर्ता नहुने र राज्यबाट दिइने सुविधामा कटौती गर्ने भएपछि बालविवाहमुक्त पालिकाको अभियानमा स्थानीयसमेत सहभागी बनेको माझी बताउँछिन् । ग्रामथानको तेतरिया देशमै पहिलो पटक बालमैत्रीसमेत घोषणा भएका थियो ।
ग्रामथान मोरङमै पहिलो बालविवाहमुक्त हुने गाउँपालिका बनेको छ । यो काममा सामाजिक संघसंस्थादेखि स्वयम् बालबालिका, किशोरकिशोरी र महिलासमेत सक्रिय थिए । बालविवाहमुक्त गाउँपालिका घोषणा गर्दै मन्त्री जीवन घिमिरले बालविवाहमुक्त प्रदेश बनाउनका लागि प्रदेश सरकार रणनीति बनाएर अघि बढेको बताए । भने, ‘‘प्रदेशको समृृद्धि भनेकै बालबालिका भएकाले उनीहरुका लागि लगानी आवश्यक छ ।’’ उनले प्रदेशका अन्य पालिकाहरुलाई पनि बाल विवाहमुक्त बनाउनेतर्फ प्रदेश सरकारले योजना बनाएको सुनाए ।
‘‘साँच्चै यो घोषणाको यात्रा यति सहज भने थिएन । महिला, बाल तथा किशोरी समूहहरुको निरन्तर प्रयास र संघसंस्थासँगको सहकार्यमा हामी सफल बन्यांै तर अझै चुनौतीहरु बाँकी नै छन्,’’ ग्रामथानका प्रमुख प्रशासकीय अधिकृत होमप्रसाद पौडेलले भने, ‘‘घोषणा ठूलो कुरा होइन तर त्यसलाई व्यवहारमा कार्यान्वयन गराई राख्नु ठूलो विषय हो ।’’ ग्रामथानमा ४० प्रतिशतजति विवाह बालविवाह हुने क्रम अहिले रोकिएको र अबको यात्रा बालमैत्री पालिका भएको पौडेलले बताए ।
ग्रामथान ४ मोतीपुरस्थित श्रीराम जानकी आधारभूत विद्यालयकी शिक्षक गुन्जाकुमारी मण्डलको पालामा विवाह गर्ने उमेर हद थिएन । ‘‘१५ देखि १६ वर्षमा त छोरीहरुको विवाह भइसक्थ्यो,’’ उनले भनिन्, ‘‘अहिले यो कुरा त ठिक रहेनछ भन्ने गाउँलेले बुझेका छन् ।’’ कतिपय साथीको विद्यालयमा विवाह गर्दागर्दै विवाह भएको तर आफूले भने २० वर्ष पुगेपछि मात्र विवाह गरेको मण्डलले सुनाइन् ।
रुपान्तरण बाल समूहकी काजलकुमारी माझी बाल विवाहविरुद्धकी अभियन्ता हुन् । उनको वडामा बालबालिकाकै प्रयासमा ६ वटा विवाह रोकियो । ग्रामथान १ मा अभियानमा पुग्दा धेरै आमाबुबाले प्रश्न गर्थे, ‘‘हाम्री छोरी १६ वर्षमै सुन्दर देखिन्छिन् । विवाह गर्नेले पनि बैंशमै मन पराउँछन् । ज्वाइँले दाइजो पनि लिँदैनन् तिमीहरुले रोकेर विवाह भएन भने हाम्रा छोरीको कसले जिम्मा लिन्छ ?’’ गुञ्जाकुमारी र उनका साथीहरु सम्झाउँथे र भन्थे, ‘‘सानो उमेरमा विवाह गरी सन्तान पाए छोरीहरुको स्वास्थ्यमा असर पर्छ । उनीहरुको पढाइ पनि छुट्छ त्यसैले यसलाई रोक्नुपर्छ ।’’ गुन्जाले बालविवाह रोकिन थालेपछि धेरैले गाउँ छाडेर भागी विवाह गर्न थालेको सुनाइन् । अहिले त्यस्ता विवाहको निगरानी गरी उमेर पुगेपछि मात्र विवाह गर्न आग्रह गर्न थालिएको बताइन् ।
ग्रामथान लखन्तरीमा नारी विकास संघका सामाजिक परिचालक मनोज विश्वास बाल विवाह रोक्न निक्कै कठिन हुने गरेको सुनाउँदै भन्छन्, ‘‘अहिले त मानिसहरु बाल विवाह ठिक रहेनछ भन्नेमा पुगेका छन् ।’’ सानैमा प्रेम गर्ने र उमेर नै नपुगी भाग्ने क्रमले भने बालविवाहमुक्त अभियानलाई चुनौती थपिदिएको विश्वासले सुनाए । नारी विकास संघ र वर्ल्ड भिजनको सहयोगमा ग्रामथानमा संचालित अभियानबारे संघकी कार्यक्रम अधिकृत सरिता अधिकारी भन्छिन्, ‘‘सुन्दरतालाई कारण बनाई छोरीहको सानैमा विवाह गरिदिने क्रममा परिवर्तन आउनु ठूलो कुरा हो ।’’ अधिकारीले कतिपय समुदायमा रहेका पुराना सोच र संस्कारलाई बदल्नु निकै चुनौतीपूर्ण काम भएको बताइन् ।
जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेलले विकासको सूचकमा मोरङ अघि बढ्दै गएको बताउँदै भने, ‘‘जिल्लालाई चाँडै बालविवाहमुक्त बनाउन हामी पनि प्रयासरत छौं । योजनागत रुपमा काम गरिरहेका छौं ।’’