हेलेनको अँगालोबाट
उषा !
बन्द गर झ्यालहरू
छोपिदेऊ पूर्वको रापिलो उज्यालो
नबिथोल प्रिय हेलेनसँगको मेरो समीपता
मलाई एकै लाग्छ
युद्घको ध्वजासँगै पुराना पालहरू लहराउँदै
एजियन सागरको हावामा ट्रोयतर्फ तैरिरहेका
ग्रिसेली सेनाका समुद्री डुङ्गा
र
हातमा क्रान्तिका राता झन्डा फहराउँदै
पहाडका हरिया नागीहरूमा
मार्चपास गरिरहेका जनसेनाका बटालियन
अब मलाई झनझनाहट हुन्छ
चराका प्रभाती चिर्बिरले
पानीघट्टको जाँतोजसरी
रिङ्गिएर आउँछ मेरो मथिङ्गल
ती राता दिनहरूले एँेठन पार्छन् मलाई
आफ्नै सपनालाई बन्दकी राखेर
सुन्नु छैन मलाई सहिदकी आमाको
आँखाका पानीको अविरल प्रलाप
वर्तमानलाई समाउन चाहन्छु म
बचाएर बाजका सिकारी पखेटाबाट आफूलाई
बिर्सिएर जोडघटाउका सैतानी चालहरूलाई,
हराउन चाहन्छु म
मेरी प्रियाका आकाशजस्ता अनन्त आँखामा
हो !
सम्झनु छैन मलाई
बुकी फुल्ने लेकहरूमा
कासन गरिरहेका कमान्डरका
कर्कस आवाजहरू
सुदूर लक्ष्य पहिल्याउन
कमिलाको ताँतीजस्तै लामबद्ध भएर
चट्टानी गोरेटो छिचोल्दा
चिरिप–चिरिप बजिरहेका मुक्तिसेनाका पदचापहरू
शत्रुसँगको एक्सनमा विजित भएर
सेल्टरमा फर्किरहेका प्रफुल्ल अनुहारहरू
वा
सहयोद्धाको काँधमा बोकिएर आएका
अर्धमूच्र्छित घाइतेहरू
या त हिमपातमा ओत खोज्दाखोज्दै
भुक्लुक्क ढलेको कामरेडलाई
एक्लै छोड्न विवश छापामारका
इस्पातले बनेका मुटुका डरलाग्दा धड्कनहरू !
हेर्नु पनि छैन मलाई
इन्कलाबका ठेट्ना आवाजलाई
खोकिलामा च्यापेर बेपत्ता भएको
किशोरकी बहिनीका हातमा सुकेको
सयपत्रीको फुस्रो माला
नसम्झाऊ मलाई !
बिहानीजस्तै मुस्कुराइरहेकी आफ्नै छोरीलाई बलि चढाएर
युद्धमा होमिएको एगामेम्नन्को
हावामा उडेको खरानीजस्तो फुस्सा योगदान
त्यसरी तर्साउन नखोज मलाई
आमाको प्रसवपीडाको हवाला दिएर
बाबुको बर्सांैदेखिको अभिसारमा
बराबरकी हिस्सेदार
उनको योनीबाट बग्नुपर्छ अझैँ
रगतका काला नदीहरू
अनि
शत्रुको लासलाई रथमा बाँधेर घिसार्दै
अकिलिजले विजयउत्सव मनाइरहँदा
कसले पढायो र तिमीलाई
हेक्टरको मानवअधिकार !
भो अब उत्साहित हुँदै नसुनाऊ उषा
पाठशालाका पवित्र घन्टीहरू
कोक्रामा झुलिरहेका नानीहरूका
सम्मोहक किल्कारीहरू
अनि सम्प्रभुतामा अल्झिरहेका
संवेदनाका यी बाचाल बहसहरू,
बरु एक्लै एकान्तमा छोडिदेऊ
आराधनामा लीन हुन देऊ मलाई
आह्वान गर्छु म फेरि पनि मेरी प्रेयसीलाई !!
आऊ ! हेलेन !
ओ ! मेरी प्रिया !
मायाले अँठ्याइरहन्छु म
यो बलिष्ठ अँगालोमा
गुमाउनु छैन मलाई
बारुदी सुरुङबाट जितेको तिम्रो सौन्दर्य
जैतुनका फूलहरू सिउरिएर खजमजिएको
तिम्रो सुनौला केशमा अल्झाइरहन्छु सधैँसधैँ म
मेसिनगनको स्ट्रिगरसँग खेलेका मेरा रुग्ण औँलाहरू
अभिभूत भइरहन्छु म
तिम्रो श्वासको उष्ण उत्तापले
महसुस गरिरहन्छु हरदम
सिङ्गमरमर छापेर टिलिक्क टल्काइएका
मस्जिदका चिल्ला बुर्जाजस्ता
तिम्रा जाँघबाट बाहिरिने
मदिराको जस्तो मादकता
आऊ प्रिया !
एकाकार होऔँ हामी अन्धकारमा ।
उषा ! अझैँ बन्द गर झ्यालहरू
छोपिदेऊ पूर्वको रापिलो उज्यालो पनि !
० ० ०
सम्बन्धको मार्गचित्र
ओ मेरो सहयात्री !
नभन्नू
‘तिमीबिनाको मेरो जीवन
सपाट सपाट थियो’ भनेर
नसोच्नू
‘जिन्दगीको खुसी मलाई
तिम्रै्र निगाहमा प्राप्त भयो’ भनेर
तिमीले बन्दकी राखेको
मेरो दाहिने हातको कसम !
भेट्टाउन सक्नेछैनौ तिमी
हरेक वसन्तमा
सखीहरूसित मैले उडाएका
जामुनको पातको पिरफिरे
न त सुन्न नै सक्नेछौ तिमीले
हामीले बजाएको पिपिरीको सुमधुर धून
के समेट्न सकौला र तिमीले
मलाई अँगालो हालेर
सललल बगेको
बबैको निलो पानीको निकटता
कालोपाटीमा कोरिएका
खरीका सेता अक्षरजस्तै
सरक्कै मेटिने पनि त छैनन् नि
चुरेको फेदीमा
थाकल र करौँतीका पोथ्रावरिपरि
अल्झिएका मेरा नूतन अनुभूति
तिमीले आवाद गरेको
मेरो कुमारी सिउँदोको कसम !
तरुनी वयमै हराएको
मेरो चन्चले उन्माद
अझै पनि भेटिनँ मैले
हरेक बिहान
मेरो रातो फरियामा लतपितएका
सेता धब्बाहरू धोइरहँदा
दाबी गरिनँ कहिल्यै
ओक्कल दोक्कल पिपल पात । छज्ञ
तिम्रो पुंसत्वमाथि
बरु, हाम्रो सम्बन्धमा
तिम्रो रगतको साइनोभन्दा
मेरै स्नेह प्रबल भयो होला
र त चर्खाको धागोजस्तै
अल्झिँदै अल्झिँदै हिँडेको
मेरा जीवनपथका दुरुहताहरू
तगारो बनेनन् कहिल्यै
तिम्रो आगतको यात्रामा
न त दूरबाट
दृष्टि दिनु नै प¥यो तिमीले कुनै छिन
आफू उक्लिएको
लिस्नुका तल्ला खुड्किलाहरूमा
राम्ररी सम्झेर हेर त
ओ मेरो सहयात्री !
नभन्नू
‘तिमीबिनाको मेरो जीवन
सपाट सपाट थियो’ भनेर
‘जिन्दगीको खुसी मलाई
तिम्रै्र निगाहमा प्राप्त भयो’ भनेर ।