काठमाडौं । वि.सं. २०२४ साल थियो, तीन विलकुलै अपरिचित व्यतिmहरुलाई सांगीतिक समूहको डोरीले बाँधिदियो । जसमा भोजपुरका दुई युवा गणेश रसिक र हिरण्य भोजपुरे र काठमाडौंकै त्यौड टोलकी उर्मिला श्रेष्ठलाई ‘लेकाली–परिवार’ ले एउटै टिम बनाइदिएको थियो ।
यहि ५२ वर्ष अघि स्थापना भएको सांगीतिक समूह ‘लेकाली–परिवार’ यो महिनाको ‘पलेँटी शृङ्खला’मा प्रस्तुति दिने भएका छन् । यसका निम्ति लामो समयदेखि सामूहिक प्रस्तुतिबाट टाढा बसेका लेकालीका तीन सदस्यहरू नेपालयको ‘आर’शालामा जुटेका छन् । झण्डै आधा शताब्दी पहिलेका दिनहरू सम्झँदै गणेश रसिक, हिरण्य भोजपुरे र उर्मिला श्रेष्ठ एक–अर्काको स्वरमा स्वर मिलाइरहेका छन् ।
यी तीन श्रष्टाहरुका साथै लेकालीमा निर्मला श्रेष्ठ, शशि भण्डारी, इन्द्रनारायण मानन्धर, कमला श्रेष्ठ, नवीन किशोरहरू पनि संलग्न हुन्छन् । वि.सं. २०२५ सालको अन्तिमतिर लेकाली(परिवारले महेन्द्र पुलिस क्लबमा ‘छहाराको गीत’ शीर्षक दिएर आफ्नो औपचारिक शुरुवात गरेको थियो । कार्यक्रममा गाइएका ‘लहरा पहरा’, ‘ट्याम्के डाँडा’ ‘ए है है’, ‘काफल पाक्यो’, गीतहरूले निक्कै चर्चा कमाएका थिए ।
त्यही कार्यक्रमबाट लेकालीले आफ्नो छुट्टै पहिचान स्थापना गर्न थालेको हो ।
यिनीहरूका गीत देशैभरि गुन्जन थाल्छन् । लेकालीले पनि ‘राल्फा’ले झैँ आधुनिक, प्रयोगवादी र लोक आधारित गीतहरू सृजना गर्ने गरेका हुन्छन् । लेकालीले पूर्वी पहाडको लोक शैलीलाई आधार बनाएर बनाएका गीतहरू झण्डै लोकगीतकै रुपमा स्थापित हुन थाल्छन् । गणेश रसिकले बनाएको ‘रातो भाले’ र हिरण्य भोजपुरेले बनाएको ‘झाँक्री गीत’लाई कतिपयले अहिले पनि लोकगीत नै सम्झन्छन् तर त्यस्ता गीतहरू लोकशैलीमा सृजना भएका मौलिक गीत नै थिए ।
लामो समयपछि लेकालीको नाममा फेरि मञ्चमा उपस्थित हुन पाउँदा उत्साहित बनेकी उर्मिला श्रेष्ठ भोजपुरे र रसिकतर्फ इसारा गर्दै थप्छिन्, “उहाँहरूले बनाएका गीतहरूले लोकगीतकै स्तरमा लोकप्रियता हासिल गर्नुमा ती गीतभित्र रहेको सामाजिक यथार्थताको चित्रणले गर्दा हो जस्तो लाग्छ ।”