काठमाडौं । जम्मु काश्मीरमा भारत सरकारले त्यहाँको संविधानको धारा ३७० ले दिएको विशेष दर्जा हटाएपछि विश्वका विभिन्न मुलुकले विभाजित धारणा राख्दै आएका छन् । नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पत्रकार सम्मेलन र विभिन्न अन्तर्वार्ताका क्रममा ‘त्यहाँको अवस्था हेरिरहेको र शान्तिपूर्ण ढंगले समश्या समाधान हुने अपेक्षा गरिएको’ भन्ने शैलीको सन्तुलित वक्तव्य दिएका छन् ।
पाकिस्तान र चीनले सो घटनाको कडा विरोध गरेका छन् भने दक्षिण एशियाका श्रीलंका, माल्दिभ्स, बंगलादेश, भुटान, अफगानिस्तानलगायतले भारतलाई समर्थन गरेका छन् । अहिले दुबै पक्षले आ–आफ्नो कित्तामा पार्नका लागि विश्वका विभिन्न मुलुकसँग लबिङ्ग गरिरहेका छन् । भारतका विदेशमन्त्री एस जयशंकरले भदौ ४ र ५ गते गरेको नेपाल भ्रमणको क्रममा पनि नेपालसँग सो विषयमा कुराकानी भएको बताइएको छ ।
उनी यतै हुँदा भारतीय मिडियामा नेपालले काश्मीर मामिलामा समर्थन गरेको भन्ने व्यहोराका समाचार प्रकाशित गरेका थिए । त्यसलगत्तै पाकिस्तानका विदेशमन्त्री शाह महमूद कुरेसीले नेपालका परराष्ट्रमन्त्रीलाई फोन गरी जम्मु काश्मीरको हालत नाजुक भएको जानकारी गराउँदै समर्थन लिने प्रयास गरेका थिए । घटनाक्रम यस्तो भए पनि जम्मु काश्मीरमा रहने नेपाली मूलका नागरिकहरुको भनाइ चाहिँ के छ त ? अहिले सञ्चार सम्पर्क हुन नसके पनि भारतको प्रेस ट्रस्ट अफ इण्डिया (पीटीआइ)ले तयार पारेको समाचारमा त्यहाँ रहेका गोर्खाहरु खुसी भएको जनाइएको छ ।
पुस्तौँ अघिदेखि जम्मुमा बस्दै आएको गोर्खा समुदाय त्यहाँ आफूहरुले स्थायी बसोबासको प्रमाणपत्र पाउने कुराले खुसी भएको समाचारमा जनाइएको छ । उनीहरुका बच्चालाई जागिरको लागि आवेदन दिने मौका मिल्नुका साथै उनीहरुले छनौट गरेको व्यावसायिक कोर्ष पनि अब रोज्न सक्नेछन् ।
दशकौंअघि जम्मु काश्मीर गएका नेपाली डोग्रा आर्मीमा रहेर त्यहाँ काम गरेका थिए । उनीहरुको हरेक परिवारमा एक जना ‘वार भेट्रान’ पाइन्छन् ।
उनीहरुले विगत तीन दशकदेखि स्थायी बसोबासको माग गर्दै आइरहेका थिए । यस्तै, लेगिस्लेटिभ काउन्सिलमा आरक्षित समूहको रुपमा मनोनयन गर्नुपर्ने र सैनिक विद्यालयहरुमा बालबालिकाहरुलाई ५ प्रतिशत रिजर्भेसनको माग समेत गरेका थिए । तर, अहिलेसम्म त्यो माग पूरा भएको थिएन । अब विशेष दर्जा खारेज भएपछि आफूलाई त्यो सुविधा पाइने उनीहरुलाई आशा पलाएको पाइएको छ ।
‘‘केन्द्रीय सरकारको निर्णय हाम्रो लागि ठूलो राहतको रुपमा आएको छ, यो ठूलो र दुखपूर्ण पर्खाइपछि भएको हो,’’ वार भेट्रान ८१ वर्षीय शेरबहादुर रानाले पीटीआइसँगको कुराकानीमा भनेका छन् । धेरैजसो गोर्खा समुदायका मानिस ‘बहु फोर्ट’ भन्ने स्थानको गोर्खा कोलोनीमा बस्ने गरेका छन् । गोर्खा समुदायका करिब दुई हजार मानिस त्यहाँ छन् । उनीहरुका घर एक आपसमा जोडिएका छन् । साँगुरो गल्लिले मात्रै छुट्टिएको छ ।
५ सय गोर्खा परिवार जम्मु र काश्मीरको विभिन्न भागमा छन् । उनीहरुका लागि प्रतिपरिवार ८१६ दशमलब २५ स्क्वायर फिट जमिन राज्य सरकारले सन् १९६० मा उपलब्ध गराएको थियो । उनीहरु अहिले पनि आफ्नो मातृभाषा नेपाली बोल्ने गर्छन् । उनीहरुको आशा छ यो भाषा संविधानको आठौं अनुसूचीमा कुनै दिन पर्नेछ ।
‘‘म निश्चित छैन, मेरो जीवनकालमा त्यो खुसीको खबर मैले सुन्न पाउनेछु,’’ रानाले भने ,‘‘हाम्रा तनावका दिन अझै सकिएलान् भन्ने चाहिँ लागेको छैन ।’’
उनले आफ्ना पूर्वजहरु तत्कालीन डोग्रा बंशको शासनकालमा नेपालबाट काश्मीर पुगेका हुन् । डोग्रा बंशको नेपालका राजासँग राम्रो सम्बन्ध भएकोले नेपालीलाई त्यता पठाएका थिए ।
रानाका अनुसार उनी श्रीनगरस्थित राजदरबारमा नै जन्मेका हुन् । अर्थात् उनी अन्तिम डोग्रा बंशीय महाराजा हरि सिंहको दरबारमा जन्मेका हुन् । त्यहाँ उनका बाबु सेनामा काम गर्थे । ‘‘हामी १९४७ मा जम्मुमा सर्यौं । त्यतिबेला पाकिस्तानीहरुले आक्रमण गरेका थिए र मेरो बाबु लड्न जानु भएको थियो,’’ उनले भने ।
उनको भनाइ थियो, ‘‘म पनि पछि भारतीय सैनिकमा भर्ना भएँ । १९७८ मा अवकाश पाएँ । त्यसपछि मेरो छोरो पनि आर्मीमा नै भर्ना भयो ।’’
उनका अनुसार सन् १९९०मा आतंकवाद बढेकोले धेरै गोर्खाले काश्मीर छोडे ।
राना थप्छन्, ‘‘ऐतिहासिक निर्णयका लागि म प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद दिन चाहन्छु ।’’
उनले भने,‘‘हाम्रा पूर्वज डोग्रा शासकको फाइटिङ्ग युनिटको रुपमा यहाँ आएको थियो र यहीं बस्यो । म कहिले पनि नेपाल गएको छैन । मेरो समुदायका अन्य मानिसको पनि यस्तै अवस्था हो । यो ठाउँ तिम्रो होइन भन्दा हामीलाई चित्त दुख्छ ।’’
उनले त्यहाँ स्थायी बसोबासको अधिकार नदिँदा आफूहरुको समुदाय पछि परेको जनाए । केटाकेटी सरकारी जागिर खानबाट बञ्चित भएको उनको गुनासो छ ।
उनीहरु व्यावसायिक कलेजमा सिट पाउन पनि बन्चित भएका छन् । उनीहरुले घर किनेर छुट्टै बस्न पनि पाएका छैनन् ।
पूर्वसैनिक ७० वर्षीय किशनबहादुर पछिल्ला गतिविधिले आशाको किरण फैलिएको बताउँछन् । उनीहरुका केटाकेटीको भविश्य अब देशमा सुरक्षित हुन्छ भन्ने आशा पलाएको छ । ‘‘अहिले हामी नेपाल फर्कियौं भने हामीलाई कसैले पनि साथ दिँदैन । हामी ठाउँ पनि चिन्दैनौं । हामी पुस्तौं अघि यहाँ आएका हौं । र, सबै कुराको दृढताका साथ सामना गरेका छौं,’’ किशनबहादुरले भने । उनी तीनवटा युद्धमा सामेल भएका थिए । १९६२ को चीन विरुद्धको युद्ध तथा १९६५ र १९७१ को पाकिस्तानविरुद्धको युद्धमा ।
उनका बाबु पदमबहादुरले १९४७ को युद्धमा भाग लिएका थिए । उनका छोरा मनबहादुर कार्गिल युद्ध अन्त्य भएपछि सेनामा प्रवेश गरेका छन् । त्यहाँका राजनीतिज्ञले दशकौंदेखि त्यहाँ बसेकालाई न्याय दिनुपर्ने भए पनि नदिइएको जनाए । ‘‘त्यसो हुन सकेन । तर, इतिहासले राज्य र देशको लागि हाम्रो योगदान हेरेको छ,’’ उनी भन्छन् ।
जम्मु एण्ड काश्मीर गोर्खा सभाका अध्यक्ष करुना क्षेत्री भन्छिन्,‘‘५०० परिवारमा ९५ प्रतिशतभन्दा बढीको घरमा एकजना पूर्वसैनिक छन् । उनीहरुले सरकारले चालेको धारा ३७० खारेजको निर्णयलाई पर्वको रुपमा मनाएका छन् । यो धारा खारेजपछि हाम्रा बालबालिका पनि सरकारी जागिर खानका लागि योग्य भएका छन् ।’’
गोर्खासभा युथ अध्यक्ष मनिष अधिकारीले उनको सपना भनेको सेनाको युनिफर्म लाएर बाबुको पदचाप पछ्याउनु थियो । उनले इण्डियन एयर फोर्सको लागि लिखित परीक्षा पास पनि गरे । ‘‘तर, पछि छोडिदिएँ किनकि मसँग जम्मु काश्मीरको स्थायी बसोबासको प्रमाणपत्र थिएन,’’उनले भने ।
उनी अहिले फास्टफुड बिजनेशको काम गरिरहेका छन् ।
अर्को बिडम्बना एकजना तीक्ष्ण खेलाडी सागर शाही अष्ट्रेलियाको कमनवेल्थ खेलमा गोल्ड मेडल जित्न सफल भएका थिए । तर, जम्मु काश्मीर प्रहरीमा जागिर अस्वीकार गरियो । किनकि उनीसँग स्थायी बसोबासको कागज थिएन । पछि उनी स्पोर्टस् क्याटागोरी अन्तर्गत सेनामा भर्ना भए । मनिसका अनुसार उनका दाजु किसान अधिकारीलाई एमबीबीएस कोर्षका लागि सिट दिन अस्वीकार गरियो । त्यसैले उनी पछि आर्मी मेडिकल कर्पमा सामेल हुनुपर्यो ।